“तिनीहरूले चाहेको भए तुरुन्तै छुट्न सक्थे”
“तिनीहरूले चाहेको भए तुरुन्तै छुट्न सक्थे”
फ्रान्सका भूतपूर्व राष्ट्रपति चार्ल्स डे गलकी भतिजी जिनीभेभ डे गलले उत्तरी जर्मनीको राभेन्सब्रुक यातना शिविरमा रहेका यहोवालाई साक्षीहरूलाई व्यक्तिगत तवरमा चिन्ने मौका पाइन्। अगस्त १९४५ को एउटा पत्रमा तिनले माथिका ती शब्दहरू लेखिन्।
जनवरी २७, १९४५ मा पोल्याण्डको अस्वीच यातना शिविरमा भएकाहरू मुक्त गरियो। सन् १९९६ देखि यता यो मिति हिटलरको तेस्रो राइकको सिकार भएकाहरूको लागि स्मृति दिन बनेको छ।
जनवरी २७, २००३ मा एउटा औपचारिक स्मृति मन्तव्यमा बाडेन उर्टेमबर्गको राष्ट्रिय संसदका अध्यक्ष पिटर स्ट्राउबले यसो भने: “आफ्नो धार्मिक वा राजनैतिक विश्वासको कारण शासना भोग्ने र हिटलरलाई समर्पण नगरी मृत्यु अँगाल्ने सबै व्यक्तिहरू हाम्रो गहिरो आदरका योग्य छन् जसलाई शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ। हिटलरको शासनका मागहरू पूरै अस्वीकार गर्ने धर्म यहोवाका साक्षीहरूको मात्र थियो: हिटलरलाई सलामी ठोक्न तिनीहरूले आफ्नो हात उठाएनन्। सैन्य र श्रम सेवा इन्कार गरेजस्तै तिनीहरूले ‘नेता र राष्ट्रप्रति’ वफादार रहने सपथ लिन पनि इन्कार गरे। अनि तिनीहरूका छोराछोरीहरू हिलटरको युवा मोर्चामा संलग्न भएनन्।
येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई यसो भन्नुभयो: “जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्!” (यूहन्ना १७:१६) त्यसैले यहोवाका साक्षीहरूको अडान पूर्णतः धार्मिक थियो। स्ट्राउबले अझै यसो भने: “यातना शिविरका बन्दीहरूको रूपमा आफ्नो लुगामा बैजनी रङ्गको त्रिकोण लगाउनुपर्ने यहोवाका साक्षीहरू थिए अनि आफ्नो यातना र मृत्युबाट सजिलै उम्कने सक्ने पनि तिनीहरू मात्र थिए। आफ्नो विश्वास त्यागेको कागजमा केवल हस्ताक्षर गरे पुग्थ्यो।”
अधिकांश साक्षीहरूको लागि आफ्नो विश्वास इन्कार गर्ने त सपना पनि नसोचेको कुरा थियो। अतः तिनीहरूमध्ये करिब १,२०० साक्षीहरू नाजी शासनको बेला मरे। धार्मिक विश्वासले गर्दा युद्धमा भाग नलिएका दुई सय सत्तरी जनालाई मृत्यु दण्ड दिइयो। तिनीहरूले मुखले मात्र यसो भनेनन्: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ।”—प्रेरित ५:२९.
उल्रिक स्मित, उत्तरी राइन-वेस्टफालियाका राष्ट्रिय संसदका अध्यक्षको भनाइमा साक्षीहरू पनि साधारण मानिसहरू नै थिए। उनको भनाइ उद्धृत गर्दै ल्यान्टाग इन्टर्न पत्रिकाले यहोवाका साक्षीहरूबारे यसो भन्यो, “अन्तस्करणको आवाज सुन्दै आफ्नो धार्मिक विश्वासमा रत्तिभर विचलित नहुने ती साधारण मानिसहरूले नागरिक साहस देखाए र मसीही विश्वासले गर्दा नाजी मान्यताहरूको विरोध गरे।” कठिन परिस्थितिमा उहाँप्रति वफादार रहनेहरूप्रति यहोवा पक्कै प्रसन्न हुनुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं। हितोपदेश २७:११ ले भन्छ: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।”
[पृष्ठ ३०-मा भएको चित्रको स्रोत]
Courtesy of United States Holocaust Memorial Museum