सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मसीहीहरू यहोवाको महिमा प्रतिबिम्बित गर्छन्‌

मसीहीहरू यहोवाको महिमा प्रतिबिम्बित गर्छन्‌

मसीहीहरू यहोवाको महिमा प्रतिबिम्बित गर्छन्‌

“तिमीहरूका आँखा धन्यका हुन्‌, किनकि तिनले देख्तछन्‌। औ तिमीहरूका कान, किनकि तिनले सुन्छन्‌।”—मत्ती १३:१६.

१.सीनै पर्वतमा इस्राएलीहरूले मोशाप्रति देखाएको प्रतिक्रियाबारे हाम्रो मनमा कस्तो प्रश्‍न उठ्‌छ?

 सीनै पर्वतमा भेला भएका इस्राएलीहरूसित यहोवाको नजिक हुने ठोस कारण थियो। आखिर, उहाँले नै तिनीहरूलाई मिश्रबाट आफ्नो बाहुबलले छुटाउनुभएको थियो। उजाड-स्थानमा खाना र पानीको प्रबन्ध गरिदिनुभएर उहाँले तिनीहरूका आवश्‍यकताहरूको ख्याल गर्नुभयो। त्यसपछि, तिनीहरूलाई आक्रमण गर्ने अमालेकी फौजमाथि पनि तिनीहरूलाई विजयी तुल्याउनुभयो। (प्रस्थान १४:२६-३१; १६:२–१७:१३) उजाड-स्थानमा सीनै पर्वतको अगाडि पाल टाँगेर बस्दा, गड्याङगुडुङ र बिजुलीको कारण तिनीहरू असाध्यै डराएर कामे। पछि, मोशा सीनै पर्वतबाट तल झर्दा तिनको अनुहारले यहोवाको महिमा प्रतिबिम्बित गरिरहेको तिनीहरूले देखे। तैपनि यहोवाका महिमा देखेर आश्‍चर्य मान्‍नु र यहोवाको महिमा स्वीकार्नुको सट्टा तिनीहरू पछि हटे। “[मोशाको] नजिक आउन तिनीहरू डराए।” (प्रस्थान १९:१०-१९; ३४:३०) तिनीहरूका लागि त्यत्ति धेरै कामहरू गर्नुभएको यहोवाको महिमाको प्रतिबिम्ब हेर्न तिनीहरू किन डराएका थिए?

२. मोशाले प्रतिबिम्बित गरेका परमेश्‍वरको महिमा देख्दा इस्राएलीहरू किन डराएका हुन सक्छन्‌?

सम्भवतः धैरेजसो इस्राएलीहरू यसअघि घटेको एउटा घटनाको कारण डराएका हुन सक्छन्‌। सुनको बाच्छो बनाएर तिनीहरूले जानाजानी यहोवाको आज्ञा उल्लङ्‌घन गर्दा उहाँले तिनीहरूलाई अनुशासन दिनुभयो। (प्रस्थान ३२:४, ३५) यहोवाको अनुशासनबाट सिकेर के तिनीहरू यसप्रति कृतज्ञ भए? अहँ, धेरैजसो कृतज्ञ भएनन्‌। आफ्नो जीवनको अन्ततिर मोशाले सुनको बाच्छोको घटनाका साथै इस्राएलीहरूको अनाज्ञाकारिताका अन्य घटनाहरू सम्झे। तिनले इस्राएलीहरूलाई यसो भने: “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरोध गऱ्‍यौ, र तिमीहरूले उहाँमाथि विश्‍वास राखेनौ, औ उहाँको कुरा पनि सुनेनौ। मैले तिमीहरूलाई चिनेको दिनदेखिनै तिमीहरू परमप्रभुका विरोधमा चलेका छौ।”—व्यवस्था ९:१५-२४.

३. मोशाले कतिबेला आफ्नो अनुहारमा घुम्टो हाल्थे?

इस्राएलीहरूले देखाएको डरप्रति मोशाले कस्तो प्रतिक्रिया देखाए, विचार गर्नुहोस्‌। विवरण यसो भन्छ: “जब मोशाले तिनीहरूसित बात गरिसके तब तिनले आफ्नो मोहडामा एउटा घुम्टो हाले। तर जब मोशा परमप्रभुको सामने उहाँसित बात गर्न [बासस्थानभित्र] जान्थे, तब बाहिर ननिस्कुञ्जेल त्यो घुम्टो उतार्थे, औ जे आज्ञा तिनले पाउँथे, त्यो तिनले बाहिर आएर इस्राएलीहरूलाई सुनाउँथे। औ इस्राएलीहरूले मोशाको मोहडा चम्केको देख्तथे। यसैले मोशाले उहाँसित बात गर्नलाई भित्र नपसुञ्जेल त्यो घुम्टो आफ्ना अनुहारमा फेरि लगाउँथे।” (प्रस्थान ३४:३३-३५) मोशाले किन कहिलेकाहीं आफ्नो अनुहारमा घुम्टो लगाउँथे? यसबाट हामी के सिक्न सक्छौं? यी प्रश्‍नहरूको जवाफले हामीलाई यहोवासितको हाम्रो सम्बन्ध केलाउन मदत गर्छ।

तिनीहरूले सुअवसर गुमाए

४. मोशाले घुम्टो लगाउनुको अर्थ के हो भनेर प्रेरित पावलले कसरी बताए?

मोशाले घुम्टो लगाउनु इस्राएलीहरूको मन र हृदयको अवस्थासित सम्बन्धित थियो भनेर प्रेरित पावलले बताए। पावलले यस्तो लेखे: “इस्राएलका सन्तानले मोशाको मोहडाको तेजले गर्दा उनको मोहडा डीठ लगाएर हेर्नसक्‍तैन थिए, . . . तिनीहरूका मन कठोर भएका थिए।” (२ कोरिन्थी ३:७, १४) कस्तो दुःखलाग्दो अवस्था! इस्राएलीहरू यहोवाको चुनिएका जनहरू थिए र तिनीहरू उहाँको नजिक आएको उहाँ चाहनुहुन्थ्यो। (प्रस्थान १९:४-६) तर तिनीहरू परमेश्‍वरको महिमाको प्रतिबिम्ब एक टक लगाएर हेर्न हिचकिचाए। प्रेमपूर्वक वफादर भएर यहोवातर्फ आफ्नो मन अनि हृदय फर्काउनुको सट्टा उहाँबाट तर्केको कुरा तिनीहरूले आफ्नो कामद्वारा देखाए।

५, ६. (क) मोशाको समयका इस्राएलीहरू र प्रथम शताब्दीका यहूदीहरूबीच कस्तो समानता थियो? (ख) येशूको कुरा सुन्‍ने र उहाँको कुरा नसुन्‍नेहरूबीच कस्तो भिन्‍नता थियो?

इ.सं. (इस्वी संवत्‌ ) प्रथम शताब्दीमा पनि हामी यस्तै समानता पाउँछौं। पावल मसीही बनेको समयसम्ममा, व्यवस्थाको करारको ठाउँ महान्‌ मोशा येशूले मध्यस्थ गर्नुभएको नयाँ करारले लिइसकेको थियो। येशूले आफ्नो वचन र कामद्वारा यहोवाको महिमा जस्ताको तस्तै प्रतिबिम्बित गर्नुभयो। पुनरुत्थान हुनुभएको येशूबारे पावलले यस्तो लेखे: “उहाँ नै परमेश्‍वरका महिमाको प्रतिबिम्ब र परमेश्‍वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ।” (हिब्रू १:३, NRV) यहूदीहरूसित कस्तो महान्‌ सुअवसर थियो! तिनीहरूले परमेश्‍वरकै पुत्रको मुखबाट अनन्त जीवनको कुरा सुन्‍न सक्थे। दुःखको कुरा, येशूले प्रचार गर्नुभएका अधिकांश व्यक्‍तिहरूले उहाँको कुरा सुनेनन्‌। तिनीहरूबारे यशैयामार्फत यहोवाले गर्नुभएको भविष्यवाणी येशूले यसरी उद्धरण गर्नुभयो: “यी मानिसहरूको मन भद्दा भएको छ, औ तिनीहरूका कान सुन्‍नमा ढीला भएका छन्‌, र तिनीहरूले आफ्ना आँखा चिम्लेका छन्‌, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्‍नेथिए, हृदयले बुझ्नेथिए, मतर्फ फर्कनेथिए। र म तिनीहरूलाई निको पार्नेथिएँ।”—मत्ती १३:१५; यशैया ६:९, १०.

यहूदीहरू र येशूका चेलाहरूबीच ठूलो भिन्‍नता थियो किनभने आफ्ना चेलाहरूबारे येशूले यसो भन्‍नुभयो: “तिमीहरूका आँखा धन्यका हुन्‌, किनकि तिनले देख्तछन्‌। औ तिमीहरूका कान, किनकि तिनले सुन्छन्‌।” (मत्ती १३:१६) साँचो मसीहीहरू यहोवालाई चिन्‍ने र उहाँको सेवा गर्ने तीव्र इच्छा गर्छन्‌। बाइबलमा बताइएअनुसारै परमेश्‍वरको इच्छा पूरा गर्न तिनीहरू प्रसन्‍न हुन्छन्‌। फलस्वरूप, अभिषिक्‍त मसीहीहरूले नयाँ करारको आफ्नो सेवकाईमा यहोवाको महिमा प्रतिबिम्बित गर्छन्‌ र अरू भेडाहरूले पनि त्यसै गर्छन्‌।—२ कोरिन्थी ३:६, १८.

सुसमाचारमा किन घुम्टो लागेको छ

७. अधिकांश व्यक्‍तिहरूले सुसमाचारलाई तिरस्कार गर्नु किन छक्कलाग्दो कुरा होइन?

हामीले अगाडि बुझेझैं येशूको दिन अनि मोशाको दिन, दुवै समयमा अधिकांश इस्राएलीहरूले तिनीहरूसामु खुल्ला भएको अद्वितीय सुअवसरलाई तिरस्कार गरे। हाम्रो समयमा पनि कुनै फरक छैन। अधिकांश व्यक्‍तिहरूले हामीले प्रचार गर्ने सुसमाचारलाई तिरस्कार गर्छन्‌। यसरी तिरस्कार गरेको देख्दा हामी छक्क पर्नु पर्दैन। पावलले यस्तो लेखे: “हाम्रो सुसमाचारमा पनि घुम्टो लागेको छ भने, यो नष्ट हुनेहरूका निम्तिनै घुम्टो लागेको हुन्छ। . . . यस संसारको देवले अविश्‍वासीहरूको समझशक्‍तिलाई अन्धा तुल्याइदिएको छ।” (२ कोरिन्थी ४:३, ४) सुसमाचारलाई गुपचूपमा राख्ने शैतानको प्रयासको अलावा थुप्रै मानिसहरू आफैले पनि आफ्नो अनुहार घुम्टोले छोप्छन्‌ किनभने तिनीहरू देख्नै चाहँदैनन्‌।

८. कुन तरिकामा थुप्रै व्यक्‍तिहरू अज्ञानताको कारण अन्धा भएका छन्‌ र हामीमा पनि त्यस्तै असर पर्नदेखि कसरी जोगिन सक्छौं?

सुसमाचारबारे थाह नभएको कारण धेरै जना लाक्षणिक तवरमा अन्धा छन्‌। राष्ट्रहरू “तिनीहरूमा भएको अज्ञानताको समझ अँध्यारो भएको हुनाले परमेश्‍वरको जीवनबाट बिराना” भएका छन्‌ भनी बाइबल बताउँछ। (एफिसी ४:१८) व्यवस्थाका ज्ञाता पावल अज्ञानताको कारण यति धेरै अन्धा भएका थिए कि मसीही बन्‍नुअघि तिनी परमेश्‍वरको मण्डलीलाई खेदो गर्थे। (१ कोरिन्थी १५:९) यद्यपि, यहोवाले तिनलाई सत्य प्रकट गर्नुभयो। पावल यसो भन्छन्‌: “अनन्त जीवनको निम्ति उहाँमाथि पछि विश्‍वास गर्नेहरूलाई एउटा नमूना हुनलाई म मुख्य भएँ तापनि येशू ख्रीष्टले मलाई जम्मै धैर्य देखाउनको निम्ति मैले दया पाएँ।” (१ तिमोथी १:१६) पावलले जस्तै कुनै समय परमेश्‍वरको सच्चाइको विरोध गर्ने थुप्रै व्यक्‍तिहरूले अहिले यहोवाको सेवा गरिरहेका छन्‌। हाम्रो विरोध गर्नेहरूलाई पनि साक्षी दिइरहनुको एउटा जायज कारण यो हो। यसको साथै नियमित तवरमा परमेश्‍वरको वचन अध्ययन गर्दा र यसको अर्थ बुझ्दा अज्ञानताको कारण परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने ढङ्‌गमा काम गर्नदेखि हामी जोगिन्छौं।

९, १०. (क) प्रथम शताब्दीका यहूदीहरू सिकाउन नसकिने र आफ्नो दृष्टिकोणमा कट्टर थिए भनेर तिनीहरूले कसरी देखाए? (ख) के त्यो अवस्था अहिलेको मसीहीजगत्‌को अवस्थासित मिल्छ? वर्णन गर्नुहोस्‌।

धेरै जना भने सिक्न इच्छुक नभएको कारण र आफ्नो दृष्टिकोणमा कट्टर भएको कारण तिनीहरूको आध्यात्मिक दृष्टि धमिलिएको छ। थुप्रै यहूदीहरूले येशू र उहाँको शिक्षालाई तिरस्कार गरे किनभने तिनीहरूले एकोहोरो जिद्दी गरेर मोशाको व्यवस्था पछ्याइरहे। पक्कै पनि, सबै नै त्यस्ता भने थिएनन्‌। उदाहरणका लागि, येशूको पुनरुत्थान भएपछि “पूजाहरीहरूमध्ये धेरै जनाले यस विश्‍वासलाई ग्रहण गरे।” (प्रेरित ६:७, NRV) यद्यपि, अधिकांश यहूदीहरूबारे पावलले यस्तो लेखे: “आजसम्म मोशाको पुस्तक पढ्‌दा तिनीहरूका मनमा घुम्टो लागिरहेको हुन्छ।” (२ कोरिन्थी ३:१५) यहूदी धार्मिक नेताहरूलाई येशूले यसो भन्‍नुभएको कुरा सायद पावललाई थाह थियो होला: “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्‌।” (यूहन्‍ना ५:३९, NRV) तिनीहरूले यतिबिघ्न होसियारीसाथ खोजी गरेको धर्मशास्त्रले येशू नै मसीह हुनुहुन्छ भनेर बुझ्न तिनीहरूलाई मदत गरेको हुन सक्छ। तर पनि, यहूदीहरूको आफ्नै विचारधारा थियो र परमेश्‍वरको पुत्र जसले अचम्मका कामहरू गर्नुभयो उहाँले समेत तिनीहरूलाई मनाउन सक्नुभएन।

१० मसीहीजगत्‌का थुप्रै व्यक्‍तिहरूको सन्दर्भमा आज यही कुरा लागू हुन्छ। प्रथम शताब्दीका यहूदीहरूमा जस्तै “तिनीहरूसँग परमेश्‍वरका निम्ति जोश त छ, तर समझअनुसारको होइन।” (रोमी १०:२) कोही-कोहीले बाइबल त अध्ययन गर्छन्‌ तर यसले बताएको कुरा विश्‍वास गर्न भने चाहँदैनन्‌। यहोवाले आफ्ना जनहरूलाई अभिषिक्‍त मसीहीहरूले बनेको विश्‍वासी र बुद्धिमान्‌ दासमार्फत सिकाउनुहुन्छ भन्‍ने कुरा तिनीहरू स्वीकार्दैनन्‌। (मत्ती २४:४५) तैपनि, यहोवाले आफ्ना जनहरूलाई सिकाउँदै हुनुहुन्छ र ईश्‍वरीय सत्यको समझ झन्‌-झन्‌ चहकिलो हुँदै गएको छ भनेर हामीले बुझेका छौं। (हितोपदेश ४:१८) आफूलाई यहोवाद्वारा सिकाइन दिंदा हामीले उहाँको इच्छा र उद्देश्‍यको ज्ञान पाउँछौं।

११. आफूलाई जे मनपर्छ त्यही मात्र विश्‍वास गर्नाले सच्चाइ कसरी गुपचूपमा रहेको छ?

११ कोही-कोही भने आफूलाई जे मनपर्छ त्यही मात्र विश्‍वास गरेको कारण अन्धा भएका छन्‌। कोही-कोहीले परमेश्‍वरका जनहरूको र येशूको उपस्थितिबारे तिनीहरूले घोषणा गर्ने सन्देशको खिसी गर्नेछन्‌ भनेर भविष्यवाणी गरिएको थियो। प्रेरित पत्रुसले यस्तो लेखे: “जानी-बुझीकन पनि तिनीहरू यस कुराको” अर्थात्‌ नूहको समयको संसारमाथि परमेश्‍वरले जलप्रलय ल्याउनुभयो भन्‍ने कुराको “वास्ता गर्दैनन्‌।” (२ पत्रुस ३:३-६, NRV) त्यसै गरी, यहोवाले कृपा, दया र क्षमा देखाउनुहुन्छ भनेर थुप्रै मसीही भनौदाहरूले स्वीकार्न त स्वीकार्छन्‌ तर उहाँले सजायबाट छुटकारा दिनुहुन्‍न भन्‍ने तथ्यलाई चाहिं तिनीहरू बेवास्ता गर्छन्‌ वा इन्कार गर्छन्‌। (प्रस्थान ३४:६, ७) वास्तवमा बाइबलले के सिकाउँछ भनेर बुझ्न साँचो मसीहीहरूले लगनशील प्रयत्न गर्छन्‌।

१२. परम्पराले मानिसहरूलाई कसरी अन्धा तुल्याएको छ?

१२ चर्च धाउने थुप्रै व्यक्‍तिहरू परम्पराको कारण अन्धा भएका छन्‌। आफ्नो समयका धार्मिक नेताहरूलाई येशूले यसो भन्‍नुभयो: “तिमीहरूले आफ्नो रीतिले गर्दा परमेश्‍वरको वचनलाई बेकम्मा गराएका छौ।” (मत्ती १५:६) बाबेलको कैदबाट फर्किएपछि यहूदीहरूले जोसका साथ साँचो उपासना पुनर्स्थापित गरे तर पूजाहारीहरू भने घमन्डी र आत्म-धर्मी भए। धार्मिक उत्सवहरू परमेश्‍वरप्रतिको साँचो श्रद्धाविनाको औपचारिकतामा मात्रै सीमित हुन पुग्यो। (मलाकी १:६-८) येशूको समयसम्ममा, शास्त्री तथा फरिसीहरूले मोशाको व्यवस्थामा असंख्य परम्पराहरू थपथाप गरिसकेका थिए। कपटीहरू भनेर येशूले तिनीहरूको भण्डाफोर गर्नुभयो किनभने तिनीहरूले धार्मिक सिद्धान्तहरू जसमा व्यवस्था आधारित थियो त्यसलाई बुझ्न सकेनन्‌। (मत्ती २३:२३, २४) मानिसहरूले बनाएका धार्मिक परम्पराहरूले आफूलाई शुद्ध उपासनादेखि अलमल्याउन नदिन साँचो मसीहीहरू होसियार हुनै पर्छ।

“अदृश्‍यलाई देखेझैं गरी”

१३. कुन-कुन दुई तरिकामा मोशाले परमेश्‍वरको महिमाको केही अंश देखे?

१३ पर्वतमा हुँदा मोशाले परमेश्‍वरको महिमा हेर्न पाऊँ भनी बिन्ती गरे अनि तिनले यहोवाको महिमाको झलक देखे। बासस्थानभित्र पस्दा तिनले घुम्टो लगाएनन्‌। मोशासित गहिरो विश्‍वास थियो र तिनी परमेश्‍वरको इच्छा बमोजिम गर्न चाहन्थे। तिनले दर्शनमा यहोवाको महिमाको केही अंश देख्ने सुअवसर पाए तापनि विश्‍वासको आँखाद्वारा यसभन्दा अघि नै तिनले परमेश्‍वरलाई देखिसकेका थिए। “अदृश्‍यलाई देखेझैं गरी तिनी स्थिर रहे” भनी बाइबल बताउँछ। (हिब्रू ११:२७; प्रस्थान ३४:५-७) अनि केही समयको लागि आफ्नो अनुहारबाट निस्केको चमकद्वारा मात्र नभई यहोवालाई चिन्‍न र उहाँको सेवा गर्न थाल्न इस्राएलीहरूलाई मदत गर्ने प्रयास गरेर पनि मोशाले परमेश्‍वरको महिमा प्रतिबिम्बित गरे।

१४. येशूले कसरी परमेश्‍वरको महिमा देख्नुभयो र उहाँ के गर्न खुसी हुनुहुन्थ्यो?

१४ स्वर्गमा येशूले कयौं वर्षदेखि अर्थात्‌ ब्रह्‍माण्ड सृष्टि हुनुभन्दा अघिदेखि नै परमेश्‍वरको महिमा प्रत्यक्ष देख्दै आउनुभएको थियो। (हितोपदेश ८:२२, ३०) त्यस समयावधिमा यहोवा र येशूबीच एकदमै गहिरो मायालु तथा स्नेहपूर्ण सम्बन्ध विकास भयो। सारा सृष्टिको जेठो व्यक्‍तिप्रति यहोवा परमेश्‍वरले अत्यन्तै कोमल प्रेम र स्नेह व्यक्‍त गर्नुभयो। आफूलाई जीवन दिने परमेश्‍वरप्रति येशूले पनि यस्तै प्रकारको गहिरो प्रेम र स्नेह देखाउनुभयो। (यूहन्‍ना १४:३१; १७:२४) उहाँहरू दुई जना बाबु छोराबीच प्रगाढ प्रेम थियो। आफूले सिकाउने कुरामा यहोवाको महिमा प्रतिबिम्बित गर्न मोशाजस्तै येशू पनि खुसी हुनुहुन्थ्यो।

१५. कुन तरिकामा मसीहीहरू परमेश्‍वरको महिमाबारे मनन गर्छन्‌?

१५ मोशा र येशूजस्तै परमेश्‍वरका अहिलेका साक्षीहरू पनि यहोवाको महिमाबारे मनन गर्न उत्सुक छन्‌। तिनीहरूले महिमित सुसमाचारलाई तिरस्कार गरेका छैनन्‌। प्रेरित पावलले यस्तो लेखे: “तर जब [उहाँको इच्छा गर्न] प्रभुतिर [“यहोवातिर,” NW] मानिस फर्कन्छ, तब त्यो घुम्टो उठाइन्छ।” (२ कोरिन्थी ३:१६) हामी धर्मशास्त्र अध्ययन गर्छौं किनकि हामी परमेश्‍वरको इच्छा गर्न चाहन्छौं। यहोवाको पुत्र र अभिषिक्‍त राजा येशू ख्रीष्टको अनुहारमा प्रतिबिम्बित हुने महिमाको हामी आदर गर्छौं र उहाँको उदाहरण अनुकरण गर्छौं। मोशा र येशूलाई जस्तै हामीलाई पनि एउटा सेवकाई सुम्पिइएको छ र त्यो हो, हामीले उपासना गर्ने महिमित परमेश्‍वरबारे अरूलाई सिकाउने।

१६. सच्चाइ थाह पाएर हामी कसरी लाभ उठाउँछौं?

१६ येशूले यसरी प्रार्थना गर्नुभयो: “हे पिता, . . . म तपाईंमा धन्यवाद चढाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान र समझदारबाट छिपाउनुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो।” (मत्ती ११:२५) निष्कपट र हृदयदेखि नै नम्र व्यक्‍तिहरूलाई यहोवाले आफ्नो उद्देश्‍य र व्यक्‍तित्वबारे बुझ्न मदत दिनुहुन्छ। (१ कोरिन्थी १:२६-२८) हामी उहाँको सुरक्षात्मक हेरचाहमुनि आएका छौं र उहाँले हाम्रै फाइदाको लागि अनि हामीले जीवनबाट पूरापूर लाभ उठाओस्‌ भनेर सिकाउनुहुन्छ। यहोवाको नजिक जाने हरेक सुअवसरको हामी फाइदा उठाऔं र उहाँलाई अझ नजिकबाट चिन्‍ने थुप्रै प्रबन्धहरूको मूल्याङ्‌कन गरौं।

१७. यहोवाका गुणहरूबारे हामी कसरी अझ राम्ररी बुझ्न सक्छौं?

१७ अभिषिक्‍त मसीहीहरूलाई पावलले यस्तो लेखे: “हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको [“यहोवाको,” NW] महिमा प्रतिबिम्बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बद्‌लिंदैजान्छौं।” (२ कोरिन्थी ३:१८, NRV) चाहे हाम्रो आशा स्वर्गीय होस्‌ वा पार्थिव, यहोवालाई जति राम्ररी चिन्छौं अर्थात्‌ बाइबलमा प्रकट गरिएअनुसार उहाँका गुणहरू र व्यक्‍तित्वबारे बुझ्छौं, हामी त्यति नै धेरै उहाँ जस्तो हुन्छौं। येशू ख्रीष्टको जीवन, सेवकाई र शिक्षाहरूबारे कृतज्ञ भई मनन गऱ्‍यौं भने हामी अझ राम्ररी यहोवाका गुणहरू प्रतिबिम्बित गर्न सक्छौं। यसो गर्दा, हाम्रा परमेश्‍वर जसको महिमा हामी प्रतिबिम्बित गर्न चाहन्छौं, उहाँको प्रशंसा गर्न सक्छौं भनेर थाह पाउनु कत्ति ठूलो आनन्दको कुरा हो!

के तपाईंले सम्झनुभएको छ?

• मोशाले प्रतिबिम्बित गरेका परमेश्‍वरको महिमा हेर्न इस्राएलीहरू किन डराएका थिए?

• प्रथम शताब्दीमा कुन-कुन तरिकामा सुसमाचारमा “घुम्टो लागेको” थियो? अनि अहिले हाम्रो समयमा नि?

• हामी कसरी परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएको चित्र]

इस्राएलीहरूले मोशाको अनुहार हेर्न सकेनन्‌

[पृष्ठ २१-मा भएका चित्रहरू]

पावलले जस्तै कुनै समय परमेश्‍वरको सच्चाइको विरोध गर्ने थुप्रै व्यक्‍तिहरूले अहिले यहोवाको सेवा गरिरहेका छन्‌

[पृष्ठ २३-मा भएका चित्रहरू]

यहोवाका सेवकहरू परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्न खुसी हुन्छन्‌