मृत्युको विनाशकारी असर
मृत्युको विनाशकारी असर
“छ वर्षीया बालिकाद्वारा आत्महत्या।” छक्कै पार्ने त्यस शीर्षसमाचारले ज्याकी नाउँ गरेकी बालिकाको दुःखद मृत्युलाई सङ्केत गरिरहेको थियो। घातक रोग लागेर तिनकी आमाको पनि हालै निधन भएको थियो। बेतोडले गुडिरहेको रेलको लिकमा कुद्नुअघि ज्याकीले आफ्नो परिवारका केही सदस्यहरूलाई म ‘परी बनेर आफ्नी आमासँगै बस्न’ चाहन्छु भनेकी थिई।
क्यान्सर लागेर आफ्नो बुबा बित्नुको कारण आफू जाने चर्चको पादरीलाई सोद्धा इयान १८ वर्षका थिए। इयानको बुबा एक असल व्यक्ति भएकोले परमेश्वरले तिनलाई स्वर्ग उठाई लैजानुभयो भनी ती पादरीले बताए। त्यो कुरा सुनेपछि इयानले त्यस्तो क्रूर परमेश्वरबारे थाह नपाउनुनै ठीक ठाने। जीवनको कुनै अर्थ नदेखेपछि इयानले मोजमस्ती गरेर जीवन बिताउने निर्णय गरे। मोजमस्ती गर्ने चक्करमा तिनले रक्सी र लागूऔषध सेवन गर्नुका साथै अनैतिक जीवन बिताए। तिनको जीवन नियन्त्रण बाहिर जान थाल्यो।
“जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्”
यी दुई दुःखलाग्दा घटनाहरूबाट विशेष गरी चिताउँदै-नचिताएको बेला कसैको निधन भयो भने मृत्युले मानिसको जीवनलाई कत्ति तहसनहस बनाइदिन्छ भन्ने कुरा छर्लङ्ग हुन्छ। हो, बाइबलमा उल्लिखित यो सत्य सबैलाई थाह छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्।” (उपदेशक ९:५) तर धेरै जना यो कटु वास्तविकता स्वीकार्न चाहँदैनन्। तपाईं नि? जीवनमा हामीले यति धेरै कुरामा समय र ध्यान दिनुपर्ने हुन्छ कि हामीलाई हाम्रो मृत्यु आज-भोलिभित्रै भइहाल्छ जस्तो लाग्दै-लाग्दैन।
दी वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ: “अधिकांश मानिसहरू मर्न डराउँछन् र यसबारे सोच्दै-नसोच्ने कोसिस गर्छन्।” यद्यपि, गम्भीर दुर्घटना नभए मृत्युको मुखमा पुऱ्याउने रोगको कारण हामीले अचानक मृत्युको सामना गर्नुपर्ने हुन सक्छ। अथवा आफ्नो साथी वा नातेदारको अन्त्येष्टिले हामीलाई एक न एक दिन सबै मानिसजातिले भोग्नै पर्ने यथार्थको तीतो वास्तविकता सम्झाउँछ।
तरैपनि, अन्त्येष्टिको बेला शोकाकुल व्यक्तिहरू अक्सर भन्ने गर्छन्, “के गर्नु, जीवन जिउनै पऱ्यो।” अनि यथार्थ कुरा पनि यही नै हो। वास्तवमा, जीवन यति छिटो बितेझैं लाग्छ कि छिट्टै हामी ढल्कँदो उमेरसँगै आउने समस्याहरू झेल्न थाल्छौं। यस्तो अवस्थामा पुगेपछि मात्र आफ्नो मृत्यु हुने समय आइपुग्यो जस्तो लाग्छ। धेरैको अन्त्येष्टिमा उपस्थित हुनुपर्छ, जिन्दगीभर एक-अर्कालाई साथ दिएका मित्रहरूको मृत्युको पीडा सहनुपर्ने हुन्छ। उमेरले नौ डाँडा काटेका धेरैलाई यस्तो प्रश्नले लखेटिरहन्छ, “अब मर्ने पालो मेरै पो हो कि?”
ठूलो रहस्य
मृत्यु हुन्छ भन्ने कुरामा कसैको दुई मत नभए पनि मृत्युपछि के हुन्छ भन्ने कुराचाहिं एउटा रहस्यमय प्रश्न-चिह्न बनेर उभिन सक्छ। मृत्युबारे विरोधाभास धारणाहरू तीनथुप्रो भएकोले शङ्कालु व्यक्तिलाई यस्ता धारणाहरू थाह नभएका कुराबारे गरिएको बेकारको गन्थनजस्तो लाग्न सक्छ। व्यावहारिक व्यक्तिचाहिं “बल्ल-बल्ल पाएको जीवनमा” मानिसले जीवनको हर क्षणबाट सकेसम्म धेरै लाभ उठाउनुपर्छ भन्ने निष्कर्ष निकाल्छन्।
यसको ठीक विपरीत, अरूचाहिं मृत्यु सबै कुराको अन्त हो भनी मानिलिने पक्षमा छैन। यद्यपि, तिनीहरूलाई मृत्युपछि के हुन्छ भन्ने कुराको स्पष्ट ज्ञान भने छैन। कतिलाई मृत्युपछि पनि परम सुख पाइने ठाउँमा मानिस बाँचिरहन्छ जस्तो लाग्छ भने, अरूलाई चाहिं भविष्यमा फेरि अर्कै व्यक्ति भएर बाँच्नेछौं जस्तो लाग्छ।
आफ्नो प्रियजनको मृत्यु हुँदा जो-कसैले पनि यस्तो प्रश्न सोधिहाल्छन्, “मरेका मानिसहरू कहाँ होलान्?” धेरै वर्षअघिको कुरा हो, एउटा फुटबल क्लबका सदस्यहरू फुटबल खेल्न गइरहेको बेला अचानक एउटा ट्रकले तिनीहरू चढेको मिनिबसलाई ड्याम्म हिर्काएर सडकबाट उछिट्टाइदियो। टिमका पाँच जना सदस्यको मृत्यु भयो। त्यस दुर्घटनामा आफ्नो छोराको मृत्यु भएदेखि एउटी आमाले लाचार जीवन बिताइरहेकी छिन्। उनी आफ्नो छोरा कहाँ छन् भनी पत्ता लगाउने कोसिस गर्छिन्। उनी नियमित रूपमा छोराको चिहानमा जान्छिन् र घण्टौंसम्म तिनीसित ठूलो स्वरले कुरा गर्छिन्। बिलौना गर्दै तिनी भन्छिन्, “मरेपछि मानिसको कुनै अस्तित्व रहँदैन भन्ने कुरा म पत्याउनै सक्दिनँ तर वास्तवमा मलाई पनि यसबारे पक्का थाह त छैन।”
कुरा स्पष्ट छ, मृत्युप्रतिको हाम्रो मनोवृत्तिले अहिले हाम्रो जीवनलाई नै असर गर्न सक्छ। कसैको मृत्यु हुँदा मानिसहरूले देखाउने प्रतिक्रियालाई विचार गर्दा केही प्रश्नहरू तेर्सिन्छन्। तपाईं कसरी त्यसको जवाफ दिनुहुन्छ, विचार गर्नुहोस्। के हामीले मृत्युबारे सोच्दै नसोची बाँच्नमै मात्र ध्यान केन्द्रित गर्नुपर्छ? मृत्युको डरले आफ्नो जीवनै बर्बाद हुन दिनु ठीक होला? के शोकाकुल नातेदारले आफ्नो प्रियजन कहाँ होला भन्ने प्रश्नको जवाफ कहिल्यै पाउन सक्दैन? के मृत्यु रहस्य बनेर रहनै पर्छ?