सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रोयल बाइबल बौद्धिक ज्ञानमा एउटा कोसेढुङ्‌गो

रोयल बाइबल बौद्धिक ज्ञानमा एउटा कोसेढुङ्‌गो

रोयल बाइबल बौद्धिक ज्ञानमा एउटा कोसेढुङ्‌गो

सोह्रौं शताब्दीको सुरुतिर इटालेली प्रायद्वीपको लागि स्पेनबाट एउटा जहाज हिंड्यो। यो जहाजले अत्यन्तै मूल्यवान्‌ सामान बोकेको थियो अर्थात्‌ सन्‌ १५१४ र सन्‌ १५१७ को बीचतिर छापिएको कम्प्लुटेन्सियन पोलिग्लट बाइबलको अधिकांश प्रतिहरू यसमा थिए। अचानक ठूलो तुफान चल्यो। त्यस जहाजका टोलीले जहाज बचाउन भरमग्दुर प्रयास गरे तर केही सीप लागेन। जहाज डुब्दा त्यो सामान पनि सबै डुब्यो।

त्यस दुर्घटनापछि पोलिग्लट बाइबलको नयाँ संस्करणको माग बढ्‌न थाल्यो। अन्तमा दक्ष मुद्रक क्रिस्टोफ प्लान्टिनले यो चुनौती स्वीकारे। पहाडरूपी यो काम पूरा गर्न थुप्रै पैसा चाहिन्थ्यो। यसकारण तिनले स्पेनका राजा फिलिप द्वितीयलाई यस कामको आधिकारीक संरक्षक बनिदिन आग्रह गरे। स्पेनका राजाले निर्णय गर्नुअघि आफ्नो देशका विद्वान्‌हरूसित परामर्श गरे र त्यसमध्ये एक जना प्रख्यात बाइबलविद्‌ बेनिटो आरियास मोन्टानो थिए। तिनले राजा फिलिपलाई यसो भने: “हजुरले यस काममा सहयोग गर्नुभयो भने परमेश्‍वरको सेवा र पूरा संसारभरि क्याथोलिक चर्चलाई फाइदा त हुन्छ नै तर यसले हजुरको शाही नाउँको ठूलो महिमा हुनुका साथै हजुरको प्रतिष्ठा अझ बढ्‌नेछ।”

कम्प्लुटेन्सियन पोलिग्लट बाइबलको संशोधित संस्करण एउटा उल्लेखनीय सांस्कृतिक उपलब्धि हुने थियो, त्यसैले राजा फिलिपले मुद्रक क्रिस्टोफ प्लान्टिनको प्रयासमा पूरापूर सहयोग गर्ने निर्णय गरे। पछि रोयल बाइबल वा आन्ट्‌वर्प पोलिग्लट भनेर चिनिएको बाइबलको संशोधन गर्ने ठूलो काम तिनले बेनिटो आरियास मोन्टानोलाई सुम्पे। a

यो पोलिग्लट बाइबलको अनुवादमा राजा फिलिपले यति गहिरो चासो लिएका थिए कि तिनले प्रेसमा पठाउनुअघिको हरेक पानाको प्रुफ तिनीकहाँ पठाउन भने। स्पेनमा बस्ने राजा फिलिपलाई प्रुफरिडिङको लागि पठाएर फर्काउन्जेल धेरै समय लाग्ने थियो तर प्लान्टिन भने आफ्नो काम ढिलो गर्न चाहँदैन थिए। त्यसैले प्लान्टिनले प्रेसबाट छापिएको सम्भवतः सुरुका केही पानाहरू मात्र राजा फिलिपलाई पठाइदिए। त्यतिन्जेल बाइबलविद्‌ आरियास मोन्टानोले लुभेन सहरका तीन जना प्राध्यापक र प्लान्टिनको जवान छोरीको अमूल्य सहायता लिंदै साँच्चैको प्रुफरिडिङ अर्थात्‌ संशोधनको काम थाले।

परमेश्‍वरको वचनलाई प्रेम गर्ने व्यक्‍ति

बाइबलविद्‌ आरियास मोन्टानोलाई आन्ट्‌वर्पका विद्वान्‌हरूमाझ कुनै अप्ठ्यारो महसुस भएन। तिनको खुला विचारधाराको कारण तिनले प्लान्टिनको मन जित्न सके र तिनीहरूबीचको मित्रता तथा सहकार्य जिन्दगीभर नै रह्‍यो। मोन्टानो तिनको बुद्धिको लागि मात्र होइन तर परमेश्‍वरको वचनप्रतिको प्रेमको लागि पनि उल्लेखनीय थिए। b धर्मशास्त्रको अध्ययनमै आफूलाई पूर्णतया समर्पण गर्न चाहेकोले तिनी जवान छँदा स्कूलको पढाइ सिध्याउन आतुर थिए।

बाइबल अनुवाद सकेसम्म शाब्दिक हुनुपर्छ भन्‍ने विचार आरियास मोन्टानोको थियो। मौलिक बाइबलमा जे लेखिएको छ त्यसको हुबहु अनुवाद गर्ने प्रयास तिनले गरे। यसो गर्दा पाठकले परमेश्‍वरको साँचो वचनमा जे छ, त्यही पढ्‌न सक्ने थिए। मोन्टानोले शास्त्रविद्‌ इरासमस्‌को लक्ष्यलाई पछ्याए जसले शास्त्रविद्‌हरूलाई यस्तो आग्रह गरेका थिए, “मूल भाषामा ख्रीष्टबारे जे लेखिएको छ, त्यही प्रचार गर्नु।” ल्याटिन अनुवाद बुझ्न गाह्रो भएकोले शताब्दीयौंसम्म मौलिक भाषामा लेखिएको धर्मशास्त्रको खास अर्थ मानिसहरूले बुझ्न सकेका थिएनन्‌।

आन्ट्‌वर्प पोलिग्लट बाइबलको तयारी

कम्प्लुटेन्सियन पोलिग्लट बाइबल छाप्नको लागि आल्फन्सो डे जामोराले संशोधन गरेर तयारी गरिसकेको सबै हस्तलिपि आरियास मोन्टानोले प्राप्त गरे। पछि रोयल बाइबल तयार पार्न मोन्टानोले यी हस्तलिपिहरू नै चलाए। c

सुरुमा कम्प्लुटेन्सियन पोलिग्लटको दोस्रो संस्करणको रूपमा रोयल बाइबल छाप्ने सोचाइ राखिएको थियो तर पछि यो एउटा सरल दोस्रो संस्करण मात्र भएन। सेप्टुआजिन्ट-को हिब्रू र युनानी पद कम्प्लुटेन्सियन बाइबलबाट लिइएको थियो। अनि त्यसपछि विस्तृत परिशिष्टको साथै नयाँ पदहरू थपिए। सबै काम पूरा हुँदा नयाँ पोलिग्लटको आठवटा खण्ड भयो। यो छाप्न सन्‌ १५६८ देखि १५७२ सम्म जम्मा पाँच वर्ष लाग्यो। तर कामको जटिलतालाई विचार गर्ने हो भने यो समय एकदमै कम थियो। अन्ततः १,२१३ प्रतिहरू छापिए।

सन्‌ १५१७ को कम्प्लुटेन्सियन पोलिग्लट “मुद्रणकलाको स्मारक” साबित भयो तर नयाँ आन्ट्‌वर्प पोलिग्लटको कुरा गर्ने हो भने यसमा चलाइएको प्रविधि र यसको विषयवस्तु यसअधिका संस्करणहरूभन्दा कयौं गुणा उत्कृष्ट थियो। छापाखानाको इतिहासमा यो एउटा अर्को कोसेढुङ्‌गो थियो र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, बाइबलको उत्कृष्ट परिमार्जित पदको तयारीमा एउटा नयाँ फड्‌को थियो।

परमेश्‍वरको वचनका शत्रुहरूबाट आक्रमण

केही समय नबित्दै सही बाइबल अनुवाद विरुद्ध शत्रुहरू देखा पर्नु कुनै छक्कलाग्दो कुरा थिएन। आन्ट्‌वर्प बाइबलको लागि पोपबाट अनुमति पाएको र आरियास मोन्टानो नाउँ चलेको, सबैले आदर गर्ने शास्त्रविद्‌ भए तापनि विरोधीहरूले इन्‌क्विजिसनमा तिनी विरुद्ध बयान दिए। तिनको बाइबलले मौलिक हिब्रू र युनानीको सही अनुवादको रूपमा शताब्दीऔंअघि गरिएको भल्गेट-भन्दा सान्तास पान्यिनोको नयाँ संशोधित ल्याटिन पदलाई प्रस्तुत गरिएको छ भनी विरोधीहरूले आरोप लगाए। सही बाइबल अनुवाद गर्ने प्रयासमा मोन्टानोले मौलिक भाषाको सहायता पनि लिएको दोष तिनीहरूले लगाए। ती विरोधीहरूको नजरमा यसो गर्नु भनेको धर्मविरोधी काम थियो।

“शाही नाउँ चलाउन दिएर राजाले खासै आदर पनि नकमाएको” इन्‌क्विजिसनले ठहर गऱ्‍यो। मोन्टानोले आधिकारिक भल्गेट-लाई त्यति महत्त्व नदिएकोमा तिनीहरूले दुःख व्यक्‍त गरे। यस्ता आरोपहरूको बावजुद मोन्टानो वा तिनको पोलिग्लट बाइबललाई गलत ठहराउन तिनीहरूले पर्याप्त प्रमाण जुटाउन सकेनन्‌। आखिरमा रोयल बाइबल एकदमै लोकप्रिय भयो र विभिन्‍न विश्‍वविद्यालयहरूमा यसलाई स्तरीय कृतिको रूपमा लिन थालियो।

बाइबल अनुवादको लागि उपयोगी साधन

आन्ट्‌वर्प पोलिग्लटको अनुवाद सुरु गर्दा सर्वसाधारणको लागि भनेर गरिएको नभए तापनि चाँडै यो बाइबल अनुवादकहरूको लागि एउटा उपयोगी साधन बन्‍न पुग्यो। यसअघिको कम्प्लुटेन्सियन पोलिग्लट जस्तै यसले पनि उपलब्ध धर्मशास्त्रलाई परिमार्जित गर्ने काममा योगदान पुऱ्‍यायो। मौलिक भाषा अझ स्पष्टसित बुझ्न पनि अनुवादकहरूलाई मदत गऱ्‍यो। युरोपका कुनै-कुनै प्रमुख भाषाहरूमा बाइबल अनुवाद गर्न पनि यो मदतकारी साबित भयो। उदाहरणका लागि, द क्यामब्रिज हिस्ट्री अफ द बाइबल-मा बताइएअनुसार सन्‌ १६११ का प्रख्यात किङ जेम्स भर्सन वा अथोराइज्ड भर्सन-का अनुवादकहरूको लागि पुरातन भाषाहरूको अनुवाद गर्न आन्ट्‌वर्प पोलिग्लट एउटा अमूल्य सहायक साबित भयो। सत्रौं शताब्दीमा प्रकाशित दुइटा महत्त्वपूर्ण पोलिग्लट बाइबलमा पनि रोयल बाइबलको अत्यधिक प्रभाव देखियो।—“पोलिग्लट बाइबलहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।

आन्ट्‌वर्प पोलिग्लटको थुप्रै राम्रा पक्षहरूमध्ये एउटा, युरोपेली शास्त्रविद्‌हरूले पहिलो पटक युनानी धर्मशास्त्रको सिरियाक अनुवाद पाउन सके। त्यो सिरियाक पद शाब्दिक ल्याटिन अनुवाद सँगसँगै छापिएको थियो। सिरियाक अनुवाद, मसीही युनानी धर्मशास्त्रको सबैभन्दा पुरानो अनुवादहरूमध्ये एउटा भएकोले अझ मदतकारी साबित भयो। इस्वी संवत्‌ पाँचौ शताब्दीदेखि दोस्रो शताब्दीको पाण्डुलिपि सिरियाक अनुवादमा आधारित थियो। दी इन्टरनेसनल स्टाण्डर्ड बाइबल इन्साक्लोपीडिया अनुसार “भाषिक विश्‍लेषणमा [सिरियाक] पेसिट्टा मान्यताप्राप्त कृतिको रूपमा लिइन्छ। प्राचीन परम्पराको यो सबैभन्दा पुरानो र सबैभन्दा महत्त्वपूर्ण प्रमाण हो।”

नता उर्लंदो समुद्री छालले न स्पेनी इन्‌क्विजिसनको आक्रमणले नै कम्प्लुटेन्सियन पोलिग्लटको अझ राम्रो अनि विस्तृत संस्करणको रूपमा सन्‌ १५७२ मा रोयल बाइबल प्रकाशित गर्नदेखि रोक्न सक्यो। परमेश्‍वरको वचनको रक्षा गर्न निष्कपट व्यक्‍तिहरूले गरेको प्रयासको अर्को एउटा उदाहरण, आन्ट्‌वर्पको पोलिग्लट बाइबलको इतिहास हो।

निस्स्वार्थ रूपमा मेहनत गरेका ती समर्पित व्यक्‍तिहरूलाई थाह छ कि छैन, तर तिनीहरूले यशैयाको भविष्यसूचक शब्दहरूको सत्यतालाई झल्काए। झन्डै तीन हजार वर्षअघि तिनले यस्तो लेखे: “घाँस सुकिहाल्छ, फूल ओइलाइहाल्छ तर हाम्रा परमप्रभुको वचन सधैंभरि अटल रहनेछ।”—यशैया ४०:८.

[फुटनोट]

a यो कामको लागि आर्थिक सहयोग राजा फिलिपबाट प्राप्त भएकोले यसलाई शाही बाइबल अर्थात्‌ रोयल बाइबल भनियो र आन्ट्‌वर्प पोलिग्लट भनिनुको कारण चाहिं यो आन्ट्‌वर्प सहरमा छापिएकोले हो जुन सहर त्यतिबेला स्पेन साम्राज्यको एउटा भाग थियो।

b पोलिग्लट बाइबलमा प्रयोग गरिएको प्रमुख पाँचवटा भाषा अरबी, ग्रीक, हिब्रू, ल्याटिन र सिरियाकमा तिनी पोख्त थिए। पुरातत्त्व, चिकित्साविज्ञान, प्राकृतिक विज्ञान र धर्मविज्ञानमा पनि तिनको राम्रो दखल थियो र यी विषयहरूमा तिनको ज्ञानले गर्दा परिशिष्ट तयार पार्न निकै मदत पुग्यो।

c कम्प्लुटेन्सियन पोलिग्लट बाइबलको महत्त्वबारे बुझ्न अप्रिल १५, २००४ को प्रहरीधरहरा हेर्नुहोस्‌।

[पृष्ठ १३-मा भएको ठूलो अक्षरको क्याप्सन]

“हाम्रा परमप्रभुको वचन सधैंभरि अटल रहनेछ”

[पृष्ठ १२-मा भएको पेटी/चित्रहरू]

पोलिग्लट बाइबलहरू

“पोलिग्लट बाइबल विभिन्‍न भाषामा अनुवाद भएको छ” भनी स्पेनी शास्त्रविद्‌ फेड्रिको पेरेज क्यास्ट्रो बताउँछन्‌। “तर पहिला-पहिला भने, यस पदले मौलिक भाषामा धर्मशास्त्रीय पदहरू भएको बाइबललाई बुझाउँछ। यसै अर्थमा मात्रै विचार गर्ने हो भने, पोलिग्लट बाइबलहरूको संख्या एकदमै कम छ।”

१. द कम्प्लुटेन्सियन पोलिग्लट (सन्‌ १५१४-१५१७), कार्डिनल थिसनारोसबाट सहयोग प्राप्त, स्पेनको आल्काला डे थेनारसमा मुद्रित। छ खण्ड भएको यस संस्करणमा बाइबल पदहरू चार वटा भाषामा थियो: हिब्रू, युनानी, अरामी र ल्याटिन। यसलाई १६ औं शताब्दीका अनुवादकहरूले हिब्रू-अरामी धर्मशास्त्रको मौलिक पदको रूपमा प्रयोग गर्न सके।

२. दी आन्ट्‌वर्प पोलिग्लट (सन्‌ १५६८-१५७२), बेनिटो आरियास मोन्टानोद्वारा संशोधित, कम्प्लुटेन्सियन पदमा सिरियाक पेसिट्टा भर्सनको मसीही युनानी धर्मशास्त्र र जोनाथनको अरामी टार्गुम थपियो। स्वरवर्ण र उच्चारण सङ्‌केतहरू भएको हिब्रू पद, जेकब बेन हायिमको हिब्रू पदअनुसार संशोधन गरिएको थियो। यसरी बाइबल अनुवादकहरूको लागि यो हिब्रू धर्मशास्त्रको मुख्य पद भयो।

३. द पेरिस पोलिग्लट (सन्‌ १६२९-१६४५), फ्रान्सेली वकिल गाइ मिशेल ले-जेबाट सहयोग प्राप्त। यसमा केही पद सामरी र अरबीमा भए तापनि यो आन्ट्‌वर्प पोलिग्लटबाट प्रभावित थियो।

४. द लण्डन पोलिग्लट (सन्‌ १६५५-१६५७) ब्रायन वाल्टनद्वारा संशोधित र यो पनि आन्ट्‌वर्प पोलिग्लटमा आधारित थियो। यस पोलिग्लटमा इथियोपियाली र फारसी बाइबलका पुरातन अनुवादहरू भए तापनि यी संस्करणहरूले बाइबल पदलाई अझ स्पष्ट पार्न केही मदत गरेन।

[स्रोत]

Banner and Antwerp Polyglots (two underneath): Biblioteca Histórica. Universidad Complutense de Madrid; Antwerp Polyglot (on top): By courtesy of Museum Plantin-Moretus/Stedelijk Prentenkabinet Antwerpen; London Polyglot: From the book The Walton Polyglot Bible, Vol. III, 1655-1657

[पृष्ठ ९-मा भएको चित्र]

स्पेनका राजा फिलिप द्वितीय

[स्रोत]

Philip II: Biblioteca Nacional, Madrid

[पृष्ठ १०-मा भएको चित्र]

आरियास मोन्टानो

[स्रोत]

Montano: Biblioteca Histórica. Universidad Complutense de Madrid

[पृष्ठ १०-मा भएको चित्र]

बेल्जियमको आन्ट्‌वर्पका सुरुको छापाखाना

[स्रोत]

Press: By courtesy of Museum Plantin-Moretus/Stedelijk Prentenkabinet Antwerpen

[पृष्ठ ११-मा भएका चित्रहरू]

बायाँ: क्रिस्टोफ प्लान्टिन र आन्ट्‌वर्प पोलिग्लटको आवरण पाना

[स्रोत]

Title page and Plantin: By courtesy of Museum Plantin-Moretus/Stedelijk Prentenkabinet Antwerpen

[पृष्ठ ११-मा भएका चित्रहरू]

माथि: चारवटा स्तम्भमा प्रस्थान अध्याय १५

[पृष्ठ ९-मा भएको चित्रको स्रोत]

Title page and Plantin: By courtesy of Museum Plantin-Moretus/Stedelijk Prentenkabinet Antwerpen

[पृष्ठ १३-मा भएको चित्रको स्रोत]

Biblioteca Histórica. Universidad Complutense de Madrid