सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हृदयमा लेखिएको प्रेमको व्यवस्था

हृदयमा लेखिएको प्रेमको व्यवस्था

हृदयमा लेखिएको प्रेमको व्यवस्था

“म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु तिनीहरूको हृदयमा म त्यो लेखिदिनेछु।”—यर्मिया ३१:३३.

१, २. (क) अब हामी कुन कुरा विचार गर्नेछौं? (ख) सीनै पर्वतमा यहोवाले आफ्नो महिमा कसरी प्रकट गर्नुभयो?

 जब मोशा सीनै पर्वतबाट तल ओर्ले तिनको अनुहारबाट यहोवाको महिमा प्रतिबिम्बित गर्ने तेज निस्क्यो भनेर अघिल्ला दुईवटा लेखमा हामीले सिक्यौं। मोशाले लगाएको घुम्टोबारे पनि हामीले छलफल गऱ्‍यौं। अब हामी त्यसैसित सम्बन्धित एउटा विषयमा छलफल गरौं जो आजका मसीहीहरूको लागि अर्थपूर्ण छ।

मोशा सीनै पर्वतमा हुँदा, तिनले यहोवाबाट निर्देशन पाए। सीनै पर्वतसामु भेला भएका इस्राएलीहरूले परमेश्‍वर स्वयम्‌को उदेकलाग्दो महिमा देखे। “पर्वतमा गड्याङगुडूङ भयो, र बिजुली चम्क्यो र बाक्लो बादल पर्वतमा उठ्यो, र तुरहीको अति चर्को आवाज सुनियो, र छाउनीमा भएका सबै मानिसहरू थरथर कामे। . . . परमप्रभु आगोमा ओह्रलेर त्यहाँ आउनुभएको कारणले सीनै पर्वत बिलकुलै धुवैं धुवाँले भरियो, र सारा पर्वत जोरसित काँप्नलाग्यो।”—प्रस्थान १९:१६-१८.

३. यहोवाले कसरी इस्राएललाई दस आज्ञा दिनुभयो र त्यस राष्ट्रले कुन कुरा बुझ्यो?

यहोवाले मानिसहरूसित एउटा स्वर्गदूतमार्फत कुरा गर्नुभयो र यसलाई दस आज्ञा भनेर चिनिन्छ। (प्रस्थान २०:१-१७) त्यसकारण, यी नियमहरू सर्वशक्‍तिमान्‌बाटै आएका हुन्‌ भन्‍ने कुरामा कुनै शङ्‌का रहेन। यहोवाले ती आज्ञाहरू ढुङ्‌गाको पाटीमा लेखिदिनुभयो र इस्राएलीहरूले सुनको बाछोको पूजा गरिरहेको देख्दा मोशाले फुटाएका पाटी यही नै थियो। यहोवाले ती आज्ञाहरू ढुङ्‌गामा फेरि लेखिदिनुभयो। ती पाटीहरू लिएर मोशा तल ओर्लंदा, यति बेला तिनको अनुहारबाट तेज निस्किरहेको थियो। यसले गर्दा ती आज्ञाहरूको ठूलो महत्त्व छ भन्‍ने कुरा सबैले बुझ्ने थिए।—प्रस्थान ३२:१५-१९; ३४:१, ४, २९, ३०.

४. दस आज्ञा किन एकदमै महत्त्वपूर्ण थियो?

दस आज्ञा लेखिएका दुईवटा पाटीहरू पहिले बासस्थानको र पछि मन्दिरको महापवित्र स्थानमा रहेको करारको सन्दूकभित्र राखिएका थिए। ती पाटीहरूमा लेखिएका नियमहरू मोशाको व्यवस्थाको करारको मूल सिद्धान्त भयो र इस्राएल राष्ट्रको सरकार परमेश्‍वरले कसरी चलाउनुहुनेछ भन्‍ने कुराको आधार बसाल्यो। यहोवाले एउटा विशेष र आफूले छान्‍नुभएको जातिसित व्यवहार गरिरहनुभएको थियो भनेर ती नियमहरूले प्रमाण दियो।

५. परमेश्‍वरले इस्राएललाई दिनुभएका नियमहरूले कुन-कुन तरिकामा उहाँको प्रेम प्रतिबिम्बित गऱ्‍यो?

यहोवाबारे र विशेष गरी आफ्ना जनहरूप्रति उहाँको प्रेमबारे ती नियमहरूले धेरै कुरा प्रकट गऱ्‍यो। ती पालन गर्नेहरूका लागि ती नियमहरू एउटा बहुमूल्य उपहार साबित भयो! एक जना विद्वान्‌ले यस्तो लेखे: “त्यसभन्दा अघि वा पछि मानिसहरूले बनाएको कुनै पनि नैतिक प्रणाली . . . परमेश्‍वरका यी दस आज्ञाहरूको बराबरीमा आउन वा योभन्दा उत्कृष्ट हुन सक्दैनन्‌।” मोशालाई दिइएको सम्पूर्ण व्यवस्थाबारे यहोवाले यसो भन्‍नुभयो: “यदि तिमीहरूले मेरा कुरा साँच्चैनै सुन्यौ र मेरो करार पालन गऱ्‍यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिं मेरो एक निज धन हुनेछौ, किनकि सारा पृथ्वी मेरै हो। तिमीहरू मेरा निम्ति पूजाहारीहरूको एक राज्य, र एक पवित्र जाति हुनेछौ।”—प्रस्थान १९:५, ६.

हृदयमा लेखिएको व्यवस्था

६. ढुङ्‌गामा लेखिएका नियमहरूभन्दा कुन व्यवस्था बहुमूल्य साबित भएको छ?

हो, ती ईश्‍वरीय नियमहरूको ठूलो महत्त्व थियो। तर ढुङ्‌गामा लेखिएको त्यो व्यवस्थाभन्दा धेरै नै बहुमूल्य कुरा अभिषिक्‍त मसीहीहरूसित छ भनेर के तपाईंलाई थाह थियो? इस्राएल राष्ट्रसित बाँधिएको व्यवस्थाको करार नभई एउटा नयाँ करार बाँध्नेबारे यहोवाले भविष्यवाणी गर्नुभयो। “म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु तिनीहरूको हृदयमा म त्यो लेखिदिनेछु।” (यर्मिया ३१:३१-३४) नयाँ करारको मध्यस्थकर्ता येशूले आफ्ना अनुयायीहरूलाई लिखित आचारसंहिता दिनुभएन। उहाँले भन्‍नुभएको कुरा र गर्नुभएको कामद्वारा येशूले आफ्ना चेलाहरूको मन तथा हृदयमा यहोवाको व्यवस्था हालिदिनुभयो।

७. “ख्रीष्टको व्यवस्था” पहिले कसलाई दिइएको थियो र पछि यो कसले पनि स्वीकाऱ्‍यो?

यस व्यवस्थालाई “ख्रीष्टको व्यवस्था” भनिन्छ। पहिले यो व्यवस्था याकूबको वंशबाट निस्केको प्राकृतिक इस्राएल राष्ट्रलाई नभई एउटा आध्यात्मिक राष्ट्र अर्थात्‌ “परमेश्‍वरका इस्राएल[लाई]” दिइएको थियो। (गलाती ६:२, १६; रोमी २:२८, २९) परमेश्‍वरको इस्राएल आत्मा-अभिषिक्‍त मसीहीहरू मिलेर बनेको छ। पछि गएर, सबै राष्ट्रबाट आएका, यहोवाको उपासना गर्न चाहने “एक ठूलो भीड” पनि त्यसमा सामेल भयो। (प्रकाश ७:९, १०; जकरिया ८:२३) “एकै गोठाला” अन्तर्गत “एकै बगाल[का]” भएर यी दुवै समूहले “ख्रीष्टको व्यवस्था” स्वीकार्छन्‌ र आफूले गर्ने सबै काम यसै व्यवस्था अनुरूप गर्छन्‌।—यूहन्‍ना १०:१६.

८. मोशाको व्यवस्था र ख्रीष्टको व्यवस्थाबीचको एउटा भिन्‍नता के थियो?

जन्मजातै मोशाको व्यवस्थामा बाँधिएका इस्राएलीहरूजस्तो नभई मसीहीहरू भने ख्रीष्टको व्यवस्थामा रहन स्वेच्छाले रोज्छन्‌ र यससित तिनीहरूको जाति वा जन्मथलोको कुनै सम्बन्ध हुँदैन। तिनीहरू यहोवा र उहाँको मार्गबारे सिक्छन्‌ अनि उहाँको इच्छा बमोजिम गर्ने तीव्र चाहना गर्छन्‌। परमेश्‍वरको आज्ञा नमान्‍नेहरूलाई उहाँले सजाय दिनुहुने भएकोले वा कर्तव्य ठानेर मात्र अभिषिक्‍त मसीहीहरू उहाँको आज्ञा पालन गर्ने गर्दैनन्‌। बरु, परमेश्‍वरको व्यवस्था “तिनीहरूको अन्तस्करणमा” भएको वा “तिनीहरूको हृदयमा” लेखिएको हुनाले उहाँको आज्ञा पालन गर्छन्‌। तिनीहरूको आज्ञाकारिता निक्कै महत्त्वपूर्ण र शक्‍तिशाली कुरामा आधारित छ अनि त्यसै गरी अरू भेडाका सदस्यहरू पनि आज्ञाकारी छन्‌ किनभने परमेश्‍वरको व्यवस्था तिनीहरूको हृदयमा छ।

प्रेममा आधारित व्यवस्था

९. यहोवाको व्यवस्थाको मूल मर्म प्रेम थियो भनेर येशूले कसरी सङ्‌केत गर्नुभयो?

यहोवाका सबै व्यवस्था र नियमहरूको मूल मर्म एउटै शब्दमा समेट्‌न सकिन्छ; त्यो हो, प्रेम। प्रेम नै साँचो उपासनाको अभिन्‍न भाग रहँदै आएको छ र सधैंभरि रहिरहने पनि छ। व्यवस्थाको सबैभन्दा प्रमुख आज्ञा कुन हो भनेर सोध्दा येशूले यस्तो जवाफ दिनुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।” दोस्रो चाहिं यस्तो थियो: “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” त्यसपछि उहाँले यसो भन्‍नुभयो: “सारा व्यवस्था र अगमवक्‍ताहरूका शिक्षा यिनै दुइ आज्ञामा निर्भर छन्‌।” (मत्ती २२:३५-४०) दस आज्ञाहरू सहितको व्यवस्था मात्र नभई सम्पूर्ण हिब्रू धर्मशास्त्र नै प्रेममा आधारित थियो भनेर येशूले यसरी सङ्‌केत गर्नुभयो।

१०. ख्रीष्टको व्यवस्थाको आधार प्रेम हो भनेर हामी कसरी थाह पाउँछौं?

१० के मसीहीहरूको हृदयमा भएको व्यवस्थाको आधार पनि परमेश्‍वर र छिमेकीप्रतिको प्रेम नै हो त? पक्कै हो! ख्रीष्टको व्यवस्थामा परमेश्‍वरप्रतिको प्रेमका साथै एउटा नयाँ आज्ञा समावेश छ अनि त्यो नयाँ आज्ञा हो, मसीहीहरूमा एक-अर्काप्रति आत्म-त्यागी प्रेम हुनुपर्छ। आफ्ना मित्रहरूको खातिर येशूले खुसीसाथ जीवन दिनुभएझैं तिनीहरूले पनि एकआपसमा प्रेम गर्नुपर्छ। परमेश्‍वरलाई र एक-आपसमा प्रेम गर्न येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभयो अनि उहाँ आफैले पनि त्यसै गर्नुभयो। तिनीहरूले एक-आपसमा देखाउने उल्लेखनीय प्रेम नै साँचो मसीहीहरूको मुख्य चिनारी हो। (यूहन्‍ना १३:३४, ३५; १५:१२, १३) येशूले तिनीहरूलाई आफ्ना शत्रुहरूलाई समेत प्रेम गर्न निर्देशन दिनुभयो।—मत्ती ५:४४.

११. परमेश्‍वर र मानिसजाति दुवैप्रति येशूले कसरी प्रेम देखाउनुभयो?

११ प्रेम देखाउनमा येशूले सिद्ध उदाहरण बसाल्नुभयो। उहाँ स्वर्गको एक जना शक्‍तिशाली आत्मिक प्राणी हुनुभए तापनि यस पृथ्वीमा आफ्नो पिताको इच्छा पूरा गर्ने मौकालाई उहाँले खुसीसाथ स्वीकार्नुभयो। अरू मानिसहरू सधैंभरि बाँच्न सकून्‌ भनेर आफ्नो मानव जीवन बलिदान दिनुको अलावा कस्तो जीवन बिताउनुपर्छ भनेर पनि उहाँले मानिसहरूलाई देखाउनुभयो। उहाँ नम्र, दयालु र विचारशील हुनुहुन्थ्यो अनि बोझले दबिएका र थिचोमिचोमा परेकाहरूलाई मदत गर्नुभयो। उहाँले “अनन्त जीवनका कुरा” पनि बताउनुभयो र यहोवालाई चिन्‍न अरूलाई मदत दिन अथक प्रयास गर्नुभयो।—यूहन्‍ना ६:६८.

१२. परमेश्‍वरप्रतिको प्रेम र छिमेकीप्रतिको प्रेमबीच नजिकको सम्बन्ध छ भनेर किन भन्‍न सकिन्छ?

१२ वास्तवमा, परमेश्‍वरप्रतिको प्रेम र छिमेकीप्रतिको प्रेमबीच नजिकको सम्बन्ध छ। प्रेरित यूहन्‍नाले यसो भने: “प्रेम परमेश्‍वरबाटको हो। . . . यदि कसैले ‘म परमेश्‍वरलाई प्रेम गर्छु,’ भन्छ र आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो, किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्‍वरलाई प्रेम गर्नसक्‍तैन।” (१ यूहन्‍ना ४:७, २०) यहोवा प्रेमको स्रोत र प्रेमको मूर्तरूप हुनुहुन्छ। उहाँले जे पनि गर्नुहुन्छ प्रेमकै कारण गर्नुहुन्छ। हामी उहाँकै स्वरूपमा बनेका हुनाले हामीसित पनि अरूलाई प्रेम देखाउन सक्ने क्षमता छ। (उत्पत्ति १:२७) छिमेकीप्रति प्रेम देखाउँदा हामीले परमेश्‍वप्रति आफ्नो प्रेम देखाइरहेका हुन्छौं।

प्रेम गर्नुको अर्थ आज्ञा पालन गर्नु हो

१३. हामीले परमेश्‍वरलाई प्रेम गर्ने हो भने पहिले के गर्नै पर्छ?

१३ नदेखेको परमेश्‍वरलाई हामी कसरी प्रेम गर्न सक्छौं? सबैभन्दा महत्त्वपूर्ण पहिलो कदम उहाँलाई चिन्‍नु हो। नचिनेको व्यक्‍तिलाई साँच्चै प्रेम गर्न वा तिनमा भरोसा गर्न हामी सक्दैनौं। त्यसैले, बाइबल पढेर, प्रार्थना गरेर अनि उहाँलाई चिनेर उहाँलाई प्रेम गर्न थालिसकेका व्यक्‍तिहरूसित संगत गरेर परमेश्‍वरलाई चिन्‍न उहाँको वचनले हामीलाई प्रोत्साहन दिन्छ। (भजन १:१, २; फिलिप्पी ४:६; हिब्रू १०:२५) सुसमाचारका चारवटा पुस्तक विशेष मूल्यवान्‌ छन्‌ किनभने येशू ख्रीष्टले आफ्नो जीवन र सेवकाईमा कसरी यहोवाको व्यक्‍तित्व प्रतिबिम्बित गर्नुभयो भनी ती पुस्तकहरूले प्रकट गर्छन्‌। उहाँलाई चिन्दा र उहाँले हामीप्रति देखाउनुभएको प्रेमको मूल्याङ्‌कन गर्दा, परमेश्‍वरको आज्ञा पालन गर्ने र उहाँको व्यक्‍तित्व अनुकरण गर्ने हाम्रो इच्छा अझै तीव्र हुन्छ। हो, परमेश्‍वरप्रतिको प्रेममा उहाँप्रति आज्ञाकारी हुनु समावेश छ।

१४. परमेश्‍वरका नियमहरू बोझिला छैनन्‌ भनेर किन भन्‍न सकिन्छ?

१४ हामी कसैलाई प्रेम गर्छौं भने तिनलाई मन पर्ने र मन नपर्ने कुरा हामीलाई थाह हुन्छ अनि हामी त्यसैअनुसार चल्छौं। हामीले प्रेम गर्ने व्यक्‍तिलाई दुःखी बनाउन हामी चाहँदैनौं। प्रेरित यूहन्‍नाले यस्तो लेखे: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्‌।” (१ यूहन्‍ना ५:३) ती आज्ञाहरू बोझिला वा अनगन्ती छैनन्‌। हामी प्रेमअनुसार चल्छौं। आफूले के-के गर्न हुन्छ र के-के गर्न हुँदैन भनेर हामीले तीनथुप्रो नियमहरू कण्ठ गरिरहनु आवश्‍यक छैन; परमेश्‍वरप्रतिको प्रेमले नै हामीलाई सबै थोक गर्न लगाउँछ। हामी परमेश्‍वरलाई प्रेम गर्छौं भने उहाँको इच्छा गर्न रमाउँछौं। यसरी हामी परमेश्‍वरको अनुमोदन पाउँछौं र हाम्रै फाइदा हुन्छ, उहाँका निर्देशनहरूले सधैं हाम्रो हित गर्छ।—यशैया ४८:१७.

१५. कुन कुराले हामीलाई यहोवाको अनुकरण गर्न उत्प्रेरित गर्नेछ? व्याख्या गर्नुहोस्‌।

१५ परमेश्‍वरप्रतिको प्रेमले हामीलाई उहाँका गुणहरू अनुकरण गर्न उत्प्रेरित गर्छ। हामी कुनै व्यक्‍तिलाई प्रेम गर्छौं भने तिनमा भएका गुणहरूको सम्मान गर्छौं र तिनीजस्तै बन्‍ने कोसिस गर्छौं। यहोवा र येशूबीचको सम्बन्धलाई विचार गर्नुहोस्‌। उहाँहरू सायद अरबौं वर्षसम्म स्वर्गमा सँगै हुनुहुन्थ्यो। उहाँहरूबीच गहिरो र चोखो प्रेम थियो। स्वर्गमा बस्नुहुने आफ्नो पिताको येशूले यति राम्ररी अनुकरण गर्नुभयो कि आफ्ना चेलाहरूलाई उहाँले यसो भन्‍न सक्नुभयो: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।” (यूहन्‍ना १४:९) जसै हामी यहोवा र उहाँको पुत्रबारे अझ बढी ज्ञान लिन्छौं अनि उहाँहरूप्रति मूल्याङ्‌कन बढाउँछौं, उहाँहरू जस्तै बन्‍न हामी त्यति नै उत्प्रेरित हुन्छौं। यहोवाप्रतिको हाम्रो प्रेमका साथै उहाँको पवित्र आत्माको मदतद्वारा हामीले “पुरानो स्वभाव त्यसका चलनसमेत . . . [त्यागेर] नयाँ स्वभाव धारण” गर्न सक्नेछौं।—कलस्सी ३:९, १०, NRV; गलाती ५:२२, २३.

व्यवहारमा उतारिएको प्रेम

१६. प्रचार गर्ने तथा सिकाउने हाम्रो कामद्वारा परमेश्‍वर र छिमेकीप्रतिको प्रेम कसरी देखिन्छ?

१६ परमेश्‍वर र छिमेकीप्रतिको हाम्रो प्रेमले गर्दा मसीहीहरूको रूपमा हामी राज्यप्रचार तथा चेला बनाउने काममा भाग लिन उत्प्रेरित हुन्छौं। यसो गरेर हामी यहोवा परमेश्‍वरलाई खुसी बनाउँछौं जो “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा” गर्नुहुन्छ। (१ तिमोथी २:३, ४) अरू व्यक्‍तिहरूलाई ख्रीष्टको व्यवस्था तिनीहरूको हृदयमा लेख्न मदत दिएर हामी आनन्द पाउन सक्छौं। अनि यहोवाको ईश्‍वरीय गुण प्रतिबिम्बित गर्दै जाँदा तिनीहरूको व्यक्‍तित्वमा परिवर्तन आएको देख्दा हामी खुसी हुन्छौं। (२ कोरिन्थी ३:१८, NRV) परमेश्‍वरलाई चिन्‍न अरूलाई मदत दिनु वास्तवमा हामीले तिनीहरूलाई दिन सक्ने सबैभन्दा बहुमूल्य उपहार हो। यहोवासितको मित्रता स्वीकार्नेहरूले यसबाट सधैंभरि लाभ उठाउन सक्छन्‌।

१७. भौतिक कुराहरूप्रति प्रेम विकास गर्नुभन्दा परमेश्‍वर र छिमेकीप्रति प्रेम विकास गर्नु किन बुद्धिमानी हो?

१७ भौतिक कुराहरूलाई बहुमूल्य ठानिने र प्रेम समेत गरिने संसारमा हामी बाँचिरहेका छौं। तर भौतिक कुराहरू सधैंभरि रहिरहँदैनन्‌। ती चोरिन वा कुहिएर नष्ट हुन सक्छन्‌। (मत्ती ६:१९) बाइबल हामीलाई यस्तो चेतावनी दिन्छ: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्‍ना २:१६,१७) हो, यहोवा सधैंभरि रहिरहनुहुनेछ अनि उहाँलाई प्रेम गर्ने र उहाँको सेवा गर्नेहरू पनि सधैंभरि रहिरहनेछन्‌। त्यसैले जस्तोसुकै अनुकूल अवस्थामा समेत क्षणिक समयसम्म मात्र रहने संसारका कुराहरूको पछि लाग्नुभन्दा परमेश्‍वर र मानिसहरूप्रति प्रेम विकास गर्नु के बुद्धिमानी होइन र?

१८. एक जना मिसनरीले कसरी आत्म-त्यागी प्रेम देखाइन्‌?

१८ हामीले प्रेमको मार्ग अपनाउँदा अरूले यहोवाको प्रशंसा गर्न सक्छन्‌। सेनेगलमा सेवा गरिरहेकी मिसनरी सोन्यालाई विचार गर्नुहोस्‌। तिनले हाइडी नाउँकी एउटी स्त्रीलाई बाइबल अध्ययन गर्थिन्‌ र हाइडीलाई बैग्लै धर्म मान्‍ने उनको पतिबाट एच आइ भी सरेको थियो। उनको पतिको मृत्यु भइसकेपछि हाइडीले बप्तिस्मा लिइन्‌ तर केही समयपछि नै उनको स्वास्थ्य बिग्रन थाल्यो र एड्‌स भएको कारण उनलाई अस्पतालमा भर्ना गरियो। सोन्या यसो भन्छिन्‌: “अस्पतालका कर्मचारीहरूले सकेसम्म त गरे तर कर्मचारीहरू एकदमै कम थिए। अस्पतालमा उनको हेरविचार गर्न मण्डलीका स्वयम्‌सेवकहरूको मदत मागियो। दोस्रो रात, उनको ओछ्यानसँगै बिछ्याइएको गुन्द्रीमा मैले रात काटें र उनको मृत्यु नहोउन्जेलसम्म हेरविचार गरें। त्यहाँ खटिएका डाक्टरले यसो भने: ‘हाम्रो सबैभन्दा ठूलो समस्या यो हो कि कसैलाई एड्‌स भएको थाह पाउने बित्तिकै उसका आफ्नै परिवारका सदस्यहरूले समेत उसलाई त्याग्छन्‌। तपाईं त उनको नातेदार पनि होइन, एउटै देशको पनि होइन अनि अझ एउटै रङको समेत होइन तैपनि तपाईं किन खतरा मोल्न तयार हुनुहुन्छ?’ मेरो लागि हाइडी आफ्नै बहिनी जत्तिकै थिइन्‌ र हामी एउटै आमाबाबुबाट जन्मिएको जत्तिकै नजिक थियौं भनेर मैले बताएँ। मेरी नयाँ बहिनी हाइडीसितको मेरो सम्बन्धको कारण उनको हेरविचार गर्दा मैले आनन्द प्राप्त गरें।” अनि हाइडीको हेरविचार गर्न सोन्याले गरेको मायालु प्रयत्नको कारण तिनले कुनै नराम्रो परिणाम भोग्नुपरेन।

१९. परमेश्‍वरको व्यवस्था हाम्रो हृदयमा भएको कारण हामीले कुन अवसरको फाइदा उठाउनुपर्छ?

१९ यहोवाका सेवकहरूमाझ आत्म-त्यागी प्रेमका थुप्रै उदाहरणहरू पाउन सकिन्छ। आज परमेश्‍वरका जनहरूलाई चिनाउने कुनै लिखित आचारसंहिता त छैन। तर हिब्रू ८:१० मा लेखिएका निम्न शब्दहरू पूरा भएको हामी देख्छौं: “ ‘जुन करार इस्राएलको वंशसँग म बाँध्नेछु, सो यही हो, ती दिन पछि,’ परमप्रभु भन्‍नुहुन्छ, ‘तिनीहरूका मनैमा म मेरा व्यवस्थाहरू राखिदिनेछु, र तिनीहरूका हृदयमा पनि म लेखिदिनेछु, औ म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू चाहिं मेरो प्रजा हुनेछन्‌।’ ” प्रेम देखाउने हरेक अवसरको फाइदा उठाएर यहोवाले हाम्रो हृदयमा लेखिदिनुभएको प्रेमको व्यवस्थाको हामी सधैंभरि कदर गरौं।

२०. ख्रीष्टको व्यवस्था किन एउटा अमूल्य सम्पत्ति हो?

२० यस्तो प्रेम देखाउने विश्‍वव्यापी भ्रातृत्वसित मिलेर परमेश्‍वरको सेवा गर्नु कत्ति आनन्दको कुरा हो! ख्रीष्टको व्यवस्था आफ्नो हृदयमा हुनेहरूको लागि यस प्रेमशून्य संसारमा यो एउटा अमूल्य सम्पत्ति हो। तिनीहरूले यहोवाको प्रेमबाट आनन्द उठाउनुका साथै भ्रातृत्वको बलियो बन्धनमा खुसी पनि हुन्छन्‌। “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु कत्ति असल र मनोहर कुरा हुन्छ!” यहोवाका साक्षीहरू विभिन्‍न राष्ट्रमा बसोबास गर्छन्‌, विभिन्‍न भाषाहरू बोल्छन्‌ र तिनीहरूको संस्कृति बेग्ला-बेग्लै छ तैपनि तिनीहरूबीच अन्त कतै नपाइने धार्मिक एकता छ। यो एकताले यहोवाको अनुमोदन ल्याउँछ। भजनहारले यस्तो लेखे: “त्यहींनै [प्रेममा एकताबद्ध जनहरूमाझ] परमप्रभुले आशिषको आज्ञा दिनुभयो, अनन्तको जीवन।”—भजन १३३:१-३.

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

• दस आज्ञा कत्तिको महत्त्वपूर्ण थियो?

• हृदयमा लेखिएको व्यवस्था के हो?

• “ख्रीष्टको व्यवस्था[मा]” प्रेमले कस्तो भूमिका खेल्छ?

• परमेश्‍वर र छिमेकीप्रति हामी कुन-कुन तरिकामा प्रेम देखाउन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएको चित्र]

इस्राएलीहरूले ढुङ्‌गाको पाटीमा लेखिएको व्यवस्था पाएका थिए

[पृष्ठ २५-मा भएका चित्रहरू]

मसीहीहरूले पाएको परमेश्‍वरको व्यवस्था तिनीहरूको हृदयमा लेखिएको छ

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ २००४ को जिल्ला अधिवेशनमा सेनेगलकी एउटी केटीसित सोन्या