सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अहिलेको सङ्‌कटमय घडीमा परमेश्‍वरसित हिंड्‌नुहोस्‌

अहिलेको सङ्‌कटमय घडीमा परमेश्‍वरसित हिंड्‌नुहोस्‌

अहिलेको सङ्‌कटमय घडीमा परमेश्‍वरसित हिंड्‌नुहोस्‌

“हनोक परमेश्‍वरका साथसाथ हिंड्‌थे। औ तिनी रहेनन्‌, किनभने परमेश्‍वरले तिनलाई उठाइलानुभयो।”—उत्पत्ति ५:२४.

१. हामी बाँचिरहेको समयलाई कठिन बनाउने केही कुराहरू के-के हुन्‌?

 सङ्‌कटको घडी! सन्‌ १९१४ मा मसीही राज्य स्थापना भएपछि मानिसजातिले वर्षौंदेखि भोगिरहेको अशान्ति र हिंसाले गर्दा अहिलेको समयलाई साँच्चै सङ्‌कटमय भन्‍न सकिन्छ। सन्‌ १९१४ देखि मानिसहरू “आखिरी दिनमा” बाँचिरहेका छन्‌। अनिकाल, रोगबिमार, भूकम्प र युद्धजस्ता विपत्तिहरूले मानिसहरूलाई अहिलेजति पहिला कहिल्यै पिरोलेको थिएन। (२ तिमोथी ३:१; प्रकाश ६:१-८) यी विपत्तिहरूबाट यहोवाका उपासकहरू पनि मुक्‍त छैनन्‌। धेरै होस्‌ या थोरै तर हामी सबैले नै अहिले बाँचिरहेको समयको कठिनाइ तथा अनिश्‍चितता भोग्नुपर्छ। जीवनलाई एकदमै कठिन बनाउने केही कुराहरू हुन्‌: आर्थिक समस्या, राजनैतिक अस्थिरता, अपराध र रोगबिमार।

२. यहोवाका सेवकहरूले कस्ता चुनौतीहरू सामना गरेका छन्‌?

साथै, “परमेश्‍वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने” काम गरिरहेका व्यक्‍तिहरू विरुद्ध शैतानले युद्ध गरिरहेको हुनाले यहोवाका थुप्रै सेवकहरूले एकपछि अर्को कठोर सतावट भोग्नुपरेको छ। (प्रकाश १२:१७) हामी सबैले व्यक्‍तिगत तवरमा सतावट भोगेका छैनौं होला तर सबै साँचो मसीहीहरूले शैतान अर्थात्‌ दियाबल र त्यसले सारा मानिसमा फैलाएको आत्माको प्रतिरोध गर्न सङ्‌घर्ष गर्नै पर्छ। (एफिसी २:२; ६:१२) चाहे काम गर्ने ठाउँमा, स्कूलमा र अरू ठाउँमा होस्‌, शुद्ध उपासनाप्रति पटक्कै चासो नदेखाउने व्यक्‍तिहरूसित दिनहुँ व्यवहार गर्नुपर्ने हुन्छ। त्यसैले शैतानको मनोभावबाट प्रभावित नहुन हामी सधैं चनाखो रहनुपर्छ।

अन्यजातिहरूसित होइन तर परमेश्‍वरसित हिंड्‌नुहोस्‌

३, ४. कुन अर्थमा मसीहीहरू संसारभन्दा भिन्‍नछन्‌?

प्रथम शताब्दीमा पनि मसीहीहरूले यस संसारको मनोभावको प्रतिरोध गर्न कडा सङ्‌घर्ष गरे र यसले गर्दा संसारका मानिसहरूभन्दा तिनीहरू एकदमै भिन्‍न भए। यो भिन्‍नता देखाउँदै पावलले यस्तो लेखे: “यसकारण म यो भन्छु, र प्रभुमा साक्षी दिन्छु, कि तिमीहरू फेरि यस्तो चाल नचल जस्तो अन्यजातिहरू आफ्ना आफ्ना मनको व्यर्थतामा चल्दछन्‌। तिनीहरूका हृदय कठोर भएका र तिनीहरूमा भएको अज्ञानताको समझ अँध्यारो भएको हुनाले परमेश्‍वरको जीवनबाट बिराना भए, जसले निर्दयी भएर लालचसाथ सारा अशुद्ध काम गर्नको निम्ति आफैलाई कामोद्दीपनामा सुम्पिदिए।”—एफिसी ४:१७-१९.

पावलको समय र आज हाम्रो समयमा पनि व्याप्त आध्यात्मिक तथा नैतिक तवरमा निष्पट्ट अन्धकारलाई ती शब्दहरूले कति स्पष्टसित वर्णन गर्छ! प्रथम शताब्दीमा जस्तै अहिलेका मसीहीहरू पनि ‘अन्यजातिहरू जस्तो’ हिंड्‌दैनन्‌। बरु, तिनीहरूले परमेश्‍वरसित हिंड्‌ने महान्‌ सुअवसर पाएका छन्‌। कसै-कसैले यसो भन्लान्‌: तुच्छ अनि असिद्ध मानिसहरू यहोवा परमेश्‍वरसित हिंड्‌न सक्छन्‌ भन्‍नु मनासिब छ र? मानिसहरू परमेश्‍वरसित हिंड्‌न सक्छन्‌ भनेर बाइबलले बताउँछ। कुरा त्यति मात्र होइन, तिनीहरू त्यसरी हिंडेको यहोवा आशा गर्नुहुन्छ। ईसापूर्व आठौं शताब्दीमा अगमवक्‍ता मीकाले यी प्रेरित शब्दहरू लेखे: “परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्‍वरसित नम्र भएर हिंड्‌नू।”—छड्‌के अक्षर हाम्रो, मीका ६:८.

परमेश्‍वरसित कसरी हिंड्‌ने अनि किन?

५. असिद्ध मानिसहरू कसरी परमेश्‍वरसित हिंड्‌न सक्छन्‌?

सर्वशक्‍तिमान्‌ परमेश्‍वर अदृश्‍य हुनुभए तापनि हामी कसरी उहाँसित हिंड्‌न सक्छौं? मानिसहरूसित हामी जसरी हिंड्‌छौं, त्यसरी त पक्कै पनि परमेश्‍वरसित हिंड्‌न सक्दैनौं। बाइबलमा “हिंड्‌नु” भन्‍ने अभिव्यक्‍तिको अर्थ “कुनै खास उद्देश्‍य पछ्याउनु” भन्‍ने हुन सक्छ। a यो कुरालाई विचार गर्दा, परमेश्‍वरसित हिंड्‌ने व्यक्‍तिले परमेश्‍वरले तोक्नुभएको जीवन शैली अनि उहाँलाई प्रसन्‍न तुल्याउने मार्ग पछ्याउँछन्‌ भन्‍ने बुझ्न सक्छौं। यस्तो मार्ग पछ्याउँदा हामी आफू वरपरका प्रायजसो मानिसहरूभन्दा भिन्‍न हुन्छौं। तर परमेश्‍वरसित हिंड्‌नु नै मसीहीहरूको लागि एक मात्र सही बाटो हो। किन? यसका थुप्रै कारणहरू छन्‌।

६, ७. परमेश्‍वरसित हिंड्‌नु किन सर्वोत्तम मार्ग हो?

पहिलो कारण हो, यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, हाम्रो जीवनको मूल हुनुहुन्छ अनि जीवन धान्‍न हामीलाई चाहिने सबै कुराको प्रबन्धकर्ता हुनुहुन्छ। (प्रकाश ४:११) यसकारण हामी कसरी हिंड्‌नुपर्छ भनी हामीलाई निर्देशन दिने अधिकार उहाँसित मात्र छ। साथै, परमेश्‍वरसित हिंड्‌नु भनेको सबैभन्दा लाभदायी मार्ग हो। उहाँसित हिंड्‌नेहरूको लागि यहोवाले पापको क्षमा गर्ने प्रबन्ध मिलाउनुभएको छ अनि सधैंभरि बाँच्ने अनन्त जीवनको पक्का आशा हामीलाई दिनुभएको छ। मानिसहरू असिद्ध हुनुका साथै शैतानको नियन्त्रणमा रहेको संसारमा बाँच्नुपरे तापनि उहाँसित हिंड्‌ने व्यक्‍तिहरूले अहिल्यै जीवन सफल बनाउने मदत पाउन सक्छन्‌ किनभने हामीलाई असाध्यै माया गर्नुहुने स्वर्गमा बस्नुहुने पिताले बुद्धिमानी सल्लाह दिनुहुन्छ। (यूहन्‍ना ३:१६; २ तिमोथी ३:१५, १६; १ यूहन्‍ना १:८; २:२५; ५:१९) परमेश्‍वरसित हिंड्‌नुको अर्को कारण हो, उहाँसित हिंड्‌न इच्छुक भयौं भने मण्डलीको शान्ति र एकतामा योगदान पुऱ्‍याइरहेका हुन्छौं।—कलस्सी ३:१५, १६.

परमेश्‍वरसित हिंड्‌नुको सबैभन्दा महत्त्वपूर्ण कारण हो—अदनको बगैंचामा उठाइएको ठूलो विवाद अर्थात्‌ सार्वभौमिकताको विवादमा हामी कसको पक्षमा छौं भनेर देखाउने मौका पाउँछौं। (उत्पत्ति ३:१-६) आफ्नो जीवन शैलीद्वारा हामी पूर्णतया यहोवाको पक्षमा छौं भनेर देखाउँछौं अनि यस ब्रह्‍माण्डको वैध सार्वभौम उहाँ नै हुनुहुन्छ भनेर निडरतापूर्वक घोषणा गर्छौं। (भजन ८३:१८) यसो गर्दा परमेश्‍वरको नाउँ पवित्र गरियोस्‌ र उहाँको इच्छा पूरा होस्‌ भनेर हामीले प्रार्थना गरेझैं चलिरहेका हुन्छौं। (मत्ती ६:९, १०) परमेश्‍वरसित हिंड्‌ने निर्णय गर्नेहरू कत्ति बुद्धिमान्‌ छन्‌! आफू सही दिशातर्फ अघि बढिरहेको छु भन्‍ने कुरामा तिनीहरू ढुक्क हुन सक्छन्‌ किनभने यहोवा मात्रै “सर्वज्ञानी” हुनुहुन्छ। उहाँ कहिल्यै गल्ती गर्नुहुन्‍न।—रोमी १६:२७.

८. हनोक र नूहको समय कसरी हाम्रो समय जस्तै थियो?

अहिलेको जस्तो सङ्‌कटको घडी र प्रायजसो मानिसहरूले यहोवाको सेवा गर्न कुनै चासो नदेखाउने समयमा मसीहीको रूपमा जीवन बिताउनु कसरी सम्भव छ? अत्यन्तै कठिन समयमा आफ्नो निष्ठा कायम राख्ने पुरातन समयका विश्‍वासी पुरुषहरूलाई विचार गऱ्‍यौं भने यस प्रश्‍नको जवाफ पाउनेछौं। ती विश्‍वासी पुरुषहरूमध्ये दुई जना हनोक र नूह थिए। नूह र हनोकको समय अनि हाम्रो समयबीच धेरै समानता छ। त्यतिबेला जताततै दुष्टता थियो। नूहको दिनमा हिंसा र अनैतिकताले पृथ्वी भरिएको थियो। तैपनि हनोक र नूहले त्यतिबेलाको संसारको आत्माको प्रतिरोध गरे अनि यहोवासित हिंडे। तिनीहरू कसरी परमेश्‍वरसित हिंड्‌न सके? यस प्रश्‍नको जवाफ पाउन हामी यस लेखमा हनोकको उदाहरणबारे छलफल गर्नेछौं। अनि अर्को लेखमा नूहबारे विचार गर्नेछौं।

सङ्‌कटको घडीमा हनोक परमेश्‍वरसित हिंडे

९. हनोकबारे हामीलाई के-के थाह छ?

परमेश्‍वरसित हिंड्‌ने व्यक्‍ति भनी बाइबलमा उल्लेख गरिएको पहिलो व्यक्‍ति हनोक थिए। बाइबल विवरण यसो भन्छ: “मतूशेलह जन्मेपछि हनोक . . . परमेश्‍वरको साथसाथ हिंड्‌दै रहे।” (उत्पत्ति ५:२२) हाम्रो आयुसित तुलना गर्दा हनोकको आयु लामो भए तापनि त्यतिबेलाका मानिसहरूको तुलनामा छोटो थियो किनभने त्यतिबेलाका मानिसहरू ८००/९०० वर्ष बाँच्थे। हनोकको आयु उल्लेख गरेपछि बाइबल विवरण यसो भन्छ: “हनोक परमेश्‍वरका साथसाथ हिंड्‌थे। औ तिनी रहेनन्‌, किनभने परमेश्‍वरले तिनलाई उठाइलानुभयो।” (उत्पत्ति ५:२४) स्पष्टतः विरोधीहरूले हानि पुऱ्‍याउनुअघि नै यहोवाले हनोकलाई जीवितहरूको संसारबाट मृत्युको चिर निद्रामा लैजानुभयो। (हिब्रू ११:५, १३) यी छोटा विवरणहरूबाहेक बाइबलमा हनोकबारे एकदमै कम मात्र उल्लेख गरिएको छ। तैपनि हामीसित उपलब्ध जानकारी र अरू विवरणहरूको आधारमा यसो भन्‍न सक्ने हामीसित ठोस कारण छ: हनोक बाँचिरहेको समय सङ्‌कटमय थियो।

१०, ११. (क) आदम र हव्वाले विद्रोह गरेपछि कसरी भ्रष्टता फैलियो? (ख) हनोकले कस्तो भविष्यसूचक सन्देश प्रचार गरे र तिनले कस्तो प्रतिक्रिया सहनु पऱ्‍यो?

१० उदाहरणका लागि, आदमले पाप गरेपछि मानव परिवारमा कति चाँडो भ्रष्टता फैलियो, विचार गर्नुहोस्‌। बाइबलले बताएअनुसार आदमको जेठो छोरा कयिनले आफ्नो भाइ हाबिलको हत्या गरेपछि तिनी सँगी मानवको हत्या गर्ने पहिलो हत्यारा भए। (उत्पत्ति ४:८-१०) हाबिलको मृत्युपछि आदम र हव्वाको अर्को छोरा जन्मियो र उनीहरूले तिनको नाउँ सेत राखे। तिनको विषयमा हामी यस्तो लेखिएको पाउँछौं: “सेतको पनि एउटा छोरो भयो। औ तिनले तिनको नाउँ एनोश राखे। त्यस समयदेखि मानिसले परमप्रभुको [“यहोवाको,” NW] नाउँको पुकारा गर्न शुरू गरे।” (उत्पत्ति ४:२५, २६) तर दुःखको कुरा, त्यतिबेलाका मानिसहरूले गलत ढङ्‌गमा “यहोवाको नाउँको पुकारा” गरे। तिनीहरूले साँचो परमेश्‍वरको नाउँ लिएर मानिसहरू वा मूर्तिलाई पुकारिरहेका थिए। b एनोश जन्मेको धेरै वर्षपछि कयिनका एक जना सन्तान लेमेकले आफ्नी दुइटी श्रीमतीको लागि एउटा गीत रचे र त्यस गीतमा लेमेकले आफूलाई घाइते पार्ने जवान मानिसलाई मारेको विषयमा लेखे। तिनले यस्तो चेतावनी पनि दिए: “यदि कयिनको बदला सात गुणा लिइन्छ भने लेमेकको चाहिं सतहत्तर गुणा लिइनेछ।”—उत्पत्ति ४:१०, १९, २३, २४.

११ यहाँ दिइएका स-साना विवरणहरूले देखाएझैं शैतानले अदनको बगैंचामा सुरु गरेको भ्रष्टताले गर्दा आदमका सन्तानहरूमा दुष्टता एकदमै चाँड-चाँडो फैलिन थाल्यो। यस्तो संसारमा हनोक जो यहोवाका एक जना अगमवक्‍ता थिए, तिनले परमेश्‍वरको प्रेरणाद्वारा व्यक्‍त गरेका सशक्‍त शब्दहरू अहिले हाम्रो समयको लागि पनि अर्थपूर्ण छन्‌। हनोकले गरेको भविष्यवाणीबारे यहूदा यस्तो रिपोर्ट गर्छन्‌: “हेर परमप्रभु आफ्ना हजारौं पवित्र जनहरूका साथमा सबैको इन्साफ गर्नलाई, र सबै अधर्मीहरूमाथि तिनीहरूले अधर्मसँग गरेका तिनीहरूका सबै अधर्मी कामहरूका विषयमा, र अधर्मी पापीहरूले उहाँका विरुद्धमा बोलेका सबै कठोर कुराहरूको दोष प्रकट गर्नलाई आउनुभयो।” (यहूदा १४, १५) यी शब्दहरूको अन्तिम पूर्ति आरमागेडोनमा हुनेछ। (प्रकाश १६:१४, १६) हनोकको दिनमा पनि हनोकको भविष्यवाणी सुन्‍न नचाहेका “अधर्मी पापीहरू” थुप्रै थिए भन्‍ने कुरामा हामीलाई कुनै शङ्‌का छैन। ती अधर्मीहरूले हनोकलाई हानि नपुऱ्‍याऊन्‌ भनेर यहोवाले हनोकलाई अन्तै लैजानु साँच्चै मायालु कुरा हो!

परमेश्‍वरसित हिंड्‌न हनोकलाई कुन कुराले बलियो बनायो?

१२. कुन कुराले गर्दा हनोक आफ्नो समयका मानिसहरूभन्दा भिन्‍न भए?

१२ अदनको बगैंचामा आदम र हव्वाले शैतानको कुरा सुने अनि आदमले यहोवाको विद्रोह गरे। (उत्पत्ति ३:१-६) तिनीहरूका छोरा हाबिलले भने बेग्लै मार्ग रोजे अनि यहोवाले तिनलाई ग्रहण गर्नुभयो। (उत्पत्ति ४:३, ४) दुःखको कुरा, आदमका प्रायजसो सन्तान हाबिल जस्तो भएनन्‌। तर सयौं वर्षपछि जन्मेका हनोक भने हाबिल जस्तै थिए। हनोक र आदमका अरू थुप्रै सन्तानहरूबीच कस्तो भिन्‍नता थियो? यस प्रश्‍नको जवाफ दिंदै प्रेरित पावलले यस्तो लेखे: “विश्‍वासैबाट हनोक मृत्यु नभएरै स्वर्गारोहण भए [“अन्त कतै लगियो,” NW], र परमेश्‍वरले स्वर्गारोहण गरिदिनुभएको [“अन्त कतै लग्नुभएको,” NW] हुनाले तिनी फेला परेनन्‌। किनभने उनको स्वर्गारोहण हुनभन्दा [“अन्त कतै लगिनु,” NW] अघाडि उनले परमेश्‍वरलाई रिझाएका थिए भन्‍ने उनको गवाही भएको थियो।” (हिब्रू ११:५) हनोक, “[मसीहीपूर्व] गवाहीका मेघ[का]” भाग थिए जो विश्‍वासका उत्कृष्ट उदाहरणहरू हुन्‌। (हिब्रू १२:१) आफ्नो ३०० वर्षभन्दा लामो जीवनमा सही आचरण कायम राख्न हनोकलाई तिनको विश्‍वासले नै बलियो बनाएको थियो अनि हनोकको आयु हामीमध्ये प्रायजसोको आयुको तुलनामा तीनगुणाभन्दा बढी थियो!

१३. हनोकसित कस्तो विश्‍वास थियो?

१३ पावलले हनोक र अरू साक्षीहरूको विश्‍वासबारे यस्तो लेखे: “विश्‍वासचाहिं आशा राखेका कुराको निश्‍चयता, र नदेखेका कुराको प्रमाण हो।” (हिब्रू ११:१) विश्‍वास भनेको हामीले आशा गरेका कुराहरू अवश्‍य पूरा हुनेछन्‌ भन्‍ने आश्‍वासनको आधारमा निर्धक्क हुन सक्नु हो। यस्तो विश्‍वासमा एकदमै बलियो आशा मुछिएको हुन्छ र जीवनमा कुन कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठान्छौं, त्यसप्रतिको हाम्रो दृष्टिकोणलाई विश्‍वासले असर गर्छ। यस्तो किसिमको विश्‍वासले गर्दा हनोकले परमेश्‍वरसित हिंड्‌ने बल पाए जबकि त्यतिबेलाको संसार परमेश्‍वरसित हिंडेको थिएन।

१४. कस्तो सही ज्ञानमा हनोकको विश्‍वासको जग बसालिएको हुनुपर्छ?

१४ साँचो विश्‍वास सही ज्ञानमा आधारित हुन्छ। हनोकसित कस्तो ज्ञान थियो? (रोमी १०:१४, १७; १ तिमोथी २:४) अदनको बगैंचामा घटेका घटनाहरूबारे तिनलाई राम्ररी थाह थियो। अदनको बगैंचामा जीवन कस्तो थियो भनेर पनि तिनले सुनेका होलान्‌ जुन बगैंचा सायद त्यतिबेला अस्तित्वमा भए तापनि मानिसहरूको लागि निषेधित थियो। (उत्पत्ति ३:२३, २४) आदमका सन्तानहरूले पृथ्वी भरिनेछ र सारा पृथ्वी नै सुरुको प्रमोदवन जस्तै हुनेछ भन्‍ने परमेश्‍वरको उद्देश्‍यबारे हनोकलाई थाह थियो। (उत्पत्ति १:२८) साथै, यहोवाले प्रतिज्ञा गर्नुभएअनुसार एउटा सन्तान जन्मिनेछ र त्यस सन्तानले शैतानको शिर कुच्याउनेछ अनि शैतानको छलकपटले गर्दा भएका खराब असरहरू सच्याउनेछ भन्‍ने कुरालाई हनोक अवश्‍य कदर गर्थे। (उत्पत्ति ३:१५) हनोकको ईश्‍वरप्रेरित भविष्यवाणी यहूदाको पुस्तकमा सुरक्षित छ र यसले शैतानको सन्तानको विनाशबारे भविष्यवाणी गरेको छ। हनोकसित विश्‍वास भएको हुँदा “उहाँलाई खोज्नेहरूलाई प्रतिफल” दिनुहुने यहोवालाई नै तिनी उपासना गर्थे भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (हिब्रू ११:६) यसकारण, हामीसित जति ज्ञान छ, त्यति हनोकसित नभए तापनि दृढ विश्‍वासको जग बसाल्न तिनीसित पर्याप्त ज्ञान थियो। यस्तो विश्‍वासले गर्दा तिनले सङ्‌कटमय घडीमा आफ्नो निष्ठा कायम राख्न सके।

हनोकको उदाहरण अनुकरण गर्नुहोस्‌

१५, १६. हामी कसरी हनोकको उदाहरण पछ्याउन सक्छौं?

१५ अहिलेको सङ्‌कटमय घडीमा हामी हनोकजस्तै यहोवालाई प्रसन्‍न तुल्याउन चाहन्छौं। त्यसैकारण हामीले हनोकको उदाहरण पछ्याउनुपर्छ। हामीले यहोवा र उहाँको उद्देश्‍यबारे सही ज्ञान लिनुपर्छ र त्यसलाई सम्झिरहनुपर्छ। तर यति गरेर मात्र पुग्दैन। यो सही ज्ञानले हाम्रो जीवनको मार्गलाई डोऱ्‍याएको हुनुपर्छ। (भजन ११९:१०१; २ पत्रुस १:१९) परमेश्‍वरको सोचाइले हामीलाई डोऱ्‍याउन दिनुपर्छ अनि हाम्रो प्रत्येक सोचाइ र कामद्वारा उहाँलाई प्रसन्‍न तुल्याउने प्रयास सधैं गर्नुपर्छ।

१६ हनोकको समयमा अरू क-कसले यहोवाको सेवा गरेका थिए भन्‍ने रेकर्ड हामीसित छैन तर तिनी एक्लै थिए वा यहोवाको सेवा गर्ने मानिसहरू थोरै मात्र थिए भन्‍ने कुरा प्रस्ट छ। संसारमा हाम्रो संख्या पनि थोरै छ तर त्यसो भन्दैमा हामी निरुत्साहित हुँदैनौं। हामी विरुद्ध जोसुकै खडा भए तापनि यहोवाले हामीलाई सँभाल्नुहुनेछ। (रोमी ८:३१) अभक्‍त मानिसहरूको चाँडै विनाश हुनेछ भनेर हनोकले साहसी भई चेतावनी दिए। खिसी-टिउरी, विरोध र सतावटको बावजुद हामी साहसी भई “राज्यको यो सुसमाचार” प्रचार गर्छौं। (मत्ती २४:१४) आफ्नो समयका मानिसहरू जति लामो समयसम्म हनोक बाँचेनन्‌। तैपनि तिनले त्यतिबेलाको संसारमा आफ्नो आशा राखेका थिएनन्‌। त्योभन्दा अझ महान्‌ कुरामा तिनले आफ्नो ध्यान केन्द्रित गरेका थिए। (हिब्रू ११:१०, ३५) यहोवाको उद्देश्‍यको पूर्तिमा नै हाम्रो ध्यान पनि केन्द्रित छ। यसकारण यस संसारको रीतिअनुसार हामी चल्दैनौं। (१ कोरिन्थी ७:३१) बरु, यहोवाको सेवामा नै हाम्रो बल र सम्पत्ति चलाउँछौं।

१७. हनोकसित नभएको कस्तो ज्ञान हामीसित छ र हामीले के गर्नुपर्छ?

१७ परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको सन्तान यहोवाले तोक्नुभएको समयमा आउनेछ भनेर हनोकसित विश्‍वास थियो। त्यो सन्तान अर्थात्‌ येशू ख्रीष्ट देखा पर्नुभएको, छुटकाराको बलिदान चढाउनुभएको र हनोकजस्ता पुरातन विश्‍वासी साक्षीहरूको साथै हाम्रो निम्ति अनन्त जीवनको ढोका खोलिदिएको झण्डै २,००० वर्ष भइसक्यो। त्यो सन्तान अहिले परमेश्‍वरको राज्यको राजाको रूपमा सिंहासनमा विराजमान हुनुहुन्छ र उहाँले शैतानलाई स्वर्गबाट पृथ्वीमा फ्याँक्नुभयो जसले गर्दा अहिले जताततै सङ्‌कट बढेको छ। (प्रकाश १२:१२) हो, हनोकसित जति ज्ञान थियो, त्योभन्दा धेरै ज्ञान अहिले हामीसित छ। त्यसैले हामी पनि हनोकले जस्तै दृढ विश्‍वास राख्न सकौं। परमेश्‍वरका प्रतिज्ञाहरूको पूर्तिमाथिको विश्‍वासले हामीले गर्ने सबै कामलाई असर गरोस्‌। सङ्‌कटमय समयमा बाँचिरहेको भए तापनि हनोकजस्तै हामी पनि परमेश्‍वरसित हिंड्‌न सकौं।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स, खण्ड १, पृष्ठ २२०, अनुच्छेद ६ हेर्नुहोस्‌।

b एनोशको समयअघि यहोवा परमेश्‍वर आदमसित कुरा गर्नुहुन्थ्यो। हाबिलले चढाएको बलिदान यहोवाले ग्रहण गर्नुभयो। डाही रिसले गर्दा कयिनले हाबिलको हत्या गर्नुअघि परमेश्‍वरले तिनीसित पनि कुरा गर्नुभएको थियो। यतिबेला “यहोवाको नाउँको पुकारा” गर्न सुरु गरियो तर त्यो शुद्ध उपासनाको लागि थिएन।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• परमेश्‍वरसित हिंड्‌नुको अर्थ के हो?

• परमेश्‍वरसित हिंड्‌नु किन सर्वोत्तम मार्ग हो?

• सङ्‌कटमय समयमा बाँचिरहेको भए तापनि परमेश्‍वरसित हिंड्‌न हनोकलाई कुन कुराले बलियो बनायो?

• हामी कसरी हनोकको अनुकरण गर्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

विश्‍वासले गर्दा “हनोक परमेश्‍वरका साथसाथ” हिंडे

[पृष्ठ १७-मा भएको चित्र]

यहोवाका प्रतिज्ञाहरू अवश्‍य पूरा हुनेछन्‌ भनेर हामीसित दृढ विश्‍वास छ

[पृष्ठ १३-मा भएको चित्रको स्रोत]

Woman, far right: FAO photo/B. Imevbore; collapsing building: San Hong R-C Picture Company