सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टको सिपाहीको रूपमा धैर्य धारण गर्ने

ख्रीष्टको सिपाहीको रूपमा धैर्य धारण गर्ने

जीवनी

ख्रीष्टको सिपाहीको रूपमा धैर्य धारण गर्ने

युरी काप्टोलाको वृत्तान्तमा आधारित

“तिमीसित साँच्चै विश्‍वास रहेछ भनेर अब चाहिं म पक्का भएँ!” यी शब्दहरू मैले आशै नगरेको व्यक्‍ति अर्थात्‌ सोभियत सेनाका एक जना अधिकृतले भनेका थिए र यी शब्दहरूले मलाई चाहिएकै बेलामा प्रोत्साहन दियो। लामो समयदेखि मैले कैद सजाय काटिरहेको थिएँ र मदतको लागि यहोवालाई व्यग्र प्रार्थना गरेको थिएँ। मैले एउटा लामो सङ्‌घर्ष गरिरहेको थिएँ जसको लागि धीरज र दृढ सङ्‌कल्प चाहिन्थ्यो।

मेरो जन्म अक्टोबर १९, १९६२ मा भएको थियो र म युक्रेनको पश्‍चिमी भागमा हुर्कें। म जन्मेकै वर्ष यहोवाका साक्षीहरूसित मेरो बुबाको सम्पर्क भयो। मेरो बुबाको नाउँ पनि युरी नै थियो। केही समयपछि नै उहाँ हाम्रो गाउँमा यहोवाको उपासना गर्ने पहिलो व्यक्‍ति बन्‍नुभयो। यहोवाका साक्षीहरूको विरोध गर्ने अधिकारीहरूबाट उहाँको क्रियाकलाप लुक्न सकेन।

तथापि, मेरा आमाबाबुले देखाएका मसीही गुणहरू र अरूप्रतिको चासोको कारण प्रायजसो छिमेकीहरू उहाँहरूको आदर गर्थे। मेरी एउटी दिदी, दुइटी बहिनी र ममा सानैदेखि परमेश्‍वरप्रति प्रेम बसाल्न मेरा आमाबाबुले हरेक मौकाको सदुपयोग गर्नुभयो र यसले स्कूलमा आइपरेका थुप्रै चुनौतीहरूको सामना गर्न मलाई मदत गऱ्‍यो। आफूलाई लेनिनको अक्टोबर चिल्ड्रेन भनिने समूहको सदस्यको रूपमा चिनाउन हरेक विद्यार्थीले ब्याज लगाउनुपर्दा यस्तै चुनौती आइपऱ्‍यो। मेरो मसीही तटस्थताको कारण मैले ब्याज लगाइनँ र यसले गर्दा म अरूभन्दा अलग्गै छुट्टिएँ।—यूहन्‍ना ६:१५; १७:१६.

म तीन कक्षामा पुगेपछि सबै विद्यार्थीहरू यङ पायनियर भनिने कम्युनिस्ट युवा संगठनको सदस्य हुनुपर्थ्यो। त्यस समूहमा भर्ना हुने समारोहको लागि एक दिन हाम्रो कक्षाका सबै विद्यार्थीहरूलाई स्कूलको चौरमा निकालियो। अब मलाई खिसी गर्छन्‌ र गाली खानुपर्ने होला भनेर म असाध्यै डराएँ। मबाहेक अरू सबैले आ-आफ्नो घरबाट पायनियरले आफ्नो घाँटीमा बाँध्ने रातो स्कार्फ ल्याएका थिए र सबै विद्यार्थीहरू स्कूलको प्रिन्सिपल, शिक्षक र आफूभन्दा ठूलो कक्षाका विद्यार्थीहरूसामु लाइन लागेर उभिए। ठूलो कक्षाका विद्यार्थीहरूलाई हाम्रो घाँटीमा स्कार्फ बाँधिदिन आग्रह गरिंदा, कसैले पनि मलाई वास्ता नगरून्‌ भनेर म टाउको निहुराएर बसें।

एकदमै टाढाका झ्यालखानहरूमा लगिएँ

म १८ वर्षको हुँदा, मसीही तटस्थता कायम राखेको कारण मलाई तीन वर्षको कैद सजाय सुनाइयो। (यशैया २:४) पहिलो वर्ष मैले युक्रेनको भिन्‍निट्‌स्काया जिल्लाको ट्रुडोभोये सहरमा बिताएँ। त्यहाँ मैले लगभग ३० जना यहोवाका साक्षीहरूलाई भेटें। हामीले एकअर्कासित संगत गर्न नसकोस्‌ भनेर अधिकारीहरूले हामीलाई दुई-दुई जना गरी छुट्टा-छुट्टै काममा लगाउँथे।

अगस्त १९८२ मा इडुआर्ट नाउँका अर्का एक जना साक्षी र मलाई कैदीहरू ओसार्ने रेलमा राखेर कैदीहरूको एउटा समूहसित उत्तरी युराल पर्वततिर पठाइयो। पर्मस्काया जिल्लाको सोलिकाम्सक झ्यालखानमा नपुगुन्जेलसम्मको आठ दिन हामीले असाध्यै गर्मी र कोचाकोच अवस्थामा बिताउनुपऱ्‍यो। इडुआर्ट र मलाई भिन्‍ना-भिन्‍नै कोठामा राखियो। दुई हप्तापछि, मलाई अझै उत्तरतर्फ पर्ने क्रास्नोभिशेर्स्की क्षेत्रको भ्योल्समा लगियो।

मध्यरातको निष्पट्ट अँध्यारोमा हामीलाई लैजाने गाडी आइपुग्यो। अन्धकार भए तापनि एक जना अधिकारीले हामीलाई डुङ्‌गामा एउटा नदी पार तर्न आदेश दिए। अँध्यारोले गर्दा हामीले न नदी देख्यौं न त डुङ्‌गा नै! तैपनि छामछाम छुमछुम गर्दै हामीले डुङ्‌गा खोज्यौं र असाध्यै डर लागिरहेको भए तापनि नदी तर्न सक्यौं। पारिपट्टि पुगिसकेपछि नजिकैको डाँडामा देखिएको बत्तीतर्फ अघि बढ्यौं र त्यहाँ पुग्दा केही पालहरू देख्यौं। यही नै हाम्रो नयाँ घर हुने थियो। म र अरू ३० जना कैदी एउटा पालमा बस्थ्यौं र यो पाल अरू पालहरूभन्दा केही ठूलो थियो। जाडो महिनामा तापक्रम माइनस ४० डिग्री सेल्सियससम्म पुग्थ्यो र पाल हुनु र नहुनुमा कुनै फरक थिएन। बन्दीहरूको मुख्य काम रूख ढाल्नु थियो तर मैले भने कैदीहरूका लागि छाप्राहरू बनाउने काम गरें।

हाम्रो दुर्गम बस्तीमा आध्यात्मिक खानेकुरा पुग्छ

त्यस बस्तीमा म एक जना मात्र साक्षी थिएँ; तैपनि यहोवाले मलाई त्याग्नुभएन। एक दिनको कुरा हो, अझसम्म पनि पश्‍चिमी युक्रेनमै बसिरहनुभएकी मेरी आमाले हुलाकमार्फत पठाउनुभएको एउटा पोका मैले पाएँ। गार्डले त्यो पोका खोल्दा सबैभन्दा पहिले एउटा सानो बाइबल देख्यो। उसले त्यो बाइबलको पाना पल्टाउन थाल्यो। यस आध्यात्मिक सम्पत्ति जफत हुनदेखि जोगाउन के भन्‍ने होला भनेर मैले सोच्न थालें। गार्डले जङ्‌गिदै सोध्यो: “यो के हो?” मैले जवाफ सोच्न भ्याउनुभन्दा पहिले नै नजिकै उभिरहेको एक जना इन्सपेक्टरले यस्तो जवाफ दियो: “ए, त्यो! डिक्सनरी हो।” म चुपचाप बसें। (उपदेशक ३:७) इन्सपेक्टरले पूरै पोका खोतल्यो र अमूल्य बाइबलसहित त्यो पोका मलाई दियो। म यत्ति धेरै खुसी भएँ कि त्यस पोकाबाट अलिकति खानेकुरा झिकेर मैले उसलाई दिएँ। त्यो पोका हातमा पर्दा, यहोवाले मलाई बिर्सनुभएको छैन भनेर मैले थाह पाएँ। उहाँले मलाई मैले सोचेको भन्दा बढी मदत दिनुभयो र मेरा आध्यात्मिक आवश्‍यकताहरूको हेरविचार गर्नुभयो।—हिब्रू १३:५.

लत्तो नछोडी प्रचार गरिरहने

केही महिनापछि, लगभग ४०० किलोमिटर पर रहेको झ्यालखानबाट एक जना मसीही भाइले पठाएको चिठी पाउँदा म छक्क परें। त्यस पत्रमा उनले सच्चाइप्रति चासो देखाएको एक जना व्यक्‍ति अहिले मेरो शिविरमा हुन सक्ने भएकोले तिनलाई खोज्न अनुरोध गरेका थिए। यस्तो खुल्ला पत्र लेख्नु उचित थिएन किनभने हाम्रा चिठीहरू सेन्सर गरिन्थ्यो अर्थात्‌ जाँचिन्थ्यो। नभन्दै, एक जना अफिसरले मलाई तिनको कार्यालयमा बोलाए अनि प्रचार नगर्न कडा चेतावनी दिए। त्यसपछि, आफ्नो विश्‍वासबारे अरूलाई बताउँदिनँ भनेर कबुल गरिएको कागजमा हस्ताक्षर गर्न तिनले मलाई आदेश दिए। म एक जना यहोवाको साक्षी हुँ भन्‍ने कुरा सबैले थाह पाइसकेको हुनाले त्यो कागजमा हस्ताक्षर गर्नुको कुनै अर्थ म देख्दिनँ भनेर मैले जवाफ दिएँ। अरू कैदीहरू म झ्यालखानमा पर्नुको कारण थाह पाउन चाहन्छन्‌ भनेर मैले बताएँ। मैले तिनीहरूलाई के जवाफ दिने? (प्रेरित ४:२०) डरधम्की देखाए तापनि मलाई कुनै फरक पर्नेछैन भन्‍ने कुरा ती अफिसरले बुझे अनि तिनी मेरो अनुहारै हेर्न चाहँदैनथे। त्यसपछि मलाई अर्कै शिविरमा पठाइयो।

मलाई लगभग २०० किलोमिटर टाढा पर्ने भाया गाउँमा सारियो। त्यहाँका सुपरीवेक्षकहरूले मेरो मसीही अडानको कदर गर्दै गैर-सैनिक काममा लगाए। मैले पहिले सिकर्मीको काम गरें र पछि बिजुली मर्मत गर्ने काम गरें। तर यी कामहरूमा पनि आफ्नै खालका चुनौतीहरू थिए। एक पटकको कुरा हो, मलाई आफ्ना औजारहरू लिएर गाउँको क्लबमा जान भनियो। म त्यहाँ पुग्दा क्लबमा भेला भएका सैनिकहरू खुसी भए। विभिन्‍न सैन्य प्रतीकहरू सजाउनको लागि जडान गरिएका बत्तीहरूले ठीकसित काम नगरेकोले त्यसको मर्मत गर्न तिनीहरूलाई हम्मेहम्मे परिरहेको थियो। तिनीहरूले मलाई उक्‍त बत्तीहरू जडान गरिदिन आग्रह गरे किनभने तिनीहरू लाल सेनाको वार्षिकोत्सव मनाउने तयारी गरिरहेका थिए। प्रार्थनापूर्वक त्यस कुराबारे विचार गरिसकेपछि मैले त्यस प्रकारको काम गर्न नसक्ने कुरा तिनीहरूलाई बताएँ। तिनीहरूलाई मेरो औजार दिएर म बाटो लागें। मबारे उपनिर्देशकलाई उजुरी गरियो तर छक्कलाग्दो कुरा त के भयो भने मबारे गरिएको उजुरी सुनिसकेपछि तिनले यस्तो जवाफ दिए: “त्यसको लागि म उसको कदर गर्छु। ऊ सिद्धान्तअनुसार चल्ने मानिस हो।”

आशै नगरेको स्रोतबाट प्रोत्साहन

कैदमा परेको ठीक तीन वर्षपछि, जून ८, १९८४ मा मलाई मुक्‍त गरियो। युक्रेन फर्किएपछि राष्ट्रिय सेनाकहाँ गएर पूर्वकैदीको रूपमा मैले आफ्नो नाउँ दर्ता गराउनु पर्थ्यो। छ महिनापछि फेरि मेरो मुद्दा चल्ने भएकोले मैले त्यो ठाउँ छोडेर जानु नै बेस हुने कुरा अफिसरहरूले बताए। त्यसैले मैले युक्रेन छोडें र पछि लाट्‌भियामा काम पाएँ। केही समयसम्म मेलै प्रचार गर्न र राजधानी सहर रिगा वरपर बस्ने साक्षीहरूको सानो समूहसित संगत गर्न पाएँ। तर एक वर्षपछि नै मलाई फेरि सैन्य सेवाको लागि बोलाइयो। भर्तीको लागि नाउँ लेखाउने ठाउँका अफिसरलाई यसभन्दा अघि पनि मैले सैन्य सेवा अस्वीकार गरिसकेको कुरा बताएँ। तिनी यसरी चिच्याए: “तिमी के गर्दैछौ के तिमीलाई थाह छ? प्रमुख सेनानीलाई तिमी के भन्छौ, हेरौंला!”

तिनले मलाई एउटा कोठामा लगे जहाँ एउटा लामो टेबलको पल्लो छेउमा प्रमुख सेनानी बसिरहेका थिए। मैले आफ्नो अडानबारे बताउँदा तिनले ध्यान दिएर सुने अनि सैनिक भर्ना गर्ने समितिसामु हाजिर हुनुअघि आफ्नो निर्णयबारे विचार गर्न अझ समय बाँकी छ भनेर तिनले बताए। हामी प्रमुख सेनानीको कोठाबाट बाहिर निस्कँदा सुरुमा मलाई गाली गर्ने अफिसरले यस्तो स्वीकारे: “तिमीसित साँच्चै विश्‍वास रहेछ भनेर अब चाहिं म पक्का भएँ।” सैन्य समितिसामु हाजिर हुँदा मैले आफ्नो तटस्थ अडान पुनः दोहोऱ्‍याएँ र केही समयको लागि तिनीहरूले मलाई छोडिदिए।

त्यति बेला म एउटा होस्टेलमा बस्थें। एक साँझ मैले बिस्तारै ढोका ढक्ढक्याएको आवाज सुनें। ढोका खोल्दा सुट लगाएको र ब्रिफकेस बोकेको एक जना मान्छे बाहिर उभिरहेको रहेछ। तिनले आफ्नो परिचय यसरी दिए: “म राष्ट्रिय सुरक्षा परिषद्‌बाट आएको हुँ। मलाई थाह छ, तपाईं अप्ठ्यारो अवस्थामा हुनुहुन्छ र अदालतमा तपाईंको पुर्पक्ष चलिरहेको छ।” “अँ, हो,” मैले जवाफ दिएँ। ती व्यक्‍तिले यसो भने: “हाम्रो लागि काम गर्न तयार हुनुहुन्छ भने हामी तपाईंलाई मदत गर्न सक्छौं।” मैले यस्तो जवाफ दिएँ: “त्यो कुरा असम्भव छ। म आफ्नो मसीही विश्‍वास त्याग्नेवाला छैनँ।” मलाई मनाउने प्रयासै नगरी ती व्यक्‍ति फर्के।

फेरि झ्यालखानमा र त्यसपछि फेरि प्रचार गर्दै

अगस्त २६, १९८६ मा रिगाको राष्ट्रिय अदालतले मलाई चार वर्षको श्रम सजाय सुनायो र मलाई रिगाको केन्द्रीय कारागारमा राखियो। एउटा ठूलो कोठामा अरू ४० जना कैदीसितै मलाई राखियो र मैले त्यस कोठाका सबै जनालाई प्रचार गर्ने कोसिस गरें। कोही-कोहीले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर दाबी गर्थे र अरूले भने मलाई हाँसोमा उडाउँथे। मानिसहरू ससाना समूहहरूमा भेला भएको मैले याद गरें र यसको दुई हप्तापछि, म तिनीहरूले बनाएको मौखिक नियमअनुसार नचलेको कारण प्रचार गर्न मनाही भएको कुरा ती समूहका नेताहरूले मलाई बताए। अरूभन्दा भिन्‍नै नियम-कानुन अनुरूप चलेको कारणै म जेलमा परेको हुँ भनेर मैले तिनीहरूलाई बताएँ।

मैले होसियारपूर्वक प्रचार गरिरहें अनि आध्यात्मिक कुराप्रति चासो देखाउने केही व्यक्‍तिहरू पनि भेट्टाएँ जसमध्ये चार जनासित बाइबल अध्ययन गर्न सकें। हाम्रो छलफलको दौडान तिनीहरूले बाइबलका आधारभूत शिक्षाहरू एउटा नोटबुकमा लेख्थे। केही महिनापछि मलाई भाल्माइरामा अवस्थित उच्च सुरक्षा व्यवस्था भएको शिविरमा सारियो र त्यहाँ मैले बिजुली मिस्त्रीको काम गरें। त्यहाँ मैले अर्को एक जना बिजुली मिस्त्रीसित बाइबल अध्ययन गर्न सकें जो चार वर्षपछि यहोवाका साक्षी बने।

मार्च २४, १९८८ मा मलाई उच्च सुरक्षा व्यवस्था भएको शिविरबाट नजिकैको बस्ती जस्तो शिविरमा सारियो। मेरो लागि यो ठूलो आशिष्‌ थियो किनभने मैले अझ बढी स्वतन्त्रता पाएँ। मलाई विभिन्‍न निर्माण स्थलहरूमा काम गर्न खटाइयो र मैले सधैं नै प्रचार गर्ने मौका खोजिरहें। अक्सर राती अबेरसम्म म शिविर बाहिरै प्रचार गरिरहेको हुन्थें तर बस्तीमा फर्कंदा कहिल्यै पनि कुनै अप्ठ्यारो आइपरेन।

यहोवाले मेरा प्रयत्नहरूमा आशिष्‌ दिनुभयो। त्यस क्षेत्रमा साक्षीहरूको संख्या एकदमै थोरै थियो र शिविर भएको सहरमा त भिल्मा क्रुमिना नाउँकी एक जना वृद्ध बहिनी मात्र थिइन्‌। बहिनी क्रुमिना र मैले थुप्रै जवान व्यक्‍तिहरूसित बाइबल अध्ययन गर्न थाल्यौं। सेवकाईमा भाग लिन बेलाबेलामा रिगाका भाइबहिनीहरू पनि आउँथे र केही नियमित अग्रगामीहरू लेनिनगार्डबाट (अहिलेको सेन्ट पिटर्सबर्ग) समेत आउँथे। यहोवाको मदत पाएर हामीले केही बाइबल अध्ययनहरू सुरु गऱ्‍यौं र केही समयपछि नै मैले अग्रगामी सेवा सुरु गरें अनि प्रचारकार्यमा महिनाको ९० घण्टा बिताउन थालें।

अप्रिल ७, १९९० मा भाल्माइराको जनअदालतमा मेरो मुद्दाबारे पुनर्विचार गरियो। मुद्दाको सुनुवाइ सुरु भएपछि मैले ममाथि अभियोग लगाउने व्यक्‍तिलाई चिनें। ऊ त मैले पहिला बाइबलबारे छलफल गरेको एक जना जवान व्यक्‍ति पो रहेछ! मलाई चिनेर ऊ मुसुक्क हाँस्यो तर केही पनि भनेन। मेरो पुर्पक्षको दिनमा न्यायाधीशले मलाई भनेको कुरा म अझै पनि सम्झन्छु: “युरी, तिमीलाई थुनामा राख्नको लागि चार वर्षअघि गरिएको निर्णय गैरकानुनी थियो। तिनीहरूले तिमीलाई दोषी ठहराउनु हुँदैनथ्यो।” अचानक म स्वतन्त्र भएँ!

ख्रीष्टको सिपाही

रिगामा बसोबास गर्ने अनुमति पाउनको लागि जून १९९० मा मैले आफ्नो नाउँ फेरि दर्ता गराउनुपर्ने भयो। म पहिलेकै अफिसमा गएँ जहाँ चार वर्षअघि म सैनिक सेवा गर्दिनँ भनेर मैले प्रमुख सेनानीलाई बताएको थिएँ। यसपालि भने मलाई अभिवादन गर्न तिनी आफ्नो ठाउँबाट उठे, मसित हात मिलाए अनि यसो भने: “तपाईंले यत्ति धेरै दुःख भोग्नुपऱ्‍यो; हुनु नपर्ने कुरा भयो। जे भयो त्यसको लागि म क्षमाप्रार्थी छु।”

मैले यस्तो जवाफ दिएँ: “म ख्रीष्टको सिपाही हुँ र मैले आफ्नो जिम्मेवारी पूरा गर्नै पर्छ। बाइबलको मदतद्वारा तपाईंले पनि ख्रीष्टले आफ्ना अनुयायीहरूलाई प्रतिज्ञा गर्नुभएको जस्तै आनन्दित जीवन र अनन्त भविष्य प्राप्त गर्न सक्नुहुन्छ।” (२ तिमोथी २:३, ४) ती महासेनानीले यस्तो जवाफ दिए: “केही समयअघि मैले एउटा बाइबल किनेको थिएँ अनि अहिले म त्यो पढ्‌दैछु।” मसित पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ भन्‍ने पुस्तक थियो। a मैले त्यो पुस्तक खोलेर अन्तिम दिनका चिह्नहरूबारे छलफल गरेको अध्याय देखाएँ र बाइबलको भविष्यवाणी कसरी हाम्रो दिनसित सम्बन्धित छ भनेर तिनलाई बुझाएँ। गहिरो कृतज्ञता व्यक्‍त गर्दै महासेनानीले मसित हात मिलाए अनि मेरो काममा मलाई सफलता मिलोस्‌ भनेर शुभकामना व्यक्‍त गरे।

लाट्‌भियामा यति बेलासम्ममा खेतबारीहरू कटनीका लागि पहेंला भइसकेका थिए। (यूहन्‍ना ४:३५) सन्‌ १९९१ मा मैले मण्डलीको प्राचीनको रूपमा सेवा गर्न थालें। पूरै देशभरिमा जम्मा दुई जना मात्र प्राचीनहरू थिए। एक वर्षपछि लाट्‌भियाको एक मात्र मण्डली दुईवटामा विभाजन गरियो—एउटा लाट्‌भियन भाषाको र अर्को रसियन भाषाको। मैले रसियन मण्डलीसित सेवा गर्ने सुअवसर पाएँ। एकदमै छिटोछिटो वृद्धि भएको हुँदा अर्को एक वर्षपछि नै हाम्रो मण्डली तीनवटा मण्डलीमा विभाजन गरियो! बितेको समयलाई फर्केर हेर्दा, यहोवाले आफ्ना भेडाहरूलाई उहाँको संगठनतर्फ डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरा प्रष्ट छ।

सन्‌ १९९८ मा मलाई रिगादेखि लगभग ४० किलोमिटर दक्षिणपश्‍चिममा पर्ने येल्गाभा सहरमा विशेष अग्रगामीको रूपमा सेवा गर्न नियुक्‍त गरियो। त्यही वर्ष, रूसको सेन्ट पिटर्सबर्ग नजिकै पर्ने सोल्नेकनोइमा भएको रसियन भाषाको मिनिस्टेरियल ट्रेनिङ स्कूलमा उपस्थित हुन पहिलो पटक लाट्‌भियाबाट निमन्त्रणा पाउनेहरूमध्ये म पनि एक जना थिएँ। सेवकाईमा सफल हुने हो भने हामीले मानिसहरूप्रति मायालु मनोवृत्ति राख्नु अत्यन्तै महत्त्वपूर्ण छ भनेर मैले त्यस स्कूलबाट बुझें। हामीले स्कूलमा सिकेका कुराहरूको अलावा मलाई विशेष प्रभाव पारेको कुरा भनेको बेथेल परिवार र स्कूलका प्रशिक्षकहरूले हामीप्रति देखाएको प्रेम र हेरचाह थियो।

सन्‌ २००१ मा मैले एक जना मायालु मसीही स्त्री, करिनासित विवाह गरेपछि मेरो जीवनमा अर्को एउटा नयाँ आयाम थपियो। करिनाले पनि मसितै विशेष पूर्ण-समय सेवा गर्न थालिन्‌ अनि मेरी पत्नी क्षेत्र सेवाबाट हँसिलो अनुहार लिएर फर्केको देख्दा म हरेक दिन प्रोत्साहन पाउँछु। वास्तवमा, यहोवाको सेवा गर्न पाउनु एउटा ठूलो आनन्द हो। कम्युनिस्ट शासनमा भोगेको कठोर अनुभवले मलाई यहोवामा पूर्ण भरोसा राख्न सिकायो। यदि कसैले यहोवासितको मित्रता कायम राख्न र उहाँको सार्वभौमिकतालाई समर्थन गर्न चाहन्छ भने उसले गरेको कुनै पनि त्याग व्यर्थ जाँदैन। यहोवाबारे सिक्न अरूलाई मदत दिंदा मेरो जीवन उद्देश्‍यपूर्ण भएको छ। “येशूका असल सिपाहीझैं” परमेश्‍वरको सेवा गर्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा भएको छ।—२ तिमोथी २:३.

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर अहिले छापिंदैन।

[पृष्ठ ११-मा भएको चित्र]

मलाई चार वर्षको श्रम सजाय सुनाइएको थियो अनि रिगाको केन्द्रीय कारागारमा कैद गरिएको थियो

[पृष्ठ १२-मा भएको चित्र]

करिनासित सेवकाईमा