सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

“जससँग मात्र अमरत्व छ” अनि “जसलाई कुनै मानिसले देखेको छैन” भन्‍ने अभिव्यक्‍तिहरूले यहोवा परमेश्‍वरलाई नभई येशूलाई सङ्‌केत गर्छ भनी कुन आधारमा भन्‍न सक्छौं?

प्रेरित पावलले यस्तो लेखे: “जो आफ्नै ठीक समयमा उहाँले देखाउनुहुनेछ, जो परमधन्य र अद्वितीय अधिराज्य, राजाहरूका महाराजा, र प्रभुहरूका महाप्रभु हुनुहुन्छ, जससँग मात्र अमरत्व छ, कोही पुग्न नसक्ने ज्योतिमा रहने, जसलाई कुनै मानिसले देखेको छैन, नता देख्नसक्‍तछ।”—१ तिमोथी ६:१५, १६.

बाइबलका टिप्पणीकारहरू अक्सर यस्तो तर्क गर्छन्‌: ‘ “जससँग मात्र अमरत्व छ,” “अद्वितीय अधिराज्य” र “जसलाई कुनै मानिसले देखेको छैन वा देख्नसक्‍तछ” भन्‍ने अभिव्यक्‍तिहरूले सर्वोच्च परमेश्‍वरबाहेक अरू कसैलाई बुझाउन सक्छ र?’ हुन त हो, यहोवा परमेश्‍वरबारे वर्णन गर्न पनि यस्ता अभिव्यक्‍तिहरू प्रयोग गर्न सकिन्छ। तर १ तिमोथी ६:१५, १६ भन्दा अघिका केही पदहरू हेर्ने हो भने पावलले येशूको बारेमा नै बताइरहेका थिए भनेर स्पष्ट हुन्छ।

पद १४ मा पावलले ‘प्रभु येशू ख्रीष्ट देखा पर्ने’ कुरा बताए। (१ तिमोथी ६:१४) यसकारण पद १५ मा पावलले “जो आफ्नै ठीक समयमा उहाँले देखाउनुहुनेछ” भने, तब तिनले यहोवा परमेश्‍वर नभई येशू देखा पर्नुहुने विषयमा लेखे। त्यसोभए “अद्वितीय अधिराज्य” को हुनुहुन्छ? यहाँ पावलले बताएका अद्वितीय अधिराज्य येशू नै हुनुहुन्छ भन्‍ने निष्कर्षमा पुग्नु तार्किक हुन्छ। किन? किनभने उक्‍त पदको अघि र पछिका केही पदहरू हेर्ने हो भने पावलले येशूलाई मानव शासकहरूसित तुलना गरिरहेका थिए भनेर प्रस्ट हुन्छ। पावलले लेखेझैं येशू साँच्चै “[मानव] राजाहरूका महाराजा, र [मानव] प्रभुहरूका महाप्रभु हुनुहुन्छ।” a मानिसहरूसित तुलना गर्दा येशूलाई मात्र “अद्वितीय अधिराज्य” भन्‍न सकिन्छ। “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून्‌ भनेर” येशूलाई “सर्वाधिकार, महिमा र राज्याधिकार” दिइएको छ। (दानियल ७:१४) कुनै पनि मानव राजाले त्यस्तो दाबी गर्न सक्दैन!

“जससँग मात्र अमरत्व छ” भन्‍ने अभिव्यक्‍तिबारे के भन्‍न सकिन्छ? यो पनि येशू र मानव राजाहरूबीचको तुलना हो। पृथ्वीका कुनै पनि शासकहरूले अमरत्व प्राप्त गरेको दाबी गर्न सक्दैनन्‌ तर येशूले भने वास्तवमा अमरत्व प्राप्त गर्नुभएको छ। पावलले यस्तो लेखे: “यो जानेर, कि ख्रीष्ट मुर्दाबाट बिउँतिएर फेरि मर्नुहुन्‍न, मुत्युको फेरि उहाँमाथि राज्य हुँदैन।” (रोमी ६:९) यसकारण, अमरत्व प्राप्त गरेका भनी बाइबलमा बताइएको पहिलो व्यक्‍ति येशू नै हुनुहुन्छ। पावलले यी शब्दहरू लेख्दा अविनाशी जीवन प्राप्त गरिसकेको व्यक्‍ति येशू मात्रै हुनुहुन्थ्यो।

हामीले बिर्सन नहुने अर्को एउटा कुरा पनि छ, अमरत्व प्राप्त गर्नुभएको यहोवा परमेश्‍वर मात्रै हुनुहुन्छ भनेर पावलले भन्‍नु गलत हुने थियो किनभने पावलले यी शब्दहरू लेख्दा येशूले पनि अमरत्व प्राप्त गरिसक्नुभएको थियो। यसकारण पृथ्वीका शासकहरूको तुलनामा येशूले मात्रै अमरत्व प्राप्त गर्नुभएको छ भनी पावलले बताउनु सही थियो।

येशू पुनरुत्थान भएर स्वर्गमा जानुभएपछि उहाँलाई “जसलाई कुनै मानिसले देखेको छैन, नता देख्नसक्‍तछ” भनेर भन्‍नु सही हो। हुन त, येशूका अभिषिक्‍त चेलाहरूले आफ्नो मृत्युपछि आत्मिक प्राणीको रूपमा पुनरुत्थान भएर स्वर्गमा गएपछि उहाँलाई देख्नेछन्‌। (यूहन्‍ना १७:२४) तर पृथ्वीको कसैले पनि महिमित येशूलाई देख्नेछैन। यसकारण येशूको पुनरुत्थानपछि जब उहाँ स्वर्ग जानुभयो, “कुनै मानिसले” उहाँलाई देखेको छैन भन्‍नु सही हो।

सरसरती हेर्ने हो भने १ तिमोथी ६:१५, १६ का अभिव्यक्‍तिहरू परमेश्‍वरलाई लागू हुन्छ जस्तो देखिन्छ। तर पावलले यहाँ प्रयोग गरेका शब्दहरू र पावलको कुरालाई समर्थन गर्ने अरू शास्त्रपदहरू हेर्ने हो भने यहाँ येशूबारे नै बताइएको हो भनेर स्पष्ट हुन्छ।

[फुटनोट]

a येशूलाई लागू हुने यो जस्तै अभिव्यक्‍तिहरू १ कोरिन्थी ८:५, ६; प्रकाश १७:१२, १४; १९:१६ मा पाइन्छन्‌।