मेनोनाइटहरू बाइबल सच्चाइको खोजी गर्छन्
मेनोनाइटहरू बाइबल सच्चाइको खोजी गर्छन्
सन् २००० नोभेम्बर महिनाको कुरा हो, एक दिन बिहान बोलिभियास्थित यहोवाका साक्षीहरूका केही मिसनरीहरूले आफ्नो सानो घरको झ्यालबाट बाहिर हेर्दा साधारण लुगा लगाएका पुरुष तथा स्त्रीहरूको एउटा समूह गेटमा डरसरी उभिरहेको देखे। मिसनरीहरूले गेट खोल्नासाथ तिनीहरूले सबैभन्दा पहिला यसो भनेका थिए, “हामी बाइबल सच्चाइ सिक्न चाहन्छौं।” ती आगन्तुकहरू मेनोनाइटहरू थिए। पुरुषहरूले ह्वार्लाङ परेको लुगा र स्त्रीहरूले चाहिं गाढा रङको एप्रन लगाएका थिए अनि उनीहरू एक-आपसमा जर्मनीको उत्तरी इलाकामा बोलिने भाषा बोल्थे। उनीहरूको आँखामा त्रास थियो। कसैले आफ्नो पिछा गरिरहेको छ कि भनेर उनीहरूले यताउता पल्याकपुलुक हेरिरहे। तर, घरभित्र जान भऱ्याङ चढिरहेको बेला भने एक जवानले यसो भने, “म परमेश्वरको नाउँ प्रयोग गर्ने मानिसहरूलाई चिन्न चाहन्छु।”
घरभित्र पुगेर चियाखाजा खाएपछि भने उनीहरूले ढुक्क महसुस गर्न थाले। उनीहरू टाढा, खेतीकिसानी गरिने इलाकाबाट आएका थिए। त्यहाँ उनीहरूले हुलाकमार्फत प्रहरीधरहरा पत्रिका प्राप्त गर्दै आएको छ वर्ष भइसकेको रहेछ। उनीहरूले यसो भने, “हामीले त पृथ्वीमा प्रमोदवन हुनेछ भनेर पढ्यौं। के यो साँच्चै हो?” साक्षीहरूले बाइबल खोलेर त्यस प्रश्नको जवाफ दिए। (यशैया ११:९; लूका २३:४३; २ पत्रुस ३:७, १३; प्रकाश २१:३, ४) एक जना किसानले अरूलाई यसो भने, “देख्यौ! पृथ्वीमा प्रमोदवन हुनेछ भन्ने कुरा साँचो हो।” अरूले पनि भन्दै थिए: “मलाई त हामीले सच्चाइ पायौं जस्तो लाग्छ।”
मेनोनाइटहरू को हुन्? उनीहरू के विश्वास गर्छन्? यी प्रश्नहरूको जवाफ पाउन हामी १६ औं शताब्दीतिर फर्कनुपर्ने हुन्छ।
को हुन् मेनोनाइटहरू?
सोह्रौं शताब्दीमा युरोपका चलनचल्तीका भाषाहरूमा बाइबल अनुवाद गर्ने र छाप्ने लहडले त्यहाँका मानिसहरूलाई बाइबल अध्ययन गर्न फेरि जुरमुराएको थियो। मार्टिन लुथर र अरू सुधारवादीहरूले क्याथोलिक चर्चका थुप्रै शिक्षाहरू अस्वीकार गरे। तर भर्खरै गठित प्रोटेस्टेन्ट चर्चहरूले पनि थुप्रै गैर-शास्त्रीय प्रचलनहरू अङ्गालिरहेका थिए। उदाहरणका लागि, हरेक नवजात शिशुलाई चर्चमा बप्तिस्मा गराइएको हुनुपर्छ भन्ने धारणा धेरैसित थियो। तरैपनि, बप्तिस्मा लिनुअघि सही ज्ञानको आधारमा निर्णय गरेर मात्र कुनै पनि व्यक्ति मसीही मण्डलीको सदस्य बन्छ भनी बाइबल सत्यबारे अनुसन्धान गर्ने केही अनुसन्धाताहरूले बुझेका थिए। (मत्ती २८:१९, २०) यस कुरामा विश्वास गर्ने जोसिला प्रचारकहरूले बाइबलको शिक्षा सिकाउँदै र वयस्कहरूलाई बप्तिस्मा दिंदै सहर-सहर, गाउँ-गाउँ घुम्न थाले। त्यसैकारण उनीहरूलाई आनाब्याप्टिस्टहरू भनियो, जसको अर्थ हुन्छ “फेरि बप्तिस्मा दिनेहरू।”
सत्यको खोजी गर्ने सन्दर्भमा आनाब्याप्टिस्टहरूको अनुकरण गर्ने एक जना व्यक्ति मेनो सिमन्स् थिए र तिनी नेदरल्याण्ड्सको उत्तरी भागस्थित विटमार्सम गाउँका एक क्याथोलिक पादरी थिए। सन् १५३६ सम्ममा त तिनले चर्चसितको आफ्नो सबै सम्बन्ध तोड्नुका साथै चर्चका अधिकारीहरूले तिनको खेदो गर्न पनि थालिसकेका थिए। सन् १५४२ मा पवित्र रोमका सम्राट् चार्ल्स पाँचौं स्वयम्ले मेनोलाई समात्ने व्यक्तिलाई इनामस्वरूप १०० गिल्डर्स दिने घोषणा गरे। यद्यपि, मेनोले केही आनाब्याप्टिस्टहरूलाई जम्मा गरेर मण्डलीहरू खडा गरे। धेरै समय नबित्दै तिनी तथा तिनका अनुयायीहरूलाई मेनोनाइटस् भन्न थालियो।
आज मेनोनाइटहरू
समयको अन्तरालमा सतावटले गर्दा हजारौं मेनोनाइट पश्चिमी युरोपदेखि उत्तर अमेरिका भाग्न बाध्य भए। त्यहाँ उनीहरूले सत्यको खोजीलाई जारी राख्ने र अरू थुप्रैलाई आफ्नो सन्देश सुनाउने मौका पाए। तर प्रगतिशील बाइबल अध्ययन गर्ने र सार्वजनिक रूपमा प्रचार गर्ने सन्दर्भमा उनीहरूका पितापुर्खाले देखाएको बल्दो जोस भने धेरै सेलाइसकेको थियो। धेरैजसोले त्रिएक, मानव प्राणको अमरत्त्व अनि नकरकुण्डजस्ता केही गैर-शास्त्रीय शिक्षाहरूलाई अझै पनि छोडेका थिएनन्। (उपदेशक ९:५; इजकिएल १८:४; मर्कूस १२:२९) हिजोआज मेनोनाइट मिसनरीहरूले प्रचारकार्यमा भन्दा स्वास्थ्य तथा समाज सेवाहरूमा बढी ध्यान दिने गरेको पाइन्छ।
हाल ६५ वटा देशमा लगभग १३,००,००० मेनोनाइटहरू छन् भन्ने अनुमान गरिएको छ। शताब्दीयौंअघि मेनो सिमन्स्ले दुखेसो पोखेझैं अहिलेका मेनोनाइटहरू पनि आफूहरूबीच एकता नभएकोमा दुःखित छन्। प्रथम विश्वयुद्धको दौडान विश्वमा चर्किएको द्वन्द्वको विषयलाई लिएर उत्पन्न भएको फरक विचारधाराले गर्दा सबैभन्दा ठूलो विभाजन भएको थियो। उत्तर अमेरिकाका धेरैले बाइबलीय आधारमा सैन्य सेवामा जागिर खान अस्वीकार गरेका थिए। तर एन इन्ट्रडक्सन टु मेनोनाइट हिस्ट्री यसो भन्छ: “सन् १९१४ सम्ममा पश्चिमी युरोपका मेनोनाइट चर्चहरूका लागि सैन्य सेवामा जागिर नखाने कुरा इतिहासमै मात्र सीमित भइसकेको थियो।” अचेल केही मेनोनाइट समूहहरूले धेर-थोर आधुनिक तौर-तरिकाहरू अपनाएका छन्। अरूचाहिं अझै पनि आफ्नो लुगामा टाँकको सट्टा हुकहरू नै प्रयोग गर्छन् र लोग्ने मान्छेले दाह्री खौरनु हुँदैन भन्ने सोचाइ राख्छन्।
आफूलाई वर्तमान संसारदेखि अलग राख्न कटिबद्ध केही मेनोनाइट समूहहरूले आफ्नो समुदायलाई यस्ता ठाउँहरूमा सारेका छन्, जहाँ उनीहरू स्थानीय सरकारहरूको कुनै हस्तक्षेपविना बसोबास गर्न सक्छन्। उदाहरणका लागि, बोलिभियामा लगभग ३८,००० वयस्क मेनोनाइटहरू विकट इलाकाहरूमा छुट्टाछुट्टै समूह बनाएर बसेको हुन सक्ने अनुमान गरिएको छ र ती हरेक इलाकामा आचरणसम्बन्धी विभिन्न नियमहरू छन्। कुनै-कुनै इलाकामा घोडा तथा बग्गीहरू मात्र प्रयोग गर्न पाइन्छ, मोटरगाडी चलाउन पाइँदैन। केही इलाकामा चाहिं रेडियो सुन्न, टिभी हेर्न र गीत-संगीत सुन्न पनि पाइँदैन। कुनै-कुनै इलाकामा त अझ आफू बसोबास गर्ने देशको भाषा सिक्नसमेत नपाउने नियम छ। एउटा इलाकाका एक जना व्यक्तिले यसो भने, “आफ्नो अधीनमा राख्न प्रचारकहरूले हामीलाई स्पेनी भाषा सिक्नै दिंदैनन्।” धेरैले आफू थिचोमिचोमा परेको महसुस गर्छन् र समुदायबाट बहिष्कार गर्ला भन्ने डरै-डरमा जीवन बिताउँछन्। मेनोनाइट समुदायदेखि बाहिरको संसार अनुभव नगरेका मानिसहरूको लागि बहिष्कार हुनु निकै ठूलो चिन्ताको विषय हो।
सच्चाइको बीउ कसरी रोपियो
यस्तै परिस्थितिमा योहान नाउँको एक जना मेनोनाइट किसानले आफ्नो छिमेकीको घरमा एउटा प्रहरीधरहरा पत्रिका देखे। योहानको परिवार क्यानाडादेखि मेक्सिको हुँदै पछि बोलिभिया बसाइँ सरेका थिए। तर जहाँ गए पनि बाइबल
सच्चाइ खोज्ने विषयमा योहानले मदत खोजिरहेकै थिए। तिनले त्यो प्रहरीधरहरा पत्रिका मागे।पछि, आफूले उत्पादन गरेको कृषिजन्य वस्तु बेच्न सहर गएको बेला योहानले बजारमा प्रहरीधरहरा वितरण गरिरहेकी साक्षीलाई भेटे। ती साक्षीले तिनलाई जर्मन भाषा बोल्ने मिसनरीकहाँ पठाइदिइन् र चाँडै योहानले हुलाकमार्फत जर्मन भाषामा प्रहरीधरहरा प्राप्त गर्न थाले। तिनी पत्रिकाको हरेक अंक ध्यान दिएर अध्ययन गर्थे र फाटेर च्यातचुत नहोउन्जेल आफ्नो इलाकाको प्रत्येक परिवारलाई त्यो पत्रिका पढ्न दिन्थे। कहिलेकाहीं त परिवारहरू एक ठाउँ भेला हुन्थे र उल्लेखित बाइबल पदहरू बाइबलबाटै हेर्दै मध्य रातसम्म प्रहरीधरहरा पत्रिका अध्ययन गर्थे। विश्वभर एकताबद्ध भई परमेश्वरको इच्छा गरिरहेका व्यक्तिहरू पक्कै यहोवाका साक्षीहरू नै हुनुपर्छ भन्ने कुरामा योहान विश्वस्त भए। आफ्नो मृत्यु हुनुभन्दा अघि योहानले आफ्नी पत्नी तथा छोराछोरीलाई यसो भनेका थिए: “तिमीहरूले सधैं प्रहरीधरहरा पढ्नू। यसले तिमीहरूलाई बाइबलका कुराहरू बुझ्न मदत गर्नेछ।”
योहानको परिवारका कसै-कसैले आफूले बाइबलबाट सिकिरहेको कुरा आफ्ना छिमेकीहरूलाई पनि बताउन थाले। उनीहरू यसो भन्थे, “पृथ्वी नाश हुनेछैन। बरु, परमेश्वरले यसलाई प्रमोदवन बनाउनुहुनेछ। अनि परमेश्वरले मानिसहरूलाई नरकमा सास्ती दिनुहुन्न।” यी कुराकानी चर्चका प्रचारकहरूको कानमा पुग्यो, जसले यस्तो कुरा गर्न बन्द नगरे योहानको परिवारलाई समाजबाट बहिष्कार गर्ने धम्की दिए। पछि, मेनोनाइट एल्डरहरूले आफूहरूमाथि दिइरहेको दबाबबारे परिवारमा छलफल गरिरहेको बेला एक जना जवानले ठूलो स्वरमा यसो भने, “हामी किन हाम्रा चर्चका एल्डरहरूबारे नानाभाँतीका कुरा गरिरहेका छौं, मैले त केही बुझ्नै सकेको छैनँ। कुन धर्म साँचो हो भन्ने कुरा त हामी सबैलाई थाहै छ नि तर हामीले पो यस विषयमा केही कदम चालेका छैनौं त।” यस कुराले ती जवान व्यक्तिका बुबाको मनै छोयो। धेरै समय नबित्दै परिवारका दसै जना सदस्य गोप्य रूपमा यहोवाका साक्षीहरूको खोजीमा निस्के र लेखको सुरुमा उल्लेख गरिएझैं मिसनरीहरू बस्ने घरमा आइपुगे।
भोलिपल्टै मिसनरीहरू आफ्ना नयाँ मेनोनाइट साथीहरूलाई भेट्न उनीहरू बसोबास गर्ने इलाकामा गए। सडकमा मोटरगाडीको नाउँमा मिसनरीहरूको गाडी मात्र थियो। घोडाले तानिरहेका बग्गीहरूको नजिकैबाट बिस्तार अघि बढ्दा उनीहरू र त्यहाँका बासिन्दाहरूले एक-अर्कालाई ट्वाल्ल परेर हेरे। केही समयपछि नै ती मिसनरीहरूले दुई परिवारका दस जना मेनोनाइटसित छलफल सुरु गरे।
त्यो दिन ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ a पुस्तकको अध्याय १ अध्ययन गरिसिध्याउन चार घण्टा लाग्यो। किसानहरूले प्रत्येक अनुच्छेदका लागि दिइएका बाइबल पदहरू हेरेका थिए र आफूहरूले ती बाइबल पदहरू सही ढङ्गमा बुझेको छ कि छैन, सो जान्न चाहन्थे। अध्ययन भइरहेको बेला प्रश्न सोधेपिच्छे केही मिनेटसम्म रोकिनु पर्थ्यो किनकि अन्तमा एक जना समूहको तर्फबाट स्पेनी भाषामा जवाफ दिनुअघि किसानहरू आफ्नो भाषामा एक-अर्कासित खासखुस कुरा गर्थे। त्यो निकै अविस्मरणीय दिन थियो तर सतावटको कालो बादल मडारिन सुरु भइसकेको थियो। करिब पाँच शताब्दीअघि बाइबल सच्चाइको खोजीकार्य सुरु गर्दा बोलिभियाको मेनो सिमन्स्जस्तै उनीहरूले पनि परीक्षाहरूको सामना गर्नै लागेका थिए।
सच्चाइको खातिर परीक्षाहरूको सामना गर्दै
केही दिनपछि चर्चका एल्डरहरू आएर योहानको परिवार अनि यहोवाका साक्षीहरूसित कुराकानी गर्ने अन्य इच्छुक व्यक्तिहरूलाई यसो भनेर थर्काए: “यहोवाका साक्षीहरू तिमीहरूलाई भेट्न आए रे, हैन। उनीहरूलाई फेरि आउन नदिनू र उनीहरूले दिएका साहित्यहरू जलाएर नष्ट गर्न बुझाएनौं भने तिमीहरूलाई समाजबाट बहिष्कार गरिनेछ।” उनीहरूले साक्षीहरूसित एक चोटि मात्र बाइबल अध्ययन गरेकोले उनीहरूका लागि यो निकै ठूलो परीक्षा थियो।
एक जना परिवारको मूलीले यस्तो ओठे जवाफ फर्काए: “तपाईंले भनेजस्तो हामी गर्दैनौं। ती मानिसहरू हामीलाई बाइबलबारे सिकाउन आएका थिए।” एल्डरहरूले कस्तो प्रतिक्रिया देखाए? बाइबल अध्ययन गरेकोमा तिनीहरूले उनीहरूलाई समुदायबाट बहिष्कार गरिदिए! यसले गर्दा ठूलो आपत् आइलाग्यो। त्यस इलाकाको चीज कारखानाको गाडा एउटा परिवारको घर छेवैबाट दूध नबटुलीकनै गयो, जुन दूध बेचेर उनीहरूले आफ्नो घर-खर्च चलाउँथे। एउटा परिवारको मूलीलाई कामबाटै निकालियो। अर्कोलाई त्यस इलाकाको स्टोरबाट सरसामान किन्न रोक लगाइयो भने तिनकी दस वर्षीया छोरीलाई स्कूलबाटै निकालियो। बहिष्कार भएको पतिसित बस्नु हुँदैन भनी जिद्दी गर्दै छिमेकीहरूले एक जना जवान मानिसकी पत्नीलाई छुट्याएर लैजान एउटा घरलाई चारैतिरबाट रिङ्गै घेरे। यी सबै कुराको बावजुद बाइबल अध्ययन गरेका परिवारहरूले सच्चाइ खोजी गर्ने आफ्नो अभियानलाई जारी राखे।
हप्ताको अन्ततिर निकै लामो यात्रा गरेर मिसनरीहरू बाइबल अध्ययन सञ्चालन गर्न गइरहे। परिवारहरूले ती अध्ययनहरूबाट आफू सुदृढ भएको महसुस गरे! अध्ययनमा उपस्थित हुन कतिपय परिवारका सदस्यहरू घोडा अनि बग्गीमा दुई घण्टा यात्रा गर्थे। ती परिवारहरूले पहिलो चोटि मिसनरीहरूलाई प्रार्थना गर्न बोलाउँदाको क्षण निकै मार्मिक थियो। यी इलाकामा मेनोनाइटहरू कहिल्यै सबैले सुन्ने गरी प्रार्थना गर्दैनन्, त्यसैले होला उनीहरूले कसैले आफ्नो खातिर प्रार्थना गरेको पहिला कहिल्यै सुनेका थिएनन्। मिसनरीहरूले उनीहरूको खातिर प्रार्थना गर्दा परिवारका सबै सदस्यको आँखा रसाएका थिए। अनि मिसनरीहरूले ल्याएको टेप रेकर्डर देख्दा उनीहरूको मनमा कत्ति खुल्दुली मच्चियो होला किनकि उनीहरूले यस्तो सामान पहिला कहिल्यै देखेका थिएनन्। उनीहरूको इलाकामा संगीत सुन्न पाइँदैनथ्यो। त्यसैले अति मीठा-मीठा किङ्डम मेलोडिजहरू सुन्न पाउँदा उनीहरू यति मन्त्रमुग्ध भए कि हरेक अध्ययनपछि उनीहरूले राज्यगीत गाउने निर्णय गरे! तर, एउटा प्रश्न भने अझै अनुत्तरित थियो, यस्तो अप्ठ्यारो परिस्थितिमा उनीहरू कसरी जीवित रहिरहन सके होलान्?
भाइबहिनीहरूको मायालु साथ पाउँदै
आफ्नो समुदायबाट अलग भइसकेपछि यी परिवारहरूले आफै चीज बनाउन थाले। मिसनरीहरूले ती चीज किनिदिने ग्राहक खोज्न मदत गरे। दक्षिण अमेरिकी मेनोनाइट इलाकामा हुर्केका तर बसोबासचाहिं उत्तर अमेरिकामा गर्ने साक्षी भएको धेरै लामो समय भइसकेका एक जना साक्षीले यस परिवारको दयनीय अवस्थाबारे थाह पाए। ती साक्षी मदत गर्न अत्यन्त इच्छुक थिए। एक हप्ताभित्रै तिनी हवाइजहाज चढेर त्यस परिवारलाई भेट्न बोलिभिया आए। प्रचुर मात्रामा आध्यात्मिक प्रोत्साहन दिनुको अलावा राज्यभवनमा हुने सभाहरूमा जान र कृषिजन्य उत्पादनहरू बजार बेच्न लैजान तिनले त्यस परिवारलाई पिकअप ट्रक किन्न सहयोग गरे।
एउटा परिवारको सदस्य विगत सम्झिंदै भन्छन्, “समुदायबाट बहिष्कार भएपछि हामीलाई निकै गाह्रो भयो। हामी अँध्यारो मुख लाएर राज्यभवन जान्थ्यौं तर सभा सकेर घर फर्किंदा भने अत्यन्त प्रफुल्ल मुद्रामा हुन्थ्यौं।” साँच्चै, आपत्को बेला त्यहाँका साक्षीहरू मदत गर्न अग्रसर भए। कतिले जर्मन भाषा सिके र जर्मन भाषामा मसीही सभाहरू सञ्चालन गर्न मदतको लागि जर्मन भाषा बोल्ने थुप्रै साक्षीहरू युरोपदेखि बोलिभिया आए। धेरै समय नबित्दै मेनोनाइट समुदायका १४ जनाले अरूलाई सुसमाचार प्रचार गर्न थाले।
सन् २००१, अक्टोबर १२ तारिख अर्थात् मिनसरीहरूलाई भेट्न मिसनरीगृह गएको एक वर्ष पनि नबित्दै यी ११ जना पहिलेका आनाब्याप्टिस्टहरूले फेरि बप्तिस्मा लिए तर यसपालि चाहिं यहोवाप्रतिको आफ्नो समर्पण जनसमक्ष प्रकट गर्न। त्यहाँदेखि उसो अरू धेरैले पनि यस्तै कदम चालेका छन्। बप्तिस्मा लिएका एक जना व्यक्तिले पछि यस्तो टिप्पणी गरे: “बाइबलबाट सच्चाइ सिकेको कारण हामी बन्धनबाट मुक्त भएका दासहरूले जस्तै महसुस गरिरहेका छौं।” अर्काले चाहिं यसो भने: “आफ्नो समुदायमा त कसैले पनि माया गर्दैनन् भनी थुप्रै मेनोनाइटहरू गुनासो गर्छन्। तर यहोवाका साक्षीहरूले एक-अर्काको खूबै ख्याल गर्छन्। उनीहरूमाझ हुन पाएकोमा म साह्रै ढुक्क छु।” यदि तपाईं बाइबल सच्चाइ राम्रोसँग बुझ्ने प्रयासमा हुनुहुन्छ भने, तपाईंले पनि बाधा-अड्चनहरूको सामना गर्नुपर्ने हुन सक्छ। तर यी परिवारहरूले जस्तै तपाईंले पनि यहोवाको मदत खोज्नुभयो र विश्वास तथा साहस देखाउनुभयो भने, तपाईं पनि उनीहरूजस्तै सफल तथा आनन्दित हुनुहुनेछ।
[फुटनोट]
a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।
[पृष्ठ २५-मा भएको चित्र]
जर्मन भाषामा बाइबल साहित्यहरू पाएकोमा प्रसन्न
[पृष्ठ २६-मा भएको चित्र]
पहिला संगीत सुन्न नपाइने भए पनि प्रत्येक बाइबल अध्ययनपछि अहिले उनीहरू राज्यगीत गाउँछन्