सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी यहोवा आफ्ना परमेश्‍वरको नाउँमा हिंड्‌नेछौं

हामी यहोवा आफ्ना परमेश्‍वरको नाउँमा हिंड्‌नेछौं

हामी यहोवा आफ्ना परमेश्‍वरको नाउँमा हिंड्‌नेछौं

“हामी चाहिं सदा सर्वदै परमप्रभु [ “यहोवा,” Nw] आफ्ना परमेश्‍वरको नाउँमा हिंड्‌नेछौं।”—मीका ४:५.

१.नैतिकताको सन्दर्भमा नूहको समयमा अवस्था कस्तो थियो तर नूह भने कसरी अरूभन्दा भिन्‍न थिए?

 परमेश्‍वरसित हिंड्‌ने मानिस भनेर बाइबलमा उल्लिखित पहिलो व्यक्‍ति हनोक थिए। दोस्रो व्यक्‍ति नूह थिए। बाइबल विवरण यसो भन्छ: “आफ्नो पुस्तामा नूह धर्मी र निर्दोष मानिस थिए। औ तिनी [साँचो] परमेश्‍वरको साथै हिंड्‌ने गर्थे।” (उत्पत्ति ६:९) नूहको समयसम्ममा धेरैजसो मानिसहरू शुद्ध उपासनाबाट तर्किसकेका थिए। अवफादार स्वर्गदूतहरूले पृथ्वीका स्त्रीहरूसित अस्वाभाविक सम्बन्ध गाँसेर नपिलहरू जन्माएपछि त्यतिबेलाको खराब अवस्था झनै नाजुक भयो। यी नपिलहरू नै उहिलेका “शूरवीर” वा “नाउँ चलेका मानिसहरू” थिए। यसकारण पृथ्वी हिंसाले भरिनु कुनै छक्कलाग्दो कुरा होइन! (उत्पत्ति ६:२, ४, ११) तैपनि नूहले आफूलाई निर्दोष साबित गरे। उनी “धार्मिकताका” प्रचारक थिए। (२ पत्रुस २:५, NRV) मानिसहरूको जीवन बचाउन परमेश्‍वरले तिनलाई जहाज बनाउने आज्ञा दिनुहुँदा नूहले आज्ञाकारी भई “त्यसै गरे—परमेश्‍वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।” (उत्पत्ति ६:२२) हो, नूह परमेश्‍वरसित हिंडे।

२, ३. नूहले आज हाम्रो लागि कस्तो राम्रो उदाहरण बसाले?

विश्‍वासी साक्षीहरूको सूचीमा पावलले नूहलाई पनि समावेश गर्दै यस्तो लेखे: “विश्‍वासैबाट त्यस बेलासम्म नदेखिएका कुरामा परमेश्‍वरबाट जनाउ पाएपछि आफ्ना परिवारलाई बचाउन नूहले जहाज तयार पारे। त्यसद्वारा उनले संसारलाई दोषी ठहराएर विश्‍वासअनुसारको धार्मिकताका हकदार भए।” (हिब्रू ११:७) कस्तो उत्कृष्ट उदाहरण! यहोवाको वचन पूरा हुनेछ भन्‍ने कुरामा पक्का विश्‍वास भएको हुँदा नूहले परमेश्‍वरको आज्ञा पूरा गर्न धेरै समय, शक्‍ति र स्रोतसाधन खर्च गरे। त्यसरी नै आज पनि थुप्रै मानिसहरूले संसारले दिने प्रलोभनहरूलाई इन्कार गर्दै आफ्नो समय, शक्‍ति र सम्पत्ति यहोवाको आज्ञा पालन गर्न खर्च गर्छन्‌। तिनीहरूको विश्‍वास उल्लेखनीय छ र यसले गर्दा तिनीहरू स्वयम्‌ र तिनीहरूको कुरा सुन्‍नेको उद्धार हुनेछ।—लूका १६:९; १ तिमोथी ४:१६.

अघिल्लो लेखमा छलफल गरिएका हनोक जो नूहका जिज्यूबुबा थिए, तिनलाई जत्तिकै नूह र उनको परिवारलाई पनि विश्‍वास देखाउन गाह्रो भएको हुनुपर्छ। हनोकको समयमा जस्तै नूहको समयमा पनि साँचो उपासकहरू थोरै मात्र थिए। वास्तवमा भन्‍ने हो भने, जम्मा आठ जना मात्र विश्‍वासी साबित भए र जलप्रलयबाट बचे। हिंसा र अनैतिकताले भरिएको संसारमा नूहले धार्मिकता प्रचार गरे। साथै, संसारभरि आउने जलप्रलयबाट बच्नको लागि नूह र तिनको परिवारले काठको एउटा विशाल जहाज बनाए जबकि त्यतिबेलाका मानिसहरूलाई जलप्रलय कस्तो हुन्छ भनेर केही पनि थाह थिएन। जहाज बनाइरहेको देख्दा अरू मानिसहरूलाई असाध्यै अनौठो लागेको हुनुपर्छ।

४. नूहको समयका मानिसहरूले चेतावनी पालन नगर्दा के भयो भनी येशूले प्रकाश पार्नुभयो?

चाखलाग्दो कुरा के हो भने, नूहको दिनमा व्याप्त हिंसा, झूटो धर्म वा अनैतिकता अत्यन्तै घिनलाग्दा कुराहरू भए तापनि येशूले नूहको दिनबारे उल्लेख गर्नुहुँदा ती कुराहरूबारे बताउनुभएन। त्यतिबेलाका मानिसहरूले चेतावनी पालन गरेनन्‌ र चेतावनी पालन नगर्दा के भयो भनेर येशूले प्रस्ट पार्नुभयो। उहाँले भन्‍नुभयो: “नूह जहाजमा नपसेका दिनसम्म, मानिसहरू खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए।” मानिसहरू खाइरहेका, पिइरहेका र विवाह-बारी गरिरहेका थिए—यसो गर्नुमा के खराबी थियो र? तिनीहरूले “सामान्य” जीवन बिताइरहेका थिए! तर जलप्रलय आउनै लागेको थियो अनि नूहले धार्मिकता प्रचार गरिरहेका थिए। तिनले बताएका कुराहरू र तिनको आचरण ती मानिसहरूको लागि एउटा चेतावनी हुनुपर्ने थियो। तैपनि, “जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे।”—मत्ती २४:३८, ३९.

५. नूह र तिनको परिवारलाई कस्ता गुणहरू चाहिएको थियो?

त्यस समयलाई विचार गर्दा नूहले पछ्याएको मार्ग नै बुद्धिमानी मार्ग थियो भनेर हामी भन्‍न सक्छौं। तर जलप्रलय आउन अघिको समयमा बाँकी सबै मानिसहरूभन्दा फरक जीवन बिताउन साहस चाहिंन्थ्यो। बडेमाको जहाज बनाउन र त्यसमा हरेक किसिमका जीवजन्तुको एक-एक जोडी राख्न नूह र तिनको परिवारलाई बलियो विश्‍वास चाहिएको थियो। के नूहको परिवारका कोही-कोही सदस्यले त्यसबेलाका अरू मानिसहरूको जस्तै “सामान्य” जीवन नै बिताउनु बेस हुनेछ भन्ठाने होलान्‌? आकलझुकल त्यस्तो सोचाइ आएको हुन सक्छ तर यसले तिनीहरूको निष्ठालाई कमजोर पारेन। आफ्नो विश्‍वासले गर्दा नूह जलप्रलयबाट बचे तर त्यसरी बच्नुअघि तिनले धेरै वर्षसम्म धैर्य धारण गर्नुपऱ्‍यो। हामीमध्ये कसैले पनि त्यति लामो समयसम्म यस रीतिरिवाजमा धैर्य गर्नुपर्ने छैन होला। “सामान्य” जीवन बिताइरहेका र आफू बाँचिरहेको समयको महत्त्ववारे केही पनि वास्ता नगरेका मानिसहरूमाथि यहोवाले न्याय गर्नुभयो।

हिंसाले मानिसहरूलाई फेरि पिरोल्न थाल्छ

६. जलप्रलयपछि पनि अवस्था कस्तो थियो?

जलप्रलयको पानी कम भएपछि मानिसहरू फेरि आफ्नो दिनचर्यामा लाग्न थाले। मानिसहरू अझै असिद्ध थिए र “मानिसको हृदयका विचार बालकदेखिनै खराब” थियो। (उत्पत्ति ८:२१) यसबाहेक, प्रेतहरूले त्यसउप्रान्त मानिसको रूप धारण गर्न नसके तापनि तिनीहरू अझै सक्रिय थिए। अभक्‍त मानिसहरूको संसारले तिनीहरू “त्यस दुष्टको अधीनमा परेको” कुरा तुरुन्तै देखाइहाल्यो अनि आज जस्तै त्यतिबेला पनि साँचो उपासकहरूले “शैतानका युक्‍तिहरूका” विरुद्धमा लड्‌नु पर्थ्यो।—१ यूहन्‍ना ५:१९; एफिसी ६:११, १२.

७. जलप्रलयपछिको समयमा हिंसा कसरी चुलियो?

जलप्रलयको तुरुन्तैपछि त होइन होला तर निम्रोदको समयदेखि भने पृथ्वी फेरि एक चोटि हिंसाले भरियो। जनसंख्या वृद्धि र प्रविधिको विकासले गर्दा समय बित्दै जाँदा हिंसा झन्‌-झन्‌ चुलिएको छ। पहिला-पहिला युद्धमा मानिसहरू तरवार र भाला, धनु र काँड अनि रथहरू चलाउँथे। हालैका वर्षहरूमा भने बन्दुक, तोप, राइफल अनि अत्याधुनिक हातहतियारहरू प्रयोग गरिन्छ। प्रथम विश्‍वयुद्धमा हवाइजहाज, ट्याङ्‌क, पनडुब्बी जहाज र विषालु ग्याँस जस्ता झनै डरलाग्दा हतियारहरू प्रयोग गरियो। त्यस युद्धमा यी हातहतियारहरूले गर्दा लाखौं मानिसको ज्यान गयो। के त्यो आशै नगरेको कुरा थियो र? अहँ, थिएन।

८. प्रकाश ६:१-४ कसरी पूरा भइरहेको छ?

सन्‌ १९१४ मा येशू स्वर्गमा स्थापित परमेश्‍वरको राज्यको राजा हुनुभयो र “प्रभुको दिन” सुरु भयो। (प्रकाश १:१०) प्रकाशको पुस्तकमा वर्णन गरिएको एउटा दर्शनमा येशूलाई सेतो घोडामा चढिरहेको विजयी राजाको रूपमा चित्रण गरिएको छ। उहाँको पछि-पछि अरू घोडसवारहरू छन्‌ र तिनीहरू प्रत्येकले मानिसजातिमाथि आइपर्ने फरक-फरक विपत्तिलाई सङ्‌केत गर्छ। त्यसमध्ये एक जना उज्ज्वल रातो घोडामा सवार छन्‌ र “काटमार गराई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार त्यस घोडामाथि चढ्‌नेलाई दिइयो, र तिनलाई एउटा ठूलो तरवार दिइयो।” (प्रकाश ६:१-४) त्यो घोडा र त्यसमा सवार हुने व्यक्‍तिले युद्धलाई चित्रण गर्छ र ठूलो तरवारले शक्‍तिशाली हातहतियार प्रयोग हुने वर्तमान समयको युद्धले निम्त्याएको विनाशलाई सङ्‌केत गर्छ र यत्तिको विनाश पहिले कहिल्यै भएको थिएन। यी आधुनिक हातहतियारमध्ये एउटा हतियारले नै लाखौंको ज्यान लिन सक्ने आणविक अस्त्र हुन सक्छ; हजारौं किलोमिटर परसम्म आक्रमण गर्न सक्ने रकेटहरू हुन सक्छन्‌; आमविनाश गर्न सक्ने अत्याधुनिक रासायनिक तथा जैविक हतियारहरू हुन सक्छन्‌।

हामी यहोवाका चेतावनीहरूलाई गम्भीरतापूर्वक लिन्छौं

९. आजको संसार र जलप्रलयअघिको संसार कसरी उस्तै छ?

नूहको समयमा यहोवाले मानिसजातिको विनाश गर्नुभयो किनभने नपिलहरूको साथ पाएर दुष्ट मानिसहरूले पृथ्वीलाई अचाक्ली हिंसाले भरे। आज नि? के आज पृथ्वी नूहको दिनभन्दा कम हिंसाले भरिएको छ र? पटक्कै छैन! नूहको दिनमा जस्तै आजका मानिसहरू पनि चेतावनीलाई पटक्कै वास्ता नगरी आफ्नो दिनचर्यामा व्यस्त भएर “सामान्य” जीवन बिताइरहेका छन्‌। (लूका १७:२६, २७) यहोवाले मानिसजातिमाथि फेरि विपत्ति ल्याउनुहुनेछ भनेर शङ्‌का गर्नुपर्ने कुनै कारण छ र? अहँ, छैन।

१०. (क) बाइबलका भविष्यवाणीहरूले कुन चेतावनी बारम्बार दोहोऱ्‍याइरहेको छ? (ख) हामीले आज पछ्याउनुपर्ने एक मात्र बुद्धिमानी मार्ग कुन हो?

१० हाम्रो समयमा आउने विनाशबारे जलप्रलय आउनुभन्दा सयौं वर्षअघि हनोकले भविष्यवाणी गरेका थिए। (यहूदा १४, १५) येशूले पनि आउँदै गरेको “महा संकष्ट[बारे]” भविष्यवाणी गर्नुभयो। (मत्ती २४:२१) अरू अगमवक्‍ताले पनि आउँदै गरेको विनाशबारे चेतावनी दिए। (इजकिएल ३८:१८-२३; दानियल १२:१; योएल २:३१, ३२) प्रकाशको पुस्तकमा त्यस अन्तिम विनाशबारे एकदमै जीवन्त ढङ्‌गमा वर्णन गरिएको छ। (प्रकाश १९:११-२१) व्यक्‍तिगत तवरमा हामी नूहको अनुकरण गर्छौं र सक्रिय भई धार्मिकताको प्रचार गर्छौं। यहोवाका चेतावनीहरूलाई हामी गम्भीरतापूर्वक लिन्छौं अनि छिमेकीहरूलाई पनि त्यसै गर्न मायालु मदत दिन्छौं। यसरी नूहजस्तै हामी पनि परमेश्‍वरसित हिंड्‌छौं। वास्तवमा जीवन चाहने व्यक्‍तिहरू सबै यहोवासित हिंडिरहनु अत्यावश्‍यक छ। हामीले दिनहुँ थुप्रै दबाबहरूको सामना गर्नुपर्ने हुन्छ तैपनि हामी कसरी परमेश्‍वरसित हिंड्‌न सक्छौं? यसको लागि परमेश्‍वरको उद्देश्‍य अवश्‍य पूरा हुनेछ भन्‍ने कुरामा बलियो विश्‍वास खेती गर्नुपर्छ।—हिब्रू ११:६.

सङ्‌कटमय घडीमा परमेश्‍वरसित हिंडिरहनुहोस्‌

११. प्रथम शताब्दीका मसीहीहरूको हामी कसरी अनुकरण गर्छौं?

११ प्रथम शताब्दीमा अभिषिक्‍त मसीहीहरूलाई “त्यस मार्गमा” हिंड्‌नेहरू भनिन्थ्यो। (प्रेरित ९:२) तिनीहरूको सम्पूर्ण जीवन शैली यहोवा र येशू ख्रीष्टमाथिको विश्‍वासमा केन्द्रित थियो। आफ्नो मालिक येशू ख्रीष्ट हिंडेको मार्गमा तिनीहरू हिंडे। आज विश्‍वासी मसीहीहरू पनि त्यसै गर्छन्‌।

१२. येशूले चमत्कारपूर्ण ढङ्‌गमा भीडलाई खुवाउनुभएपछि के भयो?

१२ विश्‍वास हुनुको महत्त्व येशू पृथ्वीमा हुनुहुँदा भएको एउटा घटनामा देखिन्छ। एक चोटि येशूले चमत्कारपूर्ण ढङ्‌गमा ५,००० जति पुरुषहरू भएको भीडलाई खुवाउनुभयो। यो देखेर मानिसहरू छक्क परे र रमाए। तर यसपछि के भयो, ध्यान दिनुहोस्‌। हामी यस्तो लेखिएको पाउँछौं: “उहाँले गर्नुभएको यो चिह्न देखेर ती मानिसहरूले भने, ‘संसारमा आउने अगमवक्‍ता साँच्चै यहाँनै हुनुहुँदोरहेछ।’ यसकारण उहाँलाई राजा बनाउनलाई तिनीहरूले बलजफत गर्नआँटेका छन्‌ भनी थाह पाई येशू फेरि आफू एकलै डाँडामा गइहाल्नुभयो।” (यूहन्‍ना ६:१०-१५) त्यो रात उहाँ अन्तै जानुभयो। राजा बन्‍न येशूले इन्कार गर्नुभएकोले धेरै जना निराश भएका हुन सक्छन्‌। नहुन्‌ पनि किन, उहाँ राजा हुन योग्य हुनुहुन्छ अनि मानिसहरूका भौतिक आवश्‍यकताहरू पूरा गर्ने शक्‍ति आफूसित छ भनेर उहाँले देखाइसक्नुभएको थियो। तर राजाको हैसियतमा उहाँलाई शासन गर्न दिने यहोवाको समय आइसकेको थिएन। त्यसबाहेक, येशूको राज्य पृथ्वीमा नभई स्वर्गमा हुने थियो।

१३, १४. धेरैले कस्तो दृष्टिकोण देखाए अनि कसरी तिनीहरूको विश्‍वासको जाँच भयो?

१३ तैपनि भीड येशूको पछि लाग्न छोडेन र यूहन्‍नाले भनेझैं मानिसहरूले उहाँलाई “समुद्रपारि” भेट्टाए। उहाँले राजा बन्‍न इन्कार गरेपछि पनि किन तिनीहरूले उहाँलाई पछ्याए? मोशाको दिनमा उजाडस्थानमा यहोवाले प्रबन्ध गर्नुभएका भौतिक कुराहरूमा मात्रै ध्यान केन्द्रित गरेर धेरैले शारीरिक दृष्टिकोण राखे। येशूले तिनीहरूको निम्ति भौतिक प्रबन्धहरू गरिरहनुपर्छ भन्‍ने आशा राखेका थिए। तिनीहरूको गलत मनसाय येशूले बुझ्नुभएको हुँदा तिनीहरूको सोचाइलाई छाँटकाँट गर्ने मदत दिन उहाँले आध्यात्मिक सत्य सिकाउन थाल्नुभयो। (यूहन्‍ना ६:१७, २४, २५, ३०, ३१, ३५-४०) येशूले यहाँ दिइएको एउटा उदाहरण बताउनुहुँदा कसै-कसैले उहाँ विरुद्ध गनगन गर्न थाले: “साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले मान्छेको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरू आफैमा जीवन हुँदैन। मेरो देह खाने र मेरो रगत पिउनेलाई अनन्त जीवन हुन्छ, औ म त्यसलाई पछिल्लो दिनमा बिउँताउनेछु।”—यूहन्‍ना ६:५३, ५४.

१४ येशूले बताउनुभएका उदाहरणहरूले अक्सर मानिसहरूलाई तिनीहरू साँच्चै परमेश्‍वरसित हिंड्‌न चाहन्छन्‌ कि चाहँदैनन्‌ भनी देखाउन उत्प्रेरित गर्थ्यो। यो उदाहरण पनि येशूले यही कुरालाई ध्यानमा राखेर बताउनुभएको थियो। यो सुनेपछि मानिसहरूले कडा प्रतिक्रिया व्यक्‍त गरे। हामी यस्तो लेखिएको पाउँछौं: “यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, ‘यो वचन कठोर छ, को यो सुन्‍नसक्‍तछ र?’ ” तिनीहरूले उहाँका शब्दहरूको अझ गहिरो अर्थ बुझ्नुपर्छ भनेर येशूले बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “बिउँताउने आत्मा हुन्‌, देहले केही फाइदा दिंदैन, ती कुरा जो मैले तिमीहरूसित गरेको छु आत्मा र जीवन हुन्‌।” तैपनि धेरैले उहाँको कुरा सुनेनन्‌ र विवरण यसो भन्छ: “यसपछि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, औ उहाँसँग फेरि हिंडडुल गरेनन्‌।”—यूहन्‍ना ६:६०, ६३, ६६.

१५. येशूका कोही-कोही चेलाहरूको कस्तो सही दृष्टिकोण थियो?

१५ तर येशूका सबै चेलाहरूले यस्तो प्रतिक्रिया देखाएनन्‌। हुन त, वफादार चेलाहरूले पनि येशूले भन्‍नुभएको कुराको पूरा अर्थ बुझेका थिएनन्‌। तर पनि येशूप्रतिको तिनीहरूको विश्‍वास ढलपल भएन। एक जना वफादार चेला पत्रुसले येशूको साथ नछोड्‌नेहरूका भावना यसरी व्यक्‍त गरे: “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा ता तपाईंसँग छन्‌।” (यूहन्‍ना ६:६८) कस्तो राम्रो मनोवृत्ति अनि कस्तो उत्कृष्ट उदाहरण!

१६. हाम्रो जाँच कसरी हुन सक्छ अनि हामीले कस्तो उचित दृष्टिकोण खेती गर्नुपर्छ?

१६ ती प्रारम्भिक चेलाहरू जसरी जाँचिए, हामी पनि त्यसरी नै जाँचिन सक्छौं। व्यक्‍तिगत तवरमा हामीले चाहेजस्तो यहोवाका प्रतिज्ञाहरू त्यति छिटो पूरा नहुँदा हामी निरास हुन सक्छौं। बाइबल आधारित प्रकाशनहरूमा स्पष्ट पारिएका कुराहरू हामीलाई बुझ्न गाह्रो लाग्ला। कुनै सँगी मसीहीको आचरणले हामीलाई निरास पार्न सक्छ। के यस्ता कारणहरूले गर्दा परमेश्‍वरसित हिंड्‌न छोड्‌नु उचित होला? अहँ, पटक्कै हुँदैन! येशूलाई छोडेर जाने चेलाहरूले शारीरिक सोचाइ राखे। यसो गर्नदेखि हामी पनि सावधान हुनै पर्छ।

“हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्‌नेहरूमध्येका होइनौं”

१७. परमेश्‍वरसित हिंडिरहन हामी कसरी मदत पाउन सक्छौं?

१७ प्रेरित पावलले यस्तो लेखे: ‘हरेक धर्मशास्त्र परमेश्‍वरबाट प्रेरणा भएको हो।’ (२ तिमोथी ३:१६) बाइबलका पानाहरूमार्फत यहोवा हामीलाई स्पष्टसित यसो भन्‍नुहुन्छ: “बाटो यही हो, यसैमा तिमीहरू हिंड।” (यशैया ३०:२१) परमेश्‍वरको वचन पालन गर्दा ‘हामी कसरी हिंड्‌छौं, ठिकसँग हेर्न’ मदत पाउँछौं। (एफिसी ५:१५) बाइबल अध्ययन गर्दा अनि आफूले सिकेका कुराहरूमा मनन गर्दा हामी ‘सत्यमा हिंडिरहन’ मदत पाउँछौं। (३ यूहन्‍ना ३) येशूले भन्‍नुभएझैं साँच्चै “बिउँताउने आत्मा हुन्‌, देहले केही फाइदा दिंदैन।” हाम्रा पाइलाहरूलाई निर्देशन दिने एक मात्र भरपर्दो डोऱ्‍याइ परमेश्‍वरको डोऱ्‍याइ नै हो, जुन यहोवाको वचन, उहाँको आत्मा अनि उहाँको संगठनमार्फत आउँछ।

१८. (क) कोही-कोही मानिसहरूले मूर्खतापूर्वक कस्तो मार्ग पछ्याउँछन्‌? (ख) हामी कस्तो विश्‍वास खेती गर्छौं?

१८ आज, शारीरिक सोचाइ वा साकार नभएका आशाहरूले गर्दा असन्तुष्ट हुनेहरू अक्सर यस संसारले प्रदान गर्ने कुराहरूबाट भरपूर फाइदा उठाउन खोज्छन्‌। बियाँलो गर्न हुँदैन भन्‍ने कुरालाई बिर्सेको हुँदा तिनीहरूले ‘जागा रहनुपर्ने’ खाँचो महसुस गर्दैनन्‌ र यसले गर्दा परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई प्राथमिकता दिनुको सट्टा स्वार्थी लक्ष्यहरू पछ्याउने निर्णय गर्छन्‌। (मत्ती २४:४२) त्यस्तो मार्गमा हिंड्‌नु एकदमै मूर्खतापूर्ण हो। प्रेरित पावलका यी शब्दहरूलाई विचार गर्नुहोस्‌: “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्‌नेहरूमध्येका होइनौं, तर आत्माको उद्धारको निम्ति विश्‍वास गर्नेहरूमध्येका हौं।” (हिब्रू १०:३९) हनोक र नूहजस्तै हामी सङ्‌कटमय घडीमा बाँचिरहेका छौं तर परमेश्‍वरसित हिंड्‌ने सुअवसर हामीले पाएका छौं। यसरी परमेश्‍वरसित हिंड्‌दा यहोवाका प्रतिज्ञाहरू पूरा भएको, दुष्टताको विनाश भएको अनि धार्मिक नयाँ संसार स्थापना भएको देख्नेछौं भन्‍ने निश्‍चित आशा हामीसित छ। कस्तो अद्‌भुत प्रत्याशा!

१९. साँचो उपासकहरूको मार्ग मीका कसरी वर्णन गर्छन्‌?

१९ यस संसारका राष्ट्रहरू “आफ्नो आफ्नो देवताको नाउँमा” हिंड्‌नेछन्‌ भनी प्रेरित अगमवक्‍ता मीकाले बताए। त्यसपछि मीकाले आफ्नै विषयमा र अरू विश्‍वासी उपासकहरूबारे बताए अनि यसो भने: “हामी चाहिं सदा सर्वदै परमप्रभु [“ यहोवा,” NW ] आफ्ना परमेश्‍वरको नाउँमा हिंड्‌नेछौं।” (मीका ४:५) तपाईं मीकाजस्तै कटिबद्ध हुनुहुन्छ भने जस्तोसुकै सङ्‌कटको घडीमा पनि यहोवाको साथ नछोड्‌नुहोस्‌। (याकूब ४:८) अहिले अनि अनन्तसम्म र सदा सर्वदाको लागि यहोवा हाम्रा परमेश्‍वरसित हिंडिरहने हामी प्रत्येकको उत्कट इच्छा होस्‌!

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• नूहको समय र हाम्रो समयबीच कस्ता समानताहरू छन्‌?

• नूह र तिनको परिवारले कस्तो मार्ग पछ्याए अनि हामी कसरी तिनीहरूको विश्‍वास अनुकरण गर्न सक्छौं?

• येशूका चेलाहरूमध्ये कसै-कसैले कस्तो गलत दृष्टिकोण देखाए?

• साँचो मसीहीहरू के गर्न कटिबद्ध छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २०-मा भएका चित्रहरू]

नूहको दिनमा जस्तै आजका मानिसहरू पनि आफ्नै दिनचर्यामा चुर्लुम्मै डुबेका छन्‌

[पृष्ठ २१-मा भएको चित्रको स्रोत]

परमेश्‍वरको राज्यका प्रचारकहरूको हैसियतमा हामी “पछि हट्‌नेहरूमध्येका होइनौं”