सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पन्तियस पिलातस तिनी को थिए?

पन्तियस पिलातस तिनी को थिए?

पन्तियस पिलातस तिनी को थिए?

“पिलातसको विषयमा धेरै अनुमान लगाइएका छन्‌। शंकालु अनि अरूको उपहास गर्न रूचाउने यस ऐतिहासिक पात्रलाई कसैले सन्त ठान्छन्‌ त कोही मानव कमजोरीको मूर्त रूप। अनि कतिपय चाहिं तिनलाई राजनैतिक स्थिरताका लागि अरूलाई बलिको बोको बनाउन तयार राजनितिज्ञको उपयुक्‍त उदाहरणको रूपमा लिन्छन्‌।”—आन रोको पन्टियस पाइलेट।

यस अनुमानसित तपाईं सहमत हुनुहोस्‌ वा असहमत, येशू ख्रीष्टसित गरेको व्यवहारले गर्दा भने पन्तियस पिलातसले पक्कै नाउँ कमाए। पिलातस को थिए? तिनीबारे के थाह छ? तिनीबारे राम्ररी जान्यौं भने, पृथ्वीमा घटेको अहिलेसम्मको सबैभन्दा महत्त्वपूर्ण घटना राम्ररी बुझ्न सक्नेछौं।

ओहदा, कर्तव्य र अख्तियार

रोमी सम्राट्‌ टाइबेरियसले पिलातसलाई इ.सं. २६ मा यहूदिया प्रान्तको बडा हाकिम नियुक्‍त गरेका थिए। यस्ता हाकिमहरू, संसद्‌को सदस्य हुन पाउने घरानियाँ कुलका नभई सैन्य सेवामा भर्ती हुनसक्ने मध्यम वर्गीय परिवारका हुन्थे। पिलातस तल्लो तहको सैन्य अधिकृतको रूपमा सेनामा भर्ती भएका थिए होलान्‌ र पछि बढुवा हुँदै ३० वर्षको उमेरसम्ममा त बडा हाकिम नियुक्‍त भइसकेको हुनुपर्छ।

सैन्य पोशाक लगाउनुपर्दा पिलातस छालाको ट्युनिक र छातिपाता लगाउँथे होला। तर सार्वजनिक समारोहहरूमा चाहिं तिनी बैजनी पारी भएको सेतो रङको रोमी पोशाक लगाउँथे। तिनले कपाल ठूटो पारेर काटेका र दाह्रीजुङ्‌गा खौरेका हुन सक्छ। कसै-कसैले तिनी स्पेनबाट आएको हुनसक्ने अनुमान लगाए तापनि तिनको नाउँलाई विचार गर्दा तिनी दक्षिण इटालीको सम्भ्रान्त परिवार अर्थात्‌ पन्टी कुलको हुनसक्ने बुझिन्छ।

पिलातसको तहका हाकिमहरूलाई प्रायः पिछडिएको इलाकामा खटाइन्थ्यो। रोमीहरूले यहूदियालाई पनि यस्तै ठाउँ ठान्थे। सुव्यवस्था कायम गर्नुका साथै पिलातसले प्रत्यक्ष र अप्रत्यक्ष कर उठाउने कामको निगरानी गर्थे। साधारण मुद्दामामिलाहरू यहूदी अदालतले हेर्थ्यो भने मृत्युदण्ड दिनुपर्ने किसिमका मुद्दामामिलाहरू चाहिं बडा हाकिमकहाँ पठाइन्थ्यो। किनकि तिनी सर्वोच्च न्यायाधिकारी थिए।

पिलातस आफ्नी पत्नीसहित सल्लाहकार, दरबारिया र सन्देशवाहकहरूको सानो समूहसित सिजरिया बन्दरगाहमा बस्थे। पिलातसको अधीनमा ५०० घोडचढी सेनाका साथै पाँच टुकडी पैदल सेना हुन्थ्यो। अनि त्यस्ता प्रत्येक टुकडीमा कमसेकम ५०० देखि १,००० सम्म सिपाहीहरू हुन्थे। बेला-बेलामा तिनका सिपाहीहरूले अपराधीहरूलाई खम्बामा कीला ठोकेर लट्‌काउँथे। दङ्‌गाफसाद नहुँदा समेत फटाफट मुद्दा छिनोफानो गरेर मृत्युदण्ड दिने चलन थियो। दङ्‌गाफसाद हुँदा चाहिं एकैचोटि हुलका हुल विद्रोहीहरूलाई तत्कालै मारिन्थ्यो। उदाहरणका लागि, स्पार्टाकसले आन्दोलन गर्दा त्यसलाई दबाउन रोमीहरूले ६,००० दासलाई खम्बामा कीला ठोकेर लट्‌काएका थिए। यहूदियामा विद्रोह चर्कंदा त्यसलाई दबाउन थप मदत गर्न सकोस्‌ भनेर रोमी सम्राट्‌ले सिरियाका हाकिमलाई अह्राएका हुन्थे, जसको अधीनमा तीनदेखि छ हजार पैदल तथा घोडचढी सिपाही हुन्थ्यो। तथापि, पिलातसको कार्यकाल भरि नै त्यस किसिमको मदत उपलब्ध नभएकोले तिनले विद्रोहको आगो सल्कने बित्तिकै दबाइहाल्नुपर्थ्यो।

बडा हाकिमहरू र सम्राट्‌बीच अक्सर कुराकानी भइरहन्थ्यो। शाही मर्यादा वा रोमी साम्राज्यको सार्वभौमिकता र अखण्डतामा धक्का लाग्ने कुनै कुरा भएमा सम्राट्‌लाई खबर गरिहाल्नुपर्थ्यो र सम्राट्‌ले समस्या समाधान गर्ने आदेश दिइहाल्थे। सम्राट्‌को कान फुक्न चाहनेको कुनै कमी नहुने भएकोले बडा हाकिमले आफ्नो इलाकामा भएका गतिविधिबारे खबर गरिहाल्नुपर्थ्यो। तसर्थ, यहूदियामा विद्रोहको आगो सल्कन थाल्दा पिलातसलाई निकै पीर परेको हुनुपर्छ।

पिलातससित सम्बन्धित धेरैजसो जानकारी सुसमाचारका पुस्तकहरूका साथै इतिहासकार फ्लेभियस जोसेफस र फिलोले लेखेका विवरणहरूमा पाइन्छ। रोमी इतिहासकार ट्यासिटसले पनि ख्रिष्टियन धर्मका संस्थापक ख्रीष्टलाई मृत्युदण्ड दिने व्यक्‍ति पिलातस नै हुन्‌ भनेर उल्लेख गरेका छन्‌।

यहूदी दङ्‌गाको सुरुवात

जोसेफसको भनाइअनुसार यहूदीहरूले मूर्तिलाई घृणा गर्ने भएकोले रोमी बडा हाकिमहरूले त्यसको ख्याल गर्दै यरूशलेममा सम्राट्‌को चित्र अंकित सैन्य प्रतिकहरू ल्याउन मनाही गरेका थिए। तर पिलातसले त्यसको ख्यालै गरेनन्‌। त्यसकारण रिसले आगो हुँदै यहूदीहरू त्यसको विरोध गर्न सिजरियातर्फ हानिए। पाँच दिनसम्म त पिलातस हात बाँधेर बसे। छैठौं दिनमा तिनले प्रदर्शनकारीहरूलाई घेरा हाल्ने आदेश दिंदै प्रदर्शन गर्न नछाडेमा मार्ने धम्की दिए। तर आफ्नो धर्मको बेइज्जती हेर्नुभन्दा मर्नु बेस भनेर यहूदीहरू टसमस भएनन्‌। पिलातसलाई हार मान्‍न करै लाग्यो र तिनले मूर्तिहरू हटाउने आदेश दिए।

पिलातस बल प्रयोग गर्न हिचकिचाउँदैन थिए। जोसेफसअनुसार यरूशलेममा पानी ल्याउन एक चोटि बडा हाकिम पिलातसले मन्दिरको पैसा चलाएर नहर खन्‍न सुरु गरेका थिए। तर पिलातसले हाकाहाकी पैसा लिएका भने थिएनन्‌। किनकि त्यसो गर्दा मन्दिरलाई लुटेसरह हुने थियो र रिसले चूर यहूदीहरूले टाइबेरियसलाई उजुरी गरेर पिलातसलाई कुर्सीबाट झार्न लगाउन सक्थे। यसो हेर्दा, पिलातसले मन्दिरको सहयोग पाएको हुनसक्छ। किनकि यहूदी रीतिअनुसार मन्दिरमा चढाइने भेटी अर्थात्‌ “कुर्बानलाई” जनहितमा लगाउनु गलत थिएन। तैपनि हजारौं यहूदीले आफ्नो रोष प्रकट गर्दै जुलुस निकाले।

पिलातसले आफ्ना सिपाहीहरूलाई भीडमा मिसिन आदेश दिंदै प्रदर्शनकारीहरूमाथि लाठी प्रहार गर्न अह्राए। तिनले तरवार चलाउन भने आदेश दिएनन्‌ किनकि तिनी रक्‍तपातविना भीडलाई नियन्त्रण गर्न चाहन्थे। दुई-चार जनाले ज्यान गुमाए तापनि परिणाम तिनले चाहेजस्तै भयो। सायद यही घटनालाई सङ्‌केत गर्दै पिलातसले गालीलीहरूका रगत बलिदानमा मिसाए भनेर केही व्यक्‍तिहरूले येशूलाई भनेका हुनसक्छन्‌।—लूका १३:१.

“सत्य के हो?”

येशूले आफैलाई राजा तुल्याउनुभयो भन्‍ने अभियोग लगाएर मुख्य पूजाहारी र बूढा प्रधानहरूले उहाँलाई पिलातससामु उभ्याए। येशूमाथि लगाइएको यस अभियोगको छानबिनले गर्दा नै पिलातस कुख्यात भए। येशूले आफू सत्यको गवाही दिन आएको हुँ भन्‍ने जवाफ दिनुभयो। यो सुनिसकेपछि रोमी साम्राज्यका लागि येशू कुनै खतरा नभएको पिलातसले महसुस गरे। येशूको भनाइलाई हलुकासित लिंदै पिलातसले सोधे, “सत्य के हो?” सायद पिलातसको विचारमा सत्य भ्रम मात्र थियो। जे होस्‌, सबै कुरा बुझिसकेपछि तिनी यस्तो निष्कर्षमा पुगे: “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ।”—यूहन्‍ना १८:३७, ३८; लूका २३:४.

पिलातसले त्यसो भनेपछि येशूको मुद्दा त्यहीं टुङ्‌गिनुपर्ने हो तर यहूदीहरूले उहाँमाथि जनतालाई भड्‌काएको आरोप लगाए। प्रधान पूजाहारीले येशूलाई रोमीहरूसमक्ष सुम्पनुको मुख्य कारण ईर्ष्या थियो र यो कुरा पिलातसलाई थाह थियो। येशूलाई मुक्‍त गरेमा विरोध हुनसक्छ भनेर पनि तिनलाई थाह थियो र तिनी त्यसो भएको हेर्न चाहँदैन थिए। तिनीसामु पहिल्यै समस्याको थुप्रो लागिसकेको थियो। त्यही कारण बरब्बा र अरू व्यक्‍तिहरू राजद्रोह र हत्याको अभियोगमा थुनामा थिए। (मर्कूस १५:७, १०; लूका २३:२) यसअघि पनि यहूदीहरूसित परेको विवादले गर्दा टाइबेरियससामु पिलातस बदनाम भइसकेका थिए। टाइबेरियस असक्षम बडा हाकिमहरूसित कडा व्यवहार गर्न कन्जुस्याइँ गर्दैनथे। अर्कोतर्फ, यहूदीहरूसामु झुक्नु कमजोरीको चिह्न हुनसक्थ्यो। पिलातस बडो धर्मसङ्‌कटमा परे।

येशू कहाँका बासिन्दा हुन्‌ भन्‍ने थाह पाएपछि पिलातसले येशूलाई गालीलका रजौटा हेरोद एन्तिपसकहाँ पठाए। तर परिणाम पिलातसले चाहेजस्तो भएन। निस्तार चाडमा एक जना कैदीलाई छोड्‌ने त्यसबेलाको यहूदी चलनअनुसार येशूलाई छुटाउन पिलातसले आफ्नो दरबार वरपर एकत्रित भीडलाई मनाउने कोसिस गरे। तर भीडले बरब्बाको पक्ष लिंदै नाराबाजी गर्न थाल्यो।—लूका २३:५-१९.

पिलातससित जे ठीक छ त्यही गर्ने इच्छा थियो होला। तर तिनी आफ्नो कुर्सी जोगाउन र भीडलाई रिझाउन चाहन्थे। अन्तस्करणको आवाज सुन्‍नु र ठीकसित न्याय गर्नुभन्दा तिनले आफ्नो कुर्सी जोगाउन रुचाए। तिनले पानी मागेर हात धोए र येशूले पाउने दण्डमा आफ्नो कुनै हात छैन भनेर देखाउन खोजे। a येशू निर्दोष हुनुहुन्छ भन्‍ने थाह हुँदाहुँदै उहाँलाई कोर्रा लाउन, गिज्याउन, मुक्का हान्‍न अनि थुक्नसमेत आफ्ना सिपाहीहरूलाई अनुमति दिए।—मत्ती २७:२४-३१.

पिलातसले येशूलाई छुटाउने अन्तिम प्रयास गरे। तर त्यसको विरोध गर्दै येशूलाई मुक्‍त गरेमा तिनी सिजरका मित्र रहने छैनन्‌ भनेर भीड चिच्याउन थाल्यो। (यूहन्‍ना १९:१२) पिलातस यहूदीसामु झुके। पिलातसको निर्णयबारे एक जना विद्वान्‌ यसो भन्छन्‌: “तिनले सजिलैसित निर्णय गरे। सबैले छिःछिः-दूरदूर गरेका यहूदीलाई जोगाएर आफ्नो खुट्टामा बन्चरो हान्‍नुभन्दा मृत्युदण्ड दिनु नै बेस ठाने।”

पिलातसलाई के भयो?

पिलातससित सम्बन्धित अन्तिम लिखित विवरणमा पनि दङ्‌गाकै कुरा छ। जोसेफसको भनाइअनुसार मोशाले धनसम्पत्ति गाडेको हुनसक्ने हल्लालाई पत्याएर हतियारधारी थुप्रै सामरीहरू गीरिज्जीम पर्वतमा भेला भएका थिए। पिलातसले हस्तक्षेप गरे र तिनका सिपाहीहरूले थुप्रैलाई मारे। सामरीहरूले सिरियाका बडा हाकिम ल्युक्यूस भिटेलियूसलाई गुनासो गरे। भिटेलियूसलाई पिलातसले ज्यादती गऱ्‍यो भन्‍ने लाग्यो कि लागेन त्यसबारे केही उल्लेख गरिएको छैन। जे होस्‌, तिनले पिलातसलाई रोम गएर सम्राट्‌सामु आफ्नो सफाइ पेश गर्न आदेश दिए। तर पिलातस रोम नपुग्दै टाइबेरियस मरे।

एउटा पत्रिकाअनुसार “त्यसपछि पिलातस इतिहासको पानाबाट हराएर किंवदन्तीको पात्र भए।” त्यसपछि के भयो भन्‍ने विषयमा थुप्रै अड्‌कलबाजी गरिएका छन्‌। कसैले तिनले मसीही धर्म अपनाए भनेका छन्‌। इथियोपियाली अर्थोडक्स “मसीहीहरूले” त तिनलाई “सन्त” नै माने। लगभग चौथो शताब्दीका लेखक युसिबियस र पछि अरू थुप्रैले चाहिं यहूदा इस्करयोतीले जस्तै पिलातसले पनि आत्महत्या गरे भनी लेखेका छन्‌। तथापि, पिलातसलाई के भयो, त्यसबारे तथ्य कुरा थाह लगाउन सकिएको छैन।

पिलातस हठी, हडबडे र कठोर मनका थिए। तैपनि अन्य हाकिमहरूको छोटो कार्यकालको तुलनामा तिनले दस वर्षसम्म आफ्नो ओहदा सँभाले। त्यसकारण, रोमीहरूको हिसाबले भन्‍नुपर्दा तिनलाई सक्षम नै मान्‍नुपर्छ। आफ्नो टाउको जोगाउन निर्दोष येशूलाई सताएर मारेका हुनाले तिनलाई लाछी भन्‍नेहरूको पनि कमी छैन। अर्कोतिर, रोमी साम्राज्यको नुनको सोझो गर्नु र शान्ति कायम गर्नु नै पिलातसको मुख्य जिम्मेवारी भएकोले न्यायको तराजु बोक्नु तिनको जिम्मेवारी होइन भन्‍नेहरू पनि छन्‌।

हो, पिलातसको समय हाम्रो समयभन्दा धेरै फरक होला, तर निर्दोषलाई दण्ड दिने हक कुनै पनि न्यायाधीशलाई छैन। तथापि, येशूको मुद्दा हेर्नु नपरेको भए सायद पिलातस इतिहासको एक सामान्य पात्र मात्र हुने थिए।

[फुटनोट]

a रक्‍तपातमा आफू मुछिएको छैन भनी देखाउन यहूदीहरू हात धुन्थे। तर रोमीहरूको यस्तो चलन थिएन।—व्यवस्था २१:६, ७.

[पृष्ठ ११-मा भएको चित्र]

सिजरियामा फेला परेको यो शिलालेखले पन्तियस पिलातसलाई यहूदियाको बडा हाकिमको रूपमा चिनाउँछ