सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमेश्‍वरको डरनै बुद्धि हो”

“परमेश्‍वरको डरनै बुद्धि हो”

“परमेश्‍वरको डरनै बुद्धि हो”

यहोवा परमेश्‍वरबाट प्रेरणा पाएर पुरातन इस्राएलका राजा सुलेमानले अन्तमा यसो लेखेका थिए: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्‌। परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।” (उपदेशक १२:१३) कत्ति घतलाग्दो टुङ्‌गो! परमेश्‍वरको डर मान्‍नु कत्ति आवश्‍यक छ, कुलपिता अय्यूबले पनि बुझेका थिए। त्यसैले त तिनले यसो भने: “उहाँले मानिसलाई भन्‍नुभयो, ‘परमेश्‍वरको डरनै बुद्धि हो, र दुष्टताबाट अलग रहनु समझशक्‍ति हो।’ ”—अय्यूब २८:२८.

यहोवाको डर राख्नुपर्छ भनेर बाइबलले धेरै जोड दिन्छ। तर परमेश्‍वरप्रति श्रद्धेय भय राख्नु किन बुद्धिमानी हो? परमेश्‍वरको डर राख्दा, हामी साँचो उपासकहरूलाई व्यक्‍तिगत अनि सामूहिक तरिकामा कसरी फाइदा हुन्छ? हितोपदेश अध्याय १४ को पद २६ देखि ३५ ले यी दुवै प्रश्‍नको जवाफ दिन्छ। a

“सुरक्षित किल्ला”

सुलेमान लेख्छन्‌, “जसले परमप्रभुको भय मान्छ, त्यसको सुरक्षित किल्ला हुन्छ, र त्यसका छोराछोरीका निम्ति यो एक शरणस्थान हुनेछ।” (हितोपदेश १४:२६, NRV ) परमेश्‍वरको डर राख्ने मानिसले सर्वशक्‍तिमान्‌ अनि भरोसायोग्य परमेश्‍वर यहोवाबाहेक अरू कसैमाथि भरोसा राख्दैन। यस्तो डर राख्ने मानिससामु चिरकालीन सुखी भविष्य भएकोले ऊ आफ्नो भविष्यसित रत्तिभर डराउँदैन।

तर संसारका योजना, संगठन, विचारधारा तथा साधनहरूमाथि भरोसा राख्नेहरूको भविष्य नि? तिनीहरूले जस्तोसुकै आशा गरेको होस्‌, तिनीहरूको भविष्य अनिश्‍चित छ किनकि बाइबल यसो भन्छ: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्‍ना २:१७) त्यसोभए, ‘संसार र संसारमा भएका कुनै चीजलाई प्रेम’ गर्नु बुद्धिमानी होला त?—१ यूहन्‍ना २:१५.

परमेश्‍वरसित डराउने आमाबाबुले यहोवाको भय आफ्ना ‘छोराछोरीको निम्ति शरणस्थान’ होस्‌ भनेर चाहन्छन्‌ भने के गर्नुपर्छ? भजन रचयिताले यसरी गाए: “आऊ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको डर मान्‍न सिकाउनेछु।” (भजन ३४:११) आमाबाबु आफैले यहोवाको डर मानेर उदाहरण बसालेका र सिकाएका छन्‌ भने छोराछोरी पनि यहोवामा बलियो भरोसा राख्ने पुरुष अनि स्त्री बन्‍न सक्छन्‌।—हितोपदेश २२:६.

सुलेमान अझ लेख्छन्‌, “मृत्युको पासोबाट उम्कन इच्छा गर्ने मानिसको निम्ति परमेश्‍वरको भय जीवनको मूल हो।” (हितोपदेश १४:२७) यहोवाको भय नै “जीवनको मूल हो” किनकि जीवन दिने उहाँ नै हुनुहुन्छ। यहोवा र येशू ख्रीष्टको ज्ञान लियौं भने हामीले अनन्त जीवन पाउन सक्छौं। (यूहन्‍ना १७:३) परमेश्‍वरको डरले हामीलाई मृत्युको पासोबाट पनि जोगाउँछ। कसरी? हितोपदेश १३:१४ यसो भन्छ: “बुद्धिमान मानिसको अर्ती मृत्युको पासोबाट उम्कनेलाई जीवनको मूल हो।” हुन पनि, यहोवाको डर मान्दा, उहाँको आज्ञा पालन गर्दा र उहाँको वचनअनुसार चल्दा हामी खराब चालचलन र अकालमै मर्नबाट पनि जोगिन्छौं, होइन र?

‘राजाको प्रसिद्धि’

राजा छउन्जेल प्रायः सुलेमानले यहोवाको डर मान्‍नुका साथै उहाँको आज्ञा पालन गरे। फलस्वरूप तिनले सफलतासाथ शासन गर्न सके। तर राजाको शासन राम्रो छ कि छैन, कसरी भन्‍न सकिन्छ? हितोपदेश १४:२८ यस्तो जवाफ दिन्छ: “प्रजाको धेरै संख्याले राजा प्रसिद्ध हुन्छ, प्रजा विनाको शासक नाश हुन्छ।” राजा सुलेमानका प्रजा “एक समुद्रदेखि [लाल समुद्रदेखि] अर्को समुद्रसम्म [भूमध्य सागरसम्म] . . . र यूफ्रेटिस नदीदेखि पृथ्वीको पल्लो छेउसम्म” थिए। (भजन ७२:६-८) तिनको शासनकालमा जति सुख-शान्ति पहिले कहिल्यै थिएन। (१ राजा ४:२४, २५) सुलेमानको शासन सफल थियो।

यस सन्दर्भमा महान्‌ सुलेमान अर्थात्‌ मसीही राज्यका राजा येशू ख्रीष्टले कस्तो सम्मान पाउनुभयो, त्यसबारे चाहिं के भन्‍न सकिन्छ? अहिले उहाँका प्रजाहरू कति छन्‌, एक पटक विचार गर्नुहोस्‌। परमेश्‍वरको डर राख्ने पुरुष तथा स्त्री पृथ्वीको वल्लोदेखि पल्लो छेउसम्म ६० लाखभन्दा धेरै छन्‌। अनि तिनीहरूले ख्रीष्टको शासनको अधीनमा बस्ने छनौट गरिसकेका छन्‌। तिनीहरू येशूमाथि विश्‍वास गर्छन्‌ र एक भएर जीवित परमेश्‍वर यहोवाको साँचो उपासना गर्छन्‌। (यूहन्‍ना १४:१) यसबाहेक, परमेश्‍वरले सम्झिरहनुभएका व्यक्‍तिहरू हजार वर्षीय शासनको अन्तसम्ममा पुनरुत्थान भइसकेका हुनेछन्‌। फलस्वरूप, त्यतिबेला पार्थिव प्रमोदवन आफ्नो राजाको मूल्याङ्‌कन गर्ने सुखी र धर्मी मानिसहरूले भरिभराउ हुनेछ। ख्रीष्टको सफल शासनको कति राम्रो प्रमाण! त्यसकारण, आउनुहोस्‌ परमेश्‍वरको राज्यमा जीवन बिताउने हाम्रो अद्‌भुत आशालाई बलियो गरी पक्रिराखौं।

आध्यात्मिक तथा शारीरिक फाइदाहरू

परमेश्‍वरप्रतिको श्रद्धेय भयले हाम्रो मन अनि आत्मालाई शान्त बनाउन सक्छ। किनकि बुद्धिका विभिन्‍न पक्षहरूमध्ये दुई, सही निर्णय गर्ने क्षमता र समझशक्‍ति पनि हुन्‌। हितोपदेश १४:२९ यसो भन्छ: “धीरज धारण गर्नु ठूलो समझ-शक्‍ति देखाउनु हो, झ्वाट्टै रीस गर्नु मूर्खताको चरमसीमा हो।” काबूमै राख्न नसक्ने गरी रिसाउँदा हाम्रो आध्यात्मिकतालाई हानि गर्न सक्छ भनी बुझ्न समझशक्‍तिले हामीलाई मदत गर्छ। “दुश्‍मनी, झैंझगडा, ईर्ष्या, क्रोध, विरोध” हामीलाई “परमेश्‍वरको राज्यका हकवाला” हुन नदिने दुर्गुणहरूमध्ये पर्छन्‌। (गलाती ५:१९-२१) कुनै-कुनै बेला रिसाउनु ठीकै होला, तापनि त्यस्तो रिस पालिराख्नुहुन्‍न भनेर हामीलाई सल्लाह दिइएको छ। (एफिसी ४:२६, २७) अनि रिसको झोंकमा हामी त्यस्तो कुरा बोल्न वा गर्न सक्छौं, जसले गर्दा हामी चुकचुकाउनुपर्ने हुन्छ।

रिसाउँदा शरीरमा पर्नसक्ने हानिबारे इस्राएलका राजा यसो भन्छन्‌: “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ, तर क्रोधले त्यसको हड्डी गलाउँछ।” (हितोपदेश १४:३०) क्रोधको कारण श्‍वासप्रश्‍वास, उच्च रक्‍तचाप, कलेजो र पेटसम्बन्धी विभिन्‍न समस्याहरू हुन सक्छन्‌। चिकित्सकहरूको भनाइअनुसार, असाध्यै रिसाउने बानीले गर्दा अल्सर, एलर्जी, दम, छाला अनि पाचनसम्बन्धी समस्याहरू देखिन वा चर्किन सक्छ। अर्कोतिर “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ।” त्यसैकारण, “हामी शान्ति हुने र आपसमा सुधार्ने कुराको पछि” लाग्नु नै बुद्धिमानी हुनेछ।—रोमी १४:१९.

परमेश्‍वरको डरले हामीलाई निष्पक्ष हुन मदत गर्छ

सुलेमान भन्छन्‌, “गरीबलाई अत्याचार गर्नेले आफ्नो सृष्टिकर्त्ताको विरोध गर्छ। दरिद्रलाई उदारता देखाउनेले उहाँलाई आदर गर्छ।” (हितोपदेश १४:३१) परमेश्‍वरको डर राख्ने व्यक्‍तिले सबै मानिसको सृष्टिकर्ता यहोवा परमेश्‍वर नै हुनुहुन्छ भनेर बुझेको हुन्छ। कुनै व्यक्‍ति जतिसुकै गरिब होस्‌, ऊ हामीजस्तै मान्छे हो। गरिबलाई दुर्व्यवहार गर्ने व्यक्‍तिले सृष्टिकर्ताको अपमान गर्छ। परमेश्‍वरको सम्मान गर्न हामीले अरूसित निष्पक्ष व्यवहार गर्नै पर्छ। गरिब मसीहीलाई अरूसरह आध्यात्मिक तवरमा उत्तिकै ध्यान दिनुपर्छ। अर्कोतर्फ, धनी होस्‌ वा गरिब, हामीले सबैलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनै पर्छ।

परमेश्‍वरको डर राख्दा पाइने अर्को फाइदाबारे बुद्धिमान्‌ राजा यसो भन्छन्‌: “दुष्ट मानिस आफ्नै खराबीले नष्ट हुन्छ, तर सोझो मानिस आफ्नो इमान्दारीले सुरक्षित रहन्छ।” (हितोपदेश १४:३२) दुष्ट मानिस कसरी आफ्नै खराबीले नष्ट हुन्छ? केही बाइबलविद्‌हरूको भनाइअनुसार उक्‍त बाइबल पदले दुष्ट मानिस आपत्‌मा पर्दा उठ्‌नै नसक्ने गरी लोट्‌छ भन्‍न खोजेको हो। अर्कोतिर परमेश्‍वरसित डराउने मानिसले आपत्‌ आइपर्दा समेत आफ्नो इमान छोड्‌दैन। यहोवा परमेश्‍वरमाथि पूरापूर भरोसा भएकोले त्यस्तो व्यक्‍ति मृत्युसम्मै अय्यूब जत्तिकै अटल हुन्छ। अय्यूबले यसो भने: “नमरुञ्जेल म निर्दोष छु भन्‍ने मेरो दाबीलाई म छोड्‌नेछैनँ।”—अय्यूब २७:५.

आफ्नो इमान कायम गर्न परमेश्‍वरको डर र बुद्धि चाहिन्छ। तर त्यस्तो बुद्धि कहाँ पाउन सकिन्छ? हितोपदेश १४:३३ (NRV) यस्तो जवाफ दिन्छ: “विवेकीको हृदयमा बुद्धिले वास गर्छ, मूर्खहरूका माझमा समेत बुद्धिले आफूलाई प्रकट गराउँछ।” हो, विवेकीको हृदयमा बुद्धिले बास गर्छ। तर मूर्खहरूको माझमा समेत बुद्धिले आफूलाई कसरी प्रकट गर्छ? एउटा पुस्तकअनुसार “आफू बुद्धिमान्‌ देखिन मूर्खले बडो बुद्धिको कुरा गरें भन्ठान्छ, तर वास्तवमा उसले सिल्ली कुरा गरिरहेको हुन्छ।”

“जातिको मान बढाउँछ”

परमेश्‍वरको डर राख्दा व्यक्‍तिविशेषलाई हुने फाइदाबारे बताइसकेपछि अब पूरै जातिलाई चाहिं के फाइदा हुन्छ, त्यसतर्फ ध्यान खिच्दै इस्राएलका राजा यसो भन्छन्‌: “धार्मिकताले जातिको मान बढाउँछ, तर अधर्म गर्नु जातिको बेइज्जती हो।” (हितोपदेश १४:३४) बाइबलको यो सिद्धान्त कति सत्य छ, इस्राएली जातिलाई हेरे पुग्छ! परमेश्‍वरले दिनुभएका उच्चस्तरअनुसार चल्दा वरपरका अरू जातिसामु इस्राएली जातिको मान बढ्यो। तर बारम्बार अनाज्ञाकारी हुँदा उनीहरूको बेइज्जती भयो र अन्ततः यहोवाले उनीहरूलाई त्याग्नुभयो। परमेश्‍वरका जनहरूमाझ पनि आज यही सिद्धान्त लागू हुन्छ। परमेश्‍वरका धार्मिक सिद्धान्तहरू पालन गरेकोले मसीही मण्डली संसारभन्दा भिन्‍नै छ। तर समूहगत रूपमा यसरी फरक भइरहनका लागि हामीले व्यक्‍तिगत तवरमा चरित्रवान्‌ जीवन यापन गर्नै पर्छ। पापकर्म छोडेनौं भने, हाम्रो मात्र होइन तर परमेश्‍वर र मण्डलीको नाउँमा समेत कलङ्‌क लाग्छ।

के गर्दा राजा प्रसन्‍न रहन्छन्‌, त्यसबारे सुलेमान यसो भन्छन्‌: “बुद्धिमान सेवकमाथि राजाको निगाह रहन्छ, तर अयोग्य सेवकमाथि तिनको क्रोध पर्छ।” (हितोपदेश १४:३५) अनि हितोपदेश १६:१३ यसो भन्छ: “राजाहरू इमान्दार कुरा चाहन्छन्‌, सत्य बोल्ने मानिसलाई तिनीहरू प्रेम गर्छन्‌।” हो, बुद्धिमान्‌ भई सुकर्म गऱ्‍यौं र राज्यप्रचार अनि चेला बनाउनमा लागिरह्‍यौं भने, हाम्रो नेता तथा राजा, येशू ख्रीष्टको निगाह पाउनेछौं। त्यसैकारण, हामी यस काममा सकुन्जेल व्यस्त रहौं र एक मात्र साँचो परमेश्‍वरको डर राख्दै उहाँको आशिष्‌ पाइरहौं।

[फुटनोट]

[पृष्ठ १५-मा भएको चित्र]

परमेश्‍वरको डर राख्न सिकाउन सकिन्छ