सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वर वा मानिस?

परमेश्‍वर वा मानिस?

परमेश्‍वर वा मानिस?

“म संसारको ज्योति हुँ, [मेरो] पछि लाग्ने अँध्यारोमा हिंडडुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।” (यूहन्‍ना ८:१२) यो कुरा येशू ख्रीष्टले भन्‍नुभएको थियो। प्रथम शताब्दीका एक विद्वान्‌ले उहाँको विषयमा यस्तो लेखे: “जसमा ज्ञान र बुद्धिका सारा रत्नहरू छिपेका छन्‌।” (कलस्सी २:३) यसबाहेक, बाइबल यसो भन्छ: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌ [“ज्ञान लिऊन्‌,” NW]।” (यूहन्‍ना १७:३) आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्न हामीले येशूबारे सही ज्ञान लिनु अत्यन्त जरुरी छ।

मानिसहरूले येशू ख्रीष्टको बारेमा केही न केही सुनेका छन्‌। मानव इतिहासमा उहाँले छाप पार्नुभएन भन्‍ने त प्रश्‍नै उठ्‌दैन। वास्तवमा, संसारको अधिकांश मुलुकमा प्रयोग गरिने क्यालेण्डर येशूको जन्म जुन वर्षमा भएको थियो भन्‍ने सोचाइ छ त्यसै वर्षमा आधारित छ। द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ, “धेरै मानिसहरू त्यस वर्षभन्दा अघिका तिथिहरूलाई बुझाउन ई.पू. अथवा ईसापूर्व भन्‍ने गर्छन्‌ भने, त्यस वर्षभन्दा पछिका तिथिहरूका लागि चाहिं उनीहरू ए.डी. अथवा एन्‍नो डोमिनी (हाम्रो प्रभुको वर्ष) चलाउँछन्‌।”

तर येशू को हुनुहुन्थ्यो भन्‍ने विषयमा भने थुप्रै फरक-फरक विचारधारा छन्‌। कसै-कसैको विचारमा उहाँ इतिहासमा गहिरो छाप छोड्‌न सफल एक उल्लेखनीय व्यक्‍ति मात्र हुनुहुन्छ। तापनि अरू भने सर्वशक्‍तिमान्‌ परमेश्‍वरको रूपमा उहाँको उपासना गर्छन्‌। कतिपय हिन्दू दार्शनिकहरूले येशू ख्रीष्टलाई हिन्दू देवता कृष्णसँग तुलना गरेका छन्‌ किनभने येशू कृष्णकै अवतार हुनुहुन्छ भनी विश्‍वास गर्ने मानिसहरू धेरै छन्‌। के येशू साधारण व्यक्‍ति हुनुहुन्थ्यो वा उपासना गर्नुपर्ने व्यक्‍ति? वास्तवमा उहाँ को हुनुहुन्थ्यो? उहाँ कहाँबाट आउनुभएको थियो? उहाँ कस्तो स्वभाव भएको व्यक्‍ति हुनुहुन्थ्यो? अनि उहाँ अहिले कहाँ हुनुहुन्छ? येशूको बारेमा धेरै कुरा बताउने एउटा पुस्तकले यी प्रश्‍नहरूको सही जवाफ दिएको छ। यसपछिको लेखमा हामी यो कुरा थाह पाउनेछौं।