सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशू ख्रीष्ट को हुनुहुन्छ?

येशू ख्रीष्ट को हुनुहुन्छ?

येशू ख्रीष्ट को हुनुहुन्छ?

नासरतका येशूले भन्‍नुभएको कुरा पहिलो चोटि सुन्दा अन्द्रियास नाउँ गरेका जवान यहूदी कत्ति दङ्‌ग परे होलान्‌, कल्पना गर्नुहोस्‌ त! बाइबल विवरणअनुसार अन्द्रियास आफ्नो भाइकहाँ दगुरेर गई तिनलाई यसो भने: “हामीले मसीहलाई (जसको अर्थ ख्रीष्ट हो) भेट्टाएका छौं।” (यूहन्‍ना १:४१) “मसीह” अनि “ख्रीष्ट” शब्दलाई हिब्रू र युनानी भाषामा अनुवाद गर्दा अक्सर त्यसको अर्थ “अभिषिक्‍त जन” भन्‍ने हुन्छ। येशू अभिषिक्‍त जन अर्थात्‌ परमेश्‍वरले रोज्नुभएको जन हुनुहुन्थ्यो—अर्को शब्दमा भन्‍ने हो भने, उहाँ प्रतिज्ञा गरिएको नेता हुनुहुन्थ्यो। (यशैया ५५:४) धर्मशास्त्रमा उहाँबारे भविष्यवाणीहरू गरिएका थिए र उसबेलाका यहूदीहरूले उहाँ आउने आशा गरिरहेका थिए।—लूका ३:१५.

येशू साँच्चै परमेश्‍वरले रोज्नुभएको जन हुनुहुन्थ्यो भन्‍ने कुरा हामी कसरी थाह पाउन सक्छौं? यस प्रश्‍नको जवाफको लागि आउनुहोस्‌ येशू ३० वर्षको हुनुहुँदा इस्वी संवत्‌ २९ मा घटेको घटनालाई हामी विचार गरौं। यर्दन नदीको पानीमा बप्तिस्मा लिन उहाँ बप्तिस्मा दिने यूहन्‍नाकहाँ जानुभयो। बाइबल यसो भन्छ: “येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, र हेर स्वर्ग उहाँको निम्ति उघ्रियो, र उहाँले परमेश्‍वरका आत्मालाई ढुकुरझैं ओर्लंदै गर्नुभएको औ आफूमाथि आउँदै गर्नुभएको देख्नुभयो। औ हेर स्वर्गबाट यसो भन्‍ने एउटा शब्द भयो, ‘यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।’ ” (मत्ती ३:१६, १७) परमेश्‍वरले अनुमोदन गर्नुभएका ती शब्दहरू सुनिसकेपछि पनि येशू परमेश्‍वरले रोज्नुभएको जन हुनुहुन्छ भन्‍ने विषयमा के यूहन्‍नालाई शङ्‌का लाग्थ्यो होला र? येशूमाथि आफ्नो पवित्र आत्मा खन्याएर यहोवा परमेश्‍वरले येशूलाई आउँदै गरेको आफ्नो राज्यको राजा अभिषेक अथवा नियुक्‍त गर्नुभयो। येशू यसरी ख्रीष्ट हुनुभयो अर्थात्‌ एक जना अभिषिक्‍त जन हुनुभयो। तैपनि, कुन अर्थमा येशू परमेश्‍वरको पुत्र हुनुहुन्थ्यो? उहाँको सुरुवात कसरी भयो?

उहाँको सुरु “अघिदेखि” नै थियो

येशूको जीवनलाई तीन चरणमा विभाजन गर्न सकिन्छ। मानवको रूपमा जन्मिनुभन्दा धेरै समयअघि नै उहाँको जीवनको पहिलो चरण सुरु भइसकेको थियो। उहाँको सुरु “अघिदेखि, अर्थात्‌ प्राचीनकालदेखिनै” थियो भनी मीका ५:२ बताउँछ। येशू आफैले यसो भन्‍नुभयो: “म माथिको हुँ” अर्थात्‌ उहाँ स्वर्गको हुनुहुन्छ। (यूहन्‍ना ८:२३) शक्‍तिशाली आत्मिक व्यक्‍तिको रूपमा उहाँ स्वर्गमा हुनुहुन्थ्यो।

सृष्टि भएका सम्पूर्ण कुराको सुरुवात भएकोले कुनै समय परमेश्‍वर एक्लै हुनुहुन्थ्यो। युगौं-युगअघि परमेश्‍वरले विभिन्‍न कुरा सृष्टि गर्न थाल्नुभयो। कसलाई उहाँले सबैभन्दा पहिला सृष्टि गर्नुभयो? बाइबलको सबैभन्दा अन्तिम पुस्तकले येशूलाई “परमेश्‍वरको सृष्टिको” सुरु भनी चिनाउँछ। (प्रकाश ३:१४) येशू “सारा सृष्टिको जेठो हुनुहुन्छ, किनभने उहाँमानै सबै थोक सृष्टि भएका थिए स्वर्गमा र पृथ्वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू . . . सृजिएका हुन्‌।” (कलस्सी १:१५, १६) हो, येशूलाई मात्र परमेश्‍वर आफैले सृष्टि गर्नुभएको थियो। त्यसैकारण त उहाँलाई “एकमात्र पुत्र” भनिन्छ। (यूहन्‍ना ३:१६) जेठो पुत्रलाई “वचन” पनि भन्‍ने गरिन्छ। (यूहन्‍ना १:१४) किन होला? किनभने मानवको रूपमा जन्मनुअघि स्वर्गमा उहाँले परमेश्‍वरको प्रवक्‍ताको रूपमा सेवा गर्नुभएको थियो।

“आदिमा” “आकाश र पृथ्वी सृष्टि हुँदा” “वचन” यहोवा परमेश्‍वरसित हुनुहुन्थ्यो। उहाँलाई नै हो परमेश्‍वरले यसो भन्‍नुभएको थियो: “मानिसलाई आफ्नै स्वरूपमा . . . बनाऔं।” (यूहन्‍ना १:१; उत्पत्ति १:१, २६) आफ्नो पिताको छेउमा बसेर यहोवाको जेठो पुत्रले सक्रिय भई काम गरिरहनुभएको थियो। हितोपदेश ८:२२-३१ (NRV) मा उहाँले भन्‍नुभएको कुरा यस प्रकार उल्लेख गरिएको छ: “म एक कारीगरझैं [सृष्टिकर्ताको] छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थें, उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थें।”

काँधमा काँध मिलाएर सँगै काम गर्दा यहोवा परमेश्‍वर अनि उहाँको एकमात्र पुत्रले एक-अर्कालाई कत्ति नजिकबाट चिने होलान्‌! त्यसरी युगौं-युगसम्म यहोवासँगको उठबसले परमेश्‍वरको पुत्रलाई निकै गहिरो छाप पाऱ्‍यो। यी आज्ञाकारी पुत्र आफ्नो पिता यहोवाजस्तै हुनुभयो। वास्तवमा, कलस्सी १:१५ मा येशूलाई “अदृश्‍य परमेश्‍वरको प्रतिरूप” भनिएको छ। हाम्रो आध्यात्मिक आवश्‍यकता अनि परमेश्‍वरलाई चिन्‍ने हाम्रो स्वाभाविक इच्छा पूरा गर्न येशूको ज्ञान अत्यन्त आवश्‍यक हुनुको एउटा कारण यही हो। पृथ्वीमा छँदा येशूले जे-जे गर्नुभयो यहोवाले उहाँबाट चाहनुभएको कुरा पनि ठ्याक्क त्यही नै थियो। त्यसैले, येशूलाई चिन्‍नुको अर्थ यहोवाबारे हाम्रो ज्ञान बढाउनु पनि हो। (यूहन्‍ना ८:२८; १४:८-१०) तर येशू कसरी यस पृथ्वीमा आउनुभयो?

मानिसको रूपमा उहाँको जीवन

परमेश्‍वरले आफ्नो पुत्रलाई यस पृथ्वीमा पठाउनुहुँदा येशूको जीवनको दोस्रो चरण सुरु भयो। स्वर्गबाट चमत्कारपूर्ण ढङ्‌गमा येशूको जीवनलाई मरियम नाउँकी विश्‍वासी यहूदी कन्याको गर्भमा सारेर यहोवाले यसो गर्नुभयो। आफ्नो मानव पिता नभएकोले येशूमा रत्तीभर असिद्धता थिएन। यहोवाको पवित्र आत्मा अथवा सक्रिय शक्‍ति मरियममाथि आउनुभयो र उहाँको शक्‍तिको ‘छाया’ तिनीमाथि पऱ्‍यो, जसको फलस्वरूप चमत्कारपूर्ण ढङ्‌गमा मरियम गर्भवती भइन्‌। (लूका १:३४, ३५) यसरी मरियमले एउटा सिद्ध बालक जन्माइन्‌। सिकर्मी यूसुफको धर्मपुत्र भएकोले उहाँको लालनपालन एउटा साधारण घरमा भएको थियो र उहाँ परिवारको जेठो छोरा हुनुहुन्थ्यो।—यशैया ७:१४; मत्ती १:२२, २३; मर्कूस ६:३.

येशूको बाल्यकालबारे त्यति धेरै कुरा बताइएको पाइँदैन तरैपनि एउटा घटना भने उल्लेखनीय छ। येशू १२ वर्षको हुनुहुँदा वर्षेनी मनाइने निस्तार चाड मनाउन उहाँ आफ्ना आमाबाबुसँग यरूशलेम जानुभएको थियो। यरूशलेममा छँदा “शिक्षकहरूका बीचमा बसेर सुन्दै र सोद्धै” उहाँले मन्दिरमा धेरै समय बिताउनुभयो। त्यति मात्र होइन, “सुन्‍नेहरू सबै उहाँको समझ र जवाफहरूमा छक्क पर्दथिए।” हो, बालक येशूले आध्यात्मिक तवरमा गहन प्रश्‍नहरू मात्र सोध्नुभएन तर अरूलाई छक्क पार्ने खालका जानकारीमूलक जवाफहरू पनि दिनुभयो। (लूका २:४१-५०) नासरत सहरमा हुर्केपछि उहाँले सिकर्मी काम सिक्नुभयो र यो काम उहाँले आफ्नो धर्मपिता यूसुफबाट सिक्नुभएको थियो भन्‍ने कुरामा कुनै शङ्‌का छैन।—मत्ती १३:५५.

तीस वर्षको नहोउन्जेल येशू नासरतमै बस्नुभयो। त्यसपछि बप्तिस्मा लिन उहाँ यूहन्‍नाकहाँ जानुभयो। बप्तिस्मापछि येशू आफ्नो सेवकाईमा सक्रिय भई लाग्नुभयो। आफ्नो गृह नगरभरि परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै उहाँले साढे तीन वर्ष बिताउनुभयो। आफूलाई परमेश्‍वरले पठाउनुभएको हो भन्‍ने कुराको उहाँले प्रमाण दिनुभयो। कसरी? थुप्रै चमत्कारहरू गर्नुभएर अर्थात्‌ मानिसको क्षमताभन्दा बाहिरका शक्‍तिशाली कामहरू गर्नुभएर।—मत्ती ४:१७; लूका १९:३७, ३८.

येशू कोमल मन र गहिरो भावना भएको व्यक्‍ति पनि हुनुहुन्थ्यो। विशेष गरी अरूलाई हेर्ने दृष्टिकोण र अरूप्रति गर्ने व्यवहारमा उहाँको त्यो कोमलता झल्किन्थ्यो। येशूसित कुरा गर्न सजिलो थियो र उहाँ दयालु पनि हुनुभएकोले मानिसहरू उहाँप्रति आकर्षित हुन्थे। केटाकेटीहरू समेत अप्ठ्यारो नमानीकन उहाँकहाँ जाने गर्थे। (मर्कूस १०:१३-१६) येशूको समयका कतिपय मानिसहरू स्त्री जातिलाई तुच्छ ठान्थे तर उहाँले भने महिलाहरूलाई बडो आदरपूर्वक व्यवहार गर्नुहुन्थ्यो। (यूहन्‍ना ४:९, २७) उहाँले गरिब तथा बोझले दबिएकाहरूलाई “आफ्ना-आफ्ना आत्मामा विश्राम” अर्थात्‌ स्फूर्ति प्राप्त गर्न मदत गर्नुभयो। (मत्ती ११:२८-३०) उहाँको सिकाउने शैली स्पष्ट, सरल र व्यावहारिक थियो। अनि उहाँले सिकाउनुभएका कुराबाट आफ्ना श्रोताहरूलाई साँचो परमेश्‍वर यहोवा चिनाउने उहाँको हार्दिक इच्छा प्रकट हुन्थ्यो।—यूहन्‍ना १७:६-८.

चमत्कारहरू गर्न परमेश्‍वरको पवित्र आत्मा चलाउँदै येशूले करुणामय ढङ्‌गमा रोगी तथा पीडितहरूलाई निको पार्नुभयो। (मत्ती १५:३०, ३१) उदाहरणका लागि, एक जना कोरी उहाँकहाँ आएर यसो भन्यो: “तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।” येशूले के गर्नुभयो? उहाँले आफ्नो हात पसारेर त्यस कोरीलाई छुनुभयो र भन्‍नुभयो: “म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ।” नभन्दै त्यो कोरी शुद्ध भइहाल्यो!—मत्ती ८:२-४.

येशूकहाँ आएको एउटा भीड तीन दिनसम्म केही नखाई बस्दाको क्षणलाई पनि विचार गर्नुहोस्‌। मानिसहरूलाई देखेर उहाँ टिठाउनुभयो र “स्त्रीहरू र केटा-केटीहरूबाहेक चार हजार पुरुषहरू[लाई]” उहाँले चमत्कारपूर्ण ढङ्‌गमा खुवाउनुभयो। (मत्ती १५:३२-३८) अर्को पटकचाहिं आफ्ना मित्रहरूको ज्यानलाई नै खतरमा पार्ने बतासलाई येशूले शान्त पार्नुभयो। (मर्कूस ४:३७-३९) उहाँले मरेका मानिसहरूको पुनरुत्थान गर्नुभयो अथवा तिनीहरूलाई पुनःजीवित पार्नुभयो। a (लूका ७:२२; यूहन्‍ना ११:४३, ४४) असिद्ध मानिसजातिले भविष्यको आशा पाउन सकून्‌ भनेर येशूले खुसी-खुसीसाथ आफ्नो सिद्ध मानव जीवन समेत बलिदान दिनुभयो। मानिसहरूप्रति येशूको कस्तो प्रगाढ प्रेम!

आज येशू कहाँ हुनुहुन्छ?

साढे तेत्तीस वर्षको उमेरमा येशूलाई शासनाको खम्बामा झुन्ड्याएर मारियो। b तर मृत्यु उहाँको जीवनको अन्त थिएन। यहोवा परमेश्‍वरले तीन दिनपछि आफ्नो पुत्रलाई आत्मिक व्यक्‍तिको रूपमा पुनरुत्थान गर्नुहुँदा उहाँको जीवनको तेस्रो चरण सुरु भयो। येशूको पुनरुत्थान भएपछि उहाँ इस्वी संवत्‌ प्रथम शताब्दीका सयौं व्यक्‍तिहरूकहाँ देखापर्नुभयो। (१ कोरिन्थी १५:३-८) त्यसपछि उहाँ “परमेश्‍वरको दाहिने बाहुलितर्फ बस्नुभयो” र राजकीय शक्‍ति नपाउन्जेल पर्खनुभयो। (हिब्रू १०:१२, १३) राजकीय शक्‍ति पाएपछि येशूले राजाको रूपमा शासन गर्न थाल्नुभयो। त्यसोभए आज हामीले येशूलाई कस्तो व्यक्‍तिको रूपमा कल्पना गर्नु उचित हुनेछ? के मारिनै लागेको लाचार व्यक्‍तिको रूपमा? अथवा उपासना गर्नुपर्ने व्यक्‍तिको रूपमा? आज येशू न त व्यक्‍ति हुनुहुन्छ न सर्वशक्‍तिमान्‌ परमेश्‍वर। बरु, उहाँ त एक शक्‍तिशाली आत्मिक प्राणी हुनुहुन्छ, शासन गरिरहनुभएको एक राजा हुनुहुन्छ। अब छिट्टै उहाँले समस्याग्रस्त यस पृथ्वीमाथि पनि शासन गर्नुहुनेछ।

प्रकाश १९:११-१६ ले लाक्षणिक भाषामा येशू ख्रीष्टलाई सेतो घोडामाथि सवार भई धार्मिकतामा इन्साफ र लडाइँ गर्न आउँदै गरेको राजाको रूपमा वर्णन गरेको छ। उहाँसित ‘जातिहरूलाई मार्ने धारिलो तरवार छ।’ हो, दुष्टहरूलाई खत्तम पार्न येशूले आफ्नो ठूलो शक्‍ति चलाउनुहुनेछ। अनि पृथ्वीमा छँदा उहाँले बसाल्नुभएको उदाहरण पछ्याउने प्रयास गर्नेहरूको विषयमा नि के भन्‍न सकिन्छ? (१ पत्रुस २:२१) परमेश्‍वरको स्वर्गीय राज्यका पार्थिव प्रजाहरू भएर सधैंभरि बाँच्न सकून्‌ भनेर येशू तथा उहाँका पिताले उनीहरूलाई अक्सर आरमागेडोन भनिने आउँदै गरेको “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ[मा]” बचाउनुहुनेछ।—प्रकाश ७:९, १४; १६:१४, १६; २१:३, ४.

उहाँको शान्तिमय शासनकालमा येशूले सम्पूर्ण मानवजातिका खातिर थुप्रै अद्‌भुत चमत्कारहरू गर्नुहुनेछ! (यशैया ९:६, ७; ११:१-१०) उहाँले रोगीहरूलाई निको पार्नुहुनेछ र मृत्युलाई नामेट पार्नुहुनेछ। अरबौं मानिसहरूलाई पुनरुत्थान गरेर पृथ्वीमा सधैंभरि बाँच्ने सुअवसर प्रदान गर्न परमेश्‍वरले येशूलाई चलाउनुहुनेछ। (यूहन्‍ना ५:२८, २९) येशूले शासन गर्नुहुने परमेश्‍वरको राज्यअन्तर्गत हाम्रो जीवन कत्ति रमाइलो हुनेछ, त्यो हामी कल्पनासमेत गर्न सक्दैनौं। त्यसैकारण हामीले बाइबलको ज्ञान लिइरहनु र येशू ख्रीष्टलाई राम्ररी चिन्‍नु महत्त्वपूर्ण छ!

[फुटनोट]

a येशूले गर्नुभएका चमत्कारहरूबारे धेरैलाई थाह थियो। येशूले ‘धेरै चिह्नहरू गर्नुभयो’ भन्‍ने कुरा येशूका शत्रुहरूले समेत मानिलिए।—यूहन्‍ना ११:४७, ४८.

b ख्रीष्टको मृत्यु शासनाको खम्बामा भएको थियो वा क्रसमा भन्‍ने विषयमा थप विवरणको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित रीजनिङ फ्रम द स्क्रिप्चर्स-को पृष्ठ ८९-९० हेर्नुहोस्‌।

पृष्ठ ७-मा भएको पेटी]

के येशू सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ?

धर्ममा आस्था राख्ने धेरै मानिसहरू येशूलाई नै परमेश्‍वर मान्छन्‌। अरूचाहिं परमेश्‍वर त्रिएक हुनुहुन्छ भनी दाबी गर्छन्‌। त्रिएकको यस शिक्षाअनुसार, “पिता परमेश्‍वर हुनुहुन्छ, पुत्र परमेश्‍वर हुनुहुन्छ र पवित्र आत्मा परमेश्‍वर हुनुहुन्छ, तरैपनि परमेश्‍वर तीन जना होइन एक जना मात्र हुनुहुन्छ।” तीनै जना परमेश्‍वर “अनन्त र बराबर छन्‌” भन्‍ने उनीहरूको सोचाइ छ। (द क्याथोलिक इन्साइक्लोपीडिया) के यस्तो धारणा सही छ?

यहोवा परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ। (प्रकाश ४:११) उहाँको न त सुरुवात छ न अन्त। उहाँ सर्वशक्‍तिमान्‌ हुनुहुन्छ। (भजन ९०:२) अर्कोतर्फ, येशूको सुरुवात थियो। (कलस्सी १:१५, १६) परमेश्‍वरलाई आफ्नो पिताको रूपमा सङ्‌केत गर्दै येशूले यसो भन्‍नुभयो: “पिता मभन्दा महान्‌ हुनुहुन्छ।” (यूहन्‍ना १४:२८) कुनै-कुनै कुरा न त आफूलाई न स्वर्गदूतहरूलाई थाह थियो तर पितालाई मात्र भनेर पनि येशूले बताउनुभयो।—मर्कूस १३:३२.

त्यति मात्र होइन, येशूले यसो भनेर आफ्नो पितालाई प्रार्थना गर्नुभयो: “मेरो इच्छा होइन, तर तपाईंकै इच्छाबमोजिम होस्‌।” (लूका २२:४२) आफूभन्दा उच्च व्यक्‍तिलाई होइन भने अरू कसलाई येशूले प्रार्थना गरिरहनुभएको थियो? यसबाहेक, येशूलाई परमेश्‍वरले ब्यूँताउनुभएको थियो, येशू आफै ब्यूँतनुभएको थिएन। (प्रेरित २:३२) कुरा स्पष्ट छ, येशू पृथ्वीमा आउनुभन्दा अघि अथवा उहाँको पार्थिव सेवकाईको दौडान पिता र पुत्र बराबर हुनुहुन्‍नथ्यो। पुनरुत्थान भएर येशू स्वर्ग जानुभएपछि नि? पहिलो कोरिन्थी ११:३ यसो भन्छ: “ख्रीष्टका शिर परमेश्‍वर हुनुहुन्छ।” साँच्चै भन्‍ने हो भने, पुत्र सधैं परमेश्‍वरको अधीनमा बस्नुहुनेछ। (१ कोरिन्थी १५:२८) त्यसैकारण त धर्मशास्त्रमा येशू सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्‍न भनी बताइएको छ। बरु, उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्छ।

त्रिएकको तथाकथित तेस्रो व्यक्‍ति, पवित्र आत्मा व्यक्‍ति होइन। प्रार्थनामा परमेश्‍वरलाई सम्बोधन गर्दै भजनहारले यसो भने: “तपाईंले आफ्नो आत्मा पठाउनुभएमा ती सृष्टि हुन्छन्‌।” (भजन १०४:३०) यो आत्मा परमेश्‍वर होइन; यो त परमेश्‍वरले चिताएको कुरा पूरा गर्न उहाँले पठाउनुहुने अथवा चलाउनुहुने सक्रिय शक्‍ति हो। यसै शक्‍तिद्वारा परमेश्‍वरले आकाश, पृथ्वी र सबै जीवित प्राणीहरू सृष्टि गर्नुभयो। (उत्पत्ति १:२; भजन ३३:६) परमेश्‍वरले पवित्र आत्माद्वारा बाइबल लेखकहरूलाई प्रेरणा दिनुभयो। (२ पत्रुस १:२०, २१) त्यसैले यो त्रिएक भन्‍ने कुरा बाइबलको शिक्षा होइन। c बाइबल भन्छ, “परमप्रभु [“यहोवा,” NW] हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ!”—व्यवस्था ६:४.

[फुटनोट]

c थप जानकारीको लागि, यहोवाका साक्षीहरूद्वारा प्रकाशित शुड यु बिलिभ इन द ट्रिनिटी? पुस्तिका हेर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको चित्र]

बप्तिस्मा लिनुभएपछि येशू परमेश्‍वरको अभिषिक्‍त जन हुनुभयो

[पृष्ठ ५-मा भएको चित्र]

परमेश्‍वरले आफूलाई सुम्पनुभएको काम येशूले मरिमेटी गर्नुभयो

[पृष्ठ ५-मा भएको चित्र]

अहिले, येशू शक्‍तिशाली राजा हुनुहुन्छ