सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वासद्वारा हिंड्‌नुहोस्‌, देखिने कुराको आधारमा होइन

विश्‍वासद्वारा हिंड्‌नुहोस्‌, देखिने कुराको आधारमा होइन

विश्‍वासद्वारा हिंड्‌नुहोस्‌, देखिने कुराको आधारमा होइन

“हामी विश्‍वासद्वारा हिंड्‌छौं, देखिने कुराको आधारमा होइन।”—२ कोरिन्थी ५:७, Nrv.

१. प्रेरित पावल देखिने कुराको आधारमा होइन, विश्‍वासद्वारा हिंडे भनेर कुन कुराले देखाउँछ?

 यो इस्वी संवत्‌ ५५ को कुरा हो। मसीहीहरूलाई सातखेदो गर्ने शाऊल नाउँ गरेका व्यक्‍तिले मसीहीधर्म अँगालेको २० वर्ष भइसकेको थियो। यतिका वर्ष बिते पनि तिनले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासलाई कमजोर हुन दिएनन्‌। स्वर्गका कुरा नदेखे पनि तिनी विश्‍वासमा दृढ रहे। स्वर्गीय आशा भएका अभिषिक्‍त मसीहीहरूलाई लेखेको पत्रमा प्रेरित पावलले यसो भने: “हामी विश्‍वासद्वारा हिंड्‌छौं, देखिने कुराको आधारमा होइन।”—२ कोरिन्थी ५:७, NRV.

२, ३. (क) विश्‍वासद्वारा हिंडिरहेका छौं भनेर हामी कसरी देखाउन सक्छौं? (ख) देखिने कुराको आधारमा हिंड्‌नुको अर्थ के हो?

विश्‍वासद्वारा हिंड्‌ने हो भने हाम्रो जीवनलाई परमेश्‍वरले मात्र डोऱ्‍याउन सक्नुहुन्छ भनेर ढुक्क हुनु आवश्‍यक छ। के गर्दा हाम्रो सर्वोत्तम हित हुन्छ भन्‍ने कुरा उहाँलाई राम्रोसँग थाह छ भनेर हामी विश्‍वस्त हुनै पर्छ। (भजन ११९:६६) जीवनमा निर्णयहरू गर्दा र ती निर्णयहरू अनुरूप चल्दा “नदेखेका कुरा[लाई]” हामी ध्यान दिन्छौं। (हिब्रू ११:१) यी नदेखेका कुरामा प्रतिज्ञा गरिएको “नयाँ स्वर्ग र नयाँ पृथ्वी” पनि पर्छन्‌। (२ पत्रुस ३:१३) अर्कोतर्फ, देखिने कुराको आधारमा हिंड्‌नुको अर्थ शरीरका अभिलाषाहरू पूरा गर्नकै लागि मात्र बाँच्नु हो। यस्तो जीवन शैली खतरनाक हुन्छ किनभने यसले गर्दा हामी परमेश्‍वरको इच्छालाई पटक्कै वास्ता नगर्ने मानिस हुन सक्छौं।—भजन ८१:१२; उपदेशक ११:९.

चाहे हामी स्वर्गीय बोलावट भएका “सानो बगाल” हौं वा पार्थिव आशा भएका “अरू भेडा,” हामी सबैले देखिने कुराको आधारमा होइन तर विश्‍वासद्वारा हिंड्‌नू भन्‍ने सल्लाह मनमा राख्नुपर्छ। (लूका १२:३२; यूहन्‍ना १०:१६) परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको यस सल्लाहले हामीलाई केही समयसम्म पापको सुख भोग गर्ने खतरा, भौतिकवादको पासो अनि यस रीतिरिवाजको अन्त नजिकै छ भनी बिर्सने खतरामा पर्नदेखि कसरी जोगाउँछ, आउनुहोस्‌ हामी विचार गरौं। साथै, देखिने कुराको आधारमा हिंड्‌दा आइपर्न सक्ने खतराहरू पनि केलाएर हेर्नेछौं।—हिब्रू ११:२५.

“केही समयसम्म पापको सुख भोग्न” इन्कार गर्नुहोस्‌

४. मोशाले के हुन रोजे र किन?

अम्रामको छोरा मोशाले कस्तो जीवनको आनन्द उठाउन सक्थे, कल्पना गर्नुहोस्‌। पुरातन मिश्रको राजपरिवारमा हुर्केका मोशाले शक्‍ति, धन र प्रतिष्ठा कमाउन सक्थे। मोशाले यस्तो सोच्न सक्थ्यो: ‘मैले मिश्रजस्तो ठाउँमा उच्च शिक्षा हासिल गरेको छु। मैले भनेको कुरा सबैले मानिहाल्छ र मैले गर्न नसक्ने के छ र? राजपरिवारमै बसिरहें भने आफ्नो ओहदाको फाइदा उठाएर थिचोमिचोमा परेका हिब्रू भाइ-बन्धुहरूलाई म मुक्‍त गर्न सक्छु!’ (प्रेरित ७:२२) बरु, मोशाले “परमेश्‍वरका मानिसहरूका साथमा थिचोमिचोमा पर्न रोजे।” किन? मिश्रमै बसेको भए प्राप्त गर्न सकिने सम्पूर्ण कुरालाई लत्याउन मोशालाई कुन कुराले उत्प्रेरित गऱ्‍यो? बाइबलले यस प्रश्‍नको जवाफ यसरी दिन्छ: “विश्‍वासैबाट राजाको क्रोधसँग नडराएर [मोशाले] मिश्र देश छोडे। किनकि अदृश्‍यलाई देखेझैं गरी तिनी स्थिर रहे।” (हिब्रू ११:२४-२७) यहोवाको इच्छाअनुसार चल्दा उहाँले अवश्‍य इनाम दिनुहुन्छ भन्‍ने कुरामा मोशा पूर्ण विश्‍वस्त थिए। यही विश्‍वासले मोशालाई पापको प्रतिरोध गर्न र यसको क्षणिक सुख-विलासमा नडुब्न मदत गऱ्‍यो।

५. मोशाको उदाहरणले हामीलाई कसरी प्रोत्साहन दिन्छ?

हामीलाई पनि यस्ता विषयहरूमा निर्णय गर्न गाह्रो हुन सक्छ; जस्तै: ‘बाइबल सिद्धान्तहरूसित कता-कता मेल नखाने कुनै-कुनै बानी के मैले छोड्‌नै पर्छ र? पैसा र अरू सुविधाहरू धेरै पाइन्छ जस्तो देखिने तर मेरो आध्यात्मिक प्रगतिमा बाधा पुऱ्‍याउने जागिर खाऊँ कि नखाऊँ?’ यस संसारका मानिसहरूले जस्तो क्षणिक लाभ हुने निर्णयहरू गर्नुको सट्टा “अदृश्‍य” परमेश्‍वर यहोवाको बुद्धिअनुसार चल्दा प्राप्त हुने चिरकालीन लाभमा विश्‍वास गर्न मोशाको उदाहरणले हामीलाई प्रोत्साहन दिन्छ। यस संसारले दिन सक्ने कुनै पनि कुरालाई भन्दा मोशाले जस्तै यहोवासितको मित्रतालाई मूल्यवान्‌ ठान्‍न सकौं।

६, ७. (क) देखिने कुराको आधारमा हिंड्‌न चाहेको कुरा एसावले कसरी देखाए? (ख) एसावको उदाहरणबाट हामी कस्तो चेतावनी पाउँछौं?

मोशा र कुलपिता इसहाकका छोरा एसावबीचको भिन्‍नता विचार गर्नुहोस्‌। एसावले आफ्नो इच्छा तुरुन्त तृप्त पार्न खोजे। (उत्पत्ति २५:३०-३४) पवित्र कुरालाई तुच्छ ठानेको कारण एसावले “एकछाक भोजनको लागि” आफ्नो ज्येष्ठ-अधिकार बेचे। (हिब्रू १२:१६, NRV) आफ्नो ज्येष्ठ-अधिकार बेच्ने निर्णयले यहोवासितको आफ्नो सम्बन्धमा कस्तो असर गर्ला अथवा त्यस्तो कार्यले तिनको साखासन्तानमा कस्तो असर पर्ला भनेर तिनले विचारै गरेनन्‌। तिनले आध्यात्मिक दृष्टिकोणबाट हेरेनन्‌। परमेश्‍वरले गर्नुभएका मूल्यवान्‌ प्रतिज्ञाहरूलाई एसावले लत्याए किनभने तिनले ती प्रतिज्ञालाई महत्त्वपूर्ण ठानेनन्‌। तिनी विश्‍वासद्वारा होइन तर देखिने कुराको आधारमा हिंडे।

एसावको उदाहरण आज हाम्रो लागि एउटा चेतावनी हो। (१ कोरिन्थी १०:११) ठूलो निर्णय गर्दा होस्‌ वा सानो, चाहेको कुरा तुरुन्त प्राप्त गरिहाल्नुपर्छ भनी शैतानको अधीनमा भएको संसारले फैलाउने हल्ला सुनेर हामी बहकिनु हुँदैन। हामीले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: ‘के मैले गर्ने निर्णयहरूमा एसावको जस्तो झुकाव देखापर्न थालेको छ? आफूले चाहेको कुरा तुरुन्त प्राप्त गर्न खोज्दा कतै आध्यात्मिक कामकुरा दोस्रो स्थानमा पो पर्ने हो कि? के मैले गरेका छनौटहरूको कारण परमेश्‍वरसितको मेरो मित्रता र भविष्यमा पाइने इनाम खतरामा परिरहेको छ? अरूको लागि म कस्तो उदाहरण बसाल्दैछु?’ हामीले गर्ने छनौटहरूमा पवित्र कुराप्रतिको मूल्याङ्‌कन देखियो भने यहोवाले हामीलाई आशिष्‌ दिनुहुनेछ।—हितोपदेश १०:२२.

भौतिकवादको पासोबाट जोगिनुहोस्‌

८. लाओडेसियाका मसीहीहरूलाई कस्तो चेतावनी दिइयो र त्यसबारे हामीले किन गम्भीरतापूर्वक विचार गर्नुपर्छ?

प्रथम शताब्दीको अन्ततिर प्रेरित यूहन्‍नालाई दिइएको दर्शनमा महिमित येशू ख्रीष्टले एसिया माइनरको लाओडेसियास्थित मण्डलीलाई एउटा सन्देश दिनुभयो। त्यो सन्देश भौतिकवाद विरुद्ध दिइएको चेतावनी थियो। लाओडेसियाका मसीहीहरू भौतिक तवरमा धनी भए तापनि आध्यात्मिक तवरमा भने साह्रै गरिब थिए। निरन्तर विश्‍वासद्वारा हिंड्‌नुको सट्टा भौतिक धनसम्पत्तिको कारण तिनीहरूले आफ्नो आध्यात्मिक दृष्टि नै गुमाए। (प्रकाश ३:१४-१८) भौतिकवादले आज पनि त्यस्तै असर पार्छ। यसले हाम्रो विश्‍वासलाई कमजोर बनाउँछ र जीवनको ‘दौड धीरजसँग दौडिनदेखि’ हामीलाई रोक्छ। (हिब्रू १२:१) होसियार भएनौं भने “जीवनका . . . सुख चैन[ले]” गर्दा हामी आध्यात्मिक कामकुराको लागि समय नै नपाउन सक्छौं र पछि गएर ती कामकुरा पूरै ‘निसासिन’ सक्छन्‌।—लूका ८:१४.

९. आध्यात्मिक भोजनमा सन्तुष्ट हुँदा र त्यसप्रति कृतज्ञ हुँदा कसरी हाम्रो सुरक्षा हुन्छ?

आध्यात्मिक तवरमा सुरक्षित रहने एउटा प्रमुख तरिका यस संसारमा चुर्लुम्मै डुबेर आफ्नो लागि धनसम्पत्ति थुपार्नुको सट्टा सन्तुष्ट हुन सिकेर हो। (१ कोरिन्थी ७:३१; १ तिमोथी ६:६-८) देखिने कुराको आधारमा होइन तर विश्‍वासद्वारा हिंड्यौं भने अहिलेको आध्यात्मिक प्रमोदवनमा हामी रमाउन सक्छौं। पोसिलो आध्यात्मिक भोजन खाँदा के हामी “हृदयमा आनन्द भएकाले गाउन” जुरमुरिंदैनौं र? (यशैया ६५:१३, १४) साथै, परमेश्‍वरको आत्माका फलहरू प्रकट गर्ने व्यक्‍तिहरूसित सरसंगत गर्न पाउँदा हाम्रो मन खुसीले गदगद्‌ हुन्छ। (गलाती ५:२२, २३) त्यसैले आध्यात्मिक तवरमा यहोवाले जे-जे पस्केर दिनुहुन्छ त्यसमा सन्तुष्ट हुनु र त्यसबाट स्फूर्ति प्राप्त गर्नु अत्यन्तै महत्त्वपूर्ण छ।

१०. हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

१० हामीले आफैलाई यस्ता केही प्रश्‍नहरू सोध्नुपर्छ: ‘भौतिक कुराहरूलाई मैले कत्तिको महत्त्वपूर्ण ठानेको छु? आफूसित भएको भौतिक धनसम्पत्ति म के गर्न चलाउँछु? मोजमस्ती गर्न वा साँचो उपासना फैलाउन? के गर्दा म सबैभन्दा सन्तुष्ट हुन्छु? बाइबल अध्ययन गर्दा? मसीही सभाहरूमा भाइबहिनीसित भेटघाट गर्दा वा मसीही जिम्मेवारीहरू केही पनि गर्नु नपर्ने छुट्टीको समयमा रमाइलो गर्दा? के म धेरैजसो छुट्टीको समय क्षेत्र सेवकाई अनि साँचो उपासनासित सम्बन्धित कामकुराको लागि नभई रमाइलो गर्नमै बिताउँछु?’ विश्‍वासद्वारा हिंड्‌नु भनेको यहोवाले गर्नुभएका प्रतिज्ञाहरूमा पूर्ण भरोसा राख्दै उहाँको राज्यसम्बन्धी कामकुरामा व्यस्त रहनु हो।—१ कोरिन्थी १५:५८.

अन्त नजिकै छ भनी नबिर्सनुहोस्‌

११. विश्‍वासद्वारा हिंड्‌दा अन्त नजिकै छ भनी नबिर्सन हामी कसरी मदत पाउँछौं?

११ विश्‍वासद्वारा हिंड्‌दा अन्त आउन धेरै बाँकी छ वा अन्त आउँदै-आउँदैन भन्‍ने मानव दृष्टिकोण राख्नदेखि हामी जोगिन्छौं। बाइबलको भविष्यवाणीलाई ठट्टामा उडाउने मानिसहरूजस्तो नभई विश्‍वमा घटिरहेका घटनाहरू परमेश्‍वरको वचनले हाम्रो समयबारे गरेको अगमवाणीसित ठ्याक्क मेल खान्छन्‌ भनेर हामीले बुझेका छौं। (२ पत्रुस ३:३, ४) उदाहरणका लागि, के सर्वसाधारण मानिसहरूको मनोवृत्ति तथा बानीबेहोराले हामी “आखिरी दिनमा” बाँचिरहेका छौं भन्‍ने प्रमाण दिंदैन र? (२ तिमोथी ३:१-५) हाल विश्‍वमा घटिरहेका घटनाहरू पहिल्यै भइसकेका कुरा फेरि दोहोरिएका मात्र होइनन्‌ भन्‍ने कुरा हामी विश्‍वासको आँखाद्वारा देख्न सक्छौं। बरु, यी त “[ख्रीष्टको] आगमन [“उपस्थिति,” NW] र जगत्‌को अन्तको चिह्न” हुन्‌।—मत्ती २४:१-१४.

१२. लूका २१:२०, २१ मा लेखिएको येशूका शब्दहरू प्रथम शताब्दीमा कसरी पूरा भए?

१२ इस्वी संवत्‌ प्रथम शताब्दीमा घटेको एउटा घटना हाम्रो दिनसित कसरी मिल्दोजुल्दो छ, विचार गर्नुहोस्‌। यस पृथ्वीमा हुनुहुँदा येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यस्तो चेतावनी दिनुभयो: “तर जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान। तब यहूदियामा हुनेहरू डाँडाहरूतिर भागून्‌। औ शहरभित्र हुनेहरू निस्किजाऊन्‌।” (लूका २१:२०, २१) यस भविष्यवाणीअनुसारै सेस्टियस ग्यालसको नेतृत्वमा आएको रोमी फौजले इस्वी संवत्‌ ६६ मा यरूशलेमलाई घेरा हाल्यो। तर अचानक त्यो फौज फर्केर जाँदा त्यहाँका मसीहीहरूले ‘डाँडाहरूतिर भाग्ने’ समय यही हो भनी बुझे र तिनीहरू भागिहाले। इस्वी संवत्‌ ७० मा रोमी फौज फेरि फर्केर आयो अनि यरूशलेममाथि चढाइ गरेर त्यहाँ भएको मन्दिरलाई ध्वस्त पाऱ्‍यो। इतिहासकार जोसेफसको रिपोर्टअनुसार त्यतिखेर दस लाखभन्दा बढी यहूदीहरू मारिए र ९७,००० लाई बन्दी बनाएर लगियो। परमेश्‍वरले त्यस यहूदी रीतिरिवाजको न्याय गर्नुभयो। विश्‍वासद्वारा हिंड्‌ने र येशूले दिनुभएको चेतावनीअनुसार चल्ने व्यक्‍तिहरू त्यस विनाशबाट बचे।

१३, १४. (क) कस्तो घटना घट्‌नै लागेको छ? (ख) बाइबल भविष्यवाणीको पूर्तिप्रति हामी किन सजग रहनुपर्छ?

१३ यस्तै घटना हाम्रो समयमा पनि घट्‌नै लागेको छ। परमेश्‍वरले गर्नुहुने न्यायमा संयुक्‍त राष्ट्रसंघभित्रकै तत्त्वहरूको हात हुनेछ। प्रथम शताब्दीको रोमी फौज गठन गर्नुको उद्देश्‍य पाक्स रोमाना अर्थात्‌ रोमी साम्राज्यमा शान्ति स्थापना गर्नु थियो। त्यस्तै गरी, अहिलेको संयुक्‍त राष्ट्रसंघ पनि शान्ति स्थापना गर्ने उद्देश्‍यले नै गठन गरिएको हो। रोमी फौजले त्यतिबेलाको संसारभरि केही हदसम्म शान्ति स्थापना गर्ने प्रयास गरे तापनि यरूशलेम विनाश गर्नेहरू तिनीहरू नै थिए। त्यस्तै गरी आज, बाइबल भविष्यवाणीले सङ्‌केत गरेअनुसार सैन्य शक्‍तिद्वारा सुसज्जित संयुक्‍त राष्ट्रसंघले धर्मलाई शान्ति भङ्‌ग गर्ने तत्त्वको रूपमा हेर्नेछ र वर्तमान समयको यरूशलेम अर्थात्‌ मसीहीजगत्‌ अनि महान्‌ बेबिलोनका बाँकी भागलाई खत्तम पार्न कदम चाल्नेछ। (प्रकाश १७:१२-१७) हो, झूटो धर्मको सम्पूर्ण विश्‍व साम्राज्य ध्वस्त हुनै लागेको छ।

१४ झूटो धर्मको विनाशले महासङ्‌कष्टको सुरुवातलाई सङ्‌केत गर्नेछ। महासङ्‌कष्टको अन्तिम चरणमा यस दुष्ट रीतिरिवाजका रहलपहल तत्त्वहरूलाई खत्तम पारिनेछ। (मत्ती २४:२९, ३०; प्रकाश १६:१४, १६) विश्‍वासद्वारा हिंड्यौं भने बाइबल भविष्यवाणीको पूर्तिप्रति हामी सजग रहन सक्नेछौं। संयुक्‍त राष्ट्रसंघजस्तो कुनै पनि मानव माध्यमद्वारा परमेश्‍वरले साँचो शान्ति तथा सुरक्षा ल्याउनुहोला भन्‍ने गलत सोचाइमा परेर हामी बहकिनु हुँदैन। त्यसोभए, के हाम्रो जीवन शैलीबाट “परमप्रभुको भयानक दिन नजिकै छ” भन्‍ने दृढ विश्‍वास प्रकट हुनु पर्दैन र?—सपन्याह १:१४.

देखिने कुराको आधारमा हिंड्‌नु कत्तिको खतरनाक छ?

१५. परमेश्‍वरको आशिष्‌ पाउँदा-पाउँदै पनि इस्राएल राष्ट्र कस्तो पासोमा पऱ्‍यो?

१५ देखिने कुराको आधारमा हिंड्यौं भने हाम्रो विश्‍वास कमजोर हुने खतरा हुन्छ भनी पुरातन इस्राएलका मानिसहरूको अनुभवले देखाउँछ। मिश्रका झूटा देवताहरूको धज्जी उडाउने दस विपत्ति तिनीहरूले आफ्नै आँखाले देखेका थिए र लाल समुद्रको बीचबाट अचम्म रीतिले छुटकारा पाएका थिए। तैपनि, अनाज्ञाकारी हुँदै इस्राएलीहरूले सुनको बाछो बनाए र त्यसको उपासना गर्न थाले। मोशाले “पर्वतबाट ओर्लन बियाँलो गरेको” देखेर तिनीहरू अधीर भए र मोशाको बाटो हेर्दा-हेर्दा थाके। (प्रस्थान ३२:१-४) पर्खन नसकेपछि तिनीहरू देखिने मूर्तिको उपासना गर्नतिर लागे। तिनीहरू देखिने कुराको आधारमा हिंड्‌दा यहोवाको अपमान भयो, जसको कारण “तीन हजार जति पुरुष मारिए।” (प्रस्थान ३२:२५-२९) अहिले हाम्रो समयमा पनि यहोवाको उपासकले यहोवामाथि भरोसा गर्न नसकेको र उहाँ आफ्ना प्रतिज्ञाहरू पूरा गर्न सक्नुहुन्छ भनेर ढुक्क हुन नसकेको छनक दिने खालका निर्णयहरू गर्नु कत्ति दुःखलाग्दो कुरा हो!

१६. देखिने कुराले इस्राएलीहरूलाई कसरी असर गऱ्‍यो?

१६ देखिने कुराले इस्राएलीहरूलाई अरू तरिकामा पनि नराम्रो असर पाऱ्‍यो। देखिने कुराको आधारमा हिंडेको कारण तिनीहरू शत्रुहरूको डरले थर-थर कामे। (गन्ती १३:२८, ३२; व्यवस्था १:२८) देखिने कुराको आधारमा हिंडेको कारण परमेश्‍वरले मोशालाई दिनुभएको अख्तियारको तिनीहरूले ठाडै विरोध गरे र आफूले जुन किसिमको जीवन बिताउनु परिरहेको छ त्यसबारे गनगन गरे। विश्‍वासको कमी भएकोले प्रतिज्ञा गरिएको देशभन्दा दियाबलको अधीनमा भएको मिश्र देश नै तिनीहरूलाई प्यारो लाग्न थाल्यो। (गन्ती १४:१-४; भजन १०६:२४) आफ्नै जनहरूले अदृश्‍य राजा यहोवाको त्यस्तो घोर अनादर गरेको देख्दा उहाँको कत्ति चित्त दुख्यो होला!

१७. शमूएलको समयमा इस्राएलीहरूले यहोवाको डोऱ्‍याइअनुसार चल्न इन्कार गर्नुको कारण के थियो?

१७ अगमवक्‍ता शमूएलको समयमा पनि परमेश्‍वरले छान्‍नुभएको इस्राएल राष्ट्र देखिने कुराको आधारमा हिंड्‌ने पासोमा पऱ्‍यो। मानिसहरूले देखिने राजा खोज्न थाले। म नै तिमीहरूको राजा हुँ भनेर यहोवाले धेरै प्रमाण दिनुभए तापनि विश्‍वासद्वारा हिंड्‌न तिनीहरूलाई त्यति प्रमाणले पुगेन। (१ शमूएल ८:४-९) दुःखको कुरा, वरपरका राष्ट्रहरूजस्तै हुन चाहेको कारण तिनीहरूले यहोवाको भरपर्दो डोऱ्‍याइअनुसार चल्न इन्कार गरेर ठूलो मूर्खता देखाए र आफैमाथि दुःख निम्त्याए।—१ शमूएल ८:१९, २०.

१८. देखिने कुराको आधारमा हिंड्‌नुका खतराहरूबारे हामी कस्ता पाठहरू सिक्न सक्छौं?

१८ यहोवाका सेवकहरूको रूपमा हामी परमेश्‍वरसितको आफ्नो राम्रो सम्बन्धलाई अत्यन्त मूल्यवान्‌ ठान्छौं। विगतमा जे-जस्ता घटनाहरू घटे त्यसबाट शिक्षा लिन र त्यसका अमूल्य पाठहरू आफ्नो जीवनमा लागू गर्न हामी इच्छुक छौं। (रोमी १५:४) यहोवाले इस्राएलीहरूलाई मोशामार्फत डोऱ्‍याइरहनुभएको छ भन्‍ने कुरा तिनीहरूले चटक्कै बिर्से किनभने तिनीहरू देखिने कुराको आधारमा हिंडिरहेका थिए। होसियार भएनौं भने, यहोवा परमेश्‍वर अनि महान्‌ मोशा येशू ख्रीष्टले आज मसीही मण्डलीलाई डोऱ्‍याइरहनुभएको छ भन्‍ने कुरा हामी पनि चटक्कै बिर्सन सक्छौं। (प्रकाश १:१२-१६) यहोवाको संगठनको पार्थिव भागप्रति मानव दृष्टिकोण नराख्न हामी होसियार हुनै पर्छ। नत्र, हाम्रो मनमा गनगन गर्ने मनोवृत्ति र यहोवाका प्रतिनिधिहरू लगायत “विश्‍वासी र बुद्धिमान दास[ले]” पस्केर दिने आध्यात्मिक भोजनलाई तुच्छ ठान्‍ने झुकाव उत्पन्‍न हुन सक्छ।—मत्ती २४:४५.

विश्‍वासद्वारा हिंड्‌न कटिबद्ध हुनुहोस्‌

१९, २०. तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ र किन?

१९ बाइबल यसो भन्छ: “हाम्रो यो लडन्त मानिसहरूका विरुद्धमा होइन, तर प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।” (एफिसी ६:१२) हाम्रो प्रमुख शत्रु शैतान अर्थात्‌ दियाबल हो। त्यसको मुख्य उद्देश्‍य भनेकै यहोवामाथिको हाम्रो विश्‍वासलाई खत्तम पार्नु हो। परमेश्‍वरको सेवा गर्ने हामीले जुन निर्णय गरेका छौं त्यस निर्णयबाट हामीलाई तर्काउन त्यसले भए-भरको जुक्‍ति लगाउनेछ। (१ पत्रुस ५:८) शैतानको रीतिरिवाजको तडकभडकदेखि नबहकिन कुन कुराले हामीलाई जोगाउन सक्छ? देखिने कुराको आधारमा होइन तर विश्‍वासले हिंड्यौं भने जोगिन सक्छौं! यहोवाले गर्नुभएका प्रतिज्ञाहरूमाथि भरोसा राख्नुका साथै त्यसबारे विश्‍वस्त भयौं भने ‘हाम्रो विश्‍वासको जहाज’ डुब्नेछैन। (१ तिमोथी १:१९) त्यसैले आउनुहोस्‌, यहोवाले आशिष्‌ दिनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुँदै विश्‍वासद्वारा हिंडिरहन हामी कटिबद्ध होऔं। अनि निकट भविष्यमा आउन लागेका सम्पूर्ण कुराबाट उम्कनको लागि निरन्तर प्रार्थना गरिरहौं।—लूका २१:३६.

२० देखिने कुराको आधारमा होइन तर विश्‍वासद्वारा हिंड्‌न हामीसित एउटा उत्कृष्ट उदाहरण छ। बाइबल यसो भन्छ: “तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड्‌नलाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) हामी कसरी येशू ख्रीष्टको चालअनुसार चल्न सक्छौं भन्‍ने कुरा अर्को लेखमा छलफल गरिनेछ।

के तपाईंलाई याद छ?

• देखिने कुराको आधारमा होइन तर विश्‍वासद्वारा हिंड्‌ने सन्दर्भमा मोशा अनि एसावको उदाहरणबाट तपाईंले के सिक्नुभयो?

• भौतिकवादबाट जोगिने प्रमुख तरिका के हो?

• विश्‍वासद्वारा हिंड्‌दा अन्त आउन धेरै बाँकी छ भन्‍ने सोचाइ नराख्न हामी कसरी मदत पाउन सक्छौं?

• देखिने कुराको आधारमा हिंड्‌नु किन खतरनाक छ?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको चित्र]

मोशा विश्‍वासद्वारा हिंडे

[पृष्ठ १८-मा भएको चित्र]

रमाइलो गर्न बढी समय बिताउँदा के तपाईंले अक्सर ईश्‍वरतान्त्रिक गतिविधिको लागि समय नै नभएको महसुस गर्नुभएको छ?

[पृष्ठ २०-मा भएको चित्र]

परमेश्‍वरको वचनमा ध्यान दिंदा कसरी तपाईंको सुरक्षा हुन्छ?