सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमाबाबु हो—तपाईं आफ्ना छोराछोरीको कस्तो भविष्य चाहनुहुन्छ?

आमाबाबु हो—तपाईं आफ्ना छोराछोरीको कस्तो भविष्य चाहनुहुन्छ?

आमाबाबु हो—तपाईं आफ्न छोराछोरीको कस्तो भविष्य चाहनुहुन्छ?

“जवान ठिटा र कुमारीहरू, . . . तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्‌।”—भजन १४८:१२, १३.

१. आमाबाबुलाई छोराछोरीको कस्ता चिन्ताहरू हुन्छन्‌?

 आफ्ना छोराछोरीको भविष्यबारे सबै आमाबाबु चिन्तित हुन्छन्‌। बच्चा जन्मेदेखि नै, अझ भन्‍ने हो भने, बच्चा पेटमा भएदेखि नै आमाबाबुलाई बच्चाको चिन्ता लाग्न थाल्छ। बच्चा स्वस्थ्य हुन्छ कि हुँदैन? बच्चाको विकास राम्ररी भइरहेको छ कि छैन? अनि बच्चा ठूलो हुँदै गएपछि चिन्ताहरू पनि थपिंदै जान्छ। जे होस्‌, आमाबाबुले आफ्नो सन्तानको राम्रो मात्र चाहन्छ।—१ शमूएल १:११, २७, २८; भजन १२७:३-५.

२. किन आज धेरै आमाबाबुहरू आफ्ना छोराछोरीले पछि गएर सुखी जीवन बिताओस्‌ भन्‍ने चाह गर्छन्‌?

तर आजको संसारमा आफ्नो सन्तानलाई राम्रो कुराहरू मात्र जुटाइदिन आमाबाबुलाई सधैं सजिलो हुँदैन। थुप्रै आमाबाबुले जीवनमा युद्ध, राजनैतिक उथलपुथल, आर्थिक कठिनाइ, शारीरिक वा भावनात्मक चोटजस्ता तीता अनुभवहरू भोगेका छन्‌। त्यसकारण तिनीहरूले आफ्ना छोराछोरीले यी सबै भोग्न नपरोस्‌ भन्‍ने इच्छा राख्नु स्वाभाविकै हो। कोही-कोही आमाबाबुले आफ्ना साथी र नातेदारहरूका छोराछोरीले एकदमै राम्रो जागिर खाएर सफल जीवन बिताइरहेको देख्लान्‌। अनि छोराछोरीको सुखी र सन्तुष्ट जीवनको लागि आफूले सक्दो गर्नुपर्ने महसुस गर्छन्‌।—उपदेशक ३:१३.

सुखी जीवन रोज्ने

३. मसीहीहरूले आफ्नो जीवन के गरेका छन्‌?

येशूका अनुयायीको रूपमा मसीहीहरूले यहोवालाई आफ्नो जीवन समर्पण गरेका छन्‌। तिनीहरूले येशूका यी शब्दहरूलाई गम्भीरतापूर्वक लिएका छन्‌: “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्‌, र . . . मेरो पछि लागोस्‌।” (लूका ९:२३; १४:२७) हो, मसीही भएपछि आत्मत्याग गर्नुपर्ने हुन्छ। तर त्यसो भन्दैमा मसीही भएपछि अभाव र दुःखको जीवन बिताउनुपर्छ भन्‍ने होइन। वास्तवमा यो सुखी र सन्तुष्ट जीवन हो किनभने यसमा दिनु समावेश छ र येशूले भन्‍नुभएझैं “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.

४. येशूले आफ्ना चेलाहरूलाई कुन कुरालाई प्राथमिकता दिन आग्रह गर्नुभयो?

येशूको समयका मानिसहरूको परिस्थिति गाह्रो थियो। एकातिर हातमुख जोर्न सङ्‌घर्ष गर्नुपर्थ्यो भने, अर्कोतिर रोमीहरूको कठोर शासन र धर्मगुरुहरूको बोझिलो धार्मिक रीतिथिति खप्नुपर्थ्यो। (मत्ती २३:२-४) तैपनि, येशूको कुरा सुन्‍ने थुप्रैले खुसीसाथ आफ्नो कामकुरा र जागिर समेत छोडेर उहाँको पछि लागे। (मत्ती ४:१८-२२; ९:९; कलस्सी ४:१४) के ती चेलाहरूले आफ्नो भविष्यलाई नै खतरामा पारिरहेका थिए? येशूका शब्दहरूमा ध्यान दिनुहोस्‌: “जसजसले मेरो नाउँको निम्ति घर, दाजुभाइ, कि दिदीबहिनी, अथवा बाबु, कि आमा, कि छोराछोरीहरू, कि जग्गा-जमीनहरू छोड्‌छ, त्यसले सय गुणा पाउनेछ, र अनन्त जीवनको अधिकार गर्नेछ।” (मत्ती १९:२९) परमेश्‍वरलाई आफ्ना सेवकहरूको आवश्‍यकता थाह छ भनेर येशूले आफ्ना अनुयायीहरूलाई आश्‍वासन दिनुभयो। त्यसैकारण त उहाँले तिनीहरूलाई यस्तो आग्रह गर्नुभयो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।”—मत्ती ६:३१-३३.

५. परमेश्‍वरले आफ्ना सेवकहरूको हेरचाह गर्नुहुन्छ भन्‍ने येशूको आश्‍वासनलाई कोही-कोही आमाबाबुले कसरी हेर्छन्‌?

आजको परिस्थिति येशूको समयभन्दा खासै फरक छैन। यहोवालाई हाम्रो आवश्‍यकता थाह छ। आफ्नो जीवनमा राज्य गतिविधिलाई प्राथमिकता दिएका र विशेष गरी पूर्ण-समय सेवामा लागेकाहरूले उहाँको हेरचाह पाउने आश्‍वासन पाएका छन्‌। (मलाकी ३:६, १६; १ पत्रुस ५:७) तर यसबारे कोही-कोही आमाबाबु दोमनमा परेका छन्‌। एकातिर तिनीहरू आफ्ना छोराछोरीले परमेश्‍वरको सेवामा प्रगति गर्दै पूर्ण-समय सेवा गरोस्‌ भन्‍ने चाहन्छन्‌ भने, अर्कोतर्फ अहिलेको आर्थिक स्थिति र जागिर पाउनै गाह्रो अवस्थालाई विचार गर्दा आफ्नो छोराछोरीले पहिला राम्रो शिक्षा लिनुपर्छ जस्तो तिनीहरूलाई लाग्न सक्छ। तिनीहरूलाई लाग्छ, यस्तो शिक्षाले छोराछोरीलाई राम्रो जागिर पाउन आवश्‍यक योग्यता हासिल गर्न मदत गर्छ वा भइपरी आउँदा त्यस्तो शिक्षा एउटा आड बन्‍न सक्छ। यस्तो विचारधारा राख्ने आमाबाबुको लागि राम्रो शिक्षा भनेकै उच्च शिक्षा हो।

भविष्यको लागि तयारी

६. यस लेखमा “उच्च शिक्षा”-ले के बुझाउँछ?

देशअनुसार शिक्षा प्रणाली फरक-फरक हुन्छ। उदाहरणका लागि, नेपालका स्कूलहरूमा साधारणतया दस वा बाह्र वर्षसम्मको शिक्षा दिइन्छ। त्यसपछि विद्यार्थीहरूले तीन वा चार वर्षे स्नातक गर्न सक्छन्‌ वा चिकित्सा, कानुन, इन्जिनियरिङ जस्ता विषयमा पोस्टग्य्राजुयट गर्न सक्छन्‌। यस लेखमा विश्‍वविद्यालयको त्यस्तो शिक्षालाई नै “उच्च शिक्षा” भनिएको छ। अर्कोतर्फ, कुनै व्यवसाय वा सीप सिकाउने प्राविधिक र व्यावसायिक स्कूलहरू पनि छन्‌। त्यस्ता स्कूलहरूको कोर्स छोटो समयको हुन्छ र प्रमाण-पत्र पनि दिइन्छ।

७. हाई-स्कूलमा विद्यार्थीलाई कस्तो दबाब दिने गरिन्छ?

तर आजका प्रायजसो माध्यमिक तथा उच्च माध्यमिक स्कूलहरूले आफ्ना विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न नै जोड दिन्छन्‌। यसैकारण अधिकांश स्कूलले विद्यार्थीहरूलाई जागिर पाउन सजिलो कुनै सीप सिकाउनुभन्दा विश्‍वविद्यालयको प्रवेश परीक्षामा धेरै अंक ल्याउन सकिने विषयहरूमा मात्र जोड दिन्छन्‌। हिजोआज, राम्रा अनि नाउँ चलेका विश्‍वविद्यालयहरूमा भर्ना पाउन शिक्षक तथा सहपाठीहरूले हाई-स्कूलका विद्यार्थीहरूलाई एकदमै दबाब दिने गर्छन्‌। तिनीहरूलाई लाग्छ, ती विश्‍वविद्यालयहरूबाट डिग्री हासिल गर्न सक्यो भने भविष्यमा राम्रो पैसा कमाउने जागिर पाउन सकिन्छ।

८. आमाबाबुले कस्ता निर्णयहरू गर्नुपर्ने हुन्छ?

त्यसोभए मसीही आमाबाबुले के गर्ने त? पक्कै पनि तिनीहरू आफ्नो छोराछोरीले स्कूलमा राम्रो शिक्षा पाएको अनि भविष्यमा आफ्नै खुट्टामा उभिन कुनै सीप सिकेको चाहन्छन्‌। (हितोपदेश २२:२९) त्यसोभए, के आमाबाबुले आफ्ना छोराछोरीलाई सरसम्पत्ति कमाउन र भौतिक सफलता हासिल गर्न संसारको प्रतिस्पर्धात्मक वातावरणमै डुब्न दिने त? आमाबाबुले आफ्नो वचन र उदाहरणले बच्चाहरूलाई कस्तो लक्ष्य राख्न सिकाइरहेका छन्‌? आफ्ना छोराछोरी उच्च शिक्षाको लागि पछि युनिभर्सिटी वा कलेज जान सकून्‌ भनेर कोही-कोही आमाबाबुले मेहनत गरेर पैसा जम्मा गर्छन्‌। कतिपयले चाहिं आफ्ना छोराछोरीको उच्च शिक्षाको लागि ऋण लिन्छन्‌। तर यस्तो निर्णय गर्दा चुकाउनुपर्ने मूल्य पैसामै मात्र सीमित हुँदैन। अन्य के कस्ता मूल्य चुकाउनुपर्छ?—लूका १४:२८-३३.

उच्च शिक्षाको लागि चुकाउनुपर्ने मूल्य

९. आज उच्च शिक्षाको लागि लाग्ने खर्चको विषयमा के भन्‍न सकिन्छ?

मूल्य भन्‍ने बित्तिकै हाम्रो मनमा अक्सर पैसाकै कुरा आउँछ। कुनै-कुनै देशमा उच्च शिक्षाको लागि सरकारले नै खर्च बेहोरिदिन्छ र यसको लागि छानिएका विद्यार्थीहरूले निश्‍शुल्क पढ्‌न पाउँछन्‌। तर प्रायजसो ठाउँमा उच्च शिक्षा हासिल गर्न दिन प्रतिदिन महँगो भइरहेको छ। न्यु योर्क टाइम्स पत्रिकाको विचार स्तम्भमा यसो भनियो: “पहिले-पहिले उच्च शिक्षापछि अवसरहरूको ताँती नै लाग्छ भनिन्थ्यो। तर आज उच्च शिक्षाले केवल धनी र गरीबबीचको दूरी बढाउने काम गरिरहेको छ।” अर्को शब्दमा भन्‍नुपर्दा, आजभोलि गुणस्तरीय उच्च शिक्षा केवल धनी र प्रभावशाली व्यक्‍तिहरूको पहुँचभित्रको कुरा भएको छ। त्यस्ता व्यक्‍तिहरूले आफ्ना छोराछोरीले पनि आफूले जस्तै पछि गएर समाजमा सम्पन्‍न र प्रभावशाली स्थान जमाउन सकून्‌ भनेर छोराछोरीलाई उच्च शिक्षा हासिल गर्न पठाउँछन्‌। के मसीही आमाबाबुले पनि आफ्ना छोराछोरीको लागि यस्तै लक्ष्य राखिदिनु उचित हो?—फिलिप्पी ३:७, ८; याकूब ४:४.

१०. उच्च शिक्षा हासिल गर्नु र संसारकै काममा आफूलाई अर्पण गर्नुबीच कस्तो सम्बन्ध छ?

१० उच्च शिक्षा निश्‍शुल्क पाइने कुनै-कुनै देशमा विद्यार्थीहरूले पछि गएर केही शर्तहरू पूरा गर्नुपर्ने पनि हुन सक्छ। उदाहरणको लागि, द वल स्ट्रीट जर्नल पत्रिकाको रिपोर्टअनुसार एउटा दक्षिणपूर्वी एसियाली देशमा उच्च शिक्षाको लागि “उत्कृष्ट विद्यार्थीहरू मात्र छान्‍ने” सरकारी योजना रहेको छ। छानिएका यस्ता “उत्कृष्ट विद्यार्थीहरूले” अक्सर संसारमा नाउँ कहलिएका विशिष्ट विश्‍वविद्यालयहरूमा पढ्‌न पाउँछन्‌। जस्तै, बेलाइतको अक्सफोर्ड र क्याम्ब्रिज विश्‍वविद्यालय, अमेरिकाको हार्वर्ड र एल विश्‍वविद्यालय र त्यस्तै अन्य। यस दक्षिणपूर्वी एसियाली देशले यस्तो दीर्घकालीन योजना बनाउनुको कारण के हो? “राष्ट्रिय अर्थतन्त्रलाई उकास्न” भनी उक्‍त रिपोर्ट बताउँछ। उच्च शिक्षा निश्‍शुल्क त पाइएला तर त्यसको बदलामा विद्यार्थीले यस संसारकै लागि आफूलाई अर्पण गर्नुपर्ने हुन्छ। यस्तो जीवन शैलीको लागि संसारका मानिसहरू त मरिमेट्‌छन्‌ तर के मसीही आमाबाबुले आफ्ना छोराछोरीको लागि पनि यस्तै चाहना गर्नु कत्तिको ठीक होला?—यूहन्‍ना १५:१९; १ यूहन्‍ना २:१५-१७.

११. विश्‍वविद्यालयका विद्यार्थीहरूमाझ मद्य दुर्व्यसन र यौन अनैतिकताका कस्ता रिपोर्टहरू छन्‌?

११ विचार गर्नुपर्ने अर्को पक्ष, कलेज वा विश्‍वविद्यालयको वातावरण हो। विश्‍वविद्यालय तथा कलेजहरू खराब आचारणको लागि चिनिन्छन्‌। जस्तै, लागू पदार्थ र मद्यको दुर्व्यसन, अनैतिकता, चोरी, नयाँ विद्यार्थीहरूलाई उल्लीबिल्ली गर्ने आदि। रक्सीको दुरुपयोगलाई विचार गर्नुहोस्‌। मात्तिनको लागि मात्र आयोजना गरिने रक्सी पार्टीहरूबारे न्यु साइन्टिस्ट पत्रिका यसो भन्छ: “[अमेरिकामा विश्‍वविद्यालयका विद्यार्थीहरूमध्ये] झन्डै ४४ प्रतिशत दुई हप्तामा कम्तीमा पनि एक चोटि रक्सी पार्टीमा जान्छन्‌।” यस्तै समस्या अस्ट्रेलिया, बेलाइत, रुस र अन्य ठाउँहरूमा पनि व्याप्त छ। यौन अनैतिकताको कुरा गर्नुपर्दा आज विद्यार्थीहरू यसलाई “एक रातको खेल” भन्छन्‌। यसको अर्थबारे न्युजवीक खबरपत्रिका यसो भन्छ: “यसले राम्ररी चिन्दा पनि चिनेको व्यक्‍तिहरूबीच हुने यौन संसर्गलाई बुझाउँछ र यसमा चुम्बनदेखि यौनसम्बन्ध जे पनि हुन सक्छ। अनि त्यस्ता सम्बन्ध राख्ने व्यक्‍तिहरूको पछि सँगै जीवन बिताउने कुरा त परै जाओस्‌ भेटेर कुरा गर्ने समेत पनि विचार हुँदैन।” अध्ययनहरूले देखाएअनुसार ६० देखि ८० प्रतिशत विद्यार्थीहरूले यस्तो सम्बन्ध राखिसकेका छन्‌। “यस्तो काममा नलाग्ने कलेजका विद्यार्थीहरू त खोज्नै पर्ला” भनी एक अनुसन्धानकर्ता बताउँछन्‌।—१ कोरिन्थी ५:११; ६:९, १०.

१२. कलेजका विद्यार्थीहरूलाई कस्ता दबाबहरू आउँछन्‌?

१२ हानिकारक वातावरणको साथै विचार गर्नुपर्ने अर्को पक्ष हो कलेजको पढाइ र जाँचहरू। विद्यार्थीहरूले जाँचमा पास हुन पढ्‌नु अनि गृह-कार्यहरू त गर्नै पर्छ। कसै-कसैले पढाइ सँगसँगै पार्ट-टाइम जागिर पनि खानुपर्ने हुन्छ। यी सबैको लागि समय र प्रयास त चाहिन्छ। अनि आध्यात्मिक गतिविधिको लागि चाहिं कति समय बाँकी हुन्छ? चापाचाप पर्दा उनीहरूले कुन कुरालाई छोड्‌नेछन्‌? परमेश्‍वरको राज्यलाई अझै प्राथमिकता दिनेछन्‌ वा पछि धकेल्नेछन्‌? (मत्ती ६:३३) बाइबलले मसीहीहरूलाई यस्तो आग्रह गर्छ: “यसैले कसरी हिंड्‌छौ ध्यानसँग हेर—निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्‌जस्तो। समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।” (एफिसी ५:१५, १६, NRV) कलेजमा धर्मशास्त्र विपरीत आचारणमा फसेको कारण वा कलेजको पढाइमा धेरै समय दिनुपरेकोले कसै-कसैले सच्चाइलाई त्याग्नु कत्ति दुःखलाग्दो कुरा हो!

१३. मसीही आमाबाबुले कस्ता प्रश्‍नहरूमाथि विचार गर्नुपर्छ?

१३ हुन त हो, अनैतिकता, खराब आचारण र दबाबहरू कलेज वा विश्‍वविद्यालयमा मात्रै हुने कुराहरू होइनन्‌। तर संसारका थुप्रै युवाहरूले यसलाई कुनै नौलो कुरा नभई कलेज जीवनको एउटा भाग नै ठान्छन्‌। जानाजानी मसीही आमाबाबुले आफ्ना छोराछोरीलाई तीन वा त्योभन्दा धेरै वर्ष त्यस्तो वातावरणमा पठाउनु कत्तिको ठीक होला? (हितोपदेश २२:३; २ तिमोथी २:२२) कलेज पढ्‌दा आइपर्ने खतराहरूलाई विचार गर्दा के उच्च शिक्षालाई साँच्चै लाभदायी भन्‍न मिल्छ? अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, कलेजका विद्यार्थीहरूलाई जीवनमा कुन कुरालाई प्राथमिकता दिन सिकाइरहेको हुन्छ? a (फिलिप्पी १:१०; १ थिस्सलोनिकी ५:२१) आमाबाबुले यी कुराहरूका साथै आफ्ना छोराछोरीलाई अर्कै सहर वा देशमा उच्च शिक्षाको लागि पठाउनेबारे विचार गर्दा प्रार्थनापूर्वक गम्भीर भई सोच्नै पर्छ।

कस्ता विकल्पहरू छन्‌?

१४, १५. (क) थुप्रै मानिसहरूले एकै मुखले जेसुकै भने पनि बाइबलको कुन सल्लाह आज पनि लागू हुन्छ? (ख) जवानहरूले आफूलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छन्‌?

१४ आज सबैले एकै मुखले भन्छन्‌, जवानहरूको लागि विश्‍वविद्यालयको शिक्षा हासिल गर्नुबाहेक अरू विकल्प छैन। तर यस लहडको पछि लाग्नुको सट्टा मसीहीहरू बाइबलको यो सल्लाह पालन गर्छन्‌: “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्तनले तिमीहरू बदलियौ। औ परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) यस आखिरी दिनको पनि अन्ततिर परमेश्‍वर जवान, बूढो लगायत आफ्ना सबै जनहरूले के गरून्‌ भन्‍ने चाहनुहुन्छ? पावलले तिमोथीलाई यस्तो आग्रह गरे: “तिमी चाहिं सब कुराहरूमा सचेत होऊ, कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।” यी शब्दहरू आज पनि हामी सबैलाई पक्कै लागू हुन्छ।—२ तिमोथी ४:५.

१५ संसारको भौतिकवादी मनोभावमै चुर्लुम्म डुब्नुको सट्टा आध्यात्मिक कामकुरामा केन्द्रित हुँदै ‘सचेत हुनु’ जरुरी छ। तपाईं जवान हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्‌: ‘परमेश्‍वरको वचनको योग्य सेवक बन्‍न के मैले यथासक्दो आफ्नो “सेवाको काम पूरा” गरिरहेको छु? सेवकाईमा अझ ‘पूरासँग’ लाग्न मैले के-कस्ता योजनाहरू बनाएको छु? के मैले जीवनभर पूर्ण-समय सेवा गर्ने विचार गरेको छु?’ विशेष गरी आफू वरपरका जवानहरू उज्ज्वल भविष्यको लागि भन्दै ‘ठूला कुराहरू खोज्दै’ आफ्नै स्वार्थहरूको पछि लागिरहेको देख्दा यी प्रश्‍नहरूको जवाफ दिन गाह्रो पर्न सक्छ। (यर्मिया ४५:५) त्यसैकारण मसीही आमाबाबु हो, आफ्ना छोराछोरीलाई सानैदेखि उपयुक्‍त आध्यात्मिक वातावरण र प्रशिक्षण दिनुहोस्‌।—हितोपदेश २२:६; उपदेशक १२:१; २ तिमोथी ३:१४, १५.

१६. मसीही आमाबाबुले आफ्ना छोराछोरीको लागि घरमा उपयुक्‍त आध्यात्मिक वातावरण कसरी सृजना गर्न सक्छन्‌?

१६ वर्षौंदेखि पूर्ण-समय सेवा गर्दै आएकी एउटी आमाका तीन जना छोराहरूमध्ये जेठो छोरा आफ्नो बाल्यकालको सम्झना गर्दै यसो भन्छन्‌, “आमाले हामी कस्ता साथीहरूसित उठबस गर्दैछौं भनेर धेरै ध्यान दिनुहुन्थ्यो। हामी स्कूलका साथीहरूसँग भन्दा असल आध्यात्मिक बानी भएका मण्डलीका साथीहरूसँग संगत गर्थ्यौं। आमाले पूर्ण-समय सेवकहरू जस्तै, मिसनरी, परिभ्रमण निरीक्षक, बेथेल सेवामा लागेकाहरू र अग्रगामीहरूलाई घरमा बोलाइरहनुहुन्थ्यो। उहाँहरूको अनुभव सुन्दा र आनन्द देख्दा हामीमा पनि पूर्ण-समय सेवा गर्ने इच्छा पलायो।” अहिले तीनै जना छोराहरू पूर्ण-समय सेवामा लागेको देख्न पाउनु कस्तो आनन्दको कुरा! ती छोराहरूमध्ये एक जना बेथल सेवा गर्दैछन्‌ भने एक जना मिनिस्टेरियल ट्रेनिङ स्कूलमा गए अनि अर्का चाहिं अग्रगामी गर्दैछन्‌।

१७. स्कूलका विषयहरू छान्‍ने र व्यावसायिक तालिम लिनेबारे आमाबाबुले छोराछोरीलाई कस्तो मदत दिन सक्छन्‌? (पृष्ठ २९ को पेटी हेर्नुहोस्‌।)

१७ घरमा राम्रो आध्यात्मिक वातावरण सृजना गर्नुको अलावा आमाबाबुले आफ्ना छोराछोरीले स्कूलमा लिने विषय र व्यावसायिक तालिमबारे पनि समयमै उचित मदत दिनै पर्छ। अहिले बेथेल सेवा गरिरहेका एक जना जवान भाइ भन्छन्‌: “मेरा आमाबाबु दुवै जना विवाह अघि र पछि पनि अग्रगामी हुनुहुन्थ्यो र उहाँहरूले पूरै परिवारमा पनि अग्रगामी मनोभाव राखिदिन यथासक्दो गर्नुभयो। स्कूलमा विषयहरू छान्दा होस्‌ वा हाम्रो भविष्यलाई असर गर्ने कुराको निर्णय गर्दा होस्‌, उहाँहरूले सधैं पार्ट-टाइम जागिर खाएर अग्रगामी सेवा गर्न सक्ने खालका छनौटहरू गर्न प्रोत्साहन दिनुहुन्थ्यो।” विश्‍वविद्यालयको शिक्षा प्राप्त गर्न मदत गर्ने विषयहरू छान्‍नुको सट्टा आमाबाबु र छोराछोरीले पूर्ण-समय सेवा गर्न मदतकारी हुने कोर्सहरू छान्‍नुपर्छ। b

१८. जवानहरूले कस्ता कामहरू गर्न सक्छन्‌?

१८ थुप्रै देशमा विश्‍वविद्यालयबाट डिग्री प्राप्त गरेका व्यक्‍तिहरूको नभई सीपमूलक दक्ष जनशक्‍तिको खाँचो भएको रिपोर्टहरूले देखाउँछ। यु एस ए टुडे-मा प्रकाशित रिपोर्टअनुसार “आगामी दशकहरूमा ७० प्रतिशत कामदारहरूलाई चार वर्षे कलेजको डिग्री होइन तर कुनै प्राविधिक तथा व्यावसायिक तालिम केन्द्रहरूको प्रमाण-पत्र चाहिनेछ।” त्यस्ता तालिम केन्द्रहरूले कार्यालय व्यवस्थापन, गाडी मर्मत, कम्प्युटर मर्मत, प्लम्बिङ, कपाल काट्‌ने जस्ता विविध विषयमा तालिम प्रदान गर्छन्‌। के यी रहरलाग्दा कामहरू हुन्‌? निश्‍चय पनि! सायद कसै-कसैको विचारमा यी कामहरू त्यति आकर्षक नहोला तर यस्ता कामहरूले यहोवाको सेवालाई आफ्नो मुख्य काम बनाउन चाहनेहरूलाई आवश्‍यक आयस्रोत जुटाउन र समय निकाल्न मदत गर्छ।—२ थिस्सलोनिकी ३:८.

१९. कुन कामलाई हामीले जीवनमा प्राथमिकता दियौं भने पक्कै आनन्द र सन्तुष्टि पाउनेछौं?

१९ बाइबलमा यस्तो आग्रह गरिएको छ, “जवान ठिटा र कुमारीहरू, वृद्ध मानिस र केटी-केटीहरू। तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्‌, किनकि उहाँको नाउँ मात्रै उच्च मानिएको छ, उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ।” (भजन १४८:१२, १३) यहोवाको सेवामा पूर्ण-समय लाग्दा जीवनमा पक्कै आनन्द र सन्तुष्टि पाउनेछौं जुन संसारले प्रदान गर्ने ओहदा र इनामहरूमा पाइँदैन। बाइबलको यस आश्‍वासनलाई नबिर्सनुहोस्‌: “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्‍न।”—हितोपदेश १०:२२.

[फुटनोटहरू]

a विश्‍वविद्यालयको शिक्षाभन्दा परमेश्‍वरबाट प्राप्त हुने शिक्षालाई मोल गरेका व्यक्‍तिहरूको विवरण ब्यूँझनुहोस्‌! अक्टोबर ८, २००३ पृष्ठ १४-१७; द वाचटावर, मे १, १९८२ पृष्ठ ३-६; अप्रिल १५, १९७९, पृष्ठ ५-१०; अवेक! जून ८, १९७८, पृष्ठ १५ र अगस्त ८, १९७४, पृष्ठ ३-७ मा पढ्‌न सक्नुहुन्छ।

b ब्यूँझनुहोस्‌! नोभेम्बर ८, १९९८, “सुरक्षित जीवनको खोजी” पृष्ठ ४-६ र युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ पुस्तकको अध्याय २२ “कुन पेशा छाने बेस होला?” हेर्नुहोस्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• सुरक्षित भविष्यको लागि मसीहीहरूले कुन कुरामा भरोसा राख्छन्‌?

• आफ्ना छोराछोरीको भविष्यको विषयमा मसीही आमाबाबुले कस्ता चुनौतीहरू सामना गर्छन्‌?

• उच्च शिक्षा लिनुको फाइदा र बेफाइदालाई केलाउँदा के-कस्तो कुरामा विचार गर्नुपर्छ?

• यहोवाको सेवालाई नै आफ्नो पेशा बनाउन मसीही आमाबाबुले आफ्ना छोराछोरीलाई कसरी मदत गर्न सक्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको पेटी]

उच्च शिक्षाको के मूल्य छ?

विश्‍वविद्यालय जाने प्रायः सबैले डिग्री प्राप्त गरेपछि राम्रो पैसा आउने स्थायी काम पाउने आशा गर्छन्‌। तर कलेज जानेहरूमध्ये जम्मा २५ प्रतिशतले मात्र छ वर्षभित्रमा डिग्री प्राप्त गर्ने गरेको कुरा अमेरिकी सरकारको रिपोर्टले देखाउँछ। कस्तो दुःखलाग्दो रिपोर्ट! तर के डिग्री पाउने बित्तिकै राम्रो जागिर पाइन्छ भन्‍ने ग्यारेन्टी छ त? हालै गरिएको अनुसन्धान र अध्ययनहरूले के देखाउँछ, विचार गर्नुहोस्‌।

“हार्वर्ड वा ड्युक विश्‍वविद्यालयबाट डिग्री प्राप्त गर्दैमा स्वतः राम्रो पैसा आउने जागिर पाइँदैन। . . . जागिरको लागि दरखास्त दिने जवान व्यक्‍तिहरूबारे कम्पनीहरूलाई खासै केही थाह हुँदैन। राम्रा नाउँ चलेको विश्‍वविद्यालय वा कलेजबाट डिग्री प्राप्त गरेको छ भने सुरुमा राम्रो छाप पार्न त सजिलो होला। तर मुख्यतः पछि गएर त्यो व्यक्‍तिले काम कसरी गर्छ त्यसले महत्त्व राख्छ।”—न्युजवीक, नोभेम्बर १, १९९९.

“अफिसको कामको लागि आजभोलि पहिलाभन्दा धेरै दक्षता चाहिन्छ। . . . तर त्यो दक्षता कलेज स्तरको नभई . . . स्कूलमा नौ कक्षामा सिकेका कुराहरू जस्तै राम्ररी हिसाब गर्न, पढ्‌न, लेख्न जान्‍ने भए पुग्छ। . . . राम्रो जागिर पाउन कलेजको होइन तर हाइस्कूलको शिक्षामा दक्ष हुनुपर्छ।”—अमेरिकन एज्युकेटर, २००४.

“प्रायजसो कलेजहरूले पछि वास्तविक संसारमा काम गर्दा के-कस्तो हुन्छ भनी विद्यार्थीहरूलाई सिकाउँदैनन्‌। व्यावसायिक तालिम केन्द्रहरू अचानक दिन प्रतिदिन लोकप्रिय हुँदैछन्‌। सन्‌ १९९६ देखि २००० सम्ममा त्यस्ता केन्द्रहरूमा भर्ना हुनेहरूको संख्या ४८ प्रतिशतले वृद्धि भयो। . . . अर्कोतर्फ धेरै वर्ष लगाएर प्राप्त गरेको कलेज डिग्रीको महत्त्व अहिले जति पहिला कहिल्यै घटेको छैन।”—टाइम, जनवरी २४, २००५.

“अमेरिकाको श्रम विभागले चार-चार वर्ष कलेज गएर डिग्री प्राप्त गरेकाहरूमध्ये सन्‌ २००५ मा कम्तीमा एक तिहाइले आफूले पढेको विषयअनुसार काम पाउन नसक्ने भयावह चित्र कोर्छ।”—द फ्युचरिस्ट, जुलाई/अगस्त २०००.

यी सबै कुरालाई ध्यानमा राख्दै झन्‌-झनै धेरै शिक्षाविद्‌हरूले आज उच्च शिक्षाको महत्त्वबारे गम्भीरतापूर्वक प्रश्‍न गर्न थालेका छन्‌। फ्युचरिस्ट-को रिपोर्टअनुसार “हामी मानिसहरूलाई गलत लक्ष्य राख्न सिकाइरहेका छौं।” तर बाइबल के भन्छ ध्यान दिनुहोस्‌: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ। यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!”—यशैया ४८:१७, १८.

[पृष्ठ २६-मा भएको चित्र]

तिनीहरू आफ्नो कामकुरा छोडेर येशूको पछि लागे

[पृष्ठ ३१-मा भएको चित्र]

मसीही आमाबाबुले आफ्ना छोराछोरीको लागि सानैदेखि बुद्धिमानीपूर्वक घरमा उपयुक्‍त आध्यात्मिक वातावरण बनाउँछन्‌