सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई येशूको उपस्थितिको चिह्नको अर्थ थाह छ?

के तपाईंलाई येशूको उपस्थितिको चिह्नको अर्थ थाह छ?

के तपाईंलाई येशूको उपस्थितिको चिह्नको अर्थ थाह छ?

सिकिस्त बिरामी पर्ने अथवा प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाउने चाहना कसैको पनि हुँदैन। यस्तो विपत्तिबाट बच्न बुद्धिमान्‌ मानिसले खतराको सङ्‌केत दिने चिह्नहरू बुझेर त्यसअनुसार कदम चालिहाल्छ। येशू ख्रीष्टले एउटा खास चिह्नबारे बताउनुभयो, जसको अर्थ हामीले बुझ्नु जरुरी छ। उहाँले सङ्‌केत गरिरहनुभएको चिह्नले सारा मानिसजातिलाई असर गर्ने थियो। त्यसले तपाईं अनि तपाईंको परिवारलाई पनि असर गर्छ।

दुष्ट कुरा हटाएर पृथ्वीलाई सुन्दर प्रमोदवन बनाउने परमेश्‍वरको राज्यबारे येशूले बताउनुभयो। त्यो राज्य कहिले आउनेछ भनी थाह पाउन उहाँका चेलाहरू अत्यन्त उत्सुक थिए। उनीहरूले यस्तो प्रश्‍न सोधे: “तपाईंको आगमन [“उपस्थिति,” NW] र जगत्‌को अन्तको चिन्ह के हुन्छ?”—मत्ती २४:३.

आफ्नो मृत्यु र पुनरुत्थान भएको धेरै समयपछि मात्र मसीही राजाको रूपमा मानिसजातिमाथि शासन गर्न स्वर्गमा राजा हुनेछु भनेर येशूलाई थाह थियो। उहाँ राजा हुनुभएको मानिसले देख्न सक्ने थिएनन्‌। त्यसैकारण त येशूले चिह्नहरू दिनुभयो, जुन चिह्नहरू देखेर आफ्ना अनुयायीहरूले उहाँको ‘उपस्थिति’ र ‘जगत्‌को अन्तको चिन्हको’ अर्थ बुझ्न सक्ने थिए। आफ्नो उपस्थितिलाई सङ्‌केत गर्ने अरू चिह्नहरूबारे पनि येशूले बताउनुभयो।

येशूले दिनुभएको जवाफ सुसमाचारको पुस्तकका लेखक मत्ती, मर्कूस र लूकाले होसियारसाथ रेकर्ड गरे। (मत्ती, अध्याय २४ र २५; मर्कूस, अध्याय १३; लूका अध्याय २१) बाइबलका अरू लेखकहरूले चाहिं येशूले दिनुभएको चिह्नबारे बेलीबिस्तार लाएर बताए। (२ तिमोथी ३:१-५; २ पत्रुस ३:३, ४; प्रकाश ६:१-८; ११:१८) येशूको उपस्थितिको चिह्नसम्बन्धी एक-एक विवरण केलाउने हो भने यहाँ ठाउँले पुग्दैन तरैपनि येशूले बताउनुभएको पाँचवटा चिह्नबारे भने हामी छलफल गर्नेछौं। यी चिह्नहरूबारे विचार गर्नु अर्थपूर्ण र आफ्नो लागि महत्त्वपूर्ण भएको तपाईंले पाउनुहुनेछ।—पृष्ठ ६ मा भएको पेटी हेर्नुहोस्‌।

“नयाँ युगको थालनी गर्ने एउटा परिवर्तन”

“जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।” (मत्ती २४:७) जर्मन खबरपत्रिका डर स्पीगल यसो भन्छ, सन्‌ १९१४ अघिका मानिसहरूले “अझ बढी स्वतन्त्रता, उन्‍नति र संवृद्धि भएको सुनौलो भविष्यको आशा गरेका थिए।” तर सबै कुरा एका-एक परिवर्तन भयो। जिइओ पत्रिका भन्छ: “सन्‌ १९१४ को अगस्त महिनामा सुरु भएर सन्‌ १९१८ को नोभेम्बर महिनामा अन्त्य भएको युद्ध एउटा असामान्य घटना थियो। त्यस युद्धपछि इतिहासले पूरै कोल्टे फेऱ्‍यो।” पाँच महादेशका ६ करोडभन्दा बढी सेना पाशविक युद्धमा होमिए। हरेक दिन सालाखाला ६ हजार सैनिक मारिए। त्यहाँदेखि उसो हरेक पुस्ताका इतिहासकार अनि विभिन्‍न राजनैतिक विचारधाराका मानिसहरूले “सन्‌ १९१४ देखि १९१८ को वर्षलाई नयाँ युगको थालनी गर्ने एउटा परिवर्तन” भन्दै आएका छन्‌।

प्रथम विश्‍वयुद्धले गर्दा मानव समाजमा पहिला कहिल्यै नदेखिएको परिवर्तन देखापऱ्‍यो, जुन परिवर्तनपछि मानिसहरू यस रीतिरिवाजको अन्तिम दिनमा बाँच्न थाले। बीसौं शताब्दीमा त झनै बढी युद्ध, सशस्त्र द्वन्द्व र आतङ्‌कवाद मच्चियो। अहिले एक्काइसौं शताब्दी लागिसक्यो तर संसारको अवस्थामा भने कुनै सुधार आएको छैन। युद्धबाहेक अन्तको दिनका अरू चिह्नहरू पनि उत्तिकै प्रस्ट भएका छन्‌।

अनिकाल, रूढी अनि भैंचालो

“ठाउँ ठाउँमा अनिकाल . . . हुनेछ।” (मत्ती २४:७) प्रथम विश्‍वयुद्धमा युरोपभरि खानेकुराको हाहाकार मच्चियो र त्यहाँदेखि यता मानिसहरू अझै पनि अनिकालको चपेटाबाट मुक्‍त हुन सकेका छैनन्‌। सन्‌ १९३३ मा रूस अनि युक्रेनमा “भोकले मर्न लागेका मानिसहरू जताततै भौंतारिरहेका देख्न सकिन्थ्यो . . . सडकका पेटीहरूमा रासका रास लास थुप्रिएको थियो” भनी इतिहासकार एलन बुलकले लेखे। सन्‌ १९४३ मा पत्रकार थियोडर हारोल्ड ह्वाइटले चीनको हेनान प्रान्तमा भएको अनिकाल आफ्नै आँखाले देखेका थिए। तिनले यस्तो लेखे: “अनिकाल परेको बेला बाँच्नको लागि मानिसले जे पनि खान्छ। तर, खान नपाएर ज्यानै जाला जस्तो हुँदा मात्र अहिलेसम्म खाँदै नखाएको कुरा पनि मानिसले खाने आँट गर्छ।” दुःखको कुरा, हालैका दशकहरूमा अफ्रिकाभरि अनिकालले विकराल रूप लिएको छ। पृथ्वीले सबैलाई छेलोखेलो पुग्ने अन्‍न उब्जनी गरे तापनि संयुक्‍त राष्ट्रसंघको विश्‍व स्वास्थ्य संगठनको अनुमानअनुसार विश्‍वका ८४ करोड मानिसले एक छाक पनि राम्रोसँग खान पाएका छैनन्‌।

“विभिन्‍न ठाउँहरूमा रूढी . . . हुनेछ।” (लूका २१:११) सुडोइच जाइटुङ नाउँको जर्मन खबरपत्रिका यस्तो रिपोर्ट गर्छ: “सन्‌ १९१८ मा स्पेनी महामारीले दुईदेखि पाँच करोड मानिसको ज्यान लिएको हुन सक्ने अनुमान छ र यो संख्या रूढीको कारण अथवा प्रथम विश्‍वयुद्धमा मरेका मानिसहरूको संख्याभन्दा निकै धेरै हो।” त्यहाँदेखि उसो अनगन्ती मानिसहरू औलो, बिफर, टिबी, पोलियो अनि हैजाजस्ता रोगहरूको सिकार बन्दै आएका छन्‌। अनि एड्‌स दिन दुगुना, रात चौगुनाको हिसाबले ह्वात्तै बढेकोमा संसारै चकित छ। चिकित्साजगत्‌मा यत्रो प्रगति भएर पनि औषधीले छुँदै नछुने रोगहरू ज्यूँका-त्यूँ रहेकोमा मानिसहरू रनभुल्लमा परेका छन्‌। यस्तो स्थिति आइपर्नुको कारण मानिसहरूलाई अझसम्म थाह नहुनुले हामी असामान्य समयमा बाँचिरहेका छौं भन्‍ने कुरा पुष्टि हुन्छ।

“भैंचालो।” (मत्ती २४:७) गत १०० वर्षभित्र भैंचालोको कारण लाखौंले ज्यान गुमाएका छन्‌। एउटा स्रोतअनुसार ठूल्ठूला भवनहरूलाई ध्वस्त पार्ने र जमिनलाई चिरा-चिरा पार्ने भैंचालो सन्‌ १९१४ देखि यता वर्षेनी १८ वटा जति जाने गरेको छ। गगनचुम्बी भवनहरूलाई तहसनहस पार्न सक्ने झनै डरलाग्दो भैंचालो वर्षको एक चोटि जाने गरेको छ। प्रविधिको क्षेत्रमा जतिसुकै प्रगति भए पनि मर्नेहरूको संख्या घटेको छैन किनभने मानिसहरूको ओइरो लाग्ने थुप्रै सहर भैंचालो जान सक्ने क्षेत्रहरूमा छन्‌।

खुसीको समाचार!

अन्तिम दिनका धेरैजसो चिह्नहरू दिक्क लाग्ने किसिमका छन्‌। तर येशूले खुसीको समाचार पनि सुनाउनुभयो।

“राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) येशू आफैले थाल्नुभएको काम अर्थात्‌ राज्यको सुसमाचार प्रचार गर्ने काम अन्तिम दिनमा व्यापक रूपमा गरिनेछ। साँच्चै अहिले यस्तै भइरहेको छ। यहोवाका साक्षीहरूले बाइबलको सन्देश प्रचार गरिरहेका छन्‌ र मानिसहरूलाई आफूले सिकेको कुरा दैनिक जीवनमा लागू गर्न खुसीसाथ सिकाइरहेका छन्‌। हाल, ६० लाखभन्दा बढी साक्षीले २३५ मुलुकमा र ४०० भन्दा बढी भाषामा प्रचार गरिरहेका छन्‌।

याद गर्नुहोस्‌, संसारमा भइरहेका अप्रिय घटनाहरूको कारण सारा कामकुरा ठप्प हुनेछन्‌ भनी येशूले भन्‍नुभएन। न त संसारमा उथलपुथल मच्चाउन एउट चिह्न नै काफी हुनेछ भन्‍नुभयो। बरु, उहाँले थुप्रै चिह्नबारे बताउनुभयो जुन चिह्नलाई संसारको कुनै पनि कुनाबाट छर्लङ्‌ग देख्न सकिने थियो।

एक-दुइटा अथवा छिटफुट घटनालाई मात्र होइन तर संसारभरि घटिरहेका घटनाहरूलाई विचार गर्दा के तपाईं यस्ता चिह्नहरू जताततै देख्नुहुन्‍न र? संसारमा भइरहेका कुराले तपाईं अनि तपाईंको परिवारलाई असर गर्छ। हाम्रो मनमा यस्तो प्रश्‍न उठ्‌न सक्छ, तर किन थोरै व्यक्‍तिले मात्र यस्ता घटनाहरूलाई ध्यान दिन्छन्‌?

स्वार्थ पूरा गर्न खोज्दा

“पौडी खेल्न निषेध छ!” “खतरा! हाई भोल्टेज।” “बिस्तारै हाँक्नुहोस्‌।” यी यस्ता चिह्न तथा चेतावनीहरू हुन्‌ जसलाई देखेर पनि हामी अक्सर बेवास्ता गर्छौं। किन? किनभने आफूलाई जे ठीक लाग्छ हामी त्यसै गर्न पुगिहाल्छौं। उदाहरणको लागि, हामीलाई कानुनले दिएभन्दा तेज गतिमा गाडी हाँक्न मन लाग्न सक्छ अथवा निषेधित ठाउँहरूमा पौडी खेलूँ-खेलूँ लाग्न सक्छ। तर चेतावनी दिने यस्ता चिह्नहरूलाई बेवास्ता गर्नु सरासर मूर्खता हो।

उदाहरणको लागि, नेपालमा सडक दुर्घटनामा परेर वर्षेनी ८०० मानिसले ज्यान गुमाउँछन्‌ भने ५,००० जति गम्भीर घाइते हुन्छन्‌। एउटा खबरपत्रिकाअनुसार, सवारी चालकहरूले ट्राफिक चिह्न अथवा ट्राफिक नियमहरू बेवास्ता गरेकाले यस्ता धेरै दुर्घटनाहरू हुने गरेका छन्‌। अफसोस, चेतावनीहरूलाई बेवास्ता गरेकै कारण मानिसहरूले दुःखलाग्दा नतिजाहरू भोग्छन्‌।

के-कस्ता कारणहरूले गर्दा मानिसहरू येशूले बताउनुभएका चिह्नहरूलाई बेवास्ता गर्छन्‌? मानिसहरू धनको लोभले अन्धो भएका, भावशून्य भएका, दोधारमा परेर के गरूँ कसो गरूँ भएका, दैनिक कामकुराको चटारोमा परेका अथवा आफ्नो प्रतिष्ठा गुमाउनुपर्ला भन्‍ने चिन्ताले पिरोलिएका हुन सक्छन्‌। यीमध्ये कुनै कारणले गर्दा कतै तपाईंले पनि येशूको उपस्थितिको चिह्नलाई बेवास्ता गरिरहनुभएको त छैन? चिह्नको अर्थ बुझेर त्यसै अनुरूप कदम चाल्नु के बुद्धिमानी कुरा हुनेछैन र?

पृथ्वी प्रमोदवनमा परिणत हुँदा जीवनको अवस्था

येशूको उपस्थितिको चिह्नलाई ध्यान दिने मानिसहरूको संख्या धमाधम बढिरहेको छ। जर्मन निवासी एक विवाहित व्यक्‍ति क्रिस्टियान लेख्छन्‌: “हामी बाँचिरहेको समयमा कुनै आशा छैन। हामी “ ‘आखिरी दिनमा’ बाँचिरहेका छौं भन्‍ने कुरामा रत्तीभर शङ्‌का छैन।” तिनी तथा तिनकी पत्नी अरूलाई परमेश्‍वरको राज्यबारे बताउन धेरै समय बिताउँछन्‌। फ्राङ्‌क नाउँ गरेका व्यक्‍ति पनि जर्मनीमै बस्छन्‌। तिनी तथा तिनकी पत्नी बाइबलको सुसमाचार सुनाएर अरूलाई प्रोत्साहन दिन्छन्‌। फ्राङ्‌क भन्छन्‌: “संसारको अवस्था देखेर आज थुप्रै मानिस भविष्यको बारेमा चिन्ता गर्छन्‌। पृथ्वी प्रमोदवन बन्‍नेछ भनेर बाइबलमा गरिएका भविष्यवाणीहरू बताएर हामी उनीहरूलाई प्रोत्साहन दिने कोसिस गर्छौं।” यस प्रकार क्रिस्टियान र फ्राङ्‌कले येशूको उपस्थितिको एउटा चिह्न पूरा गर्न योगदान पुऱ्‍याइरहेका छन्‌ अर्थात्‌ परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिरहेका छन्‌।—मत्ती २४:१४.

अन्तिम दिन सिद्धिनासाथ येशूले यो थोत्रो रीतिरिवाज अनि यसका समर्थकहरूलाई नामोनिसान नरहने गरी अस्तित्वबाटै मेटिदिनुहुनेछ। त्यसपछि मसीही राज्यले नै पृथ्वीका कामकुराको सुपरिवेक्षण गर्नेछ र भविष्यवाणी गरिएअनुसारै यो पृथ्वी प्रमोदवनमा परिणत हुनेछ। मानिसहरूले रोगबिमार र मृत्युबाट छुटकारा पाउनेछन्‌ अनि मरेका मानिसहरू यसै पृथ्वीमा फेरि जीवित हुनेछन्‌। अन्तिम दिनका चिह्नहरूको अर्थ बुझ्नेहरूले चाँडै यस्ता राम्रा कुराहरू देख्नेछन्‌। अब तपाईं आफै भन्‍नुस्‌, यी चिह्नहरूबारे अझ बढी थाह पाउनु र यो रीतिरिवाज नाश हुँदा बच्न के गर्नुपर्छ सो सिक्नु के बुद्धिमानी कुरा होइन र? चिह्नहरूको अर्थ बुझेर ढिलासुस्ती नगरी कदम चालिहाल्नुमै सबैको कल्याण छ।—यूहन्‍ना १७:३.

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

येशूले थुप्रै चिह्नबारे बताउनुभयो जुन चिह्नहरू संसारको कुनै पनि कुनाबाट देख्न सकिने थियो

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

के तपाईंले येशूको उपस्थितिका चिह्नहरू विश्‍वभरि नै देखिरहनुभएको छ?

[पृष्ठ ६-मा भएको पेटी/चित्रहरू]

अन्तिम दिनका चिन्हहरू थाह पाउनुहोस्‌

पहिला कहिल्यै नभएका युद्धहरू।—मत्ती २४:७; प्रकाश ६:४

अनिकाल।—मत्ती २४:७; प्रकाश ६:५, ६, ८

रूढी।—लूका २१:११; प्रकाश ६:८

बढ्‌दो अधर्म।—मत्ती २४:१२

भैंचालो।—२४:७

डरलाग्दो समय।—२ तिमोथी ३:१

रूपियाँ-पैसाको अचाक्ली लोभ।—२ तिमोथी ३:२

आमाबाबुको आज्ञापालन नगर्ने।—२ तिमोथी ३:२

स्वाभाविक प्रेम नभएका।—२ तिमोथी ३:३

परमेश्‍वरभन्दा बरु सुख-विलास खोज्ने।—२ तिमोथी ३:४

आत्मसंयम नभएका।—२ तिमोथी ३:३

असल नरुचाउने।—२ तिमोथी ३:३

आउनै लागेको खतराको वास्ता नगर्ने।—मत्ती २४:३९

अन्तिम दिनको प्रमाणलाई स्वीकार्न नचाहनेहरू।—२ पत्रुस ३:३, ४

परमेश्‍वरको राज्यबारे विश्‍वभर प्रचार।—मत्ती २४:१४

[पृष्ठ ५-मा भएको चित्रको स्रोत]

WWI soldiers: From the book The World War—A Pictorial History, 1919; poor family: AP Photo/Aijaz Rahi; polio victim: © WHO/P. Virot