सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं “परमेश्‍वरतर्फ धनी” हुनुहुन्छ?

के तपाईं “परमेश्‍वरतर्फ धनी” हुनुहुन्छ?

के तपाईं “परमेश्‍वरतर्फ धनी” हुनुहुन्छ?

येशूका उखानहरू सुनेपछि धेरै जना सोच्न बाध्य हुन्छन्‌। उहाँले भन्‍नुभएका धेरै उखानहरूमध्ये एउटा सम्पन्‍न जमीनदारको उखान पनि हो। आफ्नो भविष्य सुरक्षित पार्न जमिनदारले बडे-बडे भकारीहरू बनाउने योजना बनाउँछ। तर अचम्म, त्यो मान्छेलाई येशूको उखानमा “मूर्ख” भनिएको छ। (लूका १२:१६-२१) न्यु वर्ल्ड ट्रान्सलेसन-ले “अव्यावहारिक” भन्‍ने शब्द चलाए पनि नेपाली लगायत धेरै बाइबलले “मूर्ख” शब्द नै चलाएको छ। किन यत्तिको कडा शब्द?

हो, योजना बनाउँदा त्यो मान्छेले परमेश्‍वरबारे रत्ति सोचेन। जमीनले त्यति विघ्न उब्जनी दिएकोमा न त उसले परमेश्‍वरलाई कुनै श्रेय नै दियो। (मत्ती ५:४५) उल्टो घमन्ड गर्दै उसले यसो भन्यो: “ए प्राण, धेरै वर्षसम्म पुग्ने धेरै सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। आरामीसित बस्‌, खा, पी, र आनन्द गर्‌।” हो, आफ्नो कमाइलाई नै उसले एउटा सुरक्षित “पर्खाल” ठान्यो।—हितोपदेश १८:११.

यस्तो अहङ्‌कारी मनोभाव विरुद्ध सजग गराउँदै चेला याकूबले यस्तो लेखे: “तिमीहरू यसो भन्‍नेहरू, ‘आज कि भोलि हामी फलानो शहरमा जाऔंला, र त्यहाँ एक वर्ष बिताऔंला, र किनबेच गरेर नाफा गरौंला।’ तर यो जान्दैनौ, कि भोलि के हुने हो। तिम्रो जिन्दगी के छ? तिमीहरू ता पानीको वाफ हौ, जो केही बेरको निम्ति देखा पर्दछ, अनि बिलाइहाल्दछ।”—याकूब ४:१३, १४.

यी शब्दहरू त्यो धनी मानिसलाई ठ्याक्कै लागू भयो। येशूको उखानमा त्यसलाई यसो भनियो: “ए मूर्ख, यही रात तँबाट तेरो प्राण फिर्ता चाहिएको छ, र जे कुराहरू तैंले तयार गरेको छस्‌ ती कसको होला?” आफ्ना सारा सपनाहरू साकार हुनुअघि नै पानीको वाफ उडिगए जस्तै त्यो धनी मानिस मऱ्‍यो। यसमा हाम्रो लागि केही पाठ छ कि? येशूले भन्‍नुभयो: “परमेश्‍वरतर्फ धनी नभईकन आफ्नो निम्ति मात्र धन थुपार्ने यस्तै हुन्छ।” त्यसोभए, के तपाईं “परमेश्‍वरतर्फ धनी” हुनुहुन्छ?