सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“जागा रहो”—इन्साफको समय आएको छ!

“जागा रहो”—इन्साफको समय आएको छ!

“जागा रहो”—इन्साफको समय आएको छ!

यस अध्ययन लेखको विषयवस्तु सन्‌ २००४ मा विश्‍वभरि आयोजित जिल्ला अधिवेशनमा विमोचन भएको जागा रहो! पुस्तिकामा आधारित छ।

“जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्‌, सो तिमीहरूले जान्दैनौ।”—मत्ती २४:४२.

१, २. येशूले आफ्नो आगमन कसरी हुनेछ भन्‍नुभयो?

 एउटा चोर तपाईंको टोलमा चोर्ने दाऊमा छ भनेर थाह पाउनुभयो भने के गर्नुहुन्छ? घरपरिवार र सम्पतिको सुरक्षा गर्न तपाईं सतर्क र जागा रहनुहुन्छ। किनभने चोरले आफू आउने समयको खबर पठाउँदैन। चोर त आशै नगरेको बेला चालै नपाउने गरी आउँछ।

येशूले धेरै चोटि चोरको दृष्टान्त बताउनुभयो। (लूका १०:३०; यूहन्‍ना १०:१०) अन्तको दिनमा र इन्साफ गर्न उहाँ आउनुअघि हुने घटनाहरूबारे येशूले यस्तो चेतावनी दिनुभयो: “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्‌, सो तिमीहरूले जान्दैनौ। तर यो जान, कि घरको मालिकले चोर कुन पहरमा आउँछ भनी जानेको भए, उ जागा रहनेथियो, र आफ्नो घर फोरिन दिने थिएन।” (मत्ती २४:४२, ४३) यसैकारण, उहाँको आगमन चोरजस्तै आशै नगरेको बेला हुनेछ भनेर येशूले बताउनुभयो।

३, ४. (क) येशूले आफ्नो आगमनबारे दिनुभएको चेतावनी सुन्‍नेहरूले के गर्ने छन्‌? (ख) कस्ता प्रश्‍नहरू उठ्‌छन्‌?

चोरको दृष्टान्त सुहाउँदो छ किनकि येशूको आगमनको निश्‍चित मिति हामीलाई थाह छैन। सोही भविष्यवाणीमा येशूले यसो पनि भन्‍नुभयो, “त्यस दिन र घडीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र।” (मत्ती २४:३६) त्यसैले, येशूले आफ्ना स्रोताहरूलाई यस्तो आग्रह गर्नुभयो, “तिमीहरू . . . तयार रहो।” (मत्ती २४:४४) येशू, यहोवाको न्याय कार्यान्वयन गर्न जुनैबेला आउनु भएपनि उहाँको चेतावनी सुन्‍नेहरूले आफूलाई तयार राख्नेछन्‌।

तर केही महत्त्वपूर्ण प्रश्‍नहरू उठ्‌छन्‌: येशूको चेतावनी के संसारका मानिसहरूको लागि मात्र हो अथवा साँचो मसीहीहरू पनि ‘जागा रहनुपर्छ’? ‘जागा रहनु’ किन यत्तिको जरुरी छ अनि कसरी जागा रहने?

कसको लागि चेतावनी?

५. “जागा रहो” भन्‍ने चेतावनी साँचो मसीहीहरूको लागि नै हो भनेर हामी कसरी भन्‍न सक्छौं?

छिट्टै आउन लागेको विपत्तिको चेतावनीलाई पूर्णतः बेवास्ता गर्ने संसारका मानिसहरूको लागि प्रभुको आगमन निश्‍चय पनि चोर आएझैं हुनेछ। (२ पत्रुस ३:३-७) तर साँचो मसीहीहरूको लागि नि? प्रेरित पावलले सँगी विश्‍वासीहरूलाई यसो भने: “तिमीहरू आफै ठीक ठीक जान्दछौ, प्रभुको दिन ता रातमा चोर आएझैं आउनेछ।” (१ थिस्सलोनिकी ५:२) ‘प्रभुको दिन आउनेछ’ भन्‍ने कुरामा हामीलाई कुनै शङ्‌का छैन। तर शङ्‌का छैन भन्दैमा जागा रहनै पर्दैन भनेको हो त? नबिर्सनुहोस्‌, “तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ” भनी येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभएको थियो। (मत्ती २४:४४, छड्‌के अक्षर हाम्रो) यसअघि, येशूले आफ्ना चेलाहरूलाई राज्यको खोजी गरिरहन आग्रह गर्नुहुँदा यस्तो चेतावनी पनि दिनुभयो: “तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।” (लूका १२:३१, ४०, छड्‌के अक्षर हाम्रो) “जागा रहो” भन्‍ने चेतावनी येशूले आफ्ना चेलाहरूलाई नै दिइरहनुभएको थियो भनेर स्पष्ट छ नि, होइन र?

६. हामी किन ‘जागा रहनुपर्छ’?

हामी किन “जागा” र “तयार” रहनुपर्छ? येशूले यसो भन्‍नुभयो: “त्यसबेला दुइ जना खेतबारीमा हुनेछन्‌, एक जना लगिन्छ अर्को छोडिन्छ। दुइ स्त्रीहरू जाँतो पिंधिरहेका हुनेछन्‌, एक जना लगिन्छ, अर्को छोडिन्छ।” (मत्ती २४:४०, ४१) यस अभक्‍त संसारको विनाश हुँदा आफूलाई तयार राख्नेहरू ‘लगिनेछन्‌’ अथवा बचाइनेछन्‌। अरू भने स्वार्थी जीवनशैली नै बिताइरहेको हुनाले विनाशको लागि ‘छोडिनेछन्‌।’ यसरी छोडिनेहरूमा अर्थात्‌ विनाश हुनेहरूमा कुनै समय सत्य थाह पाएका तर जागा नरहेका व्यक्‍तिहरू पनि हुन सक्छन्‌।

७. अन्त कहिले आउँछ भनी थाह नपाउँदा हामीले के गर्ने मौका पाउँछौ?

यस पुरानो रीतिरिवाजको अन्त हुने निश्‍चित मिति थाह नभएको हुँदा हामी शुद्ध मनसायले परमेश्‍वरको सेवा गर्छौं भनेर देखाउने मौका पाउँछौं। कसरी? हामीलाई अन्त आउन धेरै समय बाँकी छ जस्तो लाग्न सक्छ। दुःखको कुरा, यस्तो सोचाइ राख्ने केही मसीहीहरूको यहोवाको सेवामा जोस सेलाएको छ। यद्यपि, जस्तोसुकै अवस्थामा पनि यहोवाको सेवा गर्छु भनेर राजीखुसी हामीले आफूलाई यहोवामा समर्पण गरिसकेका छौं। यहोवालाई चिनेकाहरूले कुन कुरा बुझेका छन्‌ भने, अन्तिम क्षणमा देखाएको जोसले यहोवा प्रसन्‍न हुनुहुन्‍न। उहाँले हृदय हेर्नुहुन्छ।—१ शमूएल १६:७.

८. यहोवाप्रतिको प्रेमले हामीलाई कसरी जागा रहन उत्प्रेरित गर्छ?

यहोवालाई हामीले साँचो प्रेम गर्ने भएकोले उहाँको इच्छा गर्दा हामी असीम आनन्द पाउँछौं। (भजन ४०:८; मत्ती २६:३९) अनि हामी सधैंभरि यहोवाको सेवा गर्न चाहन्छौं। तर त्यसको लागि हामीले अलि लामो समय पर्खनुपऱ्‍यो भन्दैमा त्यस प्रत्याशाको महत्त्व घट्‌दैन। हामी जागा रहनुको योभन्दा पनि मुख्य कारण त यहोवाको दिनमा उहाँका उद्देश्‍यहरू कसरी पूरा हुन्छन्‌ भनेर हेर्न हामी उत्कट प्रतीक्षा गर्छौं। परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने हाम्रो निष्कपट इच्छाको कारण उहाँको वचनको सल्लाह पालन गर्न र उहाँको राज्यलाई हाम्रो जीवनमा प्राथमिकता दिन हामी उत्प्रेरित हुन्छौं। (मत्ती ६:३३; १ यूहन्‍ना ५:३) हाम्रो निर्णय तथा दैनिक जीवनमा जागा रहनुले कसरी असर पार्नुपर्ने हो, आउनुहोस्‌ हामी हेरौं।

तपाईंको जीवन कतातिर लम्कँदैछ?

९. संसारका मानिसहरूले हामी बाँचिरहेको समयको अर्थ बुझ्नु किन अन्यन्तै जरुरी छ?

गम्भीर समस्या र स्तब्ध पार्ने घटनाहरू हरेक दिनजसो भइरहेका छन्‌ भनी आज प्रायजसो मानिसहरू मानिलिन्छन्‌। अनि तिनीहरू आफै पनि आफ्नो जीवन जुन दिशातिर लम्किरहेको छ, त्यससित खुसी छैनन्‌। तर संसारमा भइरहेको घटनाको अर्थ के तिनीहरूलाई थाह छ? अनि हामी “जगत्‌को अन्तको” समयमा बाँचिरहेका छौं भनेर नि? (मत्ती २४:३) व्याप्त स्वार्थी, हिंस्रक र अभक्‍त मनोवृत्तिसमेत “आखिरी दिन[को]” चिनारी हो भनेर के तिनीहरूलाई थाह छ? (२ तिमोथी ३:१-५) तिनीहरूले यी सबै कुराहरूको अर्थ बुझ्नु र आफ्नो जीवन कतातिर लम्कँदैछ भनेर विचार गर्नु अत्यन्तै जरुरी छ।

१०. जागा रहिरहन हामीले के गर्नै पर्छ?

१० अनि हामी मसीहीहरू नि? हरेक दिन हामीले आफ्नो जागिर, स्वास्थ्य, परिवार र उपासनासित सम्बन्धित निर्णयहरू गर्नुपर्ने हुन्छ। बाइबलले के भन्छ, हामीलाई थाह छ अनि हामी ती लागू गर्ने प्रयास गर्छौं। त्यसैले हामीले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नु बेस हुन्छ: ‘जीवनका फिक्रीहरूले गर्दा के म आफ्नो आध्यात्मिक लक्ष्यहरूबाट तर्किंदैछु? मेरा छनौटहरूले के म संसारका दर्शन र त्यसका सोचाइअनुसार चलिरहेको छु भनी देखाउँछ?’ (लूका २१:३४-३६; कलस्सी २:८) सारा भरोसा यहोवामा राख्छौं अनि आफ्नै समझशक्‍तिमा भरोसा गर्दैनौं भनेर हामीले देखाइरहनुपर्छ। (हितोपदेश ३:५) त्यसो गर्दा हामीले “साँच्चै[को] जीवन” अर्थात्‌ परमेश्‍वरको नयाँ संसारमा अनन्त जीवन पक्रीराख्न सक्नेछौं।—१ तिमोथी ६:१२, १९.

११-१३. हामीले (क) नूहको दिनको उदाहरण र (ख) लूतको दिनको उदाहरणबाट के सिक्न सक्छौं?

११ जागा रहिरहन हामीलाई मदत गर्ने थुप्रै चेतावनीमूलक उदाहरणहरू बाइबलमा पाउँछौं। नूहको दिनमा के भएको थियो, विचार गर्नुहोस्‌। यहोवाले त्यो घटना हुनुभन्दा धेरै अघि नै चेतावनी दिन लगाउनुभयो। तर नूह र तिनको परिवारबाहेक अरू कसैले त्यस चेतावनीलाई वास्तै गरेनन्‌। (२ पत्रुस २:५) यसबारे येशूले यसो भन्‍नुभयो: “जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिसको पुत्रको आगमन हुनेछ। किनकि जसरी जलप्रलयका अघाडिका दिनमा नूह जहाजमा नपसेका दिनसम्म, मानिसहरू खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए, औ जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे, उसैगरी मानिसको पुत्रको आगमन पनि हुनेछ।” (मत्ती २४:३७-३९) हामी यसबाट के सिक्न सक्छौं? सांसारिक कामकुराहरू र आफ्नो सामान्य दिनचर्यामै व्यस्त भएर परमेश्‍वरले प्रथम स्थान राख्न आग्रह गर्नुभएको आध्यात्मिक कामकुरालाई ओझेलमा पर्न दिइरहेका छौं भने हामीले आफ्नो अवस्थालाई गम्भीर भई सोच्नै पर्छ।—रोमी १४:१७.

१२ लूतको दिनमा भएको घटनालाई पनि विचार गर्नुहोस्‌। लूत र तिनको परिवार बसिरहेको सहर सदोम साह्रै धनी थियो तर नैतिक तवरमा भने खतम थियो। यहोवाले त्यो सहर नाश गर्न स्वर्गदूतहरू पठाउनुभयो। स्वर्गदूतहरूले लूत र तिनको परिवारलाई सदोमबाट भाग्न र फर्केर नहेर्न आग्रह गरे। स्वर्गदूतहरूले त्यस्तो आग्रह गरेपछि तिनीहरू सहर छोडेर भागे। तर लूतकी पत्नीले सदोमको आफ्नो घरलाई माया मार्न सकिनन्‌। अनाज्ञाकारी हुँदै तिनले पछाडि फर्केर हेरिन्‌ र ज्यान गुमाइन्‌। (उत्पत्ति १९:१५-२६) हाम्रो भविष्यलाई इंगित गर्दै येशूले यस्तो चेतावनी दिनुभयो: “लूतको स्वास्नीलाई सम्झ।” के हामीले त्यो चेतावनी सुनिरहेका छौं?—लूका १७:३२.

१३ विगतमा परमेश्‍वरको चेतावनी पालन गर्नेहरूलाई बचाइयो। अनि त्यसरी बचाइएकाहरूमा नूह र तिनको परिवार अनि लूत र तिनका छोरीहरू पनि थिए। (२ पत्रुस २:९) यी चेतावनीमूलक उदाहरणहरूमा मनन गर्दा यसमा धर्मिकताका प्रेमीहरूको लागि छुटकाराको सन्देश पनि छ भनेर थाह पाउँदा हामी प्रोत्साहित हुन्छौं। त्यो सुसमाचारले परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको “नयाँ स्वर्ग र नयाँ पृथ्वी[बारे]” हामीलाई विश्‍वस्त गराउँछ जहाँ “धार्मिकताले बास” गर्छ।—२ पत्रुस ३:१३.

‘इन्साफको समय आएको छ’!

१४, १५. (क) इन्साफको “समय[मा]” के-के समावेश छ? (ख) “परमेश्‍वरसँग डराओ र उहाँको महिमा देओ” भन्‍नुको अर्थ के हो?

१४ जागा रहँदै गर्दा कस्ता कुराहरू हुने हामी आशा गर्न सक्छौं? प्रकाशको पुस्तकले परमेश्‍वरको उद्देश्‍य कसरी क्रमिक रूपमा एक-एक गरी पूरा हुन्छ भनेर बताउँछ। हामीले आफूलाई तयार राख्ने हो भने प्रकाशको पुस्तकमा बताएअनुसार कदम चाल्नु जरुरी छ। भविष्यवाणीले “प्रभुको दिनमा” हुने घटनाहरू सुस्पष्ट बताउँछ। अनि “प्रभुको दिन” सन्‌ १९१४ मा ख्रीष्ट स्वर्गको सिंहासनमा बस्नुभएदेखि सुरु भयो। (प्रकाश १:१०) प्रकाशको पुस्तकमा एउटा स्वर्गदूतबारे बताइएको छ जसलाई ‘अनन्त सुसमाचार घोषणा गर्ने’ काम सुम्पिएको छ। तिनी ठूलो स्वरले यसो भन्छन्‌: “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ।” (प्रकाश १४:६, ७) त्यो इन्साफको “समय” छोटो हुन्छ र भविष्यवाणीमा बताइएअनुसार त्यस समयमा ईश्‍वरीय न्यायको घोषणा र कार्यान्वयन दुवै समावेश छ। हामी अहिले त्यही समयमा बाँचिरहेका छौं।

१५ इन्साफको समयको अन्त हुनुअघि अहिले हामीलाई यस्तो आग्रह गरिएको छ: “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ।” यसको अर्थ के हो? परमेश्‍वरप्रतिको उचित डरले हामीलाई खराबीबाट टाढै बस्न लगाउनुपर्छ। (हितोपदेश ८:१३) परमेश्‍वरको आदर गर्छौं भने हामी उहाँको कुरा एकदमै ध्यान दिएर सुन्‍नेछौं। उहाँको वचन बाइबल नियमित तवरमा पढ्‌न नभ्याउने गरी हामी अरू कुराहरूमा व्यस्त रहनेछैनौं। मसीही सभाहरूमा उपस्थित हुनुपर्ने उहाँको सल्लाहलाई हल्कासित लिनेछैनौं। (हिब्रू १०:२४, २५) परमेश्‍वरको मसीही राज्यको घोषणा गर्ने सुअवसरको हामी कदर गर्नेछौं र जोसका साथ प्रचारकार्यमा भाग लिनेछौं। हामी सधैं आफ्नो सारा हृदयले यहोवामा भरोसा राख्छौं। (भजन ६२:८) उहाँ सार्वभौम सत्ताधारी हुनुहुन्छ भनी मानिलिंदै उहाँको शासनको अधीनमा बसेर हामी उहाँको आदर गर्छौं। के तपाईं साँच्चै उहाँको डर राख्दै यी सबै तरीकामा उहाँको महिमा गर्नुहुन्छ?

१६. प्रकाश १४:८ अनुसार बेबिलोन विरुद्ध इन्साफ भइसक्यो भनेर हामी कसरी भन्‍न सक्छौं?

१६ इन्साफको समयमा हुने थप घटनाहरूबारे प्रकाश अध्याय १४ मा वर्णन गरिएको छ। सुरुमा झूटो धर्मको विश्‍व साम्राज्य, महान्‌ बेबिलोनबारे उल्लेख गरिएको छ: “एउटा अर्को दूत, अर्थात्‌ दोस्रोचाहिं, यसो भन्दै पछिपछि लागे, ‘. . . बेबिलोनको पतन भएको छ, पतन भएको छ!’ ” (प्रकाश १४:८) हो, परमेश्‍वरको नजरमा महान्‌ बेबिलोनको पतन भइसक्यो। मानिसहरूलाई सदियौंदेखि वशमा पारिरहेको बेबिलोनी शिक्षा तथा प्रचलनहरूबाट सन्‌ १९१९ मा यहोवाका अभिषिक्‍त जनहरू मुक्‍त भए। (प्रकाश १७:१, १५) त्यसपछि तिनीहरूले साँचो उपासनाको प्रगतिमा आफूलाई अर्पण गर्न सके। त्यतिबेलादेखि परमेश्‍वरको राज्यको सुसमाचार विश्‍वव्यापी रूपमा प्रचार भइरहेको छ।—मत्ती २४:१४.

१७. महान्‌ बेबिलोनबाट निस्किन हामीले के-के गर्नुपर्छ?

१७ महान्‌ बेबिलोन विरुद्ध परमेश्‍वरको न्याय यत्तिमै टुङ्‌गिदैन। त्यसको अन्तिम विनाश चाँडै हुँदैछ। (प्रकाश १८:२१) सबै मानिसहरूलाई बाइबलले यस्तो आग्रह गर्नुको पछाडि ठोस कारण छ: “त्यसबाट [महान्‌ बेबिलोनबाट] निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्‌।” (प्रकाश १८:४, ५) हामी महान्‌ बेबिलोनबाट कसरी निस्केर आउन सक्छौ? यसको लागि झूटो धर्मसित कुनै प्रकारको सम्बन्ध नराख्नु मात्र पर्याप्त छैन। बेबिलोनी प्रभाव थुप्रै लोकप्रिय उत्सव तथा प्रचलनहरू, यौनप्रति संसारको छाडा दृष्टिकोण, प्रेतवाद मुछिएको मनोरञ्जन अनि अरू थुप्रै कुराहरूमा व्याप्त छ। जागा रहन हामी महान्‌ बेबिलोनबाट सबै तरिकामा साँच्चै अलग छौं भनेर हाम्रो काम र हृदयको इच्छाहरूबाट प्रस्टै देखाउनु अत्यावश्‍यक छ।

१८. प्रकाश १४:९, १० अनुसार सचेत मसीहीहरू के नहुन होसियार रहन्छन्‌?

१८ प्रकाश १४:९, १० मा “इन्साफको समय[मा]” हुने थप घटनाहरू बताइएको छ। अर्का स्वर्गदूतले यसो भने: “यदि कुनै मानिसले त्यो जानवर र त्यसको मूर्तिलाई पूजा गऱ्‍यो, र निधार अथवा हातमा त्यसको छाप लियो भने, त्यसले पनि उहाँको क्रोधको कचौरा [पिउनेछ]।” किन? किनभने, त्यो जङ्‌गली “जनावर र त्यसको मूर्ति[ले]” यहोवाको सार्वभौमिकतालाई नस्वीकार्ने मानव शासनलाई चित्रण गर्छ। सचेत मसीहीहरू साँचो परमेश्‍वर यहोवाको सर्वोच्च अख्तियार इन्कार गर्ने मानिसहरूद्वारा आफ्नो मनोवृत्ति प्रभावित हुन नदिन, तिनीहरूको कार्यबाट आफूलाई प्रभावित हुन नदिन वा तिनीहरूको छाप नलिन होसियार रहन्छन्‌। अनि साँचो मसीहीहरूलाई थाह छ, परमेश्‍वरको राज्य स्वर्गमा स्थापना भइसक्यो, यसले सबै मानव शासनहरूलाई चक्नाचूर पार्नेछ र यो राज्य सदासर्वदा रहिरहनेछ।—दानियल २:४४.

अविलम्बी भाव नगुमाउनुहोस्‌!

१९, २०. (क) आखिरी दिनको झन्‌-झनै अन्ततिर पुग्दा शैतानले के गर्ने नै छ? (ख) हामीले कस्तो संकल्प गर्नुपर्छ?

१९ आखिरी दिनको झन्‌-झनै अन्ततिर पुग्दा दबाब र प्रलोभनहरू बढ्‌ने सिवाय घट्‌ने छैनन्‌। हामी यस दुष्ट रीतिरिवाजमा बाँचुञ्जेल र हाम्रो आफ्नै असिद्धताको कारण थुप्रै कुराहरूले हामीलाई पिरोल्छ जस्तै, अस्वस्थता, वृद्धावस्था, प्रियजनको मृत्यु, चित्त दुख्नु, परमेश्‍वरको वचन प्रचार गर्दा मानिसहरूको भावशून्यताले गर्दा हुने निराशा। तर नबिर्सनुहोस्‌, हामीले भोग्ने दबाबहरूले गर्दा लत्तो छोडेर हामी प्रचार नगएको अनि परमेश्‍वरको स्तरअनुसार नचलेको नै शैतान चाहन्छ। (एफिसी ६:११-१३) हामी बाँचिरहेको समयलाई ध्यानमा राख्दा अहिले अविलम्बी भाव गुमाउने बेला होइन!

२० दबाबले गर्दा हामीले लत्तो छोड्‌न सक्छौं भनी येशूलाई थाह थियो। त्यसैले उहाँले यस्तो सल्लाह दिनुभयो: “जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्‌, सो तिमीहरूले जान्दैनौ।” (मत्ती २४:४२) त्यसैले समयको दौडान हामी कहाँ छौं भनेर सधैं सचेत रहौं। शैतानका युक्‍तिहरूबारे हामी होसियार रहौं किनभने त्यसका युक्‍तिहरूले गर्दा हामी सत्यमा सेलाउन वा सत्यबाट पूरै तर्किन सक्छौं। परमेश्‍वरको राज्यको सुसमाचार अझ बढी जोस र कटिबद्धताका साथ प्रचार गर्ने संकल्प गरौं। “जागा रहो” भन्‍ने येशूको चेतावनी पालन गर्दै हरहालतमा हामी आफ्नो अविलम्बी भाव नगुमाऔं। यसो गर्दा हामीले यहोवाको महिमा गर्नेछौं र उहाँको अनन्त आशिष्‌ पनि पाउनेछौं।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• “जागा रहो” भन्‍ने चेतावनी साँचो मसीहीहरूको लागि नै हो भनेर कसरी भन्‍न सक्छौं?

• बाइबलका कस्ता चेतावनीमूलक उदाहरणहरूले हामीलाई ‘जागा रहन’ मदत गर्न सक्छ?

• इन्साफको समय के हो र त्यसको अन्त हुनुअघि हामीलाई के गर्न भनिएको छ?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

चोर जस्तै आशै नगरेको बेला आफ्नो आगमन हुनेछ भनेर येशूले भन्‍नुभयो

[पृष्ठ २४-मा भएको चित्र]

महान्‌ बबिलोनको विनाश नजिकै छ

[पृष्ठ २३-मा भएका चित्रहरू]

अझ धेरै जोस र कटिबद्धतासाथ प्रचार गर्न संकल्प गरौं