मेरा आमाबुबाको उदाहरणबाट बल पाएँ
जीवनी
मेरा आमाबुबाको उदाहरणबाट बल पाएँ
यानेज रेकेलको वृत्तान्तमा आधारित
सन् १९५८ को कुरा। म र मेरी पत्नी स्टान्का अस्ट्रियामा भागेर जान युगोस्लाभिया र अस्ट्रियाबीच अवस्थित करभङ्कन पर्वतमाला उक्लँदै थियौं। युगोस्लाभियाको गस्ती प्रहरीले कसैलाई यो सीमा पार गर्न नदिने भएकोले यो ठाउँ हुँदै भाग्नु खतरनाक थियो। अघि बढ्दै जाँदा हामी ठाडो भीरको टुप्पोमा आइपुगेछौं। हामी दुवैले अस्ट्रियापट्टिको करभङ्कन पर्वतमाला कहिल्यै देखेका थिएनौं। हामी पूर्वतिर अघि बढ्दै जाँदा ढुङ्गेनी भिरालो पाखामा आइपुग्यौं। तिरपालले आफूलाई बेरेर त्यो भिरालो पाखामा सुल्किंदै तलतिर झऱ्यौं। त्यसरी झर्न त झऱ्यौं तर अब जीवनले कस्तो मोड लिने हो केही थाह थिएन।
हामीले यो परिस्थिति किन भोग्नुपऱ्यो र कसरी मेरा आमाबाबुको असल उदाहरणले मलाई कठिन समयमा पनि यहोवाप्रति वफादार रहिरहन उत्प्रेरणा दियो, अब बताउन चाहन्छु।
म स्लोभेनियामा हुर्कें। यो अहिले मध्य युरोपको एउटा सानो मुलुक हो। युरोपको पर्वतमालामा पर्ने यो देशको उत्तरमा अस्ट्रिया, पश्चिममा इटाली, दक्षिणमा क्रोएसिया र पूर्वमा हंगेरी पर्छ। तथापि, मेरा आमाबाबु फ्रेन्ट्स र रोज्यालिया रेकेल जन्मेको समयमा स्लोभेनिया, अस्ट्रिया-हंगेरी साम्राज्यको भाग थियो। प्रथम विश्वयुद्धको अन्तपछि स्लोभेनिया एउटा नयाँ राज्यको भाग हुन गयो। त्यो नयाँ राज्यलाई सर्बियाली, क्रोएसियाली र स्लोभेनियालीको राज्य भनिन्थ्यो। सन् १९२९ मा यो देशको नाउँ युगोस्लाभिया भयो। यसको शाब्दिक अर्थ “दक्षिण स्लाभिया” हो। यसै सालको जनवरी ९ मा रमणीय ब्लेट ताल नजिकैको पोडहोम गाउँमा मेरो जन्म भएको थियो।
मेरी आमा कट्टर क्याथोलिक परिवारमा हुर्कनुभएको थियो। उहाँका एक जना काका पादरी र तीन जना फुपु नन
थिए। आमालाई आफ्नो पनि बाइबल होस् र त्यो पढेर बुझ्न पाए हुन्थ्यो भन्ने एकदमै इच्छा थियो। तथापि, मेरो बुबालाई भने धर्मप्रति खासै चासो थिएन। सन् १९१४-१९१८ मा भएको प्रथम विश्वयुद्धमा धर्मको भूमिका देखेर उहाँमा धर्मप्रति घृणा जागेको थियो।सच्चाइ सिक्दै
प्रथम विश्वयुद्ध अन्त भएको केही समयपछि, मेरी आमाका नातेदार यानेज ब्य्रायेस र उहाँकी पत्नी आन्चका यहोवाका साक्षी भए। त्यसताका यहोवाका साक्षीहरूलाई बाइबल स्टुडेन्ट्स भनिन्थ्यो। त्यतिबेला यानेज र आन्चका अस्ट्रियामा बस्नुहुन्थ्यो। मेरी आमासित बाइबलसम्बन्धी छलफल गर्न आन्चका सन् १९३६ देखि यता धेरै पटक उहाँलाई भेट्न आउनुभयो। आन्चकाले आमालाई बाइबल दिनुभएपछि उहाँले कुनै ढिलासुस्ती नगरी दिनहुँ पढ्न थाल्नुभयो। त्यसको साथै आन्चकाले स्लोभेनियाली भाषाको प्रहरीधरहरा र बाइबल आधारित अरू प्रकाशनहरू पनि आमालाई दिनुभयो। तर हिटलरले सन् १९३८ मा अस्ट्रिया कब्जा गरेपछि यानेज र आन्चका स्लोभेनिया फर्कनुभयो। उहाँहरू यहोवालाई अत्यन्त माया गर्ने शिक्षित र समझदार व्यक्तिहरू हुनुहुन्थ्यो। उहाँहरू मेरी आमासित बारम्बार बाइबल सत्यबारे छलफल गर्ने गर्नुहुन्थ्यो जसले गर्दा आमा आफ्नो जीवन यहोवालाई समर्पण गर्न उत्प्रेरित हुनुभयो। सन् १९३८ मा आमाले बप्तिस्मा लिनुभयो।
मेरी आमाले बाइबल सिद्धान्तसित नमिल्ने कुराहरू गर्न छोड्नुभएपछि त्यस इलाकामा तहल्का नै मच्चियो। जस्तो कि, उहाँले क्रिसमस मान्न छाड्नुभयो, रगतबाट बनेका परिकारहरू खाँदै खानुभएन। विशेष गरी उहाँले घरमा भएका मूर्तिहरू सबै जलाइदिनुभएपछि त्यसरी तहल्का मच्चिएको थियो। त्यसपछि त सतावटको बाढी नै आयो। मेरी आमाका नन बनेका फुपुहरूले उहाँलाई क्याथोलिक धर्ममा फर्क भनी चिट्ठी लेखेर निकै फकाए। तथापि, आमाले उहाँहरूलाई बाइबलबाट सोधेका प्रश्नहरूको उत्तर माग्दा भने कुनै जवाफ पठाएनन्। मेरो मामा घरका बाजेले पनि आमाको घोर विरोध गर्नुभयो। खासमा उहाँ त्यसरी विरोध गर्ने खालको व्यक्ति त हुनुहुन्नथ्यो तर उहाँलाई आफन्त र छरछिमेकबाट तीब्र दबाब आउने गर्थ्यो। फलतः उहाँले आमाको बाइबल साहित्यहरू धेरै पटक नष्ट गरिदिनुभयो। तर बाइबललाई चाहिं केही पनि गर्नुभएन। उहाँले पनि आमालाई क्याथोलिक चर्चमा फर्काउन हर प्रयास गर्नुभयो। छुरी देखाएर मार्ने धम्की समेत दिनुभयो। तब भने, मेरो बुबालाई असह्य भएछ र आफ्नी पत्नीलाई त्यसरी कठोर व्यवहार गरेको रत्ति पनि सहन सक्दिनँ भनेर उहाँले आफ्ना ससुरालाई अर्थात् मेरो बाजेलाई कडिकडाइ साथ भन्नुभयो।
आमालाई बाइबल पढ्न र आफूलाई मन परेको धर्म अँगाल्न बुबाले मदत गर्न कहिल्यै छोड्नुभएन। बुबाले पनि सन् १९४६ मा बप्तिस्मा लिनुभयो। यहोवाले मेरी आमालाई सतावट आइपर्दा निडर भई सच्चाइमा स्थिर रहन बल दिनुका साथै उहाँको अटल विश्वासको खातिर आशिष् दिनुभयो। यो देखेर म पनि परमेश्वरसित घनिष्ठता बढाउन उत्प्रेरित
भएँ। आमाले मलाई बाइबल र बाइबलमा आधारित प्रकाशनहरू पढेर सुनाउनुहुन्थ्यो। आमाको यो असल बानीबाट पनि मैले एकदमै लाभ उठाएँ।मेरी आमाले आफ्नी बहिनी मारिया रेपेसित पनि बाइबल सच्चाइबारे छलफल गर्नुभयो। यस्तो छलफल निकै लामो समयसम्म चल्थ्यो। अन्ततः मेरी उक्त सानी आमा मारिया र मैले सन् १९४२ जुलाई महिनाको बीचतिर सँगै बप्तिस्मा लियौं। एक जना भाइ बप्तिस्मा भाषण दिन आउनुभयो र हामीले हाम्रै घरको काठको नुहाउने टबमा बप्तिस्मा लियौं।
दोस्रो विश्वयुद्धको दौडान जबरजस्ती काममा लगाइयो
दोस्रो विश्वयुद्धको बीचतिर सन् १९४२ मा जर्मनी र इटालीले स्लोभेनियामाथि आक्रमण गरे। त्यसपछि, स्लोभेनियालाई जर्मनी, इटाली र हंगेरीले आपसमा बाँडे। मेरा आमाबाबु नाजीहरूको संगठन अर्थात् फोल्क्सबुन्ट-मा लाग्न मान्नुभएन। मैले स्कूलमा “हिटलरको जय होस्” भन्न मानिनँ। फलतः मेरो शिक्षकले त्यस घटनाबारे अफिसरहरूलाई उजुरी गरिदिए।
हामीलाई रेलमा चढाएर बभेरियाको हुटनबक गाउँ नजिकै पर्ने किल्लामा लग्यो। यो किल्लालाई जबरजस्ती काममा लगाइने शिविरको रूपमा प्रयोग गरिरहेको थियो। बुबाले मलाई पाउरोटी बनाउने स्थानीय व्यक्तिकोमा काम गर्ने र उनकै परिवारसित बस्ने चाँजो मिलाइदिनुभयो। यसै दौडान मैले पाउरोटी बनाउन सिकें र यो पाउरोटी बनाउने काम पछि गएर एकदमै कामलाग्ने सीप साबित हुन आयो। यसरी समय बित्दै जाँदा, मेरा परिवारका बाँकी सबै सदस्यहरूलाई (सानी आमा मारिया र उनका परिवारलगायत) गुन्जनहाउजन शिविरमा सारियो।
दोस्रो विश्वयुद्ध समाप्त भएपछि, आमाबाबु भएको ठाउँमा जान म केही मानिसहरूको साथ लागेर यात्रा गर्न लागेको थिएँ। यात्रा गर्नुभन्दा ठीक एक रातअघि बुबा टुप्लुक्क मकहाँ आइपुग्नुभयो। म जुन मानिसहरूसित यात्रा गर्न लागेको थिएँ, तिनीहरू असल मानिसहरू होइनन् भन्ने कुरा मलाई थाह थिएन। त्यसैले तिनीहरूको साथ लागेर गएको भए म कहाँ पुग्थें, अत्तोपत्तो हुँदैनथ्यो होला। फेरि एक पटक यहोवाको मायालु हातले मलाई सुमसुम्याउनुभएको महसुस गरें। किनकि उहाँले मेरा आमाबाबु चलाउनुभएर मलाई बचाउनुभयो र प्रशिक्षण दिनुभयो। परिवारका अरू सदस्यहरूलाई भेट्टाउन बुबा र मैले तीन दिन पैदल यात्रा गर्नुपऱ्यो। सन् १९४५ को जून महिनामा हामी सबै परिवार घर पुग्यौं।
दोस्रो विश्वयुद्धको अन्तपछि, युगोस्लाभियामा राष्ट्रपति जोसिप ब्रोज टिटोको नेतृत्वमा कम्युनिस्ट शासन चल्यो। फलतः यहोवाका साक्षीहरूको दयनीय अवस्था यथावत रह्यो।
सन् १९४८ मा अस्ट्रियाबाट एक जना भाइ आउनुभएको थियो र हाम्रो घरमा पनि खाना खान आउनुभयो। उहाँ स्थानीय भाइहरूलाई भेट्न जानुहुँदा प्रहरीले उहाँको पिछा गरिरहेको रहेछ। उहाँले भेटघाट गर्नुभएका ती सबै भाइहरूलाई प्रहरीले पक्रेर लगे। हामीले ती भाइलाई घरमा बोलाएको र उहाँ आउनुभएको खबर प्रहरीलाई नदिएको आरोपमा बुबा पनि पक्राउ पर्नुभयो। उहाँले जेलमा दुई वर्ष काट्नुभयो। यो घडी आमाको लागि एउटा बज्रपात नै थियो। किनभने एक त बुबा पक्राउ परिहाल्नुभो, त्यसको अलावा म र मेरो भाइले तटस्थताको कारण सतावट भोग्नुपर्नेछ भनेर उहाँलाई थाह थियो।
म्यासेडोनियामा कैदी जीवन
सन् १९४९ नोभेम्बरमा मलाई सैनिक सेवामा बोलाइयो। म त्यहाँ गएँ र सैनिक सेवा आफ्नो विश्वासको कारण गर्न सक्दिनँ भनेर बताएँ। अफिसरहरूले मेरो कुरै सुनेनन् र मलाई नयाँ भर्ती गरेको सैनिक डफ्फासितै रेलमा चढाएर युगोस्लाभियाको पल्लो छेउमा पर्ने म्यासेडोनियामा पुऱ्याए।
तीन वर्षसम्म मेरो आफ्नो परिवार र साक्षी भाइहरूसँग कुनै सम्पर्क हुन सकेन। साथै बाइबल र बाइबल आधारित साहित्य पनि पढ्न पाइनँ। साह्रै कठिन समय थियो। यहोवालाई सम्झेर अनि उहाँका पुत्र येशू ख्रीष्टको उदाहरण
मनमा लिएर ती खल्ला क्षणहरू पार गर्न सकें। मेरा आमाबाबुको उदाहरणले पनि मलाई बलियो बनाएको थियो। यसबाहेक, बल पाऊँ भनी निरन्तर प्रार्थना गर्दा पनि हतास हुनबाट म बचें।समयको अन्तरालमा, मलाई स्कोप्जे नजिकै इड्रिजोभोको जेलमा सारियो। यस जेलमा कैदी साथीहरू विभिन्न सीपमूलक कामहरू गर्थे। सुरु सुरुमा त म सरसफाइ गर्न र एक अफिसदेखि अर्को अफिसमा सूचना, सरसामान र चिट्ठीहरू लग्ने ल्याउने काममा खटिएँ। त्यहाँ एक जना यस्तो कैदी थियो जो पहिला प्रहरीको गुप्तचर विभागमा सेवा गर्थ्यो। उसले मलाई बारम्बार सताउने गर्थ्यो। त्यो कैदीबाहेक अरूसित भने मेरो राम्रो ठ्याक मिल्थ्यो। ती मिल्ने व्यक्तिहरूमा पाले, कैदी र जेलभित्रकै कारखानाको म्यानेजरसमेत थिए।
पछि, जेलमा पाउरोटी बनाउने व्यक्तिको दरकार परेको खबर सुनें। त्यसको केही दिनपछि, सदाझैं म्यानेजर हाम्रो हाजिर लिन आए। हामी लाइनमा उभिरहेका थियौं र उनी एक-एकको हाजिर गर्दै मेरो अघि आइपुगे र टक्क अडिएर सोधे: “के तिमी पाउरोटी बनाउने काम गर्थ्यौ?” मैले भनें: “हजुर।” उनले भने: “भोलि बिहानदेखि पाउरोटी बनाउने काममा जानू।” मलाई सताउने त्यो कैदी पाउरोटी बनाउने ठाउँको छेउबाटै आउने जाने गर्थ्यो तर केही गर्दैनथ्यो। मैले त्यहाँ सन् १९५० को फेब्रूअरीदेखि जुलाईसम्म काम गरें।
त्यसपछि मलाई प्रेस्पा ताल नजिकैको भोल्कोडेरी भनिने सैनिक ब्यारेकमा साऱ्यो। यो ब्यारेक म्यासेडोनियाको दक्षिणी भागमा पर्थ्यो। ओटेसोभो शहर नजिकैको यस ठाउँबाट म घरमा पत्राचार गर्न सक्थें। यहाँ म सडक निर्माण गर्ने कैदीहरूको टोलीमा काम गर्थें। तर धेरैजसो पाउरोटी बनाउने काममा नै व्यस्त हुन्थें। यो काम गर्न मलाई सजिलो पनि थियो। सन् १९५२ को नोभेम्बर महिनामा म जेलबाट छुटें।
म पोडहोममा नहुँदा त्यहाँ मण्डली स्थापित भइसकेको रहेछ। पहिला त्यस मण्डलीका सभाहरू स्पोडन्ये गोऱ्ये भनिने शहरको एउटा सानो होटेलमा सञ्चालन हुन्थ्यो। पछि, बुबाको अनुरोधमा त्यो मण्डली हाम्रै घरमा सऱ्यो। म्यासेडोनियाबाट फर्केपछि त्यस मण्डलीसित संगत गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो। म जेल जानुभन्दा अघि स्टान्कासित चिनजान बढेको थियो। जेलबाट फर्केपछि आपसमा मन साटासाट पनि गऱ्यौं। यसरी सन् १९५४ को अप्रिल २४ मा हामी विवाह बन्धनमा बाधियौं। तर, मेरा यी खुसीका दिनमा दुःखको कालो बादल छाउन केही बेर पनि लागेन।
मारिबोरमा कैदी जीवन
सन् १९५४ को सेप्टेम्बरमा मलाई फेरि सैनिक सेवामा बोलाइयो। यस पटक, मलाई मारिबोरमा साढे तीन वर्षभन्दा बढी जेल सजाय सुनाइयो। यो मारिबोर भन्ने ठाउँ स्लोभेनियाको पूर्वी भागमा पर्छ। त्यहाँ मैले मौका पाउने बित्तिकै नोटबुक र पेन्सिल किनिहालें। त्यसपछि, सम्झेका जति शास्त्रपदहरू, प्रहरीधरहरा र अन्य मसीही प्रकाशनका उद्धरणहरू लेख्न थालें। नोटबुकमा लेखेका कुराहरू पढ्थें र सम्झेका जति कुराहरू अझ थप्दै जान्थें। अन्ततः जसै मेरो जेल सजाय पूरा भयो, त्यो नोटबुकका सबै पन्नाहरू पनि लेखेर सकियो। जेलमा गरेका यी कार्यले गर्दा सच्चाइमा गहिरिन र आध्यात्मिकतामा दह्रो हुन सकें। प्रार्थना र मनन गरेर पनि मैले आध्यात्मिक बल पाएँ र यसले गर्दा म अझ बढी साहसी भई अरूलाई सच्चाइ बाँड्न सक्षम भएँ।
यस समयमा मैले एक महिनामा एउटा चिट्ठी पाउने र आफन्तसित १५ मिनेट भेट्न पाउने अनुमति पाएँ। स्टान्का रेलबाट रातभर लगाएर बिहान सबेरै जेलमा मलाई भेट्न आइपुग्ने गर्थिन्। यसरी बिहान चाँडै भेट्न आइपुग्दा त्यही दिन उनी घर फर्कन सक्थिन्। उनको यी आउजाउले मेरो धेरै हौसला बढायो। त्यसपछि, जेलभित्र बाइबल ल्याउने योजना बनाएँ। स्टान्का र म टेबलको आमनेसामने बसेर कुरा गरिरहेका हुन्थ्यौं र छेवैमा एउटा गार्ड हाम्रो निगरानी गर्दै उभिरहेको हुन्थ्यो। एक पटक मौका पाउनसाथ त्यस गार्डको आँखा छलेर स्टान्काको ब्यागमा एउटा चिट्ठी खुसुक्क हालिदिएँ। त्यस चिट्ठीमा, अर्को पाली आउँदा बाइबल पनि ब्यागमा हालेर ल्याउनु है भनेर लेखेको थिएँ।
स्टान्का र मेरा आमाबाबुले यसरी बाइबल लानु एकदमै खतरनाक ठाने। त्यसैले, उहाँहरूले मसीही युनानी धर्मशास्त्रका पन्नाहरू निकाली पाउरोटीभित्र हालेर पठाइदिनुभयो। यसरी मैले बाइबल प्राप्त गर्न सकें। त्यही तरिका अपनाएर स्टान्काले हातले सारेका प्रहरीधरहरा-का प्रतिहरू पनि पाउन सकें। म फेरि तुरुन्तै ती प्रतिहरूलाई सारेर अर्को प्रति बनाउँथें र पठाइदिएको प्रति चाहिं च्यातचुत पारिहाल्थें। यसो गर्दा मैले यी लेखहरू कहाँबाट पाएँ भनेर जेलमा थाह हुँदैनथ्यो।
मैले जेलमा जहिले पनि प्रचार गर्ने गरेकोले गर्दा मलाई पक्कै पनि झमेला आइपर्छ भनेर मेरा कैदी साथीहरू भन्ने गर्थे। एक समय, एक जना कैदी साथीसँग एकदमै रमाइलोसित बाइबल छलफल भइरहेको थियो। त्यति नै बेला कसैले ताला खोलेको खटक-खटक आवाज आयो र एउटा गार्ड स्वाट्ट भित्र पस्यो। अब चाहिं म एकल बन्दीगृहमा पर्ने भएँ भन्ने मलाई लागिहाल्यो। तर उक्त गार्ड आउनुको ध्येय त्यो थिएन। खासमा उनले हाम्रो वार्तालाप सुनिरहेका रहेछन् र उनी पनि बाइबलबारे छलफल गर्न चाहन्थे। आफ्ना प्रश्नको चित्तबुझ्दो जवाफ पाएपछि तिनी त्यो कोठा बन्द गरेर बाहिर निस्के।
मेरो जेल सजायको अन्तिम महिनातिर कैदी सुधार विभागको इन्चार्जले मलाई खुबै प्रशंसा गरे। किन? म आफ्नो धार्मिक विश्वासमा दृढ भएकोले। मलाई लाग्यो कि यहोवाको नाउँको खातिर मैले गरेको प्रयासको यो राम्रो इनाम हो। सन् १९५८ को मे महिनामा फेरि म जेलबाट छुटें।
भागेर अस्ट्रियातिर र त्यसपछि अस्ट्रेलिया
सन् १९५८ को अगस्तमा आमा बित्नुभयो। उहाँ केही समयदेखि बिमारी हुनुहुन्थ्यो। त्यसपछि फेरि सन् १९५८ सेप्टेम्बरमा मलाई तेस्रो पल्ट सैनिक सेवामा बोलाइयो। मलाई बोलावट आएको दिनको त्यही साँझ म र स्टान्काले जीवनमा एउटा ठूलो निर्णय गऱ्यौं। त्यो निर्णय थियो, आफ्नो जन्मथलो छाडी अस्ट्रियातिर भाग्ने। त्यसरी भाग्ने क्रममा पहाडी सिमाना पार गर्दै गरेको विवरण यस लेखको सुरुमै बताइसकें। यसरी कसैलाई थाह नदिई कुम्लोकुटुरो कसेर झ्यालबाट हामफाली स्टोल पर्वतको ठीक पश्चिममा पर्ने अस्ट्रियाको सीमातिर भागेका थियौं। यस्तो लाग्थ्यो, यहोवाले हामीलाई चाहिएकै बेला राहत दिनुभयो।
अस्ट्रियाका अफिसरहरूले हामीलाई साल्जबर्ग नजिकैको शरणार्थी शिविरमा पठाए। त्यहाँ बसेको छ महिनामा प्रायजसो हामी स्थानीय साक्षीहरूसितै हुनेभएकोले शिविरमा खासै धेरै समय बिताएनौं। शिविरमा हुने अरू व्यक्तिहरू हामीले कत्ति छिटो साथी बनाउन सकेको भनेर छक्क पर्थे। यसै समयताका हामी पहिलो पटक सम्मेलन गयौं। रोकटोकविना पहिलो पटक घर-घरको प्रचारकार्य गरेको पनि यहीं नै थियो। ती प्रिय मित्रहरूसित छुट्टिनुपर्दा साह्रै नरमाइलो लागेको थियो।
अस्ट्रियाका अधिकारीहरूले हामीलाई अस्ट्रेलिया जाने सुझाव दिए। त्यति टाढा जाने कुरा सपनामा पनि चिताएका थिएनौं। हामी रेलबाट इटालीको जेनोआसम्म गयौं र त्यसपछि अस्ट्रेलिया जाने जहाज चढ्यौं। अन्तमा अस्ट्रेलियाको न्यु साउथ वेल्सको वोलोङ्गङ शहरमा हामी बसोबास गर्न थाल्यौं। यहीं नै, सन् १९६५ को मार्च ३० मा हाम्रो छोरो फिलिप जन्मियो।
अस्ट्रेलियामा बस्दा हाम्रो निम्ति सेवाका थुप्रै ढोकाहरू खोलिए। जस्तो, युगोस्लाभियाबाट अस्ट्रेलिया बसाइँ सरेका मानिसहरूलाई प्रचार गर्ने मौका पायौं। हामी सबै परिवारका सदस्यहरू यहोवाप्रति आभारी छौं किनकि उहाँले हामीलाई उहाँको सेवामा लगाउनुभएर आशिष् दिनुभएको छ। छोरा फिलिप र बुहारी सुजीले अस्ट्रेलिया शाखामा सेवा गर्ने सुअवसर पाएका छन्। तिनीहरूले स्लोभेनियाको शाखा कार्यालयमा पनि दुई वर्ष सेवा गर्ने सुअवसर पाए।
ढल्कँदो उमेर र बिग्रँदो स्वास्थ्यसित जुझ्नुपरे तापनि म र मेरी श्रीमती यहोवाको सेवामा रमाइरहेका छौं। मेरा आमाबाबुको त्यो असल उदाहरणलाई अझसम्म ठूलो मोलको ठान्छु! उहाँहरूको उदाहरणबाट प्रेरित पावलले “आशामा आनन्द गर सङ्कष्टमा स्थिर रहो, प्रार्थनामा अटुटसँग लागिरहो” भनेझैं गर्न बल पाइरहेका छौं।—रोमी १२:१२.
[पृष्ठ १६, १७-मा भएको चित्र]
सन् १९२० दशकको अन्ततिर मेरा आमाबाबु
[पृष्ठ १७-मा भएको चित्र]
दायाँपट्टि मेरी आमा र उहाँलाई सच्चाइ सिकाउने आन्चका
[पृष्ठ १८-मा भएको चित्र]
हाम्रो विवाहको लगत्तैपछि मेरी श्रीमती स्टान्कासित
[पृष्ठ १९-मा भएको चित्र]
सन् १९५५ मा हाम्रो घरमा भेला भएको मण्डली
[पृष्ठ २०-मा भएको चित्र]
श्रीमती, छोरा फिलिप र बुहारी सुजीसित