सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अभिमानी हुनदेखि होसियार!

अभिमानी हुनदेखि होसियार!

अभिमानी हुनदेखि होसियार!

“परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ।”—याकूब ४:६.

१. उचित प्रकारको घमन्डको एउटा उदाहरण दिनुहोस्‌।

 के तपाईंको छाती कहिल्यै गर्वले फुलेको छ? हामीमध्ये धेरैजसोले यस्तो खुसीको क्षण महसुस गरेका छौं। कहिलेकाहीं गर्व महसुस गर्नु राम्रै हो। उदाहरणको लागि, आफ्नो छोरा वा छोरीले असल आचरण देखाएको र राम्रो अंक ल्याएर पास भएको स्कूलको रिपोर्ट पढ्‌दा आमाबाबु मक्ख पर्छन्‌। सतावट भोगेर पनि विश्‍वासमा अडिग रहेका भाइहरूको लागि नयाँ मण्डली स्थापना गर्न योगदान पुऱ्‍याउन सकेकोमा प्रेरित पावल र तिनका साथीहरूले घमन्ड गरे।—१ थिस्सलोनिकी १:१, ६; २ १९, २०; २ थिस्सलोनिकी १:१, ४.

२. घमन्डी हुनु किन राम्रो होइन?

माथि उल्लिखित उदाहरणहरूबाट घमन्डले कुनै काम गर्दा अथवा कुनै कुरा पाउँदा महसुस हुने खुसीलाई बुझाउन सक्छ। तर घमन्ड शब्दले अक्सर आफ्नो क्षमता, रूप, धन वा ओहदाको कारण उत्पन्‍न हुने अनुचित आत्मसम्मान र श्रेष्ठताको भावलाई पनि बुझाउँछ। अभिमानी व्यक्‍तिको विचारधारा अनि हावभावमा मात्र यस्तो घमन्डीपना देखिन्छ। हामी मसीहीहरू यस किसिमको घमन्ड गर्नदेखि होसियार हुनै पर्छ। किन? किनभने हामीसित स्वार्थी हुने जन्मजात झुकाव छ, जुन स्वार्थ हाम्रो पुर्खा आदमबाट हामीमा सरेको हो। (उत्पत्ति ८:२१) त्यसैकारण पनि हाम्रो मन बित्थामा घमन्डले फुल्न सक्छ। उदाहरणको लागि, मसीहीहरूले आफ्नो जात, धन-सम्पत्ति, शिक्षा, योग्यता वा कामबारे फुर्ती लाउनु कदापि ठीक होइन। यस्ता कुराहरूबाट उत्पन्‍न हुने घमन्ड कुनै पनि हालतमा उचित होइन र यसले यहोवालाई दुःखी तुल्याउँछ।—यर्मिया ९:२३; प्रेरित १०:३४, ३५; १ कोरिन्थी ४:७; गलाती ५:२६; ६:३, ४.

३. अभिमान भनेको के हो र यस विषयमा येशूले के भन्‍नुभयो?

अनुचित घमन्ड त्याग्नुपर्ने अर्को पनि कारण छ। मनमा अनुचित घमन्ड बढ्‌न दियौं भने यही घमन्ड पछि अभिमानमा परिणत हुन सक्छ। अभिमान के हो? अभिमानी व्यक्‍तिले आफूलाई अरूभन्दा श्रेष्ठ ठान्छ र अरू मानिस उसको नजरमा तुच्छ हुन्छ किनभने उसले अरूलाई मान्छे नै गन्दैन। (लूका १८:९; यूहन्‍ना ७:४७-४९) येशूले “घमण्ड” अर्थात्‌ अभिमानलाई “मानिसका हृदयबाट” निस्कने र “मानिसलाई अशुद्ध” पार्ने अरू दुर्गुणहरूकै सूचीमा राख्नुभयो। a (मर्कूस ७:२०-२३) यसबाट घमन्डी हुनदेखि होसियार हुनु कत्ति महत्त्वपूर्ण छ भनेर मसीहीहरूले बुझ्न सक्छन्‌।

४. बाइबलमा उल्लेख गरिएका अभिमानी व्यक्‍तिहरूको उदाहरण केलाउँदा कस्तो मदत पाउन सकिन्छ?

बाइबलमा उल्लेख गरिएका अभिमानी व्यक्‍तिहरूको विवरण केलाएर हेर्नुभयो भने तपाईं अभिमानी हुनदेखि जोगिन सक्नुहुन्छ। यसरी तपाईंले आफूमा हुन सक्ने अथवा समय बित्दै जाँदा आफूभित्र विकास हुन सक्ने अनुचित घमन्ड ठम्याउन सक्नुहुनेछ। तपाईंलाई अभिमानी बनाउन सक्ने विचारधारा र भावना मनबाट हटाउन पनि यसले मदत गर्नेछ। फलस्वरूप, आफूले दिएको चेतावनीअनुसारै परमेश्‍वरले कदम चाल्नुहुँदा तपाईंले नमीठो परिणाम भोग्नुपर्नेछैन। परमेश्‍वरले यस्तो चेतावनी दिनुभएको छ: “घमण्डले फूलेकाहरूलाई म त्यस बेला तिमीहरूका बीचबाट निकाल्नेछु, र मेरो पवित्र पहाडमा तँ फेरि अहंकारी हुनेछैनस्‌।”—सपन्याह ३:११.

परमेश्‍वर अभिमानीहरूलाई सहनुहुन्‍न

५, ६. फिरऊनले कसरी अभिमान देखाए र त्यसको परिणाम के भयो?

फिरऊनजस्ता शक्‍तिशाली शासकहरूसित यहोवाले जसरी व्यवहार गर्नुभयो, त्यसबाट पनि यहोवालाई अभिमानी व्यक्‍ति कस्तो लाग्छ सो तपाईं बुझ्न सक्नुहुन्छ। फिरऊन अभिमानी व्यक्‍ति थिए भन्‍ने कुरामा शङ्‌कै छैन। आफैलाई देवता ठानेर तिनले आफ्ना दास इस्राएलीहरूलाई तुच्छ ठाने। उजाडस्थानमा यहोवाको निम्ति “चाड मनाउन” इस्राएलीहरूलाई जान दिनुस्‌ भनेर आग्रह गर्दा तिनले कस्तो प्रतिक्रिया देखाए, याद गर्नुहोस्‌। अभिमानी फिरऊनले ओठे जवाफ फर्काउँदै भने, “परमप्रभु [“यहोवा,” NW] को हो, र म तिनको कुरा सुनेर इस्राएलीहरूलाई जानदिऊँ?”—प्रस्थान ५:१, २.

छैटौं विपत्तिपछि यहोवाले मोशामार्फत मिश्री शासक फिरऊनलाई यसो भन्‍नुभयो: “अझै पनि मेरो प्रजालाई जान नदिएर तँ आफै खूब ठूलो बन्छस्‌?” (प्रस्थान ९:१७) त्यसपछि मोशाले सातौं विपत्तिबारे बताए र त्यो विपत्ति थियो—असिनाको वर्षा। नभन्दै घनघोर असिना बर्सेर बालीनाली सखाप भयो। दसौं विपत्तिपछि फिरऊनले इस्राएलीहरूलाई मिश्र देशबाट जान मात्र के दिएका थिए तिनले आफ्नो मन परिवर्तन गरिहाले र इस्राएलीहरूलाई खेद्‌न थाले। अन्तमा, फिरऊन र तिनका सेनाहरू लाल समुद्रमा नराम्रोसँग फसे। समुद्रमा डुब्दा तिनीहरूलाई कस्तो लाग्यो होला, सोच्नुहोस्‌ त! अभिमानी हुँदा फिरऊनले साह्रै नमीठो परिणाम भोगे। फिरऊनका विशिष्ट सेनाले यसो भने: “हामी इस्राएलीहरूदेखि भागौं, किनकि परमप्रभु तिनीहरूका पक्षमा भएर मिश्रीहरूका विरुद्धमा लडदै हुनुहुन्छ।”—प्रस्थान १४:२५.

७. बेबिलोनका शासकहरूले कसरी अभिमान देखाए?

अरू अभिमानी शासकहरूले पनि यहोवाको हातबाट अपमानजनक पराजय भोगे। ती शासकहरूमध्ये एक अश्‍शूरका राजा सनहेरीब थिए। (यशैया ३६:१-४, २०; ३७:३६-३८) अन्तमा, बेबिलोनले अश्‍शूर देश कब्जा गऱ्‍यो तर बेबिलोनका दुई अभिमानी राजाले पनि यहोवाको हातबाट नमीठो पराजय भोगे। राजा बेलसजरले आयोजना गरेको भोज सम्झिनुहोस्‌ त। त्यस भोजमा राजा बेलसजर अनि तिनका पाहुनाहरूले यहोवाको मन्दिरबाट ल्याएका भाँडा-कुँडामा दाखमद्य पिए अनि बेबिलोनका देवताहरूको प्रशंसा गरे। भोजको रमझममा सबैजना मस्त भइरहेको बेला एक्कासि मानिसको हातको औंला देखापऱ्‍यो र भित्तामा केही लेख्न थाल्यो। त्यस रहस्यमय लेखोटको अर्थ खोल्न लगाउँदा अगमवक्‍ता दानियलले बेलसजरलाई एउटा कुरा सम्झाए: “सर्वोच्च परमेश्‍वरले हजूरका पिता नबूकदनेसरलाई एउटा राज्य . . . दिनुभएको थियो। जब तिनी . . . अभिमानी भए तब तिनी आफ्न सिंहासनबाट खसालिए र तिनको गौरव तिनीबाट खोसियो। औ हजूर तिनकै छोरा बेलसजरले यी सबै कुरा जानेर पनि आफ्नो हृदयलाई नम्र तुल्याउनुभएन।” (दानियल ५:३, १८, २०, २२) त्यही रात मादी-फारसी सेनाले बेबिलोन कब्जा गऱ्‍यो र बेलसजर मारिए।—दानियल ५:३०, ३१.

८. विभिन्‍न अभिमानी व्यक्‍तिहरूसित यहोवाले कस्तो व्यवहार गर्नुभयो?

यहोवाका जनहरूलाई तुच्छ ठान्‍ने अरू अभिमानी व्यक्‍तिहरूबारे पनि विचार गर्नुहोस्‌: पलिस्ती राक्षस गोल्यत, फारसी प्रधानमन्त्री हामान र यहूदा प्रान्तभरि शासन गर्ने राजा हेरोद अग्रिपा। तिनीहरू अभिमानी भएको कारण यहोवाले तीनै जनालाई अपमानजनक ढङ्‌गमा खत्तम पार्नुभयो। (१ शमूएल १७:४२-५१; एस्तर ३:५, ६; ७:१०; प्रेरित १२:१-३, २१-२३) ती अभिमानी व्यक्‍तिहरूसित यहोवाले जस्तो व्यवहार गर्नुभयो त्यसबाट यस सत्य कुराको पुष्टि हुन्छ: “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।” (हितोपदेश १६:१८) साँच्चै, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ” भन्‍ने कुरामा शङ्‌का नगरे हुन्छ।—याकूब ४:६.

९. टायरका राजाहरू कसरी धोकेबाज निस्के?

मिश्र, अश्‍शूर र बेबिलोनका अभिमानी राजाहरूजस्तो नभई टायरका राजाले कुनै समय परमेश्‍वरका जनहरूलाई निकै मदत गरेका थिए। राजा दाऊद र सुलेमानको शासनकालमा टायरका राजाले राजदरबार अनि परमेश्‍वरको मन्दिर बनाउन दक्ष सिकर्मी तथा डकर्मी र निर्माण सामग्रीहरूको बन्दोबस्त मिलाएका थिए। (२ शमूएल ५:११; २ इतिहास २:११-१६) तर अफसोस, समय बित्दै जाँदा टायरका राजाहरू यहोवाका जनहरू विरुद्ध जाइलागे। के कारण तिनीहरूले त्यस्तो व्यवहार गरे?—भजन ८३:३-७; योएल ३:४-६; आमोश १:९, १०.

“तेरो हृदय गर्वले फुलियो”

१०, ११. (क) टायरका राजाहरूलाई कोसित तुलना गर्न सकिन्छ? (ख) इस्राएलीहरूलाई हेर्ने टायरका राजाहरूको मन किन बदलियो?

१० यहोवाले अगमवक्‍ता इजकिएललाई टायरको राजघरानाको कर्तुत पर्दाफास गर्न र त्यसको पतनबारे घोषणा गर्न लगाउनुभयो। “टायरको राजा[लाई]” सम्बोधन गरिएको इजकिएलको सन्देशमा टायरको राजघराना र सुरुको धोकेबाज शैतान, जो “सत्यमा ठहरेन” ती दुवैलाई सुहाउने अभिव्यक्‍ति चलाइएको छ। (इजकिएल २८:१२; यूहन्‍ना ८:४४) कुनै समय शैतान पनि यहोवाको स्वर्गीय संगठनकै वफादार स्वर्गदूत थियो। टायरको राजघराना र शैतान दुवै यहोवादेखि तर्किनुको मुख्य कारण यहोवा परमेश्‍वरले इजकिएलमार्फत यसरी बताउनुभयो:

११ “परमेश्‍वरको बगैंचा अदनमा तँ थिइस्‌, . . . हरेक बहुमूल्य रत्नले . . . तँ आभुषित थिइस्‌। तँ . . . एक अभिषेक गरिएका करूब [थिइस्‌] . . . तँ सृजिएको दिनदेखि अधर्म तँमा फेला नपरेको दिनसम्म तेरो चाल–ढङ्‌गमा तँ निर्दोष थिइस्‌। तेरो व्यापार प्रशस्त हुँदा तँ अत्याचारले भरिइस्‌, र तैंले पाप गरिस्‌। यसैकारण मैले तँलाई . . . फालिदिएँ। पहरा दिने करूब . . . तेरो सुन्दरताले गर्दा तेरो हृदय गर्वले फुलियो, तैंले आफ्नो गौरवको खातिर तेरो बुद्धिलाई भ्रष्ट पारिस्‌।” (इजकिएल २८:१३-१७) हो, अभिमानले गर्दा टायरका राजाहरू यहोवाका जनहरू विरुद्ध जाइलागे। टायर अत्यन्तै धनी देश थियो किनभने टायर व्यापारिक केन्द्र हुनुका साथै त्यस देशको सहरमा उत्पादन गरिने सुन्दर सरसामान अत्यन्तै लोकप्रिय थिए। (यशैया २३:८, ९) टायरका राजाहरू साह्रै अभिमानी भए र परमेश्‍वरका जनहरूलाई थिचोमिचो गर्न थाले।

१२. शैतानले किन छल गऱ्‍यो र त्यसले के गर्न छोडेको छैन?

१२ त्यस्तै गरी, पछि शैतान बनेको स्वर्गदूतसित पनि परमेश्‍वरले दिनुभएको जिम्मेवारी पूरा गर्न सक्ने बुद्धि थियो। तर कस्तो अचम्म! कृतज्ञताले ओतप्रोत हुनुको सट्टा त्यो ‘घमन्डले फुल्यो’ र परमेश्‍वरको शासनको विरोध गर्न थाल्यो। (१ तिमोथी ३:६) शैतानले आफूलाई यत्ति महत्त्व दिन थाल्यो कि आदम र हव्वाले परमेश्‍वरलाई चढाइरहेको उपासनाको त्यसले लालच गर्न थाल्यो। यस्तो दुष्ट विचार मनमा खेलाइरहेको कारण त्यसले पाप गऱ्‍यो। (याकूब १:१४, १५) परमेश्‍वरले जुन रूखको फल नखानू भन्‍नुभएको थियो त्यही रूखको फल खान शैतानले हव्वालाई बहकायो। त्यसपछि, शैतानले हव्वालाई चलाएर आदमलाई पनि त्यो निषेधित फल खान लगायो। (उत्पत्ति ३:१-६) यसरी, प्रथम मानव जोडीले परमेश्‍वरको शासनलाई तिरस्कार गरे र शैतानको उपासना गर्न थाले। शैतानको अभिमानको कुनै सीमा थिएन। आफ्नो उपासना गर्न लगाएर यहोवाको सार्वभौमिकतालाई तिरस्कार गर्न लगाउन त्यसले येशू ख्रीष्टलगायत स्वर्ग अनि पृथ्वीमा भएका जम्मै बौद्धिक प्राणीहरूलाई बहकाउने कोसिस गरिसकेको छ।—मत्ती ४:८-१०; प्रकाश १२:३, ४, ९.

१३. अभिमानको परिणाम के भएको छ?

१३ अभिमानको मूल जरो शैतान हो भन्‍ने कुरा त तपाईंले देखिहाल्नुभो। शैतानको यही अभिमानले गर्दा संसारमा पाप आयो, दुःखकष्ट र भ्रष्ट कुरा व्याप्त भयो। “यस संसारको देव” नै शैतान भएको हुँदा त्यसले घमन्ड र अभिमानको अनुचित भावलाई बढाउन छोडेको छैन। (२ कोरिन्थी ४:४) आफ्नो समय सकिनै लागेको छ भन्‍ने कुरा त्यसलाई राम्रोसँग थाह छ, त्यसैकारण त त्यसले साँचो मसीहीहरू विरुद्ध युद्ध लडिरहेको छ। त्यसको लक्ष्य भनेकै मसीहीहरूलाई परमेश्‍वरबाट टाढा पार्नु, स्वार्थी, अहंकारी र हठी बनाउनु हो। “आखिरी दिनमा” यस्ता दुर्गुणहरू छ्यासछ्यास्ती देखिनेछन्‌ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो।—२ तिमोथी ३:१, २; प्रकाश १२:१२, १७.

१४. आफ्ना बौद्धिक प्राणीहरूसित यहोवा कुन आधारमा व्यवहार गर्नुहुन्छ?

१४ शैतानको अभिमानले निम्त्याएका दुर्गुणहरू येशू ख्रीष्टले निडरतासाथ पर्दाफास गर्नुभयो। यहोवाले मानिसजातिसित कुन आधारमा व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा आफूलाई बडो धर्मी ठान्‍ने शत्रुहरूको अगाडि येशूले कम्तीमा पनि तीन चोटि प्रस्ट पार्नुभयो: “जसले आफूलाई ठूलो तुल्याउँछ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ, त्योचाहिं ठूलो हुनेछ।”—लूका १४:११; १८:१४; मत्ती २३:१२.

अभिमानी हुनदेखि होसियार!

१५, १६. हागार किन अभिमानले फुलिन्‌?

१५ भर्खरै चर्चा गरेका अभिमानी व्यक्‍तिहरूको उदाहरण विशिष्ट व्यक्‍तिहरूको हो भनेर त तपाईंले थाह पाइसक्नुभयो होला। के यसको मतलब सर्वसाधारण मानिसचाहिं अभिमानी हुँदै-हुँदैनन्‌ भनेको हो? त्यसो त पक्कै होइन। अब्राहामको परिवारमा घटेको एउटा घटना विचार गर्नुहोस्‌। कुलपिता अब्राहामको वंश चलाउने सन्तान थिएन र तिनकी पत्नी साराको पनि बच्चा जन्माउने उमेर कटिसकेको थियो। उसबेला अब्राहामको अवस्थामा भएको व्यक्‍तिले दोस्रो स्वास्नी बिहे गरेर छोराछोरी जन्माउने चलन थियो। परमेश्‍वरले त्यसरी विवाह गर्न दिनुभयो किनभने आफ्ना साँचो उपासकहरूमाझ उहाँले सुरुमा स्थापना गर्नुभएको विवाहसम्बन्धी स्तर पुनः लागू गर्ने समय भइसकेको थिएन।—मत्ती १९:३-९.

१६ आफ्नी पत्नीले आग्रह गरेपछि अब्राहाम साराकी मिश्री कमारी हागारबाट सम्भावित वंश जन्माउन राजी भए। अब्राहामको उप-पत्नी भएपछि हागार गर्भवती भइन्‌। आफूले पाएको सम्मानजनक स्थानको लागि हागार कृतज्ञताले ओतप्रोत हुनुपर्ने थियो। तर तिनी अभिमानले फुलिन्‌। बाइबल यसो भन्छ: “जब त्यसले म गर्भवती भईछु भनी थाह पाई तब त्यसले आफ्नो मालिक्नीलाई तुच्छ दृष्टिले हेर्नलागी।” तिनको त्यस्तो मनोवृत्तिले गर्दा अब्राहामको परिवारमा यतिबिघ्न कलह मच्चियो कि साराले हागारलाई घरबाट निकालिदिइन्‌। तर त्यो समस्या सुल्झाउन सकिन्थ्यो। परमेश्‍वरको स्वर्गदूतले हागारलाई यस्तो सल्लाह दिए: “तेरी मालिक्नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्‌।” (उत्पत्ति १६:४, ९) खुसीको कुरा हागारले स्वर्गदूतको सल्लाह स्वीकारिन्‌, सारालाई हेर्ने आफ्नो दृष्टिकोणमा छाँटकाँट गरिन्‌ र धेरैभन्दा धेरै मानिसहरूको पुर्खा बनिन्‌।

१७, १८. अभिमानी नहुन हामी सबैजना होसियार हुनु जरुरी छ, किन?

१७ आफ्नो अवस्था सुध्रिंदा मानिस अभिमानले फुल्न सक्छ भन्‍ने कुरा हागारको घटनाले प्रस्ट पार्छ। यसबाट एउटा पाठ सिक्न सकिन्छ—चोखो मनले परमेश्‍वरको सेवा गर्ने मसीहीसमेत धन-सम्पत्ति कमाएपछि अथवा अख्तियार पाएपछि अभिमानले फुल्न सक्छ। आफूले प्राप्त गरेको सफलता, बुद्धि वा दक्षताबारे कसैले तिनको गुनगान गर्दा पनि त्यस किसिमको मनोभाव पैदा हुन सक्छ। हो, एक जना मसीही अभिमानी हुनदेखि होसियार हुनुपर्छ। विशेष गरी सफलता हात लाग्दा अथवा थप जिम्मेवारी पाउँदा तिनी झन्‌ होसियार हुनै पर्छ।

१८ अभिमानी हुनदेखि होसियार हुनुपर्ने सबैभन्दा सशक्‍त कारण त यस दुर्गुणप्रति यहोवाको दृष्टिकोण हो। यहोवाको वचन भन्छ: “अभिमानी आँखा र घमण्डी हृदय—यिनै पापबाट दुष्ट मानिसहरू चिनिन्छन्‌।” (हितोपदेश २१:४) चाखलाग्दो कुरा के छ भने, बाइबलले “यस वर्त्तमान संसारका धनी” मसीहीहरूलाई “घमण्डी” अर्थात्‌ अभिमानी नहुन तोकेरै चेतावनी दिन्छ। (१ तिमोथी ६:१७; व्यवस्था ८:११-१७) गरिब मसीहीहरूले चाहिं धनी मसीहीहरूप्रति “कुदृष्टि” राख्नु अथवा उनीहरूको ईर्ष्या गर्नु हुँदैन। अभिमान भन्‍ने कुरा धनी/गरिब कुनै पनि व्यक्‍तिको मनमा उब्जिन सक्छ भनेर मसीहीहरूले बिर्सनु हुँदैन।—मर्कूस ७:२१-२३; याकूब ४:५.

१९. उज्जियाहले आफूले कमाएको राम्रो नाउँ कायम राख्न सकेनन्‌, कसरी?

१९ अभिमानलगायत अरू दुर्गुणले यहोवासितको असल सम्बन्धलाई खत्तम पारिदिन सक्छ। उदाहरणको लागि, राजा उज्जियाहको शासनको सुरु-सुरुका दिनहरूलाई विचार गर्नुहोस्‌: “तिनले . . . परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। . . . परमेश्‍वरको अगुवाइ खोज्नमा तिनले मन-तन लगाए। परमप्रभुलाई खोज्दै रहुञ्जेलसम्म परमेश्‍वरले तिनलाई फलिफाप गराइदिनुभयो।” (२ इतिहास २६:४, ५) तर दुःखको कुरा, राजा उज्जियाहले आफूले कमाएको राम्रो नाउँ कायम राख्न सकेनन्‌ किनभने “अहंकारले गर्दा तिनको पतन भयो।” तिनी यति साह्रो अभिमानी भए कि धूप बाल्न आफै मन्दिरभित्र पसे। आफ्नो अधिकारमा नपर्ने काम नगर्न पूजाहारीहरूले चेतावनी दिंदा उज्जियाह “क्रोधित भए।” फलस्वरूप, यहोवाले तिनलाई कोरले प्रहार गर्नुभयो र तिनी परमेश्‍वरको नजरमा बदनाम भएर मरे।—२ इतिहास २६:१६-२१.

२०. (क) राजा हिजकियाहको असल नाउँ कसरी झन्डै माटोमा मिल्न लागेको थियो? (ख) अर्को लेखमा हामी कुन विषयमा छलफल गर्नेछौं?

२० उज्जियाह र राजा हिजकियाहको उदाहरण तपाईं तुलना गरेर हेर्न सक्नुहुन्छ। एक चोटि राजा हिजकियाहको असल नाउँ झन्डै माटोमा मिल्न लागेको थियो किनकि तिनी “अभिमानी भए।” तर खुसीको कुरा, “हिजकियाहले . . . पश्‍चात्ताप गरे” र फेरि परमेश्‍वरको अनुग्रह पाए। (२ इतिहास ३२:२५, २६, NRV) याद गर्नुहोस्‌, हिजकियाह नम्र भएको कारण तिनले आफ्नो अभिमान त्याग्न सके। हो, अभिमानको ठीक विपरीत गुन नम्रता हो। त्यसैकारण, अर्को लेखमा हामी मसीही नम्रता कसरी खेती गर्ने र त्यसलाई कायम राख्ने भन्‍ने विषयमा छलफल गर्नेछौं।

२१. नम्र मसीहीहरूले कुन कुरा आशा गर्न सक्छन्‌?

२१ तर अभिमानी हुँदा कस्ता-कस्ता दुर्गुणहरू उत्पन्‍न भए भनेर पनि हामी नबिर्सौं। “परमेश्‍वरले अभिमानीहरूको विरोध” गर्नुहुने भएकोले आउनुहोस्‌, मनमा घमन्डी मनोभाव उब्जिनासाथ त्यसलाई हटाइहाल्न कटिबद्ध होऔं। नम्र मसीहीहरू हुने कोसिस गऱ्‍यौं भने परमेश्‍वरको महान्‌ दिनमा पृथ्वीबाट अभिमानी व्यक्‍ति र तिनीहरूले देखाउने दुर्गुणहरू हटाइँदा हामी बच्ने आशा गर्न सक्छौं। त्यतिबेला “मानिसको अभिमान खसालिनेछ, र मानिसहरूका सेखी झारिनेछ। त्यस दिन परमप्रभु मात्र उच्च हुनुहुनेछ।”—यशैया २:१७.

[फुटनोट]

aअभिमान” भनी अनुवाद गरिएको मूल युनानी शब्दलाई नेपाली बाइबलमा गर्व, घमन्डअहंकार भनेर पनि अनुवाद गरिएको छ।

मननका लागि बुँदाहरू

• कस्तो व्यक्‍तिलाई तपाईं अभिमानी भन्‍नुहुन्छ?

• अभिमानको सुरुवात कसरी भयो?

• कुन कुराले मानिसलाई अभिमानी बनाउन सक्छ?

• अभिमानी हुनदेखि हामी किन होसियार हुनै पर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

अभिमानी भएको कारण फिरऊनले अपमानजनक पराजय भोग्नुपऱ्‍यो

[पृष्ठ २४-मा भएको चित्र]

सम्मानजनक स्थान पाएपछि हागार अभिमानले फुलिन्‌

[पृष्ठ २५-मा भएको चित्र]

हिजकियाहले आफूलाई नम्र तुल्याए र फेरि परमेश्‍वरको अनुमोदन पाए