“कोही-कोही जहाज चढी समुद्रमा गए”
“कोही-कोही जहाज चढी समुद्रमा गए”
संयुक्त राज्य अमेरिकाको म्यासाच्युसेट्स, ग्लास्टर बन्दरगाहमा एउटा काँसाको सालिक छ। त्यो सालिक आफ्नो जहाजलाई तुफानबाट बचाउन स्टेरिङ घुमाइरहेका मानिसको हो। समुद्रमा मरेका हजारौं ग्लास्टर माझीहरूको सम्झनामा त्यो सालिक निर्माण गरिएको हो। सालिकको तलतिर र सालिक नजिकैको पाटीमा भजन १०७:२३, २४ का शब्दहरू लेखिएका छन्: “कोही-कोही जहाज चढी समुद्रमा गए, तिनीहरू महासागरमाथिका व्यापारी थिए। तिनीहरूले परमप्रभुका कार्यहरू देखे, सागरका गहिराइमा तिनीहरूले उहाँका आश्चर्य कार्यहरू देखे।”—नयाँ संशोधित संस्करण।
आन्ध्र महासागरका कतिपय तटहरूमा धेरै माछा पाइन्छ तर त्यहाँ माछा मार्नु जोखिमपूर्ण पनि छ। भनिन्छ, वर्षौंको दौडान लगभग ३०,००० भन्दा अलि बढी जनसंख्या भएको ग्लास्टरमा ५,३६८ जनाले समुद्रमा माछा मार्दा-मार्दै ज्यान गुमाएका थिए। सालिकमा यस्तो लेखिएको छ: “उत्तरपूर्वी दिशाबाट आएको समुद्री तुफान र डरलाग्दो छालमा परेर कतिले ज्यान गुमाए भने, कोही जहाजबाट डुङ्गा छुट्टिंदा डुबेर मरे। केही जहाजहरू आँधीबेहरीमा परेर त केही स्टिमरहरूसित ठोक्किएर डुबे।”
त्यो सालिक शताब्दीयौंको दौडान माझीहरूले भोगेको दुःख र खतराको एउटा दुःखद प्रतीक बनेको छ। आफ्ना पति, बुबा, दाजुभाइ र छोराहरूले ज्यान गुमाउँदा उनीहरूका परिवार कत्ति रोए होलान्, सोच्नुहोस् त! तर यहोवा परमेश्वरले विधवा, टुहुराटुहुरी अथवा समुद्रमा ज्यान गुमाएका व्यक्तिहरूलाई बिर्सनुहुन्न। उनीहरूको भविष्यबारे प्रेरित यूहन्नाले यसो भने: “समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले।” (प्रकाश २०:१३) उनीहरूको पुनरुत्थान हुँदा ‘जहाजसहित समुद्रमा’ डुबेका व्यक्तिहरूले साँच्चै यहोवाका “आश्चर्य कार्यहरू” देख्नेछन्।