“चीलको देशमा” यहोवाको वचन फैलिन्छ
“चीलको देशमा” यहोवाको वचन फैलिन्छ
अल्बेनियालीहरू आफ्नो देशलाई तिनीहरूको भाषामा “चीलको देश” भन्छन्। बाल्कन प्रायद्वीपको एड्रिया समुद्र छेउमा पर्ने यो देश ग्रीस र पूर्व युगोस्लाभियाको बीचमा पर्छ। अल्बेनियालीहरूको सुरुवातबारे थुप्रै कथाहरू भए पनि अल्बेनियालीहरू र तिनीहरूको भाषा पुरातन इल्लिरियनबाट आएको हुनुपर्छ भन्ने कुरामा इतिहासकारहरू सहमत छन्। दी इन्साइक्लोपीडिया ब्रिटानिका अनुसार पुरातन इल्लिरियनहरूको संस्कृति ई.पू. २००० देखिको हो।
अल्बेनिया, प्राकृतिक सौन्दर्यले भरिएको देश हो। यस देशको उत्तरपट्टि उबडखाबड चुच्चे पहाडहरू छन् भने दक्षिणमा एड्रियाको बलौटे समुद्री किनारहरू छन्। तर त्यस देशको मुख्य आकर्षण त त्यहाँका मानिसहरू नै हुन्। तिनीहरू मायालु र अतिथि-सत्कार गर्ने, फरासिला र फुर्तिला हुनुका साथै नयाँ कुरा छिट्टै सिक्ने र आफ्ना विचारहरू जोसका साथ पोख्ने गर्छन्।
प्रख्यात मिसनरीको भ्रमण
त्यस देशका मानिस र सौन्दर्यले शताब्दीयौंअघि एक जना विशेष यात्रीको ध्यान खिच्यो। धेरै यात्रा गरिसकेका रोमी १५:१९) इल्लिरिकुमको दक्षिणी भाग अहिले अल्बेनियाको मध्य र उत्तरी भागमा पर्छ। पावलले इल्लिरिकुमको दक्षिणमा पर्ने ग्रीसको कोरिन्थबाट पत्र लेखेका थिए। तिनले “इल्लिरिकुमसम्मै” प्रचार गरे भन्ने कुराबाट तिनी कि त त्यस देशको सीमासम्म पुगे नभए त्यस देशभित्रै गए भन्ने बुझ्न सक्छौं। जेहोस्, तिनले अहिलेको अल्बेनियाको दक्षिणी भागमा प्रचार गरेको हुनुपर्छ। त्यसैले विवरणहरू हेर्दा अल्बेनियामा राज्य प्रचारकार्यको सुरुवात पावलले गरे भन्न सकिन्छ।
प्रेरित पावलले इस्वी संवत् ५६ तिर यस्तो लेखे: “इल्लिरिकुमसम्मै चारैतिर ख्रीष्टको सुसमाचार पूरा गरी प्रचार गरेको छु।” (त्यसपछि शताब्दीयौं बित्यो। विश्व साम्राज्यहरू उदाए र पतन भए। सन् १९१२ मा स्वतन्त्र नहोउन्जेल युरोपको यो सानो देशमा थुप्रै राष्ट्रहरूले आफ्नो अधिकार जमाए। त्यसको झन्डै दस वर्षपछि अल्बेनियामा यहोवाको राज्यको सुसमाचार फेरि प्रचार गरियो।
वर्तमान समयमा रोमाञ्चक सुरुवात
अमेरिकामा बस्दै आएका अल्बेनियाली मूलका केही बाइबल स्टुडेन्ट्हरू आफूले सिकेको सच्चाइ अरूलाई बताउन सन् १९२० को दशकमा अल्बेनिया फर्के। त्यतिबेला यहोवाका साक्षीहरू बाइबल स्टुडेन्ट्स नाउँले चिनिन्थे। त्यसरी फर्केकाहरूमध्ये एक जना नाशो इद्रिजी थिए। केही व्यक्तिले राम्ररी सच्चाइ सिके। अल्बेनियामा प्रचारकार्यको निरीक्षण गर्न सन् १९२४ मा रोमानियालाई खटाइयो।
त्यतिबेला अल्बेनियामा सच्चाइ सिक्ने व्यक्तिहरूमध्ये एक जना थानस डुले (अथान ड्युलिस) पनि थिए। तिनी विगत सम्झिंदै भन्छन्: “सन् १९२५ मा अल्बेनियाभरि जम्मा तीनवटा मण्डली थियो र अरू ठाउँमा यहोवाका साक्षी तथा जिज्ञासु व्यक्तिहरू छरिएका थिए। तिनीहरूबीचको प्रेम त्यतिबेलाका अरू मानिसहरूको भन्दा कता हो कता फरक थियो!” a
बाटोघाटोको राम्रो सुविधा नभएकाले यात्रा गर्न धेरै गाह्रो थियो। तैपनि जोसिला प्रकाशकहरू पछि हटेनन्। उदाहरणका लागि, अल्बेनियाको दक्षिणी भागमा पर्ने भ्लोरे भन्ने समुद्री तटमा बस्ने अराटे पिनाले सन् १९२८ मा १८ वर्षको उमेरमा बप्तिस्मा लिइन्। तिनी हातमा बाइबल लिएर पहाडी बाटोहरू हुँदै प्रचारमा जान्थिन्। तिनी, सन् १९३० दशकको सुरुतिर भ्लोरेमा स्थापना भएको जोसिलो मण्डलीका सदस्य थिइन्।
सन् १९३० मा अल्बेनियाको प्रचार गतिविधिको रेखदेख ग्रीसको एथेन्सस्थित शाखा कार्यालयले गर्न थाल्यो। सन् १९३२ मा अल्बेनियाका भाइहरूलाई प्रोत्साहन
दिन र सुदृढ पार्न ग्रीसबाट एक जना परिभ्रमण निरीक्षक आए। त्यतिबेला बाइबल सच्चाइ सिक्ने प्रायजसोको स्वर्गीय आशा थियो। स्वच्छ र इमानदार मानिसहरू भनी तिनीहरूको नाउँ चलेको कारण सबै मानिसहरूले तिनीहरूको आदर गर्थे। ती विश्वासी भाइहरूको असल कामले धेरै फल फलायो। सन् १९३५ र १९३६ दुवै वर्ष अल्बेनियामा झन्डै ६,५०० बाइबल साहित्यहरू वितरण भए।एक दिनको कुरा हो, भाइ नाशो इद्रिजीले सहरको मुख्य बजारमा जे. एफ. रदरफोर्डको भाषण ग्रामोफोनमा बजाए। आफ्नो पसल बन्द गरेर मानिसहरू भाषण सुन्न आए र भाइ इद्रिजीले चाहिं अल्बेनियालीमा अनुवाद गरिदिए। सुरु-सुरुका ती बाइबल शिक्षकहरूको अथक प्रयासले गर्दा निकै राम्रो फल प्राप्त भयो। सन् १९४० सम्ममा अल्बेनियामा ५० जना साक्षीहरू भइसकेका थिए।
नास्तिक राज्य
सन् १९३९ मा इटालीका तानाशाही फासिस्टले अल्बेनिया कब्जा गऱ्यो। यहोवाका साक्षीहरूको कानुनी मान्यता खारेज भयो र तिनीहरूको प्रचारकार्यमाथि प्रतिबन्ध लगाइयो। त्यसको लगत्तै जर्मन सेनाले अल्बेनियामा आक्रमण गऱ्यो। दोस्रो विश्वयुद्धको अन्ततिर अल्बेनियामा एक जना प्रभावशाली सैन्य नेता आन्भार होया निकै चर्चामा आए। तिनको कम्युनिष्ट पार्टीले सन् १९४६ को चुनाव जित्यो र तिनी प्रधानमन्त्री भए। त्यसपछिका वर्षहरूलाई स्वतन्त्रताका दिनहरू भनिए तापनि यहोवाका जनहरूका लागि भने ती कष्टका दिनहरू साबित भए।
बिस्तारै सरकारले धर्ममाथि झन्-झनै कडिकडाउ गर्न थाल्यो। आफ्नो मसीही तटस्थताअनुसार अल्बेनियाका यहोवाका साक्षीहरूले हातहतियार उठाउन र राजनीतिमा भाग लिन अस्वीकार गरे। (यशैया २:२-४; यूहन्ना १५:१७-१९) यसैकारण धेरैलाई झ्यालखानामा हालियो र तिनीहरूलाई खाना अनि जीवनका अन्य आधारभूत आवश्यकताहरू पनि दिइएन। मण्डलीका बहिनीहरूले धेरै चोटि तिनीहरूको लुगाहरू धोइदिए र खाना पकाएर ल्याइदिए।
सतावटको बावजुद निडर
सन् १९४० दशकको सुरुतिर परमेट जिल्लाको आसपासमा बस्ने फ्रोसिना जाका नाउँकी किशोरीले आफ्ना दाइहरूले सिकिरहेको कुरा थाह पाइन्। उनका दाइहरूले जुत्ता बनाउने काम गर्ने साक्षी भाइ नाशो दोरीबाट सच्चाइ सिक्दै थिए। b सरकारले यहोवाका साक्षीहरूको गतिविधिमाथि कडिकडाउ गरिरहेको बेला उनको विश्वासचाहिं झन्-झन् बलियो हुँदै गयो। उनका आमाबाबुको लागि यो पटक्कै खुसीको कुरा थिएन। “उहाँहरूले मेरो जुत्ता लुकाइदिनुहुन्थ्यो र मसीही सभाहरूमा गएँ भने पिट्नुहुन्थ्यो। उहाँहरूले अर्कै धर्म मान्ने मान्छेसित मेरो विवाह गराइदिन खोज्नुभयो। मैले विवाह गर्न नमानेपछि उहाँहरूले मलाई घरबाट घोक्य्राइदिनुभयो। त्यो दिन हिउँ परिरहेको थियो। मलाई मदत गर्न भाइ नाशो दोरीले गिरकास्टरमा बस्ने भाइ गोले लोकोलाई खबर गर्नुभयो। म भाइ लोकोकै परिवारसँग बस्न थालें। त्यतिबेला मेरा दाइहरूले चाहिं तटस्थताको अडान लिएको कारण दुई वर्षको जेल सजाय काटिरहनुभएको थियो। दाइहरू जेलबाट छुट्नुभएपछि म उहाँहरूसँगै भ्लोरेमा बस्न थालें।
“प्रहरीले मलाई राजनैतिक गतिविधिमा भाग लिन जबरजस्ती गर्न खोज्यो। तर मैले मानिनँ। उनीहरूले मलाई पक्रेर एउटा कोठामा लगे। प्रहरीहरू मेरो वरिपरि उभिए। एक जनाले धम्की दियो: ‘हामी तँलाई के गर्छौं थाह छ?’ मैले भनें: ‘यहोवाले जे गर्न दिनुहुन्छ तपाईंहरू त्यति मात्र गर्न सक्नुहुन्छ।’ चिच्याउँदै उसले भन्यो: ‘तँ बौलाहा होस्! यहाँबाट निस्किहाल!’ ”
ती वर्षहरूमा अल्बेनियाका अरू भाइहरूले पनि त्यस्तै वफादारिता देखाए। सन् १९५७ मा राज्य प्रकाशकहरूको शिखर संख्या ७५ पुग्यो। सन् १९६० दशकको सुरुतिर यहोवाका साक्षीहरूको मुख्यालयले अमेरिकामा बस्दै आएका अल्बेनियाली मूलका जोन मार्क्सलाई मसीही गतिविधिलाई अझ व्यवस्थित बनाउन टिराने पठायो। c तर त्यसको केही समयपछि नै लुचे हेक्सा, मिहाल भाकी, लाओनेथा पोपा र अरू जिम्मेवार भाइहरूलाई पक्रेर श्रम शिविरमा लगियो।
आशाको किरण
सन् १९६७ भन्दाअघि अल्बेनियामा सरकारले सबै धर्महरूलाई नराम्रो दृष्टिले हेर्थ्यो। त्यसपछि त धर्महरूमाथि प्रतिबन्ध नै लगाइयो। क्याथोलिक, अर्थोडक्स वा मुसलमान धर्मगुरुहरूले कुनै पनि रीतिथिति गर्न पाउँदैनथे। चर्च र मस्जिदहरू बन्द गरियो वा ती भवनहरूलाई व्यायामशाला, सङ्ग्रहालय र बजारहरूमा परिणत गरियो। कसैले पनि बाइबल राख्न पाउँदैनथ्यो। यहाँसम्म कि परमेश्वरमा विश्वास गर्छु भन्न पनि पाइँदैनथ्यो।
सभा तथा प्रचारकार्यको लागि भेला हुनु त सम्भवै थिएन। साक्षीहरू छरिएर रहे तापनि यहोवाको सेवा गर्न तिनीहरूले यथासक्दो गरिरहे। सन् १९६० देखि १९८० को बीचमा साक्षीहरूको संख्या घटेर मुठीभर मात्र भयो। तैपनि तिनीहरू आध्यात्मिक तवरमा बलिया थिए।
सन् १९८० को दशकमा अल्बेनियामा केही-केही राजनैतिक परिवर्तनहरू हुन थाल्यो। खाना र लत्ता-कपडाको अभाव थियो। मानिसहरू खुसी थिएनन्। पूर्वी युरोपमा चलेको राजनैतिक परिवर्तनको लहडले सन् १९९० दशकको सुरुतिर अल्बेनियालाई पनि असर गर्न थाल्यो। पैंतालीस वर्षको तानाशाही शासनपछि स्थापना भएको नयाँ सरकारले फेरि एक चोटि धार्मिक स्वतन्त्रता दियो।
यहोवाका साक्षीहरूको परिचालक निकायको निर्देशनमा अस्ट्रिया र ग्रीसको शाखा कार्यालयले अल्बेनियाका भाइहरूसित सम्पर्क राख्न तुरुन्तै कदम चाल्यो। अल्बेनियाली भाषा जान्ने ग्रीक भाइहरूले भर्खरै अनुवाद भएका बाइबल साहित्यहरू आफूसित टिराने र बिराटमा लिएर आए। विदेशबाट आएका आफ्ना भाइहरूलाई वर्षौंपछि पहिलो चोटि भेट्न पाउँदा छरिएर रहेका अल्बेनियाका भाइहरू खुसीले दङ्ग परे।
विदेशबाट आएका जोसिला अग्रगामीहरू प्रचारकार्यमा नेतृत्व लिन्छन्
सन् १९९२ को सुरुतिर परिचालक निकायले अल्बेनियाली मूलका मिसनरी दम्पती माइकल र लिन्डा डिग्रेगारियोलाई अल्बेनिया खटायो। तिनीहरूले अल्बेनियाका विश्वासी पाका भाइहरूलाई भेटेर फेरि एक चोटि अन्तरराष्ट्रिय आध्यात्मिक परिवारको भाग हुन मदत गरे। त्यही वर्षको नोभेम्बर महिनामा इटालीबाट १६ जना परिश्रमी विशेष अग्रगामी अर्थात् पूर्ण-समय सेवक र ग्रीसबाट चार जना अग्रगामी आइपुगे। अग्रगामीहरूलाई अल्बेनियाली भाषा सिकाउन थालियो।
विदेशबाट आएका ती भाइहरूलाई सजिलो थिएन। बिजुली-बत्तीको ठेगान थिएन। जाडो मौसममा असाध्यै चिसो र ओसिलो हुन्थ्यो। रासन र अरू आवश्यक कुराको लागि घन्टौं लाइन बस्नुपर्थ्यो। तर सबैभन्दा ठूलो
समस्याचाहिं सत्य सुनेर ओइरिरहेका जिज्ञासु मानिसहरूको भीड अटाउने ठाउँ खोज्नु थियो!अल्बेनियाली भाषा बोल्न निकै सङ्घर्ष गरिरहेका अग्रगामीहरूले मानिसहरूको हृदय छुन भाषा त एउटा खुड्किलो मात्र हो भनेर चाँडै बुझे। एक जना अनुभवी भाइले तिनीहरूलाई यसो भने: “हँसिलो अनुहार बनाएर भाइहरूलाई न्यानो अभिवादन गर्न हामीले राम्ररी भाषा बोल्न जान्नै पर्छ भन्ने छैन। तपाईंले अल्बेनियाली भाषा शुद्ध बोलेर होइन तर यहाँका मानिसहरूले तपाईंको प्रेम महसुस गर्न सके भने उनीहरूले तपाईंको कुरा सुन्नेछन्। राम्ररी बोल्न आउँदै आएन भनेर चिन्ता नगर्नुहोस्, तपाईंको कुरा उनीहरूले बुझ्नेछन्।”
भाषाको पहिलो कक्षा सिद्धिएपछि अग्रगामीहरूले बिराट, डुरेस, गिरकास्टर, स्कोडर, टिराने र भ्लोरेमा प्रचारकार्य सुरु गरे। चाँडै ती सहरहरूमा थुप्रै मण्डलीहरू स्थापना भए। असी वर्ष नाघिसकेकी अराटे पिना अझै भ्लोरेमै थिइन् तर तिनको स्वास्थ्यस्थिति त्यति राम्रो थिएन। अराटेसित मिलेर प्रचार गर्न दुई जना विशेष अग्रगामीहरूलाई त्यहाँ पठाइयो। विदेशीहरूले अल्बेनियाली भाषा बोलेको देखेर मानिसहरू छक्क पर्दै यसो भन्थे: “हामीले केही सिक्न खोज्यौं भने अरू धर्मका मिसनरीहरू हामीलाई नै अङ्ग्रेजी वा इटालेली भाषा सिक्न लगाउँछन्। तपाईंहरूले हामीलाई साँच्चै प्रेम गरेको हुनुपर्छ किनभने तपाईंहरूले आल्बेनियाली भाषा सिक्नुभएको छ। तपाईंहरूको समाचार साँच्चै महत्त्वपूर्ण हुनुपर्छ!” सन् १९९४ को जनवरी महिनामा अराटेले विश्वासीपूर्वक आफ्नो पार्थिव जीवन पूरा गरिन् र तिनी आफ्नो जीवनको अन्तिम महिनासम्मै प्रचारकार्यमा सक्रिय थिइन्। तिनी र अरू अग्रगामीहरूले देखाएको जोसको नतिजा पक्कै पनि राम्रो भएको छ। सन् १९९५ मा भ्लोरेमा फेरि मण्डली स्थापना भयो। आज यस बन्दरगाह सहरमा तीनवटा सक्रिय मण्डली छन्।
देशभरि मानिसहरू आध्यात्मिक रूपमा भोका थिए र धर्मप्रति त्यति पूर्वाग्रह पनि राख्दैनथे। साक्षीहरूबाट बाइबल आधारित कुनै पनि साहित्य पाउँदा ती मानिसहरू खुसीसाथ पढ्थे। थुप्रै जवानहरूले अध्ययन गर्न थाले र चाँडै प्रगति पनि गरे।
नब्बेवटा भन्दा धेरै मण्डली तथा समूह देशभरि “विश्वासमा दह्रो हुँदै र गन्तीमा दिनहुँ बढदै” गएका छन्। (प्रेरित १६:५) अल्बेनियाका ३,५१३ साक्षीहरूले अझ धेरै काम गर्न बाँकी छ। सन् २००५ को मार्च महिनामा ख्रीष्टको स्मरणार्थमा १०,१४४ उपस्थित भए। अतिथि-सत्कार गर्ने मानिसहरूसित भएको उत्साहजनक छलफलको कारण ६,००० भन्दा धेरै बाइबल अध्ययन स्थापना भएका छन्। हालै अल्बेनियाली भाषामा विमोचन भएको न्यु वर्ल्ड ट्रान्सलेसन बाइबलबाट पक्कै पनि हजारौंले लाभ उठाउनेछन्। साँच्चै, यहोवाको प्रशंसा हुने गरी “चीलको देशमा” उहाँको वचन फैलिएको छ।
[फुटनोट]
a थानस डुलेको जीवनी सन् १९६८, डिसेम्बर १ अंकको द वाचटावर-मा पढ्न सक्नुहुन्छ।
b नाशो दोरीको जीवनी सन् १९९६, जनवरी १ अंकको प्रहरीधरहरा-मा पढ्न सक्नुहुन्छ।
c जोन मार्क्सकी पत्नी हेलेनको जीवनी सन् २००२, जनवरी १ अंकको प्रहरीधरहरा-मा पढ्न सक्नुहुन्छ।
[पृष्ठ २०-मा भएको पेटी]
कोसोभोमा जातीय कलहको अन्त हुन्छ!
सीमासम्बन्धी विवाद र जातीय घृणाको कारण भएको युद्ध र अन्तरराष्ट्रिय हस्तक्षेपको कारण कोसोभो सन् १९९० दशकको अन्ततिर निकै चर्चामा आयो।
बाल्कन क्षेत्रमा युद्ध चर्किरहेको बेला थुप्रै साक्षीहरू छिमेकी मुलुकमा भाग्नुपरेको थियो। युद्धको अन्त भएपछि साक्षी कार्य फेरि सुरु गर्न एउटा सानो समूह कोसोभो फर्क्यो। कोसोभोका २३,५०,००० मानिसलाई मदत गर्न अल्बेनिया तथा इटालीका विशेष अग्रगामीहरू त्यहाँ सर्न तयार भए। अहिले त्यहाँ चारवटा मण्डली र छवटा सक्रिय समूह छन् भने, झन्डै १३० जना प्रकाशक छन्।
सन् २००३ को वसन्तऋतुमा प्रिस्टिनामा एक दिने विशेष सम्मेलन आयोजना गरिएको थियो। त्यहाँ २५२ जना उपस्थित भए। उपस्थित ती व्यक्तिहरू अल्बेनियाली, इटालेली, जर्मन, जिप्सी र सर्बियाली मूलका थिए। बप्तिस्मा भाषणको अन्तमा वक्ताले दुइटा प्रश्न सोधे। बप्तिस्माको लागि तयार तीन जना व्यक्ति सुस्पष्ट जवाफ दिन उभिए। तिनीहरू अल्बेनियाली, जिप्सी र सर्बियाली थिए।
तीनै जनाले आ-आफ्नो भाषामा “भा!” “डा!” र “पो!” अर्थात् “हो” भनेर जवाफ दिंदा त्यहाँ तालीको गड्गडाहटले सुनियो। तिनीहरूले एक-अर्कालाई अङ्कमाल गरे। आफ्नो देशलाई पिरोलिरहेको जातीय हिंसाको कारण तिनीहरूले पत्ता लगाएका छन्।
[पृष्ठ ७-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
भूमध्यसागर
इटाली
अल्बेनिया
ग्रीस
[पृष्ठ १८-मा भएको चित्र]
जवान साक्षीहरू पाका साक्षीहरूले जस्तै जोस देखाउँछन्
[पृष्ठ १८-मा भएको चित्र]
अराटे पिनाले सन् १९२८ देखि १९९४ मा आफ्नो मृत्यु नभएसम्म विश्वासीपूर्वक सेवा गरिन्
[पृष्ठ १९-मा भएको चित्र]
विदेशी अग्रगामीहरूको पहिलो समूह भाषा सिक्दै छन्
[पृष्ठ १६-मा भएको चित्रको स्रोत]
Eagle: © Brian K. Wheeler/VIREO