सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रथम शताब्दीका यहूदीहरूलाई प्रचार गरियो

प्रथम शताब्दीका यहूदीहरूलाई प्रचार गरियो

प्रथम शताब्दीका यहूदीहरूलाई प्रचार गरियो

इस्वी संवत्‌ ४९ मा यरूशलेममा एउटा महत्त्वपूर्ण सभा बस्यो। प्रथम शताब्दीमा मण्डलीको “खामा कहलिएका” यूहन्‍ना, पत्रुस र येशूको सौतेनी भाइ याकूब त्यस सभामा उपस्थित थिए। प्रेरित पावल र तिनका साथी बर्णाबास पनि त्यस सभामा थिए भनी बताइएको छ। सभामा छलफल गरिएको एउटा बुँदा थियो—सुसमाचार प्रचार गर्नुपर्ने ठूलो इलाका कसरी विभाजन गर्ने। पावल यसो भन्छन्‌: “[तिनीहरूले] मलाई र बर्णाबासलाई सङ्‌गतिको दाहिने हात दिएर हामीचाहिं अन्य जातिकहाँ जाने, र उनीहरूचाहिं खतनाका मानिसहरूकहाँ जाने भने।”—गलाती २:१, ९. a

सुसमाचार प्रचार गर्नुपर्ने इलाकालाई कसरी विभाजन गरियो? के यहूदी तथा यहूदी मत मान्‍नेहरूको एउटा समूह र अन्यजातिहरूको अर्को समूह गरी जम्मा दुई समूहमा विभाजन गरियो? अथवा कतै यो विभाजन भौगोलिक रूपमा पो गरिएको थियो कि? यस प्रश्‍नको सही जवाफ पाउन हामीले प्यालेस्टाइनबाहिर बसोबास गर्ने यहूदी डायास्पोरा अर्थात्‌ प्रवासी यहूदीहरूको इतिहासबारे केही थाह पाउनुपर्छ।

प्रथम शताब्दीमा यहूदीहरू

प्रथम शताब्दीमा कति जना यहूदीहरू प्रवासमा बस्थे? यहूदीहरूको मानचित्र भन्‍ने पुस्तकमा लेखिएको कुरामा थुप्रै शास्त्रविद्‌हरू सहमति जनाउँछन्‌: “प्रवासमा बस्ने यहूदीहरू यति नै थिए भनेर पक्का गर्न त गाह्रो छ तर इस्वी संवत्‌ ७० अघि यहूदियामा यहूदीहरू पच्चीस लाख र रोममा चाहिं चालीस लाखभन्दा धेरै थिए भनी अनुमान लगाउन सकिन्छ। . . . रोमी साम्राज्यको कुल जनसंख्याको झन्डै १० प्रतिशत यहूदीहरू थिए र यहूदीहरू धेरै भएको पूर्वीय प्रान्तका सहरहरूमा यहूदीहरूको जनसंख्या २५ प्रतिशत वा त्योभन्दा धेरै हुन सक्छ।”

सिरिया, एसिया माइनर, बेबिलोन र पूर्वमा पर्ने मिश्रमा यहूदीहरूको ठूलै बस्ती थियो भने, युरोपमा यहूदीहरूको स-सानो समुदाय थियो। प्रथम शताब्दीमा नाउँ चलेका केही मसीहीहरू प्रवासी यहूदीहरू नै थिए। जस्तै—साइप्रसका बर्णाबास, पोन्टसका प्रिस्किला र अक्विला, जो पछि रोम गए, अलेक्जेन्ड्रियाका अप्पोलस र टार्ससका पावल।—प्रेरित ४:३६; १८:२, २४; २२:३.

प्रवासी यहूदीहरूले आफ्नो मातृभूमिसित थुप्रै तरिकामा सम्बन्ध कायम राखेका थिए। तीमध्ये एउटा तरिका यरूशलेमको मन्दिरमा वर्षेनी कर पठाउनु थियो। त्यसरी कर पठाउनु भनेको मन्दिरको कामकुरा तथा उपासनामा भाग लिन सक्ने एउटा तरिका थियो। यसबारे शास्त्रविद्‌ जोन बार्क्ले भन्छन्‌: “यसरी पैसा सङ्‌कलन गर्दा थप पैसा धनीहरूको अनुदानबाट आउँथ्यो भनेर स्पष्ट छ र यसमा पनि दाताहरू विशेष गरी प्रवासी यहूदीहरू नै थिए।”

अर्कोचाहिं, हजारौं प्रवासी यहूदीहरू चाड मनाउन वर्षेनी यरूशलेम आउने भएकोले पनि आफ्नो मातृभूमिसित उनीहरूको सम्बन्ध टुटेको थिएन। इ.सं. ३३ पेन्तिकोसबारे प्रेरित २:९-११ को विवरणले यसको प्रमाण दिन्छ। ती यहूदी तीर्थयात्रीहरू पार्थीया, मादी, एलाम, मेसोपोटामिया, कपोदिसिया, पोन्टस, एसिया, फ्रिगिया, प्याम्फिलिया, मिश्र, लिबिया, रोम, क्रेट र अरबबाट आएका थिए।

मन्दिरका जिम्मेवार व्यक्‍तिहरूले प्रवासी यहूदीहरूसित चिट्ठीमार्फत सम्पर्क राख्थे। प्रेरित ५:३४ मा उल्लिखित व्यवस्थाका शिक्षक गमलिएलले बेबिलोन र त्यस साम्राज्यका अन्य ठाउँहरूमा चिट्ठी पठाउने गर्थे भनी हामी थाह पाउन सक्छौं। इ.सं ५९ तिर प्रेरित पावललाई रोममा कैदीको रूपमा ल्याइँदा “यहूदीहरूका मुख्य मुख्य मानिसहरू[ले]” तिनलाई यसो भने, “हामीले ता तपाईंको विषयमा यहूदियाबाट केही चिट्ठी पाएका छैनौं। कुनै भाइहरू आएर तपाईंको केही खराबी कुरा पनि सुनाएको छैन।” यसबाट के कुरा स्पष्ट हुन्छ भने, यहूदियाबाट रोममा चिट्ठी तथा रिपोर्टहरू आइरहन्थ्यो।—प्रेरित २८:१७, २१.

प्रवासी यहूदीहरूले हिब्रू धर्मशास्त्रको युनानी अनुवाद सेप्टुआजिन्ट बाइबल पढ्‌थे। एउटा पुस्तक यस्तो टिप्पणी गर्छ: “प्रवासी यहूदीहरूले सेप्टुआजिन्ट बाइबललाई पवित्र धर्मशास्त्रको रूपमा स्वीकारेका थिए भन्‍न सकिने ठोस कारणहरू छन्‌।” प्रारम्भिक मसीहीहरूले पनि आफ्नो शिक्षण कार्यमा सेप्टुआजिन्ट बाइबल नै व्यापक रूपमा चलाउँथे।

यरूशलेममा भएको मसीही परिचालक निकायलाई यी सबै परिस्थितिबारे राम्रोसँग थाह थियो। सिरियालगायत दमीशक र एन्टिओकजस्ता ठाउँहरूमा बसोबास गर्ने प्रवासी यहूदीहरूलाई पनि सुसमाचार सुनाइसकिएको थियो। (प्रेरित ९:१९, २०; ११:१९; प्रेरित १५:२३, ४१; गलाती १:२१) इ.सं ४९ को सभामा उपस्थित भएकाहरूले भविष्यमा गर्ने कामबारे पनि पक्कै योजना बनाएको हुनुपर्छ। आउनुहोस्‌, यहूदी तथा यहूदी मत मान्‍नेहरूलाई पनि व्यापक रूपमा सुसमाचार प्रचार गरेको विषयमा बाइबलमा दिइएका जानकारीहरू केलाएर हेरौं।

पावलको यात्रा र प्रवासमा रहेका यहूदीहरू

प्रेरित पावलले सुरुमा “अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामु [येशू ख्रीष्टको] नाउँ [को]” साक्षी दिने कार्यभार पाएका थिए। b (छड्‌के अक्षर हाम्रो, प्रेरित ९:१५) यरूशलेमको सभापछि पावलले आफ्नो यात्राको दौडान प्रवासी यहूदीहरू जहाँ-जहाँ भेटिन्छन्‌ त्यहीं-त्यहीं प्रचार गरे। (पृष्ठ १४ को पेटी हेर्नुहोस्‌।) यसबाट प्रचार गर्नुपर्ने इलाकाको विभाजन भौगोलिक रूपमा गरिएको थियो भन्‍ने कुरा स्पष्ट हुन्छ। पावल र बर्णाबासले आफ्नो मिसनरी कार्य पश्‍चिमतिर विस्तार गर्दै लगे भने, केही भाइहरूले यहूदीहरूको मातृभूमिमै रहेर प्रचार गरे। अरू कतिपयचाहिं पूर्वमा यहूदीहरूको ठूलो समुदाय भएको ठाउँतिर गए।

पावल र तिनका साथीहरूले सिरियाको एन्टिओकबाट दोस्रो मिसनरी यात्रा सुरु गर्दा तिनीहरूले पश्‍चिममा एसिया माइनर हुँदै त्रोआससम्म प्रचार गर्न पवित्र आत्माको डोऱ्‍याइ पाए। त्यहाँबाट तिनीहरू म्यासिडोनिया पुगे किनभने तिनीहरूले “परमेश्‍वरले हामीलाई तिनीहरूकहाँ [म्यासिडोनियालीहरूकहाँ] सुसमाचार प्रचार गर्न बोलाउनुभएछ” भन्‍ने निश्‍चय गरे। पछि, एथेन्स र कोरिन्थलगायत युरोपका अन्य सहरहरूमा पनि मसीही मण्डलीहरू स्थापना भए।—प्रेरित १५:४०, ४१; १६:६-१०; १७:१–१८:१८.

इ.सं ५६ तिर आफ्नो तेस्रो मिसनरी यात्राको अन्ततिर पावलले यरूशलेमको सभामा आफूलाई दिइएको इलाकालाई विस्तार गरेर अझै पश्‍चिमतिर जाने योजना बनाए। तिनले यस्तो लेखे: “तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न, म तयार छु” र “म तिमीहरूकहाँ भएर स्पेन जानेछु।” (रोमी १:१५; १५:२४, २८) तर पूर्वमा बसोबास गर्ने प्रवासी यहूदीहरूको ठूलो समुदायबारे चाहिं के भन्‍न सकिन्छ नि?

पूर्वमा यहूदी समुदाय

इ.सं. प्रथम शताब्दीमा मिश्र र अझ विशेष गरी यसको राजधानी अलेक्जेन्ड्रियामा सबैभन्दा धेरै प्रवासी यहूदीहरू थिए। यस व्यापारिक र सांस्कृतिक केन्द्रमा हजारौं यहूदी थिए र त्यहाँ सभाघरहरू पनि थुप्रै थिए। अलेक्जेन्ड्रियाको यहूदी फिलोको भनाइअनुसार मिश्रमा त्यतिबेला कम्तीमा पनि दस लाख यहूदीहरू थिए। छिमेकी देश लिबिया र आसपासका साइरेनी र अन्य सहरमा पनि यहूदीहरू टन्‍नै थिए।

केही यहूदी मसीहीहरू त्यसै इलाकाका थिए। जस्तै, “अलेक्जेन्ड्रियामा जन्म भएको अपोल्लस,” “साइप्रसी र साइरेनीका मानिसहरू” र सिरियाको एन्टिओक मण्डलीलाई सघाउने “साइरिनीबासी लुसियस।” (प्रेरित २:१०; ११:१९, २०; १३:१; १८:२४) यी जानकारी र मसीही प्रचारक फिलिपले एथियोपियाली नपुंसकलाई साक्षी दिएको विवरणबाहेक बाइबलमा मिश्र र त्यसको आसपासमा प्रथम शताब्दीका मसीहीहरूले गरेको प्रचारकार्यबारे केही बताइएको छैन।—प्रेरित ८:२६-३९.

प्रवासी यहूदीहरू धेरै भएको अर्को ठाउँ बेबिलोन, पार्थीया, मादी र एलाम थियो। एक जना इतिहासकारका अनुसार “यहूदीहरू टिग्रीस र यूफ्रेटिसको इलाका, आर्मेनियादेखि फारसको खाडी र उत्तरपूर्वमा केस्पियन सागर र पूर्वतिर मादीसम्म थियो।” इन्साइक्लोपीडिया जुडाइका-ले तिनीहरूको संख्या ८,००,००० वा त्योभन्दा धेरै हुन सक्ने अनुमान गरेको छ। प्रथम शताब्दीका यहूदी इतिहासकार जोसेफसका अनुसार बेबिलोनमा बसोबास गर्ने हजारौं यहूदीहरू वार्षिक चाडको लागि यरूशलेम आउँथे।

इ.सं ३३ पेन्तिकोसमा बप्तिस्मा लिएकाहरूमध्ये बेबिलोनबाट आएका यहूदीहरू पनि थिए कि? त्यसबारे हामीलाई थाह छैन तर त्यो दिन मेसोपोटामियाबाट आएका मानिसहरूले पनि प्रेरित पत्रुसको भाषण सुनेका थिए। (प्रेरित २:९) इ.सं. ६२-६४ मा प्रेरित पत्रुस बेबिलोनमा थिए भनेर चाहिं हामीलाई थाह छ। त्यहीं छँदा तिनले आफ्नो पहिलो र सायद दोस्रो पत्र पनि लेखेका हुन सक्छन्‌। (१ पत्रुस ५:१३) गलातीका भाइहरूलाई लेखेको पत्रमा उल्लिखित सभामा पत्रुस, यूहन्‍ना र याकूबलाई खटाइएको इलाकामा यहूदीहरूको धेरै जनसंख्या भएको बेबिलोन पनि पक्कै परेको हुनुपर्छ।

यरूशलेम मण्डली र प्रवासमा रहेका यहूदीहरू

इलाका विभाजन गर्न बसेको सभामा उपस्थित याकूब यरूशलेम मण्डलीका निरीक्षक थिए। (प्रेरित १२:१२, १७; १५:१३; गलाती १:१८, १९) इ.सं. ३३ पेन्तिकोसमा हजारौं प्रवासी यहूदीहरूले सुसमाचार सुनेर बप्तिस्मा लिएको तिनी आफैले देखेका थिए।—प्रेरित १:१४; २:१, ४१.

त्यतिबेला र त्यसपछि पनि हजारौं प्रवासी यहूदीहरू वार्षिक चाडको लागि यरूशलेम आउने गर्थे। सहरमा मानिसहरू खचाखच भएकाले पाहुनाहरू नजिकैको गाउँमा वा पाल टाँगेर बस्थे। आफ्ना साथीभाइलाई भेट्‌नुका साथै तिनीहरू मन्दिरमा उपासना गर्थे, भेटी चढाउँथे र तोरहको अध्ययनमा पनि भाग लिन्थे भनी इन्साइक्लोपीडिया जुडाइका बताउँछ।

निश्‍चय पनि याकूब र यरूशलेम मण्डलीका अरू सदस्यहरूले प्रवासी यहूदीहरूलाई साक्षी दिने मौकाको फाइदा उठाए। सायद स्तिफनसको मृत्युपछि “यरूशलेममा भएको मण्डलीको विरुद्धमा ठूलो अत्याचार उत्पन्‍न” भएको कारण प्रेरितहरूले बडो होसियारीसाथ प्रचारकार्य गरेको हुनुपर्छ। (प्रेरित ८:१) ती मसीहीहरूको जोसले गर्दा त्यो घटना घट्‌नुअघि र पछि पनि वृद्धि भइरह्‍यो भनी विवरणहरूले देखाउँछन्‌।—प्रेरित ५:४२; ८:४; ९:३१.

हामी कस्तो पाठ सिक्न सक्छौं?

प्रथम शताब्दीका मसीहीहरूले विभिन्‍न ठाउँमा बस्ने यहूदीहरूलाई सुसमाचार सुनाउन साँच्चै मेहनत गरे। अर्कोतर्फ पावललगायत अरूले युरोपका देशहरूमा बसोबास गर्ने अन्यजातिहरूलाई पनि सुसमाचार सुनाए। “सबै देशका जातिहरूलाई” चेला बनाओ भनी येशूले आफ्ना चेलाहरूलाई अन्तमा दिनुभएको आज्ञा तिनीहरूले पालन गरे।—मत्ती २८:१९, २०.

परमेश्‍वरको आत्माको डोऱ्‍याइ पाउन प्रचारकार्य व्यवस्थित रूपमा गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर तिनीहरूको उदाहरणबाट हामी बुझ्न सक्छौं। परमेश्‍वरको वचनलाई आदर गर्ने व्यक्‍तिहरू र अझ विशेष गरी यहोवाका साक्षीहरू कम भएका इलाकामा त्यस्ता व्यक्‍तिहरूलाई भेट्‌न जानुको फाइदा पनि हामी देख्न सक्छौं। तपाईंको मण्डलीको कुनै-कुनै इलाकामा चासो दिने मानिसहरू थुप्रै भेटिन्छन्‌ कि? त्यस्ता इलाकाहरूमा बारम्बार प्रचार गर्नु फलदायी हुन सक्छ। के तपाईंको इलाकामा अनौपचारिक र सडक साक्षी दिन सकिने किसिमका कार्यक्रमहरू आयोजना गरिन्छन्‌?

बाइबलमा प्रारम्भिक मसीहीहरूबारे पढ्‌नु र त्यतिबेलाका केही ऐतिहासिक तथा भौगोलिक विवरणहरू थाह पाउनु धेरै नै प्रोत्साहनदायी हुन्छ। हाम्रो ज्ञानलाई बढाउन मदत गर्ने एउटा त्यस्तो साधन “सी द गुड ल्याण्ड” पुस्तिका हो जसमा थुप्रै मानचित्र तथा तस्विरहरू छन्‌।

[फुटनोटहरू]

a प्रथम शताब्दीको परिचालक निकाय खतनासम्बन्धी विवादबारे छलफल गर्न भेला भएको बेला अथवा त्यही छलफलको दौडान यो कुरा पनि उठेको हुन सक्छ।—प्रेरित १५:६-२९.

b यस लेखमा, “अन्यजातिहरूको प्रेरित[को]” रूपमा पावलको गतिविधिबारे नभई तिनले यहूदीहरूलाई गरेको प्रचारकार्यमा ध्यान दिइएको छ।—रोमी ११:१३.

[पृष्ठ १४-मा भएको चार्ट]

प्रवासी यहूदीहरूप्रति प्रेरित पावलको चासो

इ.सं. ४९ मा यरूशलेमको सभाअघि

प्रेरित ९:१९, २० दमीशक “तिनले सभाघरहरूमा . . . घोषणा गरे”

प्रेरित ९:२९ यरूशलेम —“ग्रीक-यहूदीहरूसित बाद-प्रतिवाद गर्थे”

प्रेरित १३:५ सलामिस, साइप्रस —“यहूदीहरूको सभाघरमा परमेश्‍वरको वचनको सुसमाचार प्रचार गरे”

प्रेरित १३:१४ पिसिदियाको एन्टिओक —“सभाघरमा गएर”

प्रेरित १४:१ आइकोनियम —“यहूदीहरूको सभाघरमा . . . पसे”

इ.सं. ४९ मा यरूशलेमको सभापछि

प्रेरित १६:१४ फिलिप्पी —“लिडिया . . . ईश्‍वर-भक्‍त स्त्री”

प्रेरित १७:१ थिस्सलोनिका —“यहूदीहरूको एउटा सभाघर”

प्रेरित १७:१० बिरिया —“यहूदीहरूको सभाघर”

प्रेरित १७:१७ एथेन्स —“यसैकारण तिनले सभाघरमा, यहूदीहरू[सँग] . . . बहस गर्थे”

प्रेरित १८:४ कोरिन्थ —“सभाघरमा बहस गर्थे”

प्रेरित १८:१९ एफिसस —“एउटा सभाघरमा पसेर यहूदीहरूसित बहस गरे”

प्रेरित १९:८ एफिसस —“तिनी सभाघरमा पसीकन . . . तीन महीनासम्म निर्धक्कसँग बोल्नलागे”

प्रेरित २८:१७ रोम “यहूदीहरूका मुख्य-मुख्य मानिसहरूलाई बोलाइपठाए”

[पृष्ठ १५-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

यी सबै इलाकाका मानिसहरूले इ.सं. ३३ पेन्तिकोसमा सुसमाचार सुने

इल्लिरिकुम

इटाली

रोम

म्यासेडोनिया

ग्रीस

एथेन्स

क्रेट

साइरेनी

लिबिया

बिथनिया

गलातिया

एसिया

फ्रिगिया

प्याम्फिलिया

साइप्रस

मिश्र

इथियोपिया

पोन्टस

कपोदिसिया

सिलिसिया

मेसोपोटामिया

सिरिया

सामरिया

यरूशलेम

यहूदिया

मादी

बेबिलोन

एलाम

अरब देश

पार्थीया

[पानीको अंश]

भूमध्यसागर

कृष्णसागर

लाल समुद्र

फारसको खाडी