यहोवाले तपाईंलाई कुनै रीतिले छोड्नुहुनेछैन
यहोवाले तपाईंलाई कुनै रीतिले छोड्नुहुनेछैन
यहूदामा बसोबास गर्ने मसीहीहरूले एकातिर क्रूर सतावट भोगिरहेका थिए भने, अर्कोतिर उनीहरू वरपरका मानिसहरूको भौतिकवादी विचारधाराबाट बच्नुपरेको थियो। उनीहरूलाई प्रोत्साहन दिनका लागि प्रतिज्ञा गरिएको देशमा पुग्नै लाग्दा यहोवाले इस्राएलीहरूलाई भन्नुभएको यो कुरा प्रेरित पावलले उद्धृत गरे: “म तिमीलाई कुनै रीतिले छोडनेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।” (हिब्रू १३:५; व्यवस्था ३१:६) यस प्रतिज्ञाले प्रथम शताब्दीका मसीहीहरूलाई पक्कै बलियो बनाएको हुनुपर्छ।
हामी “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं। त्यसकारण कहिलेकाहीं फिक्रीले पिरोलिएको बेला यस प्रतिज्ञाले हामीलाई पनि सुदृढ पार्नुपर्ने हो। (२ तिमोथी ३:१) यहोवामाथि भरोसा राख्यौं र त्यसैअनुसार जीवन बितायौं भने, अत्यन्तै गाह्रो अवस्थामा समेत उहाँले हामीलाई सँभाल्नुहुनेछ। यस प्रतिज्ञाअनुसार यहोवाले कसरी कदम चाल्नुहुन्छ भन्ने कुरा बुझ्नको लागि आउनुहोस्, कसैले अचानक जागिर गुमाउँदा परिआउने परिस्थितिलाई विचार गरौं।
चिताउँदै नचिताएको अवस्था आइपर्दा के गर्ने
बेरोजगारहरूको संख्या विश्वभर धमाधम बढ्दैछ। पोलिस पत्रिकाले बताएअनुसार बेरोजगार “सबैभन्दा कठिन सामाजिक एवम् आर्थिक समस्याहरूमध्ये एक हो।” औद्योगिक राष्ट्रहरू समेत यस समस्याबाट मुक्त छैनन्। उदाहरणको लागि, आर्थिक सहयोग तथा विकास संगठनका सदस्य राष्ट्रहरूमा समेत सन् २००४ सम्ममा “बेरोजगारहरूको संख्या ३ करोड २० लाख नाघेको थियो र त्यो वृद्धिदर सन् १९३० को दशकमा ठूलो आर्थिक मन्दी हुँदा भएका बेरोजगारहरूको संख्याभन्दा बढी थियो।” पोल्याण्डको केन्द्रीय तथ्याङ्क विभागले दिएको जानकारीअनुसार डिसेम्बर २००३ सम्ममा पोल्याण्डमा बेरोजगारहरूको संख्या ३० लाख पुगेको थियो र ती बेरोजगारहरूमध्ये १८ प्रतिशत त काम गर्न सक्ने उमेरका थिए।” सन् २००२ मा दक्षिण अफ्रिकाको ४७.८ प्रतिशत जनता बेरोजगार थिए भनी एउटा स्रोतले बतायो!
चिताउँदै नचिताएको बेला एक्कासी जागिरबाट निकालिंदा यहोवाका साक्षीहरूलगायत अरू धेरैको गाँस, बास र कपास खोसिन्छ। “समय र अवसरले” सबैलाई आफ्नो अधीनमा पार्छ। (उपदेशक ९:११) हामीले पनि भजनहार दाऊदले जस्तै दुखेसो पोखिरहेका हुन सक्छौं: “मेरो हृदयका दुःखहरू बढेका छन्।” (भजन २५:१७) यस्तो गाह्रो अवस्था आइपऱ्यो भने के तपाईं नआत्तीकन अघि बढ्न सक्नुहुन्छ? गाह्रो अवस्थाले तपाईंलाई भावनात्मक, आध्यात्मिक र भौतिक तवरमा निकै असर गर्न सक्छ। बेरोजगार हुनुभयो भने, के तपाईं फेरि आफ्नो खुट्टामा उभिन सक्नुहुन्छ?
भावनात्मक रूपमा तनावग्रस्त हुँदा के गर्ने
मनोवैज्ञानिक यानुस भेटजिन्स्की भन्छन्, “जागिर गुम्दा सबैभन्दा बढी धक्का केटा मान्छेलाई पर्छ” किनभने कमाएर परिवार पाल्ने जिम्मा केटा मान्छेको हो भन्ने सोचाइ छ। तिनी अझै यसो भन्छन्, बेरोजगार हुँदा केटा मान्छे “भावनात्मक रूपमा तनावग्रस्त हुन सक्छ।” उसलाई कहिले झनक्क रीस उठ्छ त कहिले जे हुनु थियो भइहाल्यो जस्तो लाग्छ। जागिरबाट निकालिएका बुबाले आफू अरूको नजरमा गिरेको महसुस गर्न सक्छन् र “आफ्नो परिवारसित झगडा गर्न” थाल्न सक्छन्।
दुई छोराछोरीका बुबा आडम यहोवाका साक्षी हुन्। जागिर गुमाउँदा आफूलाई परेको पीर तिनले यसरी बताए: “म सानो-तिनो कुरामा पनि रिसाइहाल्थें। मलाई झोंक चलिरहन्थ्यो। राती सपना पनि कामकै देख्थें अनि मेरी श्रीमतीले पनि अचानक जागिर गुमाएको कारण परिवारको पालनपोषण कसरी गर्ने होला भनेर चिन्ता गरिरहेको हुन्थें।” रिजार्ड अनि मारियोलाको एउटी छोरी छ। जागिर गुमाएको बेला उनीहरूले बैंकको ठूलो ऋण तिर्न बाँकी नै थियो। मारियोला भन्छिन्: “म चैनसित बस्नै सकिनँ। त्यसरी बैंकबाट ऋण लिनुहुने थिएन भनेर मेरो अन्तस्करणले मलाई घोचिरह्यो। यो सब मेरै कारणले गर्दा भएको हो भन्ने मलाई लाग्यो।” यस्तो अवस्था आइपऱ्यो भने हामीलाई रीस उठ्न सक्छ, चिन्ता लाग्न सक्छ, मन आत्तिन वा खिन्न हुन सक्छ। फलतः हामी आकुलव्याकुल हुन सक्छौं। उसोभए, मनमा नचाहिंदो कुरा खेल्यो भने कसरी त्यसलाई नियन्त्रणमा राख्न सक्छौं?
सधैं आशावादी हुने सन्दर्भमा बाइबलले निकै प्रभावकारी सल्लाह दिन्छ। प्रेरित पावलले यस्तो सल्लाह दिए: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्। औ परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) प्रार्थना गरेर यहोवासँग मदत माग्यौं भने उहाँले हामीलाई “परमेश्वरको शान्ति” अर्थात् उहाँमाथि विश्वास गर्दा प्राप्त हुने मनोशान्ति दिनुहुनेछ। आडमकी पत्नी ईरीना भन्छिन्: “प्रार्थनामा हामीले यहोवालाई आफ्नो अवस्थाबारे र हाम्रो जीवन शैली अझ सरल बनाउने तरिका सिकाइदिनुहोस् भनी बतायौं। सानोतिनो कुरामै चिन्तित भइहाल्ने मेरो श्रीमान्ले हाम्रो समस्या समाधान हुन सक्छ भनेर महसुस गर्न थाल्नुभयो।”
अचानक जागिर गुमाउनुभयो भने डाँडाको उपदेशमा येशूले दिनुभएको यो सल्लाह तपाईं लागू गर्न सक्नुहुन्छ: “हामी के खाउँला, कि के पिऔंला भनी आफ्नो प्राणको निम्ति र आफ्नो शरीरको निम्ति के लगाउँला भनी तिमीहरू फिक्री नगर। . . . पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:२५, ३३) आफ्नो भावनालाई काबुमा राख्न रिजार्ड र मारियोलाले यो सल्लाह लागू गरे। विगत सम्झिंदै मारियोला भन्छिन्, “मेरो श्रीमान्ले मलाई सधैं सान्त्वना दिनुहुन्थ्यो र यहोवाले हामीलाई त्याग्नुहुनेछैन भनी सम्झाउनुहुन्थ्यो।” तिनको श्रीमान् अझै भन्छन्: “नियमित रूपमा सँगै प्रार्थना गरेको कारण हामी परमेश्वरको नजिक हुन सकेका छौं र हामी श्रीमान्-श्रीमतीबीचको सम्बन्ध पनि अझ गाढा भएको छ। यस प्रकार हामीले आफूलाई चाहिएको सान्त्वना पाइरहेका छौं।”
परमेश्वरको पवित्र आत्माले पनि हामीलाई समस्यासित जुझ्न मदत गर्नेछ। पवित्र आत्माको फल आत्मसंयमले हामीलाई विचलित नहुन मदत गर्छ। (गलाती ५:२२, २३) यसो गर्न सजिलो नहोला तर सम्भव भने छ किनभने स्वर्गमा बस्नुहुने “पिताले उहाँसँग माग्नेहरूलाई . . . पवित्र आत्मा दिनुहुनेछ” भनी येशूले प्रतिज्ञा गर्नुभएको थियो।—लूका ११:१३; १ यूहन्ना ५:१४, १५.
आफ्नो आध्यात्मिक आवश्यकतालाई बेवास्ता नगर्नुहोस्
अचानक जागिर गुम्दा अत्यन्तै सन्तुलित मसीही पनि आत्तिन सक्छ। तर हामीले आफ्नो आध्यात्मिक आवश्यकतालाई बेवास्ता गर्नु हुँदैन। उदाहरणको लागि, ४० वर्ष पुग्दा मोशाको जीवनमा घटेको घटना विचार गर्नुहोस्। मिश्रको राजपरिवारको सदस्यबाट एकै चोटि मिश्रीहरूले घृणा गर्ने गोठालो बन्दा मोशाको जीवनमा सोच्दै नसोचेको परिवर्तन आयो। (उत्पत्ति ४६:३४) अब मोशा नयाँ परिस्थितिअनुसार चल्नुपरेको थियो। बाँकी ४० वर्षसम्म तिनले आफूलाई यहोवाको इच्छाअनुसार ढाले र भविष्यमा गर्नुपर्ने नयाँ कामको लागि तयार पारे। (प्रस्थान २:११-२२; प्रेरित ७:२९, ३०; हिब्रू ११:२४-२६) अनेकौं बाधाविघ्न झेल्नुपरे तापनि मोशाले आध्यात्मिक कुरालाई कहिल्यै बेवास्ता गरेनन् र यहोवाले दिनुभएको प्रशिक्षण खुसीसाथ स्वीकारे। जीवनको मोडमा उतार-चढाव आउँदा हाम्रो नैतिकता र विश्वास कहिल्यै नडगमगाओस्!
अचानक जागिर गुम्दा मानसिक रूपमा निकै चोट पुग्छ। तर यहोवा परमेश्वर अनि उहाँका जनहरूसितको हाम्रो सम्बन्धलाई कसिलो बनाउने यो एउटा उपयुक्त समय पनि हो। अघि चर्चा गरेको आडमले यो कुरा अनुभव गरे। तिनी भन्छन्: “मेरी श्रीमती र मैले जागिर गुमाएको बेला मसीही सभाहरूमा नजाने अथवा क्षेत्र सेवकाईमा कम भाग लिने विचार हाम्रो मनमा कहिल्यै आएन। त्यस्तो विचारधाराले गर्दा हामी भोलिको लागि अचाक्ली चिन्तित भएनौं।” रिजार्डको पनि यस्तै अनुभव छ: “मसीही सभाहरूमा नगएको भए र क्षेत्र सेवकाईमा भाग नलिएको भए हामीले समस्याको सामना गर्न सक्ने थिएनौं। हामी चिन्तामा डुब्ने फिलिप्पी २:४.
थियौं होला। अरूसित आध्यात्मिक कुराकानी गर्नु पनि निकै उत्थानदायी हुन्छ किनभने यस्तो कुराकानीले हामीलाई आफ्नै कुरामा मात्र होइन तर अरूको आवश्यकतामा पनि ध्यान दिन लगाउँछ।”—हो, जागिरबारे चिन्ता गरेर बस्नुभन्दा आफ्नो फुर्सतको समयमा व्यक्तिगत अध्ययन गर्नुहोस्, मण्डलीका गतिविधिहरूमा भाग लिनुहोस् अथवा सेवकाईमा अझ धेरै गर्ने कोसिस गर्नुहोस्। काम नगरी त्यतिकै समय खेर फाल्नुभन्दा तपाईं “प्रभुको काममा प्रशस्त हुँदै” जान सक्नुहुन्छ। यसो गर्दा तपाईं अनि तपाईंबाट राज्यसन्देश सुन्ने निष्कपट हृदय भएका व्यक्तिहरूको मन आनन्दले भरिनेछ।—१ कोरिन्थी १५:५८.
परिवारको भौतिक आवश्यकता पूरा गर्ने
तर आध्यात्मिक कुराले मात्र खाली पेट भरिंदैन। हामीले यो सिद्धान्त मनमा राख्नुपर्छ: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) आडम मानिलिन्छन्: “हामीलाई भौतिक कुराको खाँचो पर्नासाथ मण्डलीका भाइबहिनीहरू मदत गर्न अग्रसर भइहाल्छन्। तर साँच्चै भन्ने हो भने, जागिर खोज्ने कर्तव्य हाम्रो हो किनभने हामी मसीहीहरू हौं।” यहोवाको मदत र उहाँका जनहरूले गर्ने सहयोगमा भर पर्न सक्छौं तर जागिर खोज्न हामी आफै अग्रसर हुनुपर्छ भनेर हामीले कहिल्यै बिर्सनु हुँदैन।
तर अग्रसर हुने कसरी? आडम भन्छन्, “चमत्कारपूर्ण ढङ्गमा परमेश्वरले मदत गरिहाल्नुहुन्छ नि भनेर हात बाँधेर नबस्नुहोस्। काम खोज्न जानुहुँदा आफूलाई यहोवाको साक्षीको रूपमा चिनाउन अप्ठ्यारो नमान्नुहोस्। हाकिमहरूले अक्सर यसको निकै मोल गर्छन्।” रिजार्ड यस्तो सल्लाह दिन्छन्: “आफूले चिनेजानेको सबैलाई कतै काम पाइन्छ कि, सोध्नुहोस्। काम खोजिदिने कार्यालयहरूमा सोधखोज गरिरहनुहोस्। ‘घरमा काम गर्ने महिला चाहियो’ अथवा ‘सेल्समेन चाहियो’ भन्ने जस्ता वर्गीकृत विज्ञापनहरू हेर्नुहोस्। काम खोज्न नछोड्नुहोस्! सानोतिनो काम गर्नुपरे तापनि अथवा आफूले सोचेजस्तो काम नमिले पनि सानो काम भनेर नाक नखुम्च्याउनुहोस्।”
हो, यहोवा “[तपाईंको] सहायक हुनुहुन्छ।” उहाँले ‘तपाईंलाई कुनै रीतिले छोड्नुहुनेछैन।’ (हिब्रू १३:५, ६) चिन्तामा नडुब्नुहोस्। भजनहार दाऊदले यस्तो लेखे: “आफ्नो मार्ग परमप्रभुलाई सुम्पी। उहाँमानै भरोसा राख्, अनि उहाँले सो पुऱ्याइदिनुहुनेछ।” (भजन ३७:५) हाम्रो मार्ग यहोवालाई सुम्पिनुको अर्थ परिस्थिति अनुकूल नहुँदा पनि उहाँमाथि भरोसा राख्नु र उहाँको तौरतरिकाअनुसार कामकुरा गर्नु हो।
आडम अनि ईरीनाले पेटपालाको लागि झ्याल र भऱ्याङ सफा गर्ने काम गरे। उनीहरूले फजुल खर्च गरेनन्। काम खोजिदिने कार्यालयहरूमा नियमित रूपमा गएर उनीहरूले कामबारे सोधखोज गरिरहे। ईरीना भन्छिन्: “ठ्याक्क चाहिएकै बेला हामी मदत पाउँथ्यौं।” उनको श्रीमान् पनि भन्छन्: “हामीले प्रार्थनामा समावेश गरेका सबै कुरा यहोवाको इच्छाअनुसार थिएनन् भन्ने कुरा आफ्नो अनुभवबाट हामीले थाह पाएका छौं। यसले हामीलाई उहाँको बुद्धिमा भर पर्न र आफूलाई जे ठीक लाग्छ त्यही नगर्न सिकाएको छ। परमेश्वरले समस्याको समाधान कसरी गर्नुहुन्छ, सो धैर्यपूर्वक पर्खनु नै बेस हुन्छ।”—याकूब १:४.
रिजार्ड अनि मारियोलाले सानो-तिनो काम गर्नुका साथै आवश्यकता बढी भएको इलाकामा गएर प्रचार गरे। रिजार्ड भन्छन्: “खानेकुरा केही पनि नभएकै बेला हामीले काम पायौं। मसीही जिम्मेवारी पूरा गर्न बाधा पुऱ्याउने किसिमको धेरै तलब पाउने जागिर हामीले खाएनौं। हामीले सबै कुरा यहोवाकै हातमा छोड्ने विचार गऱ्यौं।” उनीहरू विश्वस्त छन् कि यहोवाकै कृपाले गर्दा उनीहरूले एकदमै सस्तोमा राम्रो कोठा पाउनुका साथै अन्तमा रिजार्डले पनि काम पाए।
हो, जीविका चलाउने बाटो नै गुम्यो भने साह्रै पीर पर्छ। तर यस्तो अवस्थालाई यहोवाले तपाईंलाई त्याग्नुहुनेछैन भन्ने कुरा आफैले अनुभव गर्ने सुअवसर ठान्नुभए कसो होला? यहोवा तपाईंको हेरविचार गर्नुहुन्छ। (१ पत्रुस ५:६, ७) अगमवक्ता यशैयामार्फत यहोवाले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु।” (यशैया ४१:१०) जागिर गुम्दा र चिताउँदै नचिताएको घटना हुँदा हिम्मत नहार्नुहोस्। सके जति गर्नुहोस् र बाँकी यहोवाको हातमा छोडिदिनुहोस्। आफ्नो अवस्थाबारे गनगन नगरीकन “चूपचाप” यहोवाको बाटो हेर्नुहोस्। (विलाप ३:२६) तपाईंले प्रचुर आशिष् पाउनुहुनेछ।—यर्मिया १७:७.
[पृष्ठ ९-मा भएको चित्र]
आफ्नो फुर्सतको समय आध्यात्मिक गतिविधिको लागि चलाउनुहोस्
[पृष्ठ १०-मा भएका चित्रहरू]
फजुल खर्च नगर्नुहोस् र आफूले सोचेजस्तो जागिर नपाउन्जेल सानोतिनो जागिर त खाँदै-खाँदिनँ नभन्नुहोस्