सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो नम्रता खेती गर्नुहोस्‌

साँचो नम्रता खेती गर्नुहोस्‌

साँचो नम्रता खेती गर्नुहोस्‌

“नम्रहरूलाई तपाईं उद्धार गर्नुहुन्छ।”—२ शमूएल २२:२८.

१, २. संसारका शासकहरूको एउटा कुरा मिल्थ्यो, त्यो के हो?

 मिश्र देशमा भएका पिरामिडहरूले त्यस देशका पुराना शासकहरूको सम्झना दिलाउँछन्‌। इतिहासमा छाप छोड्‌न सफल व्यक्‍तिहरू अरू पनि थिए; जस्तै: अश्‍शूरका सनहेरीब, ग्रीसका महान्‌ सिकन्दर अनि रोमका जुलियस सिजर। यी शासकहरूको एउटा कुरा मिल्थ्यो। तिनीहरू साँचो नम्रता नभएका व्यक्‍तिहरू भनेर चिनिए।—मत्ती २०:२५, २६.

ती शासकहरूले आफ्नो देशका सीधासाधा जनतालाई सान्त्वना चाहिएको छ कि भनेर खोज्दै हिंडेको के तपाईं कल्पना गर्न सक्नुहुन्छ? गाह्रै पर्ला! न त तिनीहरू शोषित जनताको मनोबल बढाउन उनीहरूको झुपडीमा गएको नै कल्पना गर्न सक्नुहुन्छ। सीधासाधा व्यक्‍तिहरूप्रति तिनीहरूले गर्ने व्यवहार र ब्रह्‍माण्डको सर्वोच्च शासक यहोवाले गर्नुहुने व्यवहारबीच आकास जमिनको फरक छ।

नम्रताको सबैभन्दा राम्रो उदाहरण

३. सर्वोच्च शासक यहोवाले आफ्ना जनहरूसित कस्तो व्यवहार गर्नुहुन्छ?

यहोवा अत्यन्तै महान्‌ र उच्च हुनुहुन्छ। तरैपनि, “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।” (२ इतिहास १६:९) अनि विभिन्‍न गाह्रो अवस्थाले गर्दा मनै भाँचिएका नम्र उपासकहरूलाई देख्दा यहोवा के गर्नुहुन्छ? एक अर्थमा भन्‍ने हो भने, पवित्र आत्माले “नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत” गराएर उहाँ यस्ता व्यक्‍तिहरूसँग ‘बस्नुहुन्छ’। (यशैया ५७:१५) यसरी, जागृत भएका उहाँका उपासकहरूले फेरि रमाइरमाइ परमेश्‍वरको सेवा गर्न सक्नेछन्‌। साँच्चै, परमेश्‍वर कत्ति नम्र हुनुहुन्छ!

४, ५. (क) परमेश्‍वरको शासन गर्ने तौरतरिकाबारे भजनहारले कस्तो महसुस गरे? (ख) “कङ्‌गालीहरूलाई” मदत गर्न परमेश्‍वर “निहुरिनुहुन्छ” भन्‍नुको मतलब के हो?

पापी मानिसहरूलाई मदत गर्न सर्वोच्च परमेश्‍वर जति नम्र हुनुभएको छ, यस ब्रह्‍माण्डको कुनै पनि व्यक्‍ति त्यतिको नम्र हुन सकेको छैन। त्यसैकारण त भजनहारले यस्तो लेख्न सके: “परमप्रभु सबै जातिहरूदेखि उच्च हुनुहुन्छ, र उहाँको महिमा स्वर्गभन्दा उच्च छ। हाम्रा परमेश्‍वर परमप्रभुजस्तो को छ? उहाँ ता उच्च स्थानमा विराजमान हुनुभएको छ। औ आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नालाई निहुरिनुहुन्छ। कङ्‌गालीहरूलाई धूलोबाट उहाँलेनै उठाउनुहुन्छ, र दरिद्रहरूलाई घुऱ्‍यानबाट उचाल्नुहुन्छ।”—भजन ११३:४-७.

यहोवा पवित्र हुनुहुन्छ र उहाँमा “घमण्ड” छँदै छैन। (मर्कूस ७:२२, २३) “निहुरिनु” भन्‍ने शब्दले समाजका निम्न वर्गका मानिसहरू बराबर हुन झुक्नु अथवा आफूभन्दा तल्लो दर्जाका मानिसहरूसित व्यवहार गर्दा आफ्नो ओहदा वा प्रतिष्ठाबाट तल झर्नु भन्‍ने अर्थ बुझाउँछ। आफ्ना असिद्ध मानव उपासकहरूको आवश्‍यकताप्रति मायालुपूर्वक ध्यान दिने हाम्रो परमेश्‍वरको नम्रताबारे भजन ११३:६ मा साँच्चै कत्ति राम्रोसँग वर्णन गरिएको छ!—२ शमूएल २२:३६.

येशू किन नम्र हुनुहुन्थ्यो

६. यहोवाको नम्रताको सबैभन्दा ठूलो अभिव्यक्‍ति के थियो?

मानिसजातिको उद्धारको लागि आफ्नो प्रिय पुत्रलाई यस पृथ्वीमा मानिस भएर जन्मन र हुर्कन दिनु परमेश्‍वरको नम्रता अनि प्रेमको सबैभन्दा ठूलो अभिव्यक्‍ति थियो। (यूहन्‍ना ३:१६) येशूले स्वर्गमा बस्नुहुने आफ्नो पिता कस्तो हुनुहुन्छ भनी बताउनुभयो र “संसारको पाप” उठाइलैजान आफ्नो सिद्ध मानव जीवन बलिदान दिनुभयो। (यूहन्‍ना १:२९; १८:३७) आफ्नो पिता यहोवाको नम्रता र अरू गुनहरू हुबहु अनुकरण गर्दै येशूले खुसीसाथ परमेश्‍वरको इच्छा पूरा गर्नुभयो। परमेश्‍वरले सृष्टि गर्नुभएको प्राणीले देखाएको नम्रता र प्रेमको त्यो सबैभन्दा राम्रो उदाहरण थियो। तर सबैले येशूको नम्रताको कदर गरेनन्‌। उहाँका शत्रुहरूले त उहाँलाई “मानिसहरूमा सबैभन्दा नम्र” अर्थात्‌ तुच्छ ठाने। (दानियल ४:१७) तथापि, मसीहीहरूले येशूको अनुकरण गर्नुपर्छ र अरूसित नम्र भई व्यवहार गर्नुपर्छ भनेर प्रेरित पावलले बुझेका थिए।—१ कोरिन्थी ११:१; फिलिप्पी २:३, ४.

७, ८. (क) येशूले कसरी नम्र हुन सिक्नुभयो? (ख) चेला हुन सक्ने व्यक्‍तिहरूलाई येशू कस्तो आग्रह गर्नुहुन्छ?

येशूको उत्कृष्ट उदाहरणमा जोड दिंदै पावलले यस्तो लेखे: “तिमीहरूमा यो मन होस्‌, जो ख्रीष्टमा पनि थियो। उहाँले परमेश्‍वरको स्वरूपमा भएर परमेश्‍वरसितै बराबरको हुनालाई, जोगाइराख्ने धन जस्तो सम्झनुभएन, तर आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो। औ रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, . . . [र] मृत्युसम्मै आफूलाई होच्याउनुभयो।”—फिलिप्पी २:५-८.

कसै-कसैलाई सोध्न मन लाग्ला, ‘येशूले कसरी नम्र हुन सिक्नुभयो?’ त्यो त स्वर्गमा बस्नुहुने आफ्नो पितासित युगौंयुग संगत गर्दा प्राप्त भएको एउटा ठूलो लाभ थियो। त्यतिबेला सबै कुरा सृष्टि गर्न परमेश्‍वरको मुख्य “कारीगर” भएर येशूले काम गर्नुभएको थियो। (हितोपदेश ८:३०, NRV) अदनको बगैंचामा विद्रोह भएपछि आफ्नो पिताले पापी मानिसहरूसित गर्नुभएको व्यवहार परमेश्‍वरको जेठो पुत्र येशूले देख्नुभएको थियो। यस पृथ्वीमा छँदा येशूले पनि आफ्नो पिताले जस्तै नम्रता देखाउनुभयो र यस्तो आग्रह गर्नुभयो: “मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ।”—मत्ती ११:२९; यूहन्‍ना १४:९.

९. (क) साना केटाकेटीहरूको कुन गुन येशूलाई मनपर्थ्यो? (ख) सानो बालकको उदाहरण दिएर येशूले कस्तो पाठ सिकाउनुभयो?

येशू साँच्चै नम्र हुनुभएकोले साना केटाकेटीहरू उहाँसँग पटक्कै डराउँदैनथे। बरु, येशू भनेपछि उनीहरू हुरुक्कै हुन्थे। येशू पनि साना केटाकेटीहरूलाई असाध्यै माया गर्नुहुन्थ्यो र उनीहरूलाई ध्यान दिनुहुन्थ्यो। (मर्कूस १०:१३-१६) साना केटाकेटीहरूको कुन गुन येशूलाई मन पर्थ्यो? आफ्ना केही चेलाहरूले देखाउन नसकेका मनमोहक गुनहरू ती केटाकेटीहरूसित थियो। साना केटाकेटीहरू वयस्कहरूलाई आफूभन्दा ठूलो ठान्छन्‌ भन्‍ने कुरा त सबैलाई थाहै छ। यो कुरा उनीहरूले सोध्ने नानाथरीका प्रश्‍नहरूबाट तपाईं थाह लगाउन सक्नुहुन्छ। हो, वयस्कहरूको तुलनामा साना केटाकेटीलाई सिकाउन सजिलो हुन्छ र उनीहरू वयस्कहरूजस्तो घमन्डले फुलिहाल्दैनन्‌। एक दिनको कुरा हो, सानो बालकलाई देखाउँदै येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू बदलिएर साना बालकहरू जस्ता भएनौ भने कुनै रीतिले स्वर्गको राज्यमा पस्नेछैनौ।” उहाँले यसो पनि भन्‍नुभयो: “जसले यो सानो बालक जस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ।” (मत्ती १८:३, ४) येशूले यस्तो सिद्धान्त बताउनुभयो: “जसले आफूलाई ठूलो तुल्याउँछ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ, त्योचाहिं ठूलो हुनेछ।”—लूका १४:११; १८:१४; मत्ती २३:१२.

१०. हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

१० यस सत्य कुराले महत्त्वपूर्ण प्रश्‍नहरू खडा गर्छ। अनन्त जीवन पाउने कि नपाउने भन्‍ने कुरा केही हदसम्म साँचो नम्रता खेती गर्नुमा निर्भर छ। तर कहिलेकाहीं मसीहीहरूलाई नम्र हुन निकै गाह्रो हुन्छ, किन? घमन्ड त्याग्न र परीक्षाको घडीमा नम्र हुन हामीलाई किन यतिबिघ्न कठिन भएको? अनि कुन कुराले हामीलाई साँचो नम्रता खेती गर्न मदत गर्नेछ?—याकूब ४:६, १०.

नम्र हुन किन गाह्रो भएको?

११. नम्र हुन सङ्‌घर्ष गर्नु किन अचम्मलाग्दो कुरा होइन?

११ यदि तपाईंलाई नम्र हुन गाह्रो भइरहेको छ भने, धन्धा नमान्‍नुहोस्‌। नम्र हुन अरूले पनि सङ्‌घर्ष गरिरहेका छन्‌। सन्‌ १९२० मा यसै प्रहरीधरहरा पत्रिकाले नम्र हुने सन्दर्भमा बाइबलले दिने सल्लाह छलफल गरेको थियो। त्यहाँ यस्तो टिप्पणी गरिएको थियो: “यहोवाले नम्रतालाई धेरै महत्त्व दिनुहुन्छ भनी बुझिसकेपछि दैनिक जीवनमा यो गुन खेती गर्न सबै साँचो मसीहीहरू जुरमुरिनुपर्ने हो।” तर सोही पत्रिकाले यो कुरा पनि मानिलियो: “धर्मशास्त्रले यस विषयमा जस्तोसुकै सल्लाह दिए पनि मानिसहरूसित असिद्ध झुकाव भएकोले परमेश्‍वरका जन र उहाँको मार्गमा हिंड्‌नेहरूले अरू गुनभन्दा नम्रता खेती गर्न निकै सङ्‌घर्ष गर्नुपर्छ।” यस भनाइबाट साँचो मसीहीहरूले नम्र हुन सङ्‌घर्ष गर्नुपर्ने एउटा कारण छर्लङ्‌ग हुन्छ। हो, हामीमा भएको असिद्ध झुकावले अनुचित महिमा खोज्छ। हामी स्वार्थी इच्छाहरूको वशमा परेका पापी दम्पती आदम र हव्वाको सन्तान भएकोले गर्दा पनि यस्तो भएको हो।—रोमी ५:१२.

१२, १३. (क) मसीहीहरूलाई नम्र हुन संसारले कसरी बाधा पुऱ्‍याउँछ? (ख) कसले गर्दा नम्रता खेती गर्न हामीलाई झनै गाह्रो हुन्छ?

१२ हामीलाई नम्रता देखाउन गाह्रो हुनुको दोस्रो कारण हो, हामी बाँचिरहेको संसारले मानिसहरूलाई अरूभन्दा ठूलो हुन सिकाउँछ। संसारका मानिसहरूले राख्ने लक्ष्यहरूमध्ये एउटा, “[पापी] शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी” तृप्त पार्ने लालच हो। (१ यूहन्‍ना २:१६) यस्ता सांसारिक इच्छाहरूको वशमा पर्नुको सट्टा येशूका चेलाहरूले आफ्नो आँखा निर्मल राख्नुपर्छ र परमेश्‍वरको इच्छा गर्न दत्तचीत्त हुनुपर्छ।—मत्ती ६:२२-२४, ३१-३३; १ यूहन्‍ना २:१७.

१३ नम्रता खेती गर्न र नम्रता देखाउन गाह्रो हुनुको तेस्रो कारण हो, यो संसार अभिमानको मूल जरो शैतान अर्थात्‌ दियाबलको अधीनमा छ। (२ कोरिन्थी ४:४; १ तिमोथी ३:६) त्यो शैतान आफू जस्तो छ अरूलाई पनि त्यस्तै बनाउन खोज्छ। उदाहरणको लागि, “जगत्‌का सबै राज्य र तिनको गौरव” दिने लोभ देखाएर येशूलाई शैतानले आफ्नो उपासना गर्न लगाउन खोज्यो। तर नम्र येशूले दियाबलको प्रस्ताव ठाडै इन्कार गर्नुभयो। (मत्ती ४:८, १०) त्यसै गरी, शैतानले मसीहीहरूलाई पनि आफ्नो महिमा खोज्न लोभ्याउन सक्छ। तर नम्र मसीहीहरू येशूको उदाहरण पछ्याउने भरमग्दुर प्रयास गर्दै परमेश्‍वरको मात्र प्रशंसा र आदर गर्छन्‌।—मर्कूस १०:१७, १८.

साँचो नम्रता खेती गर्नुहोस्‌ र देखाउनुहोस्‌

१४. “देखावटी नम्रता” के हो?

१४ कलस्सीका भाइहरूलाई लेखेको पत्रमा प्रेरित पावलले मानिसहरूलाई प्राभावित पार्न नम्र भएको स्वाङ नपार्न चेतावनी दिए। पावलले यस्तो नम्रतालाई “देखावटी नम्रता” भने। नम्र भएको स्वाङ पार्ने व्यक्‍तिलाई आध्यात्मिक रूपमा परिपक्व व्यक्‍ति भन्‍न सकिंदैन। साँच्चै भन्‍ने हो भने, यस्ता व्यक्‍तिहरू घमन्डले “गम्किरहेका” हुन्छन्‌। (कलस्सी २:१८, २३, NW) येशूले नम्र भई टोपल्ने यस्ता व्यक्‍तिहरूको उदाहरण दिनुभयो। उहाँले फरिसीहरूले गर्ने देखावटी प्रार्थना र मानिसहरूलाई देखाउन उदास अनि मुखै बिगारेर गर्ने उपवासको निन्दा गर्नुभयो। तर हाम्रो व्यक्‍तिगत प्रार्थना परमेश्‍वरले सुनिदेऊन्‌ भन्‍ने चाहन्छौं भने हामीले नम्र भई प्रार्थना गर्नुपर्छ।—मत्ती ६:५, ६, १६.

१५. (क) नम्र रहिरहन हामी के गर्न सक्छौं? (ख) नम्रताका केही असल उदाहरणहरू के-के हुन्‌?

१५ यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टजस्तो नम्रताको सबैभन्दा राम्रो उदाहरणलाई ध्यान दिएको खण्डमा मसीहीहरू सधैं नम्र भइरहन सक्नेछन्‌। यसरी ध्यान दिनुमा “विश्‍वासी र बुद्धिमान दास[ले]” प्रबन्ध गरेका बाइबल तथा बाइबल अध्ययन सहायकहरू नियमित रूपमा अध्ययन गर्नु समावेश छ। (मत्ती २४:४५) “आफ्ना दाज्यु-भाइहरूका बीचमा घमण्डले” नफुल्न मसीही निरीक्षकहरूले यस्तो अध्ययन गर्नु नितान्त जरुरी छ। (व्यवस्था १७:१९, २०; १ पत्रुस ५:१-३) रूथ, हन्‍ना र इलीशिबाजस्ता व्यक्‍तिहरूले नम्र हुँदा आशिष्‌ पाएका थुप्रै उदाहरण छन्‌, ती सम्झिनुहोस्‌। (रूथ १:१६, १७; १ शमूएल १:११, २०; लूका १:४१-४३) नम्र भई यहोवाको सेवा गर्ने नाउँ कहलिएका मानिसहरू; जस्तै—दाऊद, यहोशू, बप्तिस्मा दिने यूहन्‍ना र प्रेरित पावलका थुप्रै असल उदाहरण छन्‌, ती पनि विचार गर्नुहोस्‌। (२ इतिहास ३४:१, २, १९, २६-२८; भजन १३१:१; यूहन्‍ना १:२६, २७; ३:२६-३०; प्रेरित २१:२०-२६; १ कोरिन्थी १५:९) अनि आज मसीही मण्डलीमा नम्र भई सेवा गर्ने मसीहीहरूको उदाहरण नि? यी उदाहरणहरूमा मनन गरेपछि साँचो मसीहीहरूले “एउटाले अर्कोप्रति नम्रताको व्यवहार” गर्न सक्नेछन्‌।—१ पत्रुस ५:५.

१६. मसीही सेवकाईले हामीलाई नम्र हुन कसरी मदत गर्छ?

१६ मसीही सेवकाईमा नियमित रूपमा भाग लियौं भने त्यसले पनि हामीलाई नम्र हुन मदत गर्छ। नम्रताले घर-घरको प्रचारकार्य र अरू ठाउँमा भेटिने अपरिचित व्यक्‍तिहरूसित प्रभावकारी ढङ्‌गमा कुरा गर्न मदत गर्छ। विशेष गरी सुरुको भेटमा घरधनीले राज्यसन्देशप्रति त्यति चासो नदेखाउँदा अथवा रूखो व्यवहार गर्दा नम्रता देखाउनुपर्ने हुन्छ। हाम्रो विश्‍वासबारे मानिसहरूले नानाथरीका प्रश्‍नहरू गर्दा नम्रताले मसीहीहरूलाई “नम्रता र श्रद्धासाथ” ती प्रश्‍नको जवाफ दिन मदत गर्छ। (१ पत्रुस ३:१५, NRV) परमेश्‍वरका नम्र सेवकहरू नयाँ-नयाँ इलाकामा बसाइँ सरेका छन्‌ अनि विभिन्‍न संस्कृति र जीवनस्तरका मानिसहरूलाई मदत गरेका छन्‌। आफूले सुसमाचार सुनाउन चाहेका व्यक्‍तिहरूलाई राम्रोसँग मदत गर्न नयाँ भाषा सिक्नुजस्तो कठिन काम गर्दा यस्ता सेवकहरूले आफूलाई कत्ति नम्र तुल्याउनुपऱ्‍यो होला। उनीहरूले गरेको यस्तो काम साँच्चै प्रशंसायोग्य छ!—मत्ती २८:१९, २०.

१७. कस्ता मसीही जिम्मेवारीहरू पूरा गर्न नम्रता चाहिन्छ?

१७ नम्र भएकै कारण धेरैले अरूको हितलाई प्रथम स्थान दिएर आफ्ना मसीही जिम्मेवारीहरू पूरा गर्न सकेका छन्‌। उदाहरणको लागि, राम्रो तयारी गरेर आफ्ना छोराछोरीसित प्रभावकारी ढङ्‌गमा बाइबल अध्ययन सञ्चालन गर्न आफ्नो कामबाट समय निकाल्न एक जना मसीही बुबालाई नम्रता चाहिन्छ। नम्रताले छोराछोरीलाई पनि आफ्ना असिद्ध आमाबाबुको मान गर्न र उहाँहरूको आज्ञापालन गर्न मदत गर्छ। (एफिसी ६:१-४) अर्कै धर्म मान्‍ने पति भएका पत्नीहरूले थुप्रै अवस्थामा नम्रता देखाउनुपर्ने हुन्छ किनभने उनीहरूले “डरसहितको [“गहिरो आदरसहितको,” NW] पवित्र चाल-चलन[द्वारा]” आफ्नो पतिलाई सच्चाइमा ल्याउने कोसिस गर्छन्‌। (१ पत्रुस ३:१, २) नम्रता र आत्मत्यागी प्रेमले बिरामी अनि वृद्ध आमाबाबुको मायालुपूर्वक हेरचाह गर्न पनि मदत गर्छ।—१ तिमोथी ५:४.

नम्रताले समस्या सुल्झाउँछ

१८. नम्रताले हामीलाई समस्याहरू सुल्झाउन कसरी मदत गर्न सक्छ?

१८ परमेश्‍वरका सबै मानव सेवकहरू असिद्ध छन्‌। (याकूब ३:२) कहिलेकाहीं मसीहीहरूबीच खटपट पर्न सक्छ अथवा कुरा राम्रोसँग नबुझेको कारण समस्या खडा हुन सक्छ। एउटाले अर्कोलाई दोष लगाउनुको जायज कारण हुन सक्छ। यस्तो अवस्थामा यो सल्लाह लागू गर्दा अक्सर समस्या सुल्झिन सक्छ: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले [“यहोवाले,” NW] पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।” (कलस्सी ३:१३) हुन त हो, यस सल्लाहअनुसार चल्नु सजिलो छैन तर हामी नम्र छौं भने अरूलाई क्षमा गर्न सक्नेछौं।

१९. चित्त दुखाउने व्यक्‍तिसित कुरा गर्दा हामीले कुन कुरा बिर्सनु हुँदैन?

१९ कहिलेकाहीं एक जना मसीहीलाई यस्तो लाग्न सक्छ—दोष लगाउनुको जायज कारण छ र कुरा गम्भीर भएकोले यसलाई ढाकछोप गर्न मिल्दै मिल्दैन। यस्तो अवस्थामा नम्रताले तिनलाई चित्त दुखाउने व्यक्‍तिसित मिलाप गर्ने उद्देश्‍यले कुराकानी गर्न मदत गर्नेछ। (मत्ती १८:१५) कहिलेकाहीं त घमन्डले गर्दा एक पक्ष वा दुवै पक्षले आफ्नो गल्ती स्वीकार्नै नचाहेको कारण पनि मसीहीहरूबीच समस्या खडा भइरहेको हुन्छ। अथवा मिलाप गर्न अग्रसर हुने व्यक्‍तिले आफूलाई चाहिं बडो धर्मी ठान्दै अर्को पक्षलाई होच्याएर कुरा गर्न सक्छन्‌। तर यसको विपरीत, साँचो नम्रता छ भने मतभिन्‍नताहरू सजिलै सुल्झाउन सकिन्छ।

२०, २१. नम्र हुन मदत गर्ने सबैभन्दा ठूलो कुरा के हो?

२० नम्रता विकास गर्ने एउटा मुख्य तरिका परमेश्‍वरको मदत र पवित्र आत्माको लागि प्रार्थना गर्नु हो। तर “परमेश्‍वरले . . . नम्रहरूलाई [पवित्र आत्मा दिनुका साथै] अनुग्रह गर्नुहुन्छ” भनेर नबिर्सनुहोस्‌। (याकूब ४:६) त्यसकारण, सँगी विश्‍वासीसित तपाईंको ठाकठुक परेको छ भने आफ्नो गल्ती सानो होस्‌ वा ठूलो नम्र भई स्वीकार्न मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌। यदि तपाईंको चित्त दुखेको छ र चित्त दुखाउने व्यक्‍तिले आएर “मलाई माफ गरिदेऊ” भन्छ भने, नम्र भई क्षमा दिनुहोस्‌। क्षमा दिन गाह्रो लाग्छ भने, मनमा रिसराग नराख्न मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌।

२१ नम्र हुँदा पाइने लाभहरू थाह पाइराख्यौं भने हामी यो अनमोल गुन खेती गर्न र नम्र भइरहन उत्प्रेरित हुनेछौं। यस सन्दर्भमा हामीसित यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टको उत्कृष्ट उदाहरण छ। परमेश्‍वरले दिनुभएको यो आश्‍वासन हामी कहिल्यै नभुलौं: “नम्रताको फल परमप्रभुको भय हो, धन, मान र जीवन पनि साथ हुन्छन्‌।”—हितोपदेश २२:४.

मननका लागि बुँदाहरू

• नम्रताको सबैभन्दा राम्रा उदाहरणहरू को-को हुन्‌?

• नम्रता खेती गर्नु किन गाह्रो छ?

• कुन कुराले हामीलाई नम्र हुन मदत गर्छ?

• नम्र हुनु किन एकदमै महत्त्वपूर्ण छ?

[प्रश्‍नहरू]

[पृष्ठ २६-मा भएको चित्र]

येशू साँच्चै नम्र हुनुहुन्थ्यो

[पृष्ठ २८-मा भएको चित्र]

यस संसारले मानिसहरूलाई अरूभन्दा ठूलो बन्‍न उक्साउँछ

[स्रोत]

WHO photo by L. Almasi/K. Hemzǒ

[पृष्ठ २९-मा भएको चित्र]

क्षेत्र सेवकाईमा भेटिने अपरिचित मानिसहरूसित कुरा गर्न नम्रताले हामीलाई मदत गर्छ

[पृष्ठ ३०-मा भएका चित्रहरू]

नम्र भई प्रेमले समस्या ढाक्ने कोसिस गऱ्‍यौं भने मतभिन्‍नताहरू सजिलै सुल्झाउन सकिन्छ

[पृष्ठ ३१-मा भएका चित्रहरू]

मसीहीहरूले थुप्रै तरिकामा नम्रता देखाउन सक्छन्‌