अन्यायले जरा गाडेको संसार
अन्यायले जरा गाडेको संसार
अन्यायले जरा गाडेको संसारमा हामी बाँचिरहेका छौं भनेर के तपाईं मानिलिनुहुन्छ? पक्कै मानिलिनुहुन्छ होला। आखिर, हामीसित जस्तोसुकै प्रतिभा भए पनि र जतिसुकै बुद्धि लडाएर भावी योजनाहरू बुने पनि धन-सम्पत्ति कमाउन, सफलता पाउन र भोजनको राम्रो बन्दोबस्त मिलाउन सकिन्छै भन्ने ग्यारेन्टी छैन। सबै कुराको परिणाम अक्सर प्राचीन समयका बुद्धिमान् राजा सुलेमानले भनेझैं हुन्छ। तिनले भनेका थिए: “भोजन बुद्धिमानको निम्ति, धन-सम्पत्ति समझदारको निम्ति, सफलता निपुण मानिसको निम्ति हुँदैन।” किन? सुलेमान भन्छन्, किनकि “समय र अवसरले नै सबैलाई अधीन गरेको हुन्छ।”—उपदेशक ९:११.
‘झट्टै दुर्दशा आइलाग्दा’
हो, “समय र अवसर” अर्थात् गलत समयमा गलत ठाउँमा पर्दा जतिकै राम्रोसँग बुनिएको योजना र मीठो सपना पनि चकनाचूर हुन्छ। सुलेमानको भनाइअनुसार हामी “माछा जालमा र चरा पासोमा परेझैं . . . झट्टै दुर्दशामा फेला” पर्छौं। (उपदेशक ९:१२) उदाहरणको लागि, आफ्नो परिवार पाल्न करोडौं मानिसले खल-खल पसिना बगाएर खेतीपाती गर्छन्। तर कठै! चाहिएको बेला पानी नपरिदिंदा खडेरीले उनीहरूको बालीनाली स्वाहा हुन्छ र उनीहरू “दुर्दशामा” पर्छन्।
धनी देशहरू दुःखमा परेका मानिसहरूलाई सहयोग गर्न अघि त सर्छन् तर “दुर्दशामा” परेका पीडितहरूलाई गरिने त्यस्तो सहयोगसमेत निष्पक्ष भएजस्तो देखिंदैन। उदाहरणको लागि, एउटा प्रमुख सहयोग संस्थाले दिएको जानकारीअनुसार हालसालै अनिकाल विरुद्ध लडाइँ लड्न “खाडी युद्धमा खर्च गरिएको कुल पाँच भाग रकमको एक भाग मात्र [अफ्रिकी] महादेशलाई दिइयो।” अफ्रिकी महादेशभरि व्याप्त अनिकालको चपेटामा परेर कष्ट भोगिरहेका मानिसहरूलाई सहयोग गर्न धनी राष्ट्रहरूले जति रकम खर्च गरे, त्यसको पाँच गुना बढी रकम एउटा देशमा युद्ध लड्न खर्च गर्नु कत्तिको मनासिब थियो? अनि भौतिक कुरा छेलोखेलो भएको यस जमानामा पृथ्वीका ४ जनामध्ये १ जना अझै पनि गरिबीको रेखामुनि हुनु अनि रोकथाम गर्न सकिने रोगको कारण वर्षेनी चालीस लाख केटाकेटीले ज्यान गुमाउनु के न्यायसंगत कुरा हो? यो त सरासर अन्याय हो!
हुन त, “झट्टै दुर्दशा” आइपर्दा “समय र अवसर[लाई]” मात्र दोष दिनु मिल्दैन। हामीले चाहेर पनि केही गर्न नसक्ने घटनाहरूले गर्दा हामी मृत्युको मुखमा पुग्न सक्छौं। रूसको बेस्लानमा यस्तै भयो। कुरा सन् २००४ शरद्ऋतुको हो। आतङ्कवादी र सुरक्षाफौजबीच दोहोरो भिडन्त हुँदा हजारौंले अनाहकमा ज्यान गुमाए। त्यसरी ज्यान गुमाउनेहरूमध्ये धेरैजसो छुट्टीपछि पहिलो दिन स्कूल आएका अबोध बालबालिकाहरू थिए। हो, त्यस भिडन्तमा को मरे, को बाँचे भन्ने कुरा धेरै हदसम्म संयोगको कुरा थियो। तर त्यस्तो “दुर्दशा” आइपर्नुको मुख्य कारण भने मानिस-मानिसबीचको झगडा नै थियो।
के संसार बदलिएला?
अन्यायबारे कुरा गर्दा कोही-कोही भन्ने गर्छन्, “के गर्नु यस्तै छ संसारको चलन।” उनीहरूको भनाइअनुसार बलियोले निर्धालाई दमन गर्न छोड्नेछैन र धनीले गरिबको शोषण गर्न छोड्नेछैन। मानिसको अस्तित्व रहुन्जेल यस्तो अवस्था अनि “समय र अवसर[ले]” हामीलाई असर गरिनै रहनेछ भनी उनीहरू बताउँछन्।
के संसार बदलिएला? बुद्धिमानीसाथ आफ्नो क्षमता प्रयोग गर्नेहरूले के कहिल्यै आफ्नो परिश्रमको मीठो फल चाख्न पाउलान्? अन्यायले जरा गाडेको यस संसारलाई कसले सधैंको लागि बदल्न सक्ला? यस विषयमा अर्को लेख के भन्छ, अवश्य पढ्नुहोस्।
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
MAXIM MARMUR/AFP/Getty Images