सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं परमेश्‍वरसित हिंड्‌नुहुनेछ?

के तपाईं परमेश्‍वरसित हिंड्‌नुहुनेछ?

के तपाईं परमेश्‍वरसित हिंड्‌नुहुनेछ?

“तेरा परमेश्‍वरसित नम्र भएर हिंड्‌नू।”—मीका ६:८.

१, २. हामीप्रतिको यहोवाको सोचाइलाई एक जना बुबाले आफ्नो बच्चालाई हिंड्‌न सिकाएको कुरासित कसरी तुलना गर्न सकिन्छ?

 लड्‌ला-लड्‌लाजस्तो गरेर धर्मराउँदै उभिएको बालकले आफ्नो आमा वा बुबाको हात च्याप्प समाउँछ र पहिलो चोटि टुकुटुकु दुई-चार पाइला चाल्छ। अरूलाई बालकको यो हिंडाइ मामुली लाग्ला तर जन्म दिने आमाबाबुको लागि भने यो एउटा अविस्मरणीय क्षण हो। त्यतिखेर आमाबाबुले उसको उज्जवल भविष्यको आशा गर्छन्‌। आफ्नो बालकको हात समातेर आउनेवाला महिना र वर्षहरूमा सँगसँगै हिंड्‌ने सपना सजाउन थाल्छन्‌। उसलाई चाहिने डोऱ्‍याइ र उसका भौतिक तथा भावनात्मक आवश्‍यकताहरू पूरा गरिदिने योजनाहरू बुन्‍न थाल्छन्‌।

पृथ्वीमा भएका आफ्ना छोराछोरीप्रति पनि यहोवा परमेश्‍वर यस्तै सोचाइ राख्नुहुन्छ। एक पटक उहाँले आफ्नो जन इस्राएल अथवा एप्रैमको विषयमा यसो भन्‍नुभएको थियो: “एप्रैमलाई हिंड्‌न सिकाउने ता मनै थिएँ। मैले तिनीहरूलाई काखमा बोकें। . . . मैले तिनीहरूलाई मायाको डोरी, प्रेमको बन्धनले बाँधेर डोऱ्‍याएँ।” (होशे ११:३, ४) यहाँ यहोवाले आफूलाई मायालु बुबाको रूपमा चित्रण गर्नुभएको छ, एक जना यस्तो बुबाको रूपमा जसले आफ्नो बच्चा लड्‌दा हात समाएर उठाउँछ र धीरजी भई हिंड्‌न सिकाउँछ। सबैभन्दा उत्तम बुबा यहोवा हामीलाई हिंड्‌न सिकाउन आत्तुर हुनुहुन्छ। हामी जति हिंड्‌न सिक्छौं उति नै उहाँ हामीसित हिंड्‌न पाएकोमा रमाउनुहुन्छ। यस लेखको मुख्य शास्त्रपदले बताएझैं हामी परमेश्‍वरसित हिंड्‌न सक्छौं! (मीका ६:८) तर परमेश्‍वरसित हिंड्‌नुको अर्थ के हो? किन परमेश्‍वरसित हिंड्‌ने? उहाँसित हिंड्‌नु कसरी सम्भव छ? अनि परमेश्‍वरसित हिंड्‌दा कस्ता आशिष्‌हरू पाउन सक्छौं? आउनुहोस्‌, यी चार प्रश्‍नलाई एक-एक गरी केलाएर हेरौं।

परमेश्‍वरसित हिंड्‌नुको अर्थ के हो?

३, ४. (क) परमेश्‍वरसित हिंड्‌ने भन्‍ने विवरण किन उल्लेखनीय छ? (ख) परमेश्‍वरसित हिंड्‌नुको अर्थ के हो?

हुन त हो, यहोवा आत्मा हुनुभएको कारण रगत-मासुले बनेको मानिस साँच्चिनै यहोवासित हिंड्‌न सक्दैन। (प्रस्थान ३३:२०; यूहन्‍ना ४:२४) त्यसैकारण त मानिस परमेश्‍वरसित हिंड्‌ने प्रसङ्‌ग उठ्‌नासाथ बाइबलले लाक्षणिक भाषा चलाउँछ। यसबारे बाइबलमा दिइएको विवरण निकै उल्लेखनीय छ। त्यो विवरण सबैले र कुनै पनि समयका मानिसहरूले बुझ्ने खालको छ। वास्तवमा, अर्को व्यक्‍तिसित हिंड्‌ने भन्‍ने कुरा हरेक ठाउँ वा युगका मानिसहरूले सहजै बुझ्न सक्छन्‌। यस विवरणमा आत्मीयता र घनिष्ठता झल्किन्छ, होइन र? यस्तो भावनाले हामीलाई परमेश्‍वरसित हिंड्‌नुको अर्थ केही हदसम्म भए पनि बुझ्न मदत गर्छ। आउनुहोस्‌, यस कुरालाई अझ प्रस्टसँग बुझौं।

के तपाईंलाई विश्‍वासी पुरुष हनोक र नूहबारे थाह छ? उनीहरू परमेश्‍वरसित हिंडे भनिएको छ, किन होला? (उत्पत्ति ५:२४; ६:९) बाइबलमा दिइएको “हिंड्‌नु” शब्दले अक्सर “कुनै खास उद्देश्‍यको पछि लाग्नु” भन्‍ने अर्थ बुझाउँछ। हनोक र नूह जीवनभर यहोवा परमेश्‍वरको इच्छासित मेल खाने उद्देश्‍यको पछि लागे। आफ्नो वरपरका मानिसहरू जस्तो नभई उनीहरू डोऱ्‍याइका लागि यहोवामा भर परे र उहाँको निर्देशन पालन गरे। उनीहरूले यहोवामाथि भरोसा राखे। के यसको मतलब यहोवाले नै उनीहरूका लागि निर्णय गरिदिनुभयो भनेको हो? होइन। यहोवाले मानिसहरूलाई स्वतन्त्र इच्छा दिनुभएको छ र उहाँ हामीले यो उपहार आफ्नो “तर्कशक्‍ति” चलाएर प्रयोग गरेको चाहनुहुन्छ। (रोमी १२:१, NW) तर जीवनमा निर्णयहरू गर्दा हामीले आफ्नो तर्कशक्‍तिलाई नम्र भई यहोवाको अत्यन्त उच्च विचारद्वारा डोरिन दिनुपर्छ। (हितोपदेश ३:५, ६; यशैया ५५:८, ९) यसो गऱ्‍यौं भने, जीवनको यात्रामा हामी परमेश्‍वरसित नजिक भएर हिंडिरहेका हुन्छौं।

५. येशूले किन जीवनमा ‘एक हात थप्ने’ कुरा गर्नुभयो?

बाइबलले जीवनलाई अक्सर यात्रा अथवा हिंड्‌नुसित तुलना गर्छ। कुनै-कुनै अवस्थामा यस्तो तुलना सीधै गरिएको छ भने, कुनै-कुनैमा घुमाउरो पाराले गरिएको छ। उदाहरणको लागि, येशूले यसो भन्‍नुभयो: “तिमीहरूमध्ये कुन चाहिंले फिक्री गरेर आफ्नो कदमा एक हात थप्नसक्छौ?” (मत्ती ६:२७) यस पदका शब्दहरूले तपाईंलाई अलमलमा पार्न सक्छ। मानिसको जीवन प्रायजसो समयसित नाप्ने गरिन्छ तर येशूले यहाँ जीवनमा ‘एक हात थप्ने’ कुरा गर्नुभयो, किन होला? पक्कै पनि येशूलाई जीवन यात्राजस्तै लागेको हुनुपर्छ। वास्तवमा, चिन्ता गरेर जीवन अलिकति पनि लम्बिंदैन भनेर उहाँले सिकाइरहनुभएको थियो। तर परमेश्‍वरसित कति लामो दूरीसम्म हिंड्‌ने, त्यो हाम्रो वशको कुरा होइन भन्‍ने निष्कर्षमा पुग्नु के उचित होला? पटक्कै उचित हुँदैन! यसको कारण बुझ्न हामीले दोस्रो प्रश्‍नमा ध्यान दिनुपर्छ। त्यो प्रश्‍न हो—किन परमेश्‍वरसित हिंड्‌ने?

किन परमेश्‍वरसित हिंड्‌ने?

६, ७. असिद्ध मानिसहरूलाई कुन कुराको सख्त जरुरत छ र त्यो आवश्‍यकता पूरा गर्न यहोवामाथि भर पर्नु किन राम्रो कुरा हो?

यहोवा परमेश्‍वरसित हिंड्‌नुपर्ने एउटा कारण यर्मिया १०:२३ मा उल्लेख गरिएको छ: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” त्यसकारण मानिससित आफ्नो पाइलालाई डोऱ्‍याउने क्षमता त के अधिकार पनि छैन। हामीलाई डोऱ्‍याइको सख्त जरुरत छ। परमेश्‍वरबाट स्वतन्त्र भई मनखुसी गर्न चाहनेहरूले आदम र हव्वाले जुन गल्ती गरे त्यही गल्ती गर्छन्‌। ती प्रथम दम्पतीले आफ्नो लागि के असल, के खराब सो खुट्ट्याउने अधिकार आफूसित छ भन्ठाने। (उत्पत्ति ३:१-६) त्यस्तो अधिकार मानिससित “छैन।

के तपाईंलाई जीवनको यात्रामा कसैको डोऱ्‍याइ चाहिन्छ जस्तो लाग्छ? हामीले दिनहुँ साना-ठूला निर्णयहरू गर्नुपर्ने हुन्छ। कुनै-कुनै निर्णय गर्न गाह्रो हुन्छ र त्यसले हाम्रो भविष्यलाई मात्र होइन, हाम्रा प्रियजनहरूलाई समेत असर गर्न सक्छ। तर सोच्नुहोस्‌—यस्ता निर्णयहरू गर्न हामीभन्दा कता हो कता पाको र बुद्धिमान्‌ व्यक्‍ति मायालुपूर्वक हामीलाई डोऱ्‍याउन तयार हुनुहुन्छ! दुःखको कुरा, आज अधिकांश मानिसहरू आफ्नै निर्णयमा भर पर्न रुचाउँछन्‌ र त्यसै अनुरूप आफ्नो पाइला चाल्छन्‌। तिनीहरू हितोपदेश २८:२६ मा बताइएको यस सत्यलाई बेवास्ता गर्छन्‌: “आफ्नै बुद्धिमा मात्र भरोसा गर्नु सरासर मूर्खता हो तर बुद्धिको मार्गमा हिंड्‌ने सुरक्षित रहनेछ।” मानिसको छली हृदयमा भरोसा गर्दा भोग्नुपर्ने विपत्तिहरूबाट यहोवा हामीलाई बचाउन चाहनुहुन्छ। (यर्मिया १७:९) हामी बुद्धिको मार्गमा हिंडेको यहोवा चाहनुहुन्छ। बुद्धिमानीपूर्वक डोऱ्‍याउनुहुने र निर्देशन दिनुहुने व्यक्‍ति मानेर उहाँमाथि भरोसा गरेको उहाँ चाहनुहुन्छ। यसो गऱ्‍यौं भने हाम्रो जीवनको यात्रा सुरक्षित, सन्तोषजनक र अर्थपूर्ण हुनेछ।

८. पाप र असिद्धताले मानिसहरूलाई एक न एक दिन कता पुऱ्‍याउँछ तरैपनि हाम्रो जीवनको यात्रा कस्तो होस्‌ भन्‍ने यहोवा चाहनुहुन्छ?

परमेश्‍वरसित हिंड्‌नुपर्ने अर्को कारणमा हामी उहाँसित कति लामो दूरीसम्म हिंड्‌न चाहन्छौं भन्‍ने कुरा समावेश छ। बाइबलमा एउटा तीतो सत्य बताइएको छ। एक अर्थमा भन्‍ने हो भने, सबै असिद्ध मानिसहरू एउटै गन्तव्यतर्फ लम्किरहेका छन्‌। बुढेसकालसँगै आउने समस्याहरूबारे बताउँदै उपदेशक १२:५ यसो भन्छ: “मानिस ता आफ्नो अनन्तको घरमा जानेछ र शोक गर्नेहरू गल्लीको यताउता लाग्नेछ।” के हो यो “अनन्तको घर”? यो चिहान हो, जहाँ पाप र असिद्धताको कारण एक न एक दिन हामी जानै पर्छ। (रोमी ६:२३) तर मानिसको आयु छोटो र समस्यै-समस्याले भरिएको होस्‌ भन्‍ने यहोवा चाहनुहुन्‍न। (अय्यूब १४:१) परमेश्‍वरसित हिंड्यौं भने मात्र हामी सधैंभरि हिंडिरहन सक्नेछौं। के तपाईंले चाहनुभएको कुरा पनि यही नै होइन र? त्यसो हो भने, तपाईं आफ्नो पिता यहोवासित हिंड्‌नुपर्छ।

हामी कसरी परमेश्‍वरसित हिंड्‌न सक्छौं?

९. कहिलेकाहीं यहोवा आफ्ना जनहरूबाट किन लुक्नुभयो तरैपनि यशैया ३०:२० अनुसार उहाँ कस्तो आश्‍वासन दिनुहुन्छ?

तेस्रो प्रश्‍नलाई हामीले सबैभन्दा बढी ध्यान दिनु जरुरी छ। त्यो प्रश्‍न हो, हामी कसरी परमेश्‍वरसित हिंड्‌न सक्छौं? हामी यस प्रश्‍नको जवाफ यशैया ३०:२०, २१ मा पाउन सक्छौं: “तिमीहरूका गुरु अझ लुकाइनेछैन। तर तिमीहरूको आँखाले तिमीहरूका गुरुलाई देख्नेछ। तिमीहरू दाहिने-देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्‍ने शब्द सुन्‍नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड।’ ” यहोवाको विद्रोह गरिएपछि उहाँ तिनीहरूबाट लुक्नुभयो भनेर पद २० का शब्दहरूले उहाँका जनहरूलाई सम्झना दिलाएको हुनुपर्छ। (यशैया १:१५; ५९:२) तर यहाँ यहोवालाई लुक्नुभएजस्तो गरी होइन, आफ्ना विश्‍वासी जनहरूसमक्ष खुलेआम उभिनुभएझैं गरी वर्णन गरिएको छ। हामी एक जना यस्तो गुरु अथवा शिक्षकको कल्पना गर्न सक्छौं जो आफ्ना विद्यार्थीहरूको अगाडि उभिएर विद्यार्थीहरूलाई सिकाइरहेका छन्‌।

१०. कुन अर्थमा तपाईं ‘पछिल्तिरबाट’ आफ्नो महान्‌ गुरुको शब्द सुन्‍न सक्नुहुन्छ?

१० पद २१ मा अर्कै किसिमको विवरण पाइन्छ। आफ्ना जनहरूलाई सही दिशामा हिंड्‌न निर्देशन दिंदै तिनीहरूको पछि-पछि हिंडिरहनुभएजस्तो गरी यहोवालाई यस पदमा चित्रण गरिएको छ। जसरी कहिलेकाहीं गोठाला आफ्ना भेडाहरूको पछि-पछि हिंड्‌छन्‌ अनि तिनीहरूलाई डोऱ्‍याउन र गलत बाटोमा जानदेखि रोक्न पछाडिबाट कराउँछन्‌, यो अभिव्यक्‍ति त्यसैमा आधारित हुन सक्छ भनी शास्त्रविद्‌हरूले बताएका छन्‌। यो विवरण हामीलाई कसरी लागू हुन्छ? डोऱ्‍याइको लागि परमेश्‍वरको वचन पढ्‌दा हामीले हजारौं वर्षअघि रेकर्ड गरिएका शब्दहरू पढिरहेका हुन्छौं। समयको रफ्तारलाई विचार गर्दा एक किसिमले ती शब्दहरू हाम्रो पछिल्तिरबाट नै आइरहेका छन्‌। तरैपनि, बाइबल लेखिएको समयमा ती शब्दहरू जति उपयोगी थिए आज पनि यी उत्तिकै उपयोगी छन्‌। बाइबलको सल्लाहले हामीलाई दिनहुँ सही निर्णय गर्न र भविष्यमा कसरी जीवन बिताउने भनेर योजना बनाउन मदत गर्न सक्छ। (भजन ११९:१०५) हामीले निष्कपट भई यस्तो सल्लाह खोज्यौं र त्यसलाई आफ्नो जीवनमा लागू गऱ्‍यौं भने यहोवा हाम्रो मार्गदर्शक बन्‍नुहुनेछ। हामी यहोवासित हिंडिरहेका हुन्छौं।

११. यर्मिया ६:१६ मा यहोवाले आफ्ना जनहरूलाई कस्तो हार्दिक आग्रह गर्नुभयो तर तिनीहरूले चाहिं कस्तो प्रतिक्रिया देखाए?

११ के हामी परमेश्‍वरको वचनमा पाइने सल्लाहअनुसार चलिरहेका छौं? कहिलेकाहीं जीवनको यात्रामा टक्क अडिएर आफूलाई इमानदार भई जाँच्नु बेस हुन्छ। यसो गर्न हामीलाई मदत गर्ने एउटा पद विचार गर्नुहोस्‌: “परमप्रभु यसो भन्‍नुहुन्छ, सडकहरूमा उभिएर हेर, असल मार्ग भएका पुराना बाटोहरूका विषयमा सोध, र त्यसैमा हिंड, र आफ्नो प्राणको निम्ति विश्राम पाउनेछौ। तर तिनीहरूले भने, ‘हामी त्यसमा हिड्‌नेछैनौं।’ ” (यर्मिया ६:१६) यी शब्दहरू पढ्‌दा दोबाटोमा उभिएर सही बाटो सोध्ने यात्रीको झझल्को आउन सक्छ। आध्यात्मिक अर्थमा भन्‍ने हो भने, यहोवाको विद्रोह गर्ने इस्राएलीहरूले पनि त्यसै गर्नुपर्ने थियो। तिनीहरूले “पुराना बाटोहरू” सोधखोज गरेर त्यसैमा हिंड्‌नुपर्ने थियो। तिनीहरूका विश्‍वासी पितापुर्खाहरू त्यस “असल मार्ग[मा]” हिंडेका थिए तर मूर्ख हुँदै इस्राएलीहरू त्यस मार्गमा हिंड्‌न मानेनन्‌। दुःखको कुरा, यहोवाले मायालुपूर्वक अनेक सम्झाइबुझाइ गर्दा पनि इस्राएलीहरूले फिटिक्कै टेरेनन्‌। यर्मिया ६:१६ अझ यसो भन्छ: “तर तिनीहरूले भने, ‘हामी त्यसमा हिंड्‌नेछैनौं।’ ” तर अहिले परमेश्‍वरका जनहरूले यस्तो सल्लाह सुनेका छन्‌।

१२, १३. (क) यर्मिया ६:१६ मा दिइएको सल्लाहप्रति ख्रीष्टका अभिषिक्‍त अनुयायीहरूले कस्तो प्रतिक्रिया देखाएका छन्‌? (ख) आज हामी जुन बाटोमा हिंडिरहेका छौं, त्यसबारे हामी कसरी आफूलाई जाँच्न सक्छौं?

१२ उन्‍नाइसौं शताब्दीको अन्तदेखि ख्रीष्टका अभिषिक्‍त अनुयायीहरूले यर्मिया ६:१६ मा दिइएको सल्लाह लागू गर्दै आएका छन्‌। “पुराना बाटोहरूमा” मनदेखि नै फर्कने सन्दर्भमा उनीहरूले सामूहिक रूपमा नेतृत्व लिएका छन्‌। धर्मत्यागी मसीहीजगत्‌जस्तो नभई उनीहरूले येशू ख्रीष्टले स्थापना गर्नुभएको र इस्वी संवत्‌ प्रथम शताब्दीका उहाँका विश्‍वासी चेलाहरूले पनि समर्थन गरेका “पक्का कुराहरूको नमूना” विश्‍वासी भई पक्रिराखेका छन्‌। (२ तिमोथी १:१३) आजको दिनसम्म पनि अभिषिक्‍त जनहरूले एक-अर्कालाई अनि “अरू भेडा[का]” सँगी विश्‍वासीहरूलाई मसीहीजगत्‌ले बेवास्ता गरेको पक्का र आनन्दमय जीवनको बाटोमा हिंड्‌न मदत गरिरहेका छन्‌।—यूहन्‍ना १०:१६.

१३ ठीक-ठीक समयमा आध्यात्मिक भोजन पस्केर विश्‍वासी दास वर्गले लाखौं मानिसलाई “पुराना बाटोहरू” खोज्न र परमेश्‍वरसित हिंड्‌न मदत गरेका छन्‌। (मत्ती २४:४५-४७) के तपाईं ती लाखौंमा एक हुनुहुन्छ? हुनुहुन्छ भने, आफ्नै बाटो रोजेर तर्किनदेखि तपाईं कसरी जोगिन सक्नुहुन्छ? कहिलेकाहीं जीवनको यात्रामा टक्क अडिएर आफू हिंडिरहेको बाटो जाँच गर्नु बुद्धिमानी हुन्छ। विश्‍वासी भई बाइबल तथा बाइबल आधारित प्रकाशनहरू पढ्‌नुभयो र अभिषिक्‍त मसीहीहरूले प्रबन्ध गर्ने सभा, सम्मेलन अनि अधिवेशनहरूमा उपस्थित हुनुभयो भने, तपाईंले परमेश्‍वरसित हिंड्‌ने प्रशिक्षण पाइरहनुभएको हुनेछ। अनि दिइएको सल्लाह नम्र भई लागू गर्नुभयो भने, “पुराना बाटोहरूमा” लागेर तपाईं साँच्चिनै परमेश्‍वरसित हिंडिरहनुभएको हुनेछ।

“अदृश्‍यलाई देखेझैं गरी” हिंड्‌नुहोस्‌

१४. यदि हामीलाई यहोवा वास्तविक लाग्छ भने, त्यो कुरा हामीले गर्ने निर्णयहरूमा कसरी झल्किनेछ?

१४ यहोवासित हिंड्‌ने हो भने, हामीलाई उहाँ वास्तविक लाग्नै पर्छ। नबिर्सनुहोस्‌, यहोवाले पुरातन इस्राएलका विश्‍वासी जनहरूलाई म तिमीहरूबाट लुकेको छैनँ भनेर विश्‍वास दिलाउनुभयो। त्यस्तै गरी आज उहाँले आफूलाई महान्‌ गुरु अथवा शिक्षकको रूपमा आफ्ना जनहरूसमक्ष प्रकट गर्नुभएको छ। के तपाईंलाई, यहोवा तपाईंलाई सिकाउन तपाईंकै अगाडि उभिरहनुभएको छ जत्तिकै लाग्छ? परमेश्‍वरसित हिंड्‌ने हो भने हामीमा त्यस किसिमको विश्‍वास हुनु जरुरी छ। मोशासित यस्तो विश्‍वास थियो “किनकि अदृश्‍यलाई देखेझैं गरी तिनी स्थिर रहे।” (हिब्रू ११:२७) यदि हामीलाई यहोवा वास्तविक लाग्छ भने, हामीले गर्ने निर्णयहरू उहाँलाई कस्तो लाग्छ होला भनी विचार गर्नेछौं। उदाहरणको लागि, हामी गलत काम गर्ने विचारसमेत गर्दैनौं र मसीही प्राचीन अथवा परिवारका सदस्यहरूबाट आफ्नो पाप लुकाउने कोसिस गर्दैनौं। बरु, अरूले देखोस्‌ या नदेखोस्‌ हरपल इमानदार भई हामी परमेश्‍वरसित हिंड्‌ने प्रयास गर्छौं। पुरातन समयका राजा दाऊदले जस्तै हामी पनि यस्तो संकल्प गर्छौं: “सिद्ध हृदयले म आफ्नो घरभित्र हिंड्डुल गर्नेछु।”—भजन १०१:२.

१५. मसीही भाइबहिनीहरूसित सरसंगत गऱ्‍यौं भने हामीलाई यहोवा वास्तविक लाग्नेछ, कसरी?

१५ हामी असिद्ध छौं, हाड र मासुले बनेका छौं अनि कहिलेकाहीं हामीलाई अदृश्‍य कुरा विश्‍वास गर्न गाह्रो हुन्छ भनेर यहोवालाई थाह छ। (भजन १०३:१४) यस्ता कमीकमजोरी हटाउन उहाँले हामीलाई धेरै मदत गर्न सक्नुहुन्छ। उदाहरणको लागि, उहाँले पृथ्वीका सम्पूर्ण राष्ट्रहरूबाट “उहाँको नाउँको निम्ति . . . एक जाति” जम्मा गर्नुभएको छ। (प्रेरित १५:१४) काँधमा काँध मिलाएर यहोवाको सेवा गर्दा एक-अर्काको लागि हामी बलको स्रोत बन्छौं। आफ्ना कमीकमजोरी हटाउन अथवा कठिन परीक्षा पार गर्न कुनै मसीही भाइ वा बहिनीलाई यहोवाले कसरी मदत गर्नुभयो भनेर थाह पाउँदा पनि हामीलाई यहोवा परमेश्‍वर अझ वास्तविक लाग्छ।—१ पत्रुस ५:९.

१६. येशूको बारेमा सिक्दा हामी परमेश्‍वरसित हिंडिरहेका हुन्छौं, कसरी?

१६ सबैभन्दा महत्त्वपूर्ण कुरा त, यहोवाले हामीलाई उहाँको पुत्रको उदाहरण दिनुभएको छ। येशूले यसो भन्‍नुभयो: “बाटो, सत्य, र जीवन मैं हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।” (यूहन्‍ना १४:६) यहोवालाई अझ वास्तविक बनाउने एउटा सबैभन्दा राम्रो तरिका पृथ्वीमा छँदा येशूले गर्नुभएका कामकुराबारे अध्ययन गर्नु हो। येशूले जे भन्‍नुभयो वा जे गर्नुभयो, त्यो स्वर्गमा बस्नुहुने आफ्नो पिताको व्यक्‍तित्व अनि तौरतरिकासित दुरुस्त मेल खान्थ्यो। (यूहन्‍ना १४:९) जब हामी निर्णयहरू गर्छौं त्यतिबेला यस विषयमा येशूले भए कस्तो निर्णय गर्नुहुने थियो होला भनी होस पुऱ्‍याएर विचार गर्नु जरुरी छ। यसरी होस पुऱ्‍याएर अनि प्रार्थनापूर्वक विचार गर्दै निर्णयहरू गऱ्‍यौं भने, हामी ख्रीष्टको पाइलामा हिंडिरहेका हुन्छौं। (१ पत्रुस २:२१) अनि ख्रीष्टको पाइलामा हिंड्‌दा हामी परमेश्‍वरसित हिंडिरहेका हुन्छौं।

कस्ता आशिष्‌हरू पाउन सक्छौं?

१७. यहोवाको मार्गमा हिंड्यौं भने आफ्नो प्राणको निम्ति हामी कस्तो विश्राम पाउनेछौं?

१७ यहोवा परमेश्‍वरसित हिंड्‌नुको अर्थ सन्तोषजनक जीवन बिताउनु हो। “असल मार्ग” खोज्ने सन्दर्भमा आफ्ना जनहरूलाई यहोवाले कस्तो प्रतिज्ञा गर्नुभएको थियो, सम्झनुहोस्‌ त। उहाँले भन्‍नुभएको थियो: “त्यसैमा हिंड, र आफ्नो प्राणको निम्ति विश्राम पाउनेछौ।” (यर्मिया ६:१६) के हो यो “विश्राम” भनेको? के यो मोजमस्ती र सुखसयलको जीवन हो? होइन। यहोवा हामीलाई त्योभन्दा कता हो कता राम्रो अनि धनाढ्य व्यक्‍तिहरूले पनि हतपती पाउन नसक्ने कुरा दिनुहुन्छ। प्राणको निम्ति विश्राम पाउनु भनेको मनमा शान्ति हुनु, आनन्दित र सन्तुष्ट हुनु अनि आफ्ना आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्नु हो। यस किसिमको विश्राम पाउनु भनेको जीवनमा सर्वोत्कृष्ट मार्ग रोजेछु भनी निर्धक्क हुनु हो। समस्यै-समस्याले भरिएको यस संसारमा यस्तो मनोशान्ति पाउनु ठूलो आशिष्‌ हो!

१८. यहोवा हामीमाथि कस्ता आशिष्‌हरू बर्साउन चाहनुहुन्छ र तपाईंले कस्तो संकल्प गर्नुभएको छ?

१८ साँच्चै भन्‍ने हो भने, जीवन आफैमा एउटा अनमोल आशिष्‌ हो। हिंड्‌दै नहिंड्‌नुभन्दा एक पाइला भए पनि हिंड्‌नु बेस हो। तर तपाईंको जीवनको यात्रा मस्त जवानीदेखि पीडाले भरिएको बुढ्यौलीसम्म मात्र सीमित होस्‌ भन्‍ने यहोवा कदापि चाहनुहुन्‍न। हो, तपाईंले आजसम्मकै सबैभन्दा ठूलो आशिष्‌ पाएको यहोवा चाहनुहुन्छ। उहाँ तपाईं सँगसँगै सदासर्वदा हिंड्‌न चाहनुहुन्छ! यसबारे मीका ४:५ मा राम्रोसँग वर्णन गरिएको छ: “सबै जातिका मानिसहरू चाहिं ता आफ्नो-आफ्नो देवताको नाउँमा हिंडछन्‌, तर हामीचाहिं सदासर्वदै परमप्रभु [यहोवा] आफ्ना परमेश्‍वरको नाउँमा हिंडनेछौं।” के तपाईं त्यो आशिष्‌को भागिदार बन्‍न चाहनुहुन्छ? यहोवाले निम्तो दिनुभएझैं के तपाईं ‘साँच्चैको जीवन’ पाउन चाहनुहुन्छ? (१ तिमोथी ६:१९) चाहनुहुन्छ भने आज, भोली र सदासर्वदा यहोवासित हिंड्‌ने दह्रो संकल्प गर्नुहोस्‌!

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• परमेश्‍वरसित हिंड्‌नुको अर्थ के हो?

• तपाईंलाई परमेश्‍वरसित हिंड्‌नुपर्छ जस्तो लाग्नुको कारण के हो?

• कुन कुराले तपाईंलाई परमेश्‍वरसित हिंड्‌न मदत गर्नेछ?

• परमेश्‍वरसित हिंड्‌नेहरूले कस्ता आशिष्‌हरू पाउनेछन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएका चित्रहरू]

बाइबल पढ्‌दा हामी आफ्नो पछिल्तिर यसो भन्‍ने शब्द सुन्छौं, “बाटो यही हो”

[पृष्ठ २५-मा भएको चित्र]

सभाहरूमा हामी ठीक-ठीक समयमा आध्यात्मिक भोजन पाउँछौं