सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

छुडौतीको बलिदानले परमेश्‍वरको धार्मिकताको महिमा गर्छ

छुडौतीको बलिदानले परमेश्‍वरको धार्मिकताको महिमा गर्छ

छुडौतीको बलिदानले परमेश्‍वरको धार्मिकताको महिमा गर्छ

आदम र हव्वाले विद्रोह गरेपछि यहोवाले एउटा सन्तान खडा गर्ने प्रतिज्ञा गर्नुभयो, जुन सन्तानको कुर्कुच्चा डसिने थियो। (उत्पत्ति ३:१५) परमेश्‍वरका शत्रुहरूले येशू ख्रीष्टलाई शासनाको खम्बामा लट्‌काएर मार्दा त्यस सन्तानको कुर्कुच्चा डसियो। (गलाती ३:१३, १६) पवित्र आत्माको शक्‍तिद्वारा चमत्कारपूर्ण ढङ्‌गमा गर्भवती भएकी कन्ये केटीबाट येशूको जन्म भएको कारण उहाँ पापरहित हुनुहुन्थ्यो। त्यसैकारण त आदमबाट सरेको पाप र मृत्युदेखि मानिसहरूलाई मुक्‍त गर्न येशूले बगाउनुभएको रगतलाई छुडौतीको मोलको रूपमा प्रयोग गर्न सम्भव भयो।—रोमी ५:१२, १९.

आफ्नो उद्देश्‍य पूरा गर्नदेखि सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई कुनै कुराले रोक्न सक्दैन। यसैकारण मानिस पापमा फसेपछि ख्रीष्टले चढाउनुभएको छुडौतीको बलिदान यहोवाको नजरमा पहिल्यै तिरिसकेको छुडौतीको मोलसरह थियो र उहाँले गर्नुभएको प्रतिज्ञामा विश्‍वास गर्नेहरूसित यहोवाले व्यवहार गर्न सक्नुभयो। त्यसैकारण पनि हनोक, नूह र अब्राहामजस्ता आदमका पापी सन्तान परमेश्‍वरसित हिंड्‌न सके र उहाँको पवित्रतालाई बिटुलो नपारीकन परमेश्‍वरसित मित्रता समेत गाँस्न सके।—उत्पत्ति ५:२४; ६:९; याकूब २:२३.

यहोवामाथि विश्‍वास गर्ने केही व्यक्‍तिले गम्भीर पाप गरे। यसको एउटा उदाहरण हो, राजा दाऊद। तपाईं भन्‍नुहोला, ‘हैन, बेतशेबासित व्यभिचार गरेपछि तिनको पति उरियाहलाई समेत मार्न लगाउने राजा दाऊदलाई यहोवाले कसरी आशिष्‌ दिइरहन सक्नुभयो?’ यहोवाले तिनलाई आशिष्‌ दिनुको एउटा महत्त्वपूर्ण कारण दाऊदको साँचो पश्‍चात्ताप र विश्‍वास थियो। (२ शमूएल ११:१-१७; १२:१-१४) येशू ख्रीष्टले पछि चढाउने बलिदानको आधारमा परमेश्‍वरले पश्‍चात्तापी दाऊदले गरेको पाप क्षमा गर्नुभयो र आफ्नो न्याय र धार्मिकतालाई कायम राख्न सक्नुभयो। (भजन ३२:१, २) यस कुराको पुष्टि गर्दै बाइबल भन्छ, येशूले चढाउनुएको छुडौतीको बलिदानले गर्दा नै ‘अघिबाट र वर्त्तमान समयमा गरेका पापकर्मको वास्ता नगरेर [परमेश्‍वरले] धार्मिकता देखाउनुभयो।’—रोमी ३:२५, २६.

हो, येशूले बगाउनुभएको रगतको मोलबाट मानिसहरूले प्रचुर लाभ उठाउन सक्छन्‌। यसै छुडौतीको बलिदानको आधारमा पश्‍चात्तापी मानिसहरूले परमेश्‍वरसित घनिष्ठ सम्बन्ध गाँस्न सक्थे। यति मात्र होइन, ख्रीष्टले चढाउनुभएको बलिदानको आधारमा परमेश्‍वरको नयाँ संसारमा मरेका मानिसहरूको पुनरुत्थान हुनेछ। यसरी पुनरुत्थान हुनेहरूमा येशू ख्रीष्टले छुडौतीको बलिदान चढाउनुभन्दा अघि मरेका परमेश्‍वरका विश्‍वासी सेवकहरू अनि यहोवा र येशू ख्रीष्टलाई चिन्दै नचिनी र परमेश्‍वरको उहाँको उपासना गर्न नपाई मरेकाहरू पनि पर्छन्‌। किनभने बाइबल भन्छ: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” (प्रेरित २४:१५) त्यतिबेला छुडौतीको बलिदानको आधारमा आज्ञाकारी सबै मानिसहरूलाई यहोवाले अनन्त जीवन दिनुहुनेछ। (यूहन्‍ना ३:३६) येशूले नै भन्‍नुभएको थियो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (छड्‌के अक्षर हाम्रो, यूहन्‍ना ३:१६) परमेश्‍वरले छुडौतीको बलिदानको प्रबन्ध नगर्नुभएको भए मानिसहरूले यी सबै लाभ उठाउन सक्ने थिएनन्‌।

तर छुडौतीको बलिदानको उल्लेखनीय पक्ष यस बलिदानबाट हामीले प्राप्त गर्न सक्ने लाभ मात्र होइन। सबैभन्दा महत्त्वपूर्ण पक्ष त ख्रीष्टले चढाउनुभएको छुडौतीको बलिदानले यहोवाको नाउँमा पार्ने असर हो। यहोवा न्यायको मूर्त रूप हुनुहुन्छ भन्‍ने कुरा यस बलिदानले पुष्टि गर्छ। पापी मानिसहरूसित व्यवहार गरेर पनि यहोवा आफूलाई निष्खोट र पवित्र राख्न सक्नुहुन्छ। परमेश्‍वरले छुडौतीको बलिदानको प्रबन्ध नगर्नुभएको भए हनोक, नूह र अब्राहामजस्ता आदमका सन्तानसमेत यहोवासित हिंड्‌न अथवा उहाँको मित्र हुन सक्ने थिएनन्‌। यो कुरा महसुस गरेको कारण भजनहारले यस्तो लेखे: “हे परमप्रभु, तपाईंले पापको लेखा लिनुभयो भने त, हे प्रभु, को खडा हुन सक्छ र?” (भजन १३०:३, NRV) यहोवाले आफ्नो प्रिय पुत्रलाई यस पृथ्वीमा पठाउनुभएकोमा र हाम्रो निम्ति आफूलाई अर्पण गर्न येशू पनि राजी हुनुभएकोमा हामी उहाँहरूप्रति कत्ति आभारी हुनुपर्ने हो!—मर्कूस १०:४५.