परमेश्वरलाई खुसी पार्ने अनुदानहरू
परमेश्वरलाई खुसी पार्ने अनुदानहरू
यो कथा रमाइलो छैन। रानी अतल्याहले षड्यन्त्र र हत्याद्वारा यहूदाको सिंहासन हडपेकी थिइन्। राजघरानाका सबै सदस्यको हत्या भइसक्यो भन्ठानेर तिनले आफैलाई रानी घोषणा गरिन्। तर यहोवा र उहाँको व्यवस्थालाई गहिरो प्रेम गर्ने राजकुमारी यहोशेबाले बालक राजकुमार योआशलाई लुकाउने साहस गरिन्। यहोशेबा र तिनको पति प्रधान पूजाहारी यहोयादाले सिंहासनका उत्तराधिकारी राजकुमार योआशलाई मन्दिरको एउटा कोठामा छ वर्षसम्म लुकाइराखे।—२ राजा ११:१-३.
योआश सात वर्षको भएपछि, षड्यन्त्र गरेर यहूदाको सिंहासन हडप्ने रानी अतल्याहलाई हटाउने आफ्नो योजनाअनुसार कदम चाल्न प्रधान पूजाहारी यहोयादा तयार भए। तिनले लुकाइराखेको राजकुमारलाई बाहिर ल्याए र राजगद्दीमा बसाले। त्यसपछि दुष्ट रानी अतल्याहलाई सिपाहीहरूले समातेर बाहिर ल्याएर मारे। दुष्ट रानी मरेपछि मानिसहरूले चैनको सास फेरे। यस्तो काम गरेर यहोयादा र यहोशेबाले यहूदामा साँचो उपासना पुनर्स्थापना गर्न निकै ठूलो योगदान पुऱ्याए। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त, तिनीहरूले पछि मसीह आउने दाऊदको राजकीय वंश मासिनबाट जोगाए।—२ राजा ११:४-२१.
भर्खरै नियुक्त भएका राजाले पनि परमेश्वरलाई खुसी पार्ने एउटा महत्त्वपूर्ण काम गर्नुपर्ने थियो। यहोवाको भवनलाई मर्मत-सम्भार नगरी भएको थिएन। यहूदाको एकलौटो शासक हुने अतल्याहको महत्वाकाङ्क्षाको कारण मन्दिर भताभुङ्ग अवस्थामा हुनुका साथै मन्दिरमा लुटपाट मच्चिएको थियो। त्यसैकारण योआशले मन्दिरको पुनर्निर्माण र पुनर्स्थापना गर्ने अठोट गरे। तिनले यहोवाको भवन पुनर्स्थापना गर्न आवश्यक पर्ने रकम जम्मा गर्न तुरुन्तै हुकुम दिए। तिनले यसो भने: “पूजाहारीहरूलाई परमप्रभुको भवनमा सबै पवित्र भेटीको रूपमा ल्याएका रूपियाँ, अर्थात् हरेक मानिसलाई ल्याउन भनी तोकिएबमोजिमको चाँदी, औ परमप्रभुको भवनमा कुनै पनि मानिसले आफ्नो राजीखुशीसँग ल्याएको चाँदी लिनू . . . हरेक पूजाहारीलाई खाँचो भएको ठाउँमा मरमत गर्न भनी आफ्नो-आफ्नो भण्डारबाट दिनू।”—२ राजा १२:४, ५.
मानिसहरूले राजीखुसीसाथ अनुदान दिए। तर पूजाहारीहरूले मन्दिरको मर्मतसम्भार गर्ने आफ्नो जिम्मेवारी मन लाएर पूरा गरिरहेका थिएनन्। त्यसकारण राजाले आफ्नै निरीक्षणमा मर्मतसम्भार गर्ने निर्णय गरे र सबै अनुदानहरू एउटा विशेष सन्दूकमा राख्न हुकुम गरे। तिनले यस कामको रेखदेख गर्ने मुख्य जिम्मा यहोयादालाई सुम्पे। यस विषयमा बाइबल विवरण भन्छ: “पूजाहारी यहोयादाले एउटा सन्दूक ल्याएर त्यसको बिर्कोमा प्वाल पारे, र भवनमा पस्नेको दाहिनेतिर वेदीको छेउमा त्यो राखिदिए, औ ढोकाको काममा खटिएका पूजाहारीले परमप्रभुको भवनमा ल्याएका सबै चाँदी त्यसैमा हालिदिन्थे। औ जब पूजाहारीहरूले त्यो सन्दूक भरिएको देख्थे तब राजाका सचिव र प्रधान पूजाहारी आएर परमप्रभुको भवनमा यसरी पाएका चाँदी गलाएर जोख्थे। औ तिनीहरूले हिसाब लगाएपछि परमप्रभुको २ राजा १२:९-१२.
भवनमा काम गर्नेहरूमाथि खटिएका मुख्य कामदारीलाई त्यो चाँदी दिन्थे, र त्यसैबाट तिनले मन्दिरको निर्माणको काम गर्ने सिकर्मी, डकर्मी र ढुङ्गा काट्नेहरूलाई ज्याला दिन्थे। तिनीहरूले चाहिं काठ-पात किन्न र मरम्मतको निम्ति ढुङ्गा कटाउन र तिनमा लागेका सबै खर्चमा दिन्थे।”—मानिसहरूले दिल खोलेर मदत गरे। उहाँको उपासना मर्यादित ढङ्गमा गर्न यहोवाको मन्दिर पुनर्स्थापना गरियो। यसरी अनुदानबाट प्राप्त सबै रकम उचित ढङ्गमा प्रयोग गरियो। सबै रकम उचित ढङ्गमा खर्च भयो कि भएन भनेर राजा योआश आफैले पनि पक्का गरे!
आज पनि अनुदानबाट प्राप्त सबै रकम यहोवाको उपासनालाई अघि बढाउन उचित ढङ्गमा प्रयोग भएको छ कि छैन भनेर यहोवाको दृश्य संगठनले राम्ररी निरीक्षण गर्छ। अनि पुरातन समयका इस्राएलीहरूले जस्तै साँचो मसीहीहरूले पनि दिल खोलेर मदत गरेका छन्। गत सेवा वर्षमा परमेश्वरको राज्य गतिविधिलाई अघि बढाउन सायद तपाईंले पनि अनुदान दिनुभयो होला। तपाईंले दिनुभएको अनुदान कसरी खर्च भएको छ, आउनुहोस् हामी हेरौं।
छपाइ
विश्वभर, अध्ययन र वितरणका लागि छापिएका साहित्यहरू:
• पुस्तक: ४,७४,९०,२४७
• साना पुस्तिका: ६८,३४,७४०
• पुस्तिका: १६,७८,५४,४६२
• क्यालेन्डर: ५४,०५,९५५
• पत्रिका: १,१७,९२,६६,३४८
• पर्चा: ४४,०९,९५,७४०
• भिडियो: ३१,६८,६११
अफ्रिका, उत्तर, मध्य र दक्षिण अमेरिका, एसिया, युरोप र प्रशान्त महासागरका टापुहरू गरेर कुल १९ वटा देशमा छाप्ने गरिन्छ।
“मेरो नाउँ क्याटलिन मे हो। म आठ वर्षकी भएँ। मसँग २८ अमेरिकी डलर छ। छाप्ने मेसिनहरू किन्नको लागि म यो पैसा दिन चाहन्छु। तपाईंहरूकी सानी बहिनी, क्याटलिन।”
“हामीले परिवारमा हाम्रा प्रकाशनहरू छाप्ने नयाँ मेसिनहरूबारे कुरा गरेका थियौं। हाम्रो ११ वर्षको छोरा र ९ वर्षकी छोरीले आफ्नो खुत्रुकेबाट पैसा झिकेर अनुदान दिने इच्छा गरे। छोराछोरीको अनुदान सँगसँगै हाम्रो अनुदान पनि पठाउन पाएकोमा हामी खुसी छौं।”
निर्माण
यहोवाका साक्षीहरूको गतिविधिलाई मदत गर्न गरिएका केही निर्माणकार्यहरू:
• गरिब मुलुकहरूमा राज्यभवनहरू: २,१८०
• सम्मेलन भवनहरू: १५
• शाखा कार्यालयहरू: १०
• पूर्ण-समय सेवामा अन्तरराष्ट्रिय स्वयम्सेवकहरू: २,३४२
“यो हप्ता हाम्रो नयाँ राज्यभवनमा पहिलो चोटि सभा भयो। स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवा परमेश्वरको प्रशंसा गर्ने राम्रो ठाउँ पाएकोमा हामी खुसीले उफ्रेका छौं। अझ धेरै राज्यभवनहरू निर्माण गरेर हाम्रा आवश्यकताहरू पूरा गरिदिनुभएकोमा यहोवा अनि तपाईंहरूलाई धेरै धन्यवाद। साँच्चै हाम्रो राज्यभवनले हाम्रो टोलको शोभा बढाएको छ।”—चिली।
“यहोवाको संगठनबाट पाएको मदतको भाइबहिनीहरू निकै मूल्याङ्कन गर्छन्। आजसम्म पनि हामी यहाँ आएका निर्माण टोलीहरूसित बिताउन पाएको रमाइलो क्षण सम्झिरहन्छौं।”—मोल्डोभा।
“हालै मेरी पत्नी र मैले हाम्रो विवाहको ३५ औं वार्षिकोत्सव मनायौं। यस अवसरमा एक-अर्कालाई के किनेर दिने होला भनेर विचार गरिरहेका थियौं। तर हामीले यहोवा र उहाँको संगठनलाई केही दिने निर्णय गऱ्यौं किनभने उहाँहरूको मदतविना सायद हाम्रो विवाह सुखमय हुने थिएन। यो पैसा गरिब मुलुकहरूमा राज्यभवन बनाउन प्रयोग गरियोस् भन्ने हाम्रो चाहना छ।”
“हालै मैले मेरो अंश पाएँ। तर मेरा ‘चाहनाहरू’ एकदमै कम छन् र ‘आवश्यकता’ त झनै कम। त्यसैले यो पैसा राज्यभवन निर्माण गर्न चलाइयोस् भन्ने म चाहन्छु किनभने थुप्रै देशहरूमा राज्यभवनहरूको निकै खाँचो छ।”
उद्धार-कार्य
यी आखिरी दिनमा प्राकृतिक प्रकोपहरू अचानक आइपर्छन्। ती प्रभावित क्षेत्रका भाइहरूलाई मदत गर्न यहोवाका थुप्रै साक्षीहरूले थप अनुदान दिन्छन्। नबिर्सनुहोस्, उद्धारकार्यको लागि दिइने अनुदानहरू विश्वाव्यापी कार्य अन्तर्गत नै आउँछ। यहोवाका साक्षीहरूले मदत गरेका प्राकृतिक प्रकोपबाट प्रभावित केही ठाउँहरू हुन्:
• अफ्रिका
• एसिया
• क्यारेबियन क्षेत्र
• प्रशान्त महासागरका टापुहरू
“आँधीबेहरीले पुऱ्याएको क्षति मर्मत गर्न आवश्यक सरसामानहरू पठाइदिनुभएकोमा मेरो श्रीमान् र म तपाईंहरूलाई मुरी-मुरी धन्यवाद दिन चाहन्छौं। हामीले घरमा नयाँ छाना लगाउन सक्यौं। तपाईंहरूले त्यति चाँडै मदत पठाउनुभएकोमा हामी साँच्चै आभारी छौं।”
“मेरो नाउँ कर्नर हो र म ११ वर्षको भएँ। सुनामीले गर्दा भएको बेहाल देखेपछि मलाई मदत गर्न मन लाग्यो। आशा छ, यस पैसाले मेरा भाइबहिनीहरूलाई मदत पुग्नेछ।”
विशेष पूर्ण-समय सेवकहरू
थुप्रै मसीहीहरू पूर्ण-समय सेवकको रूपमा प्रचार गर्छन् वा बेथल घरहरूमा सेवा गर्छन्। थुप्रै पूर्ण-समय स्वयम्सेवकहरूको आवश्यकता स्वेच्छाले दिएको अनुदानबाट पूरा गरिन्छ। केही पूर्ण-समय सेवकहरू हुन्:
• मिसनरीहरू: २,६३५
• परिभ्रमण निरीक्षकहरू: ५,३२५
• बेथलमा सेवा गर्नेहरू: २०,०९२
“बेथेलमा सेवा गर्ने मेरो उमेर भइसकेको छैन [ पाँच वर्षको केटा]। मेरो धेरै-धेरै मायासँगै यो अनुदान पठाउँदैछु। ठूलो भएपछि म बेथेलमा निकै मेहनत गरेर काम गर्नेछु।”
बाइबल शिक्षा फैलाउन मदत
“सबै देशका जातिहरूलाई चेला बनाओ” भनी येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई आज्ञा दिनुभयो। (मत्ती २८:१९) उहाँको वचन पालन गर्दै यहोवाका साक्षीहरू २३५ मुलुकमा बाइबलको सन्देश प्रचार गर्ने र सिकाउने काममा व्यस्त छन्। तिनीहरूले ४१३ भाषामा बाइबल साहित्यहरू प्रकाशन गर्नुका साथै वितरण गर्छन्।
साँच्चै भन्ने हो भने, मसीहीले दिन सक्ने सबैभन्दा बहुमूल्य अनुदान भनेको धेरैभन्दा धेरै मानिसहरूलाई परमेश्वर र उहाँको उद्देश्यबारे सिकाउन दिइने समय हो। यहोवाका साक्षीहरूले आफ्ना छिमेकीहरूलाई मदत गर्न प्रशस्त मात्रामा आफ्नो समय र शक्ति दिएका छन्। तिनीहरूले उदारचित्तसाथ आर्थिक सहयोग पनि गरेका छन्। तिनीहरूले जस्तोसुकै तरिकामा अनुदान दिए तापनि त्यसले यहोवाको नाउँ र उहाँको उद्देश्य पृथ्वीभरि फैलाउन मदत गरिरहेको छ। धेरैभन्दा धेरै मानिसहरूलाई मदत गर्न गरिएका प्रयासहरूमा यहोवाको आशिष् भइरहोस्। (हितोपदेश १९:१७) मदत गर्ने यस्तो इच्छुकताले यहोवालाई खुसी पार्छ।—हिब्रू १३:१५, १६.
[पृष्ठ २८-३०-मा भएको पेटी]
स्वेच्छासाथ दिने तरिकाहरू
विश्वव्यापी कार्यका लागि अनुदान
“सोसाइटीको विश्वव्यापी कार्यका लागि अनुदान—मत्ती २४:१४” लेखिएको बाकसमा चन्दा दिन धेरैजसोले केही पैसा वा बजेट छुट्याउँछन्।
हरेक महिना मण्डलीहरूले यो पैसा आ-आफ्नो देशमा रहेका यहोवाका साक्षीहरूको कार्यालयमा पठाउँछन्। स्वेच्छापूर्वक चन्दा दिइएको रुपैयाँ-पैसा सीधै यस्ता कार्यालयहरूमा पठाउन पनि सकिन्छ। शाखा कार्यालयका ठेगानाहरू यस पत्रिकाको पृष्ठ २ मा पाउन सकिन्छ। चेक “वाच टावर” को नाउँमा भुक्तान हुने गरी बनाउनुपर्छ। गरगहना तथा अन्य बहुमूल्य सामानहरू पनि चन्दा दिन सकिन्छ। यस्ता चन्दाहरू पठाउँदा स्पष्टसित त्यो पैसा वा सामान पूर्णतया दान हो भनेर छोटो पत्र पनि पठाउनुपर्छ।
परोपकारी योजना
पूर्ण दान र सर्तनामा चन्दाबाहेक विश्वव्यापी राज्यसेवामा टेवा पुऱ्याउन दान दिन मिल्ने अन्य केही तरिकाहरू पनि छन्। ती हुन्:
बिमा: वाच टावरलाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।
बैंक खाता: बैंक खाता, निक्षेप प्रमाण-पत्र वा व्यक्तिगत अवकाश खातालाई स्थानीय बैंकको नियमअनुसार वाच टावरलाई दिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ।
ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू वाच टावरलाई पूर्णतया उपहारको रूपमा चन्दा दिन सकिन्छ।
घर, जग्गाजमिन: बिक्री गर्न मिल्ने जग्गाजमिन पूर्णतया दानको रूपमा दिन सकिन्छ वा आफूले उपभोग गरिरहेको घर-जग्गाचाहिं चन्दादाता बाँचुन्जेल प्रयोग गर्न सक्ने गरी दिन सकिन्छ। कुनै घर, जग्गाजमिन दिनुअघि तपाईंको देशमा भएको शाखा कार्यालयसित सम्पर्क राख्नुहोस्।
वार्षिक भत्ता पाउने गरी दिइने दान: यो एउटा यस्तो प्रबन्ध हो जसअन्तर्गत कुनै व्यक्तिले रकम अथवा जायजेथा वाच टावर कर्पोरेसनको नाउँमा नामसारी गर्न सक्छ। त्यसको बदलामा दाता अथवा दाताले नियुक्त गरेको व्यक्तिले बाँचुन्जेल हरेक वर्ष निश्चित वार्षिक भत्ता पाउँछ। वार्षिक भत्ता पाउने गरी दिइने दानको प्रबन्ध गरेको वर्षमा दाताले तिर्नुपर्ने आयकरमा केही छूट पाउँछ।
वसियतनामा तथा कोश: जायजेथा वा पैसा कानुनी वसियतनामाद्वारा वाच टावरलाई हस्तान्तरण गर्न सकिन्छ अथवा वाच टावरलाई कोषको हकदार बनाउन सकिन्छ। कुनै-कुनै मुलुकमा धार्मिक संगठनलाई टेवा पुऱ्याउने कोषलाई निश्चित कर छूट हुन सक्छ तर यो कुरा भारतमा लागू हुँदैन।
“परोपकारी योजना” भन्ने अभिव्यक्तिले यस प्रकारका अनुदानहरूको लागि दाताले केही योजना बनाउनु आवश्यक पर्छ भन्ने कुरा स्वतः स्पष्ट हुन्छ। परोपकारी योजनाका केही तरिकाहरूद्वारा यहोवाका साक्षीहरूको विश्वव्यापी कार्यलाई टेवा पुऱ्याउने इच्छा भएका व्यक्तिहरूलाई मदत गर्न अङ्ग्रेजी र स्पेनिस भाषामा च्यारिटेबल प्लानिङ्ग टु बेनिफिट किङ्डम सर्भिस वर्ल्डवाइड शीर्षकको एउटा पुस्तिका तयार पारिएको छ। a कुनै व्यक्तिले आफू जीवित छँदै वा आफ्नो शेषपछि विभिन्न तरिकाहरूद्वारा कसरी दान दिन सक्छ भनी जानकारी दिन यो पुस्तिका तयार पारिएको हो। यो पुस्तिका पढेर अनि आफ्ना कानुनी वा कर सल्लाहकार र परोपकारी योजना कार्यालयसित परामर्श गरिसकेपछि धेरैले विश्वभर रहेका यहोवाका साक्षीहरूको काममा मदत गर्न सकेका छन्, साथै यसो गर्दा तिनीहरूले करमा धेरै छूट पनि पाएका छन्।
थप जानकारीको लागि तपाईंले पत्राचार अथवा टेलिफोनद्वारा तल दिइएको ठेगाना अथवा आफ्नो देशमा रहेको यहोवाका साक्षीहरूको कार्यालयमा सम्पर्क राख्न सक्नुहुन्छ।
Jehovah’s Witnesses,
Post Box 6440,
Yelahanka,
Bangalore 560 064,
Karnataka.
Telephone: (080) 28468072
[फुटनोट]
a भारतमा उपलब्ध छैन।
[पृष्ठ २७-मा भएको चित्रको स्रोत]
Faithful video: Stalin: U.S. Army photo