सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मेरो ‘मनोरथ’ पूरा भयो

मेरो ‘मनोरथ’ पूरा भयो

जीवनी

मेरो ‘मनोरथ’ पूरा भयो

डोमिनिक मोर्गको वृत्तान्तमा आधारित

सन्‌ १९९८ को डिसेम्बर महिनामा बल्ल म अफ्रिका आइपुगें! बच्चैदेखिको मेरो सपना साकार भएको थियो। अफ्रिकाको खुला आकास र अनौठा जनावरहरू देख्दा मलाई सधैं त्यहाँ जाऊँ-जाऊँ लाग्थ्यो। अब भने मेरो इच्छा साँच्चै पूरा भयो। यसै बेला मेरो अर्को एउटा सपना पनि साकार भयो। म विदेशी भूमिमा पूर्ण-समय प्रचारकको रूपमा सेवा गर्दै थिएँ। तर थुप्रैलाई म त्यसरी जानु असम्भव लाग्न सक्छ। म राम्ररी देख्न सक्दिनँ र युरोपका सडकहरूमा हिंड्‌न तालिम दिइएको कुकुरको साहरा लिंदै म अफ्रिकी गाउँ-घरका बलौटे बाटोहरूमा हिंड्‌छु। म कसरी अफ्रिकामा सेवा गर्न पुगें र यहोवाले मेरो “मनोरथ” कसरी पूरा गर्नुभयो भनी म तपाईंहरूलाई बताउन चाहन्छु।—भजन ३७:४.

म सन्‌ १९६६ जून ९ मा दक्षिणी फ्रान्समा जन्मेकी थिएँ। दुई जना दाइ र पाँच दिदी-बहिनीमध्ये म कान्छी हुँ। हाम्रा मायालु आमाबाबुले हामी सातै जनालाई राम्ररी हुर्काउनुभयो। तर म सानै छँदा मेरो जीवन अरू मानिसहरूको जस्तै सामान्य हुनेछैन भनी पत्ता लाग्यो। मेरी बज्यै, आमा र मेरी एउटी दिदीलाई जस्तै मलाई पनि एक प्रकारको वंशानुगत रोग लागेको थियो जसको कारण पछि म पूरै आँखा नदेख्ने हुने थिएँ।

जवान छँदा जातीय भेदभाव, पूर्वाग्रह र कपट भोग्नुपरेको कारण म विद्रोही स्वभावको भएँ। यस्तो कठिन घडीबाट गुज्रिरहेको बेला हामी अरो भन्‍ने प्रान्तमा बसाइँ सऱ्‍यौं। त्यहाँ छँदा हाम्रो जीवनमा अर्कै मोड आयो।

एक आइतबार बिहानको कुरा हो, यहोवाका दुई जना साक्षी हाम्रो घरमा आए। आमाले उनीहरूलाई चिन्‍नुभएको हुनाले भित्र बोलाउनुभयो। एक दिन बाइबल अध्ययन गरौंला नि भनेर तपाईंले भन्‍नुभएको कुरा सम्झनुभएको छ कि भनेर उनीहरूमध्ये एक जनाले आमालाई सोधिन्‌। आमाले आफूले दिएको वचन बिर्सनुभएको थिएन। त्यसैले आमाले भन्‍नुभयो, “त्यसोभए कहिलेदेखि सुरु गरौं त?” अध्ययन गर्न उहाँहरूले आइतबार बिहानको समय मिलाउनुभयो र यसरी आमाले ‘सत्यको सुसमाचार’ सिक्न थाल्नुभयो।—गलाती २:१४.

सच्चाइ पाएँ

आफूले सिकिरहेको कुरा बुझ्न र सम्झन आमाले निकै मेहनत गर्नुभयो। आँखा नदेख्ने हुँदा उहाँले सिकेको कुरा सबै सम्झनुपर्थ्यो। साक्षीहरूले पनि झर्को नमानी आमालाई सिकाए। मचाहिं साक्षीहरू आउने बित्तिकै कोठामा लुक्न जान्थें र उनीहरू गएपछि मात्रै कोठाबाट निस्कन्थें। तर एक दिन ती दुईमध्ये युजिन भन्‍नेले मलाई भेट्टाइन्‌ र मसँग कुरा गरिन्‌। परमेश्‍वरको राज्यले संसारमा व्याप्त कपट, घृणा र पूर्वाग्रह सबै हटाउनेछ भनेर उनले मलाई बताइन्‌। उनले भनिन्‌, “परमेश्‍वरले मात्रै यी सबै समस्याको समाधान गर्न सक्नुहुन्छ।” त्यसपछि उनले तपाईं अझ बढी जान्‍न चाहनुहुन्छ कि भनेर मलाई सोधिन्‌। त्यसको भोलिपल्टदेखि नै मैले बाइबल अध्ययन सुरु गरें।

मैले सिकिरहेको सबै कुरा मेरो लागि नौलो थियो। परमेश्‍वरले पृथ्वीमा केही समय दुष्टता रहिरहन दिनुका जायज कारणहरू मैले बुझें। (उत्पत्ति ३:१५; यूहन्‍ना ३:१६; रोमी ९:१७) परमेश्‍वरले हामीलाई आशाविहीन छोड्‌नुभएको छैन भनेर पनि मैले सिकें। उहाँले हामीलाई पार्थिव प्रमोदवनमा अनन्त जीवन दिने सुन्दर प्रतिज्ञा गर्नुभएको छ। (भजन ३७:२९; ९६:११, १२; यशैया ३५:१, २; ४५:१८) अहिले मेरो आँखा झन्‌-झनै कमजोर हुँदै गइरहेको छ तर प्रमोदवनमा म फेरि राम्ररी देख्न सक्नेछु।—यशैया ३५:५.

पूर्ण-समय सेवामा

पहिल्यै बप्तिस्मा लिइसकेकी मेरी दिदी मारी-क्लारले जस्तै मैले पनि सन्‌ १९८५ डिसेम्बर १२ मा बप्तिस्मा लिएर परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरें। त्यसको केही समयपछि दाइ झाँ-पायर र मेरी प्यारी आमाले पनि बप्तिस्मा लिनुभयो।

म जाने मण्डलीमा नियमित अग्रगामीहरू अर्थात्‌ पूर्ण-समय प्रचारकहरू थुप्रै थिए। उनीहरूको आनन्द र सेवकाईप्रतिको जोस देखेर म प्रोत्साहित हुन्थें। दिदी मारी-क्लार राम्ररी आँखा नदेख्ने र खुट्टा पनि लुलो भएकोले काम्रो लगाएर हिंड्‌नुपर्ने भए तापनि उहाँले पूर्ण-समय सेवा गर्न थाल्नुभयो। उहाँले अहिलेसम्म पनि मलाई आध्यात्मिक तवरमा प्रोत्साहन दिइरहनुहुन्छ। मण्डली र परिवारमा अग्रगामीहरूसित सरसंगत गरेको कारण ममा पनि पूर्ण-समय सेवा गर्ने गहिरो इच्छा जाग्यो। त्यसैले, सन्‌ १९९० नोभेम्बर महिनादेखि मैले बेजीयमा अग्रगामी गर्न थालें।—भजन ९४:१७-१९.

निरुत्साहित भएँ तर हार खाइनँ

प्रचारमा जाँदा अरू अग्रगामीहरूले मलाई निकै मदत गरे। तर मेरो सीमितता र अझ बढी गर्ने इच्छाको कारण म बेला-बेलामा निरुत्साहित हुन्थें। त्यस्तो निरुत्साहको बेला यहोवाले मलाई सँभाल्नुभयो। मैले मजस्तै राम्ररी आँखा देख्न नसक्ने अग्रगामीहरूको जीवनी वाच टावर पब्लिकेसन्स्‌ इन्डेक्स-मा खोजेर पढें। मेरोजस्तै अवस्था भएका अग्रगामीहरूको जीवनीको लामो सूची देख्दा म त छक्क परें! ती व्यावहारिक र प्रोत्साहनजनक जीवनीहरूले मलाई आफूले जे-जति गर्न सकिरहेकी छु त्यसको मोल गर्न र आफ्नो सीमितता स्वीकार्न सिकायो।

आवश्‍यक खर्च जुटाउन मैले अरू साक्षीहरूसँगै ठूलठूला पसलहरू सफा गर्ने काम गरें। एक दिनको कुरा हो, मेरो टोलीका साथीहरूले मैले सफा गरिसकेको ठाउँमा फेरि सफा गरिरहेको मैले देखें। कुरा स्पष्ट छ, सफा गर्दा मैले ठाउँ-ठाउँमा छोडिरहेकी थिएँ। त्यसपछि हाम्रो सफाइ टोलीको इन्चार्ज अग्रगामी बहिनी भालेरीसँग म कुरा गर्न गएँ। कतै मैले काम मात्र बढाइरहेकी पो छु कि भनेर मैले उनलाई सीधै सोधें। काम गर्ने कि नगर्ने भनेर चाहिं आफै निर्णय गर्नुहोस्‌ भनी भालेरीले दयालुपूर्वक मलाई भनिन्‌। सन्‌ १९९४ मार्च महिनामा मैले त्यो सफा गर्ने काम छोडिदिएँ।

म त बेकार रहेछु भन्‍ने भावनाले मलाई फेरि पिरोल्न थाल्यो। मैले यहोवालाई व्यग्र प्रार्थना गरें। मलाई थाह छ, उहाँले मेरो बिन्ती सुन्‍नुभयो। यतिबेला पनि बाइबल र मसीही प्रकाशनहरू पढेर मैले निकै प्रोत्साहन पाएँ। अनि मेरो आँखा झन्‌-झनै कमजोर हुँदै गइरहेको भए तापनि यहोवाको सेवा गर्ने मेरो इच्छा भने अझै बढ्‌न थाल्यो। सेवा त गर्ने तर कसरी?

पहिला पालो कुरें पछि तुरुन्तै निर्णय गरें

नीम्स्‌ भन्‍ने ठाउँमा अन्धा तथा राम्ररी आँखा नदेख्नेहरूका लागि खोलिएको पुनर्स्थापना केन्द्रमा तालिमको लागि मैले आवेदन फारम बुझाएँ र त्यहाँ मलाई तीन महिनाको लागि भर्ना गरियो। त्यहाँ बस्दा मैले धेरै कुरा सिकें। अनि मैले आफ्ना सीमितताहरू पनि थाह पाएँ र त्यसअनुसार छाँटकाँट गर्न सिकें। अनेक थरीका अशक्‍तता भएका मानिसहरूसित घुलमिल गर्दा मैले आफ्नो मसीही आशा कत्तिको अनमोल रहेछ भनेर राम्ररी बुझें। कम-से-कम मेरो एउटा लक्ष्य थियो र म केही फलदायी काम गर्न सक्थें। साथै, मैले फ्रान्सेली भाषाको ब्रेल पनि सिकें।

पुनर्स्थापना केन्द्रमा बस्दा मलाई कत्ति फाइदा भयो भन्‍ने कुरा म घर फर्केपछि मेरो परिवारले पनि याद गऱ्‍यो। तर मलाई पटक्कै मन नपरेको एउटा कुराचाहिं सेतो छडी थियो। “छडी” लिएर हिंड्‌नुपर्ने कुरा स्वीकार्न मलाई असाध्यै गाह्रो भयो। अर्को कुनै सहारा; जस्तै: गाइड गर्ने कुकुर अर्थात्‌ अन्धाहरूलाई डोऱ्‍याउने तालिम प्राप्त कुकुर पाए सजिलो हुने थियो।

तालिम प्राप्त कुकुर पाऊँ भनेर मैले निवेदन दिएँ। तर निवेदनहरू थुप्रै भएकाले मेरो पालो आउन धेरै समय लाग्ने थियो। साथै, कुकुर दिने संस्थाले मलाई साँच्चै त्यस्तो कुकुर चाहिएको हो कि होइन भनेर पक्का गर्ने थियो। तालिम प्राप्त त्यस्तो कुकुर जसलाई पायो त्यसलाई दिंइदैन। एक दिनको कुरा हो, अन्धाहरूका लागि एउटा संस्था चलाइरहेकी महिलाले स्थानीय टेनिस क्लबले दृष्टिविहीन तथा राम्ररी आँखा नदेख्नेहरूका लागि कुकुर दिन लागेको कुरा मलाई बताइन्‌। यो कुरा सुनेपछि तिनले मलाई सम्झेकी रहिछन्‌। मैले के गरें? यसमा मैले यहोवाको डोऱ्‍याइ महसुस गरें र त्यो दयालु प्रस्तावलाई स्वीकारें। तर कुकुर पाउनको लागि मैले अझै कुर्नुपर्ने थियो।

अफ्रिका जाने धोको मरेन

कुकुर पाउने समय पर्खंदै गर्दा मेरो ध्यान अर्कैतिर मोडियो। सुरुमा मैले भनेझैं सानैदेखि अफ्रिका जाने मेरो ठूलो धोको थियो। मेरो आँखा दिन-प्रतिदिन कमजोर हुँदै गइरहेको भए तापनि विशेष गरी अफ्रिकामा बाइबल सिक्न र यहोवाको सेवा गर्न इच्छुक व्यक्‍तिहरू थुप्रै छन्‌ भन्‍ने कुरा थाह पाएपछि त्यहाँ जाने इच्छा झन्‌-झनै बढ्‌न थाल्यो। केही समयअघि भालेरीलाई मैले कुरै-कुरामा अफ्रिका जाने मेरो ठूलो धोको छ भनेकी थिएँ। तिमी पनि मसँगै जान्छ्यौ कि भनेर मैले सोधें। उनी राजी भइन्‌ र हामीले फ्रेन्च भाषा बोल्ने यहोवाका साक्षीहरूको केही शाखा कार्यालयहरूलाई पत्र लेख्यौं।

टोगो शाखाबाट हामीले जवाफ पायौं। दङ्‌ग पर्दै मैले भालेरीलाई पत्र पढ्‌न लगाएँ। पत्र एकदमै प्रोत्साहनजनक थियो। त्यसैले भालेरीले भनिन्‌: “जाने नि, किन नजाने?” शाखाका भाइहरूसित पत्राचार गरेपछि मलाई टोगोको राजधानी लोमेमा अग्रगामी गरिरहेकी बहिनी सान्ड्रासित सम्पर्क राख्न भनियो। सन्‌ १९९८ डिसेम्बर १ मा हामीले टोगो जाने निधो गऱ्‍यौं।

हुन त फ्रान्सभन्दा टोगो असाध्यै फरक थियो तर साह्रै रमाइलो! लोमेमा पुगेर विमानबाट बाहिर निस्किनासाथ हामीले अफ्रिकाको हपहप गर्मी चाख्यौं। सान्ड्रा हामीलाई लिन एयरपोर्टमै आएकी थिइन्‌। पहिला कहिले पनि हाम्रो भेट भएको थिएन। तर तुरुन्तै हामी पुराना साथीहरूजस्तै भइहाल्यौं। हामी टोगो पुग्नुभन्दा केही समयअघि मात्र सान्ड्रा र उनकी अग्रगामी साथी क्रिस्टिनलाई टाब्लेग्बो भन्‍ने सानो सहरमा विशेष अग्रगामीको रूपमा खटाइएको थियो। हामीले उनीहरूको नयाँ असाइनमेन्टमा सँगै जाने सुअवसर पायौं। हामीले त्यहाँ दुई महिना बितायौं। त्यसपछि, फेरि यहाँ आउने विचार गर्दै म फ्रान्स फर्किएँ।

फेरि टोगो फर्किन पाउँदा म रमाएँ

फ्रान्स पुगेको केही समयपछि देखि नै मैले फेरि टोगो जाने तयारी गर्न थालें। परिवारको सहायता पाएको कारण मैले त्यहाँ छ महिना बस्ने योजना बनाएँ। त्यसैले, सन्‌ १९९९ सेप्टेम्बरमा म फेरि टोगो गएँ। तर यसपाली म एक्लै जान लागेकी थिएँ। आँखा एकदमै कमजोर भए पनि म एक्लै टोगो जान लागेको देख्दा मेरो परिवारलाई कस्तो लाग्यो होला, सोच्नुहोस्‌ त! तर चिन्ता गर्नुपर्ने कुरै थिएन। मेरो आफ्नै परिवारजस्तो भइसकेका साथीहरूले मलाई लोमेमा लिन आउनेछन्‌ भनेर मैले आफ्ना आमाबाबुलाई ढुक्क बनाएँ।

बाइबलमा चासो देखाउने त्यति धेरै मानिसहरू भएको ठाउँमा फर्कन पाएकोमा म असाध्यै खुसी थिएँ। त्यहाँ मानिसहरूलाई सडकमै बाइबल पढिरहेको देख्नु सामान्य कुरा हो। बाइबलबारे छलफल गर्न टाब्लेग्बोका मानिसहरू आफै बोलाउने गर्छन्‌। अनि दुई जना विशेष अग्रगामी बहिनीसित सानै घरमा भए पनि सँगै बस्न पाउँदा साह्रै मजा आयो! मैले आफ्नो भन्दा एकदमै भिन्‍न संस्कृति बुझ्न र उनीहरू कामकुरालाई फरक दृष्टिकोणले हेर्छन्‌ भनेर पनि थाह पाएँ। सबैभन्दा महत्त्वपूर्ण कुरा त अफ्रिकाका हाम्रा मसीही भाइबहिनीहरूले राज्य गतिविधिलाई प्राथमिकता दिने गरेको मैले याद गरें। उदाहरणको लागि, राज्यभवन जान घण्टौं हिंड्‌नुपर्छ तर उनीहरू मसीही सभाहरू कहिल्यै छुटाउँदैनन्‌। उनीहरूको मायालु व्यवहार र अतिथि-सत्कारबाट पनि मैले धेरै कुरा सिकें।

एक दिन क्षेत्र सेवकाईबाट फर्कंदै गर्दा सान्ड्रालाई फ्रान्स फर्कन मलाई डर लागिरहेको छ भनेर बताएँ। मेरो आँखा झनै कमजोर भएको थियो। मजस्तो आँखा राम्ररी नदेख्ने मान्छेलाई बेजीयको भीडभाड, अपार्टमेन्ट भवनका लामा-लामा भऱ्‍याङहरू र त्यस्तै अरू कुराले गर्दा जीवन कत्ति गाह्रो हुन्छ होला भनेर मैले सोचें। तर टाब्लेग्बोका सडकहरू भने कच्ची नै भए पनि शान्त थियो, भीडभाड थिएन र सडकमा गाडीहरू पनि त्यति गुड्‌दैनथे। मलाई टाब्लेग्बोमै बस्ने बानी परिसकेको छ, फ्रान्स गएर के गर्ने होला?

त्यसको दुई दिनपछि मैले कुकुर पाएको कुरा बताउन आमाले फोन गर्नुभयो। ओसाना नाउँको एउटा राम्रो जातको कुकुर मेरो “आँखा” बन्‍न लागेको थियो। फेरि एक चोटि मेरो आवश्‍यकता पूरा भयो र मेरा चिन्ताहरू हराए। टाब्लेग्बोमा छ महिना सेवा गरेपछि म ओसानालाई भेट्‌न फेरि फ्रान्स फर्कें।

केही महिनाको तालिमपछि ओसाना मलाई दिइयो। सुरुमा सजिलो त भएन। हामीले एक-अर्कालाई बुझ्नुपर्ने थियो। तर ओसाना मलाई कत्ति चाहिने रहेछ भनेर मैले बिस्तारै बुझ्न थालें। साँच्चै, मलाई ओसाना नभई हुँदैन। कुकुरसँगै म बेजीयका मानिसहरूको घर-घरमा जाँदा तिनीहरूले के गर्थे, थाह छ? घरधनीहरूले मलाई आदर गर्दै दयालु व्यवहार गर्थे। ओसाना त हाम्रो टोलको “हिरो” नै बन्यो। असक्‍त मानिसको अगाडि धेरै जना अप्ठ्यारो महसुस गर्छन्‌ तर मसित कुकुर भएकोले मैले आफ्नो रोगबारे सजिलै कुरा सुरु गर्न सकें। अनि ढुक्क हुँदै मानिसहरू पनि मेरो कुरा सुन्थे। साँच्चै भन्‍ने हो भने, ओसाना कुराकानी सुरु गर्ने एउटा राम्रो विषय बन्यो।

ओसानासँगै अफ्रिकामा

मैले अफ्रिकालाई बिर्सन सकेकी थिइनँ। त्यसैले तेस्रो यात्राको लागि म तयारी गर्न थालें। यसपाली ओसाना मसँगै आउने थियो। मसँगै जवान दम्पती आन्टेन र ओरोरो अनि मेरी साथी क्यारोलिन पनि आए। उनीहरू पनि मजस्तै अग्रगामी थिए। सन्‌ २००० सेम्प्टेम्बर १० मा हामी लोमे पुग्यौं।

सुरु-सुरुमा त मानिसहरू ओसानासँग डराए। टोगोमा प्रायः सानो खालका कुकुरहरू मात्र पाइने भएकाले त्यहाँ थोरैले मात्र त्यस्तो ठूलो कुकुर देखेका थिए। मानिसहरूले ओसानाको पेटी देखेपछि उसलाई टोक्ने कुकुर भन्ठान्थे। ओसानाचाहिं मलाई केही खतरा छ जस्तो लाग्ने बित्तिकै मेरो सुरक्षा गर्न तयार भइहाल्थ्यो। तर ओसाना चाँडै नयाँ ठाउँमा घुलमिल भयो। पेटी लगाइदिने बित्तिकै अनुशासित र जिम्मेवार भएर सधैं ऊ मेरो छेऊमा आइहाल्छ। तर पेटी फुकालिदिएपछि भने खेल्ने र कहिलेकाहीं बदमासी पनि गर्छ। हामी दुई एकदमै रमाइलो गर्छौं।

हामी सबैलाई टाब्लेग्बोमा सान्ड्रा र क्रिस्टिनसँगै बस्न बोलाइयो। त्यहाँका भाइबहिनीहरू ओसानासँग नडराऊन्‌ भनेर हामीले उनीहरूलाई घरमा बोलायौं र गाइड गर्ने कुकुरको रूपमा ओसानाको काम, मलाई कुकुर चाहिनुको कारण र उसको अगाडि के गर्नु हुन्छ र के गर्नु हुँदैन भनेर बुझायौं। प्राचीनहरूले ओसानालाई मसँगै सभामा ल्याउन अनुमति दिए। टोगोमा यस्तो कुरा एकदमै नौलो भएकोले यस विषयमा मण्डलीमा घोषणा गरियो। सेवकाईको कुरा गर्नुपर्दा चाहिं पुनःभेट र बाइबल अध्ययनहरूमा जाँदा मात्र म ओसानालाई सँगै लैजान्थें जहाँ कुकुर ल्याउनुपरेको कारण बुझाउन सकिन्थ्यो।

मैले अहिले पनि यस इलाकामा प्रचार गरेर आनन्द उठाइरहेकी छु। अरूको ख्याल राख्ने मानिसहरूले माया गरेर मलाई बस्ने मेच ल्याइदिन्थे। उहाँहरूको त्यस्तो दयालु कार्यको म धेरै धन्यवादी छु। सन्‌ २००१ अक्टोबरमा म चौथो चोटि टोगो आउँदा आमा पनि सँगै आउनुभयो। त्यहाँ तीन हप्ता बिताएपछि उहाँ ढुक्क भएर फ्रान्स फर्कनुभयो।

टोगोमा सेवा गर्न पाएकोमा म यहोवाप्रति असाध्यै आभारी छु। उहाँको सेवामा सक्दो गर्दा उहाँले मेरो “मनोरथ” पूरा गर्नुहुनेछ भन्‍ने कुरामा म विश्‍वस्त छु। a

[फुटनोट]

a बहिनी मोर्ग फ्रान्स फर्किन्‌ र पाँचौं पटक टोगो गएर त्यहाँ सन्‌ २००३ अक्टोबर ६ देखि सन्‌ २००४ फेब्रुअरी ६ सम्म सेवा गरिन्‌। तर दुःखको कुरा स्वास्थ्य समस्याको कारण यस रीतिरिवाज रहुन्जेल त्यही नै तिनको अन्तिम यात्रा हुन सक्छ। तैपनि, तिनको सबैभन्दा ठूलो इच्छा भनेको यहोवाको सेवा गर्नु हो।

[पृष्ठ १०-मा भएका चित्रहरू]

अफ्रिकाको खुला आकास र अनौठा जनावरहरू देख्दा मलाई सधैं त्यहाँ जाऊँ-जाऊँ लाग्थ्यो

[पृष्ठ १०-मा भएको चित्र]

ओसानालाई पुनःभेटहरूमा सँगै लैजान्थें

[पृष्ठ ११-मा भएको चित्र]

ओसानालाई मसँगै सभाहरूमा ल्याउन प्राचीनहरूले अनुमति दिए