सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

संसारलाई कसले बदल्न सक्ला?

संसारलाई कसले बदल्न सक्ला?

संसारलाई कसले बदल्न सक्ला?

“गरिबहरूको एउटै आवाज छ—उनीहरू पहिला शान्ति-सुरक्षा र त्यसपछि आफ्नो जीवनस्तर उकास्ने अवसरहरू चाहन्छन्‌। उनीहरू राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीतिहरू निष्पक्ष होऊन्‌ भन्‍ने चाहन्छन्‌ ताकि धनी राष्ट्र तथा ठूलठूला कम्पनीहरूको दबदबाअघि उनीहरूको मेहनत खेर नजाओस्‌।”

एउटा अन्तरराष्ट्रिय सहयोग संस्थाका निर्देशकले गरिबहरूको आशा तथा इच्छा-आकाङ्‌क्षाबारे त्यसो भनिन्‌। वास्तवमा, आपत्‌विपद्‌ र अन्याय भोगेका मानिसहरूको चाहनाबारे तिनले सोह्रै आना सही कुरा गरिन्‌। सारा विश्‍वमा शान्ति छाओस्‌ र सबैले सुरक्षाको अनुभूति गर्न सकोस्‌ भन्‍ने उनीहरूको चाहना छ। के कुनै दिन यस्तो समय आउला? अन्यायले जरा गाडेको यस संसारलाई बदल्न सक्ने शक्‍ति र क्षमता कोसित छ?

संसार बदल्ने कोसिस

कैयौं मानिसले संसार बदल्ने कोसिस गरिसकेका छन्‌। उदाहरणको लागि, १९ औं शताब्दीमा फ्लोरेन्स नाइटिङ्‌गेल नाउँ गरेकी एउटी बेलाइती नर्स थिइन्‌। सफासँग र सहानुभूतिशील भएर बिरामीहरूको हेरचाह गर्न तिनले आफ्नो सारा जीवन बिताइन्‌। एन्टिसेप्टिक र एन्टिबायोटिक पत्ता लाग्नुअघि तिनको जमानामा अस्पतालमा गरिने स्याहार-सुसार अहिलेजस्तो थिएन। एउटा पुस्तकले बताएअनुसार त्यतिबेलाका “नर्सहरू अशिक्षित, फोहोरी र जाँड-रक्सी खाएर मात्तिने र जथाभावी यौनसम्बन्ध राख्ने बदमासहरू थिए।” नर्सिङजगत्‌ बदल्न के नाइटिङ्‌गेल सफल भइन्‌? हो, सफल भइन्‌। त्यस्तै गरी, अरूको हेरचाह गर्ने थुप्रै परोपकारी मानिसहरूले साक्षरता, शिक्षा, स्वास्थ्य, आवास र खाद्य कार्यक्रमजस्ता जीवनका विभिन्‍न क्षेत्रमा निकै सराहनीय काम गरेका छन्‌। यसैको परिणामस्वरूप विभिन्‍न सुविधाहरूबाट वञ्चित करोडौं मानिसको जीवनस्तरमा उल्लेख्य सुधार आएको छ।

तरैपनि, हामी यस तीतो सत्यलाई नकार्न सक्दैनौं: युद्ध, अपराध, रोगबिमार, अनिकाल र अरू विपत्तिहरूको कारण अझै पनि अनगन्ती मानिसले असाध्यै दुःख पाइरहेका छन्‌। आयरल्याण्डको कन्सर्न नामक सहयोग संस्था यसो भन्छ: “गरिबीको कारण हरेक दिन ३०,००० मानिसको मृत्यु हुन्छ।” शताब्दीयौंदेखि कैयौं व्यक्‍तिले दास-प्रथालाई निर्मूल पार्ने कोसिस गरे तापनि यो प्रथा अझै जस्ताको तस्तै छ। डिस्पोजेबल पिपल—न्यु स्लेभरी इन द ग्लोबल इकोनोमी भन्‍ने दास-प्रथासम्बन्धी एउटा पुस्तक यसो भन्छ: “अफ्रिकाका जति जना मानिसलाई जबरजस्ती दास बनाएर अमेरिकामा बेचियो आज संसारमा त्योभन्दा धेरै दासहरू छन्‌।”

संसारलाई पूर्ण रूपमा र सधैंको लागि बदल्न गरिएका प्रयासहरू के कारण असफल भएका छन्‌? के धनी र हैकम चलाउने मानिसहरूको दबदबाले गर्दा मात्र यस्तो भएको हो? वा अरू कुरा पनि यसमा मुछिएको छ?

संसारलाई बदल्न नसक्नुका कारणहरू

परमेश्‍वरको वचन बाइबलअनुसार संसारलाई साँच्चै निष्पक्ष बनाउन मानिसले गर्ने प्रयाससामु शैतान अर्थात्‌ दियाबल सबैभन्दा ठूलो तगारो बनेर उभिएको छ। “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भनी प्रेरित यूहन्‍ना बताउँछन्‌। (१ यूहन्‍ना ५:१९) साँच्चै भन्‍ने हो भने, अहिले शैतानले ‘सारा संसारलाई ठगिरहेको’ छ। (प्रकाश १२:९) त्यसको दुष्ट प्रभाव नहटाएसम्म मानिसहरू दुष्ट अनि अन्यायको सिकार भई नै रहनेछन्‌। के कारण यस्तो दुःखलाग्दो अवस्था आइपऱ्‍यो?

हाम्रो पुर्खा आदम र हव्वा सबै कुराले भरिपूर्ण पृथ्वीमा बस्न पाएका थिए र त्यो पृथ्वी सम्पूर्ण मानव परिवारको लागि प्रमोदवनरूपी घर बन्‍न सक्थ्यो। त्यो संसार “साह्रै राम्रो थियो।” (उत्पत्ति १:३१) उसोभए, कसले गर्दा सबै कुरा बिग्रियो त? शैतानले गर्दा। मानिसहरूका लागि नियम बनाउने अधिकार परमेश्‍वरसित छँदै छैन भनेर त्यसले औंला ठड्यायो। त्यसले परमेश्‍वरको शासन गर्ने तरिका निष्पक्ष छैन भन्‍ने भान पाऱ्‍यो। परमेश्‍वरबाट स्वतन्त्र भयौ भने आफ्नो लागि के असल, के खराब तिमीहरू आफै खुट्ट्याउन सक्नेछौ भनेर त्यसले आदम र हव्वालाई लोभ देखायो। (उत्पत्ति ३:१-६) शैतानले देखाएको लोभमा फसेपछि संसारलाई निष्पक्ष बनाउन मानिसले गर्ने प्रयाससामु अर्को तगारो पनि थपियो। त्यो हो—पाप र असिद्धता।—रोमी ५:१२.

किन रहिरहन दिनुपऱ्‍यो?

कसै-कसैको मनमा प्रश्‍न उठ्‌ला, ‘तर परमेश्‍वरले पाप र असिद्धता किन रहिरहन दिनुपऱ्‍यो? विद्रोहीहरूलाई हटाएर नयाँ मावन जोडी सृष्टि गर्न उहाँले आफ्नो अथाह शक्‍ति चलाउनुभएको भए भइहाल्थ्यो नि, उहाँले किन त्यसो गर्नुभएन?’ यसो विचार गर्दा कुरा त ठीकै हो जस्तो लाग्न सक्छ। तर शक्‍ति प्रयोग गर्ने प्रसङ्‌ग उठ्‌नासाथ गम्भीर प्रश्‍नहरू खडा हुन्छन्‌। के संसारका गरिबगुरुवा र शोषित व्यक्‍तिहरूले दुःख झेल्नुको एउटा कारण ठूला-बडा भनौदाहरूले शक्‍ति दुरुपयोग गरेकाले नै होइन र? आफूले बनाएको नीतिनियम पालन गर्न नमान्‍नेहरूलाई सखाप पार्न तानाशाहले आफ्नो शक्‍ति प्रयोग गर्दा के सीधा-साधा व्यक्‍तिहरूको मनमा डर-त्रास पैदा हुँदैन र?

यहोवा शक्‍ति दुरुपयोग गर्ने तानाशाह हुनुहुन्‍न भनेर सोझा व्यक्‍तिहरूलाई निर्धक्क बनाउन परमेश्‍वरले शैतान अनि विद्रोही मानिसहरूलाई उहाँका नीतिनियम तथा सिद्धान्तहरू तोडेर जे मन लाग्यो त्यै गर्न दिनुभयो। तर—सीमित समयको लागि मात्र। परमेश्‍वरको शासन गर्ने तरिका मात्र सही छ भनेर समयले प्रमाणित गर्ने थियो। उहाँले हामीमाथि लगाउनुहुने कुनै पनि किसिमका बन्देजहरू हाम्रै भलाइका लागि हुन्‌ भनेर समयको अन्तरालमा छर्लङ्‌ग हुने थियो। साँच्चै भन्‍ने हो भने, परमेश्‍वरको शासन विरुद्ध गरिएको विद्रोहले निम्त्याएका दुःखद्‌ नतिजाहरूबाट यो कुरा दूधको दूध पानीको पानी भइसकेको छ। साथै, आफूले तोकेको समयमा भएभरको दुष्ट कुरालाई नष्ट पार्न आफ्नो अथाह शक्‍ति चलाउने परमेश्‍वरसित जायज कारण छ भनेर पनि ती नतिजाहरूले पुष्टि गरिसकेका छन्‌। अब चाँडै उहाँले दुष्टहरूलाई नष्ट गर्नुहुनेछ।—उत्पत्ति १८:२३-३२; व्यवस्था ३२:४; भजन ३७:९, १०, ३८.

परमेश्‍वरले कदम नचालुन्जेल अन्यायले जरा गाडेको यस रीतिरिवाजको चेपुवामा परेर हामी “पीडाले सुस्केरा हाल्दै प्रसव वेदनामा” छटपटाइरहनेछौं। (रोमी ८:२२) संसार बदल्न हामीले जतिसुकै प्रयास गरे तापनि हामी शैतानलाई हटाउन सक्दैनौं न अहिले व्याप्त दुःखकष्टको मूल जड असिद्धतालाई नै पूर्णतया निर्मूल पार्न सक्छौं। आदमबाट हामीमा सरेको पापका असरहरूलाई हटाउने क्षमता हामीसित छैन।—भजन ४९:७-९.

येशू ख्रीष्टले संसारलाई सधैंको लागि बदल्नुहुनेछ

उसोभए, के अब संसारलाई बदल्ने कुनै आशै छैन? त्यसो त पक्कै होइन। मरणशील मानिसभन्दा कैयौं गुना शक्‍तिशाली एक जनालाई सधैंको लागि संसार बदल्ने जिम्मा दिइएको छ। कसलाई? येशू ख्रीष्टलाई। बाइबलमा उहाँलाई मानव परिवार उद्धार गर्ने परमेश्‍वरको मुख्य कर्ता भनिएको छ।—प्रेरित ५:३१.

परमेश्‍वरले तोक्नुभएको “समय[मा]” कदम चाल्न येशू पर्खेर बसिरहनुभएको छ। (प्रकाश ११:१८) उहाँले खासमा के गर्नुहुनेछ? उहाँले “सबै थोकको पुनःर्स्थापन” गर्नुहुनेछ जसको विषयमा “परमेश्‍वरले आदिदेखि नै आफ्ना पवित्र अगमवक्‍ताहरूका मुखबाट बोल्नुभयो।” (प्रेरित ३:२१) उदाहरणको लागि, येशूले ‘दरिद्रहरूको पुकारा सुनेर छुटकारा दिनुहुनेछ। र सहायता नभएका दुःखीहरूलाई छुटकारा दिनुहुनेछ। . . . अत्याचार र थिचोमिचोबाट उहाँले तिनीहरूको प्राण मोल तिरेर छुटाउनुहुनेछ।’ (भजन ७२:१२-१६) परमेश्‍वरले येशू ख्रीष्टमार्फत “पृथ्वीको अन्तसम्मै . . . युद्धहरू” रोक्ने वचन दिनुभएको छ। (भजन ४६:९) उहाँले प्रतिज्ञा गर्नुभएको छ: “[सफा पारिएको पृथ्वीका] बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ” रोग-बिमारले गाँजेको कारण अन्धा, बहिरा र लङ्‌गडा भएकाहरू फेरि कहिल्यै बिरामी पर्नेछैनन्‌। (यशैया ३३:२४; ३५:५, ६; प्रकाश २१:३, ४) धेरै पहिला मरिसकेका मानिसहरूले समेत जीवन पाउनेछन्‌। अन्याय-अत्याचारमा परेर मरेका मानिसहरूलाई फेरि जीवित पार्नेछु भनी येशूले प्रतिज्ञा गर्नुभएको छ।—यूहन्‍ना ५:२८, २९.

येशू ख्रीष्टले संसारलाई अलि-अलि र छिनभरको लागि मात्र बदल्नुहुनेछैन। संसारलाई साँच्चै निष्पक्ष बनाउन बाधा पुऱ्‍याउने जम्मै तगारोलाई उहाँले नामोनिसान नरहने गरी हटाउनुहुनेछ। उहाँले पाप र असिद्धता हटाउनुका साथै शैतान अर्थात्‌ दियाबल अनि त्यसले गर्ने विद्रोहमा साथ दिनेहरू सबैलाई नष्ट पार्नुहुनेछ। (प्रकाश १९:१९, २०; २०:१-३, १०) परमेश्‍वरले केही समयको लागि रहन दिनुभएको आपत्‌विपद्‌ अनि दुःखकष्ट “दोस्रोपल्ट” वा फेरि-फेरि हुनेछैन। (नहूम १:९) परमेश्‍वरको राज्य आओस्‌ र परमेश्‍वरको इच्छा “स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌” भनेर प्रार्थना गर्न सिकाउनुहुँदा येशूको मनमा यही कुरा थियो।—मत्ती ६:१०.

तपाईं आपत्ति जनाउनुहोला, ‘तर येशूले नै “गरिबहरू ता तिमीहरूसित सधैं हुन्छन्‌” भन्‍नुभएको होइन र? उहाँको भनाइबाट त अन्याय र गरिबी सधैं रहिरहनेछ भन्‍ने बुझिन्छ नि?’ (मत्ती २६:११) गरिबहरू सधैं हुनेछन्‌ भनेर येशूले भन्‍नुभएको पक्का हो। तर परमेश्‍वरको वचनमा उल्लेख गरिएका प्रतिज्ञाहरू र येशूले जुन सन्दर्भमा कुरा गरिरहनुभएको थियो त्यसलाई विचार गर्ने हो भने, येशूले यो रीतिरिवाज रहुन्जेल गरिबहरू सधैं हुनेछन्‌ भन्‍न खोजिरहनुभएको थियो भनेर स्पष्ट हुन्छ। कुनै पनि मानिसले संसारमा व्याप्त गरिबी र अन्याय हटाउन सक्दैन भनेर उहाँलाई थाह थियो। यस किसिमका समस्याहरू म समाधान गर्नेछु भनेर पनि उहाँलाई थाह थियो। अब चाँडै उहाँले बिलकुलै नयाँ रीतिरिवाज ल्याउनुहुनेछ अर्थात्‌ “नयाँ स्वर्ग र नयाँ पृथ्वी,” जहाँ पीर-व्यथा, रोग-बिमार, गरिबी र मृत्यु केही हुनेछैन।—२ पत्रुस ३:१३; प्रकाश २१:१.

‘भलाइ गर्न नबिर्स’

त्यसोभए, अरूलाई मदत गर्न यथासक्दो गर्नु के बेकार छ? त्यसो त पक्कै होइन। साह्रो-गाह्रो अवस्थामा अरूलाई मदत गर्नू भनी बाइबल हामीलाई प्रोत्साहन दिन्छ। प्राचीन समयका राजा सुलेमान लेख्छन्‌, “मानिसलाई दिने तेरो औकात छ भने त्यसलाई दया देखाउन अस्वीकार नगर्‌।” (हितोपदेश ३:२७) प्रेरित पावल पनि यस्तै आग्रह गर्छन्‌, “भलाइ गर्न र सहयोगी हुन नबिर्स।”—हिब्रू १३:१६.

अरूलाई यथासक्दो मदत गर्नू भनेर येशू ख्रीष्ट स्वयम्‌ले हामीलाई प्रोत्साहन दिनुभयो। पिटिएर अनि लुटिएर भुइँमा लडिरहेको एक जना मानिस देख्ने सामरीको दृष्टान्त उहाँले बताउनुभयो। येशूले भन्‍नुभयो, पिटिएका मानिसका घाउहरूमा मलमपट्टी लगाइदिन र तिनको राम्ररी हेरचाह गर्न ती सामरीको “मन दयाले भरियो।” (लूका १०:२९-३७) ती दयालु सामरीले संसारलाई बदल्न त सकेनन्‌ तर तिनले कसैको जीवन भने बचाउन सके। हामी पनि यसै गर्न सक्छौं।

तर येशू ख्रीष्टले गर्न सक्ने कुरा व्यक्‍तिविशेषलाई मदत गर्नुमै मात्र सीमित छैन। संसारलाई साँच्चै बदल्न सक्ने क्षमता उहाँमा छ र अब छिट्टै उहाँले यस संसारलाई बदल्नुहुनेछ। त्यसपछि त आज अन्यायको सिकार भएका मानिसहरूले सुखमय र कुनै डर-त्रासविना जीवन बिताउन सक्नेछन्‌ किनकि त्यतिखेर जता हेऱ्‍यो त्यतै शान्ति नै शान्ति हुनेछ।—भजन ४:८; ३७:१०, ११.

त्यस्तो समय नआउन्जेल अन्यायले जरा गाडेको यस संसारमा अन्याय भोगिरहेका सबैतर्फ आध्यात्मिक तथा भौतिक रूपमा “भलाइको काम” गर्न हामी आफ्नोतर्फबाट सक्दो गर्न कहिल्यै पछि नहटौं।—गलाती ६:१०.

[पृष्ठ ५-मा भएका चित्रहरू]

फ्लोरेन्स नाइटिङ्‌गेलले नर्सिङजगत्‌लाई साँच्चै बदल्न सकिन्‌

[स्रोत]

Courtesy National Library of Medicine

[पृष्ठ ७-मा भएका चित्रहरू]

ख्रीष्टका अनुयायीहरू अरूतर्फ भलाइको काम गर्छन्‌

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

The Star, Johannesburg, S.A.