सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अद्‌भुत सृष्टिले यहोवालाई उच्च पार्छ

अद्‌भुत सृष्टिले यहोवालाई उच्च पार्छ

अद्‌भुत सृष्टिले यहोवालाई उच्च पार्छ

यहोवा अति महान्‌ हुनुहुन्छ। उहाँको महानता हाम्रो समझभन्दा बाहिर छ। पृथ्वी र आकाशमा भएका उहाँको सृष्टिले उहाँलाई उच्च पार्छ। त्यो देखेर हामी अवाक्‌ हुन्छौं।—भजन १९:१-४.

सृष्टिकर्ता अनि विश्‍वकै मालिकले बोल्नुहुँदा के हामी नसुनी बस्न सकौंला? तर उहाँ नाथे मानिससित बोल्नुभयो भने हामी कति छक्क परौंला! यदि स्वर्गदूतद्वारा उहाँ तपाईंसित बोल्नुभयो भने तपाईं पक्कै ध्यानमग्न भएर सुन्‍नुहुनेछ। करिब ३,५०० वर्षअघि स्वयम्‌ परमेश्‍वर बोल्नुहुँदा धर्मी अय्यूबले एकाग्र भइ सुनेको हुनुपर्छ। आकाश र पृथ्वीबारे परमेश्‍वरले अय्यूबलाई जे भने, त्यसबाट हामी के सिक्छौं?

कसले बसाल्यो पृथ्वीको जग, कसले राख्छ समुद्र वशमा?

आँधीहुरीबाट परमेश्‍वर अय्यूबसित बोल्नुभयो। पृथ्वी र समुद्रबारे उहाँले अय्यूबलाई प्रश्‍न गर्नुभयो। (अय्यूब ३८:१-११) पृथ्वीको आकार निर्धारण गर्ने र जग बसाल्ने कुनै मानव वास्तुविद्‌ थिएन। पृथ्वीलाई भवनसित दाँज्दै परमेश्‍वरले अय्यूबलाई प्रश्‍न गर्नुभयो: “त्यसको जगको ढुङ्‌गा कसले बसाल्यो?” मान्छेले हुनै सक्दैन! स्वर्गदूतहरू उहाँका यी सृजना नियालेर गद्‌गद भई गाउँछन्‌।

मानौं, परमेश्‍वरको लागि समुद्र नवजात शिशु हो। उहाँले यसलाई पोशाक पहिऱ्‍याई दिनुहुन्छ। “पृथ्वीको गर्भबाट फुटेर निस्कँदा” त्यसको जन्म हुन्छ। मानौं, परमेश्‍वरले पर्खाल र ढोकाहरूले यसको सिमाना ठहराउनुहुन्छ। अनि पृथ्वी र चन्द्रको आपसको आकर्षणले यसका छालहरू झुम्न थाल्छन्‌।

द वर्ल्ड बूक इन्साइक्लोपीडिया लेख्छ: “समुद्रमा छाल ल्याउने हावा नै हो। स-सानादेखि लिएर ३० मिटर अग्लो छलाङ्‌ग मार्ने दानवी छाल हावाले नै ल्याउँछ। जब हावा रोकिन्छ, सुस्तरी तैरिंदै छाल निकै टाढासम्म पुग्छ। अनि छालको आक्रोश सेलाउँदै जान्छ। किनारा पुगेर ठोक्किन्छ र मजाको फींज काढ्‌छ।” समुद्रले परमेश्‍वरको आज्ञा मान्छ: “यतिसम्म मात्र तँ आउनसक्छस्‌, अरू यता आउनसक्‍तैनस्‌, औ तेरा शक्‍तिशाली छालहरू यहाँनै रोकिनुपर्छ।”

मिरमिरेलाई कसले डाक्छ?

अब परमेश्‍वर अय्यूबलाई सूर्यको प्रकाश लगायत अन्य सृष्टिबारे प्रश्‍न गर्न थाल्नुहुन्छ। (अय्यूब ३८:१२-१८) कसले बोलाउँछ दिन र रातलाई? मान्छेले त सक्दैन। लुगा टक्टकाए झैं उषाको लालीले किरण छर्दै पृथ्वीको छेऊ समाई यसलाई टक्टकाउँछ र दुष्टहरूलाई झारिदिन्छ। पापीहरूले “साँझको” मधुरोमा दुष्कर्म गर्न खोज्लान्‌। (अय्यूब २४:१५, १६) तर झिसमिसे सँगै आउने ज्योतिले तिनीहरूलाई नङ्‌ग्याउँछ।

टाँचा लगाएपछि कुनै वस्तुमा सुन्दर बुट्टाहरू कुँदिए झैं उषाको लाली सुस्तरी छाउँदा पृथ्वीमा एउटा रङ्‌गीन दृश्‍य देखिन्छ। घामले पृथ्वीका विविध रङ्‌गहरू छर्लङ्‌ग पारिदिन्छ। लाग्छ, सारा पृथ्वी सुन्दर पहिरनले ठाँटिएकी छे। अय्यूब केवल टोलाइरहन्छन्‌। समुद्रको पींधमा झरेर के तिनी त्यसको गहनता बुझ्न सक्छन्‌? त्यसैले त होला, आजसम्म पनि वैज्ञानिकहरूसित समुद्री दुनियाँको ज्ञान अल्प छ।

हिउँ र असिनाको भण्डार कसको हो?

के कुनै मान्छेले ज्योति र अन्धकारलाई त्यसको उद्‌गमथलोमा पुऱ्‍याउन सक्छ? परमेश्‍वरले “युद्ध र लडाइँको घडीको निम्ति तयार पारी राखेको” हिऊँ र असिनाको भण्डरमै के कुनै मान्छे पुगेको छ? (अय्यूब ३८:१९-२३) गिबोनमा आफ्ना शत्रुहरूलाई नष्ट गर्न यहोवाले असिना बर्षाउनुहुँदा “इस्राएलीहरूले तरवारले मारेका भन्दा असीनाले मरेका धेरै थिए।” (यहोशू १०:११) हो, परमेश्‍वरले गोग अथवा शैतान अधीनस्थ दुष्ट मानवहरूलाई नष्ट गर्न पहिले कहिल्यै नझारेको बडेमाको असिना वर्षाउन सक्नुहुन्छ।—इजकिएल ३८:१८, २२.

जुलाई २००२ चीनको हेनान प्रान्तमा खसेका अण्डा जत्रा असिनाहरूले २५ जनालाई ठहरै पारे र २०० जनालाई घायल बनाए। सन्‌ १५४५ मा खसेको असिनाबारे एक इटालियन शिल्पकार बेनभेनुतो सेलीनी लेख्छन्‌: “फ्रान्सको लियोन पुग्न एक दिनको बाटो थियो। . . . बिजुली गर्ज्यो। . . . त्यसपछिको चर्को गर्जनले कानै थर्कायो। मैले सोचें, अन्तिम दिन आएछ; घोडाको लगाम खिंचे। अनि पानीको होइन, केवल असिनाको वर्षा हुन थाल्यो। . . . असिना निबुवा जत्रो हुन थाल्यो। . . . केही छिन पछि आँधी शान्त भयो र पूरै रोकियो। . . . हामीले एक-अर्काको चोट हेऱ्‍यौं; एक माइल जति हिंडेपछि जुन दारुण दृश्‍य देख्यौं, त्यसको अघि हाम्रा चोटहरू त नगण्य थिए। त्यो दर्दनाक दृश्‍य शब्दमा व्यक्‍त गर्न मलाई गाह्रो हुन्छ। नलुछिएका अनि हाँगाबिगा नभाँचिएका एउटै रूख थिएन; एकातिर पशुहरूको सिनो यत्रतत्र; अर्कोतिर गोठालाहरूका लाश छरप्रस्ट; असिना यति ठूलो थियो कि एक डल्लो असिना दुई हातले थाम्न गाह्रो थियो।”— आत्मवृत्तान्त (दोस्रो खण्ड, ५०) हार्भड क्लासिक, खण्ड ३१, पृष्ठ ३५२-३५३.

आफ्ना शत्रुहरू नष्ट गर्न यहोवाले हिऊँ र असिनाको भण्डारको ढोका खोल्नुहुँदा दुष्टहरूको कस्तो दुर्गति होला! यहोवाको इच्छा साकार पार्न हिऊँ र असिना वर्षंदा तिनीहरू कदापि उम्कने छैनन्‌।

वृष्टि, शीत, तुसारो र वरफका रचनाकार को हुन्‌?

अब यहोवा अय्यूबलाई वृष्टि, शीत, तुसारो र वरफबारे सोध्नुहुन्छ। (अय्यूब ३८:२४-३०) परमेश्‍वरले वृष्टिको रचना गर्नुभयो। “उजाड वन” समेत “वृष्टि[बाट]” अछुतो छैन। वृष्टि, शीत, तुसारो र वरफका जन्मदाता मानव होइन।

नेचर बुलेटिन लेख्छ: “पानीको एउटा अनौठो र विशेष गुण हुन्छ। जम्दा यसको घनत्व बढ्‌छ। . . . हिउँदमा चिसा क्षेत्रहरूका तलाउहरूमा एक पत्रे वरफ जम्छ। चिसोमा पनि जलजन्तु र वनस्पतिको अस्तित्व रहन सक्नुको कारण यही हो। . . .  जमेको पानीको घनत्व नबढेको भए गह्रौं वरफको ढिक्का पानीमा डुब्ने थियो। तलाउ नै एक ढिक्को हुने थियो। . . . चिसा क्षेत्रका नदीनाला, तलाउ, समुद्र सबै सधैंको लागि जम्ने थियो।”

नदी-नाला, तलाउ नजमेकोमा हामी कति आभारी छौं! अनि यहोवाको सृजना वृष्टि र शीतले पृथ्वीका वनस्पतिहरूलाई पोषण दिएकोमा पनि हामी कति कृतज्ञ छौं!

आकाशका नियमहरू कसले बनायो?

अब परमेश्‍वर अय्यूबलाई आकाश-मण्डलबारे प्रश्‍न गर्नुहुन्छ। (अय्यूब ३८:३१-३३) किर्किट-ताराको पुञ्ज सात विशाल ताराहरू र अरू थुप्रै स-सना ताराहरूको समूह हो। यो तारापुञ्ज सूर्यबाट ३८० प्रकाश-वर्ष टाढा छ। मान्छेले “किर्किट-ताराको पुञ्जलाई बाँधेर” एउटै मालामा गाभ्न सक्दैन। न ‘मृगशीराको पेटी फुकाल्नसक्छ।’ राशिचक्र र सप्तर्षि-तारा जुनसुकै तारामण्डलमा परे पनि मान्छेले वशमा राख्न सक्दैन। ब्रह्‍माण्ड र “आकाशको शासन गर्ने नियम” मान्छेले फेरबदल गर्न सक्दैन।

परमेश्‍वरले आकाशका नियमहरू तोक्नुभयो। पृथ्वीको हावापानी, समुद्रको छाल, वायुमण्डल र समस्त प्राणीको अस्तित्व हुनु या नहुनु यसैमा निर्भर छ। सूर्यलाई नै लिनुहोस्‌। सूर्यबारे द इन्साक्लोपीडिया अमेरिकाना (सन्‌ १९९६ संस्करण) लेख्छ: “सूर्यको किरणले पृथ्वीलाई न्यानो र ज्योति दिन्छ, बिरुवा हुर्काउन मदत गर्छ, समुद्र र नदीनालाको पानीलाई बाफ बनाइदिन्छ, हावा चल्न र पृथ्वीमा जीवन धान्‍न आवश्‍यक अन्य धेरै कुरा जुटाइदिन्छ।” सोही पुस्तक लेख्छ: “सूर्यको असीम शक्‍ति बुझ्न हावा, बाँध अनि प्राकृतिक इन्धनहरू, काठ, कोइला र तेलले दिने उर्जा हेरे पुग्छ। सूर्यबाट पन्ध्र करोड किलोमिटर टाढा रहेर पनि यस फुच्चे ग्रह [पृथ्वीले] सूर्यबाट यत्तिको उर्जा हासिल गर्छ।”

बादललाई कसले बुद्धि दियो?

यहोवाले अय्यूबलाई बादल हेर्ने आज्ञा दिनुहुन्छ। (अय्यूब ३८:३४-३८) मानिसले चाहेर आकाशमा बादल बोलाउने र पानी वर्षाउने हुकुम दिन सक्दैन। तर सृष्टिकर्ताले नै बसाल्नुभएको जलचक्रमा मानिस कत्ति धेरै निर्भर छन्‌!

जलचक्र के हो? एउटा पुस्तक लेख्छ: जलचक्रमा चार चरण हुन्छन्‌—सञ्चय, वाष्पीकरण, वृष्टि र बहाउ। जमिन, समुद्र, तलाउ, नदीनाला, हिमचुली र हिमनदीहरूमा पानी जम्मा हुन्छ। यो पानी बाफ बन्छ, बादलमा जम्मा हुन्छ, वृष्टि (पानी वा हिउँको रूपमा) वर्षन्छ, वर्षिएका केही पानी नदीनालामा बग्छ भने केही चाहिं वायुमण्डलमा मिसिन्छ। पृथ्वीका सारा पानीले कति पटक जलचक्र पूरा गरे होलान्‌, गनी साध्य छैन।—माइक्रोसफ्ट इन्कार्टा रेफरेन्स लाइब्रेरी २००५

टम्म पानी भरिएका बादल पानीका घ्याम्पा जस्तै हुन्‌। यहोवाले जब ती घोप्ट्याउनुहुन्छ, त्यसबाट यति धेरै पानी वर्षन्छन्‌ कि धुलो हिलो बन्छ र माटोका डल्लाहरू एकसाथ टाँसिन्छन्‌। पानी थाम्ने र वर्षाउने, यहोवाकै हातको खेल हो।—याकूब ५:१७, १८.

पानी पर्दा अक्सर बिजुली चम्कन्छ। तर के मानिसले चाहेर पानी पर्ने वा नपर्ने हो र? परमेश्‍वरको आज्ञा मान्‍ने बिजुली यसो भन्छ: “म तयार छु!” कम्टोन्स्‌ इन्साक्लोपिडिया लेख्छ: “बिजुली चम्कँदा वायुमण्डलमा ठूलै रासायनिक प्रतिक्रिया हुन्छ। हावामा झट्‌का पर्दा, अत्यधिक ताप शक्‍ति पैदा हुन्छ। त्यसपछि नाइट्राइट लगायत अन्य तत्त्वहरू पैदा गर्न नाइट्रोजन र अक्सिजनको मिलन हुन्छ। यही तत्त्व नै झरी बनेर पृथ्वीमा वर्षन्छ। यसरी वायुमण्डलले बोटबिरुवा हुर्काउन माटोलाई चाहिने पोषण परिपूर्ति गर्न सक्छ।” पानी पर्दा चम्कने बिजुलीको पूर्ण ज्ञान मानिसमा छैन तर परमेश्‍वरको लागि यो ठूलो कुरो होइन।

अद्‌भुत सृष्टिले यहोवाको गीत गाउँछ

विस्मयकारी सृष्टिले पक्कै सबै थोकका सृष्टिकर्तालाई उच्च पार्छ। (प्रकाश ४:११) स्वयम्‌ यहोवाबाट पृथ्वी र आकाश-मण्डलको वर्णन सुन्दा अय्यूबलाई कति घत लाग्यो होला!

अद्‌भुत सृष्टिका यी विवरण अय्यूबलाई सोधिएका प्रश्‍न र सुनाइएका वर्णनको केही अंश मात्र हुन्‌। तर यति थाह पाउँदा नै हामी यसो भन्‍न बाध्य हुन्छौं: “परमेश्‍वरको महानताको विषयमा हामी पूरा जान्‍नसक्‍तैनौं।”—अय्यूब ३६:२६,

[पृष्ठ १४-मा भएको चित्रको स्रोत]

Snowflake: snowcrystals.net

[पृष्ठ १५-मा भएको चित्रको स्रोत]

Pleiades: NASA, ESA and AURA/Caltech; fish: U.S. Fish & Wildlife Service, Washington, D.C./William W. Hartley