ख्याल राख्दै सुन्ने एउटा कला
ख्याल राख्दै सुन्ने एउटा कला
“कुरा सुनिदिनुभयो, मनै हलुको भयो।” हालै कसैले तपाईंलाई यसो भनेको छ? यसो भन्दा कस्तो सन्तुष्टि मिल्छ! हो, कुरा सुनिदिने मान्छे सबैको प्यारो हुन्छ। व्यथा सुन्दा अरूको बोझ हल्का बन्छ। कुरा सुनिदिंदा के हामीले अरूको कदर गरिरहेका हुँदैनौं र? हामीले मसीही मण्डलीमा ‘प्रेम र सुकर्ममा उत्तेजित गराएर एक-अर्काको विचार राख्नुपर्छ।’ यसो गर्ने एउटा महत्त्वपूर्ण तरिका ख्याल राख्दै अरूको कुरा सुन्नु हो।—हिब्रू १०:२४.
तर धेरै मान्छे अरूको कुरै सुन्दैनन्। अर्ती-उपदेश दिन अनि आफ्नो कुरा भन्न हतपत अघि सर्छन् तर अरूको कुरा सुन्नु पर्दा मुन्टो बटार्छन्। सुन्नु एउटा कला हो। त्यसोभए, ख्याल राख्दै कसरी सुन्ने?
नभई नहुने कुरा
यहोवा महान् “गुरु” हुनुहुन्छ। (यशैया ३०:२०) कसरी सुन्ने, उहाँले नै सिकाउनुहुन्छ। एलिया अगमवक्तालाई उहाँले कसरी मदत गर्नुभयो, विचार गरौं। रानी ईजेबेलदेखि त्रसित एलिया उजाडस्थानतिर भागे र मर्न चाहे। परमेश्वरको दूतले उनीसित कुरा गरे। अगमवक्ताले आफ्नो डर पोखाए, यहोवाले सुन्नुभयो र आफ्नो शक्ति प्रदर्शन गर्नुभयो। नतिजा? उनको डर हट्यो, उनी फेरि आफ्नो काममा लागे। (१ राजा १९:२-१५) समय लगाएर यहोवाले आफ्ना जनहरूको व्यथा किन सुन्नुहुन्छ? किनकि उहाँ तिनीहरूको ख्याल गर्नुहुन्छ। (१ पत्रुस ५:७) यसबाट राम्ररी सुन्नको लागि नभई नहुने एउटा महत्त्वपूर्ण पक्ष उजागर हुन्छ: अरूको पर्वाह गर्नु र ख्याल राख्नु।
बोलिभियाका एक मानिसले ठूलै पाप गरे। त्यस बेला एक सँगी विश्वासीले देखाएको निष्कपट चासोलाई उनी भुल्न सक्दैनन्। उनी भन्छन्: “सोचें, जीवन डुब्यो। एक जना भाइले मेरो कुरा नसुनीदिनुभएको भए मैले यहोवाको सेवा गर्नै छोड्ने थिएँ। उहाँले धेरै बोल्नु त भएन। तर मलाई बुझ्ने र मेरो कुरा सुन्ने कोही छ भन्ने आभासले गर्दा आत्मबल पाएँ। समाधान चाहिएको थिएन; गर्नु पर्ने के हो, मलाई थाह थियो। वश, मलाई बुझिदिने कोही चाहिएको थियो। उहाँले सुनिदिनुभएकोले नै घोर निराशाको दलदलमा फस्नदेखि म जोगिएँ।”
ख्याल राख्दै अरूको कुरा सुन्ने बेजोड नमुना येशू ख्रीष्ट नै हुनुहुन्छ। येशूको मृत्यु पश्चात् उहाँका दुई जना चेला यरूशलेमबाट झण्डै ११ किलोमिटर टाढा यात्रा गर्दै थिए। तिनीहरू निराश थिए। पुनरुत्थान हुनुभएका येशू तिनीहरू सँग-सँगै हिंड्न थाल्नुभयो। चेलाहरूको मन जान्न निकै सोचविचार गरेर उहाँले प्रश्नहरू गर्न थाल्नुभयो। चेलाहरूले पीडा पोखाए। निराशा र अन्योल पनि बताए। येशू तिनीहरूको चिन्ता गर्नुहुन्थ्यो। ख्याल राख्दै कुरा सुनिदिंदा उहाँका कुरा सुन्न तिनीहरू तयार भए। त्यसपछि येशूले “धर्मशास्त्रहरूमा आफ्नो विषयका कुराहरूको अर्थ खोलिदिनुभयो।”—लूका २४:१३-२७.
पहिले अरूको कुरा सुन्यौं भने, पछि तिनी हाम्रो कुरा सुन्न तयार हुन्छन्। एक बोलिभियाली महिला भन्छिन्, “छोराछोरी हुर्काउन जानिनँ भनी मेरा आमाबाबु र सासु-ससुरा रातोदिन कचकच गर्नुहुन्थ्यो। मेरो दिमाग तात्थ्यो। तर साँच्चै भन्नुपर्दा छोराछोरी हुर्काउने कसरी, मलाई थाह थिएन। त्यसैबेला एक यहोवाको साक्षी आइन्। तिनले मलाई परमेश्वरका भावी उद्देश्यहरूबारे बताइन्। तिनी मेरा कुरा सुन्न चाहन्थिन् भनेर तिनका प्रश्नहरूमा देखिन्थ्यो। भित्रै बोलाएँ र आफ्नो समस्या पोखाएँ। तिनले धीरजसित सुनिन्। बच्चा हुर्काउने सन्दर्भमा तिनले म र मेरो पतिको इच्छा बुझ्न चाहिन्। मलाई बुझ्न खोज्ने कसैको सामिप्य पाउँदा हल्का महसुस गरें। जब तिनले पारिवार सुखी बनाउने बाइबल सिद्धान्तहरू बताउन थालिन्, मलाई लाग्यो म आफूलाई बुझ्ने व्यक्तिसित कुरा गर्दैछु।”
बाइबल भन्छ, “प्रेमले . . . आफ्नै भलाइ खोज्दैन।” (१ कोरिन्थी १३:४, ५) अरूको ख्याल राख्दै सुन्नु आफ्ना कुरा पन्छाउनु हो। कुरा गम्भीर छ भने, टिभी बन्द गर्नुहोस्, पढ्दै गरेको अखबार झट्ट पन्छाउनुहोस्, मोबाइल बन्द गर्नुहोस्। ख्याल राख्दै कुरा सुन्नु अरूको सोचाइमा गहिरो चासो लिनु हो। “मलाई पनि यस्तै एउटा कुरा याद आयो है” भन्दै बीचमै कुरा काटी आफ्नो कुरा राख्नु हुँदैन। हो, रमाइलो गफ गर्दा यसो भन्नु ठिकै होला, तर कुरा गम्भीर छ भने आफ्ना कुराहरू पन्छाउनै पर्छ। निष्कपट चासोलाई अन्य तरिकामा पनि व्यक्त गर्न सकिन्छ। कसरी?
भावना बुझ्नुहोस्
हुन त अय्यूबका साथीहरूले दस-दस चोटि तिनका कुरा सुनेका थिए। तैपनि अय्यूबले तिक्तता पोखे: “म जे भनिरहेछु के कसैले सुनिदिंदैन?” (अय्यूब ३१:३५) अय्यूबले किन यसो भने? उनीहरूले अय्यूबको कुरा सुनिदिएर तिनलाई केही सान्त्वना मिलेन। उनीहरूलाई तिनको न कुनै वास्ता थियो न त भावनाको कुनै कदर नै। उनीहरूलाई अय्यूबको पर्वाह थिएन। तिनको मर्म पनि बुझेनन्। प्रेरित पत्रुस यस्तो सल्लाह दिन्छन्: “अन्त्यमा, तिमीहरू सबै एक मनका, सहानुभूति देखाउने, भातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका” होओ। (१ पत्रुस ३:८) अरूप्रति चासो देखाउने एउटा तरिका अरूको मर्म बुझ्ने कोसिस गर्नु हो। “ओहो! साह्रै नमिठो भएछ!” वा “तपाईंले भन्न खोज्नु भएको कुरा राम्ररी बुझिदिएनछ!” जस्ता अभिव्यक्तिहरू भन्नु अरूको ख्याल राख्नु हो। कुरा सुनेपछि आफ्नै शब्दमा भन्नुहोस्। यो पनि अरूलाई बुझ्ने एउटा तरिका हो। ख्याल राख्दै सुन्नु शब्द होइन तर शब्द पछाडि लुकेका भावनामा ध्यान दिनु हो।
रिशब a यहोवाका साक्षीहरूको अनुभवी पूर्ण-समय सेवक हुन्। उनी भन्छन्, “एक चोटि म साह्रै निराश भएँ। त्यसैले, परिभ्रमण निरीक्षकसित कुरा गरें। उहाँले मेरो कुरा सुन्नुभयो र भावनाहरू बुझ्न खोज्नुभयो। मलाई थाह थियो, मेरा विचारहरू ठीक थिएनन्, उहाँले के सोच्नुहोला भन्ने डर पनि थियो। तर उहाँले त मेरो त्यो डर पनि बुझ्नुभएको रहेछ। उहाँले मेरा विचारहरू गलत होइनन् भनेर भन्नुभयो। कुनै बेला आफू पनि यसरी नै पिरोलिएको बताउनुभयो। मैले बल पाएँ। डटेर अघि बढें।”
के मन्जुरी नजनाईकन कुरा सुन्न सकिन्छ? आफूलाई भरोसा गरेर कुरा सुनाएकोमा तिनलाई धन्यवाद भन्न सकिन्छ कि? अवश्य। छोरा स्कूलमा मारपिट गरेर आउँछ। भर्खरकी छोरी कसैको प्रेममा पागल भएकी छे। यस्ता कुरा छोराछोरीले बताउँदा के गर्ने? “यो तिमीले के गऱ्यौ!” भन्दै लामो अर्ती दिनुअघि तिनीहरूको कुरा सुन्नु अनि युवा-मनलाई अझ राम्ररी बुझ्न खोज्नु बेस होइन र?
बुद्धिमान् मानिसको मनका ज्ञानगुनको कुरा “गहीरो पानीझैं हो। तर समझदार मानिसले त्यो तानेर निकाल्छ,” भनी हितोपदेश २०:५ भन्छ। यस पदले भनेअनुसार कुनै बुद्धिमान र अनुभवीले कसैले नसोधीकन सल्लाह दिंदैन भने उसको मनको कुरा तानेर निकाल्नुपर्छ। ख्याल राख्दै सुन्दा पनि यही सिद्धान्त लागू हुन्छ। मनको कुरा तान्न समझशक्ति चाहिन्छ। प्रश्न सोध्नु राम्रो हो। तर त्यो प्रश्नले निजी जीवनलाई दखल पुऱ्याउनु हुँदैन। उसलाई कुरा गर्न सजिलो बनाउनुहोस्। जस्तै, वैवाहिक जीवनका पीडाहरू पोख्न चाहने पत्नीको मनको कुरा तान्न तिनका दाम्पत्य जीवनका सुखद दिनहरूबाट कुरा थाल्नुहोस्। मसीही सेवकाईमा निष्क्रिय भएको व्यक्तिको मनको कुरा तान्न, भर्खरै सच्चाइमा आउँदाको अनुभवहरू सोध्नुहोस्।
ख्याल राख्दै सुन्नु सजिलो छैन
रिसाएको मानिसको कुरा सुन्नु सजिलो छैन किनकि आफ्नै कुरा माथि राख्ने मान्छेको झुकाव नै छ। त्यसोभए के गर्ने? हितोपदेश १५:१, NRV भन्छ, “नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।” मनको कुरा पोख्न दिनुहोस्, गुनासाहरू धैर्यपूर्वक सुन्नु नै वास्तवमा नम्र जवाफ दिने एउटा तरिका हो।
चर्काचर्की हुँदा अक्सर एउटै कुरा दोहोरिन्छ। दुवैलाई लाग्छ, मेरो कुरा उसले सुन्दैन। दुईमध्ये एक चुप लागेर कुरा सुन्नु कत्ति बेस! हो, आत्मसंयम देखाउनुपर्छ। ख्याल राख्दै बुद्धिमानी भएर बोल्नुपर्छ। बाइबल भन्छ: “जसले आफ्नो जिब्रोलाई वशमा राख्छ, त्यो बुद्धिमान् हो।”—हितोपदेश १०:१९., NRV
ख्याल राख्दै सुन्ने कला स्वतः तिखारिंदैन। त्यसैले प्रयत्न र अनुशासन चाहिन्छ। यो प्रयास खेर जाँदैन। अरूले बोल्दा सुन्नु प्रेम दर्शाउनु हो। यसो गर्दा आफ्नै आनन्द बढ्छ। त्यसैले, ख्याल राख्दै सुन्ने कला तिर्खानु कति बेस!
[फुटनोट]
a नाउँ परिवर्तन।
[पृष्ठ ११-मा भएको चित्र]
सुन्दा आफ्ना कुरा पन्छाउनुपर्छ
[पृष्ठ १२-मा भएको चित्र]
रिसाएको मानिसको कुरा सुन्नु सजिलो छैन