सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरसित हिंड्‌नुहोस्‌ र असल कुरा कटनी गर्नुहोस्‌

परमेश्‍वरसित हिंड्‌नुहोस्‌ र असल कुरा कटनी गर्नुहोस्‌

परमेश्‍वरसित हिंड्‌नुहोस्‌ र असल कुरा कटनी गर्नुहोस्‌

“तिनीहरू बतास छर्दछन्‌, र तिनीहरूले आँधीबेह्रीको कटनी गर्नेछन्‌।”—होशे ८:७.

१. हामी कसरी यहोवासित हिंड्‌न सक्छौं?

 बाटो देखाउनको लागि एक जना अनुभवी गाइड साथमा छ भने खतरनाक इलाकाको यात्रा अझ बढी सुरक्षित हुन्छ। एक्लै यात्रा गर्नुभन्दा यस्तो गाइडसित हिंड्‌नु बुद्धिमानी हुनेछ। यस उदाहरणले हामी बाँचिरहेको परिस्थितिलाई केही हदसम्म देखाउँछ। लाक्षणिक अर्थमा भन्‍ने हो भने, अहिलेको दुष्ट संसारको विशाल मरुभूमिमा हाम्रो गाइड बन्‍न यहोवा अग्रसर हुनुभएको छ। हामीले आफ्नो पाइलालाई आफै डोऱ्‍याउने कोसिस गर्नुको सट्टा उहाँसित हिंड्‌नु बुद्धिमानी हुनेछ। हामी कसरी परमेश्‍वरसित हिंड्‌न सक्छौं? उहाँले आफ्नो वचनमा दिनुभएको निर्देशन पछ्याएर।

२. यस लेखमा के छलफल गरिनेछ?

होशे अध्याय १ देखि ५ मा पाइने लाक्षणिक नाटकबारे अघिल्लो लेखमा छलफल गरिएको थियो। त्यस नाटकमा परमेश्‍वरसित हिंड्‌न हामीलाई मदत गर्ने पाठहरू छन्‌ भनेर हामीले बुझिसकेका छौं। अब हामी अध्याय ६ देखि ९ का केही विशेषताहरू छलफल गरौं। पहिला यी चारवटा अध्यायलाई सरसरती हेरेर छलफल सुरु गर्नु मदतकारी हुनेछ।

सरसरती हेर्दा

३. होशे अध्याय ६ देखि ९ मा के-कस्ता कुराहरू छन्‌, छोटकरीमा बताउनुहोस्‌।

यहोवाले होशेलाई मुख्यतया इस्राएलको दस-गोत्रे उत्तरी राज्यलाई भविष्यवाणी गर्न पठाउनुभएको थियो। सबैभन्दा ठूलो कुल एप्रैमको नाउँबाट पनि चिनिने इस्राएलको त्यो दस-गोत्रे राज्य यहोवाबाट तर्किएको थियो। यहोवाको करार भङ्‌ग गर्नुका साथै दुष्ट काम गरेर मानिसहरू परमेश्‍वरप्रति वफादार भइरहेनन्‌ भन्‍ने कुरा होशे अध्याय ६ देखि ९ बाट स्पष्ट हुन्छ। (होशे ६:७) तिनीहरू परमेश्‍वरतर्फ फर्कनुको सट्टा सांसारिक गठबन्धनहरूमाथि भर परे। तिनीहरूले खराब कुरा छरिरहेको कारण खराबै कुरा कटनी गर्ने थिए। अर्को शब्दमा भन्‍ने हो भने, तिनीहरूले प्रतिकूल न्याय भोग्नै लागेका थिए! तर होशेको भविष्यवाणीमा एउटा हृदयस्पर्शी सन्देश पनि छ। मानिसहरूले हृदयदेखि नै पश्‍चात्ताप गरेको खण्डमा तिनीहरू यहोवातर्फ फर्कन र उहाँको दया पाउन सक्छन्‌ भनी तिनीहरूलाई आश्‍वासन दिइयो।

४. होशेको भविष्यवाणीबाट हामी कस्ता व्यावहारिक पाठहरू विचार गर्नेछौं?

होशेको भविष्यवाणीका यी चारवटा अध्यायमा परमेश्‍वरसित हिंड्‌न हामीलाई मदत गर्ने थप निर्देशन पाउँछौं। आउनुहोस्‌, चारवटा व्यावहारिक पाठ विचार गरौं: (१) साँचो पश्‍चात्ताप बोलीद्वारा मात्र होइन, कामद्वारा प्रकट हुन्छ; (२) बलिदानले मात्र परमेश्‍वरलाई खुसी पार्दैन; (३) आफ्ना उपासकहरू तर्कंदा यहोवा पीडा महसुस गर्नुहुन्छ; र (४) असल कुरा कटनी गर्न हामीले असलै कुरा छर्नुपर्छ।

साँचो पश्‍चात्ताप कसरी प्रकट हुन्छ

५. होशे ६:१-३ मा बताउन खोजिएको मुख्य कुरा के हो?

होशेको भविष्यवाणीले पश्‍चात्ताप र दयाबारे हामीलाई धेरै कुरा सिकाउँछ। होशे ६:१-३ मा हामी यस्तो लेखिएको पाउँछौं: “आऊ, हामी परमप्रभुतिर फर्कौं किनभने उहाँले हामीलाई घायल पार्नुभएको छ, र उहाँलेनै हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नुभएको छ, र उहाँलेनै हामीलाई मलहम–पट्टी बाँध्नुहुनेछ। दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ। तेस्रो दिन उहाँले हामीलाई खडा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं। आऊ, हामी परमप्रभुलाई चिनौं, हामी परमप्रभुलाई चिन्‍नलाई प्रयत्न गरिरहौं। उहाँको आगमन प्रभातझैं निश्‍चय छ। उहाँ हामीकहाँ वर्षाको झरी, जमीनलाई भिजाउने आखिरी वर्षाझैं आउनुहुनेछ।”

६-८. इस्राएलले देखाएको पश्‍चात्तापमा के-कस्ता समस्या थिए?

यी पदहरूमा लिपिबद्ध शब्दहरू कसले भनेका हुन्‌? कसै-कसैको भनाइअनुसार यी शब्दहरू अविश्‍वासी इस्राएलीहरूले भनेका हुन्‌ र ती अनाज्ञाकारी मानिसहरूले पश्‍चात्ताप गरेको स्वाँङ पार्दै परमेश्‍वरको दयाको नाजायज फाइदा उठाउँदै थिए। तथापि, अरू कोही-कोही भने होशेले मानिसहरूलाई यहोवातर्फ फर्कन आग्रह गर्दै थिए भन्छन्‌। ती शब्दहरू जोसुकैले भनेका होऊन्‌, विचार गर्नुपर्ने महत्त्वपूर्ण प्रश्‍नचाहिं यो हो: के इस्राएलको दस-गोत्रे राज्यका मानिसहरू साँचो पश्‍चात्ताप प्रकट गर्दै यहोवातर्फ फर्के? जवाफ छ, फर्केनन्‌। होशेमार्फत यहोवा यसो भन्‍नुहुन्छ: “ए एप्रैम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? किनकि तेरो प्रेम बिहानको कुइरोजस्तै र बिलिजाने शीतजस्तै छ।” (होशे ६:४) परमेश्‍वरका जनहरूको आध्यात्मिक अवस्था साह्रै दयनीय थियो भन्‍ने त्यो एउटा प्रमाण थियो। बिहान सूर्य उदाएपछि तुरुन्तै बिलाएर जाने शीतजस्तै करुणा वा वफादार प्रेम पनि झन्डै-झन्डै बिलाइसकेको थियो। मानिसहरूले पश्‍चात्ताप गरेको स्वाँङ पारे तापनि यहोवाले दया देखाउने कुनै आधार भेट्टाउनुभएन। समस्या के थियो?

इस्राएलले हृदयदेखि साँचो पश्‍चात्ताप गरेको थिएन। आफ्ना जनहरूसित यहोवा रिसाउनुभएको थियो भनेर होशे ७:१४ बताउँछ: “हृदयले तिनीहरू मेरो पुकारा गर्दैनन्‌, तर आफ्ना ओछ्यानमा विलाप गर्दछन्‌।” पद १६ (NRV) अझै यसो भन्छ: “तिनीहरू सर्वोच्चतिर फर्कंदैनन्‌” अर्थात्‌ उच्च पारिएको उपासनातर्फ फर्कंदैनन्‌। यहोवासितको आफ्नो बिग्रिएको सम्बन्ध सुधार्न आवश्‍यक पर्ने परिवर्तनहरू गरेर उहाँको उच्च पारिएको उपासनातर्फ फर्कन मानिसहरू इच्छुक थिएनन्‌। साँच्चै भन्‍ने हो भने, तिनीहरू परमेश्‍वरसित हिंड्‌नै चाहँदैनथे।

इस्राएलले देखाएको पश्‍चात्तापमा अर्को पनि समस्या थियो। मानिसहरूले पापी काम गर्न छाडेका थिएनन्‌। हो, तिनीहरूले ठगी, हत्या, चोरी, मूर्तिपूजा र मूर्ख हुँदै अरू राष्ट्रहरूसित साँठगाँठ बढाइरहेका थिए। होशे ७:४ मा तिनीहरूलाई “गरम पारेका तन्दूर” वा रोटी बनाउने चुल्होसित तुलना गरिएको छ किनभने मानिसहरूको मनमा खराब इच्छा दन्किरहेको थियो। यस्तो दयनीय आध्यात्मिक अवस्थालाई विचार गर्दा हाम्रो मनमा प्रश्‍न उठ्‌न सक्छ, के मानिसहरू दया पाउन योग्यका थिए? पटक्कै थिएनन्‌! यहोवाले “तिनीहरूको अधर्मको सम्झना” गर्नुहुनेछ र “तिनीहरूका पापको दण्ड” दिनुहुनेछ भनी होशे ती विद्रोही मानिसहरूलाई बताउँछन्‌। (होशे ९:९) तिनीहरूलाई पटक्कै दया देखाइने थिएन!

९. होशेका शब्दहरूबाट पश्‍चात्ताप र दयाबारे के सिक्न सक्छौं?

होशेका शब्दहरूबाट पश्‍चात्ताप र दयाबारे के सिक्न सक्छौं? परमेश्‍वरको दयाबाट लाभ उठाउने हो भने हृदयदेखि नै पश्‍चात्ताप गर्नुपर्छ भनेर अविश्‍वासी इस्राएलीहरूको चेतावनीमूलक उदाहरणले हामीलाई सिकाउँछ। यस्तो पश्‍चात्ताप कसरी देखिन्छ? आँसु बगाएर वा मीठो बोलीले यहोवालाई झुक्याउन सकिंदैन। साँचो पश्‍चात्ताप कामद्वारा प्रस्ट देखिन्छ। परमेश्‍वरको दयाबाट लाभ उठाउने हो भने, गल्ती गर्ने व्यक्‍तिले पापी मार्ग चटक्क त्याग्नै पर्छ र यहोवाको उच्च पारिएको उपासनाका स्तरहरू अनुरूप जीवन बिताउनै पर्छ।

बलिदानले मात्र यहोवालाई खुसी पार्दैन

१०, ११. बलिदानले मात्र परमेश्‍वरलाई खुसी पार्दैन भन्‍ने कुरा इस्राएलीहरूको कामबाट कसरी स्पष्ट हुन्छ?

१० अब हामी परमेश्‍वसित हिंड्‌न हामीलाई मदत गर्ने दोस्रो पाठबारे छलफल गरौं। त्यो हो: बलिदानले मात्र परमेश्‍वरलाई खुसी पार्दैन। होशे ६:६ यसो भन्छ: “म [यहोवा] बलिदान होइन तर अटल प्रेम [“करुणा,” NW] चाहन्छु, र होमबलिभन्दा परमेश्‍वरलाई चिन्‍ने ज्ञान बढ्‌ता चाहन्छु।” ध्यान दिनुहोस्‌, यहोवा हृदयको गुण करुणा वा वफादार प्रेम र उहाँलाई चिन्‍ने ज्ञान चाहनुहुन्छ। तर तपाईंले यस्तो सोचिरहनुभएको हुन सक्छ: ‘यस पदले परमेश्‍वर “बलिदान” र “होमबलि” चाहनुहुन्‍न भनी बताउँछ, किन होला? मोशाको व्यवस्थाअन्तर्गत के ती आवश्‍यक थिएनन्‌ र?’

११ मोशाको व्यवस्थाअन्तर्गत बलिदान तथा भेटीहरू चढाउनु आवश्‍यक थियो तर होशेको समयका मानिसहरूमा एउटा गम्भीर समस्या थियो। स्पष्टतः त्यतिबेला यस्ता केही इस्राएलीहरू पनि थिए, जसले नाउँ मात्रको भक्‍ति देखाउन भेटीहरू चढाइरहेका थिए। यसबाहेक, तिनीहरूले पाप गरिरहेका थिए। पाप गरेर तिनीहरूले आफ्नो हृदयमा वफादार प्रेम नभएको कुरा देखाए। तिनीहरूले परमेश्‍वरको ज्ञान तिरस्कार गरेको कुरा पनि देखाए किनभने तिनीहरूले परमेश्‍वरको ज्ञान अनुरूप जीवन बिताइरहेका थिएनन्‌। मानिसहरूको हृदयको अवस्था ठीक थिएन र तिनीहरूले सही ढङ्‌गमा जीवन पनि बिताइरहेका थिएनन्‌। त्यसैकारण तिनीहरूले चढाएको बलिदानको के महत्त्व? तिनीहरूले चढाएको बलिदान परमेश्‍वरको नजरमा घिनलाग्दो थियो।

१२. आजका मानिसहरूका लागि होशे ६:६ मा कस्तो चेतावनी छ?

१२ आज चर्च धाउने थुप्रै व्यक्‍तिका लागि होशेका शब्दहरूमा एउटा चेतावनी छ। धार्मिक काम गरेर तिनीहरू परमेश्‍वरलाई भेटी चढाउँछन्‌। तर तिनीहरूको उपासनाले तिनीहरूको दैनिक आचरणमा कुनै फरक पारेको छैन र पारेकै छ भने पनि नाउँ मात्रको। परमेश्‍वरको सही ज्ञान लिन र त्यो ज्ञान व्यवहारमा उतारेर पाप गर्न छोड्‌न आफ्नो हृदयले तिनीहरूलाई उत्प्रेरित गर्दैन भने, के यस्ता व्यक्‍तिहरूले परमेश्‍वरलाई साँच्चै खुसी पारिरहेका होलान्‌? धार्मिक काम गऱ्‍यो भने परमेश्‍वर खुसी भइहाल्नुहुन्छ नि भनेर कसैले पनि नसोचोस्‌। परमेश्‍वरको वचन अनुरूप जीवन बिताउनुको सट्टा उहाँको अनुग्रह पाउन औपचारिकता मात्र पूरा गर्ने मानिसहरूसँग यहोवा खुसी हुनुहुन्‍न!—२ तिमोथी ३:५.

१३. हामी कस्तो बलिदान चढाउँछौं तर यसबारे हामीले कुन कुरा बिर्सनु हुँदैन?

१३ बलिदानहरूले मात्र परमेश्‍वरलाई खुसी पार्दैन भन्‍ने कुरा हामी साँचो मसीहीहरूले बिर्सनु हुँदैन। हामीले परमेश्‍वरलाई पशु बलि नचढाए तापनि “स्तुतिको बलिदान परमेश्‍वरलाई [चढाउँछौं], जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।” (हिब्रू १३:१५) परमेश्‍वरलाई यस्तो आध्यात्मिक बलिदान चढायौं भने, आफ्नो गल्तीको क्षतिपूर्ति गर्न सकिहाल्छौं नि भन्‍ने सोचाइ राखेर होशेको समयका पापी इस्राएलीहरूजस्तो हामी कदापि हुनु हुँदैन। गोप्य रूपमा यौन अनैतिकतामा लागेकी एउटी युवतीको उदाहरण विचार गर्नुहोस्‌। उनले पछि यसो भनिन्‌: “मेरो यो गलत काम ढाकछोप होला भन्ठानेर क्षेत्र सेवकाईमा मैले बढी समय बिताउन थालें।” बरालिएका इस्राएलीहरूले पनि यसै गर्ने कोसिस गरे। तर नबिर्सौं, सही मनसायले र परमेश्‍वरले चाहनुहुने आचरणअनुसार प्रशंसाको बलिदान चढाएका छौं भने मात्र यहोवालाई त्यो स्वीकार्य हुनेछ।

आफ्ना उपासकहरू तर्कंदा यहोवा पीडा महसुस गर्नुहुन्छ

१४. होशेको भविष्यवाणीले परमेश्‍वरका भावनाहरूबारे के बताउँछ?

१४ होशे अध्याय ६ देखि ९ बाट हामीले सिक्न सक्ने तेस्रो पाठ आफ्ना उपासकहरू तर्कंदा यहोवा कस्तो महसुस गर्नुहुन्छ भन्‍ने विषयमा छ। परमेश्‍वर दृढ र कोमल हुनुहुन्छ। आफ्नो पापको पश्‍चात्ताप गर्नेहरूलाई उहाँ मन पराउनुहुन्छ र तिनीहरूलाई अनुकम्पा देखाउनुहुन्छ। तर आफ्ना जनहरूले पश्‍चात्ताप गरेनन्‌ भने उहाँ कठोर अनि निर्णायक कदम चाल्न पनि पछि पर्नुहुन्‍न। उहाँ हाम्रो गहिरो चासो राख्नुहुन्छ। त्यसैकारण त हामी विश्‍वासीपूर्वक उहाँसित हिंड्‌दा उहाँ रमाउनुहुन्छ। भजन १४९:४ यसो भन्छ: “परमप्रभु आफ्ना प्रजासँग खुशी हुनुहुन्छ।” तर आफ्ना सेवकहरू अविश्‍वासी हुँदा यहोवा कस्तो महसुस गर्नुहुन्छ?

१५. होशे ६:७ अनुसार केही इस्राएलीहरूले कस्तो व्यवहार गरिरहेका थिए?

१५ अविश्‍वासी इस्राएलीहरूलाई सङ्‌केत गर्दै यहोवा यसो भन्‍नुहुन्छ: “तिनीहरूले ता आदमले झैं करार भङ्‌ग गरे। त्यसैमा तिनीहरूले मेरो विरुद्धमा विश्‍वासघातको व्यवहार गरे।” (होशे ६:७) ‘विश्‍वासघातको व्यवहार गर्नु’ भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “कपटपूर्ण (व्यवहार गर्नु), अविश्‍वासपूर्ण व्यवहार गर्नु” पनि हुन्छ। आफ्नो वैवाहिक जोडीप्रति अविश्‍वासी इस्राएलीहरूको अवफादार आचरणलाई वर्णन गर्न मलाकी २:१०-१६ मा पनि यही हिब्रू शब्द चलाइएको छ। होशे ६:७ मा चलाइएको यस शब्दबारे एउटा पुस्तक यसो भन्छ: यो, “विवाहसम्बन्धी एउटा रूपक हो। . . . प्रेम भङ्‌ग भएको एउटा अवस्था हो।”

१६, १७. (क) परमेश्‍वरले इस्राएलीहरूसित बाँध्नुभएको करारलाई तिनीहरूले के गरे? (ख) आफ्ना कामहरूबारे हामीले कुन कुरा बिर्सनु हुँदैन?

१६ यहोवाले इस्राएलसित करार बाँध्नुभएको कारण उहाँले त्यस राष्ट्रलाई आफ्नी लाक्षणिक पत्नी भन्‍नुभयो। त्यसैकारण त उहाँका जनहरूले त्यस करारका शर्तहरू उल्लङ्‌घन गर्दा तिनीहरूले व्यभिचार गरे सरह थियो। परमेश्‍वर विश्‍वासी पतिजस्तै हुनुहुन्थ्यो तर उहाँका जनहरू उहाँबाट तर्केर गए!

१७ हामी नि? हामी उहाँसित हिंड्‌छौं कि हिंड्‌दैनौं भन्‍ने कुरामा उहाँ चासो राख्नुहुन्छ। “परमेश्‍वर प्रेम” हुनुहुन्छ र हाम्रा कामहरूले उहाँको भावनालाई असर गर्छ भनेर हामीले बिर्सनु हुँदैन। (१ यूहन्‍ना ४:१६) त्यसैकारण हामी गलत बाटोमा हिंड्यौं भने हाम्रो कारण यहोवालाई पीडा हुन्छ र उहाँलाई साह्रै दुःख लाग्नेछ। यो कुरा मनमा राख्यौं भने प्रलोभनसामु घुँडा नटेक्न हामी बल पाउँछौं।

हामी कसरी असल कुरा कटनी गर्न सक्छौं

१८, १९. होशे ८:७ मा हामी कस्तो सिद्धान्त पाउँछौं र त्यो सिद्धान्त इस्राएलीहरूमा कसरी साँचो साबित भयो?

१८ अब हामी होशेको भविष्यवाणीबाट सिक्न सकिने चौथो पाठ विचार गरौं। त्यो हो—हामी कसरी असल कुरा कटनी गर्न सक्छौं। इस्राएलीहरू र तिनीहरू हिंडेको अविश्‍वासी मार्ग कत्ति मूर्खतापूर्ण अनि व्यर्थ थियो भन्दै होशे यस्तो लेख्छन्‌: “तिनीहरू बतास छर्दछन्‌, र तिनीहरूले आँधीबेह्रीको कटनी गर्नेछन्‌।” (होशे ८:७) यहाँ हामीले मनमा राख्नुपर्ने एउटा सिद्धान्त उल्लेख गरिएको छ: अहिले हामी के गर्छौं र पछि हामीलाई के हुन्छ, यी दुईबीच प्रत्यक्ष सम्बन्ध छ। अविश्‍वासी इस्राएलीहरूमा यो सिद्धान्त कसरी सत्य साबित भयो?

१९ पाप गरेर ती इस्राएलीहरूले खराब कुरा छरिरहेका थिए। के तिनीहरू यसको खराब नतिजा नभोगीकन उम्कन सक्थे? तिनीहरूले अवश्‍य न्याय-दण्ड भोग्ने थिए। होशे ८:१३ यसो भन्छ: “अबचाहिं उहाँले [यहोवाले] तिनीहरूका अधर्म सम्झना गरेर तिनीहरूका पापको निम्ति दण्ड दिनुहुनेछ।” अनि होशे ९:१७ मा हामी यस्तो लेखिएको पाउँछौं: “मेरा परमेश्‍वरले तिनीहरूलाई त्याग्नुहुनेछ, किनभने तिनीहरूले उहाँको कुरा सुनेनन्‌। तिनीहरू अन्यजातिहरूका बीचमा घुमन्ते–फिरन्ते हुनेछन्‌।” यहोवाले इस्राएलीहरूलाई जवाफदेही ठहराउनुहुने थियो। तिनीहरूले खराब कुरा छरेको हुनाले खराबै कुरा कटनी गर्ने थिए। ईसापूर्व ७४० मा अश्‍शूरीहरूले इस्राएलको दस-गोत्रे राज्यलाई पराजित गरेर त्यहाँका मानिसहरूलाई कैद गरेर लैजाँदा परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुभयो।

२०. इस्राएलीहरूको अनुभवबाट हामी के सिक्न सक्छौं?

२० ती इस्राएलीहरूको अनुभवले हामीलाई एउटा अकाट्य सत्य सिकाउँछ: हामी जे छर्छौं त्यसैको कटनी गर्छौं। परमेश्‍वरको वचन हामीलाई यस्तो चेतावनी दिन्छ: “धोकामा नपर, परमेश्‍वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” (गलाती ६:७) त्यसकारण, हामीले खराब कुरा रोप्यौं भने खराबै कुरा कटनी गर्नेछौं। उदाहरणका लागि, अनैतिक जीवन बिताउनेहरूले तीतो नतिजा भोग्नेछन्‌। पश्‍चात्ताप नगर्ने पापीले दुःखलाग्दो नतिजा भोग्नेछ।

२१. हामी कसरी असल कुरा कटनी गर्न सक्छौं?

२१ त्यसोभए, हामी कसरी असल कुरा कटनी गर्न सक्छौं त? यस प्रश्‍नको जवाफ एउटा सरल उदाहरणबाट बुझ्न सक्छौं। कुनै किसान गहुँ कटनी गर्न चाहन्छ भने के उसले मकै रोपेर हुन्छ? पक्कै हुँदैन! उसले जे कटनी गर्न चाहन्छ, त्यही रोप्नुपर्छ। त्यसै गरी, हामी असल कुरा कटनी गर्न चाहन्छौं भने असलै कुरा रोप्नुपर्छ। के तपाईं असल कुरा कटनी गर्न अर्थात्‌ परमेश्‍वरको नयाँ संसारमा अनन्त जीवन पाउने आशा राख्दै अहिले सन्तोषजनक जीवन बिताउन चाहनुहुन्छ? चाहनुहुन्छ भने, परमेश्‍वरसित निरन्तर हिंडेर अनि उहाँका धार्मिक स्तरहरू अनुरूप जीवन बिताएर तपाईंले असल कुरा छरिरहनै पर्छ।

२२. होशे अध्याय ६ देखि ९ बाट हामीले कस्ता पाठहरू सिक्यौं?

२२ होशे अध्याय ६ देखि ९ बाट परमेश्‍वरसित हिंड्‌न हामीलाई मदत गर्न सक्ने चारवटा पाठ सिक्यौं: (१) साँचो पश्‍चात्ताप कामद्वारा प्रकट हुन्छ; (२) बलिदानले मात्र परमेश्‍वरलाई खुसी पार्दैन; (३) आफ्ना उपासकहरू तर्कंदा यहोवा पीडा महसुस गर्नुहुन्छ; र (४) असल कुरा कटनी गर्न हामीले असलै कुरा छर्नुपर्छ। होशेको पुस्तकको अन्तिम पाँचवटा अध्यायमा पाइने जानकारीले हामीलाई परमेश्‍वरसित हिंड्‌न कसरी मदत गर्छ?

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• साँचो पश्‍चात्ताप कसरी प्रकट हुन्छ?

• बलिदानले मात्र स्वर्गमा हुनुहुने हाम्रो पितालाई खुसी पार्दैन, किन?

• आफ्ना उपासकहरू तर्कंदा यहोवा कस्तो महसुस गर्नुहुन्छ?

• असल कुरा कटनी गर्न हामीले के छर्नै पर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

बिहानको शीतजस्तै इस्राएलको वफादार प्रेम बिलायो

[पृष्ठ २३-मा भएको चित्र]

इस्राएलीहरूको खराब इच्छा दन्किरहेको आगोजस्तै थियो

[पृष्ठ २४-मा भएको चित्र]

यहोवाले किन आफ्ना जनहरूको बलिदान स्वीकार गर्नुभएन?

[पृष्ठ २५-मा भएको चित्र]

असल कुरा कटनी गर्न हामीले असलै कुरा छर्नुपर्छ