सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आरमागेडोन उज्ज्वल भविष्यको थालनी

आरमागेडोन उज्ज्वल भविष्यको थालनी

आरमागेडोन उज्ज्वल भविष्यको थालनी

आरमागेडोन” शब्द हिब्रू अभिव्यक्‍ति “हार-मागेडोन” वा “मगिद्दोको पर्वत [बाट]” आएको हो। यो शब्द प्रकाश १६:१६ मा यसरी प्रयोग गरिएको छ: “तिनीहरूले तिनीहरूलाई हिब्रू भाषामा आर-मागेडोन [“हार-मागेडोन”, NW ] भन्‍ने ठाउँमा एक साथ जम्मा गरे।” आरमागेडोनमा कसलाई र किन जम्मा गरिने? प्रकाश १६:१४ मा यसको उत्तर पाउँछौं: “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँको निम्ति जम्मै पृथ्वीका राजाहरूलाई जम्मा” गरिन्छ। यो पद पढ्‌दा अरू रोचक प्रश्‍न पनि उठ्‌छ। यी “राजाहरू” कुन ठाउँमा लडाइँ लड्‌छन्‌? किन र कससित लडाइँ लड्‌छन्‌? धेरैले ठानेझैं के तिनीहरू आम विनाशकारी हतियार चलाउँछन्‌? आरमागेडोनमा के कोही बच्नेछ? यी प्रश्‍नका जवाफ बाइबलमा खोजौं।

के “मगिद्दोको पर्वत” भन्‍ने अभिव्यक्‍तिले आरमागेडोन मध्यपूर्वको कुनै पर्वतमा हुने युद्ध रहेछ भन्‍ने संकेत दिन्छ? अहँ, दिंदैन। खासमा, पुरातन मगिद्दो भएको ठाउँमा आज त्यस्तो कुनै पर्वत छैन। त्यहाँको मैदानमा ७० फिट अग्लो एउटा ढिस्को मात्र छ। अर्को कुरा, मगिद्दोमा जम्मै “पृथ्वीका राजाहरू, र तिनका फौजहरू” अटाउन सक्दैनन्‌। (प्रकाश १९:१९) तथापि, मगिद्दोले मध्यपूर्वको महत्त्वपूर्ण इतिहास बोकेको छ। त्यहाँ कतिपय घमासान र निर्णायक युद्धहरू लडिएका थिए। तसर्थ, आरमागेडोन निर्णायक युद्धको प्रतीक हो र एउटा पक्ष मात्र विजयी हुनेछ।—पृष्ठ ५ को “मगिद्दो—सुहाउँदो प्रतीक” पेटी हेर्नुहोस्‌।

आरमागेडोन राष्ट्रहरूबीचको युद्ध हुनै सक्दैन। किनभने प्रकाश १६:१४ बताउँछ, “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँको निम्ति जम्मै पृथ्वीका राजाहरू” एकजुट हुन्छन्‌। परमेश्‍वरबाट प्रेरित भएर यर्मियाले यस्तो भविष्यवाणी लेखे, “परमप्रभुले मार्नुभएकाहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म हुनेछन्‌।” (यर्मिया २५:३३) त्यसैले, आरमागेडोन मध्यपूर्वको कुनै ठाउँमा मानिसहरूबीच लडिने युद्ध होइन। यो यहोवाको युद्ध हो र विश्‍वव्यापी हुनेछ।

तर याद गर्नुपर्ने कुरा, प्रकाश १६:१६ मा आरमागेडोनलाई “ठाउँ” भनिएको छ। बाइबलमा “ठाउँ [ले] ” अवस्था वा परिस्थिति जनाउन सक्छ। त्यसैले यहाँको परिस्थिति हेर्दा सारा पृथ्वी नै यहोवाको विरुद्धमा एकजुट हुनेछ। (प्रकाश १२:६, १४) आरमागेडोनमा पृथ्वीका जम्मै राष्ट्रले “राजाहरूका महाराजा, र प्रभुहरूका महाप्रभु” येशू ख्रीष्टको “स्वर्गमा भएका फौजहरू” विरुद्ध लड्‌न आपसमा मिलाप गर्नेछन्‌।—प्रकाश १९:१४, १६.

आरमागेडोन भनेको आमविनाशकारी हतियारले गर्ने विनाश वा पृथ्वीसित आकाशीय पिण्डहरू ठोकिने डरलाग्दो घटना हो भन्‍ने दाबी गरिन्छ। यी दाबीहरूबारे के भन्‍न सकिन्छ? मायालु परमेश्‍वरले मानवजाति र तिनीहरू बस्ने पृथ्वीको त्यस्तो भयानक अन्त गर्नुहुन्छ होला त? गर्नुहुन्‍न। बाइबलले किटेरै भनेको छ कि उहाँले पृथ्वी “व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।” (यशैया ४५:१८; भजन ९६:१०) साथै, आरमागेडोनमा यहोवाले हाम्रो पृथ्वी पनि भस्म पार्नुहुन्‍न। उहाँले त केवल “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुन्छ।—प्रकाश ११:१८.

आरमागेडोन कहिले आउँछ?

यो प्रश्‍नले वर्षौंदेखि मान्छेको मनमा खुल्दुली मच्चाएको छ। यसबारे मानिसहरूले अनेकौं अड्‌कलबाजी पनि लगाउँदै आएका छन्‌। बाइबलका अरू किताबहरूको मदत लिएर प्रकाशको किताब जाँच्दा यो अति महत्त्वपूर्ण युद्ध कहिले आउनेछ भनी बुझ्न सक्छौं। प्रकाश १६:१५ ले आरमागेडोनलाई येशू चोरजस्तै आउनुहुने कुरासित जोडेको छ। आफू चोरजस्तै आउनेछु भन्‍ने यो कथनलाई येशूले यस रीतिरिवाजमाथि उहाँ दण्ड दिन आउनुहुने कुरा बुझाउन पनि प्रयोग गर्नुभएको छ।—मत्ती २४:४३, ४४; १ थिस्सलोनिकी ५:२.

सन्‌ १९१४ देखि हामी यस रीतिरिवाजको आखिरी दिनमा बाँचिरहेका छौं भनेर बाइबल भविष्यवाणीहरूको पूर्तिले देखाउँछ। a येशूले अन्तिम दिनको आखिरी भागलाई “महासंकष्ट” भन्‍नुभयो। यो समय कति लामो हुन्छ, बाइबलमा बताइएको छैन। तर यो चाहिं पक्का छ, यसले ल्याउने विपत्ति कल्पनै नगरेको अति कष्टकर हुनेछ। अनि आरमागेडोनको युद्ध नै महासंकष्टको अन्तिम चरण हुनेछ।—मत्ती २४:२१, २९.

आरमागेडोन “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ” भएको कारण मानिसले यसको समय फेरबदल गर्न सक्दैन। यहोवाले यसको “बेला” तोक्नुभएको छ। “त्यसले ढीलो गर्नेछैन।”—हबकूक २:३.

न्यायी परमेश्‍वरको न्यायोचित युद्ध

तर परमेश्‍वरले किन यो विश्‍वव्यापी युद्ध छेड्‌नुहुन्छ? आरमागेडोन उहाँको एउटा प्रमुख गुन न्यायसित सम्बन्धित छ। बाइबलमा लेखिएको छ: “परमप्रभुले इन्साफ प्रेम गर्नुहुन्छ।” (भजन ३७:२८) अन्यायले भरिएको मानव इतिहास उहाँको नजरबाट लुकेको छैन। संसारको यस्तो थोत्रो रूप देख्दा उहाँलाई रीस उठ्‌दैन त? त्यसैकारण, उहाँले यस दुष्ट रीतिरिवाज निमिट्यान्‍न पार्नको लागि आफ्ना पुत्रलाई न्यायोचित युद्ध छेड्‌न खटाउनुभएको छ।

नाश हुनै पर्नेहरू मात्र यस युद्धमा नाश हुनेछन्‌ तर धर्मीहरू भने पृथ्वीको कुनाकाप्चा जहाँ भए पनि बचाइनेछन्‌। यस्तो न्यायोचित युद्ध यहोवा सिवाय अरू कसले लड्‌न सक्छ र! (मत्ती २४:४०, ४१; प्रकाश ७:९, १०, १३, १४) पृथ्वी उहाँकै सृष्टि हो। त्यसैले, यसमाथि आफ्नो सार्वभौमिकता फैलाउने अधिकार उहाँलाई नै छ।—प्रकाश ४:११

यहोवाले शत्रुहरू विरुद्ध कस्तो शक्‍ति चलाउनुहुन्छ? हामीलाई थाह छैन। यो चाहिं पक्का हो, उहाँले जसरी पनि दुष्ट राष्ट्रहरूलाई निमिट्यान्‍न पार्न सक्नुहुन्छ। (अय्यूब ३८:२२, २३; सपन्याह १:१५-१८) तर यस युद्धमा परमेश्‍वरका पार्थिव उपासकहरूको सहभागिता रहनेछैन। प्रकाश अध्याय १९ को दर्शनअनुसार येशू र स्वर्गीय सेनाले मात्र यसमा भाग लिनेछन्‌। पृथ्वीमा भएका यहोवाका सेवकहरूले भाग लिनेछैनन्‌।—२ इतिहास २०:१५, १७.

सर्वज्ञानी परमेश्‍वरले एकपछि अर्को चेतावनी दिनुहुन्छ

के आरमागेडोनमा बच्ने पनि हुनेछन्‌? खासमा, कोही पनि नास नहुनुपर्ने हो। नास हुनुपर्ने कारण पनि छैन। प्रेरित पत्रुसले भने: “कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा” यहोवा गर्नुहुन्छ। (२ पत्रुस ३:९) प्रेरित पावलले पनि यस्तो लेखे, “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा उहाँ गर्नुहुन्छ।”—१ तिमोथी २:४.

आफ्नो यो इच्छा पूरा गर्न यहोवाले “राज्यको . . .  सुसमाचार” सबै जातिलाई विभिन्‍न भाषामा सुनाउने मायालु प्रबन्ध मिलाउनु भएको छ। चारै कुनाका मानिसहरूले बचावट र मुक्‍तिको मौका पाइरहेका छन्‌। (मत्ती २४:१४; भजन ३७:३४; फिलिप्पी २:१२) सुसमाचार स्वीकार्नेहरू आरमागेडोन पार गरेर पार्थिव प्रमोदवनमा सिद्ध जीवन बिताउन सक्छन्‌। (इजकिएल १८:२३, ३२; सपन्याह २:३; रोमी १०:१३) परमेश्‍वर प्रेम हुनुभएकोले हामी उहाँबाट यही कुरा त आशा गर्छौं नि, होइन र?—१ यूहन्‍ना ४:८.

के प्रेमको परमेश्‍वरले युद्ध गर्न सुहाउँछ?

प्रेमको मूर्त रूप परमेश्‍वरले मान्छे मार्ने? कस्तो नसुहाउने कुरा! भन्दै मानिसहरू औंला ठड्याउँछन्‌। यसलाई हामी मुसाको समस्यासित दाँज्न सक्छौं। जस्तो, घरमा मुसाको रजाइँ छ र गर्नुसम्म उपद्रो गरिरहेको छ। यस्तो स्थितिमा समझदार र चिन्तित घरमुलीले परिवारको स्वास्थ्य र भलाइको लागि मुसा मार्नु पर्दैन र?

त्यसै गरी, यहोवा मानिसहरूलाई असाध्यै माया गर्नुहुन्छ। त्यही कारण त उहाँले आरमागेडोनको युद्ध लड्‌नुपरेको छ। परमेश्‍वरको उद्देश्‍य पृथ्वीलाई प्रमोदवन बनाउनु, मानिसलाई सिद्ध बनाउनु र शान्तिमा राख्नु हो जहाँ “कसैले तिनीहरूलाई डर देखाउनेछैन।” (मीका ४:३, ४; प्रकाश २१:४) त्यसैले, सँगी मानवको चैन लुट्‌ने दुष्ट मानिसहरूलाई के गरिनुपर्छ? धर्मीहरू जोगाउन यस्ता “मुसारूपी” दुष्ट अट्टेरीहरूलाई परमेश्‍वरले नाश गर्नै पर्छ।—२ थिस्सलोनिकी १:८, ९; प्रकाश २१:८.

असिद्ध मानव शासन र स्वार्थी राष्ट्रिय भावना नै आज भइरहेको धेरैजसो लडाइँ र रक्‍तपातका कारण हुन्‌। (उपदेशक ८:९) मानव सरकारहरू आफ्नो प्रभुत्व जमाउन परमेश्‍वरको स्थापित राज्यलाई टेरपुच्छर लाउँदैनन्‌। यहोवा नै सर्वोच्च हुनुहुन्छ भनेर स्वीकार्ने कुनै छाँट तिनीहरूले देखाएका छैनन्‌। (भजन २:१-९) तसर्थ, ख्रीष्टमार्फत यहोवाको धार्मिक शासन स्थापित गर्न यस्ता सरकारहरू हटाउनै पर्छ। (दानियल २:४४) पृथ्वी र मानिसजातिमाथि शासन गर्ने अधिकार कसको हो भन्‍ने विवाद सदाको लागि फैसला गर्न आरमागेडोनको युद्ध हुनै पर्छ।

यहोवाले मानिसजातिको भलाइको खातिर आरमागेडोनमा सक्रिय भूमिका खेल्नुहुनेछ। यो बिग्रँदो संसारमा परमेश्‍वरको सिद्ध शासनले मात्र मानिसका आवश्‍यकताहरू सबै पूरा गर्नेछ। केवल उहाँको राज्यले साँचो शान्ति र संवृद्धि फैलाउनेछ। परमेश्‍वरले त्यतिकै छोडिदिनुभयो भने संसारको अवस्था बिग्रेर कहाँ पुग्छ होला? घृणा, हिंसा र युद्धको भेल कहिल्यै रोकिनेछैन। हो, आरमागेडोनले त मानिसजातिको हित गर्नेछ, यसले सुन्दर बिहानी ल्याउनेछ!—लूका १८:७, ८; २ पत्रुस ३:१३.

त्यो युद्ध जसले सबै युद्ध नामेट पार्नेछ

आरमागेडोनले सबै युद्धहरू समाप्त पार्नेछ। के अरू कुनै युद्धले यस्तो काम कहिल्यै गरेको छ? हामी यस्तो समयको पर्खाइमा छौं जहाँ युद्ध बितिससकेको कुरा हुनेछ! तर युद्ध रोक्न मानिसले गरेका प्रयासहरू त सबै खेर गएका छन्‌। यस्ता असफल प्रयासहरूले यर्मियाका यी शब्दहरू साँचो भएको साबित गर्छ, “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) तर बाइबलमा यस्तो पनि प्रतिज्ञा गरिएको छ: “पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ। रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।”—भजन ४६:८, ९.

भविष्यमा राष्ट्रहरूले एकअर्कामा घातक हातहतियार प्रहार गर्न थाल्नेछन्‌ र वातावरण पनि तहसनहस पारिरहेका हुनेछन्‌। ठीक यत्ति नै बेला पृथ्वीका सृष्टिकर्ताले आरमागेडोनको युद्ध छेडेर तिनीहरूमाथि कारबाही गर्नुहुनेछ। (प्रकाश ११:१८) त्यसरी आरमागेडोनको युद्धले आफ्नो सारा सृष्टिमाथि पृथ्वीका मालिक यहोवाको शासन हुनु न्यायोचित छ भनेर देखाउनेछ। परमेश्‍वरको भय मान्‍नेहरूले युगौं युगदेखि यही शासनको बाटो कुरिरहेका छन्‌।

त्यसैले, धार्मिकताको मार्ग पछ्याउनेहरू आरमागेडोनसित थरथर काम्नु पर्दैन। बरु, यो त आशाको किरण हो। पृथ्वीबाट भ्रष्टाचार र दुष्टताको घोर अन्धकार हटाउने चम्किलो ज्योति हो। यसले परमेश्‍वरको मसीही शासनअन्तर्गत बन्‍ने धार्मिक नयाँ रीतिरिवाजको ढोका खोल्नेछ। (यशैया ११:४, ५) आरमागेडोन पृथ्वीको पूर्ण विनाश नभई पार्थिव प्रमोदवनमा सधैंभरि बस्ने धर्मीहरूको लागि उज्ज्वल भविष्यको थालनी हो।—भजन ३७:२९.

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको अध्याय ११ हेर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको पेटी/चित्र]

मगिद्दो—सुहाउँदो प्रतीक

पुरातन मगिद्दो महत्त्वपूर्ण ठाउँ थियो। यसको तलतिर मलिलो यिज्रेल बेंसीको पश्‍चिमी फाँट थियो। त्यो फाँट उत्तरी इस्राएलमा पर्थ्यो। मगिद्दो अन्तरराष्ट्रिय व्यापार-वाणिज्यको केन्द्र नै थियो। साथै, यो ठाउँ देश-देशका सैनिकहरू आउजाउ गर्ने मूल बाटो थियो। त्यसैकारण, मगिद्दो निर्णायक युद्धहरू लडिने ठाउँ बन्‍न पुग्यो। प्रोफेसर ग्राहाम डेभिस आफ्नो पुस्तकमा लेख्छन्‌: “मगिद्दो सहर . . . चारै दिशाका व्यापारी र बसाइँ सर्नेहरूको लागि एकदमै पायक पर्ने ठाउँ थियो। तर यो सहर शक्‍तिशाली भएको भए यहाँ व्यापारी र बसाइँ सर्नेहरू मनपरी भित्रिन पाउने थिएनन्‌। तब व्यापार र युद्ध नियन्त्रण हुन सक्थ्यो। यो त त्यसताका हीराको टुक्रै थियो। त्यसैले यो अचम्म होइन कि यसलाई पाउन बारम्बार युद्धहरू हुन्थे र कसैले पाइसकेपछि कुनै पनि हालतमा गुमाउन चाहँदैनथे।”—सिटिज अफ द बिब्लिकल वर्ल्ड—मेगिदो

मगिद्दोले लामो इतिहास बोकेको छ। यसको इतिहास आजभन्दा ३,५०० वर्षभन्दा पनि अघि सुरु भएको थियो, जुन बेला मिश्री राजा थुत्मस तेस्रोले त्यहाँ अधिकार जमाएर बसिरहेका कनानी शासकहरूलाई धपाए। त्यतिबेला सुरु भएको इतिहास सन्‌ १९१८ सम्मै रह्‍यो, जतिबेला बेलायती जर्नेल एडमन्ट एलन्बीले टर्की सेनालाई नराम्ररी पराजित गरेका थिए। यही मगिद्दोमा यहोवाले न्यायकर्त्ता बाराकमार्फत कनानी राजा याबीनलाई नाश गर्नुभयो। (न्यायकर्त्ता ४:१२-२४; ५:१९, २०) यही ठाउँमा न्यायकर्त्ता गिदोनले मिद्यानीहरूलाई परास्त गरे। (न्यायकर्त्ता ७:१-२२) राजा अहज्याह र योशियाहलाई मारेको ठाउँ पनि यही थियो।—२ राजा ९:२७; २३:२९, ३०.

मगिद्दोमा अनगिन्ती निर्णायक युद्धहरू लडिए। त्यसैले आरमागेडोनलाई मगिद्दोसित जोडेर हेर्नु एकदमै उचित हो। सम्पूर्ण विरोधी शक्‍तिहरूमाथि परमेश्‍वरले गर्नुहुने पूर्ण विजयको सुहाउँदो प्रतीक हो यो मद्दिगो।

[स्रोत]

Pictorial Archive (Near Eastern History) Est.

[पृष्ठ ७-मा भएको चित्र]

आरमागेडोन उज्ज्वल भविष्यको थालनी हो

[पृष्ठ ७-मा भएका चित्रहरू]

विश्‍वभरिका मानिसहरूले आरमागेडोनको चेतावनी र यसबाट बच्ने मौका पाइरहेका छन्‌