सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दोस्रो इतिहासको पुस्तकका विशेषताहरू

दोस्रो इतिहासको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

दोस्रो इतिहासको पुस्तकका विशेषताहरू

बाइबलको पुस्तक, दोस्रो इतिहासको सुरुमै इस्राएलमा सुलेमान राजाको शासनबारे वर्णन गरिएको छ। यस पुस्तकको अन्तमा भने फारसका राजा कोरेसले बेबिलोनमा निर्वासित यहूदीहरूलाई भनेका यी शब्दहरू छन्‌: यहोवाले नै “मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा भवन बनाउन आज्ञा गर्नुभएको छ। उहाँको प्रजाको हरेक मानिसलाई, जो अहिले तिमीहरूका बीचमा छ, म यो भन्दछु, ‘परमप्रभु त्यसका परमेश्‍वर त्यससँग रहून्‌, औ त्यो मानिस उक्लेर यरूशलेममा जाओस्‌।’ ” (२ इतिहास ३६:२३) यो पुस्तक लेख्ने व्यक्‍ति पूजाहारी एज्रा हुन्‌ र लेख्ने काम ईसापूर्व ४६० मा पूरा भयो। तिनले यस पुस्तकमा ईसापूर्व १०३७ देखि ईसापूर्व ५३७ सम्मको ५०० वर्ष लामो इतिहास बताएका छन्‌।

कोरेसको उर्दीले गर्दा यहूदीहरू यरूशलेममा फर्केर त्यहाँ यहोवाको उपासना पुनर्स्थापना गर्न सम्भव हुन्छ। तर बेबिलोनको निर्वासनमा यहूदीहरूले लामो समय बिताएको हुँदा अवस्था त्यति सजिलो छैन। तिनीहरूलाई आफ्नो देशको इतिहास नै थाह छैन। दाऊदको शाही घरानाका राजाहरूको पालामा के-कस्ता घटनाहरू घटे, दोस्रो इतिहासको पुस्तकले तिनीहरूलाई स्पष्ट बताउँछ। यो विवरण हाम्रो लागि पनि चासोको विषय हो किनभने साँचो परमेश्‍वरप्रति आज्ञाकारी हुँदा कस्ता इनाम पाउन सकिन्छ र आज्ञाकारी नहुँदा कस्तो परिणाम भोग्नुपर्छ, प्रस्ट पारिएको छ।

राजाले यहोवाको लागि भवन निर्माण गर्छन्‌

(२ इतिहास १:१–९:३१)

राजा सुलेमानले चाहेका बुद्धि, ज्ञान, धनसम्पत्ति र सम्मान यहोवाले दिनुहुन्छ। राजाले यहोवाको लागि यरूशलेममा भव्य भवन निर्माण गर्छन्‌ अनि मानिसहरू “मनमा खुशी र आनन्द” मनाउँछन्‌। (२ इतिहास ७:१०) सुलेमान राजाले “धन-सम्पत्ति र बुद्धिमा संसारका सबै राजाहरूलाई” जित्छन्‌।”—२ इतिहास ९:२२.

इस्राएलमा ४० वर्ष शासन गरिसकेपछि तिनी ‘आफ्ना पित्रहरूसित सुत्छन्‌। तिनीपछि तिनका छोरा रहबाम राजा हुन्छन्‌।’ (२ इतिहास ९:३१) सुलेमान साँचो उपासनाबाट तर्किएको कुरा एज्राले लेखेका छैनन्‌। तिनको नराम्रो कुरामा चाहिं मिश्रबाट थुप्रै घोडाहरू ल्याउने मूर्खतापूर्ण काम र फिरऊनकी छोरीसित विवाह गरेको मात्र बताइएको छ। इतिहासकार एज्राले सकारात्मक दृष्टिकोणबाट विवरण प्रस्तुत गरेका छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:१४—यहाँ बताइएको कारिगरको वंशावली १ राजा ७:१४ को विवरणभन्दा फरक हुनुको कारण के हो? पहिलो राजाको पुस्तकमा यी कारिगरकी आमालाई “नाप्तालीको कुलको एउटी विधवा” भनिएको छ किनभने उनले नाप्ताली कुलका पुरुषसित विवाह गरेकी थिइन्‌। उनी चाहिं दानवंशकी थिइन्‌। पतिको मृत्युपछि उनले सोरबासीसित (टायरबासी) विवाह गरिन्‌ र यी कारिगर यिनीहरूकै सन्तान थिए।

२:१८; ८:१०—यी पदमा, काम गर्ने मानिसहरूमाथि रेखदेख गर्ने मुखिया र मुख्य कारिन्दाहरू ३,६०० र थप २५० जना थिए भनिएको छ भने १ राजा ५:१६; ९:२३ मा तिनीहरूको संख्या ३,३०० र थप ५०० जना भनिएको छ। संख्या फरक हुनुको कारण के हो? कामको रेखदेख गर्ने मानिसहरू छुट्याइएको आधारमा संख्या फरक भएको हुन सक्छ। दोस्रो इतिहासको पुस्तकले ३,६०० गैर-इस्राएली र २५० इस्राएली अफिसरहरू अलग-अलग छुट्याएको अनि पहिलो राजाको पुस्तकले ३,३०० मुखिया र ५५० मुख्य कारिन्दा भनेर छुट्याएको हुन सक्छ। जेहोस्‌, कामको रेखदेख गर्नेहरूको कुल संख्या ३,८५० थियो।

४:२-४—खँड्‌कुला बसाल्न किन गोरुहरूको आकृति बनाइएको थियो? बाइबलमा गोरुले शक्‍तिलाई चित्रण गर्छ। (इजकिएल १:१०; प्रकाश ४:६, ७) गोरुको आकृति बनाउनु उपयुक्‍त थियो किनभने तामाले बनाइएका १२ वटा गोरुले एउटा विशाल “खँड्‌कुला” थामेको थियो। यसको वजन ३० टन थियो। हुन त दस आज्ञामा दिइएको दोस्रो आज्ञाले उपासनाको लागि आकृतिहरू बनाउन निषेध गरेको थियो। तर खँड्‌कुला थाम्न गोरुहरू बनाउनुको उद्देश्‍य हेर्दा, यसले त्यो निषेधाज्ञा भङ्‌ग गर्दैन।—प्रस्थान २०:४, ५.

४:५, NRV—खँड्‌कुलामा कति पानी अटाउँथ्यो? मुखसम्मै भर्दा ६६,००० लिटर पानी अटाउँथ्यो। तर खँड्‌कुलामा दुई तिहाइ मात्र पानी भरिन्थ्यो। पहिलो राजा ७:२६, NRV यसो भन्छ: “त्यसमा प्रायः चवालीस हजार लिटर पानी अटाउँथ्यो।”

५:४, ५, १०—सुरुको बासस्थानको कुन सामान सुलेमानको मन्दिरमा पनि राखियो? भेट हुने पालमा भएको र पछि सुलेमानको मन्दिरमा राखिएको त्यो सामान सन्दूक थियो। मन्दिरको निर्माणकार्य पूरा भएपछि सन्दूक गिबोन डाँडाबाट यरूशलेममा लगियो र त्यहीं नै राखियो।—२ इतिहास १:३, ४.

हाम्रो लागि पाठ:

१:११, १२. राजा सुलेमानको बिन्तीबाट तिनी बुद्धि र ज्ञान प्राप्त गर्न व्याकुल थिए भनेर यहोवाले देख्नुभयो। हाम्रा प्रार्थनाहरूबाट पनि हामी व्यग्रतापूर्वक के चाहन्छौं भन्‍ने देखिन्छ। प्रार्थनामा हामी के भन्छौं, त्यो केलाउनु बुद्धिमानी कुरा हो।

६:४. यहोवाको करुणा र भलाइप्रतिको साँचो कृतज्ञताले उहाँलाई धन्यको भन्‍न हामी उत्प्रेरित हुन्छौं। त्यसको मतलब, स्नेह र कृतज्ञ भावले हामी उहाँको प्रशंसा गर्छौं।

६:१८-२१. हुन त परमेश्‍वरलाई कुनै एउटा भवनभित्र राख्न सकिंदैन तर त्यो मन्दिर यहोवाको उपासनाको थलो थियो। आज पनि ठाउँ-ठाउँमा निर्मित राज्यभवनहरू साँचो उपासनाका थलो हुन्‌।

६:१९, २२, ३२. राजा, रैती वा विदेशी नै भए पनि साँचो मनले पुकार्ने सबैको प्रार्थना यहोवाले सुन्‍नुभयो। aभजन ६५:२.

दाऊदको वंशका राजाहरू

(२ इतिहास १०:१—३६:२३)

इस्राएलको संयुक्‍त राज्य दुई भागमा टुक्रिन्छ। उत्तरको दस गोत्र मिलेर एउटा राज्य बन्छ अनि अर्को राज्य चाहिं दक्षिणको दुई गोत्र यहूदा र बिन्यामिन मिलेर बन्छ। इस्राएलका पूजाहारी तथा लेवीहरूले दक्षिणका दुई गोत्रका राजा सुलेमानका छोरा रहबामको पक्ष लिन्छन्‌ किनभने यहोवाले दाऊदलाई तिनको सन्तानलाई आशिष्‌ दिने प्रतिज्ञा गर्नुभएको थियो। मन्दिरको निर्माणकार्य पूरा भएको लगभग ३० वर्षपछि यसको भण्डारका सबै थोक लुटिन्छ।

रहबामपछिका १९ जना राजामध्ये ५ जना मात्र विश्‍वासी हुन्छन्‌। अनि ३ जना सुरुमा विश्‍वासी भए पनि पछि गएर अविश्‍वासी हुन्छन्‌। एक जना भने गलत मार्ग त्यागेर सही मार्गमा फर्कन्छन्‌। बाँकी सबै राजाहरूले यहोवाको दृष्टिमा जे खराब छ, त्यही गर्छन्‌। b यहाँ यहोवामाथि भरोसा राख्ने पाँच जना राजाको कामकुरालाई जोड दिइएको छ। हिजकियाहले मन्दिरमा उपासनासित सम्बन्धित कामहरू फेरि सुरु गरेको अनि योशियाहले निस्तार-चाडको नयाँ उत्सवको प्रबन्ध मिलाएको विवरणले यहूदीहरूलाई निकै प्रोत्साहित गरेको हुनुपर्छ जो यरूशलेममा यहोवाको उपासाना पुनर्स्थापना गर्न चाहन्थे।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१३:५, NRV—“नूनको सोझो हुने करारको” अर्थ के हो? नुनले खानेकुरा बिग्रनदेखि जोगाउने हुँदा यो स्थायी र परिवर्तन नहुने कुराको प्रतीक भयो। त्यसकारण “नूनको सोझो हुने करारको” अर्थ पालना गर्नै पर्ने सम्झौता हो।

१४:२-५; १५:१७—के राजा आसाले “डाँडाहरूमा भएका पूजा-थानहरू” सबै हटाए? हटाएनन्‌ जस्तो देखिन्छ। झूटा देवहरूको उपासनासित सम्बन्धित पूजा-थानहरू मात्र हटाए होलान्‌ तर यहोवाको उपासना गर्ने पूजा-थानहरू भने हटाएनन्‌। अथवा आसाको शासनको अन्ततिर डाँडाहरूमा पूजा-थानहरू फेरि बनाइएको पनि हुन सक्छ। तर पछि तिनको छोरा यहोशापातले यसलाई हटाए। वास्तवमा यहोशापतको शासनकालमा पनि डाँडाहरूमा भएका पूजा-थानहरू पूरै हटिसकेका थिएनन्‌।

१५:९; ३४:६—इस्राएलको राज्य टुक्रिंदा शिमोनको कुलको अवस्था कस्तो थियो? शिमोनको कुलले यहूदाका विभिन्‍न स्थानहरू पैतृक सम्पत्तिको रूपमा पाएको हुँदा भौगोलिक दृष्टिकोणले यो कुल यहूदा र बिन्यामिन राज्यको इलाकाभित्रै पर्थ्यो। (यहोशू १९:१) तर धार्मिक र राजनैतिक दृष्टिकोणबाट भने यसले उत्तरी राज्यको पक्ष लिएको थियो। (१ राजा ११:३०-३३; १२:२०-२४) यसकारण, शिमोनलाई दस गोत्रे राज्यमै गनिएको थियो।

३५:३—योशियाहले मन्दिरमा पवित्र सन्दूक कहाँबाट ल्याए? योशियाहअघिका कुनै दुष्ट राजाले सन्दूक हटाएका थिए वा मन्दिरको स्याहारसम्भार गर्दा योशियाहले अन्त सुरक्षित ठाउँमा सारेका थिए भनेर बाइबलले बताएको छैन। सुलेमानको शासनपछि योशियाहले सन्दूक मन्दिरमा ल्याएको उल्लेख एक चोटि मात्र गरिएको पाइन्छ।

हाम्रो लागि पाठ:

१३:१३-१८; १४:११, १२; ३२:९-२३. यहोवामा भरोसा राख्नुपर्छ भनेर एकदमै महत्त्वपूर्ण पाठ सिक्न सक्छौं!

१६:१-५, ७; १८:१-३, २८-३२; २१:४-६; २२:१०-१२; २८:१६-२२. यहोवाको उपासना नगर्नेहरूसित साँठगाँठ बढाउँदा नतिजा दुःखदायी हुन्छ। संसारसित अनावश्‍यक घुलमिल नगर्नु बुद्धिमानी हो।—यूहन्‍ना १७:१४, १६; याकूब ४:४.

१६:७-१२; २६:१६-२१; ३२:२५, २६. अहङ्‌कारले गर्दा राजा आसाले आफ्नो जीवनको अन्तिम वर्षहरूमा गलत काम गरे। अहङ्‌कारी मनोभावले गर्दा नै उज्जियाहको पतन भयो। सायद अभिमानकै कारण बेबिलोनका राजदूतहरूलाई आफ्नो भण्डार देखाएर हिजकियाले मूर्खता देखाए। (यशैया ३९:१-७) बाइबल यस्तो चेतावनी दिन्छ: “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।”—हितोपदेश १६:१८.

१६:९. भक्‍तहरूलाई यहोवा मदत गर्नुहुन्छ र तिनीहरूको खातिर आफ्नो शक्‍ति प्रयोग गर्न पनि उत्सुक हुनुहुन्छ।

१८:१२, १३, २३, २४, २७. यहोवा र उहाँका उद्देश्‍यहरूबारे अरूलाई बताउन मीकायाजस्तै हामी साहसी र निडर हुनुपर्छ।

१९:१-३. यहोवालाई अप्रसन्‍न तुल्याउँदा समेत उहाँ हामीसित भएको असल गुण मात्र हेर्नुहुन्छ।

२०:१-२८. नम्र भई यहोवालाई खोज्यौं भने उहाँ हामीबाट टाढा हुनुहुन्‍न भनेर ढुक्क हुन सक्छौं।—हितोपदेश १५:२९.

२०:१७. यहोवाको ‘उद्धार देख्न’ उहाँको राज्यप्रति सक्रिय समर्थन जनाउँदै “दृढ” हुनुपर्छ। कामकुरा आफ्नै हातमा लिन खोज्नुको सट्टा यहोवामाथि पूर्ण भरोसा राख्दै ‘दृढ भएर पर्खिबस्नुपर्छ।’

२४:१७-१९; २५:१४. योआश र तिनको छोरा अमस्याहको लागि मूर्तिपूजा एउटा पासो भयो। आज पनि मूर्तिपूजाले चालै नपाउने गरी पासोमा पार्न सक्छ। लोभ वा राष्ट्रियता अत्यन्तै लोभलाग्दो देखिन्छ। यो पनि मूर्तिपूजाकै पासो हो।—कलस्सी ३:५; प्रकाश १३:४.

३२:६, ७. “परमेश्‍वरका सारा हात-हतियार धारण” गरेर आध्यात्मिक लडन्त लड्‌दा हामी पनि साहसी र आँटिलो हुनुपर्छ।—एफिसी ६:११-१८.

३३:२-९, १२, १३, १५, १६. गलत मार्ग त्यागेर सही बाटोमा हिंड्‌ने दृढ प्रयास गर्नु नै साँचो पश्‍चात्ताप हो। साँचो पश्‍चात्ताप गर्दा राजा मनश्‍शे जस्तो दुष्ट व्यवहार गर्ने व्यक्‍तिले पनि यहोवाको दया पाउन सक्छन्‌।

३४:१-३. बाल्यावस्थामा भोगेको तीतो अनुभवले गर्दा परमेश्‍वरलाई चिन्‍न र उहाँको सेवा गर्नदेखि हामी वञ्चित हुनु पर्दैन। योशियाहले सानै उमेरमा देखाएको राम्रो मनसाय पश्‍चात्तापी हजुरबुबा मनश्‍शेबाट सिकेको हुन सक्छन्‌। योशियाहको जीवनमा परेको राम्रो प्रभावले राम्रै नतिजा ल्यायो। हामीलाई पनि त्यस्तै हुन सक्छ।

३६:१५-१७. यहोवा दयालु र धीरजी हुनुहुन्छ। तर उहाँले देखाउनुहुने दया र धीरजको पनि एउटा सीमा छ। यस दुष्ट रीतिरिवाजलाई यहोवाले विनाश गर्नुहुँदा बच्ने हो भने परमेश्‍वरको राज्यको सन्देश स्वीकार्नै पर्छ।

३६:१७, २२, २३. यहोवाको वचन सधैं पूरा हुन्छ।—१ राजा ९:७, ८; यर्मिया २५:९-११.

एउटा पुस्तकले गर्दा तिनी कदम चाल्न उत्प्रेरित भए

दोस्रो इतिहास ३४:३३ यसो भन्छ: “इस्राएलमा बस्ने हरेकले परमप्रभु तिनका परमेश्‍वरको सेवा गरोस्‌ भनी योशियाहले इस्राएलीहरूका इलाकाहरूबाट सबै घृणित कुराहरू हटाइदिए। तिनी बाचुञ्जेल परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको भक्‍ति गर्नदेखि तिनीहरू तर्केनन्‌।” यसो गर्न योशियाह उत्प्रेरित हुनुको कारण के थियो? सेनाका सचिव शापानले यहोवाको व्यवस्थाको पुस्तक भेट्टाएर ल्याएपछि राजाले ठूलो स्वरले पढ्‌न लगाए। यसरी सुनेको कुराले तिनको मन यतिबिघ्न छोयो कि तिनले जिन्दगीभर जोसका साथ शुद्ध उपासनालाई अघि बढाए।

परमेश्‍वरको वचन पढ्‌दा र पढेका कुराहरू मनन गर्दा यसको गहिरो छाप हामीमा पर्न सक्छ। दाऊदको वंशका राजाहरूको विवरणबारे सोचविचार गरेपछि, यहोवालाई भरोसा गर्नेहरूको अनुकरण गर्न र भरोसा नगर्नेहरूको आचरण नपछ्याउन के हामी प्रोत्साहित हुँदैनौं र? दोस्रो इतिहासको पुस्तकले यहोवालाई मात्र भक्‍ति चढाउन अनि उहाँप्रति विश्‍वासी रहिरहन हामीलाई उत्साहित बनाउँछ। यसको सन्देश साँच्चै जीवित र प्रबल छ।—हिब्रू ४:१२.

[फुटनोट]

a मन्दिरको उद्‌घाटनसम्बन्धी प्रश्‍न र त्यतिबेला सुलेमानले चढाएको प्रार्थनाबाट सिक्न सकिने पाठहरूबारे प्रहरीधरहरा, जुलाई १, २००५, पृष्ठ २८-३१ हेर्नुहोस्‌।

b यहूदाका राजाहरूको कालक्रमबारे प्रहरीधरहरा, अगस्त १, २००५ पृष्ठ १२ हेर्नुहोस्‌।

[पृष्ठ १८-मा भएको चित्र]

गोरुको आकृतिमाथि खँड्‌कुला बसाल्नु उचित हुनुको कारण के तपाईंलाई थाह छ?

[पृष्ठ २१-मा भएका चित्रहरू]

बालक छँदा त्यति सजिलो नभए तापनि योशियाह यहोवाप्रति विश्‍वासी हुन सके