सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रगतिशील र परिस्थितिअनुसार छाँटकाँट गर्ने प्रचारक हुनुहोस्‌

प्रगतिशील र परिस्थितिअनुसार छाँटकाँट गर्ने प्रचारक हुनुहोस्‌

प्रगतिशील र परिस्थितिअनुसार छाँटकाँट गर्ने प्रचारक हुनुहोस्‌

“कुनै किसिमले कसै कसैलाई बचाइहालूँ भनेर सबैका निम्ति म सबै कुरा भएँ।”—१ कोरिन्थी ९:२२.

१, २. (क) पावल एक जना प्रभावकारी प्रचारक थिए भनेर हामी कसरी भन्‍न सक्छौं? (ख) आफूले पाएको कार्यभारप्रति पावलको मनोवृत्ति कस्तो थियो?

 समाजका शिक्षित तथा गन्‍नेमान्‍ने मानिसहरूसित होस्‌ वा पाल बनाउने साधारण मानिसहरू, सबैसित उत्तिकै सजिलोसँग तिनी कुरा गर्न सक्थे। तिनी रोमका उच्च अधिकारीहरू र फिग्रियाका किसानहरूलाई पनि मनाउन सक्थे। तिनका पत्रहरूले खुला विचारधाराका ग्रीकहरू र कट्टरपन्थी यहूदीहरूलाई समेत उत्प्रेरित गर्थ्यो। तिनका तर्कहरू अकाट्य हुन्थे भने अर्कोतर्फ तिनको कुराले मानिसहरूको मन छुन्थ्यो। कसै-कसैले ख्रीष्टमा विश्‍वास गर्न सकून्‌ भनेर तिनी दुवै पक्ष सहमत हुन सक्ने विषय भेट्टाउने कोसिस गर्थे।—प्रेरित २०:२१.

यहाँ वर्णन गरिएका व्यक्‍ति प्रेरित पावल हुन्‌। तिनी प्रभावकारी र प्रगतिशील प्रचारक थिए भन्‍ने कुरामा कुनै शंका छैन। (१ तिमोथी १:१२) तिनले येशूबाट “अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामु . . . [ख्रीष्टको] नाउँ” चिनाउने काम पाए। (प्रेरित ९:१५) आफूले पाएको कार्यभारप्रति तिनको मनोवृत्ति कस्तो थियो? तिनले यसो भने: “कुनै किसिमले कसै कसैलाई बचाइहालूँ भनेर सबैका निम्ति म सबै कुरा भएँ। औ म त्यसको सम्भागी होऊँ भनेर सुसमाचारको खातिर सब थोक गर्दछु।” (१ कोरिन्थी ९:१९-२३) प्रचार गर्ने र सिकाउने काममा अझ बढी प्रभावकारी हुन पावलको उदाहरणबाट हामी के-कस्ता पाठ सिक्न सक्छौं?

परिवर्तन भएका मानिसले सफलतापूर्वक परिस्थितिको सामना गर्छन्‌

३. आफू मसीही हुनुअघि पावलले मसीहीहरूलाई के गर्थे?

के पावल पहिलादेखि नै धीरजी, दयालु र तिनलाई जुन काम दिइयो त्यस कामको लागि उपयुक्‍त व्यक्‍ति थिए? अहँ, पटक्कै थिएनन्‌। धार्मिक कट्टरपनले गर्दा शावलले (पावलको पहिलाको नाउँ) ख्रीष्टका चेलाहरूलाई असाध्यै सताएका थिए। जवान छँदा तिनले स्तिफनसको हत्या गर्न लगाए। त्यसपछि पावलले मसीहीहरूको निर्ममतापूर्वक खेदो गरे। (प्रेरित ७:५८; ८:१, ३; १ तिमोथी १:१३) तिनले “प्रभुका चेलाहरूका विरुद्धमा धम्की र हत्याको धुनमा” सास फुलाउँदै गए। यरूशलेममा भएका ख्रीष्टका चेलाहरूलाई मात्र होइन तर उत्तरमा दमीशकमा भएकाहरूलाई समेत तिनले खेदो गर्न छोडेनन्‌।—प्रेरित ९:१, २.

४. आफूले पाएको कार्यभार पूरा गर्न पावलले कस्तो परिवर्तन गर्नुपऱ्‍यो?

यहूदी धर्ममा अरू धर्मका विचारधारा छ्यासमिस पारेर मसीहीहरूले यहूदी धर्मलाई नै बिटुलो पार्नेछन्‌ भन्‍ने सोचाइ राखेको कारण पावलले मसीहीधर्मलाई यतिबिघ्न घृणा गरेका थिए। पावल आफै पनि “फरिसी” थिए जसको अर्थ हो: “अलग्गै छुट्याइएको जन।” (प्रेरित २३:६) परमेश्‍वरले अन्यजातिहरूलाई ख्रीष्टबारे प्रचार गर्न तिनलाई छान्‍नुभएको छ भनी थाह पाउँदा पावल कत्ति छक्क परे होलान्‌, कल्पना गर्नुहोस्‌ त! (प्रेरित २२:१४, १५; २६:१६-१८) फरिसीहरू आफूले पापी ठानेका मानिसहरूसँग बसेर खाना खान समेत मान्दैनथे। (लूका ७:३६-३९) आफ्नो सोचाइमा परिवर्तन गर्न र सबै मानिसलाई बचाउनुपर्छ भन्‍ने परमेश्‍वरको इच्छाअनुसार चल्न पावलले पक्कै पनि निकै प्रयास गर्नुपऱ्‍यो।—गलाती १:१३-१७.

५. हामी आफ्नो सेवकाईमा पावलको अनुकरण कसरी गर्न सक्छौं?

हामीले पनि त्यस्तै परिवर्तन गर्नुपर्ने हुन सक्छ। हामीले प्रचार गर्ने इलाकामा विभिन्‍न राष्ट्र र भाषाका मानिसहरू धेरै भेटिन्छन्‌। त्यसैले हामीले पनि आफ्नो मनोवृत्ति केलाएर हेर्नुपर्छ र पूर्वाग्रही भावनाहरू हटाउनै पर्छ। (एफिसी ४:२२-२४) सायद हामी त्यति याद गर्दैनौं होला तर हामी हुर्केको समाज र आफूले पाएको शिक्षादीक्षाले हाम्रो सोच्ने तरिकामा धेरै असर पारिरहेको हुन्छ। यसले हाम्रो सोचाइ र मनोवृत्ति पक्षपातपूर्ण, पूर्वाग्रही र एकोहोरो बनाउन सक्छ। नम्र व्यक्‍तिहरू भेट्टाएर उनीहरूलाई मदत गर्ने हो भने हामीले त्यस्तो मनोवृत्ति हटाउनै पर्छ। (रोमी १५:७) पावलले पनि त्यसै गरे। आफ्नो सेवकाई फैलाउँदै लैजाने चुनौती तिनले स्वीकारे। प्रेमबाट उत्प्रेरित भएर तिनले विकास गरेका शिक्षण कलाहरू अनुकरण गर्न योग्यका छन्‌। साँच्चै, “अन्यजातिहरूको प्रेरित” पावलको सेवकाईलाई हामीले नियालेर हेऱ्‍यौं भने तिनी प्रचार गर्ने र सिकाउने काममा ध्यान दिएर सुन्थे, परिस्थितिअनुसार छाँटकाँट गर्न इच्छुक थिए र नयाँ परिस्थितिको सामना गर्न नयाँ-नयाँ तरिकाहरू अपनाउँथे भनी हामी थाह पाउन सक्छौं। aरोमी ११:१३.

परिस्थितिअनुसार पावलले कसरी छाँटकाँट गरे

६. मानिसहरूको पृष्ठभूमिलाई पावल कसरी ध्यान दिन्थे र नतिजा कस्तो भयो?

पावल मानिसहरूको विश्‍वास र पृष्ठभूमिलाई पनि ध्यान दिन्थे। राजा अग्रिपा द्वितीयलाई सम्बोधन गर्दा राजा “यहूदीहरूका सबै दस्तुर र सवाल-जवाफहरूका कुरामा सिपालु” छन्‌ भनी पावलले मानिलिए। त्यसपछि पावलले अग्रिपाको विश्‍वासबारे आफूलाई थाह भएको कुरा कौशलतापूर्वक उल्लेख गर्दै राजालाई राम्ररी थाह भएका विषयहरूमा कुरा गरे। पावलको तर्क एकदमै स्पष्ट हुनुका साथै तिनको बलियो विश्‍वास पनि झल्किन्थ्यो। त्यसैकारण राजा अग्रिपाले यसो भने: “थोरै कुराले मलाई ख्रीष्टियान तुल्याउने मन गर्दछस्‌?”—प्रेरित २६:२, ३, २७, २८.

७. लिस्त्राका मानिसहरूलाई प्रचार गर्दा पावलले कसरी परिस्थितिअनुसार छाँटकाँट गरे?

पावल परिस्थितिअनुसार छाँटकाँट पनि गर्थे। लिस्त्राका मानिसहरूले तिनी र बर्णाबासको पूजा गर्न खोज्दा मानिसहरूलाई रोक्न पावलले कस्तो तरिका अपनाए, विचार गर्नुहोस्‌। भनिन्छ, लिस्त्राका बासिन्दाहरूमध्ये लाइकाओनिया भाषा बोल्नेहरू त्यति लेखपढ नगरेका र अन्धविश्‍वासमा डुबेका मानिसहरू थिए। प्रेरित १४:१४-१८ अनुसार पावलले साँचो परमेश्‍वर सर्वोच्च हुनुहुन्छ भनेर बुझाउन सृष्टि र प्रकृतिमा पाइने थुप्रै कुराहरूबारे बताए। पावलको यो तर्क बुझ्न सजिलो थियो र “ती मानिसहरूलाई” पावल र बर्णाबासको निम्ति “बलिपूजा गर्नबाट रोक्नसके।”

८. कहिलेकाहीं पावलको कडा विचारधारा भए तापनि तिनले परिस्थितिअनुसार छाँटकाँट गर्न इच्छुक भएको कुरा कसरी देखाए?

निश्‍चय पनि पावल सिद्ध पुरुष थिएनन्‌ र कहिलेकाहीं कुनै-कुनै विषयमा तिनको आफ्नै कडा विचारधारा थियो। उदाहरणको लागि, एकचोटि तिनको अपमान हुने गरी अन्यायपूर्ण तरिकामा आक्रमण गर्दा हननिया नाउँ गरेका यहूदीसित पावल एकैचोटि जङ्‌गिए। तर अनजानमै प्रधान पूजाहारीको अपमान गरेको थाह पाएपछि पावलले तुरुन्तै माफी मागे। (प्रेरित २३:१-५) पावल एथेन्समा हुँदा “जम्मै शहर मूर्तिहरूले भरिएको देखेर, तिनका आत्मामा बेचैनी भयो।” तर अरैयापागसमा भाषण दिंदा पावलले त्यस्तो बेचैनी पटक्कै देखाएनन्‌। बरु, एथेन्समा “नजानिएका देवताका निम्ति” भनी खोपिएको वेदीलाई सङ्‌केत गर्दै दुवै पक्ष सहमत हुने विषय भेट्टाए र त्यहाँकै एउटा कविलाई उद्धृत गर्दै पावलले कुरा अघि बढाए।—प्रेरित १७:१६-२८.

९. थरिथरिका मानिसहरूसित कुरा गर्दा पावलले कसरी नयाँ परिस्थितिको सामना गर्न नयाँ-नयाँ तरिकाहरू अपनाउन सक्थे भनेर देखाए?

थरिथरिका मानिसहरूसित कुरा गर्दा पावलले नयाँ परिस्थितिको सामना गर्न नयाँ-नयाँ तरिकाहरू अपनाउन सक्थे भनेर पनि देखाए। मानिसहरूको सोचाइलाई प्रभाव पार्ने तिनीहरूको चलन र तिनीहरू हुर्केको वातावरणलाई पनि तिनले ध्यान दिए। रोमका मसीहीहरूलाई लेख्दा रोम त्यतिबेलाको सबैभन्दा शक्‍तिशाली राष्ट्रको राजधानी हो भनी पावललाई राम्ररी थाह थियो। पावलले रोमीहरूलाई लेखेको पत्रको एउटा महत्त्वपूर्ण बुँदा यस्तो थियो—मानिसहरूलाई पतित बनाउने आदमको पापको शक्‍तिमाथि ख्रीष्टको शक्‍ति मात्र विजयी हुन सक्छ। पावलले रोमी मसीही तथा त्यहाँ वरपर बस्ने मानिसहरूसित कुरा गर्दा तिनीहरूको मन छुने भाषा अर्थात्‌ अभिव्यक्‍तिहरू चलाए।—रोमी १:४; ५:१४, १५.

१०, ११. मानिसहरूलाई सुहाउने किसिमको उदाहरण पावलले कसरी चलाए? (पादटिप्पणी पनि हेर्नुहोस्‌।)

१० मानिसहरूलाई बाइबलका गहिरा-गहिरा कुराहरू बुझाउन पावल के गर्थे? मानिसहरूलाई थाह भएकै सजिलो उदाहरण चलाउन प्रेरित पावल पोख्त थिए। उदाहरणको लागि, रोमी साम्राज्यभरि भएको दासप्रथाबारे रोमका मानिसहरूलाई थाह छ भनी पावल राम्ररी जान्दथे। वास्तवमा भन्‍ने हो भने, तिनले पत्र लेखेका धेरैजसो मानिसहरू आफै पनि दास थिए होलान्‌। त्यसैले मानिसहरू पाप वा धार्मिकता कसको अधीनमा बस्ने भन्‍ने आफ्नो तर्कलाई अझ सशक्‍त बनाउन पावलले दासप्रथाको उदाहरण चलाए।—रोमी ६:१६-२०.

११ एउटा पुस्तकअनुसार “रोमीहरूले आफ्नो दासलाई कुनै शर्त नराखी छुटकारा दिन सक्थे वा मालिकलाई पैसा तिरेर दास आफै मुक्‍त हुन सक्थ्यो। कुनै एउटा देवताको दास बन्यो भने पनि त्यो आफ्नो मालिकको दासत्वबाट मुक्‍त हुन सक्थ्यो।” मुक्‍त भइसकेको त्यो दासले आफ्नो मालिककहाँ ज्यालादारीमा काम गरिरहन पनि सक्थ्यो। त्यसैले पाप वा धार्मिकता कसको अधीनमा बस्ने भनी छनौट गर्ने विषयलाई बुझाउँदा पावलले यही चलनलाई सङ्‌केत गरिरहेका हुन सक्छन्‌। रोममा भएका मसीहीहरू पापबाट मुक्‍त भएका थिए र अब परमेश्‍वरको अधीनमा थिए। तिनीहरू परमेश्‍वरको सेवा गर्न स्वतन्त्र थिए तरैपनि तिनीहरूले पुरानै मालिक पापको दास रहिरहने छनौट पनि गर्न सक्थे। यो सरल अनि सबैलाई थाह भएको उदाहरणले रोममा भएका मसीहीहरूलाई यस्तो प्रश्‍न सोध्न झक्झक्याउने थियो, ‘म कुन मालिकको सेवा गर्दैछु?’ b

पावलको उदाहरणबाट सिक्ने

१२, १३. (क) हामीले भेट्‌ने थरिथरिका मानिसहरूको मन छुने तरिकामा प्रचार गर्न कस्ता प्रयासहरू गर्नुपर्छ? (ख) बेग्लै पृष्ठभूमिका मानिसहरूलाई प्रचार गर्दा तपाईंले कस्ता तरिकाहरू प्रभावकारी पाउनुभएको छ?

१२ थरिथरिका मानिसहरूलाई भेट्‌दा उनीहरूको मन छुने तरिकामा प्रचार गर्न हामी पनि पावलजस्तै हुनुपर्छ। ध्यान दिएर सुन्‍ने, परिस्थितिअनुसार छाँटकाँट गर्न इच्छुक र नयाँ परिस्थितिको सामना गर्न नयाँ-नयाँ तरिकाहरू अपनाउन सक्ने हुनुपर्छ। हामीले बताउने सुसमाचारको भाव बुझ्नको लागि मानिसहरूलाई मदत दिन तिनीहरूप्रति कुनै चासो नदेखाई नाउँ मात्रैको भेटघाट गर्ने र पहिल्यै तयार पारेको सन्देश खर्रर सुनाउने वा बाइबलसम्बन्धी कुनै प्रकाशन दिएर मात्र पुग्दैन। तिनीहरूको आवश्‍यकता र तिनीहरूको चिन्ताका विषय के-के हुन्‌, तिनीहरूलाई मन पर्ने र मन नपर्ने कुरा के-कस्ता छन्‌ र तिनीहरूलाई कस्तो कुरादेखि डर लाग्छ अनि तिनीहरूमा कस्तो पूर्वाग्रही सोचाइ छ, ती सबै बुझ्ने कोसिस गर्नुपर्छ। यसको लागि निकै सोचविचार र प्रयास गर्नुपर्ने हुन्छ। तर विश्‍वभरिका राज्य प्रकाशकहरूले उत्सुकतापूर्वक यसरी बुझ्ने प्रयास गरिरहेका छन्‌। उदाहरणका लागि, यहोवाका साक्षीहरूको हंगेरीस्थित शाखा कार्यालय यस्तो रिपोर्ट गर्छ: “हाम्रा भाइबहिनीहरूले अरू देशबाट आएका मानिसहरूको चलन तथा जीवन शैलीको आदर गर्छन्‌। अनि ती मानिसहरू यहाँको चलनअनुसार चलून्‌ भन्‍ने आशा पनि गर्दैनन्‌।” अरू ठाउँका यहोवाका साक्षीहरूले पनि यसै गर्ने प्रयास गर्छन्‌।

१३ पूर्वी एसियाको एउटा देशका प्रायजसो मानिसहरू स्वास्थ्य, बाल-बच्चाको लालनपालन र शिक्षादीक्षाको विषयमा चिन्ता गर्छन्‌। यसैकारण त्यहाँका प्रकाशकहरूले संसारको बिग्रँदो अवस्था वा समाजले भोगिरहेको जटिल समस्याबारे छलफल गर्नुको सट्टा मानिसहरूलाई चिन्ता लाग्ने विषयमा कुराकानी गर्छन्‌। त्यसै गरी अमेरिकाको एउटा ठूलो सहरको एउटा इलाकामा मानिसहरू विशेष गरी भ्रष्टाचार, ट्राफिक-जाम र अपराधबारे चिन्तित भएको कुरा प्रकाशकहरूले याद गरे। यी विषयमा कुराकानी गर्दा साक्षीहरूले बाइबल अध्ययन सुरु गर्न सकेका छन्‌। विषय जुनसुकै किन नहोस्‌, प्रभावकारी बाइबल शिक्षकहरूले सकारात्मक र प्रोत्साहनजनक ढङ्‌गमा कुरा गर्छन्‌, बाइबल सिद्धान्तहरू लागू गर्नु व्यावहारिक छ भन्‍ने कुरालाई जोड दिन्छन्‌ र परमेश्‍वरले दिनुहुने उज्ज्वल भविष्यबारे बताउँछन्‌।—यशैया ४८:१७, १८; ५२:७.

१४. बेग्लाबेग्लै अवस्था र परिस्थितिअनुसार छाँटकाँट गर्न सकिने तरिकाहरू बताउनुहोस्‌।

१४ प्रचारमा जाँदा सबैलाई एकै किसिमले प्रचार गर्नु त्यति प्रभावकारी नहुन सक्छ। किनभने मानिसहरूको चलन, शैक्षिक स्तर र धार्मिक पृष्ठभूमि बेग्ला-बेग्लै हुन्छ। सृष्टिकर्तामा विश्‍वास गर्ने तर बाइबलमा विश्‍वास नगर्ने व्यक्‍तिसित कुरा गर्ने तरिका र परमेश्‍वर छैन भन्‍ने व्यक्‍तिसित कुरा गर्ने तरिका फरक हुन्छ। धर्मसम्बन्धी पत्रपत्रिका भनेको वास्तवमा मानिसहरूको दिमागलाई एकोहोरो बनाइदिने हतियार हो भन्‍ने विचार राख्ने व्यक्‍तिसित र बाइबलका शिक्षाहरू स्वीकार्ने व्यक्‍तिसित कुरा गर्ने हाम्रो तरिका फरक-फरक हुन्छ। सबै मानिसहरूले उत्तिकै पढे-लेखेको हुँदैनन्‌, त्यसैले यस्तो बेला पनि हामीले छाँटकाँट गर्नुपर्छ। दक्ष शिक्षकहरूले परिस्थिति सुहाउँदो तर्क र उदाहरणहरू चलाउँछन्‌।—१ यूहन्‍ना ५:२०.

नयाँ प्रचारकहरूलाई मदत

१५, १६. नयाँ प्रचारकहरूलाई किन प्रशिक्षण दिनुपर्छ?

१५ आफ्नो सिकाउने तरिका तिखार्ने विषयमा मात्र पावल चिन्तित थिएनन्‌। तिनले तिमोथी र तीतसजस्ता युवा पीढीलाई प्रभावकारी शिक्षक बन्‍न प्रशिक्षण र डोऱ्‍याइ दिनुपर्ने आवश्‍यकता पनि महसुस गरे। (२ तिमोथी २:२; ३:१०, १४; तीतस १:४) त्यसै गरी आज पनि प्रशिक्षण दिनु र लिनु उत्तिकै महत्त्वपूर्ण छ।

१६ सन्‌ १९१४ मा संसारभरि लगभग ५,००० प्रकाशकहरू थिए भने आज प्रत्येक हप्ता करिब ५,००० नयाँ व्यक्‍तिहरूले बप्तिस्मा लिन्छन्‌! (यशैया ५४:२, ३; प्रेरित ११:२१) नयाँ व्यक्‍तिहरूले मसीही मण्डलीसित संगत गर्न थाल्दा र सेवकाईमा भाग लिने इच्छा व्यक्‍त गर्दा उनीहरूलाई पनि प्रशिक्षण र डोऱ्‍याइ चाहिन्छ। (गलाती ६:६) नयाँ चेलाहरूलाई सिकाउन र प्रशिक्षण दिन हामीले महान्‌ शिक्षक येशूका तरिकाहरू अनुकरण गर्नु अत्यावश्‍यक छ। c

१७, १८. निर्धक्क भई प्रचार गर्न सक्ने हुन नयाँ प्रचारकलाई हामी कसरी मदत गर्न सक्छौं?

१७ येशूले मानिसहरूको हुल देख्ने बित्तिकै लौ, अब यिनीहरूलाई प्रचार गर भनेर आफ्ना चेलाहरूलाई त्यतिकै छोड्‌नुभएन। किन प्रचार गर्नुपर्छ भन्‍ने कुरालाई उहाँले पहिला जोड दिनुभयो र मदतको लागि प्रार्थना गर्न प्रोत्साहन दिनुभयो। त्यसपछि उहाँले तीनवटा अत्यावश्‍यक कुराको प्रबन्ध पनि मिलाउनुभयो: प्रचार जाने साथी, प्रचार गर्ने इलाका र प्रचार गर्ने सन्देश। (मत्ती ९:३५-३८; १०:५-७; मर्कूस ६:७; लूका ९:२, ६) हामी पनि त्यसै गर्न सक्छौं। आफ्ना छोराछोरी, नयाँ विद्यार्थी र प्रचारमा भाग नलिएको केही समय भइसकेको व्यक्‍तिलाई पनि यसरी प्रशिक्षण दिने प्रयास गर्नु उचित हो।

१८ निर्धक्क भई प्रचार गर्न सक्ने हुन नयाँ प्रचारकहरूलाई निकै मदत चाहिन्छ। सरल र मन छुने प्रस्तुतिहरू तयार पारेर अभ्यास गर्न तपाईं तिनीहरूलाई मदत गर्न सक्नुहुन्छ कि? प्रचारमै जाँदा चाहिं सुरुको एक/दुई घरमा तपाईंले प्रचार गरेको हेरेर तिनीहरूलाई सिक्न लगाउनुहोस्‌। तपाईं गिदोनको अनुकरण गर्न सक्नुहुन्छ जसले आफूसँगैका योद्धाहरूलाई यसो भने: “मलाई हेर, . . . म जसो गर्छु तिमीहरू पनि त्यसै गर।” (न्यायकर्त्ता ७:१७) त्यसपछि नयाँ प्रचारकलाई प्रचार गर्ने मौका दिनुहोस्‌। तिनको प्रयासको मायालु प्रशंसा गर्नुहोस्‌ र उपयुक्‍त हुँदा अझ उन्‍नति गर्न छोटो सल्लाह पनि दिनुहोस्‌।

१९. सेवाको काम अझ पूर्ण रूपले गर्न तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

१९ “सेवाको काम” अझ पूर्ण रूपमा गर्नको लागि परिस्थितिअनुसार छाँटकाँट गर्न हामी कटिबद्ध छौं। अनि नयाँ प्रचारकहरूलाई पनि हामी यस्तै प्रशिक्षण दिन चाहन्छौं। मुक्‍तितर्फ डोऱ्‍याउने परमेश्‍वरको ज्ञान अरूलाई बताउने हाम्रो लक्ष्य कत्ति महत्त्वपूर्ण छ भन्‍ने कुरा बुझेपछि “कुनै किसिमले कसै कसैलाई बचाइहालूँ भनेर सबैका निम्ति सबै कुरा” हुन हामीले गरेको कुनै प्रयास बेकार जाँदैन भनी हामी ढुक्क छौं।—२ तिमोथी ४:५; १ कोरिन्थी ९:२२.

[फुटनोट]

a पावलले सेवकाईमा देखाएका त्यस्ता गुणहरूको उदाहरणको लागि प्रेरित १३:९, १६-४२; १७:२-४; १८:१-४; १९:११-२०; २०:३४; रोमी १०:११-१५; २ कोरिन्थी ६:११-१३ हेर्नुहोस्‌।

b त्यसै गरी, परमेश्‍वर र आत्मा-अभिषिक्‍त “छोराहरू[बीचको]” नयाँ सम्बन्ध बुझाउन पावलले रोमी साम्राज्यमा बस्नेहरूले राम्ररी बुझ्ने कानुनसित सम्बन्धित उदाहरण चलाए। (रोमी ८:१४-१७) “रोमी परिवारहरूमा धर्म-पुत्र बनाउने चलन साधारण थियो, त्यसैले यो कुरा सबैले राम्ररी बुझ्न सक्थे” भनी सेन्ट पल एट रोम भन्‍ने पुस्तक बताउँछ।

c हाल यहोवाका साक्षीहरूको सबै मण्डलीमा अग्रगामीहरू अरूलाई मदत गर्छन्‌ भन्‍ने कार्यक्रम उपलब्ध छ। यस कार्यक्रममार्फत कम अनुभवी प्रकाशकहरूले पूर्ण-समय सेवकहरूको अनुभव र प्रशिक्षणबाट मदत पाउँछन्‌।

के तपाईंले सम्झनुभएको छ?

• सेवकाईमा हामी कसरी पावलको अनुकरण गर्न सक्छौं?

• आफ्नो सोचाइमा हामीले कस्ता परिवर्तनहरू गर्नुपर्ने हुन सक्छ?

• आफ्नो सन्देशलाई हामी कसरी सकारात्मक बनाउन सक्छौं?

• निर्धक्क भई प्रचार गर्न सक्ने हुन नयाँ व्यक्‍तिहरूलाई के चाहिन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको ठूलो अक्षरको क्याप्सन]

पावल प्रचार गर्ने र सिकाउने काममा ध्यान दिएर सुन्थे, परिस्थितिअनुसार छाँटकाँट गर्न इच्छुक थिए र नयाँ परिस्थितिको सामना गर्न नयाँ-नयाँ तरिका अपनाउँथे

[पृष्ठ ३१-मा भएको ठूलो अक्षरको क्याप्सन]

येशूले आफ्ना चेलाहरूको लागि तीनवटा अत्यावश्‍यक कुराको प्रबन्ध मिलाउनुभयो: प्रचार जाने साथी, प्रचार गर्ने इलाका र प्रचार गर्ने सन्देश

[पृष्ठ २८-मा भएका चित्रहरू]

परिस्थितिअनुसार छाँटकाँट गरेर पावलले थरीथरीका मानिसहरूलाई प्रचार गरे

[पृष्ठ ३०-मा भएको चित्र]

प्रभावकारी शिक्षकहरू आफूले प्रचार गर्ने मानिसहरूको चलनलाई पनि ध्यान दिन्छन्‌

[पृष्ठ ३१-मा भएको चित्र]

नयाँ व्यक्‍तिहरूलाई प्रचारकार्यको लागि तयार गर्न प्रगतिशील प्रचारकहरू मदत गर्छन्‌