सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रेम, विश्‍वास र आज्ञाकारिताको प्रमाण

प्रेम, विश्‍वास र आज्ञाकारिताको प्रमाण

प्रेम, विश्‍वास र आज्ञाकारिताको प्रमाण

मे १६, २००५ को सुन्दर बिहानी। न्यु योर्क वाल्किलको वाचटावर फार्मको मनोहर वातावरण। नीलो आकासमा पारिलो घाम। मन्द-मन्द शीतल हावाको झोंका। आँखै लोभ्याउने हरियो चउर र फूलबारीमा ढकमक्क फुलिरहेका रङ्‌गीचङ्‌गी फूलहरू। झिसमिसे मै परेको पानी फूलका पात र थुँगाहरूमा टल्पलाइरहेका। पोखरीमा हाँस आफ्ना चल्लाहरू अघिपछि लगाएर आफ्नै धुनमा रमाइरहेका। घुम्न आउनेहरू यो मनोरम दृश्‍यमा दंग छन्‌। तिनीहरू सानो सोरमा कुरा गर्थे, मानौं एकान्तमा रमाइरहेकी बिहानीको शान्ति भङ्‌ग नहोस्‌!

ती घुम्न आउने यहोवाका साक्षीहरू ४८ देशबाट आएका थिए। तर तिनीहरू त्यो सुन्दर दृश्‍य नै हेर्न भने आएका थिएनन्‌। तिनीहरूको खास उद्देश्‍य त विशाल नयाँ भवनमा राखिएका मेसिनहरू हेर्नु थियो। भवनभित्र निकै हल्लाखल्ला थियो, तैपनि मेसिनहरू देखेर तिनीहरू दंग परे।

उक्‍त भवनको बालकोनीबाट तिनीहरूले हलमा चिटिक्क मिलाएर राखिएका मेसिनहरू देखे। ती भुलभुलैया जस्तो देखिन्थ्यो। टलक्क टल्किएको भुइँमा बडे-बडेमाका पाँच वटा मेसिन राखिएका छन्‌। यो ठाउँ छ वटा फुटबल मैदानभन्दा ठूलो छ। यहाँ बाइबल, किताब र पत्र-पत्रिका छापिन्छ। ठुल्ठुला पेपरका रोलहरू मेसिनमा लगाएपछि स्पीडमा गुडिरहेको ट्रकको पाङ्‌ग्रा जत्तिकै छिटो घुम्छ। पेपरको एउटा रोल १,७०० किलोग्राम हुन्छ र एउटा रोलमा २३ किलोमिटर पेपर हुन्छ। एक रोल पेपर २५ मिनेटमै सिद्धिन्छ। यही २५ मिनेटभित्र छापिने, अक्षरहरू सुक्ने, पेपर चिसो हुने र पट्ट्याउने काम हुन्छ। यसरी पत्रिका तयार पारिन्छ। पत्रिका फटाफट लहरै निक्लेपछि कार्टुनमा प्याक गरिन्छ र मण्डलीहरूमा पठाइन्छ। यसरी एउटा मेसिनमा पत्रिका छापिंदै गर्दा अरू मेसिनमा भने किताब छाप्ने काम भइरहेको हुन्छ। पानाहरू थाक लगाएर राखिन्छ र बाइन्डिङमा पठाइन्छ। यो अचम्मको प्रकिया कम्प्युटरबाटै चल्छ।

तिनीहरू छापाखानापछि बाइन्डिङ गर्ने ठाउँ घुम्न गए। यहाँ हरेक दिन ५०,००० प्रति डिलक्स बाइबल र बाक्लो खोल भएको किताब बनाइन्छ। पानाहरू सिलाइन्छ, काटेर छेउ मिलाइन्छ अनि किताब तयार हुन्छ। त्यसपछि खोल हालिन्छ। यी किताबहरू कार्टुनमा प्याक गरिन्छ। कार्टुनहरूमा सिल-छाप गर्ने, लेबल टाँस्ने, लिफ्टमा राख्ने सबै काम मेसिनले नै गर्छ। त्यसबाहेक, हरेक दिन पातलो खोल भएको झन्डै १,००,००० प्रति किताब पनि तयार गरेर प्याक गरिन्छ। यो एउटा छुट्टै संसार हो जहाँ अत्यन्तै रफ्तारमा चल्ने अनगिन्ती मेसिन, गियर, ह्विल र बेल्टहरू छन्‌।

यहाँका मेसिनहरूले एकदमै दामी घडीले जत्तिकै एक-एक सेकेन्ड पनि फरक नपारी रफ्तारमा काम गर्छ। यो मेसिन त आधुनिक प्रविधिको चमत्कार नै हो। साथै, यसले परमेश्‍वरका जनहरूको प्रेम, विश्‍वास र आज्ञाकारिताको प्रमाण पनि दिन्छ। तर किन छापाखाना ब्रुक्लिनबाट वाल्किल सार्नुपऱ्‍यो?

मुख्य कारण चाहिं छपाइ र ढुवानीलाई एकै ठाउँमा राखेर काम सजिलो पार्न। धेरै वर्षसम्म किताब ब्रुक्लिनमा र पत्रिका चाहिं वाल्किलमा छापिन्थ्यो । अब यी दुवै काम एकै ठाउँमा गर्दा मान्छे पनि कम लाग्ने र अनुदानको पनि सही सदुपयोग हुने भयो। अर्को कारण, ब्रुक्लिनका मेसिनहरू पुरानो भइसकेकोले जर्मनीबाट दुईटा म्यान रोलान्ड लिथोम्यान (MAN Roland Lithoman) मगाइयो। यो मेसिन अत्यन्तै ठूलो भएकोले ब्रुक्लिनमा नअटाउने भयो।

यसको पछाडि यहोवा हुनुहुन्छ

हाम्रो छापाखानाको उद्देश्‍य भन्‍नु नै परमेश्‍वरको राज्यको सुसमाचार फैलाउनु हो। सुरुदेखि नै यस काममा यहोवाको आशिष्‌ रहँदै आएको छ। सन्‌ १८७९-१९२२ सम्म हाम्रा किताबहरू बाहिरको छापाखानामा छाप्ने गरिन्थ्यो। सन्‌ १९२२ मा ब्रुक्लिनको १८ कन्कर्ड स्ट्रीटमा ६ तले भवन भाडामा लिइयो र मेसिन किनेर किताब छाप्न थालियो। त्यतिबेला, हाम्रा भाइहरूले छापाखाना चलाउन सक्लान्‌ र! भन्दै कतिले पत्याएनन्‌।

यसरी नपत्याउनेमध्ये हाम्रा किताबहरू छाप्दै आएका छापाखानाको मालिक पनि थिए। कन्कर्ड स्ट्रीटको छापाखाना घुम्न आउँदा तिनले भने: “तपाईंहरूसित फस्ट-क्लासको मेसिन भएर के गर्नु! कसैले चलाउन जान्‍ने होइन। छ महिनाभित्रै मेसिन बिग्रिहाल्छ अनि त थाह पाइहाल्नुहुन्छ नि!”

छापाखानाका निरीक्षक भाइ रोबर्ट जे. मार्टिनले पछि यसो भने: “ठीकै हो, हामी मेसिन चलाउन जान्दैन थियौं। तर यस कामको पछाडि प्रभु हुनुहुन्छ भन्‍ने कुरा तिनीहरूलाई के थाह! . . . केही समय नबित्दै हामीले किताब छाप्न थाल्यौं।” त्यसपछिको ८० वर्षभित्र यहोवाका साक्षीहरूले आफ्नै छापाखानामा लाखौं-लाख किताब र पत्र-पत्रिकाहरू छापे।

अक्टोबर ५, २००२ मा वाचटावर बाइबल एन्ड ट्राक्ट सोसाइटीको वार्षिक सभा बस्यो। त्यस सभामा छापाखाना ब्रुक्लिनबाट वाल्किल सार्न परिचालक निकायले अनुमति दिएको घोषणा गरियो। सन्‌ २००४, फेब्रुअरीमा आइपुग्नेगरि दुई वटा मेसिन मगाइयो। यी नयाँ मेसिन राख्न १५ महिनाभित्र छापाखाना बढाएर ठीकठाक पार्नुपरेको थियो। त्यसपछि नौ महिनाभित्र बाइन्डिङ र ढुवानी गर्ने नयाँ ठाउँ पनि तयार गर्नुपरेको थियो। यति छोटो समयमा सबै काम सिध्याउन सकिंदैन कि भनेर कतिलाई लाग्यो होला। तर भाइहरूलाई थाह थियो, यहोवाको आशिष्‌ले यो काम फत्ते गर्न सकिन्छ।

“साँच्चै, सहयोगको भावना!”

यहोवाका जनहरू स्वेच्छाले आफूलाई अर्पण गर्छन्‌ भन्‍ने जानेर नै भाइहरूले यो काम थाले। (भजन ११०:३) यति ठूलो कार्यको लागि बेथेलको निर्माण विभागका भाइहरूले मात्र कहाँ पुग्नु! धेरैभन्दा धेरै सहयोगी हातहरू चाहिएको थियो। अमेरिका र क्यानाडाबाट निर्माणसम्बन्धी सीप भएका १,००० भन्दा धेरै भाइबहिनीहरू आए र कतिले एक हप्ता त कतिले तीन महिनासम्म सघाए। अन्तरराष्ट्रिय सेवक र अन्तरराष्ट्रिय स्वयम्‌सेवक दललाई पनि बोलाइयो। क्षेत्रीय निर्माण समितिले पनि सक्दो सघाए।

वाल्किलको काममा हात बाँट्‌न धेरैले खुसीसाथ ठूलो त्याग गरे। आफ्नै खर्चमा आउजाउ गरे। जागिरमा बिदा मिलाए। यी थप स्वयम्‌सेवकहरूलाई गाँसबासको प्रबन्ध गर्न बेथेल स्दस्यहरूले पनि ठूलो योगदान पुऱ्‍याए। ब्रुक्लिन, प्याटर्सन र वाल्किल बेथेलका ५३५ भन्दा बढी सदस्यहरूले शनिबार छुट्टीको दिन पनि काम गरे। यो उल्लेखनीय कामको पछाडि यहोवा हुनु भएकोले नै यसरी सोचेभन्दा धेरै मानिसको सहयोग जुटेको थियो।

कतिले भने आर्थिक सहयोग दिए। नौ वर्षीया एबीको यो पत्रलाई नै हेरौं न: “राम्रा-राम्रा किताबहरू बनाउनुभएकोमा धन्यवाद। म पनि चाँडै त्यहाँ घुम्न आउँदैछु। बुबाले आउँदो साल लैजान्छु भन्‍नुभएको छ! त्यहाँ आउँदा मलाई चिन्‍नुहुन्‍न होला। त्यसैले ब्याज लगाएर आउनेछु। मेरो पाकेट खर्च २० डलर तपाईं प्यारो भाइहरूलाई पठाउँदैछु। नयाँ मेसिनको लागि चलाउनुस्‌ है।”

एउटी बहिनी लेख्छिन: “मेरो सानो उपहार स्वीकार्नुहोला। त्यहाँ खटिरहेका भाइबहिनीहरूका लागि आफैले टोपी बुनेकी छु। मैले सुनें, यसपाली मुटु कमाउने जाडो मच्चिन लागेको छ रे। साँच्चै हो कि होइन, मलाई थाह छैन। तर त्यहाँ तपाईंहरूको काम त बाहिरै गर्नुपर्ने हुन्छ। त्यसैले तपाईंहरूलाई चिसो नलागोस्‌। मसित खास कुनै सीप छैन। वश, सिलाइ-बुनाइ जान्दछु र आफूले सक्ने सानो मदत दिन चाहन्छु।” पत्रसँगै १०६ वटा टोपी पठाएकी रहेछिन्‌।

छापाखाना तोकिएको समयमै तयार भयो। छापाखानाका निरीक्षक भाइ जोन लार्सनले भने: “साँच्चै, सहयोगको भावना! के यो यहोवाकै आशिष्‌को फल होइन र! कुनै रोकटोकबिना काम फटाफट चल्यो। त्यो दिन अझै बिर्सेको छैन, मे २००३ मा मैले जुन ठाउँमा उभिएर भवनको जग खनेको हेरें त्यसको एक वर्ष नबित्दै त्यही ठाउँमा उभिएर मेसिन चलिरहेको हेर्न पाएँ।

समर्पण कार्यक्रम

नयाँ छापाखाना र तीन नयाँ आवास भवनको समर्पण कार्यक्रम सोमबार, मे १६, २००५ को दिन वाल्किलमा सम्पन्‍न भयो। प्याटर्सन, ब्रुक्लिन र क्यानाडा बेथेलहरूमा यो कार्यक्रम प्रत्यक्ष प्रसारण गरियो। कार्यक्रममा जम्मा ६,०४९ जना उपस्थित भए। परिचालक निकायका भाइ थिओडोर जारासले कार्यक्रम सञ्चालन गर्दै हाम्रो छापाखानाको छोटो इतिहास बताए। अमेरिका शाखा समितिका भाइहरू जोन लार्सन र जोन किकटले अन्तरवार्ता र भिडियो प्रस्तुतिद्वारा अमेरिकामा गरेको भवन निर्माण कार्यक्रम र छापाखाना विस्तारको इतिहास देखाए। अन्तमा परिचालक निकायकै भाइ जोन बारले समपर्ण भाषण दिए।

त्यसपछिको हप्ता प्याटर्सन र ब्रुक्लिन बेथेलका सदस्यहरू ती नयाँ भवन र छापाखाना घुम्न आए। जम्मा ५,९२० जना आए।

छापाखानालाई के ठान्छौं?

भाइ बारले समर्पण भाषणमा एउटा खाँटी कुरा बताए। तिनले भने, छापाखाना आकर्षक पक्कै होला। तैपनि, महत्त्वपूर्ण कुरा यहाँका मेसिनहरू होइन तर यसबाट मानिसहरूलाई पुग्ने हित हो। किनभने यहाँ छापिएका प्रकाशनहरूले मानिसको जीवनमा गहिरो प्रभाव पार्छ।

एउटा मेसिनमा प्रति घण्टा लाखौं पर्चा छाप्न सकिन्छ! तर एउटा पर्चाले मात्र पनि मानिसको जीवनमा गहिरो छाप छोड्‌न सक्छ। जस्तै सन्‌ १९२१ को कुरा हो, दक्षिण अफ्रिकामा एउटा टोली रेलको लिक मर्मत गर्दैथिए। तिनीहरूमध्येका क्रिस्टियान नाउँको व्यक्‍तिले रेलको मुन्तिर कागजको टुक्रा चेपिरहेको देखे। त्यो त हाम्रो पर्चा थियो। तिनले त्यो चाख लिएर पढे। त्यसपछि रमाउँदै गएर जुवाइँलाई भने: “आज भने सच्चाइ फेला पारें!” तुरुन्तै तिनीहरूले थप जानकारी मागे। दक्षिण अफ्रिकाको शाखाले प्रकाशनहरू पठाइदिए। यी दुई ससुरा-जुवाइँले बाइबल अध्ययन गरेर बप्तिस्मा लिए र अरूलाई पनि बाइबल सच्चाइ बताए। फलतः धेरैले सच्चाइ स्वीकारे। सन्‌ १९९० दशकको सुरुसम्म त तिनीहरूका सयभन्दा बढी शाखासन्तान साक्षी बनिसकेका थिए। कस्तो राम्रो परिणाम! रेलको लिकमा पाएको सानो पर्चाको कमाल होइन र यो!

भाइ बारले भने, हाम्रा प्रकाशनले मानिसहरूलाई सच्चाइमा ल्याउँछ, विश्‍वासमा बलियो बनाउँछ, जोसिलो बनाउँदै लैजान्छ र भाइचाराको बन्धनमा बाँधिराख्छ। त्योभन्दा पनि, यी प्रकाशनहरू अरूलाई दिंदा परमेश्‍वर यहोवाको महिमा हुन्छ!

छापाखानालाई यहोवा कसरी हेर्नुहुन्छ?

भाइ बारले श्रोतालाई छापाखानाप्रति यहोवाको दृष्टिकोण बुझ्न आग्रह गरे। यो छापाखानाबिना पनि यहोवाले आफ्नो काम चलाउन सक्नुहुन्छ। उहाँले सुसमाचार सुनाउन ढुङ्‌गालाई पनि बोल्न लगाउनुहुन्छ! (लूका १९:४०) अझ भन्‍ने हो भने, उहाँ मेसिनको आकार, रफ्तार, र क्षमतामा मक्ख पर्नुहुन्‍न। सारा ब्रम्हाण्ड सृजनुहुनेलाई यो जाबो मेसिन त के हो र! (भजन १४७:१०, ११) मानिसले बनाउनु त के कल्पना समेत नगरेको उत्कृष्ट तरिकामा उहाँले प्रकाशनहरू निकाल्न सक्नुहुन्छ। त्यसोभए उहाँले यस छापाखानामा मूल्यवान्‌ ठान्‍नुहुने खास कुरा के हो? पक्कै पनि आफ्ना मानिसहरूले देखाउने प्रेम, विश्‍वास र आज्ञाकारिता!

यहोवाले प्रेमलाई मूल्यवान्‌ ठान्‍नुहुन्छ भनेर बुझाउन भाइ बारले एउटा उदाहरण चलाए। सानी छोरीले चिया बनाएर दिंदा आमाबाबु पक्कै पनि दङ्‌ग पर्छन्‌। चिया नमिठो पनि होला, तैपनि आमाबाबु त छोरीको चोखो माया देखेर भावविह्वल हुन्छन्‌। त्यस्तैगरि, यहोवाले पनि यो भवन र मेसिनहरूलाई होइन, अर्कै कुरा हेर्नुहुन्छ। त्यो हो, उहाँको नाउँको खातिर मानिसहरूले देखाउने प्रेम।—हिब्रू ६:१०.

यहोवाले यस छापाखानालाई हाम्रो विश्‍वासको प्रत्यक्ष प्रमाण पनि ठान्‍नुहुन्छ जसरी नूहको जहाजलाई तिनको विश्‍वासको अभिव्यक्‍ति ठान्‍नुभयो। तर विश्‍वास केमा? यहोवाको अगमवाणी पक्कै पूरा हुन्छ भनेर नूह विश्‍वास गर्थे। अहिले हामी यी कुरामा विश्‍वास गर्छौं: आखिरी दिनमा बाँचिरहेका छौं, राज्यको सुसमाचार सबैभन्दा महत्त्वपूर्ण सन्देश हो र यो मानिसहरूलाई सुनाउनै पर्छ। हामीलाई थाह छ कि बाइबल सन्देशले जीवन बचाउँछ।—रोमी १०:१३, १४

निस्सन्देह, यहोवाले यस छापाखानालाई हाम्रो आज्ञाकारिताको अभिव्यक्‍ति पनि ठान्‍नुहुन्छ। हामीलाई थाह छ, अन्त आउनअघि नै राज्यको सुसमाचार सारा संसारमा प्रचार गरिएको परमेश्‍वर चाहनुहुन्छ। (मत्ती २४:१४) यो काम पूरा गर्न वाल्किल र अन्य मुलुकका छापाखानाहरूले ठूलो भूमिका खेल्नेछ।

छापाखाना बनाउन, चलाउन र यसको लागि अनुदान जुटाउन प्रेम, विश्‍वास र आज्ञाकारिता देखियो। यस्तै गुणहरू नयाँ व्यक्‍तिहरूलाई सच्चाइ सुनाउन यहोवाका जनहरुले संसारभरि गरिरहेको जोसिलो काममा पनि देखिन्छ।

[पृष्ठ ११-मा भएको पेटी/चित्रहरू]

अमेरिकामा छापाखानाको विस्तार

१९२०: ३५ मर्टल एभेन्यु, ब्रुक्लिन। पहिलो रोटरी प्रेसमा पत्रिका छापियो।

१९२२: १८ कन्कर्ड स्ट्रीटको छ तले भवनमा छापाखाना सारियो। यहाँ किताब पनि छाप्न थालियो।

१९२७: ११७ एडम्स्‌ स्ट्रीटको नयाँ भवनमा छापाखाना सारियो।

१९४९: नौ तले नयाँ भवन बनाएपछि छापाखाना दोब्बर ठूलो भयो।

१९५६: ७७ स्यान्ड्‌स स्ट्रीटमा नयाँ भवन बनाइएपछि एडम्स्‌ स्ट्रीटको छापाखाना चौगुणा ठूलो भयो

१९६७: अरू भवनसित आकासे पुलले जोडिएको दस तले भवन बनाइएपछि सुरुकोभन्दा दस गुणा ठूलो भयो।

१९७३: पत्रिका मात्र छाप्नको लागि वाल्किलमा अर्को छापाखाना बनाइयो।

२००४: छाप्ने, बाइन्डिङ र ढुवानी सबै काम वाल्किलमा सारियो।