सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“विभिन्‍न भाषा बोल्ने” मानिसहरूले सुसमाचार सुनिरहेका छन्‌

“विभिन्‍न भाषा बोल्ने” मानिसहरूले सुसमाचार सुनिरहेका छन्‌

“विभिन्‍न भाषा बोल्ने” मानिसहरूले सुसमाचार सुनिरहेका छन्‌

“सबै जातिका विभिन्‍न भाषा बोल्नेहरूमध्ये दश जना मानिसले . . . यसो भन्‍नेछन्‌, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।’ ” —जकरिया ८:२३.

१. विभिन्‍न भाषा र विभिन्‍न राष्ट्रका मानिसहरूलाई प्रचार गर्नको लागि उपयुक्‍त समय र परिस्थिति यहोवाले कसरी तयार पार्नुभयो?

 यो घटना इस्वी संवत्‌ ३३ पेन्तिकोसको हो। विशाल रोमी साम्राज्यको कम्तीमा पनि १५ वटा प्रान्त र त्यसको छेउछाउका ठाउँबाट यहूदी तथा यहूदी मत मान्‍ने थुप्रै मानिसहरू निस्तार चाड मनाउन केही हप्ताअघिदेखि यरूशलेममा ओइरिएका थिए। त्यस दिन पवित्र आत्माले भरिएका साधारण पुरुष तथा स्त्रीहरूले त्यहाँ भेला भएका हजारौं मानिसहरूलाई रोमी साम्राज्यमा बोलिने विभिन्‍न भाषामा सुसमाचार सुनाए। तर त्यतिबेला पुरातन बाबेलमा जस्तो गोलमाल भएन। तिनीहरूले जे बोलिरहेका थिए मानिसहरूले बुझिरहेका थिए। यो घटना अत्यन्तै उपयुक्‍त समय र परिस्थितिमा भएको थियो। (प्रेरित २:१-१२) त्यतिबेलादेखि नै मसीही मण्डलीको सुरुवात भयो र विभिन्‍न भाषामा अन्तरराष्ट्रिय शैक्षिक कार्य पनि सुरु भयो जुन अहिलेसम्मै चलिरहेको छ।

२. इस्वी संवत्‌ ३३ पेन्तिकोसमा विभिन्‍न ठाउँबाट आएका विभिन्‍न भाषा बोल्ने मानिसहरू येशूका चेलाहरू देखेर किन “छक्क” परे?

येशूका चेलाहरूले त्यतिबेला चलनचल्तीमा भएको ग्रीक भाषा बोल्थे होलान्‌। यरूशलेममा बोलिने हिब्रू भाषा पनि तिनीहरू बोल्न सक्थे। तर पेन्तिकोसको त्यस दिन, विभिन्‍न ठाउँबाट आएका मानिसहरूलाई तिनीहरूकै भाषामा चेलाहरूले सुसमाचार सुनाए र यो देखेर सबै मानिसहरू “छक्क परे।” त्यसपछि के भयो? यति राम्रो सन्देश आफ्नै भाषामा सुन्‍न पाउँदा ती मानिसहरूको मन छोयो। अनि त्यो दिन बितुन्जेल चेलाहरूको सानो समूह बढेर ३,००० भन्दा बढी भइसकेको थियो।—प्रेरित २:३७-४२.

३, ४. चेलाहरू यरूशलेम, यहूदिया र गालीलबाट अन्तै बसाइँ सर्दा प्रचारकार्य पनि कसरी फैलियो?

त्यो महत्त्वपूर्ण घटनाको लगत्तै यरूशलेममा एकपछि अर्को सतावटको बाढी आउन थाल्यो र “ती तितर-बितर भएकाहरूले जताततै गएर वचनको सुसमाचार सुनाउन लागे।” (प्रेरित ८:१-४) उदाहरणको लागि, प्रेरित अध्याय ८ मा ग्रीक भाषा बोल्ने प्रचारक फिलिपको विवरण हामी पाउँछौं। फिलिपले सामरीहरूलाई प्रचार गरे। तिनले एक जना एथियोपियाली हाकिमलाई पनि प्रचार गरे जसले ख्रीष्टको सन्देश स्वीकारे।—प्रेरित ६:१-५; ८:५-१३, २६-४०; २१:८, ९.

सतावटको कारण यरूशलेम, यहूदिया र गालीलबाट अन्तै बसाइँ सर्दा ती ठाउँहरूमा नौला मानिसहरू र भाषा पनि नयाँ भएकोले येशूका चेलाहरूले थप चुनौतीको सामना गरे। तिनीहरूमध्ये कोही-कोहीले पहिला यहूदीहरूलाई मात्र प्रचार गरेका हुन सक्छन्‌। चेला लूका यसो भन्छन्‌: “तिनीहरूमध्ये कोही कोही साइप्रसी र साइरेनीका मानिसहरू थिए। तिनीहरू एन्टिओकमा आएर प्रभु येशूको प्रचार गर्दै ग्रीकहरूसँग पनि बातचित गरे।”—प्रेरित ११:१९-२१.

निष्पक्ष परमेश्‍वरबाट सबैको लागि सन्देश

५. यहोवा पक्षपात गर्नुहुन्‍न भन्‍ने कुरा सुसमाचार सुनाउने कामबाट पनि कसरी प्रस्ट हुन्छ?

माथि उल्लिखित घटनाहरू परमेश्‍वरको इच्छा बमोजिम नै भएका हुन्‌ किनभने उहाँ पक्षपात गर्नुहुन्‍न। यहोवाबाट मदत पाएर अन्यजातिहरूबारे आफ्नो सोचाइ परिवर्तन गरिसकेपछि प्रेरित पत्रुसले कृतज्ञ हुँदै यस्तो लेखे: “साँच्चिनै म देख्तछु, कि परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५; भजन १४५:९) प्रेरित पावल, जो पहिला मसीहीहरूलाई देखिसहँदैनथे उनले यसो भने: “सबै मानिसहरूले उद्धार पाऊन्‌ . . .भन्‍ने इच्छा [परमेश्‍वर] गर्नुहुन्छ” अनि यसबाट परमेश्‍वर पक्षपात गर्नुहुन्‍न भन्‍ने कुरा झनै पुष्टि भयो। (१ तिमोथी २:४) पुरुष होस्‌ वा स्त्री, सबै जात, राष्ट्र र भाषाका मानिसहरूलाई राज्यसन्देश सुनाइँदैछ र यसबाट पनि परमेश्‍वर निष्पक्ष हुनुहुन्छ भनेर प्रस्ट हुन्छ।

६, ७. सारा संसारभरि विभिन्‍न भाषा बोल्ने मानिसहरूलाई सुसमाचार सुनाइनेछ भनी बाइबलका कुन-कुन भविष्यवाणीमा बताइएको छ?

सारा संसारभरि सुसमाचार सुनाइनेछ भनी शताब्दीयौं अघि भविष्यवाणी गरिएको थियो। दानियलको भविष्यवाणी अनुसार “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून्‌ भनेर [येशूलाई] सर्वाधिकार, महिमा र राज्याधिकार दिइयो।” (दानियल ७:१४) तपाईंले पढिरहनुभएको यो पत्रिका १५१ भाषामा छापिनु, संसारभरि वितरण हुनु अनि तपाईंले आफ्नै भाषामा पढ्‌न पाउनु, यी सबै कुरा उक्‍त बाइबल भविष्यवाणी पूरा भएको प्रमाण हो।

बाइबलको सन्देशले मानिसहरूको जीवन बचाउँछ र विभिन्‍न भाषाका मानिसहरूले यो सन्देश सुन्‍ने समय आउनेछ भनेर भविष्यवाणी गरिएको थियो। साँचो उपासनातर्फ थुप्रै मानिसहरू ओइरिनेछन्‌ भनी जकरियाले यस्तो भविष्यवाणी गरे: “ती दिनमा सबै जातिका विभिन्‍न भाषा बोल्नेहरूमध्ये दश जना मानिसले एउटा यहूदीको [अर्थात्‌ आत्मा-अभिषिक्‍त मसीही जो ‘परमेश्‍वरका इस्राएलको’ भाग हुन्‌ तिनको] लुगा समातेर यसो भन्‍नेछन्‌, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।’ ” (छड्‌के अक्षर हाम्रो, जकरिया ८:२३; गलाती ६:१६) अनि प्रेरित यूहन्‍नाले आफूले देखेको दर्शन यसरी बताए: “हेर, कसैले गन्‍न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड, सिंहासन र थुमाको अगाडि . . . उभिरहेका मैले देखें।” (छड्‌के अक्षर हाम्रो, प्रकाश ७:९) यी भविष्यवाणीहरू पूरा भइरहेको हामीले देखिरहेका छौं!

सबै मानिसहरूलाई सुसमाचार सुनाउने

८. अहिलेको कस्तो अवस्थाले गर्दा प्रचारकार्यमा छाँटकाँट गर्नुपर्ने भएको छ?

अहिले थुप्रै मानिसहरू बसाइँ सर्दैछन्‌। विश्‍वव्यापीकरणले गर्दा बसाइँ सराइको रफ्तार अझ बढेको छ। युद्ध तथा गरिबीको चपेटामा परेका मानिसहरू सम्पन्‍न जीवनको खोजीमा धनी देशतिर बसाइँ सरिरहेका छन्‌। कुनै-कुनै देशमा प्रवासी तथा शरणार्थीहरूको संख्या बढ्‌दो छ र ती देशहरूमा अर्कै भाषा बोल्ने मानिसहरूको एउटा छुट्टै समुदाय नै बनेको छ। उदाहरणको लागि, फिनल्याण्डमा १२० भन्दा धेरै भाषा बोलिन्छ भने अस्ट्रेलियामा २०० भन्दा बढी। अमेरिकाको सान-डिएगो भन्‍ने एउटा सहरमा मात्रै १०० भन्दा बढी भाषा बोलिन्छ!

९. हाम्रो इलाकामा भएका अर्कै भाषा बोल्ने मानिसहरूलाई हामीले कस्तो दृष्टिकोणले हेर्नुपर्छ?

के हामी मसीहीहरू आफ्नो इलाकामा भएका अर्कै भाषा बोल्ने मानिसहरूलाई हाम्रो सेवकाईमा बाधा ठान्छौं? अहँ, पटक्कै ठान्दैनौं। बरु, आफ्नो इलाकामा अझ धेरै मानिसलाई प्रचार गर्ने मौका ठान्छौं किनभने ‘खेतबारी कटनीको लागि पहेंला भएका छन्‌।’ (यूहन्‍ना ४:३५) मानिसहरू जुनसुकै देश वा भाषाका होऊन्‌, आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सजग मानिसहरूलाई मदत गर्न हामी प्रयास गर्छौं। (मत्ती ५:३) फलस्वरूप, वर्षेनी ‘हरेक भाषा’ बोल्ने धेरै मानिसहरू ख्रीष्टका चेला भएका छन्‌। (प्रकाश १४:६) उदाहरणका लागि, अगस्त २००४ को रिपोर्टअनुसार जर्मनीमा झन्डै ४० भाषामा प्रचार गरिएको थियो। त्यही ताका अस्ट्रेलियामा झन्डै ३० भाषामा प्रचार भइरहेको थियो र गएको दस वर्षको तुलनामा १८ वटा भाषा थपियो। ग्रीसमा यहोवाका साक्षीहरूले झन्डै २० भाषामा प्रचार गरिरहेका थिए। हुन त अङ्‌ग्रेजी एउटा अन्तरराष्ट्रिय भाषा हो। तर यहोवाका साक्षीहरूमध्ये जम्मा २० प्रतिशतले अङ्‌ग्रेजी बोल्छन्‌, बाँकी ८० प्रतिशतले आ-आफ्नै भाषा बोल्छन्‌।

१०. “सबै देशका” मानिसहरूलाई चेला बनाउने काममा प्रत्येक प्रकाशकको कस्तो भूमिका छ?

१० “सबै देशका जातिहरूलाई चेला बनाओ” भन्‍ने येशूको आज्ञा साँच्चै पूरा भइरहेको छ! (छड्‌के अक्षर हाम्रो, मत्ती २८:१९) त्यस आज्ञालाई उत्सुकतासाथ पालन गर्दै यहोवाका साक्षीहरूले २३५ देशमा प्रचार गरिरहेका छन्‌ र ४०० भन्दा बढी भाषामा प्रकाशनहरू वितरण गर्छन्‌। हुन त, मानिसहरूलाई चाहिने प्रकाशन यहोवाको संगठनले उपलब्ध गराउँछ। तर ‘सबै मानिसले’ राम्ररी बुझ्ने भाषामा बाइबलको सन्देश त प्रकाशकहरूले नै सुनाउनुपर्छ। (यूहन्‍ना १:७) यो संयुक्‍त प्रयासको कारण विभिन्‍न भाषाका मानिसहरूले सुसमाचार सुन्‍न पाइरहेका छन्‌। (रोमी १०:१४, १५) हो, हामी प्रत्येकको महत्त्वपूर्ण भूमिका छ!

चुनौती सामना गर्दै

११, १२. (क) कस्ता चुनौतीहरूको सामना गर्नुपर्छ र पवित्र आत्माले कसरी मदत गर्छ? (ख) मानिसहरूलाई उनीहरूकै भाषामा प्रचार गर्नु किन प्रभावकारी हुन्छ?

११ आज थुप्रै प्रकाशकहरू नयाँ भाषा सिक्न चाहन्छन्‌। तर नयाँ भाषा बोल्न परमेश्‍वरको पवित्र आत्माबाट चमत्कार भने हुँदैन। (१ कोरिन्थी १३:८) नयाँ भाषा सिक्ने भनेको चानचुने कुरा होइन। प्रकाशकले अर्को भाषा बोल्न जानेका छन्‌ भने पनि उक्‍त भाषा बोल्ने मानिसहरूको पृष्ठभूमि र संस्कृतिलाई तिनले विचार गर्नुपर्छ। अनि उनीहरूको मन छुने तरिकामा बाइबल सन्देश सुनाउन आफ्नो सोचाइ र प्रचार गर्ने तरिकामा छाँटकाँट गर्नुपर्ने हुन सक्छ। साथै प्रवासीहरू नयाँ मान्छेसित हतपती बोल्न चाहँदैनन्‌। त्यसैकारण तिनीहरूको सोच्ने तरिका बुझ्न निकै प्रयास गर्नुपर्ने हुन्छ।

१२ तरैपनि अर्को भाषा बोल्ने मानिसहरूलाई मदत गर्न पवित्र आत्माले परमेश्‍वरका जनहरूलाई अहिले पनि मदत गरिरहेको छ। (लूका ११:१३) पवित्र आत्माले चमत्कारपूर्ण ढङ्‌गमा विभिन्‍न भाषा बोल्न मदत त गर्दैन तर बेग्लै भाषा बोल्ने मानिसहरूसित कुरा गर्ने हाम्रो इच्छा बढाउन सक्छ। (भजन १४३:१०) मानिसहरूले बोल्ने उनीहरूकै भाषामा नभई अर्कै भाषामा उनीहरूलाई बाइबल सन्देश सुनाउँदा वा सिकाउँदा मानिसहरूले हाम्रो कुरा बुझ्न त बुझ्लान्‌, तर उनीहरूको मनसम्म पुग्दैन। त्यसैले उनीहरूको भित्री चाहना, मनसाय र आशालाई छुने हो भने उनीहरूकै भाषामा प्रचार गर्नु प्रभावकारी हुन्छ।—लूका २४:३२.

१३, १४. (क) अर्को भाषामा प्रचार गर्न कोही-कोही प्रकाशकहरू उत्साहित हुनुको कारण के हो? (ख) आत्मत्यागको भाव कसरी देखिएको छ?

१३ अर्कै भाषा बोल्ने मानिसहरूले बाइबल सन्देश मन पराएको देखेर थुप्रै प्रकाशकहरू नयाँ भाषा सिक्न हौसिएका छन्‌। अरू चाहिं प्रचारको काम अझ चुनौतीपूर्ण र चाखलाग्दो हुँदा झन्‌ उत्साहित हुन्छन्‌। दक्षिणी युरोपमा रहेको यहोवाका साक्षीहरूको एउटा शाखा कार्यालय यस्तो उल्लेख गर्छ: “पूर्वी युरोपबाट आएका थुप्रै मानिसहरू सच्चाइको लागि तिर्खाइरहेका छन्‌।” सच्चाइ सिक्न चाहने त्यस्ता मानिसहरूलाई मदत गर्न पाउनु कत्ति सन्तोषजनक कुरा हो!—यशैया ५५:१, २.

१४ यो काम अर्थपूर्ण बनाउन दृढ अठोट र आत्मत्याग चाहिन्छ। (भजन ११०:३) उदाहरणका लागि, जापानमा यहोवाका थुप्रै साक्षी परिवारहरू टाढ-टाढा इलाकामा बस्ने चाइनिज प्रवासीहरूलाई बाइबल सन्देश सुनाउन ठूला सहरको आरामदायी जीवन त्यागेर त्यतै बसाइँ सरेका छन्‌। अमेरिकाको एउटा पश्‍चिमी भागका प्रकाशकहरू फिलिपिन्सबाट आएका मानिसहरूसित बाइबल अध्ययन गर्न नियमित रूपमा एक/दुई घण्टा गाडीमा यात्रा गर्छन्‌। नर्वेमा एउटा मसीही दम्पतीले अफगानिस्तानबाट आएको एउटा परिवारसित बाइबल अध्ययन गर्छन्‌। ती साक्षी दम्पतीले अङ्‌ग्रेजी र नर्वेली भाषाको परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका हेर्छन्‌। a त्यस परिवारले चाहिं तिनीहरूको आफ्नो दारी भाषासित मिल्दोजुल्दो फारसी भाषाको पुस्तिकाबाट पढ्‌छन्‌। अनि तिनीहरू कुरा चाहिं अङ्‌ग्रेजी र नर्वेली भाषामा गर्छन्‌। प्रकाशकहरूले त्यस्तो आत्मत्यागी मनोभाव देखाउँदै परिस्थितिअनुसार छाँटकाँट गरेको कारण विदेशीहरूले पनि सुसमाचार स्वीकारेका छन्‌। यो कत्ति ठूलो आशिष्‌ हो! b

१५. विभिन्‍न भाषाका मानिसहरूलाई प्रचार गर्ने काममा हामी सबैले कसरी भाग लिन सक्छौं?

१५ विभिन्‍न भाषामा प्रचार गर्ने यस काममा के तपाईं पनि भाग लिन सक्नुहुन्छ? सबैभन्दा पहिला, तपाईंको इलाकामा प्रायः कुन-कुन भाषा बोलिन्छ, त्यो पत्ता लगाए कसो होला? अनि ती भाषाहरूमा प्रकाशित केही पर्चा वा पुस्तिकाहरू आफूसित लैजान सक्नुहुन्छ। सन्‌ २००४ मा विमोचन भएको गुड न्युज फर पिपल अफ अल नेसन्स्‌ पुस्तिका राज्यसन्देश फैलाउने काममा प्रभावकारी साबित भइसकेको छ। यस पुस्तिकामा पाइने विभिन्‍न भाषाको सन्देश सरल र मदतकारी छ।—पृष्ठ ३२ मा भएको लेख हेर्नुहोस्‌।

“प्रवासीहरूलाई प्रेम गर”

१६. विदेशी भाषा बोल्ने मानिसहरूलाई मदत गर्न जिम्मेवार भाइहरूले कसरी निस्वार्थ भाव देखाउन सक्छन्‌?

१६ हामी नयाँ भाषा सिकौं या नसिकौं, आफ्नो इलाकामा भएका विदेशीहरूलाई आध्यात्मिक शिक्षा दिएर मदत गर्न सक्छौं। “प्रवासीहरूलाई प्रेम गर” भनी परमेश्‍वरले आफ्ना जनहरूलाई आज्ञा गर्नुभयो। (व्यवस्था १०:१८, १९) उदाहरणका लागि, अमेरिकाको एउटा ठूलो सहरमा पाँचवटा मण्डलीले एउटै राज्यभवन चलाउँछन्‌। अरू थुप्रै राज्यभवनहरूमा जस्तै त्यस राज्यभवनमा पनि हरेक वर्ष पालैपालो सभाको समय हेरफेर हुन्छ। यसरी पालो अनुसार सभाको समय परिवर्तन गर्दा चाइनिज भाषाको सभाको समय आइतबार अलि ढिलो मात्र गर्न सकिने थियो। तर सभा ढिलो सुरु गर्दा रेस्टुराँहरूमा काम गर्ने प्रायजसो चाइनिज प्रवासीहरू सभामा आउन भ्याउँदैनथे। त्यसैकारण त्यही भवनमा सभा सञ्चालन गर्ने अरू मण्डलीका प्राचीनहरूले दया देखाउँदै आफ्नो सभाको समयमा छाँटकाँट गरे। यसो गर्दा चाइनिज भाषाको सभा आइतबार अलि चाँडै सुरु गर्न सम्भव भयो।

१७. कसै-कसैले अर्को भाषाको समूहलाई मदत गर्न बसाइँ सर्ने निर्णय गर्दा हामीले कस्तो ठान्‍नुपर्छ?

१७ योग्य तथा दक्ष भाइबहिनीहरूले अर्को भाषाको समूहलाई मदत गर्न बसाइँ सर्न चाहँदा मायालु निरीक्षकहरूले तिनीहरूको प्रशंसा गर्छन्‌। यी अनुभवी भाइबहिनीहरू अर्को समूहमा सरेपछि पहिला सेवा गरिरहेको मण्डलीमा तिनीहरूको अभाव त खड्‌किएला। तर यी निरीक्षकहरूले लिस्त्रा र आइकोनियमका प्राचीनहरूले जस्तै महसुस गर्छन्‌। तिमोथीले त्यहाँको मण्डलीमा निकै योगदान पुऱ्‍याइरहेका थिए। तरपनि त्यहाँका प्राचीनहरूले तिनलाई पावलसँग मिसनरी यात्रामा जानदेखि रोकेनन्‌। (प्रेरित १६:१-४) साथै, प्रचारकार्यमा नेतृत्व लिनेहरू विदेशीहरूको फरक सोचाइ, चलन वा आनीबानी देखेर पनि हिम्मत हार्दैनन्‌। बरु, यस्तो भिन्‍नतालाई तिनीहरू खुसीसाथ स्वीकार्छन्‌ र सुसमाचारको खातिर अरूसित राम्रो सम्बन्ध राख्ने तरिकाहरू खोज्छन्‌।—१ कोरिन्थी ९:२२, २३.

१८. सबैको लागि कस्तो ठूलो ढोका खोलिएको छ?

१८ भविष्यवाणी गरिएझैं सबै जातिका विभिन्‍न भाषा बोल्ने” मानिसहरूलाई सुसमाचार सुनाउने काम भइरहेको छ। विदेशी भाषा बोल्ने मानिसहरूको समूहमा वृद्धिको सम्भावना अझ धेरै छ। नयाँ परिस्थितिको सामना गर्न नयाँ-नयाँ तरिकाहरू अपनाउने हजारौं प्रकाशकहरू प्रचार गतिविधिको यो “ठूलो ढोका[मा]” प्रवेश गरेका छन्‌। (१ कोरिन्थी १६:९, NRV) राम्रो नतिजा पाउन त्यस्ता इलाकाहरूमा अझ धेरै काम गर्नु आवश्‍यक छ भनी अर्को लेखले देखाउनेछ।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

b थप उदाहरणको लागि, अप्रिल १, २००४ अंकको प्रहरीधरहरा, पृष्ठ २४-२८ मा “साना त्यागहरू गर्दा हामीले ठूला आशिष्‌हरू पायौं” भन्‍ने लेख हेर्नुहोस्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• अरू मानिसहरूसित व्यवहार गर्दा निष्पक्ष हुन हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं?

• आफ्नो इलाकामा भएका अर्कै भाषा बोल्ने मानिसहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

• मानिसहरूलाई उनीहरूकै भाषामा प्रचार गर्नु किन प्रभावकारी हुन्छ?

• हाम्रो इलाकामा भएका विदेशीहरूलाई कसरी चासो देखाउन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको नक्सा/चित्र

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

रोम

क्रेट

एसिया

फ्रिगिया

प्यामफिलिया

पोन्टस

कपोदिसिया

मेसोपोटामिया

मादी

पार्थीया

एलाम

अरब देश

लिबिया

मिश्र

यहूदिया

यरूशलेम

[पानीको अंश]

भूमध्य सागर

कृष्ण सागर

लाल समुद्र

फारसको खाडी

[चित्र]

इस्वी संवत्‌ ३३ पेन्तिकोसमा रोमी साम्राज्यको १५ वटा प्रान्त र त्यसको छेउछाउका ठाउँबाट आएका मानिसहरूले आ-आफ्नै भाषामा सुसमाचार सुने

[पृष्ठ २४-मा भएका चित्रहरू]

थुप्रै विदेशीहरूले बाइबल सन्देश सुनिरहेका छन्‌

[पृष्ठ २५-मा भएको चित्र]

पाँचवटा भाषामा राज्यभवनको साइनबोर्ड