सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

इटालियन बाइबलको सङ्‌घर्षमय इतिहास

इटालियन बाइबलको सङ्‌घर्षमय इतिहास

इटालियन बाइबलको सङ्‌घर्षमय इतिहास

“हाम्रो देश [इटालीमा] सबैभन्दा धेरै वितरण हुने पुस्तकहरूको सूचीमा बाइबल पनि पर्छ। तर सबैभन्दा कम पढिएको पुस्तक पनि सायद बाइबल नै होला। बाइबलमा भएको कुरा बुझ्न र यो परमेश्‍वरको वचन हो भनेर पढ्‌न क्याथोलिकहरूलाई न त प्रोत्साहन दिइन्छ न मदत नै गरिन्छ। बाइबलबारे थाह पाउन चाहने व्यक्‍तिहरू हुँदाहुँदै पनि उनीहरूलाई बाइबलका गहिरा-गहिरा कुरा बुझाइदिने कोही छैन।”

सन्‌ १९९५ मा इटालियन विशपहरूको बैठक बसेको थियो। त्यसै बैठकको एउटा निकायद्वारा प्रेषित उक्‍त वक्‍तव्यले थुप्रै प्रश्‍न खडा गर्छ। सदीयौंअघि इटालीमा बाइबल कत्तिको पढ्‌ने गरिन्थ्यो? बाइबल बिक्री-वितरणमा पछि कमी आउनुको कारण के थियो? इटालीमा सबैभन्दा कम पढिएका पुस्तकहरूको सूचीमा बाइबल पनि पर्छ, किन होला? इटालियन भाषामा अनुवाद भएको बाइबलको इतिहास पहिल्याउँदै गयौं भने यी प्रश्‍नहरूको जवाफ केही हदसम्म पाउन सक्छौं।

ल्याटिन भाषाबाट फ्रेन्च, इटालियन, पोर्चुगिस र स्पेनिसजस्ता भाषाहरू विकास हुन जुग-जुग लाग्यो। ल्याटिन भाषा बोलिने थुप्रै युरोपेली देशहरूमा ल्याटिनबाट विकास भएका भाषाहरूले बिस्तारै मान्यता पाउन थाल्यो र ती भाषाहरूमा साहित्यहरू पनि लेखिए। बोलीचालीका ती भाषाहरूले बाइबल अनुवादमा प्रत्यक्ष असर पाऱ्‍यो। कसरी? इतिहासमा एउटा यस्तो मोड पनि आयो, जतिखेर क्याथोलिक चर्चले चलाउने आधिकारिक ल्याटिन भाषा र बोलीचालीका भाषाबीच ठूलो अन्तर देखापऱ्‍यो र लेखपढ नगरेका मानिसहरूले त ल्याटिन भाषा बुझ्नै छाडे।

सन्‌ १००० सम्ममा इटालियन प्रायद्वीपका प्रायजसो मानिसले ल्याटिन भल्गेट पाउन सकेको भए तापनि त्यो पढ्‌न उनीहरूलाई पक्कै हम्मेहम्मे परेको हुनुपर्छ। क्याथोलिक चर्चले चलाउने आधिकारिक ल्याटिन भाषामै शताब्दीयौंसम्म विश्‍वविद्यालयहरूमा पढाउने काम भयो र पाठ्यसामग्रीहरू पनि त्यही भाषामा लेखिए। औंलामा गन्‍न सकिने धनीमानीहरूले मात्र त्यस्तो शिक्षाबाट लाभ उठाए। यस्तो हुँदै गएपछि अन्तमा बाइबल “एउटा रहस्यमय पुस्तक” बन्‍न पुग्यो। तरैपनि, धेरै मानिसहरू परमेश्‍वरको वचन बाइबल पाउन र त्यहाँ बताइएको कुरा आफ्नै भाषामा बुझ्न चाहन्थे।

तर बाइबल अनुवाद गर्ने काममा पादरीहरू अवरोध बनेर उभिएका थिए। बोलीचालीको भाषामा बाइबल अनुवाद भयो भने धर्म विरोधीहरूको बिगबिगी हुन सक्छ भन्‍ने डर थियो तिनीहरूलाई। इतिहासकार मासिमो फिरपोले भनेअनुसार “बोलीचालीको भाषा प्रयोग गर्नुको [मतलब] धार्मिक विषयमा एकाधिकार जमाउन पादरीहरूले चलाइरहेको भाषिक तगारो [ल्याटिन भाषा] हटाइनु बराबर थियो।” यस्ता सांस्कृतिक, धार्मिक र सामाजिक पक्षहरूले गर्दा बाइबलको शिक्षाबाट सर्वसाधारण वञ्चित हुनुपरेको थियो र इटालीमा अझै पनि यस्तो अवस्था विद्यमान छ।

पहिलो चोटि बाइबलको केही अंश अनुवाद हुन्छ

तेह्रौं शताब्दी लागेपछि ल्याटिन भाषाबाट इटालियन भाषामा पहिलो चोटि बाइबलको केही अंश अनुवाद भयो। आंशिक रूपमा अनुवाद भएका यस्ता प्रतिहरू हातैले सारिने हुँदा निकै महँगो पर्थ्यो। चौधौं शताब्दीमा बाइबलका पुस्तकहरू भटाभट अनुवाद हुन थालेपछि लगभग-लगभग सम्पूर्ण बाइबल नै बोलीचालीको भाषामा उपलब्ध भयो। विभिन्‍न समय र ठाउँमा विभिन्‍न मानिसले बाइबलका ती पुस्तकहरू अनुवाद गरेका थिए। नाउँ नखुलाइएका अनुवादकहरूले अनुवाद गरेका ती बाइबलहरू हुनेखाने र शिक्षित वर्गले मात्र किनेर पढ्‌न सक्थे। इतिहासकार जिजलिओला फ्रागनिटोको भनाइअनुसार छापाखाना सञ्चालनमा आएपछि पुस्तक पुस्तिका तथा बाइबलको मूल्य स्वात्तै घट्यो तरैपनि “थोरै व्यक्‍तिहरूले मात्र बाइबल पाउन सके।”

शताब्दीयौंसम्म पनि इटालीका अधिकांश जनता शिक्षाको उज्यालोबाट वञ्चित थिए। सन्‌ १८६१ मा इटाली एकीकरण हुँदा समेत ७४.७ प्रतिशत जनता अझै पनि अशिक्षित थिए। इटालीको नयाँ सरकारले सबैको लागि शिक्षा निश्‍शुल्क र अनिवार्य बनाउने योजना बनाइरहेकै बेला सन्‌ १८७० मा पोप पायस नवौंले त्यस्तो कानुन पारित नगर्न आग्रह गर्दै राजालाई पत्र लेखे। पोप पायसले त्यस कानुनलाई “क्याथोलिक स्कूलहरू तहसनहस पार्ने” उद्देश्‍यले बनाइन लागेको “महामारी” भन्‍ने संज्ञा दिए।

इटालियन भाषामा पहिलो बाइबल

युरोपमा पहिलोपल्ट मुभेवल टाइप प्रविधिको छापाखाना सञ्चालन गरिएको करिब १६ वर्षपछि सन्‌ १४७१ मा इटालियन भाषामा पहिलो बाइबल भेनिसमा प्रकाशित भयो। कामालडोलिस्‌ मङ्‌क, निकोलो मालेरबीले आठ महिनाभित्रै बाइबल अनुवाद गरिसिध्याएका थिए। अनुवाद गर्ने सिलसिलामा पहिले नै अनुवाद भइसकेका बाइबलहरू तिनले धेरै चोटि हेरे। यसबाहेक, ल्याटिन भल्गेट-लाई आधार मानेर तिनले ती पुराना बाइबलहरूमा संशोधन गर्नुका साथै आफू बस्ने ठाउँ भेनेसियाका मानिसहरूले चलाउने शब्दहरू पनि प्रयोग गरे। इटालियन भाषामा पहिलो चोटि छापिएको बाइबल तिनकै अनुवाद थियो र त्यो बाइबल सबैभन्दा धेरै वितरण भयो।

भेनिसमा बाइबल अनुवाद गर्ने अर्का व्यक्‍ति थिए, आन्टोनियो ब्रुचोली। प्रोटेस्टेन्ट विचारधाराका तिनी एक मानवशास्त्री थिए। तर तिनले औपचारिक रूपमा क्याथोलिक चर्चमा कहिल्यै राजीनामा बुझाएनन्‌। सन्‌ १५३२ मा ब्रुचोलीले मूल हिब्रू र युनानीबाट बाइबल अनुवाद गरे। मूल भाषाहरूबाट इटालियन भाषामा अनुवाद गरिएको त्यो पहिलो बाइबल थियो। त्यस अनुवादमा प्रयोग भएको भाषा त्यति उत्कृष्ट त छैन तरैपनि प्राचीन भाषाहरूबारे त्यसबखत थाह भएको सीमित ज्ञानको भरमा मूल बाइबलका कुरा दुरुस्त अनुवाद गर्नु मामुली कुरा भने पक्कै होइन। अनुवाद गरिएको बाइबलको कुनै-कुनै संस्करणमा ब्रुचोलीले कतै-कतै परमेश्‍वरको नाउँ “ईवोभा” प्रयोग गरेका छन्‌। तिनले अनुवाद गरेको बाइबल इटालियन प्रोटेस्टेन्ट तथा शरणार्थी इटालियन प्रोटेस्टेन्टहरूमाझ झन्डै एक शताब्दीसम्म लोकप्रिय रह्‍यो।

इटालियन भाषाका अरू अनुवादहरू पनि प्रकाशित भए। कतिपय ती अनुवादहरू क्याथोलिकहरूले प्रकाशित गरेका थिए। तर नढाँटी भन्‍ने हो भने, ती अनुवादहरू ब्रुचोलीले अनुवाद गरिसकेका बाइबलका संशोधित संस्करणहरू मात्र थिए। ती अनुवादहरूमध्ये कुनै पनि त्यति धेरै वितरण हुन सकेन। क्याल्भिनिस्ट पास्टर जोभानी डिओडेटले सन्‌ १६०७ मा मूल भाषाका बाइबलबाट इटालियन भाषामा अर्को अनुवाद जेनेभामा प्रकाशित गरे। तिनका आमाबाबु धार्मिक सतावटबाट बच्न स्वीट्‌जरल्याण्ड भागेका थिए। तिनले अनुवाद गरेको बाइबल इटालियन प्रोटेस्टेन्टहरूले शताब्दीयौंसम्म प्रयोग गरे। त्यस बाइबललाई उसबेला सर्वोत्कृष्ट इटालियन अनुवाद मानिन्थ्यो। डिओडेटले अनुवाद गरेको बाइबलले इटालीका मानिसहरूलाई बाइबलको शिक्षा बुझ्न मदत गऱ्‍यो। तर डिओडेटको बाइबल र अरू बाइबल अनुवादहरूमा आफूलाई आपत्तिजनक लागको कुरामाथि पादरीहरूले प्रतिबन्ध लगाए।

बाइबल—“एउटा रहस्यमय पुस्तक”

“बाइबल अनुवादहरूमा चर्चले कडा निगरानी राख्यो। तर छापाखानाको आविष्कार हुनुभन्दा अघिसम्म चर्चले प्रतिबन्धित पुस्तकहरूको सूची बनाइराख्नुपर्ने आवश्‍यकता देखेको थिएन किनभने खतरनाक ठानिएका लेखोटहरूलाई जलाएर नष्ट गरिन्थ्यो” भनी इन्साइक्लोपीडिया क्याटोलिका बताउँछ। प्रोटेस्टेन्ट धर्म-सुधार आन्दोलन सुरु भएपछि पनि तथाकथित धर्मविरोधी पुस्तकहरू बिक्री-वितरण गर्न नदिन थुप्रै युरोपेली देशका पादरीहरू लागिपरे। सन्‌ १५४६ मा बसेको काउन्सिल अफ ट्रेन्टको सभामा बोलीचालीको भाषामा बाइबल अनुवाद गर्ने कि नगर्ने भन्‍ने प्रश्‍नमाथि छलफल भएपछि ठोस निर्णय गर्नुपर्ने बेला आयो। सभामा दुई खाले विचारधारा देखियो। प्रतिबन्ध लगाउनुपर्छ भन्‍ने व्यक्‍तिहरूको तर्क थियो—बोलीचालीको भाषामा अनुवाद गरिएको बाइबल “सम्पूर्ण धर्मविरोधी तत्त्वहरूको जड” हो। तर प्रतिबन्ध लगाउनु हुँदैन भन्‍नेहरूको तर्क थियो—प्रतिबन्ध लगायो भने हाम्रा “शत्रु” प्रोटेस्टेन्टहरूले भन्‍नेछन्‌ आफ्नो “कपट अनि कुकर्म” ढाकछोप गर्न क्याथोलिक चर्चले बोलीचालीको भाषामा बाइबल अनुवाद गर्न रोक लगायो।

दुवै पक्ष सहमतिमा आउन नसकेपछि काउन्सिलले यस विषयमा कुनै ठोस निर्णय गर्न सकेन तर भल्गेट नै सही छ भनेर मान्यता दियो। त्यही भल्गेट-लाई क्याथोलिक चर्चले आफ्नो आधिकारिक बाइबलको रूपमा प्रयोग गर्न थाल्यो। तर रोमको पोन्टिफिकल युनिभर्सिटी सेल्स्यानमका शिक्षक कारलो बजेटीका अनुसार भल्गेट-लाई “सत्य” ठहर गर्नुको मतलब “वास्तवमा भल्गेट मात्र आधिकारिक बाइबल हो भने सरह थियो।” समयले त्यही कुरा पुष्टि गऱ्‍यो।

सन्‌ १५५९ मा पोप पल चौथोले प्रतिबन्धित पुस्तकहरूको पहिलो सूची निकाले। क्याथोलिकहरूलाई ती प्रतिबन्धित पुस्तकहरू पढ्‌न, बेच्न, अनुवाद गर्न वा घरमा राख्न मनाही गरिएको थियो। ती पुस्तकहरूलाई हानिकारक तथा विश्‍वास कमजोर पार्ने र नैतिकतामा ह्रास ल्याउने पाठ्यसामग्रीको संज्ञा दिइयो। त्यस सूचीमा ब्रुचोलीले अनुवाद गरेको बाइबल र बोलीचालीको भाषामा अनुवाद भएका अरू बाइबल पढ्‌न पनि निषेध गरिएको थियो। भनेको नसुन्‍नेलाई चर्चबाट बहिष्कार गरियो। सन्‌ १५९६ मा निकालिएको सूची झनै कडा थियो। बोलीचालीको भाषामा बाइबल अनुवाद गर्ने वा छाप्ने अधिकार खोसियो। बोलीचालीको भाषामा अनुवाद भएका बाइबलहरूलाई जलाएर नष्ट गर्नुपर्ने थियो।

फलस्वरूप, १६ औं शताब्दीको अन्तमा धेरै चर्चको हाताभित्र बाइबल जलाउन थालियो। सर्वसाधारणको मनमा धर्मशास्त्र एउटा धर्मविरोधी पुस्तक रहेछ भन्‍ने छाप पऱ्‍यो र आजसम्म पनि त्यस्तो सोचाइ हट्‌न सकेको छैन। सार्वजनिक र निजी पुस्तकालयहरूमा भएका प्रायजसो सबै बाइबल तथा बाइबलसम्बन्धी पुस्तक पुस्तिकाहरू बटुलेर नष्ट गरियो। आउँदो २०० वर्षसम्म कुनै पनि क्याथोलिकले इटालियन भाषामा बाइबल अनुवाद गर्न नपाउने नियम बन्यो। इटालियन प्रायद्वीपमा बिक्री-वितरण भएको एउटै मात्र बाइबल थियो—प्रोटेस्टेन्ट बाइबलविद्‌हरूले अनुवाद गरेको बाइबल। त्यै पनि जफत होला भन्‍ने डरै-डरमा लुकीछिपी बिक्री-वितरण गर्नुपर्थ्यो। त्यसैकारण इतिहासकार मारियो चेनयोनी भन्छन्‌: “त्यस्तो अवस्था सृजना भएपछि चर्चका साधारण सदस्यहरूले शताब्दीयौंसम्म बाइबल पढ्‌न पाएनन्‌। बाइबल एउटा रहस्यमय पुस्तक बन्‍न पुग्यो र बाइबलको एक शब्द नपढी लाखौं इटालियन जनताको जीवन बित्न थाल्यो।”

प्रतिबन्ध अलि खुकुलो हुन्छ

सन्‌ १७५७ जून १३ तारिखका दिन सूचीबारे जारी गरिएको अध्यादेशमा उल्लिखित पहिलेको नियमलाई पछि पोप बेनेडिक्ट चौधौंले हेरफेर गरे अनि “पोपहरूले स्वीकृति दिएका बोलीचालीका बाइबलहरू पढ्‌ने र विशपहरूको निर्देशनमा ती छाप्ने अनुमति दिए।” फलस्वरूप, पछि फ्लोरेन्सको आर्कविशप बनेका आन्टोनियो मारटिनीले भल्गेट अनुवाद गर्ने चाँजोपाँजो मिलाए। सन्‌ १७६९ मा भल्गेट-को पहिलो भाग प्रकाशित भयो भने, सिंगो बाइबलचाहिं सन्‌ १७८१ मा अनुवाद गर्न सिद्धियो। एउटा क्याथोलिक स्रोतले बताएअनुसार मारटिनीको अनुवाद “साँच्चै उल्लेख गर्न लायक पहिलो इटालियन बाइबल थियो।” त्यो अनुवाद प्रकाशित हुनुभन्दा अघिसम्म चर्चले पढ्‌न छुट दिएको बाइबल ल्याटिन भाषा नबुझ्ने क्याथोलिकहरूले पढ्‌न सक्दैन थिए। त्यसपछि १५० वर्षसम्म मारटिनीले अनुवाद गरेको बाइबल नै इटालियन क्याथोलिकहरूका लागि आधिकारिक बाइबल बन्यो।

परिवर्तनको त्यो कुरा भ्याटिकन द्वितीयको संयोजकत्वमा गठित एकता परिषद्‌सम्म पुग्यो। सन्‌ १९६५ मा परिषद्‌ले गरेको निर्णयको दस्तावेज डेई भेरबम-मा पहिलो चोटि “मूल भाषाको पवित्र बाइबलबाट विभिन्‍न भाषामा उपयुक्‍त अनि सही अनुवाद गर्न” प्रोत्साहन दिइएको थियो। सन्‌ १९५८ साल लाग्नुभन्दा केही समयअगाडि पोन्टिफिसल बिब्लिकल इन्स्टिच्युटले “मूल भाषाको बाइबलबाट पहिलो चोटि सिंगो क्याथोलिक अनुवाद” प्रकाशित गरेको थियो। त्यस संस्करणमा कतै-कतै परमेश्‍वरको नाउँ “याभे” उल्लेख गरियो।

बोलीचालीको भाषामा बाइबल अनुवाद गर्न जुन रोक लगाइयो त्यसले निकै डरलाग्दो असर पाऱ्‍यो र त्यसले पुऱ्‍याएको असर आजसम्म पनि हट्‌न सकेको छैन। गिगलिओला फ्रागनिटोको भनाइअनुसार त्यसले गर्दा “मसीहीहरूले आफ्नो सोच्ने क्षमतामा शङ्‌का गर्न थाले र आफ्नो अन्तस्करणको आवाजलाई बेवास्ता गरे।” त्यसमाथि धार्मिक परम्पराहरूको बोझ त छँदै थियो। क्याथोलिकहरू यस्ता परम्परालाई बाइबलको शिक्षाभन्दा बढी महत्त्व दिन्छन्‌। यस्ता कुराले गर्दा अहिले इटालीका अधिकांश मानिसहरू लेखपढ गर्न सक्ने भइसके तापनि बाइबलको शिक्षाबाट भने अझै पनि वञ्चित छन्‌।

तर यहोवाका साक्षीहरूको प्रचारकार्यले इटालियन भाषामा अनुवाद भएको बाइबलबारे सबैको मनमा खुल्दुली मच्चाएको छ। सन्‌ १९६३ मा यहोवाका साक्षीहरूले इटालियन भाषामा न्यु वर्ल्ड ट्रान्सलेसन अफ द क्रिश्‍चियन ग्रीक स्क्रीप्चर्स्‌ प्रकाशित गरे। सन्‌ १९६७ मा हिब्रू धर्मशास्त्र पनि अनुवाद भएपछि सिंगो बाइबल नै प्रकाशित भयो। यस संस्करणको ४० लाखभन्दा बढी प्रति त इटालीमै मात्र वितरण भइसक्यो। न्यु वर्ल्ड ट्रान्सलेसन-मा परमेश्‍वरको नाउँ यहोवा प्रयोग गरिएको छ। मूल भाषाको बाइबलको अर्थलाई यस अनुवादमा दुरुस्त उतार्ने प्रयास गरिएको छ।

यहोवाका साक्षीहरू घर-घर गई प्रचार गर्छन्‌। सुन्‍नेहरूलाई बाइबलमा बताइएको आशाको सन्देश पढेर अनि व्याख्या गरेर सुनाउँछन्‌। (प्रेरित २०:२०) कुनै समय यहोवाका साक्षीहरूसित तपाईंको भेट भयो भने, “धार्मिकताले बास” गर्ने “नयाँ पृथ्वी” चाँडै स्थापना गर्ने परमेश्‍वरको अद्‌भुत प्रतिज्ञाबारे तपाईंकै बाइबल खोलेर देखाइदिन उनीहरूलाई आग्रह गर्नुभए कसो होला?—२ पत्रुस ३:१३.

[पृष्ठ १३-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

भेनिस

रोम

[पृष्ठ १५-मा भएको चित्र]

ब्रुचोलीले आफ्नो अनुवादमा परमेश्‍वरको नाउँ “ईवोभा” प्रयोग गरे

[पृष्ठ १५-मा भएको चित्र]

प्रतिबन्धित पुस्तकहरूको सूचीमा बोलीचालीको भाषामा अनुवाद गरिएको बाइबललाई खतरनाक पुस्तक भनिएको थियो

[पृष्ठ १३-मा भएको चित्रको स्रोत]

Bible title page: Biblioteca Nazionale Centrale di Roma

[पृष्ठ १५-मा भएको चित्रको स्रोत]

Brucioli’s translation: Biblioteca Nazionale Centrale di Roma; Index: Su concessione del Ministero per i Beni e le Attività Culturali