‘कैदीहरूलाई छुटकाराको घोषणा गर्नुहोस्’
‘कैदीहरूलाई छुटकाराको घोषणा गर्नुहोस्’
मैले ‘कैदीहरूलाई पनि छुटकाराको घोषणा गर्नुपर्छ’ भनेर येशूले आफ्नो सेवकाईको थालनीमा बताउनुभयो। (लूका ४:१८) आफ्नो गुरुको उदाहरण अनुसरण गर्दै साँचो मसीहीहरू पनि ‘सबै मानिसहरूलाई’ राज्यको सुसमाचार प्रचार गर्छन्, जुन सुसमाचारले उनीहरूलाई आध्यात्मिक अन्धकारबाट बाहिर निस्कन र उनीहरूको जीवन सपार्न मदत गर्छ।—१ तिमोथी २:४.
आज, विभिन्न अपराधको अभियोगमा प्रकाउ परेका र आध्यात्मिक अन्धकारबाट बाहिर निस्कन चाहनेहरूलाई सुसमाचार प्रचार गर्नु परेको छ। युक्रेन र युरोपका अरू ठाउँका जेलहरूमा यहोवाका साक्षीहरूले गरेको प्रचार गतिविधिबारे यो प्रोत्साहनदायी रिपोर्ट प्रस्तुत गर्दैछौं, तपाईंहरूका लागि।
लागूऔषध दुर्व्यसनी मसीही बने
अठतीस वर्षका सेरहीले a २० वर्ष त जेलको चिसो छिंडीमा बिताइसकेका छन्। तिनले जेलमा बस्ताबस्तै स्कूलको पढाइ पनि सिध्याए। तिनी भन्छन्: “हत्याको अभियोगमा वर्षौंअघि म प्रकाउ परेको थिएँ र सजायको म्याद सिद्धिन अझै बाँकी छ। म जेलको दादा थिएँ र मेरो नाउँ सुन्नासाथ अरू कैदीहरू थर्कमान हुन्थे।” दादागिरी देखाउँदा के तिनले स्वतन्त्र महसुस गर्न सके? के सक्नु! त्यसैकारण त सेरही धेरै वर्षसम्म लागूऔषध, रक्सी र चुरोटको नशामा डुबे।
त्यतिकैमा एक दिन सँगी कैदीले तिनलाई बाइबलको सत्य कुरा बताए। त्यो बाइबल सच्चाइ अन्धकारमा दियो बलेझैं थियो। केही महिनापछि नै तिनले सारा कुलत त्यागे, सुसमाचार प्रचार गर्न थाले र बप्तिस्मा लिए। अहिले त सेरही पूर्ण-समय प्रचारक भएका छन् र अरू कैदीहरूलाई प्रचार गर्न तिनलाई भ्याइ-नभ्याई छ। तिनले सात जना अपराधीलाई सुध्रिन र आफ्ना आध्यात्मिक भाइहरू बन्न मदत गरिसकेका छन्। तीमध्ये छ जना जेलबाट छुटिसके तर सेरही भने अझै जेलमै छन्। तर तिनले नमीठो मानेका छैनन् किनभने आध्यात्मिक अन्धकारबाट बाहिर निस्कन अरूलाई मदत गर्न सकेकोमा तिनी खुसी छन्।—प्रेरित २०:३५.
जेलमा छँदा सेरहीले बाइबल अध्ययन गराएका एक व्यक्ति थिए, भिक्टर। लागूऔषध ओसार-पसार र सेवन गरेको अभियोगमा तिनी पक्राउ परेका थिए। जेलबाट छुटेपछि पनि भिक्टरले आध्यात्मिक प्रगति गरिरहे र युक्रेनमा आयोजित मिनिस्टेरियल ट्रेनिङ स्कूलमा भाग लिए। अहिले त तिनी मोल्डोभामा विशेष अग्रगामीको रूपमा सेवा गर्दैछन्। हिब्रू ४:१२.
भिक्टर भन्छन्: “आठ वर्षको हुँदा मैले चुरोट तान्न थालें। बाह्र वर्षको हुँदा रक्सी स्वाट-स्वाट पार्न थालें र १४ वर्षको हुँदा त लागूऔषध पनि सेवन गर्न थालिसकेको थिएँ। म आफ्नो जीवन सुधार्न चाहन्थें तर लाख कोसिस गर्दा पनि अहँ, सकिनँ। सन् १९९५ मा मेरी पत्नी र मैले खराब संगत चटक्क त्यागेर अन्त कतै बसाइँ सर्ने योजना बनाइरहेकै बेला एक जना हमीसिडल मेनियाकले मेरी पत्नीलाई चुपीले रोपेर मारिदियो (हमीसिडल मेनियाक यस्तो मानसिक रोगी हो, जसको मनमा अरूलाई मार्न पाए हुन्थ्यो भन्ने अनियन्त्रित इच्छा खेलिरहन्छ)। मेरो जीवनमा ठूलो पहिरो गयो। ‘मेरी पत्नी कहाँ छिन्? मानिस मरेपछि के हुन्छ?’ भन्ने प्रश्नले मलाई बिझाइरह्यो तर जवाफ पाउँदै-पाइनँ। जिन्दगीमा छाएको शून्यता पुर्न म झनै बढी लागूऔषधमा भर पर्न थालें। लागूऔषध ओसारपसार गरेकोमा म प्रकाउ परें र पाँच वर्षको जेल सजाय पाएँ। जेलमा छँदा सेरहीले मलाई मेरा प्रश्नहरूको जवाफ दिए। पहिला पनि लागूऔषध छोड्न अनेक प्रयास नगरेको होइन तर बाइबलबाट मदत पाएपछि मात्र बल्ल मैले साँच्चै ती कुलत त्याग्न सकें। परमेश्वरको वचन साँच्चै शक्तिशाली रहेछ!”—खुँखार अपराधीहरू सुध्रिन्छन्
भसिलले कहिल्यै लागूऔषध सेवन गरेनन् तैपनि तिनी एक किसिमको कैदमा थिए। तिनी भन्छन्: “किकबक्सिङ भनेपछि म मरिमेट्थें। घाउचोट नलाग्ने गरी मैले अरूलाई हिर्काउन सिकें।” भसिल मानिसहरूलाई पिटपाट गरेर लुट्थे। “तीन चोटि जेलमा परेपछि त मेरी पत्नीले पनि मसँग छुटानाम गरिन्। पछिल्लो पाँच वर्षे जेल सजाय काटिरहेको बेला यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रकाशन मैले प्राप्त गरें। ती पढेपछि मलाई बाइबल पढ्न मन लाग्यो तर मलाई असाध्यै मनपर्ने खेल किकबक्सिङ भने अझ छोड्न सकेको थिइनँ।
“तैपनि बाइबल पढ्न थालेको छ महिनापछि ममा एक किसिमको परिवर्तन आयो। किकबक्सिङ खेलमा अरूलाई ढाल्दा कुनै समय म जुन सन्तुष्टि पाउँथें अब मलाई त्यस्तो लाग्न छोड्यो। यशैया २:४ मा बताइएको कुरा मनमा राख्दै मैले आफ्नो जीवन केलाएर हेरें र आफ्नो सोचाइ बदलिनँ भने जीवनका बाँकी दिनहरू पनि जेलमै बित्नेछन् भन्ने निष्कर्षमा पुगें। त्यसकारण मैले किकबक्सिङका सबै सरसामान मिल्काइदिएँ र आफ्नो व्यक्तित्वमा सुधार ल्याउन थालें। यसो गर्नु कम्ता गाह्रो भएन तर मनन अनि प्रार्थनाले मलाई बिस्तारै नराम्रो बानीबेहोरा छोड्न मदत गऱ्यो। कहिलेकाहीं त मैले ‘हे यहोवा, नराम्रो बानी छोड्न मलाई मदत गर्नुहोस्’ भनेर रूँदै बिन्तीसमेत गरें। अन्तमा नराम्रो बानी छोड्न म सफल भइछाडें।
“पहिला लथालिङ्ग भएको मेरो परिवार म जेलबाट छुटेपछि फेरि एकजुट भयो। अहिले म कोइला खानीमा काम
गर्छु। यहाँ काम गरेको कारण मेरी पत्नी र मैले अरूलाई प्रचार गर्न र मण्डलीका जिम्मेवारीहरू पूरा गर्न प्रशस्त समय पाएका छौं।”मिकोला अनि तिनका साथीहरूले युक्रेनका थुप्रै बैंकहरू लुटे। फलस्वरूप, मिकोलालाई दस वर्षको जेल सजाय सुनाइयो। पक्राउ पर्नुअघि तिनी एक चोटि चर्च गएका थिए, त्यो पनि चर्च लुट्नको लागि योजना बनाउन। आफ्नो योजनाअनुसार तिनले चर्च लुट्न त सकेनन् तर चर्च गएपछि तिनलाई लाग्यो, बाइबल पक्कै पनि अर्थोडक्स पादरीहरू, चर्चमा बालिने मैनबत्ती र धार्मिक चाडबारे लेखिएका झुर कथाहरूको सँगालो होला। तिनी भन्छन्: “थाह छैन किन हो, मैले बाइबल पढ्न थालें। बाइबलबारे मैले जे कल्पना गरेको थिएँ, त्यस्तो केही नपाउँदा म त जिल्ल परें!” तिनी बाइबल अध्ययन गर्न राजी भए र सन् १९९९ मा बप्तिसमा लिए। अहिले मिकोलालाई हेर्दा यी नम्र सेवकाई सेवक एक समय बैंक लुट्ने डाँका थिए भनेर कसैलाई पत्यार लाग्दैन!
भ्लादिमिरलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। सजायको दिन पर्खंदै गर्दा तिनले परमेश्वरलाई प्रार्थना गरे र सजायबाट बचेको खण्डमा उहाँको सेवा गर्ने वचन दिए। कस्तो अचम्म! उत्ति नै खेर त्यस देशको कानुन परिवर्तन भयो र तिनले पाएको मृत्युदण्डको सजाय आजीवन कैदमा परिणत भयो। आफ्नो वचनअनुसारै भ्लादिमिरले साँचो धर्म खोज्न थाले। तिनले पत्राचारमार्फत एड्भेन्टिस्ट चर्चबाट डिप्लोमा गरे तरैपनि तिनी सन्तुष्ट भने भएनन्।
तर जेलको पुस्तकालयमा प्रहरीधरहरा अनि ब्यूँझनुहोस्! पत्रिका पढेपछि भ्लादिमिरले मलाई भेट्न कोही पठाइदिनुहोस् भनेर युक्रेनस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई पत्र लेखे। भाइहरू तिनलाई भेट्न जाँदा थाह लाग्यो कि तिनले त आफूलाई यहोवाको साक्षी ठानिसकेका र जेलमा प्रचार गर्न पनि थालिसकेका रहेछन्। प्रकाशक हुन तिनलाई मदत गरियो। यो रिपोर्ट तयार पारुन्जेलसम्ममा त्यस जेलका भ्लादिमिर अनि अरू सात जना प्रकाशक बप्तिस्मा लिन तम्तयार भइसकेका छन्। तर एउटा समस्या छ। आजीवन कैद सजाय पाएका कैदीहरूलाई उनीहरूको धार्मिक आस्थाअनुसार राखिने भएकोले भ्लादिमिर अनि तिनका सँगी कैदीहरू एउटै कोठामा छन्। परेन फसाद? अब कसलाई प्रचार गर्ने? उनीहरू जेलका सुरक्षाकर्मीहरूलाई प्रचार गर्छन् र चिठी लेखेर पनि साक्षी दिन्छन्।
नाजर युक्रेनबाट चेक गणतन्त्र बसाइँ सरेका थिए। त्यहाँ रहँदा-बस्दा तिनी चोरहरूको संगतमा लागे। फलस्वरूप, तिनले साढे तीन वर्षको जेल सजाय पाए। जेलमा छँदा तिनले कारलोभी भारी सहरबाट आएका यहोवाका साक्षीहरूको कुरा सुने, सच्चाइ सिके र सुध्रिए पनि। नाजर सुध्रिएको देखेर एक जना सुरक्षा गार्डले नाजरका सँगी कैदीहरूलाई यसो भने: “तिमीहरू पनि त्यो युक्रेनीजस्तै सुध्रिएको भए म अर्कै जागिर खोज्थें।” अर्को गार्डले चाहिं यसो भने: “यहोवाका साक्षीहरूलाई साँच्चै मान्नै पर्छ बा! अपराधी भएर आएको व्यक्तिलाई जेलबाट छुट्ने बेलासम्ममा क्या भलाद्मी बनाइसकेका हुन्छन्।” जेलबाट छुटेपछि नाजरले सिकर्मी काम सिके, विवाह गरे अनि अहिले त तिनी र तिनकी पत्नी पूर्ण-समय सेवकाईमा लागेका छन्। यहोवाका साक्षीहरूले जेलमा प्रचार गरेकोमा तिनी औधी कृतज्ञ छन्।
अफिसरहरूले पनि मानिलिए
यहोवाका साक्षीहरूले गर्ने कामको मूल्याङ्कन कैदीहरूले मात्र गरेका होइनन्। पोल्याण्डको एउटा जेलका प्रवक्ता मिरोसल कोल्स्कीले यसो भने: “यहोवाका साक्षीहरू हाम्रो जेलमा आउँछन्, हामीलाई साह्रै खुसी लाग्छ। केही कैदीहरू दुःखलाग्दो परिवेशमा हुर्केजस्तो देखिन्छ। सायद तिनीहरूलाई कहिल्यै राम्रो व्यवहार गरिएन होला। . . . [साक्षीहरूले] जे-जति मदत गर्छन्, त्यसको हामी धेरै मोल गर्छौं किनभने हामीसित कैदीहरूलाई यसरी मदत गर्ने अथवा सिकाउने व्यक्तिहरू नै छैनन्।”
पोल्याण्डको अर्को जेलका जेलरले आफ्नो जेलमा प्रचार गर्न साक्षीहरू पठाइदिनुहोस् भन्दै यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई पत्र लेखे। किन? तिनले कारण खुलाए: “वाचटावरका प्रतिनिधिहरू लगातार आएर प्रचार गर्दा कैदीहरूले आपसी मनमुटाव बिर्सेर समाजमा काम लाग्ने गुणहरू विकास गर्ने मदत पाउँछन्।”
आत्माहत्या गर्न खोजेका निराश कैदीलाई यहोवाका साक्षीहरूले मदत गरेको विषयमा एउटा युक्रेनी खबरपत्रिकामा यस्तो समाचार छापिएको थियो: “अहिले यी कैदी भावनात्मक रूपमा बिस्तारै निको हुँदैछन्। तिनी जेलको तालिकाअनुसार चल्छन् र अरू कैदीहरूका लागि नमुना बनेका छन्।”
जेलबाट छुटेपछि पनि मदत
जेलमा छँदा मात्र कैदीहरूले यहोवाका साक्षीहरूको कामबाट लाभ उठाएका होइनन्। जेलबाट छुटेपछि पनि तिनीहरूलाई मदत गर्ने काम भइरहेको छ। ब्रिजेट र रिनाट नाउँका
मसीही बहिनीहरूले जेलबाट छुटेका महिलाहरूलाई केही वर्ष अघिदेखि यसरी मदत गरिरहेका छन्। एउटा जर्मन खबरपत्रिका ती मसीही बहिनीहरूबारे यस्तो रिपोर्ट गर्छ: “जेलबाट छुटेको तीनदेखि पाँच महिनासम्म उनीहरू ती कैदीहरूको रेखदेख गर्छन् र उनीहरूलाई जीवनको उद्देश्य खोज्न प्रोत्साहन दिन्छन्। . . . जेलका अफिसरहरूले आधिकारिक रूपमा उनीहरूलाई प्रोबेसन अफिसरहरूको रूपमा स्वयम्सेवा गरिदिन आग्रह गरेका छन् (कुनै अपराधीलाई कैदमा नराखी छुटकारा दिई परीक्षणकालको लागि आफ्नो निरीक्षणअन्तर्गत राख्ने व्यक्तिलाई प्रोबेसन अफिसर भनिन्छ)। . . . उनीहरू जेलका कर्मचारीहरूसित पनि राम्रो व्यवहार गर्छन्।” यस्तो मदत पाएको कारण पहिलेका थुप्रै कैदीहरूले यहोवालाई आफ्नो जीवन समर्पण गरेका छन्।जेलका अफिसरहरूले समेत यहोवाका साक्षीहरूको बाइबल शैक्षिक कार्यक्रमबाट लाभ उठाएका छन्। उदाहरणको लागि, सेनाका मेजर रोमान एउटा युक्रेनी जेलमा कार्यरत मनोवैज्ञानिक थिए। यहोवाका साक्षीहरू तिनको घरमा प्रचार गर्न गएको बेला तिनले बाइबल अध्ययनको प्रस्ताव स्वीकारे। बाइबल अध्ययन गर्ने क्रममा तिनले थाह पाए कि साक्षीहरूलाई तिनी काम गर्ने जेलका कैदीहरूसित भेट्न दिइएको रहेनछ। त्यसकारण कैदीहरूसित कुरा गर्दा बाइबल चलाउन तिनले जेलरसँग अनुमति मागे। तिनलाई अनुमति दिइयो र लगभग दस जना कैदीले चासो देखाए। आफूले आर्जन गरिरहेको बाइबल ज्ञान रोमानले नियमित रूपमा कैदीहरूलाई सुनाए। तिनले जे-जति प्रयास गरे त्यसको साह्रै राम्रो परिणाम भयो। जेलबाट छुटेपछि पनि केही कैदीहरूले आध्यात्मिक रूपमा प्रगति गरे र बप्तिस्माप्राप्त साक्षीहरू भए। परमेश्वरको वचनको शक्ति देखेपछि रोमानाले अझ गहिरिएर बाइबल अध्ययन गरे। तिनले सैन्य सेवा छाडे र बाइबल शैक्षिक कार्यमा निरन्तर लागे। अहिले त तिनी पहिलेका कैदीसँगै मिलेर प्रचार गर्छन्।
एक जना कैदीले यसो भने: “बाइबल, बाइबल प्रकाशनहरू र बाइबल अध्ययनले हामीलाई सम्हालेको छ।” कुनै-कुनै जेलमा बाइबल प्रकाशनहरूको कत्ति खाँचो रहेछ भन्ने कुरा यस भनाइले प्रस्ट पार्छ। युक्रेनको एउटा मण्डली स्थानीय जेलमा हुने बाइबल शैक्षिक गतिविधिबारे यस्तो रिपोर्ट गर्छ: “बाइबल प्रकाशनहरू पुऱ्याइदिएकोमा जेल प्रशासन कृतज्ञ छ। हामी उहाँहरूलाई प्रहरीधरहरा अनि ब्यूँझनुहोस्!-को प्रत्येक अंक ६०-६० प्रति पुऱ्याइदिन्छौं।” अर्को मण्डली पनि यस्तो रिपोर्ट गर्छ: “२० वटा पुस्तकालय भएको एउटा जेलको आध्यात्मिक आवश्यकतालाई हामी ध्यान दिन्छौं। हामी प्रत्येक पुस्तकालयलाई हाम्रा मुख्य-मुख्य प्रकाशन उपलब्ध गराउँछौं। सबै गरेर जम्मा २० बाकस प्रकाशन जेलमा पुऱ्याइदिन्छौं।” कैदीहरूले हरेक अंकबाट लाभ उठाउन सकून् भनेर एउटा जेलका सुरक्षा गार्डहरूले त हाम्रा पत्रिकाहरू फाइल गरेर राख्ने गरेका छन्।
सन् २००२ मा युक्रेनको शाखा कार्यालयले प्रिजन डेस्क अर्थात् जेलहरूबाट प्राप्त भएका पत्रहरू बुझ्ने र आवश्यकताअनुसार बाइबल प्रकाशनहरू पुऱ्याइदिने विभाग स्थापना गऱ्यो। अहिलेसम्ममा यस विभागले लगभग १२० वटा जेलसित सम्पर्क गरिसकेको छ र जेलहरूको आध्यात्मिक आवश्यकतामा ध्यान दिन मण्डलीहरूलाई खटाइसकेको छ। जेलहरूबाट हरेक महिना करिब ५० वटा पत्र प्राप्त हुन्छन् र प्रायजसोले पत्रमा कि त बाइबल प्रकाशन मगाएका हुन्छन् नभए बाइबल अध्ययन गर्न चाहेको कुरा उल्लेख गरेका हुन्छन्।
सँगी मसीहीहरूलाई प्रेरित पावलले यस्तो लेखे: “बन्धनमा हुनेहरूलाई . . . सम्झ।” (हिब्रू १३:३) तिनले विश्वासको खातिर कैदमा परेका व्यक्तिहरूलाई सङ्केत गरिरहेका थिए। आज यहोवाका साक्षीहरू कैदमा परेका सँगी साक्षीहरूलाई सम्झिन्छन्, जेलहरूमा प्रचार गर्न जान्छन् र ‘कैदीहरूलाई छुटकाराको घोषणा गर्छन्।’—लूका ४:१८.
[फुटनोट]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ ९-मा भएको चित्र]
युक्रेनको लेभ्भेफस्थित जेलको पर्खाल
[पृष्ठ १०-मा भएको चित्र]
मिकोला
[पृष्ठ १०-मा भएको चित्र]
भसिल, आफ्नी पत्नी इरयानासित
[पृष्ठ १०-मा भएको चित्र]
भिक्टर