सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क्रिसमस किन मनाइन्छ?

क्रिसमस किन मनाइन्छ?

क्रिसमस किन मनाइन्छ?

धेरैका लागि क्रिसमस, परिवार अथवा साथीभाइसित दुःखसुखको कुरा गर्ने र आपसी सम्बन्धलाई सुमधुर बनाउने समय भएको छ। अरू कतिलाई चाहिं यो चाड येशू ख्रीष्टको जन्मदिन मनाउने र मानिसजातिलाई उद्धार गर्न उहाँले खेल्नुभएको भूमिका सम्झिने समय हो जस्तो लाग्छ। तर तपाईंलाई थाह छ? पहिला-पहिला रूसमा खुलेआम क्रिसमस मनाउन पाइँदैन थियो। अर्थोडक्स चर्चले शताब्दीयौंसम्म धुमधामसँग क्रिसमस मनाए पनि २० औं शताब्दी लागेपछि भने क्रिसमस मनाउन बन्देज लगाइयो। एकाएक त्यस्तो परिवर्तन किन?

सन्‌ १९१७ मा बोल्सेभिक कम्युनिस्ट क्रान्ति सकिनेबित्तिकै सोभियत अफिसरहरूले मुलुकभर नास्तिकवादको खरो नीति लागू गरे। त्यसपछि त न क्रिसमस मनाउन दिइयो न त क्रिसमसको छनक दिने खालका कुनै कामकुरा गर्न। राज्यले क्रिसमस र नयाँ वर्षबारे ‘नचाहिंदो कुरा’ फैलाउन थाल्यो। त्यति मात्र होइन, क्रिसमसमा प्रयोग गरिने स्थानीय प्रतीकहरू; जस्तै: क्रिसमस ट्री र सान्ता क्लज बराबर मानिने रूसको डायड मेरोज अथवा ग्रान्डफादर फ्रस्टको पनि सर्वत्र निन्दा गरियो।

सन्‌ १९३५ मा एउटा यस्तो परिवर्तन आयो जुन परिवर्तनले क्रिसमस मनाउने रूसी परम्परालाई नै उल्टाइदियो। सोभियत अफिसरहरूले ग्रान्डफादर फ्रस्ट, क्रिसमस ट्री अनि नयाँ वर्षलाई फेरि मान्यता दिए—तर अर्कै उद्देश्‍यका लागि। ग्रान्डफादर फ्रस्टले क्रिसमसको दिन होइन तर नयाँ वर्षको दिन उपहारहरू ल्याउने गर्थे रे। क्रिसमस ट्री अब न्यु यर ट्री भयो! यसरी, सोभियत संघका मानिसहरूले मनाउने चाडको उद्देश्‍यमा ठूलो परिवर्तन भयो। फलस्वरूप, क्रिसमसको सट्टा नयाँ वर्ष मनाउन थालियो।

आधिकारिक रूपमा कुनै धार्मिक मान्यता नपाएपछि क्रिसमस पूर्णतया गैर-धार्मिक चाड बन्यो। न्यु यर ट्री धार्मिक सजावटका सामग्रीले होइन तर सोभियत संघको विकासलाई चित्रण गर्ने गैर-धार्मिक सामग्रीले सजाउन थालियो। रूसी खबरपत्रिका भाकरुग स्भेटा (विश्‍वभर) भन्छ: “सोभियत युगको दौडान न्यु यर ट्री सजाउन प्रयोग गरिएका सामग्रीहरूबाट कम्युनिस्ट समाज कसरी विकास भयो भन्‍ने कुराको इतिहास खोतल्न सकिन्छ। सुरु-सुरुमा खरायोको बच्चा, हिउँको चुच्चो टुक्रा र गोलो रोटीका चित्र अनि हँसिया, हतौडा र ट्र्याक्टरका चित्रहरूले न्यु यर ट्री सजाइन्थ्यो। तर पछि ती चित्रहरूको सट्टा खानी कामदार र अन्तरिक्षयात्री, तेल खानीमा प्रयोग गरिने औजार, रकेट अनि चन्द्रमामा प्रयोग हुने रोभर गाडीका चित्रहरू प्रयोग गरिए।”

क्रिसमस नि? त्यो चाड फेरि मनाइएन। बरु, सोभियत सरकारले क्रिसमसको दिन पनि काम गर्नुपर्ने नियम बनायो। क्रिसमस मनाउन चाहनेहरूले एकदमै होस पुऱ्‍याएर मनाउनुपर्थ्यो। सरकारले यसबारे सुइँको पाएमा गम्भीर सजाय भोग्न तयार हुनुपर्थ्यो। हो, २० औं शताब्दीपछि क्रिसमस मनाउनुको उद्देश्‍यमा परिवर्तन आयो। अर्को शब्दमा भन्‍ने हो भने, रूस धार्मिक चाड मनाउने देशदेखि गैर-धार्मिक चाड मनाउने देशमा परिणत भयो।

झनै परिवर्तन

सन्‌ १९९१ मा सोभियत संघ टुक्रिएपछि मानिसहरू स्वतन्त्र भए। राज्यले लादेको नास्तिकवादको नीति पनि खारेज भयो। भर्खरै स्वतन्त्र भएका राज्यहरू धेरै हदसम्म धर्म-निरपेक्ष थिए किनभने राज्य पक्षले चर्चका गतिविधिमा त्यति हस्तक्षेप गरेन। अब आफ्नो धार्मिक आस्थाअनुसार चल्न पाइने भो भनेर धर्ममा आस्था राख्ने मानिसहरू दङ्‌ग परे। उनीहरू फेरि क्रिसमस मनाउन चाहन्थे। तर धेरै समय नबित्दै ती मानिसहरू निराश हुनुपऱ्‍यो। किन?

समयको बेगसँगै क्रिसमस व्यापारीकरण हुँदै गएको छ। साँच्चै भन्‍ने हो भने, पश्‍चिमी मुलुकमा जस्तै रूसमा पनि क्रिसमस व्यापारीहरूका लागि कमाइखाने भाँडो भएको छ। क्रिसमसमा प्रयोग गरिने सजावटका सरसामानहरू ठूलठूला स्टोरहरूमा सबैले देख्ने गरी राखिन्छ। पहिला-पहिला रूसमा ठ्याम्मै नसुनिने पश्‍चिमी शैलीका क्रिसमस सङ्‌गीत तथा क्यारोल अर्थात्‌ क्रिसमसको समयमा गाइने एक प्रकारको धार्मिक गीत अचेल पसल-पसलमा घन्किन थालेका छन्‌। यात्रुवाहक रेल तथा सार्वजनिक यातायातमा क्रिसमसका सरसामानहरूले टम्म भरेको झोला भिरेर सामान बेच्नेहरूको घुइँचो पनि बढ्‌दो छ। यस्तै छ रूसको अवस्था।

यस्तो अचाक्ली व्यापारीकरणलाई आपत्तिजनक नठान्‍ने समेत चाडको अर्को नकारात्मक पाटो अर्थात्‌ रक्सीको दुरुपयोगको कारण हुने गम्भीर परिणामबाट चिन्तित छन्‌। मस्कोस्थित एउटा अस्पतालको इमरजेन्सीमा कार्यरत डाक्टरले भने: “नयाँ वर्षको दिन टुटुल्का र सामान्य चोटपटकदेखि छुरी र गोलीले पारेका घाउहरू देख्नु हाम्रो लागि सामान्य कुरा हो। प्रायजसो ती घाउ घरेलु हिंसा, मात्तिएपछि हुने कुटाकुट अनि सवारी दुर्घटनाको कारण हुने गर्छन्‌।” रूसी विज्ञान प्रतिष्ठानको एउटा शाखाका वरिष्ठ वैज्ञानिकले पनि यसो भने: “रक्सीको कारण मर्नेहरूको संख्या ह्वात्तै बढेको छ। मर्नेहरूको संख्या विशेष गरी सन्‌ २००० मा निकै बढ्यो। आत्महत्या र हत्याको कारण मर्नेहरूको संख्या पनि अकासियो।”

दुःखको कुरा, अर्को कारणले गर्दा पनि रूसमा हुने यस्तो घटनाले विकराल रूप लिएको हो। एउटा रूसी खबरपत्रिकामा “रूसीहरू दुई चोटि क्रिसमस मनाउँछन्‌” भन्‍ने शीर्षकको समाचारमा यस्तो लेखिएको छ: “१० जना रूसीमध्ये १ जनाले दुई चोटि क्रिसमस मनाउँछन्‌। रूसी जनमत संग्रह र बजार अनुसन्धान केन्द्रले लिएको सर्वेक्षणअनुसार सर्वेक्षण लिइएका ८ प्रतिशतले क्याथोलिक क्रिसमस क्यालेन्डरअनुसार डिसेम्बर २५ मा र अर्थोडक्स क्यालेन्डरअनुसार जनवरी ७ तारिखका दिन क्रिसमस मनाउने गरेको पाइयो। . . . अझ कतिलाई चाहिं क्रिसमसको धार्मिक पक्षभन्दा क्रिसमसमा रमाइलो गर्न पाउनु बढी महत्त्वपूर्ण लाग्दो रहेछ।” a

के अचेल मनाइने क्रिसमस र नयाँ वर्षले साँच्चै ख्रीष्टको आदर गर्छ?

क्रिसमस र नयाँ वर्ष मनाएको बेला घिनलाग्दा काम धेरै हुन्छन्‌ भनेर त हामीले बुझिहाल्यौं। तैपनि, कसै-कसैलाई लाग्न सक्छ कि परमेश्‍वर र ख्रीष्टको आदर गर्नेहरूले यस्ता चाड मनाउन छोड्‌नु हुँदैन। परमेश्‍वरलाई खुसी बनाउन खोज्नु राम्रो कुरा हो। तर के क्रिसमस मनाउँदा परमेश्‍वर र ख्रीष्टलाई साँच्चै खुसी लाग्छ त? आउनुहोस्‌, क्रिसमस कसरी मनाउन थालियो, इतिहास पल्टाएर हेरौं।

क्रिसमसबारे सोभियत संघको अडानप्रति जस्तोसुकै धारणा राख्नेले पनि ग्रेट सोभियत इन्साइक्लोपीडिया-मा उल्लिखित यस ऐतिहासिक तथ्यलाई नकार्न सक्दैन: “क्रिसमस . . . ‘मरेपछि फेरि ब्यूँतिने’ मसीहीपूर्व देवीदेवताको उपासनाबाट सापट लिइएको हो। डिसेम्बर २१-२५ भित्र पर्ने मकरसङ्‌क्रान्तिको बेला प्रायजसो किसानहरूले यस्ता देवीदेवताको उपासना गर्थे। किसानहरू प्रकृतिलाई नयाँ जीवन दिने उद्धारक परमेश्‍वरको ‘जन्मदिन’ हरेक वर्ष मनाउँथे।”

इन्साइक्लोपीडियामा उल्लिखित यो तथ्य पनि तपाईंलाई अर्थपूर्ण लाग्न सक्छ: “प्रथम शताब्दीका मसीहीहरूलाई क्रिसमसबारे केही थाह थिएन। . . . चौथो शताब्दीको बीचदेखि भने मसीहीजगत्‌ले सूर्यदेव मिथ्रको नाउँमा मनाइने मकरसङ्‌क्रान्तिसित सम्बन्धित परम्परा पछ्याउन थाल्यो। हुँदा-हुँदा पछि सूर्यदेव मिथ्रको उपासनालाई नै क्रिसमसको रूपमा मनाउन थालियो। रोमका धार्मिक समुदायहरूले सबैभन्दा पहिला क्रिसमस मनाएका थिए। दसौं शताब्दीमा क्रिश्‍चियनधर्म सँगसँगै क्रिसमस मनाउने चलन रूसभरि फैलियो। हो त्यही बेला क्रिश्‍चियनधर्म प्राचीन स्लाभ जातिहरूले जाडो महिनामा मनाउने चाडसित छ्यासमिस हुन पुग्यो। त्यस चाडमा स्लाभहरूले आफ्ना पितृहरूको उपासना गर्थे।”

तपाईंलाई सोध्न मन लाग्ला, ‘डिसेम्बर २५ मा येशू जन्मुभएको थियो भन्‍ने विषयमा परमेश्‍वरको वचन बाइबलचाहिं के भन्छ नि?’ साँच्चै भन्‍ने हो भने, बाइबलमा येशू जन्मुभएको मिति तोकेर बताइएको छैन। जन्मदिन मनाउने कुरा त परै जाओस्‌ आफ्नो जन्मदिनको बारेमा समेत येशूले कहिल्यै चर्चा गर्नुभएन। तर येशू जन्मनुभएको समय ठम्याउन भने बाइबलले हामीलाई मदत गर्छ।

मत्तीको पुस्तक अध्याय २६ र २७ अनुसार, इस्वी संवत्‌ ३३ को मार्च ३१ तारिखदेखि सुरु भएको यहूदी निस्तार चाडको अन्ततिर येशूलाई मृत्युदण्ड दिइएको थियो। लूकाको पुस्तक पढ्यौं भने, येशूले बप्तिस्मा लिएर आफ्नो सेवकाई सुरु गर्नुहुँदा उहाँ लगभग ३० वर्षको हुनुहुन्थ्यो भनेर थाह पाउँछौं। (लूका ३:२१-२३) उहाँको सेवकाई साढे तीन वर्ष लामो थियो। त्यसैकारण, येशूको मृत्यु हुँदा उहाँ त्यस्तै साढे ३३ वर्षको हुनुहुन्थ्यो। इस्वी संवत्‌ ३३ अक्टोबर १ तारिख उहाँ ३४ वर्षको हुनुहुने थियो। लूकाको विवरणअनुसार येशूको जन्म हुँदा गोठालाहरू “चौरमा रहेर राती आफ्नो बगालको हेरचाह” गरिरहेका थिए। (लूका २:८) डिसेम्बरको जाडोमा गोठालाहरू आफ्नो बगालसित बाहिर चौरमा नभएका हुन सक्छन्‌ किनभने यस महिनामा बेतलेहेम आसपासको ठाउँमा हिउँ पर्छ। तर अक्टोबर १ तारिखतिर उनीहरू आफ्नो बगालसित बाहिर चौरमा भएका हुन सक्छन्‌। प्राप्त प्रमाणअनुसार त्यही बेला येशूको जन्म भएको थियो।

उसोभए, नयाँ वर्षबारे के भन्‍न सकिन्छ? हामीले थाह पाइसक्यौं कि यो चाड मनाउँदा निकै निर्लज्ज काम हुनेगर्छ। नयाँ वर्षलाई धार्मिक चाड बनाउने अनेक प्रयास गरिए तापनि यो चाड मनाउनुको पनि कुनै ठोस आधार भने छैन।

क्रिसमसबारे तथ्य कुरा विचार गर्दा ‘येशूको सम्झना, यस चाडको कामना’ भन्‍ने नारा अर्थ न बर्थको लाग्छ। क्रिसमसको नाउँमा हुने व्यापारीकरण र छाडा आचरणका साथै यसको घृणित गैर-मसीही सुरुवात तपाईंलाई चित्त बुझेको छैन भने निराश नहुनुहोस्‌। परमेश्‍वर र ख्रीष्टको आदर गर्ने अनि पारिवारिक बन्धनलाई पनि सुमधुर बनाउने एउटा राम्रो तरिका छ।

परमेश्‍वर र ख्रीष्टको आदर गर्ने सर्वोत्तम तरिका

बाइबल भन्छ, येशू ख्रीष्ट “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनलाई” आउनुभयो। (मत्ती २०:२८) हाम्रो पाप पखाल्न उहाँले खुसीसाथ आफ्नो जीवन अर्पण गर्नुभयो। कसै-कसैलाई लाग्न सक्छ, क्रिसमस मनाएर ख्रीष्टको आदर गर्नुपर्छ। तर हामीले बुझिसक्यौं कि येशू ख्रीष्टसित क्रिसमस र नयाँ वर्षको कुनै सम्बन्ध छैन। त्यति मात्र होइन, यी दुई चाड मूर्तिपूजक चाडपर्वबाट सुरु भएका हुन्‌। यसबाहेक, क्रिसमस भनेपछि मरिहत्ते गर्नेहरू धेरै छन्‌। तर यस चाडको नाउँमा आफ्नो व्यापार-व्यवसाय चकाचक पार्न खोज्नेहरूको पनि कुनै कमी छैन। साथै, क्रिसमसमा परमेश्‍वर अनि ख्रीष्टको अपमान हुने लाजमर्दो काम हुने गरेको छ भनेर पनि हामीले भुल्नु हुँदैन।

त्यसोभए, परमेश्‍वरलाई खुसी पार्न चाहनेहरूले के गर्ने? धर्मशास्त्रसित पटक्क मेल नखाने मानव रीतिथितिअनुसार चलेर धर्म गरें भन्ठान्‍नुको सट्टा इमानदार मानिसले परमेश्‍वर अनि ख्रीष्टको आदर गर्ने सही तरिका पत्ता लगाउने प्रयास गर्नेछ। के हो त्यो सही तरिका र हामीले के गर्नुपर्छ?

ख्रीष्ट स्वयम्‌ यसो भन्‍नुहुन्छ: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌ [“ज्ञान लिऊन्‌,” NW]।” (यूहन्‍ना १७:३) हो, साँच्चै इमानदार व्यक्‍तिले परमेश्‍वर अनि ख्रीष्टलाई कसरी आदर गर्नुपर्छ भन्‍ने विषयमा सही ज्ञान लिन खोज्छ। त्यसपछि उसले त्यो ज्ञान वर्षको कुनै निश्‍चित समयमा मात्र होइन तर आफ्नो दैनिक जीवनमा लागू गर्छ। यसरी इमानदार भई प्रयास गर्ने व्यक्‍तिलाई परमेश्‍वर माया गर्नुहुन्छ किनभने यस्तो प्रयास गर्नेले नै अनन्त जीवनको इनाम पाउँछ।

के तपाईं धर्मशास्त्रअनुसार परमेश्‍वर अनि ख्रीष्टको आदर गर्नेहरूमध्ये आफ्नो परिवार पनि होस्‌ भन्‍ने चाहनुहुन्छ? यहोवाका साक्षीहरूले विश्‍वका लाखौं परिवारलाई बाइबलबाट मूल्यवान्‌ ज्ञान आर्जन गर्न मदत गरेका छन्‌। तपाईंको टोल-छिमेकमा यहोवाका साक्षीहरू बस्छन्‌ भने भेटेर कुरा गर्नुहोस्‌ वा यसै पत्रिकाको पृष्ठ २ मा दिइएको तपाईंलाई पायक पर्ने ठेगानामा यहोवाका साक्षीहरूलाई पत्राचार गर्नुहोस्‌ भनी हामी तपाईंहरूलाई आग्रह गर्दछौं।

[फुटनाट]

a सन्‌ १९१७ अक्टोबर महिनामा बोल्सेभिक क्रान्ति सुरु हुनुभन्दा अघि रूसीहरू पुरानो शैलीको जुलियन क्यालेन्डर प्रयोग गर्थे तर अधिकांश देशहरूले भने ग्रेगोरियन क्यालेन्डर प्रयोग गर्न थालिसकेका थिए। सन्‌ १९१७ मा जुलियन क्यालेन्डर ग्रेगोरियन क्यालेन्डरभन्दा १३ दिनले फरक थियो। बोल्सेभिक क्रान्तिपछि सोभियतहरूले पनि संसारका अरू देशहरूले जस्तै ग्रेगोरियन क्यालेन्डर नै प्रयोग गर्न थाले। तर अर्थोडक्स चर्चले भने जुलियन क्यालेन्डरलाई “परम्परादेखि चलिआएको” क्यालेन्डर भन्दै त्यस क्यालेन्डरमा उल्लिखित चाड-पर्वहरू मनाउन त्यही जुलियन क्यालेन्डर नै चलाइरह्‍यो। रूसीहरू जनवरी ७ तारिख क्रिसमस मनाउँछन्‌ भनेको त तपाईंले सुन्‍नुभएकै होला। तर नझुक्किनुहोस्‌ है! किनभने ग्रेगोरियन क्यालेन्डरको जनवरी ७ भनेको जुलियन क्यालेन्डरमा डिसेम्बर २५ हो। त्यसकारण, थुप्रै रूसीहरूले यस प्रकार क्रिसमस र नयाँ वर्ष मनाउने गर्छन्‌: डिसेम्बर २५ तारिख पश्‍चिमी शैलीको क्रिसमस; जनवरी १ तारिख गैर-धार्मिक नयाँ वर्ष; जनवरी ७ तारिख अर्थोडक्स क्रिसमस; जनवरी १४ तारिख पुरानो शैलीको नयाँ वर्ष।

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

नयाँ वर्ष यसरी मनाउन थालियो

जर्जियन अर्थोडक्स मङ्‌क निडर भई यसो भन्छन्‌

“नयाँ वर्ष मनाउने चलन पुरातन रोममा मनाइने अनेकौं मूर्तिपूजक चाडहरूबाट सुरु भएको हो। मूर्तिपूजक देव जेनसको नाउँमा जनवरी १ मनाउने गरिन्थ्यो र त्यही जेनस देवको नाउँमा जनवरी महिना नामाकरण गरिएको हो। जेनसको मूर्तिमा पछिल्तिर अनि अघिल्तिर फर्केको दुईवटा अनुहार थियो। ती अनुहारहरूको अर्थ थियो, जेनसले विगत र वर्तमान्‌ दुवै देख्न सक्छ। हर्षोल्लासका साथ खानपिन गरेर जनवरी १ तारिख मनाउनेले त्यस वर्षभरि आनन्दसाथ र निरोगी भई जीवन बिताउनेछ भन्‍ने जनविश्‍वास थियो। यही अन्धविश्‍वासको कारण आज पनि मानिसहरू जनवरी १ तारिखको दिन नयाँ वर्ष मनाउने गर्छन्‌। . . . कुनै-कुनै मूर्तिपूजक चाडको बेला मानिसहरूले मूर्तिलाई बलि चढाउँथे। ती कतिपय मूर्तिहरू अनैतिकत कुराका लागि कुख्यात थिए। अरू बेला; जस्तै: जेनस देवताको नाउँमा मनाइने चाडमा मानिसहरू अचाक्ली खान्थे, पिउँथे र निर्लज्ज काम गर्थे। विगतमा हामीले कसरी नयाँ वर्ष मनायौं सो बिर्सेका छैनौं भने, यस मूर्तिपूजक चाडमा हामीले पनि पक्कै भाग लिएका थियौं भनेर मानिलिन कर लाग्छ।”—जर्जियन खबरपत्रिका।

[पृष्ठ ६-मा भएको चित्र]

मसीहीजगत्‌ले सूर्यदेव मिथ्रको उपासना गर्ने परम्परा पछ्याउन थाल्यो

[स्रोत]

Museum Wiesbaden

[पृष्ठ ७-मा भएको चित्र]

डिसेम्बरको जाडोमा गोठालाहरू आफ्नो बगालसित बाहिर चौरमा नभएका हुन सक्छन्‌