सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं कसको आज्ञा मान्‍नुहुन्छ—परमेश्‍वरको कि मानिसहरूको?

तपाईं कसको आज्ञा मान्‍नुहुन्छ—परमेश्‍वरको कि मानिसहरूको?

तपाईं कसको आज्ञा मान्‍नुहुन्छ—परमेश्‍वरको कि मानिसहरूको?

“हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।”—प्रेरित ५:२९.

१. (क) यस अध्ययन लेखको मुख्य पद के हो? (ख) प्रेरितहरूलाई झ्यालखानमा थुन्‍नुको कारण के थियो?

 यहूदी सर्वोच्च अदालतका न्यायाधीशहरू पक्कै मुरमुरिए होलान्‌। नमुरमुरिऊन्‌ पनि किन? कैदीहरू झ्यालखानमा छैनन्‌। केही हप्ताअघि मात्र महासभाले मृत्युदण्डको सजाय सुनाएको येशू ख्रीष्टका प्रेरितहरू नै ती कैदीहरू थिए। अब महासभा उहाँका घनिष्ठ चेलाहरूलाई पनि ठेगान लगाउने सुरमा थियो। तर महासभामा हाजिर गराउन भनी गार्डहरू तिनीहरूलाई लिन जाँदा झ्यालखान त रित्तो हुन्छ। झ्यालखान राम्रोसँग थुनेकै हो। प्रेरितहरूले निर्भयसाथ यरूशलेमको मन्दिरमा येशू ख्रीष्टबारे शिक्षा दिइरहेका छन्‌ भन्‍ने सुइँको पाइहाल्छन्‌ गार्डहरूले। यस्तो शिक्षा दिएकै कारण तिनीहरू प्रकाउ परेका थिए! अब गार्डहरू मन्दिरतिर हानिन्छन्‌, प्रेरितहरूलाई ल्याएर फेरि झ्यालखानमा थुन्छन्‌ र महासभामा हाजिर गराउँछन्‌।—प्रेरित ५:१७-२७.

२. स्वर्गदूतले प्रेरितहरूलाई कस्तो आज्ञा दिए?

स्वर्गदूतले प्रेरितहरूलाई झ्यालखानबाट मुक्‍त गरेका थिए। के तिनीहरूलाई अझै आउने सतावटबाट बचाउन मुक्‍त गरिएको थियो? थिएन। यरूशलेमवासीलाई येशू ख्रीष्टबारे बताउन तिनीहरूलाई मुक्‍त गरिएको थियो। स्वर्गदूतले प्रेरितहरूलाई यस्तो आज्ञा दिए, “जाओ र मन्दिरमा खडा भएर यस जीवनका सारा बात मानिसहरूलाई सुनाओ।” (प्रेरित ५:१९, २०) गार्डहरू मन्दिरमा आइपुग्दा प्रेरितहरूले साँच्चै स्वर्गदूतले भनेअनुसारै गरिरहेका हुन्छन्‌।

३, ४. (क) प्रचार गर्न बन्द गर्ने आदेश दिइँदा पत्रुस र यूहन्‍नाले कस्तो जवाफ दिए? (ख) अरू प्रेरितहरूले नि?

ती दुई अटल प्रचारक प्रेरित पत्रुस र यूहन्‍नालाई पहिला पनि महासभामा हाजिर गराइएको थियो। त्यसैकारण प्रधान न्यायाधीश जोसेफ कैयाफाले उनीहरूलाई कडा शब्दमा यसो भन्दै सम्झाए: “हामीले तिमीहरूलाई यस नाउँमा [येशूको नाउँमा] केही शिक्षा नदिनू भनेर कडा आज्ञा दिएका थियौं, औ हेर, तिमीहरूले आफ्ना शिक्षाले सारा यरूशलेम भरिसक्यौ।” (प्रेरित ५:२८) पत्रुस र यूहन्‍नालाई फेरि महासभामा हाजिर गराइँदा कैयाफाले अचम्म नमान्‍नुपर्ने हो किनभने पहिलोपल्ट प्रचार गर्न बन्द गर्ने आदेश दिंदा ती दुई प्रेरितले यस्तो जवाफ दिएका थिए: “कुन ठीक हो? तपाईंहरूको कुरा सुन्‍नु कि परमेश्‍वरको? सो तपाईंहरू नै विचार गर्नुहोस्‌। किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्‍तैसक्‍तैनौं।” प्राचीन समयका अगमवक्‍ता यर्मियाजस्तै पत्रुस र यूहन्‍ना पनि प्रचार गर्ने आफ्नो जिम्मेवारी पूरा नगरी बस्नै सकेनन्‌।—छड्‌के अक्षर हाम्रो, प्रेरित ४:१८-२०; यर्मिया २०:९.

अब पत्रुस र यूहन्‍नाले मात्र होइन तर भर्खरै छानिएका मत्तियासलगायत बाँकी सबै प्रेरितले महासभासमक्ष आफ्नो अडान प्रस्ट पार्ने मौका पाए। (प्रेरित १:२१-२६) प्रचार नगर्नू भन्‍ने आदेश दिइँदा तिनीहरूले पनि आँटिलो भएर यस्तो जवाफ फर्काए: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।”—छड्‌के अक्षर हाम्रो, प्रेरित ५:२९.

परमेश्‍वरको आज्ञा पालन गर्ने कि मानिसको?

५, ६. प्रेरितहरूले किन अदालतको आदेश पालन गरेनन्‌?

प्रेरितहरू नीतिनियम पालन गर्ने र अदालतको आदेशलाई शिरोपर गर्ने व्यक्‍तिहरू थिए। तर मानिस जत्तिसुकै शक्‍तिशाली भए पनि अर्को व्यक्‍तिलाई परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्न लगाउने अधिकार ऊसँग छैन। यहोवा “सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” (भजन ८३:१८) उहाँ “सारा पृथ्वीको न्यायकर्ता” मात्र होइन, सर्वोच्च कानुनदाता र अनन्तका राजा पनि हुनुहुन्छ। परमेश्‍वरको आज्ञालाई कुल्चन लगाउने अदालतको कुनै पनि आदेश परमेश्‍वरलाई मान्य हुँदैन।—उत्पत्ति १८:२५; यशैया ३३:२२.

यस तथ्यलाई ख्यातिप्राप्त केही कानुनविद्‌हरूले समेत मानिलिएका छन्‌। उदाहरणको लागि, मान्छेले बनाएको कुनै पनि नियम “बाइबलमा उल्लिखित नियमसँग” बाझिनु हुँदैन भनेर १८ औं शताब्दीका विख्यात बेलाइती न्यायाधीश विलियम ब्ल्याकस्टोनले लेखे। त्यस कुरालाई विचार गर्दा, प्रचार नगर्नू भनेर प्रेरितहरूलाई आदेश दिंदा महासभाले आफ्नो हैसियत बिर्सेकै हो। त्यसकारण पनि प्रेरितहरूले त्यो आदेश मान्‍ने कुरै भएन।

७. प्रेरितहरूले प्रचार गरेको देख्दा प्रधान पूजाहारीहरूलाई किन रिसको पारो चढ्यो?

कुनै हालतमा प्रचार गर्न बन्द नगर्ने प्रेरितहरूको दृढ सङ्‌कल्प देख्दा प्रधान पूजाहारीहरूलाई रिसको पारो चढ्यो। स्वयम्‌ कैयाफालगायत पूजाहारीवर्गका केही सदस्य सदुकी थिए र तिनीहरू पुनरुत्थानमा विश्‍वास गर्दैन थिए। (प्रेरित ४:१, २; ५:१७) तरैपनि येशूको पुनरुत्थान भइसक्यो भनेर प्रेरितहरूले बताउन छाडेनन्‌। यसबाहेक, रोमी अख्तियारवालाहरूको निगाह पाउन केही प्रधान पूजाहारीले निकै चापलुसी घसिरहेका थिए। येशूको पुर्पक्ष भइरहेको बेला उहाँलाई आफ्नो राजा मान्‍ने मौका दिइँदा प्रधान पूजाहारीहरूले चिच्च्याउँदै यसो समेत भनेका थिए: “सिजरबाहेक हाम्रा अरू राजै छैन।” (यूहन्‍ना १९:१५) a प्रेरितहरूले येशूको साँच्चै पुनरुत्थान भइसक्यो भनेर मात्र बताएनन्‌ तर येशूको नाउँबाहेक “स्वर्गमनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन, जसबाट हामीले उद्धार पाउनसक्छौं” भन्‍ने शिक्षा पनि दिइरहे। (प्रेरित २:३६; ४:१२) मानिसहरूले पुनरुत्थान हुनुभएका येशूलाई आफ्नो राजा माने भने रोमीहरू आएर “हाम्रा ठाउँ र जातिलाई समेत लैजानेछन्‌” भन्‍ने डर थियो यहूदी नेताहरूलाई।—यूहन्‍ना ११:४८.

८. गमलिएलले महासभालाई कस्तो बुद्धिमानी सल्लाह दिए?

भविष्यमा येशू ख्रीष्टका प्रेरितहरू काँडाको बाटोमा हिंड्‌नुपर्ला जस्तो देखिन्थ्यो। महासभाका न्यायाधीशहरू उनीहरूलाई हरहालतमा मार्न चाहन्थे। (प्रेरित ५:३३) तर घटनाक्रमले चिताउँदै नचिताएको मोड लियो। व्यवस्थाका पण्डित गमलिएल जुरुक्क उठे र हतारमा कुनै निर्णय नगर्न सँगी न्यायाधीशहरूलाई चेतावनी दिए। तिनले यस्तो बुद्धिमानी सल्लाह दिए: “यिनीहरूको यो मत, अथवा यो काम मानिसहरूबाट रहेछ भने त्यो आफै मेटिनेछ। तर यदि परमेश्‍वरबाटै भएको रहेछ भनेता तपाईंहरूले तिनलाई मेटाउन सक्नुहुन्‍न।” त्यसो भनिसकेपछि गमलिएलले जोड दिंदै यसो पनि भने: “नत्रता तपाईंहरू परमेश्‍वरका विरुद्धमा चलेको ठहरिनुहोला।”—प्रेरित ५:३४, ३८, ३९.

९. प्रेरितहरूको काम परमेश्‍वरबाटै थियो भन्‍ने कस्तो प्रमाण छ?

कस्तो अचम्म! महासभाले गमलिएलको सल्लाह खुरुक्क मान्यो। महासभाले “प्रेरितहरूलाई डाकेर तिनीहरूलाई पिटेर यसो भन्‍ने आदेश गरेर छोडिदिए, ‘अबदेखि येशूको नाउँमा नबोल्नू।’ ” तर प्रचार गर्नू भन्‍ने स्वर्गदूतको आज्ञा पालन गर्न प्रेरितहरू कटिबद्ध भएको कारण महासभाको आदेशले उनीहरूलाई केही फरक पारेन। त्यसकारण, झ्यालखानबाट छुटेपछि “दिनदिनै [प्रेरितहरूले] मन्दिरमा र घरघरमा गएर शिक्षा दिन र येशू नै ख्रीष्ट हुन्‌ भन्‍ने सुसमाचार सुनाउन बन्द गरेनन्‌।” (प्रेरित ५:४०, ४२) यहोवाले उनीहरूको प्रयासमा आशिष्‌ वर्षाउनुभयो। परिणाम? “परमेश्‍वरको वचन बढदै गयो, र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ्यो।” यहाँसम्म कि “पूजाहारीहरूको एक ठूलो दलले यही मत मान्‍नलाग्यो।” (प्रेरित ६:७) त्यो कुरा सुनेपछि प्रधान पूजाहारीहरूलाई पक्कै छाँगाबाट खसेझैं भयो होला! प्रेरितहरूको काम साँच्चै परमेश्‍वरबाट थियो भन्‍ने कुराको प्रमाण त्यसरी जुट्‌दै गयो!

परमेश्‍वर विरुद्ध लड्‌नेहरू सफल हुँदैनन्‌

१०. मानिसको सोचाइबाट हेर्दा, आफ्नो पदबारे कैयाफाले ढुक्क महसुस गर्नुको कारण के हुन सक्छ तर तिनले जसमाथि भरोसा राखे त्यो बेकार थियो, किन?

१० प्रथम शताब्दीमा रोमी अख्तियारवालाले यहूदी प्रधान पूजाहारीहरू नियुक्‍त गर्थे। प्रशस्त धन-दौलत भएका जोसेफ कैयाफालाई पनि भालेरियस ग्राटुसले प्रधान पूजाहारी नियुक्‍त गरेका थिए र आफूभन्दा अघिका प्रधान पूजाहारीहरूभन्दा तिनी धेरै समयसम्म त्यस पदमा रहे। कैयाफाले परमेश्‍वरको मदतले भन्दा पनि आफ्नो कुटनीतिक क्षमता र पिलातससितको आफ्नो हिमचिमले गर्दा आफू त्यस पदसम्म पुगें भन्ठानेको हुनुपर्छ। जेहोस्‌, तिनले मानिसमाथि भरोसा राख्नु बेकार थियो भन्‍ने कुरा दूधको दूध पानीको पानी भइहाल्यो। प्रेरितहरूलाई महासभामा हाजिर गराइएको तीन वर्ष पनि नबित्दै रोमी अख्तियारवालाहरूले कैयाफालाई मन पराउन छाडे र प्रधान पूजाहारीको पदबाट हटाइदिए।

११. पन्तियस पिलातस र यहूदी रीतिरिवाजको के हविगत भयो र त्यस घटनाबाट तपाईंले कस्तो पाठ सिक्नुभयो?

११ कैयाफालाई तिनको पदबाट हटाउने आदेश पिलातसभन्दा माथिको व्यक्‍ति सिरियाका बडाहाकिम ल्युक्यूस भिटेलियूसले दिएका थिए। कैयाफाको घनिष्ठ मित्र पिलातसले समेत तिनलाई केही मदत गर्न सकेनन्‌। रोचक कुरा त के छ भने, कैयाफा आफ्नो पदबाट खुस्केको एक वर्ष पनि नबित्दै पिलातसलाई पनि तिनको पदबाट हटाइयो र तिनीमाथि लागेका गम्भीर आरोपहरूको जवाफ दिन रोम फर्कने आदेश दिइयो। सिजरमाथि भरोसा राख्ने यहूदी नेताहरूलाई नि के भयो? रोमीहरू आएर ‘तिनीहरूको ठाउँ र जाति’ दुवै कब्जा गरे। त्यो घटना इस्वी संवत्‌ ७० मा घटेको थियो। त्यतिखेर रोमी सिपाहीहरूले यरूशलेम सहरलगायत त्यहाँको मन्दिर र महासभाको भवनलाई ध्वस्त पारेका थिए। त्यस प्रसङ्‌गमा भजनहारका यी शब्दहरू सोह्रै आना सही साबित भए: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन”!—यूहन्‍ना ११:४८; भजन १४६:३.

१२. परमेश्‍वरको आज्ञा पालन गर्नु ठीक हो भनेर येशूसित सम्बन्धित कुराले कसरी प्रमाणित गर्छ?

१२ यसको ठीक विपरीत, पुनरुत्थान हुनुभएका येशू ख्रीष्टलाई परमेश्‍वरले महान्‌ आध्यात्मिक मन्दिरको प्रधान पूजाहारी नियुक्‍त गर्नुभयो। कुनै मानिसले पनि त्यस नियुक्‍तिलाई बदर गर्न सक्दैन। साँच्चै भन्‍ने हो भने, येशूको “पूजाहारी पद अटल रहन्छ।” (हिब्रू २:९; ७:१७, २४; ९:११) परमेश्‍वरले येशूलाई मरेका र जीवितको न्यायकर्ता पनि नियुक्‍त गर्नुभएको छ। (१ पत्रुस ४:५) त्यसकारण, जोसेफ कैयाफा र पन्तियस पिलातसलाई पुनरुत्थान गर्ने कि नगर्ने भन्‍ने कुरा येशूले निर्णय गर्नुहुनेछ।—मत्ती २३:३३; प्रेरित २४:१५.

अहिलेका निडर प्रचारकहरू

१३. आज हाम्रो समयमा कस्तो काम मानिसको र कस्तो कामचाहिं परमेश्‍वरको हो भन्‍ने कुरा छर्लङ्‌ग भएको छ र तपाईं के आधारमा यसो भन्‍न सक्नुहुन्छ?

१३ प्रथम शताब्दीमा जस्तै आज हाम्रो समयमा पनि ‘परमेश्‍वरको विरूद्धमा लड्‌नेहरूको’ बिगबिगी छ। (प्रेरित ५:३९) उदाहरणको लागि, जर्मनीमा यहोवाका साक्षीहरूले अडोल्फ हिटलरलाई आफ्नो नेताको रूपमा स्वीकार्न इन्कार गर्दा हिटलरले उनीहरूलाई यस धरतीबाटै निमिट्यान्‍न पार्ने कसम खाए। (मत्ती २३:१०) हिटलरको शक्‍तिलाई विचार गर्दा, यहोवाका साक्षीहरूलाई खत्तम पार्नु तिनको लागि बाँया हातको खेलजस्तो देखिन्थ्यो। हजारौं साक्षीलाई पक्रेर यातना शिविरमा पठाउन नाजीहरू सफल भए। तिनीहरूले केही साक्षीहरूलाई त मारे पनि। तर परमेश्‍वरको मात्र उपासना गर्ने साक्षीहरूको सङ्‌कल्पलाई तोड्‌न भने नाजीहरू सफल भएनन्‌। साथै, परमेश्‍वरको सेवा गर्नेहरूलाई सामूहिक रूपमा निमिट्यान्‍न पार्नु तिनीहरूलाई फलामको चिउरा चपाउनुजत्तिकै भयो। ती मसीहीहरूले मानिसको होइन परमेश्‍वरको काम गरिरहेका थिए अनि परमेश्‍वरको कामलाई कसैले रोक्न सक्दैन। हिटलरले खडा गरेको यातना शिविरबाट बच्न सफल यहोवाका विश्‍वासी सेवकहरूले साठी वर्षपछि पनि ‘सारा हृदय र सारा प्राण अनि सारा समझले’ अझै उहाँको सेवा गरिरहेका छन्‌। तर हिटलर र तिनको नाजी पार्टी भने यस धरतीबाटै मेटिएर गएको छ। तिनीहरूको नाउँ सुन्दा पनि मानिसहरू नाक खुम्च्याउने गर्छन्‌।—मत्ती २२:३७.

१४. (क) परमेश्‍वरका सेवकहरूको इज्जतमा हिलो छ्याप्न विरोधीहरूले कस्तो दुस्साहस गरेका छन्‌ तर परिणाम कस्तो भएको छ? (ख) के तिनीहरूले परमेश्‍वरका जनहरूलाई सधैंको लागि हानि पुऱ्‍याउन सक्लान्‌?

१४ नाजीहरू मेटिएर गएपछि यहोवा अनि उहाँका जनहरू विरुद्ध लड्‌न अरू नै उत्रिएका छन्‌। तर हामीलाई थाह छ तिनीहरूको प्रयास पनि बालुवामा पानी खन्याउनुजस्तै हुनेछ। युरोपका थुप्रै देशमा धूर्त धार्मिक तथा राजनैतिक तत्त्वहरूले यहोवाका साक्षीहरूलाई खतरनाक गुटको संज्ञा दिने चेष्टा गरेका छन्‌। ठीक यस्तै आरोप प्रथम शताब्दीका मसीहीहरूमाथि पनि लागेको थियो। (प्रेरित २८:२२) तर वास्तवमा मानवअधिकारसम्बन्धी युरोपेली अदालतले यहोवाका साक्षीहरूलाई गुटको रूपमा होइन तर धार्मिक समूहको रूपमा मान्यता दिएको छ। हाम्रा विरोधीहरूलाई यो कुरा राम्रोसँग थाह छ। तरैपनि तिनीहरू साक्षीहरूको इज्जतमा हिलो छ्याप्न छोड्‌दैनन्‌। साक्षीहरूको विषयमा यस्तो नचाहिंदो हल्ला फैलाएकै कारण केही मसीहीहरू जागिरबाट निकालिएका छन्‌। साक्षीका छोराछोरीलाई स्कूलमा हैरान पारिएको छ। साक्षीहरूले वर्षौंदेखि सभास्थलको रूपमा प्रयोग गर्दै आएका भवनहरू डरको कारण घरधनीहरूले दिन छाडेका छन्‌। अझ कहिलेकाहीं त यहोवाको साक्षी भयो भन्‍ने आधारकै भरमा सरकारी निकायहरूले उनीहरूलाई नागरिकता दिन अस्वीकार गरेका छन्‌! तैपनि साक्षीहरूले खुट्टा कमाएका छैनन्‌। हामीलाई थाह छ, हाम्रा विरोधीहरूको प्रयास व्यर्थ हुनेछ “किनकि उहाँ आफैले भन्‍नुभएको छ, ‘म तिमीलाई कुनै रीतिले छोडनेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।’ यसकारण निर्भयसँग हामी भन्दछौं, ‘प्रभु [‘यहोवा,’ NW] मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ?’ ”—हिब्रू १३:५, ६.

१५, १६. विरोधीहरूले परमेश्‍वरको राज्यसम्बन्धी क्रियाकलापको विरोध गर्दा फ्रान्सका यहोवाका साक्षीहरूले कस्तो प्रतिक्रिया देखाएका छन्‌ र उनीहरूले प्रचार गर्न नछोड्‌नुको कारण के हो?

१५ उदाहरणको लागि, फ्रान्सका मानिसहरू साधारणतया समझदार अनि कुनै भेदभाव राख्दैनन्‌। तरैपनि परमेश्‍वरको राज्यसम्बन्धी क्रियाकलापमा भाँजो हाल्न विरोधीहरूले कानुन बनाएका छन्‌। त्यहाँका यहोवाका साक्षीहरूले कस्तो प्रतिक्रिया देखाएका छन्‌? उनीहरूले पहिलाभन्दा झनै जोसका साथ प्रचार गरेका छन्‌ र परिणाम पनि निकै राम्रो भएको छ। (याकूब ४:७) छ महिनाभित्रै त्यस देशमा बाइबल अध्ययन गर्नेहरूको संख्या ३३ प्रतिशतले वृद्धि भयो। कस्तो राम्रो वृद्धि! फ्रान्सका निष्कपट मानिसहरूले सुसमाचार सुनेको देख्दा शैतानलाई कत्ति झोंक चल्छ होला। (प्रकाश १२:१७) अगमवक्‍ता यशैयाले भनेको यो कुरा फ्रान्समा पनि सत्य साबित हुनेछ भनेर त्यहाँका हाम्रा सँगी मसीहीहरू ढुक्क छन्‌: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ, औ मामिलामा तेरो विरुद्धमा उठ्‌ने जोसुकैलाई पनि तैंले हराउनेछस्‌।”—यशैया ५४:१७.

१६ सतावट भोग्दा यहोवाका साक्षीहरूलाई मजा त कहाँ लाग्छ र! तर परमेश्‍वरले सबै मसीहीलाई दिनुभएको आज्ञा पालन गर्दै उनीहरू आफूले सुनेको कुरा नबताई बस्न सक्दैनन्‌ र बस्ने पनि छैनन्‌। उनीहरू असल नागरिक बन्‍ने सक्दो प्रयास गर्छन्‌। तर परमेश्‍वरको व्यवस्था र मानिसको व्यवस्था जुध्यो भनेचाहिं उनीहरू परमेश्‍वरकै आज्ञा पालन गर्छन्‌।

तिनीहरूसित नडराउनुहोस्‌

१७. (क) हाम्रा शत्रुहरूसित हामी डराउँदैनौं, किन? (ख) हाम्रो खेदो गर्नेहरूलाई हामीले कसरी लिनुपर्छ?

१७ हाम्रा शत्रुहरू खुकुरीको धारमा हिंडिरहेका छन्‌। तिनीहरू परमेश्‍वर विरुद्ध लड्‌ने दुस्साहस गर्दैछन्‌। त्यसकारण तिनीहरूसित डराउनुको सट्टा येशूले दिनुभएको आज्ञाअनुसार हाम्रो खेदो गर्नेहरूका लागि हामी प्रार्थना गर्छौं। (मत्ती ५:४४) टार्ससका शावलले जस्तै यदि तिनीहरूले अज्ञानताको कारण परमेश्‍वरको विरोध गरिरहेका छन्‌ भने, सच्चाइ बुझ्न यहोवाले तिनीहरूको आँखा खोलिदिनुहुनेछ। (२ कोरिन्थी ४:४) शावल प्रेरित पावल बने र अख्तियारवालाहरूको हातबाट चरम यातना भोगे। तर तिनले आफ्ना सँगी भाइबहिनीहरूलाई “शासकहरू र अख्तियारवालाहरूका अधीनमा बसी उनीहरूका आज्ञा पालन गर्नू, र हरेक असल काममा तत्पर रहनू। कसैको बदनाम नगर्नू [खेदो गर्नेहरूको समेत बदनाम नगर्नू ], कल्याहा नहुनू, सबै मानिसलाई नम्र चाल देखाएर विनयी हुनू भनी” सम्झाइरहे। (तीतस ३:१, २) फ्रान्स र अरू ठाउँका यहोवाका साक्षीहरू यस सल्लाहलाई आत्मसात्‌ गर्ने कोसिस गर्छन्‌।

१८. (क) कुन-कुन तरिकामा यहोवा आफ्ना जनहरूलाई जोगाउनुहुन्छ? (ख) अन्तिम परिणाम कस्तो हुनेछ?

१८ अगमवक्‍ता यर्मियालाई परमेश्‍वरले यसो भन्‍नुभयो: “तँलाई बचाउनलाई म तेरो साथमा छु।” (यर्मिया १:८) आज यहोवाले हामीलाई सतावटबाट कसरी जोगाउनुहुन्छ त? उहाँ गमलिएलजस्तै निष्पक्ष न्यायाधीश चलाउन सक्नुहुन्छ। अथवा भ्रष्ट वा हाम्रो विरोध गर्ने सरकारी अफिसरको ठाउँमा अचानक समझदार व्यक्‍ति फेरबदल गर्न सक्नुहुन्छ। तर कहिलेकाहीं चाहिं आफ्ना जनहरू सताइँदासमेत यहोवा मौन बस्नुहुन्छ। (२ तिमोथी ३:१२) यस्तो गाह्रो अवस्थाबाट गुज्रिनुपरे तापनि उहाँले हामीलाई सतावट सहने बल अटुट रूपमा दिइरहनुहुनेछ। (१ कोरिन्थी १०:१३) परमेश्‍वरले हामीलाई जस्तोसुकै गाह्रो अवस्थामा पर्न दिनुभए पनि अन्तिम परिणामबारे हामीलाई एक थोपा शङ्‌का छैन: परमेश्‍वरका जनहरू विरुद्ध लड्‌नेहरू वास्तवमा परमेश्‍वर विरुद्ध लडिरहेका छन्‌ र परमेश्‍वर विरुद्ध लड्‌नेहरू सफल हुनेछैनन्‌।

१९. सन्‌ २००६ को वार्षिक पद के हो? यो पद किन एकदमै सुहाउँदो छ?

१९ आफ्ना चेलाहरूलाई कष्ट हुनेछ भनेर येशूले बताउनुभयो। (यूहन्‍ना १६:३३) यस कुरालाई विचार गर्दा प्रेरित ५:२९ मा लिपिबद्ध शब्दहरू पहिलाभन्दा अहिले झनै समय सुहाउँदो देखिन्छ: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।” त्यसैकारण यी रोमाञ्चक शब्दहरू सन्‌ २००६ को लागि यहोवाका साक्षीहरूको वार्षिक पद छनौट गरिएको छ। त्यसैले आउनुहोस्‌, आउँदो वर्ष र सदासर्वदा जस्तोसुकै मूल्य चुकानुपरे तापनि यहोवाको आज्ञा पालन गर्ने दृढ संकल्प गरौं!

[फुटनोट]

a प्रधान पूजाहारीहरूले खुलेआम स्वीकार गरेको “सिजर” नीच रोमी सम्राट्‌ टाइबेरियस थिए। तिनी एक नम्बरको फटाहा र हत्यारा थिए। तिनी महाको छाडा पनि थिए।—दानियल ११:१५, २१.

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

• सतावट भोगेको बेला प्रेरितहरूले जे गरे, त्यो हाम्रो लागि प्रोत्साहनदायी उदाहरण हो, कसरी?

• हामीले किन मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा सधैं मान्‍नुपर्छ?

• हाम्रा विरोधीहरू वास्तवमा कसको विरुद्धमा लडिरहेका छन्‌?

• सतावट सहनेहरूले कस्तो परिणामको आशा गर्न सक्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको ठूलो अक्षरको क्याप्सन]

सन्‌ २००६ को वार्षिक पद हो: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।”—प्रेरित ५:२९

[पृष्ठ १९-मा भएको चित्र]

“हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ”

[पृष्ठ २१-मा भएको चित्र]

कैयाफाले परमेश्‍वरमा होइन तर मानिसमाथि भरोसा राखे