सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

निर्णायक कदम चाल्ने समय अहिल्यै हो

निर्णायक कदम चाल्ने समय अहिल्यै हो

निर्णायक कदम चाल्ने समय अहिल्यै हो

“तिमीहरू कहिलेसम्म दोधारमा बसिरहन्छौ?”—१ राजा १८:२१.

१. हामी बाँचिरहेको समय पहिलाभन्दा निकै भिन्‍न छ, किन?

 यहोवा मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनेर के तपाईं विश्‍वास गर्नुहुन्छ? हामी बाँचिरहेको समय शैतानको दुष्ट रीतिरिवाजको “आखिरी दिन” हो भनेर नि? (२ तिमोथी ३:१) यदि विश्‍वास गर्नुहुन्छ भने, निर्णायक कदम चाल्ने समय अहिल्यै हो भनेर अवश्‍य मानिलिनुहुन्छ होला। आज कैयौं मानिसको जीवन खतराको मुखैमा छ र यतिबिघ्न खतरा पहिला कहिल्यै थिएन।

२. राजा आहाबको शासनकालमा इस्राएलको दस-गोत्रे राज्यमा के भयो?

ईसापूर्व दसौं शताब्दीमा इस्राएल राष्ट्रले एउटा ठोस निर्णय गर्नुपरेको थियो। सवाल थियो, कसको उपासना गर्ने? मूर्तिपूजक रानी ईजेबेलले आफ्नो पति राजा आहाबको कान फुकेपछि तिनले इस्राएलको दस-गोत्रे राज्यभरि बाल देवताको पूजा गर्न लगाए। बाल उर्वरा देव थियो। त्यस देवताले पानी पार्छ र प्रशस्त उब्जनी गर्न मदत गर्छ भन्‍ने विश्‍वास गरिन्थ्यो। बालका उपासकहरूले आफ्नो देवताको मूर्तिलाई टाढैबाट चुम्बन गरे वा ढोगे होलान्‌। आफ्नो अन्‍नबाली र वस्तुभाउमाथि बाल देवताको आशिष्‌ रहोस्‌ भनेर बाललाई खुसी पार्न त्यसका उपासकहरूले मन्दिरका वेश्‍याहरूसित अनैतिक सम्बन्ध राख्थे। तिनीहरूले आफ्नो शरीरमा चोट पारेर रगतसमेत बगाउँथे।—१ राजा १८:२८.

३. बाल देवताको पूजाले परमेश्‍वरका जनहरूलाई कसरी असर पाऱ्‍यो?

बाल देवताको सामने घुँडा नटेक्ने र त्यसलाई चुम्बन नगर्ने बाँकी ७,००० इस्राएली त्यस्तो मूर्तिपूजक, अनैतिक र हिंस्रक उपासनामा मुछिएनन्‌। (१ राजा १९:१८) यहोवा परमेश्‍वरसित बाँधेको करार तिनीहरूले कुनै पनि हालतमा तोडेनन्‌ र त्यसो गरेकोमा तिनीहरूले भीषण सतावट भोगे। उदाहरणको लागि, रानी ईजेबेलले यहोवाका थुप्रै अगमवक्‍तालाई मारिन्‌। (१ राजा १८:४, १३) यस्तो गाह्रो अवस्था आइपरेपछि प्रायजसो इस्राएलीहरूले यहोवा अनि बाल दुवैको उपासना गरेर दुवैलाई खुसी पार्ने चेष्टा गरे। तर कुनै पनि इस्राएलीले यहोवाबाट तर्केर झूटो देवताको पूजा गर्नु सरासर धर्मत्याग थियो। मलाई प्रेम गर्ने र मेरो आज्ञा मान्‍नेलाई आशिष्‌ दिनेछु भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको थियो। तर उहाँलाई “ऐकान्तिक भक्‍ति,” [ NW] नचढाएको खण्डमा सर्वनाश पार्नेछु भनेर पनि चेतावनी दिनुभयो।—व्यवस्था ५:६-१०; २८:१५, ६३.

४. मसीहीहरूमाझ कस्तो अवस्था देखापर्नेछ भनेर येशू अनि उहाँका प्रेरितहरूले भविष्यवाणी गरेका थिए र त्यो भविष्यवाणी आज कसरी पूरा भएको छ?

आज मसीहीजगत्‌भित्रको अवस्था पनि यस्तै छ। चर्चका सदस्यहरू मसीही भएको दाबी त गर्छन्‌ तर तिनीहरूले मनाउने चाडपर्व, तिनीहरूको आनीबानी र विश्‍वास बाइबलको शिक्षासित पटक्कै मेल खाँदैन। ईजेबेलले जस्तै आज यहोवाका साक्षीहरूलाई सताउने टाउकेहरू पनि तिनै मसीहीजगत्‌का पादरीहरू हुन्‌। मसीहीजगत्‌का पादरीहरूले धेरै पहिलादेखि युद्धलाई समर्थन गर्दै आएको कुरा कसैबाट लुकेको छैन। त्यसकारण चर्चका लाखौं सदस्यको मृत्युको दोष तिनीहरूमाथि नै थोपर्न मिल्छ। धर्मले मानव सरकारलाई समर्थन गर्नु भनेको आध्यात्मिक व्यभिचार गर्नु हो भनेर बाइबलमा बताइएको छ। (प्रकाश १८:२, ३) यसबाहेक, साँच्चिकै व्यभिचारबारे पनि मसीहीजगत्‌ मौन रहेको पाइन्छ। अझ पादरीहरूले गर्ने व्यभिचारको त कुरै नगरौं! यस्तो भयङ्‌कर धर्मत्याग देखापर्नेछ भनेर येशू ख्रीष्ट अनि उहाँका प्रेरितहरूले भविष्यवाणी गरेका थिए। (मत्ती १३:३६-४३; प्रेरित २०:२९, ३०; २ पत्रुस २:१, २) अन्तमा मसीहीजगत्‌का एक अरबभन्दा बढी अनुयायीको के हविगत होला? ती अनुयायीहरू लगायत झूटो धर्मको बहकाउमा परेका अरू व्यक्‍तिहरूप्रति यहोवाका सच्चा उपासकहरूले गर्नुपर्ने कर्तव्य के हो? कस्तो नाटकीय घटनाले गर्दा “इस्राएलमा बालको पूजालाई खतम” पारियो भन्‍ने कुरा जाँचेर हेऱ्‍यौं भने यस्ता प्रश्‍नहरूको स्पष्ट जवाफ पाउनेछौं।—२ राजा १०:२८.

बाटो बिराएका आफ्ना जनहरूलाई परमेश्‍वर माया गर्नुहुन्छ

५. बाटो बिराएका आफ्ना जनहरूलाई यहोवाले कसरी मायालु चासो देखाउनुभयो?

आफ्नो कुरा नसुन्‍नेलाई सजाय दिनुपऱ्‍यो भने यहोवा परमेश्‍वरलाई पनि मजा त लाग्दैन। उहाँ मायालु बुबा हुनुहुन्छ। त्यसैकारण त उहाँ खराब काम गर्नेहरू पश्‍चत्ताप गरेर उहाँकहाँ फर्कून्‌ भन्‍ने इच्छा गर्नुहुन्छ। (इजकिएल १८:३२; २ पत्रुस ३:९) आहाब र ईजेबेलको समयमा त्यो कुरा प्रमाणित भयो। बाल देवताको पूजा गर्दा भोग्नुपर्ने नतिजाबारे आफ्ना जनहरूलाई चेतावनी दिन यहोवाले थुप्रै अगमवक्‍ता चलाउनुभयो। ती अगमवक्‍ताहरूमध्ये एक थिए, एलिया। पहिल्यै भविष्यवाणी गरिएअनुसार जमिन पटपट फुट्‌ने गरी खडेरी परेपछि एलियाले राजा आहाबलाई इस्राएलीहरू र बाल देवताका अगमवक्‍ताहरूलाई कर्मेल डाँडामा भेला गराउन आग्रह गरे।—१ राजा १८:१, १९.

६, ७. (क) इस्राएलीहरू धर्मत्यागमा फस्नुको मूल कारण एलियाले कसरी औंल्याए? (ख) बालका अगमवक्‍ताहरूले के गरे? (ग) एलियाले नि?

ईजेबेललाई मक्ख पार्नका लागि होला यहोवाको वेदी ‘भत्काइएको’ थियो। अब त्यही वेदी भएको ठाउँमा मानिसहरू भेला भए। (१ राजा १८:३०) अफसोस, यहोवा र बालमध्ये कसले खडेरीको अन्त्य गर्ने गरी पानी बर्साउन सक्छ भन्‍ने कुरामा त्यहाँ उपस्थित इस्राएलीहरू पक्का थिएनन्‌। बालका चार सय पचास अगमवक्‍ता थिए तर यहोवाको अगमवक्‍ता भने एलिया मात्र थिए। समस्याको मूल कारण औंल्याउँदै एलियाले मानिसहरूलाई प्रश्‍न गरे: “तिमीहरू कहिलेसम्म दोधारमा बसिरहन्छौ?” त्यसपछि अझ सरल शब्दमा तिनले उनीहरूलाई एउटा ठोस निर्णय गर्न आग्रह गरे: “यदि परमप्रभुनै [“यहोवा नै,” NW] परमेश्‍वर हुनुहुन्छ भने उहाँलाई पछ्याऊ। तर यदि बाल परमेश्‍वर हो भने त्यसलाई पछ्याऊ।” यहोवालाई ऐकान्तिक भक्‍ति चढाउन दोधारे इस्राएलीहरूलाई झकझक्याउन एलियाले बाल र यहोवामध्ये साँचो परमेश्‍वर को हो जाँचेर हेर्ने प्रस्ताव अघि सारे। यहोवा र बालको लागि दुईवटा साँढे काटिने भयो। साँचो परमेश्‍वरले आगोद्वारा बलि भस्म गर्ने थियो। बालका अगमवक्‍ताहरूले आफ्नो बलिदान तयार पारे र घण्टौंसम्म यसो भन्दै पुकारे: “हे बाल, हे बाल, हाम्रो बिन्ती सुन्‍नुहोस्‌।” एलियाले ठट्टामा उडाउन थालेपछि उनीहरूले आफ्नो शरीरमा चोट पारेर रगत बगाए र घोक्रो सुकुन्जेल चिच्च्याए। तरैपनि त्यहाँ कुनै आवाज वा जवाफ आएन।—१ राजा १८:२१, २६-२९.

अब एलियाको पालो आयो। सबैभन्दा पहिला तिनले यहोवाको वेदी मर्मत गरे र साँढे काटेर त्यसमाथि राखे। त्यसपछि तिनले चार गाग्री पानी बलिमाथि खन्याउने आदेश दिए। वेदी वरिपरिको खाडल पानीले टन्‍न नभरुन्जेल बलिमाथि तीन खेप पानी खन्याइयो। त्यसपछि एलियाले यसो भन्दै प्रार्थना गरे: “हे अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु [“यहोवा,” NW], इस्राएलमा तपाईं परमेश्‍वर हुनुहुन्छ, औ म चाहिं तपाईंको सेवक हुँ। यी सबै काम तपाईंको आज्ञाअनुसार मैले गरेको हुँ भनी थाह होस्‌। औ परमप्रभु, मलाई जवाफ दिनुहोस्‌, मलाई जवाफ दिनुहोस्‌, र यी मानिसहरूले जानून्‌ कि तपाईं परमप्रभु [“यहोवा नै,” NW] परमेश्‍वर हुनुहुन्छ, औ तिनीहरूका मन फर्काउने पनि तपाईंनै हुनुहुन्छ।”—१ राजा १८:३०-३७.

८. एलियाले गरेको प्रार्थनाको जवाफ यहोवाले कसरी दिनुभयो र एलिया अगमवक्‍ताले कस्तो कदम चाले?

साँचो परमेश्‍वर यहोवाले स्वर्गबाट आगो बर्साएर बलि र वेदी दुवै भस्म पार्नुभयो। त्यस प्रकार उहाँले एलियाको प्रार्थनाको जवाफ दिनुभयो। आगोले वेदी वरिपरिको खाडलमा भएको पानीसमेत सुकाइदियो! त्यस घटनाले इस्राएलीहरूलाई कस्तो असर पाऱ्‍यो होला, कल्पना गर्नुहोस्‌ त! “तिनीहरू भूइँमा घोप्टो परी कराएर भने, ‘परमप्रभुनै [“यहोवा नै,” NW] परमेश्‍वर हुनुहुँदोरहेछ, परमप्रभुनै [“यहोवा नै,” NW] परमेश्‍वर हुनुहुँदोरहेछ।’ ” एलियाले थप निर्णायक कदम चाल्दै इस्राएलीहरूलाई यस्तो आदेश दिए: “बालका अगमवक्‍ताहरूलाई समात। एउटै पनि उम्कन नपाओस्‌।” बाल देवताका जम्मै ४५० अगमवक्‍ता समातिए र तिनीहरूलाई कर्मेल डाँडाको खोल्चामा लगेर मारियो।—१ राजा १८:३८-४०.

९. साँचो उपासकहरूको अझै जाँच भयो, कसरी?

भयानक घटना घटेको त्यसै दिन यहोवाले साढे तीन वर्षपछि पहिलोपल्ट पानी पारिदिनुभयो! (याकूब ५:१७, १८) घर फर्कंदै गर्दा इस्राएलीहरूले बाटोमा के-के कुरा गरे होलान्‌, तपाईं ती सब कल्पना गर्न सक्नुहुन्छ। हो, म नै साँचो परमेश्‍वर हुँ भनेर यहोवाले पुष्टि गर्नुभएको थियो। तर बाल देवताको पूजा गर्नेहरूले हार मानेका थिएनन्‌। यहोवाको सेवा गर्नेहरूलाई सातखेदो गर्न ईजेबेल लागिपरिन्‌। (१ राजा १९:१, २; २१:११-१६) त्यसकारण परमेश्‍वरका जनहरूको निष्ठाको फेरि जाँच भयो। यहोवाले बालको पूजा गर्नेहरूलाई खत्तम पार्ने समय आउँदा के उनीहरूले यहोवालाई ऐकान्तिक भक्‍ति चढाइरहेका हुनेथिए?

अहिल्यै निर्णायक कदम चाल्नुहोस्‌

१०. (क) आज अभिषिक्‍त मसीहीहरूले के गरिरहेका छन्‌? (ख) प्रकाश १८:४ मा दिइएको आज्ञा पालन गर्नुको अर्थ के हो?

१० एलियाले जस्तो काम गरे आज अभिषिक्‍त मसीहीहरूले पनि त्यस्तै काम गरिरहेका छन्‌। मौखिक रूपमा र विभिन्‍न प्रकाशनमार्फत उनीहरूले मसीहीजगत्‌ र अरू धर्मका मानिसहरूलाई झूटो धर्मको भाग हुनुको खतराबारे चेतावनी दिइरहेका छन्‌। फलस्वरूप, झूटो धर्मबाट आफ्नो नाउँ कट्टी गर्न लाखौंले निर्णायक कदम चालेका छन्‌। तिनीहरूले यहोवालाई आफ्नो जीवन समर्पण गरेका छन्‌ र बप्तिस्मा लिएर येशू ख्रीष्टका चेलाहरू बनेका छन्‌। हो, झूटो धर्मबारे यहोवाले गर्नुभएको यो अत्यन्त जरुरी आग्रहलाई तिनीहरूले पालन गरेका छन्‌: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्‌। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्‌।”—प्रकाश १८:४.

११. यहोवाको अनुमोदन पाउन के गर्नुपर्छ?

११ अरू लाखौंलाई यहोवाका साक्षीहरूले बताउने बाइबल सन्देश मन त पर्छ तर उनीहरू अझै दोधारमा छन्‌। यस्ता केही मानिसहरू कहिलेकाहीं मसीही सभाहरूमा आउने गर्छन्‌। उदाहरणको लागि, तिनीहरू प्रभुको साँझको भोजमा अथवा जिल्ला अधिवेशनको कुनै-कुनै भाषण सुन्‍न आउँछन्‌। एलियाले भनेका यी शब्दहरू ध्यान दिएर विचार गर्न यस्ता मानिसहरूलाई हामी आग्रह गर्दछौं: “तिमीहरू कहिलेसम्म दोधारमा बसिरहन्छौ?” (१ राजा १८:२१) आलेटाले नगरी तिनीहरूले अहिल्यै निर्णायक कदम चालिहाल्नुपर्छ अनि यहोवाको समर्पित र बप्तिस्माप्राप्त उपासक हुने लक्ष्यतर्फ जोसिएर अघि बढ्‌नुपर्छ। हातैमा आइसकेको अनन्त जीवनको आशा तिनीहरूले गुमाउन सक्छन्‌!—२ थिस्सलोनिकी १:६-९.

१२. बप्तिस्माप्राप्त केही मसीहीहरू कस्तो खतरनाक अवस्थामा छन्‌ र उनीहरूले के गर्नुपर्छ?

१२ दुःखको कुरा, बप्तिस्माप्राप्त केही मसीहीहरूले नियमित रूपमा अथवा सक्रिय भएर यहोवाको उपासना गर्न छाडेका छन्‌। (हिब्रू १०:२३-२५; १३:१५, १६) अरू कतिचाहिं सतावट आइपर्ला भन्‍ने डर, जीविका चलाउने चिन्ता, धनी हुने इच्छा वा व्यक्‍तिगत इच्छा पूरा गरिछाड्‌ने हठले गर्दा सेलाएर गएका छन्‌। यस्तै कुराले गर्दा आफ्ना अनुयायीहरूले ठेस खानेछन्‌, तिनीहरू निसासिनेछन्‌ र पासोमा पार्नेछन्‌ भनेर येशूले चेतावनी दिनुभएको थियो। (मत्ती १०:२८-३३; १३:२०-२२; लूका १२:२२-३१; २१:३४-३६) तर पुरातन समयका इस्राएलीहरूजस्तो उनीहरू ‘दोधारमा बस्नु हुँदैन।’ बरु, परमेश्‍वरप्रतिको आफ्नो समर्पण पूरा गर्न निर्णायक कदम चालेर ‘जोसिलो हुनुपर्छ र पश्‍चाताप गर्नुपर्छ।’—प्रकाश ३:१५-१९.

झूटो धर्मको एक्कासी अन्त्य हुन्छ

१३. येहू राजा अभिषेक हुँदा इस्राएलको अवस्था कस्तो थियो, वर्णन गर्नुहोस्‌।

१३ साँचो परमेश्‍वर को हुनुहुन्छ भन्‍ने विवाद कर्मेल डाँडामा टुङ्‌गो लागेको झन्डै १८ वर्षपछि इस्राएलमा घटेको घटनालाई विचार गऱ्‍यौं भने, अहिल्यै निर्णायक कदम चालिहाल्नुपर्ने कारण बुझ्न सक्छौं। एलियाको उत्तराधिकारी एलीशाको पालामा यहोवाले बाल देवताको पूजालाई एक्कासी र चिताउँदै नचिताएको ढङ्‌गमा अन्त्य गर्नुभयो। त्यतिबेला राजा आहाबको छोरा योरामले इस्राएलमा शासन गरिरहेका थिए भने ईजेबेलचाहिं राजमाता थिइन्‌। इस्राएलका सेनापति येहूलाई नयाँ राजा अभिषेक गर्न एलीशाले सुटुक्क मान्छे पठाए। त्यतिखेर येहू यर्दनको पूर्वतिर रामोतगिलादमा थिए। त्यहाँ तिनी इस्राएलमाथि खनिएका शत्रुहरू विरुद्ध लड्‌दै थिए। राजा योरामचाहिं मगिद्दो नजिकै पर्ने बेंसी यिज्रेलमा थिए। त्यहाँ तिनी लडाइँमा लागेको चोटबाट निको हुँदै थिए।—२ राजा ८:२९–९:४.

१४, १५. येहूलाई कस्तो काम गर्न अह्राइएको थियो र तिनले के गरे?

१४ यहोवाले येहूलाई अह्राउनुभएको काम यस्तो थियो: “तैंले तेरा मालिक आहाबको घरानालाई मार्नेछस्‌, औ मेरा सेवक अगमवक्‍ताहरूको र परमप्रभुका सबै सेवकहरूको रगतको निम्ति ईजेबेलमाथि साटो म लिनेछु। आहाबका सबै घराना नाश हुनेछन्‌ . . . यिज्रेलको एउटा ठाउँमा ईजेबेललाई कुकुरहरूले खानेछन्‌, औ कसैले त्यसलाई गाड्‌नेछैन।”—२ राजा ९:७-१०.

१५ येहू निर्णायक कदम चाल्ने व्यक्‍ति भएकाले तिनी झटपट रथमा चढे र यिज्रेलतिर हानिए। यिज्रेलका पहरेदारले रथ हाँक्ने व्यक्‍ति येहू नै हो भनेर आवाजैबाट चिनेपछि राजा योरामलाई खबर गरे। योराम रथमा सवार भएर आफ्नो सेनापति येहूलाई भेट्‌न निस्के। येहूसित जम्काभेट भएपछि योरामले सोधे: “येहू, के तिमी मित्रभावले आएका हौ?” येहूले जवाफ दिए, “जब तिम्री आमा ईजेबेलले आफ्नो घिनलाग्दो मूर्ति-पूजा र तंत्रमंत्र गर्दछिन्‌ भने केको मित्रभाव?” त्यसपछि, राजा योराम भाग्न नपाउँदै येहूले धनु पूरा खिचे र काँडले मुटु वारपार हुने गरी हिर्काएर योरामलाई मारिदिए।—२ राजा ९:२०-२४.

१६. (क) ईजेबेलका चाकरहरूले अचानक कस्तो निर्णय गर्नुपर्ने भयो? (ख) ईजेबेलबारे यहोवाको वचनमा गरिएको भविष्यवाणी कसरी पूरा भयो?

१६ योरामलाई मार्नासाथ येहू तुफानको गतिमा रथ हाँकेर सहरतिर लागे। येहू सहर आइपुग्दा सिंगारपटार गरेर बसेकी ईजेबेलले महलको झ्यालबाट तलतिर हेरिरहेकी थिइन्‌। ईजेबेलले येहूलाई थर्काउन खोजिन्‌। तर तिनको कुरा वास्ता नगरी येहूले यसो भने: “मतर्फ को छ?” ईजेबेलका चाकरहरूले निर्णायक कदम चाल्नुपर्ने बेला आयो। दुई तीन जना चाकरले झ्यालबाहिर हेरे। कसको पक्ष लिने? चाकरहरू बडो अप्ठ्यारोमा परे। येहूले आदेश दिए, “त्यसलाई झ्यालबाट फ्याँकिदेऊ।” येहूको आदेश मान्दै ती चाकरहरूले ईजेबेललाई तल फ्याँकिदिए अनि येहूका घोडाहरू र रथले तिनलाई कुल्ची-मिल्ची पारे। इस्राएलमा बाल देवताको पूजा गर्न उक्साउने ईजेबेलले आफ्नो कामअनुसारको सजाय भोगिन्‌। तिनलाई गाड्‌नलाई तल जाँदा कुकुरहरूले तिनको शरीरका जम्मै मासु खाइसकेका थिए। तिनको हालत यस्तै हुनेछ भनेर भविष्यवाणी गरिएको थियो।—२ राजा ९:३०-३७.

१७. परमेश्‍वरले ईजेबेललाई जसरी खत्तम पार्नुभयो त्यस कुराले भविष्यमा हुने कस्तो घटनाबारे हाम्रो विश्‍वास दरिलो बनाउनुपर्ने हो?

१७ “महान्‌ बेबिलोन[को]” नाउँले चिनिने लाक्षणिक वेश्‍याको पतन पनि यसै गरी अचानक हुनेछ। यस वेश्‍याले शैतानको संसारमा व्याप्त झूटा धर्महरूलाई चित्रण गर्छ। यी जम्मै झूटो धर्मको सुरुवात त्यही पुरातन सहर बेबिलोनबाट भएको हो। झूटो धर्मको नामोनिसान मेटेपछि यहोवा परमेश्‍वरले शैतानको संसारका भाग हुन रुचाउने मानिसहरूतर्फ आफ्नो ध्यान मोड्‌नुहुनेछ। तिनीहरू पनि बाँकी रहनेछैनन्‌। त्यसरी यहोवाले धर्मी मानिसहरू मात्र बसोबास गर्ने नयाँ संसारको जग बसाल्नुहुनेछ।—प्रकाश १७:३-६; १९:१९-२१; २१:१-४.

१८. ईजेबेल मरेपछि बाल देवताको पूजा गर्ने इस्राएलीहरूलाई के भयो?

१८ ईजेबेल मरेपछि राजा येहूले बियाँलो नगरी आहाबको घरानाका बाँकी साखा-सन्तान तथा परम मित्रहरूलाई पनि मारे। (२ राजा १०:११) तर बाल देवताको पूजा गर्ने थुप्रै इस्राएली अझै बाँकी थिए। तिनीहरूलाई तह लगाउने सन्दर्भमा पनि येहूले “परमप्रभुको [“यहोवाको,” NW] निम्ति” आफ्नो जोस देखाउन निर्णायक कदम चाले। (२ राजा १०:१६) आफू पनि बालकै उपासक भएको बहाना बनाएर सामरियामा आहाबले बनाएको बालको मन्दिरमा येहूले ठूलो उत्सव आजोयना गरे। बाल देवताका सबै सेवक उत्सव मनाउन मन्दिरभित्र छिरेपछि येहूका मानिसहरूले एउटैलाई पनि नछोडी भकाभक मारे। त्यस घटना विवरणको पुछारमा यसो भनिएको छ: “यसरी येहूले इस्राएलमा बालको पूजालाई खतम गरिदिए।”—२ राजा १०:१८-२८.

१९. वफादार भई यहोवाको सेवा गर्ने “ठूलो भीड[सामु]” कस्तो गजबको आशा छ?

१९ इस्राएलमा बाल देवताको पूजा गर्ने कोही पनि बाँकी रहेनन्‌। आज यस संसारमा व्याप्त झूटा धर्महरूको अन्त्य पनि यसै गरी एक्कासी हुनेछ र यस घटनाले सबैलाई चकित पार्नेछ। अब भन्‍नुस्‌, इन्साफको त्यो भयङ्‌कर दिन आउँदा तपाईं कसको पक्षमा हुनुहुनेछ? अहिल्यै निर्णायक कदम चालिहाल्नुहोस्‌! यसो गर्नुभयो भने, “महा सङ्‌कष्टबाट” बच्ने मानिसहरूको “ठूलो भीड[मा]” तपाईं पनि सामेल हुन सक्नुहुनेछ। त्यसपछि त तपाईं विगतमा आफूले गरेको निर्णय सम्झेर प्रफुल्ल हुनुहुनेछ र “पृथ्वीलाई [आफ्नो] व्यभिचारले भ्रष्ट पारेकी त्यो ठूलो वेश्‍याको इन्साफ गर्नुभएको[मा]” परमेश्‍वरको प्रशंसा गर्न सक्नुहुनेछ। स्वर्गबाट आएको यस ठूलो आवाजमा अरू साँचो उपासकहरू सँगसँगै तपाईं पनि सहमत हुनुहुनेछ: “हल्लेलूयाह, किनकि परमप्रभु [“यहोवा,” NW] हाम्रा परमेश्‍वर, सर्वशक्‍तिमानले राज्य गर्नुहुन्छ।”—प्रकाश ७:९, १०, १४; १९:१, २, ६.

मननका लागि प्रश्‍नहरू

• पुरातन इस्राएलीहरूले किन बाल देवताको पूजा गरे?

• कस्तो भयङ्‌कर धर्मत्याग देखापर्नेछ भनी बाइबलमा भविष्यवाणी गरिएको थियो र आज त्यो भविष्यवाणी कसरी पूरा भएको छ?

• बाल देवताको पूजालाई येहूले कसरी खत्तम पारे?

• परमेश्‍वरको इन्साफको दिनमा बच्न हामीले के गर्नै पर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएको नक्सा]

सोको

अपेक

हेलकत

योक्नाम

मगिद्दो

तानाक

दोतान

सामरिया

एन्दोर

शूनेम

ओप्रा

यिज्रेल

यिबलाम (गत्रिम्मोन)

तिर्सा

बेतशेमेश

बेत्शान (बेतशना)

याबेश-गिलाद?

अबेलमहोला

एन-हरोद

रामोत-गिलाद

बेतबेल

[डाँडाहरू]

कर्मेल डाँडा

ताबोर डाँडा

मोरे

गिल्बो डाँडा

[पानीको अंश]

भूमध्यसागर

गालील समुद्र

[नदी]

यर्दन नदी

[स्रोत]

Based on maps copyrighted by Pictorial Archive (Near Eastern History) Est. and Survey of Israel

[पृष्ठ २६-मा भएका चित्रहरू]

नियमित रूपमा राज्य प्रचारकार्यमा भाग लिनु र मसीही सभाहरूमा उपस्थित हुनु साँचो उपासनाका अत्यन्त महत्त्वपूर्ण भाग हुन्‌

[पृष्ठ २८, २९-मा भएको चित्र]

यहोवाको दिनमा बच्न चाहनेहरू सबैले येहूले जस्तै निर्णायक कदम चाल्नै पर्छ