सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं साँच्चै परमेश्‍वरमाथि भरोसा राख्नुहुन्छ?

के तपाईं साँच्चै परमेश्‍वरमाथि भरोसा राख्नुहुन्छ?

के तपाईं साँच्चै परमेश्‍वरमाथि भरोसा राख्नुहुन्छ?

“पहिले उहाँको राज्य . . . खोजी गर।”मत्ती ६:३३.

१, २. एक जना जवान भाइले आफ्नो जागिरमा कस्तो छाँटकाँट गरे र किन?

 एक जना जवान भाइ आफ्नो मण्डलीमा अझ बढी सेवा गर्न चाहन्थे। तर जागिरको कारण तिनी सबै सभा धाउन सक्दैनथे। तिनले कसरी समस्या सुल्झाए? तिनले आफ्नो जीवन सरल बनाए, जागिर छोडे र समयमा मसीही क्रियाकलापमा बाधा नपुऱ्‍याउने किसिमको जागिर पाए। पहिलेको दाँजोमा अहिले तिनी थोरै मात्र कमाउँछन्‌ तैपनि तिनको परिवारका आवश्‍यकताहरू पूरा भएकै छन्‌। सबैभन्दा खुसीको कुरा त, तिनले मण्डलीलाई सोचेजस्तो मदत गर्न सकिरहेका छन्‌।

ती जवान भाइले यस्तो छाँटकाँट गर्नुको कारण तपाईंले बुझ्नुभयो? तपाईं पनि तिनको जस्तै अवस्थामा हुनुभएको भए के तपाईं त्यस्तै छाँटकाँट गर्नुहुने थियो? खुसीको कुरा, धेरै मसीही भाइबहिनीले यस्तो छाँटकाँट गरेका छन्‌ र येशूले गर्नुभएको यस प्रतिज्ञामा भरोसा गर्छौं भनेर आफ्नो कामद्वारा देखाएका छन्‌: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।” (मत्ती ६:३३) सुरक्षाको लागि उनीहरू यस संसारमा होइन तर यहोवामाथि भरोसा राख्छन्‌।—हितोपदेश ३:२३, २६.

३. पहिले परमेश्‍वरको राज्य खोजी गर्नू भन्‍ने सल्लाह आज कतिलाई त्यति व्यावहारिक नलाग्न सक्छ, किन?

हामी बाँचिरहेको कठिन समयलाई विचार गर्दा कतिलाई लाग्न सक्छ—‘अहँ, त्यो भाइले ठीक निर्णय गरेन!’ यस दुनियाँमा एकथरी मानिसलाई बिहान खाए बेलुका के खाऊँ भन्‍ने पिरलो छ भने, अर्काथरी सुखले मात्तिएका छन्‌। गरिब मुलुकका धेरैजसो मानिस जीविका चलाउन जे काम गर्न पनि राजी हुन्छन्‌। तर धनी मुलुकका मानिसहरूलाई भने आर्थिक स्थिति डामाडोल हुँदा, भनेजस्तो काम नपाउँदा र घोटिएर काम गर्दा पनि थोरै तलब पाउँदा आफ्नो रहनसहन दुरुस्त राख्न हम्मेहम्मे पर्छ। गुजारा चलाउन गाह्रो भएकोले कतिको मनमा यस्तो प्रश्‍न उठ्‌न सक्छ, ‘पहिले परमेश्‍वरको राज्य खोजी गर्नू भन्‍ने सल्लाह के अहिलेको समयमा पनि व्यावहारिक छ र?’ यस प्रश्‍नको उत्तर पाउन येशूले यो सल्लाह कसलाई दिनुभएको थियो, त्यतातिर ध्यान दिनुहोस्‌।

“फिक्री नगर”

४, ५. दैनिक आवश्‍यकताबारे परमेश्‍वरका जनहरूले अचाक्ली फिक्री गर्नु हुँदैन भन्‍ने कुरा येशूले कसरी उदाहरण चलाएर बुझाउनुभयो?

धेरै ठाउँबाट गालीलमा जम्मा भएका ठूलो भीडलाई येशूले यो कुरा बताइरहनुभएको थियो। (मत्ती ४:२५) भीडमा धनीभन्दा गरिब मानिस नै धेरै थिए होलान्‌। तैपनि येशूले उनीहरूलाई भौतिक धन-सम्पत्ति होइन तर त्योभन्दा बहुमूल्य कुरा अर्थात्‌ आध्यात्मिक धन-सम्पत्ति थुपार्न आग्रह गर्नुभयो। (मत्ती ६:१९-२१, २४) उहाँले यसो भन्‍नुभयो: “ ‘हामी के खाउँला, कि के पिऔंला भनी आफ्नो प्राणको निम्ति र आफ्नो शरीरको निम्ति के लगाउँला भनी तिमीहरू फिक्री नगर।’ के प्राण खानेकुरोभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन ?”—मत्ती ६:२५.

येशूको कुरा सुन्‍ने धेरैलाई उहाँको भनाइ त्यति व्यावहारिक लागेन होला। दस नङ्‌ग्रा खियाएन भने परिवारको बिचल्ली हुन्छ भनेर उनीहरूलाई थाह थियो। तर येशूले चरा-चुरुंगीको उदाहरण दिएर सम्झाउनुभयो। चराले हरेक दिन चारो र बास खोज्नुपरे तापनि यहोवाले तिनीहरूको हेरचाह गर्नुहुन्छ। जङ्‌गली फूललाई यहोवाले कसरी स्याहार्नुहुन्छ र सुलेमान राजा पनि आफ्नो गौरवमा ती फूल जत्ति सिंगारिएका थिएनन्‌ भनेर पनि येशूले बताउनुभयो। चरा-चुरुंगी र फूलको त यहोवाले हेरविचार गर्नुहुन्छ भने, उहाँले हाम्रो झन्‌ कत्ति धेरै ख्याल गर्नुहोला! (मत्ती ६:२६-३०) येशूले भन्‍नुभएझैं जीवन धान्‍न हामीले किन्‍ने खानेकुरा र जीउ ढाक्ने लुगाफाटाभन्दा हाम्रो जीवन कता हो कता अमूल्य छन्‌। पेटपाला गर्न र लुगाफाटा जोरजाम गर्नमै आफ्नो सारा बल, समय र पैसा खर्च गऱ्‍यौं तर यहोवाको लागि चाहिं केही गर्न सकेनौं भने बाँच्नुको के नै अर्थ रहन्छ र?—उपदेशक १२:१३.

सन्तुलित दृष्टिकोण

६. (क) मसीहीहरूको काँधमा कस्तो जिम्मेवारी छ? (ख) मसीहीहरूले आफ्नो पूर्ण भरोसा कसमाथि राख्छन्‌?

तर येशूले आफ्नो कुरा सुनिरहेका मानिसहरूलाई काम नगरे पनि हुन्छ, परमेश्‍वरले तिमीहरूका भौतिक आवश्‍यकता पूरा गरिदिइहाल्नुहुन्छ भनेर कहिल्यै भन्‍नुभएन। चरा-चुरुंगीले समेत आफ्नो र आफ्ना बचेराहरूका लागि चारो खोज्नुपर्छ। त्यसकारण येशूका चेलाहरूले काम गरेर रोजीरोटी जुटाउनुपर्ने थियो। परिवारको पालनपोषण गर्नुपर्ने थियो। कमाराको रूपमा काम गर्ने मसीहीहरूले आफ्नो मालिकको काम मनतनले गर्नुपर्ने थियो। (२ थिस्सलोनिकी ३:१०-१२; १ तिमोथी ५:८; १ पत्रुस २:१८) पेट पाल्न प्रेरित पावलले अक्सर पाल सिउने काम गरे। (प्रेरित १८:१-४; १ थिस्सलोनिकी २:९) तरैपनि सुरक्षाका लागि ती मसीहीहरू आफूले गरिरहेको काममा भर परेनन्‌। उनीहरूले यहोवामाथि भरोसा राखे। यसो गर्दा अरूले पाउनै नसकेको मनोशान्ति उनीहरूले पाए। भजनहारले भनेका थिए: “परमेश्‍वरमा भरोसा राख्नेहरूचाहिं सियोन डाँडाझैं छन्‌, जो कहिल्यै डग्दैन, तर सदा सर्वदै रहिरहन्छ।”—भजन १२५:१.

७. यहोवामाथि पक्का भरोसा नगर्ने व्यक्‍तिको सोचाइ कस्तो हुन सक्छ?

यहोवामाथि पक्का भरोसा नगर्ने व्यक्‍तिको सोचाइ बेग्लै हुन सक्छ। धेरै मानिसहरू टन्‍न पैसा कमाएन भने भविष्य अन्धकार हुन्छ भन्‍ने सोचाइ राख्छन्‌। त्यसैकारण, थुप्रै आमाबाबुले आफ्ना छोराछोरीलाई पढ्‌ने उमेर होउन्जेल उच्च शिक्षा हासिल गर्न हौस्याएका छन्‌। छोराछोरीले जति उच्च शिक्षा हासिल गऱ्‍यो उति नै राम्रो जागिर पाउँछन्‌ भन्‍ने आशा गर्छन्‌। अफसोस, छोराछोरीलाई उच्च शिक्षा हासिल गर्न बढी नै जोड दिएको कारण केही मसीही परिवारले ठूलो क्षति बेहोर्नुपरेको छ किनभने उनीहरूका छोराछोरीले आध्यात्मिक कुरालाई महत्त्व दिन छाडेका छन्‌ र भौतिक कुरा थुपार्ने धुनमा लागेका छन्‌।

८. मसीहीहरू कस्तो सन्तुलित दृष्टिकोण राख्छन्‌?

त्यसकारण, प्रथम शताब्दीमा येशूको सल्लाह जत्ति व्यावहारिक थियो आज पनि उत्तिकै व्यावहारिक छ भनेर बुद्धिमान्‌ मसीहीहरूले बुझेका छन्‌ र सन्तुलित दृष्टिकोण राख्ने प्रयास गर्छन्‌। बाइबलमा भनिएका जिम्मेवारीहरू पूरा गर्न जागिरमा दिनदिनै लामो समयसम्म खटिनु परे तापनि उनीहरू आध्यात्मिक कामकुराभन्दा पैसा कमाउनुलाई बढी महत्त्वपूर्ण ठान्दैनन्‌।—उपदेशक ७:१२.

फिक्री नगर्ने थप सल्लाह

९. यहोवामाथि पूर्ण भरोसा राख्नेहरूलाई येशू कस्तो आश्‍वासन दिनुहुन्छ?

डाँडाको उपदेशमा येशूले त्यहाँ भेला भएको भीडलाई यस्तो आग्रह गर्नुभयो: “के खाउँला? कि के पिऔंला? कि के पहिरौंला?’ भनेर फिक्री नगर, किनकि अन्यजातिहरूले मात्र यी सब थोक खोज्दछन्‌। किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्‍नुहुन्छ।” (मत्ती ६:३१, ३२) कत्ति प्रोत्साहनदायी कुरा! यहोवामाथि पूर्ण भरोसा राख्यौं भने, उहाँले हामीलाई कदम-कदममा साथ दिनुहुनेछ। तर येशूको कुरा गहन छ, यसलाई हामीले हल्कासित लिनु हुँदैन। हामीलाई भौतिक कुराकै मात्र फिक्री हुन थाल्यो भने हाम्रो सोचाइ पनि “अन्यजातिहरू” अर्थात्‌ संसारका मानिसहरूको जस्तै हुनेछ भनी येशूले सम्झाउनुभयो।

१०. जवान मानिस येशूकहाँ सल्लाह माग्न आउँदा उसले सबैभन्दा बढी प्रेम गरेको कुराबारे येशूले कसरी बताउनुभयो?

१० एक चोटिको कुरा हो, धेरै धन-सम्पत्ति भएको जवान मानिसले अनन्त जीवन पाउन के गर्नुपर्छ भनेर येशूलाई सोध्यो। येशूले उसलाई त्यतिबेलासम्म पनि लागू भइरहेको मोशाको व्यवस्थामा उल्लिखित नियमहरूबारे सम्झाउनुभयो। त्यस जवानले येशूलाई भन्यो: “यी सब ता मैले पालन गर्दै आएको छु अझ मैले के गर्न बाँकी छ र?” येशूको जवाफ धेरैलाई व्यावहारिक नलागेको हुनुपर्छ। उहाँले यसो भन्‍नुभयो: “तिमी सिद्ध हुने इच्छा गर्छौ भने गएर तिमीसित जो छ, सबै बेचेर दरिद्रहरूलाई देऊ, औ तिमीलाई स्वर्गमा धन मिल्नेछ र आएर मेरो पछि लाग।” (मत्ती १९:१६-२१) आफ्नो धन-सम्पत्ति अरूलाई दिने कुरा त्यस जवान मानिसले सोच्नसमेत सकेन। त्यसैले दुःखित भएर ऊ त्यहाँबाट हिंड्यो। उसले यहोवालाई भन्दा आफ्नो धन-सम्पत्तिलाई बढी प्रेम गरेको थियो।

११, १२. (क) धन-सम्पत्तिबारे येशूले कस्तो गहन कुरा बताउनुभयो? (ख) यहोवाको सेवा गर्न धन-सम्पत्तिले कसरी बाधा पुऱ्‍याउन सक्छ?

११ त्यो कुरा थाह पाएपछि येशूले बडो गजबको कुरा गर्नुभयो: “धनी मानिस स्वर्गको राज्यमा कठिनसित पस्नेछ। . . . धनी मानिसलाई परमेश्‍वरको राज्यभित्र पस्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुनेछ।” (मत्ती १९:२३, २४) के येशूले धनी जति कोही पनि परमेश्‍वरको राज्यभित्र पस्नेछैनन्‌ भन्‍न खोज्नुभएको हो? होइन, किनभने उहाँले यसो पनि भन्‍नुभयो: “परमेश्‍वरबाट सबै कुरा सम्भव छ।” (मत्ती १९:२५, २६) यहोवाको मदत पाएर त्यस समयका केही धनी व्यक्‍ति अभिषिक्‍त मसीहीहरू पनि बनेका थिए। (१ तिमोथी ६:१७) जेहोस्‌, येशूले त्यसो भन्‍नुको पछाडि जायज कारण थियो। हो, उहाँले चेतावनी दिइरहनुभएको थियो।

१२ त्यो धनी जवान व्यक्‍तिले जस्तै कसैले आफ्नो धन-सम्पत्तिलाई अचाक्ली प्रेम गऱ्‍यो भने, तनमनले यहोवाको सेवा गर्नदेखि उसलाई त्यही सम्पत्तिले बाधा पुऱ्‍याउन सक्छ। पहिल्यैदेखि धनी र “धनी हुने इच्छा गर्ने” दुवैलाई यस्तो हुन सक्छ। (१ तिमोथी ६:९, १०) भौतिक कुरालाई सब थोक ठान्‍ने व्यक्‍ति “आत्मामा दरिद्र” अर्थात्‌ आफ्नो आध्यात्मिक आवश्‍यकताबारे त्यति सजग नहुन सक्छ। (मत्ती ५:३) यस्तो स्थितिमा पुगेपछि उसलाई यहोवाको मदत चाहिंदैन जस्तो लाग्न थाल्छ। (व्यवस्था ६:१०-१२) उसले मण्डलीका भाइबहिनीबाट मान-सम्मान खोज्न सक्छ। (याकूब २:१-४) साथै, उसले आफ्नो धेरैजसो समय यहोवाको सेवामा होइन तर मोजमस्ती गर्न बिताउन सक्छ।

सही दृष्टिकोण राख्न सिक्नुहोस्‌

१३. लाओडिसियाका मसीहीहरूले कस्तो गलत दृष्टिकोण राखेका थिए?

१३ धन-सम्पत्तिप्रति गलत दृष्टिकोण राख्ने एउटा समूह प्रथम शताब्दीको लाओडिसिया मण्डली थियो। येशूले उनीहरूलाई यसो भन्‍नुभयो: “म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन भनी तिमीले भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दुःखी, दयनीय, दरिद्र, अन्धा र नाङ्‌गा छौ।” आफ्नो धन-सम्पत्तिले गर्दा लाओडिसियाका मसीहीहरू यस्तो दयनीय आध्यात्मिक अवस्थामा पुगेका थिएनन्‌। तर यहोवामा भन्दा धन-सम्पत्तिमा बढी भरोसा राखेकाले यस्तो अवस्थामा पुगेका थिए। फलस्वरूप, तिनीहरू आध्यात्मिक तवरमा मनतातो भए र येशूले उनीहरूलाई थुकिदिनुहुने थियो।—प्रकाश ३:१४-१७, NRV.

१४. हिब्रू मसीहीहरू किन पावलको प्रशंसा पाउन योग्यका थिए?

१४ अर्कोतर्फ, सतावट आइपरेको बेला हिब्रू मसीहीहरूले जस्तो मनोभाव देखाए पावलले त्यसको प्रशंसा गरे। तिनले यसो भने: “बन्धनमा परेकाहरूलाई तिमीहरूले सहानुभूति देखाएर तिमीहरू दुःखित भयौ। औ तिमीहरू आफैकहाँ उत्तम र रहिरहने अर्को एउटा सम्पत्ति छ भन्‍ने जानेर तिमीहरूका धन-सम्पत्ति आनन्दसँग लुट्‌न दियौ।” (हिब्रू १०:३४) धन-सम्पत्ति गुमाउँदा ती मसीहीहरूले निरास भएर लत्तो छाडेनन्‌। उनीहरू आनन्दित रहिरहन सके किनभने उनीहरूले आफूसित भएको अत्यन्त बहुमूल्य धन-सम्पत्ति अर्थात्‌ “उत्तम र रहिरहने . . . सम्पत्ति” जोगाइराखे। येशूले बताउनुभएको उदाहरणमा, एउटा बहुमूल्य मोतीको लागि सबै कुरा बेच्ने व्यापारीले जस्तै जस्तोसुकै मूल्य चुकाएर भए पनि परमेश्‍वरको राज्यको आशालाई बलियो गरी समातिराख्न उनीहरू कटिबद्ध थिए। (मत्ती १३:४५, ४६) कस्तो राम्रो मनोभाव!

१५. लाइबेरियाकी एउटी मसीही बहिनीले कसरी पहिले परमेश्‍वरको राज्यको खोजी गरिन्‌?

१५ आज धेरैले यस्तै असल मनोभाव विकास गरेका छन्‌। उदाहरणको लागि, लाइबेरियाकी एउटी जवान मसीही बहिनीले युनिभर्सिटीमा पढ्‌न जाने मौका पाएकी थिइन्‌। त्यस देशमा यस्तो मौकालाई उज्ज्वल भविष्यको ढोका ठानिन्छ। तर तिनी अग्रगामी सेवा गर्थिन्‌ र केही समयको लागि विशेष अग्रगामी सेवा गर्ने निम्तो पनि पाएकी थिइन्‌। त्यसकारण तिनले पहिला परमेश्‍वरको राज्यको खोजी गर्ने छनौट गरिन्‌ र अग्रगामी सेवामा नै लागिरहिन्‌। तिनी आफूलाई खटाइएको ठाउँमा गइन्‌ र तीन महिनाभित्रै २१ वटा बाइबल अध्ययन सुरु गरिन्‌। ती जवान बहिनी र तिनीजस्ता अरू हजारौं मसीहीहरूले भौतिक सुविधाहरू प्राप्त गर्न सकिने मौकालाई पन्छाएर पहिले परमेश्‍वरको राज्यको खोजी गरेका छन्‌। भौतिकवादले गाँजेको यस संसारमा उनीहरूले यस्तो मनोभाव कायम राख्न सक्नुको रहस्य के हो? उनीहरूले थुप्रै असल गुण विकास गरेका छन्‌। आउनुहोस्‌, तीमध्ये केही गुणबारे छलफल गरौं।

१६, १७. (क) यहोवामाथि भरोसा गर्न नम्रता नभई हुँदैन, किन? (ख) परमेश्‍वरले आफ्नो प्रतिज्ञा अवश्‍य पूरा गर्नुहुन्छ भनेर विश्‍वास गर्नु किन महत्त्वपूर्ण छ?

१६ नम्रता। बाइबल भन्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ। आफैलाई बुद्धिमान नसम्झी।” (हितोपदेश ३:५-७) कहिलेकाहीं मानिसको नजरमा कुनै बाटो ठीकै देखिन सक्छ। (यर्मिया १७:९) तर साँचो मसीही भने अगुवाइको लागि यहोवामा भर पर्छन्‌। (भजन ४८:१४) “आफ्नो सबै चालमा” अर्थात्‌ मण्डलीको कामकुरा गर्दा, पढाइ जागिर, रमाइलो गर्ने वा अरू जुनसुकै विषयमा होस्‌, तिनले नम्र भई यहोवाको सल्लाह खोज्छन्‌।—भजन ७३:२४.

१७ यहोवाले आफ्नो प्रतिज्ञा अवश्‍य पूरा गर्नुहुन्छ भन्‍ने विश्‍वास: “जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।” (हिब्रू ११:६) यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्नुहोला कि नहोला भनेर हामीले शङ्‌का गर्न थाल्यौं भने, ‘यस संसारको रीतिमा चल्न’ हामीलाई ठिकैजस्तो लाग्न सक्छ। (१ कोरिन्थी ७:३१) तर हाम्रो विश्‍वास बलियो छ भने, पहिले परमेश्‍वरको राज्य खोजी गर्न हामी कटिबद्ध हुनेछौं। यस्तो बलियो विश्‍वास कसरी विकास गर्ने? चोखो मनले अटुट रूपमा प्रार्थना गर्नुका साथै नियमित रूपमा व्यक्‍तिगत अध्ययन गरेर यहोवाको नजिक भयौं भने यसो गर्न सक्नेछौं। (भजन १:१-३; फिलिप्पी ४:६, ७; याकूब ४:८) राजा दाऊदले जस्तै हामी पनि यसरी प्रार्थना सक्छौं: “हे परमप्रभु, मैले ता तपाईंकै भरोसा गरें, मैले भनें, ‘तपाईंनै मेरा परमेश्‍वर हुनुहुन्छ।’ . . . तपाईंको भलाइ कति ठूलो छ!”—भजन ३१:१४, १९.

१८, १९. (क) प्रयत्न गर्दा यहोवामाथिको हाम्रो विश्‍वास अझ सुदृढ हुन्छ, कसरी? (ख) त्यागहरू गर्न मसीहीहरू किन इच्छुक हुनुपर्छ?

१८ यहोवाको सेवामा लगनशील: यहोवा आफ्नो प्रतिज्ञा अवश्‍य पूरा गर्नुहुन्छ भनेर विश्‍वास गर्न सक्नु र प्रयत्न गर्नुबीचको सम्बन्ध देखाउँदै पावलले यस्तो लेखे: “तिमीहरू हरेकले पूरा आशाको निम्ति अन्तसम्मै त्यही किसिमको प्रयत्न देखाउनेछौ भन्‍ने हामी इच्छा गर्दछौं।” (हिब्रू ६:११) यहोवाको सेवामा व्यस्त रह्‍यौं भने उहाँले हामीलाई मदत गर्नुहुनेछ। जब-जब हामी त्यस्तो मदत पाउँछौं यहोवामाथिको हाम्रो भरोसा पनि उति नै बलियो हुन्छ। हामी अझ “स्थिर र अटल” हुन्छौं। (१ कोरिन्थी १५:५८) हाम्रो विश्‍वास खारिन्छ र हाम्रो आशा सुनिश्‍चित हुन्छ।—एफिसी ३:१६-१९.

१९ त्यागहरू गर्ने इच्छुकता: येशूको चेला हुनका लागि पावलले ठूलो नाउँ कमाउन सक्ने मौकालाई त्यागे। जीवनको कुनै-कुनै मोडमा निकै कष्ट सहनुपरे तापनि पावलले सही निर्णय गरे भन्‍ने कुरामा दुई मत छैन। (१ कोरिन्थी ४:११-१३) यहोवाले ऐस-आरामको जीवन दिने प्रतिज्ञा गर्नुभएको छैन र कहिलेकाहीं त उहाँका सेवकहरू कठिनाइको जाँतोमा पिसिन्छन्‌ पनि। आफ्नो रहनसहन सरल बनाउन र त्यागहरू गर्न इच्छुक हुँदा यहोवाको सेवा गर्ने हाम्रो दृढ संकल्प छर्लङ्‌ग हुन्छ।—१ तिमोथी ६:६-८.

२०. पहिले परमेश्‍वरको राज्यको खोजी गर्ने व्यक्‍तिलाई धीरज नभई हुँदैन, किन?

२० धीरज: चेला याकूबले सँगी मसीहीहरूलाई यस्तो आग्रह गरे: “हे भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर।” (याकूब ५:७) अहिलेको व्यस्त संसारमा धैर्य धारण गर्नु सजिलो कुरा होइन। हामी सबै कुरा फटाफट होस्‌ भन्‍ने चाहन्छौं। तर पावल हामीलाई “विश्‍वास र धीरजद्वारा प्रतिज्ञाका हकदार हुनेहरूका” देखा-सिकी गर्न आग्रह गर्छन्‌। (हिब्रू ६:१२) यहोवाको बाटो हेर्न तयार हुनुहोस्‌। पृथ्वी प्रमोदवनमा परिणत हुँदा पाइने अनन्त जीवनको पर्खाइ व्यर्थ हुनेछैन!

२१. (क) पहिले परमेश्‍वरको राज्यको खोजी गर्दा कुन कुरा प्रकट हुन्छ? (ख) अर्को लेखमा के छलफल गरिनेछ?

२१ हो, पहिले परमेश्‍वरको राज्यको खोजी गर भनी येशूले दिनुभएको सल्लाह व्यावहारिक छ। यस सल्लाहअनुसार चल्यौं भने, हामी साँच्चै यहोवामाथि भरोसा गर्छौं भन्‍ने कुरा प्रकट हुन्छ। साथै, मसीहीहरूले जीवन बिताउनुपर्ने सही तरिका पनि यही नै हो। तर येशूले “[परमेश्‍वरको] धार्मिकता खोजी गर” भनेर पनि सल्लाह दिनुभयो। विशेष गरी अहिले यो प्रोत्साहन अत्यन्त आवश्‍यक हुनुको कारण हामी अर्को लेखमा छलफल गर्नेछौं। (w06 1/1)

के तपाईं बुझाउन सक्नुहुन्छ?

• भौतिक कुराको सन्दर्भमा येशूले कस्तो सन्तुलित दृष्टिकोण राख्न प्रोत्साहन दिनुभयो?

• ऊँट र सियोको नाथ्रीबारे येशूले दिनुभएको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

• कस्ता मसीही गुणहरूले हामीलाई पहिले परमेश्‍वरको राज्य खोजी गर्न मदत गर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

येशूको कुरा सुन्‍ने धेरैजसो मानिस गरिब थिए

[पृष्ठ १६-मा भएको चित्र]

प्रशस्त धन-सम्पत्ति भएको जवान मानिसले परमेश्‍वरलाई भन्दा धन-सम्पत्तिलाई बढी प्रेम गर्थे

येशूको दृष्टान्तका व्यापारीले एउटा बहुमूल्य मोतीको लागि सबै कुरा त्यागे

[पृष्ठ १७-मा भएको चित्र]

यहोवाको सेवामा व्यस्त रह्‍यौं भने उहाँले हामीलाई मदत गर्नुहुनेछ