दुष्ट्याइँको पेलाइले भलाइ ओझेलमा
दुष्ट्याइँको पेलाइले भलाइ ओझेलमा
अहिले संसारमा अरूको लागि बाँच्ने कोही तछैन जस्तो लाग्छ। तर, “मुठी खोल्न” तत्पर हुनेहरू हुँदै नभएका चाहिं होइनन्। हो, अझै छन् जसले कुनै न कुनै तरिकामा अरूको दुःख बाँड्न चाहन्छन्। ती हजारौं दयालु हातहरूबाट चन्दा पाएर नै त हो परोपकारी संघ-संस्थाको कामले गति लिन सकेको। नत्र त कहाँ सक्नु! उनीहरू दिल खोलेर वर्षेनी अरबौं डलर अनुदान दिन्छन्। जस्तो कि, सन् २००२ मा बेलायतमा परोपकारी कार्यको लागि १३ अरब अमेरिकी डलर चन्दा उठ्यो। त्यति धेरै चन्दा अघि कहिल्यै उठेको थिएन। सन् १९९९ देखि दस जना उदार समाजसेवीहरूले खाँचोमा परेकाहरूलाई मदत गर्न दिएका वा दिने वाचा गरेको रकम जम्मा ३८ अरब अमेरिकी डलर पुगेको छ।
परोपकारी संघ-संस्थाहरूले गर्ने कामहरू के के हुन्? राम्रो कमाइ नहुने परिवारहरूलाई औषधी खर्च जुटाइदिने, आमा वा बुबा मात्र भएका छोराछोरीलाई शिक्षादीक्षा र सल्लाह-सुझाव दिने, विकासोन्मुख मुलुकमा खोप कार्यक्रम चलाउने, गरिब बालबालिकालाई वर्णमालाको किताब बाँड्ने, गरिब देशका किसानहरूलाई पशुपालनको प्रबन्ध गरिदिने र प्राकृतिक प्रकोपमा परेकाहरूलाई राहत जुटाउने आदि।
यस्ता असल कामहरू हेर्दा मान्छेले अरूको भलाइ गर्न नसक्ने होइन। तर अर्कोतिर, कुभलो गर्नेहरू पनि जताततै स्याउँस्याउँती छन्। तिनीहरूको दुष्ट्याइँ कत्ति क्रूर र घिनलाग्दो! निन्दा गर्ने शब्दधरि छैन।
दुष्ट्याइँको बिगबिगी
रेकर्डअनुसार, दोस्रो विश्वयुद्ध अन्त भएदेखि यता जातीय संहार र राजनैतिक उथलपुथलले झन्डै ५० वटा आम हत्याकाण्डको नाङ्गो नाच देखाएको छ। अमेरिकन पलिटिकल साइन्स रिभ्यु भन्ने पत्रिका लेख्छ, “यी हिंसात्मक घटनामा झन्डै १ करोड २० लाख सैनिक र २ करोड २० लाख जति निर्दोष नागरिकको ज्यान गयो। सन् १९४५ देखि यताको गृहयुद्ध र अन्तरराष्ट्रिय युद्धहरूमा समेत यतिविघ्न मान्छे मरेका थिएनन्।
कम्बोडियामा बीसौं शताब्दीको अन्त-अन्ततिर राजनैतिक कारणले गर्दा झन्डै साढे २२ लाख मानिसहरूको हत्या भयो। रूवाण्डाको जातीय घृणाले मच्चिएको दङ्गामा पुरुष, स्त्री र केटाकेटी गरी ८,००,००० भन्दा बढीको ज्यान गयो। बोस्नियामा धार्मिक र राजनैतिक कारणले २,००,००० भन्दा बढीको हत्या गरियो।
सन् २००४ मा संयुक्त राष्ट्रसंघका महासचिवले हालै मच्चिएको दुष्ट्याइँको तीतो यथार्थ यसरी पोखे: “इराकमा आम नागरिकको यत्ति क्रूर हत्या गरियो, लाग्छ त्यहाँ दया-माया भन्ने शब्दै छैन। राहत कार्यमा खटिएकाहरू, पत्रकार र अन्य जनसाधारणलाई बन्दी बनाएर यसरी मारियो कि बर्बरताको परिभाषा अर्को खोज्नु पर्दैन। उता, इराकी
कैदीहरूमाथि भएको दुर्व्यवहारको व्यथा अर्कै छ। अर्कोतिर, सुडानको डार्फुरमा मानिसहरू घरबाट लखेटिए, आफ्नै आँखा अगाडि घर ध्वस्त गरियो। हजारौं असहाय नारीको इज्जत लुटेर विजयको हर्षोल्लास मनाए। त्यस्तै, उत्तरी युगान्डामा केटाकेटीहरूको अङ्गभङ्ग गरियो र जबरजस्ती अमानवीय काम गर्न लगाइयो। रूसको बेस्लानमा केटाकेटीलाई बन्दी बनाएर निर्दयतापूर्वक हत्या गरियो।”विकसित मानिने मुलुकमा समेत जातीय घृणा र अपराध बढ्दै गइरहेको छ। उदाहरणको लागि, इन्डिपेन्डेन्ट न्युज-ले सन् २००४ मा बेलायतबारे यस्तो रिपोर्ट दियो, “पहिलाको तुलनामा गएको दस वर्षभित्र जातीय घृणाको सिकार हुनेहरूको संख्या ११ गुणा बढेको छ।”
अब प्रश्न उठ्छ, अरूको भलो गर्न सक्ने मान्छेले किन यस्तो दुष्ट काम गर्छ? हामी कहिले दुष्ट्याइँको पञ्जाबाट फुत्कन सकौंला? यस्ता जटिल प्रश्नको सन्तोषजनक जवाफ बाइबलले दिन्छ, सो हामी अर्को लेखमा पाउनेछौं। (w06 1/1)