सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको मार्गमा आठ लालाबाला हुर्काउँदाको सुखदुःख

यहोवाको मार्गमा आठ लालाबाला हुर्काउँदाको सुखदुःख

जीवनी

यहोवाको मार्गमा आठ लालाबाला हुर्काउँदाको सुखदुःख

जोस्लीन भ्यालेन्टाइनको वृत्तान्तमा आधारित

कुरा १९८९ को हो, मेरो श्रीमान्‌ कामको खोजीमा परदेश लाग्नुभो। पैसा पठाउने वचन दिनुभएको थियो। आठ लालाबाला हुर्काउनुथियो। हप्तौं बित्यो, कुनै खबर छैन। महिनौं बित्यो, अत्तोपत्तो छैन। ‘कुनै झमेलामा फस्नुभो होला, एक दिन कसो नआउनुहोला,’ मैले चित्त बुझाएँ।

भुराभुरीको पेट भर्नुपर्ने, पैसा कौडी थिएन। म पागलसरि भएँ। विश्‍वास नलागी अनिदो रातहरूमा आफैलाई सोध्थें, ‘उहाँ हामीलाई कसरी त्याग्न सक्नुहुन्छ। अहँ, यो हुनै सक्दैन!’ तर मन बिझाउने यो वास्तविकता स्वीकार्नै पऱ्‍यो। आज उहाँले छोडेर जानुभएको पनि १६ वर्ष भइसक्यो, अझै फर्कनुभएको छैन। लोग्नेको सहाराविनै मैले आठ लालाबाला हुर्काएँ। कहाँ सजिलो थियो र! तर आज तिनीहरू यहोवाको मार्गमा हिंडेको देख्दा आँखा रसाएर आउँछ। तर मेरा यी संघर्षका कथाभन्दा पहिले, म कसरी हुर्कें, सुन्‍नुहोस्‌।

बाइबल सत्यको खोजीमा

सन्‌ १९३८ मा क्यारेबियन टापूको जमैकामा म जन्में। बुबा कहिल्यै चर्चको सदस्य बन्‍नुभएन। तर उहाँमा ईश्‍वरप्रति आस्था भने थियो। बुबाले मलाई हरेक रात बाइबलबाट भजनसंग्रहको पुस्तक पढ्‌न लगाउनुहुन्थ्यो। कतिपय भजन त मैले मुखस्तै पारें। मुमाचाहिं घर नजिकैको चर्चको सदस्य हुनुहुन्थ्यो। कहिलेकाहीं उहाँले मलाई पनि चर्च लानुहुन्थ्यो।

परमेश्‍वरले असल मानिसलाई स्वर्ग लैजानुहुन्छ र खराबलाई चाहिं नरकमा अनन्त सास्ती दिनुहुन्छ भनेर चर्चमा सिकाइन्थ्यो। येशू नै परमेश्‍वर हुनुहुन्छ र उहाँले बच्चाहरूलाई खुबै माया गर्नुहुन्छ भनेर पनि सिकाइन्थ्यो। म अलमलमा परें। अब त परमेश्‍वरदेखि मलाई डर पो लाग्न थाल्यो। म सोच्थें, ‘मानिसलाई माया गर्ने ईश्‍वरले आगोमा सास्ती दिने, यो कसरी हुन्छ?’

नरकको आगोको सोचाइले राती पनि डरलाग्दा सपनाहरू देख्थें। पछि मैले सेभेन-डे एडभेन्टिस्ट्‌ चर्चबाट पत्राचार बाइबल-कोर्स गरें। दुष्टहरूलाई अनन्त सास्ती होइन तर जलाएर खरानी बनाइन्छ भनेर तिनीहरू सिकाउँथे। मलाई यो कुरा अलि चित्त बुझ्यो। अब तिनीहरूकै चर्च धाउन थालें। तर पछि तिनीहरूको शिक्षा पनि गोलमाल लाग्न थाल्यो। त्यो शिक्षाले मेरो नैतिक दृष्टिकोण सच्याएन।

त्यतिबेला अवैध यौनसम्पर्क ठीक होइन भनेर सबैले मानिलिन्थे। तर मेरो र अरू धेरैको विश्‍वास थियो, एक जनासित मात्र यौनसम्पर्क राख्नु व्यभिचार होइन। त्यसैले एकै जनासित यौनसम्पर्क राख्ने हो भने बिहे नगरे पनि भैहाल्छ। अनि यसो गर्नु पाप होइन भन्‍ने लाग्थ्यो। (१ कोरिन्थी ६:९, १०; हिब्रू १३:४) यसै मान्यताको सिकार भएकी म, बिहे नगरीकनै छ जना बच्चाकी आमा भएँ।

आध्यात्मिक उन्‍नति

सन्‌ १९६५ मा हाम्रो गाउँ बाथ नजिकै भ्यासलिन गुडिसन र इथेल चेम्बर्स बस्न आए। तिनीहरू अग्रगामी रहेछन्‌ अर्थात्‌ यहोवाका साक्षीहरूको पूर्ण-समय सेवकहरू। एक दिन तिनीहरूले मेरो बुबालाई प्रचार गरे। बुबाले गृह बाइबल अध्ययनको प्रस्ताव स्वीकार्नुभयो। म घरमा भएको बेला तिनीहरूले मलाई पनि प्रचार गरे। म यहोवाका साक्षीहरूलाई शंकाले हेर्थें। तिनीहरूलाई गलत साबित गर्न भए पनि मैले तिनीहरूसित बाइबल अध्ययन गर्ने निर्णय गरें।

अध्ययनमा म धेरै प्रश्‍न सोध्थें। बाइबलबाटै साक्षीहरूले त्यसको जवाफ दिन्थे। मरिसकेकाहरू अचेत हुन्छन्‌ र नरकमा तड्‌पिंदैनन्‌ भनेर मैले बुझें। (उपदेशक ९:५, १०) यसै पृथ्वीमा एउटा सुन्दर बगैंचामा अनन्त जीवन पाउने आशा पनि मैले सिकें। (भजन ३७:११, २९; प्रकाश २१:३, ४) खै किन हो, बुबाले अध्ययन छोड्‌नुभयो। तर म भने यहोवाको साक्षीहरूको नजिकैको मण्डलीका सभाहरू धाउन थालें। सभाहरूको शान्त वातावरण र सुव्यवस्थाले म प्रभावित भएँ। त्यहाँ मैले यहोवाबारे अझ धेरै सिक्ने मौका पाएँ। यहोवाका साक्षीहरूले गर्ने ठूलो जमघट क्षेत्रीय सम्मेलन र जिल्ला अधिवेशनहरूमा पनि जान थालें। यी सबै कुराले यहोवाले रुचाउने उपासना गर्ने भित्री इच्छा पलायो। तर एउटा अड्‌चन थियो।

बिहे नगरीकनै म एक जना पुरुषसित बस्न थालें। यस अघि नै मेरा तीन जना बच्चाहरू भइसकेका थिए। फेरि अर्को तीन जना बच्चाहरू जन्मिए। यसरी बिहे नगरीकनै म छ बच्चाकी आमा भइसकेकी थिएँ। बाइबलबाट मैले सिकेकी थिएँ, विवाहपूर्व यौनसम्बन्ध यहोवा घिनाउनुहुन्छ। मेरो अन्तस्करणले घोच्यो। (हितोपदेश ५:१५-२०; गलाती ५:१९) सच्चाइप्रतिको मेरो प्रेम गहिरिंदै गयो। मेरो एउटै धोको थियो, परमेश्‍वरको स्तरअनुसार जीउनु। मैले एउटा निर्णय गरें। सँगै बसिरहेको पुरुषलाई भनें, कि विवाह गरौं नभए सम्बन्ध टुङ्‌ग्याऔं। मेरो विश्‍वास नअँगाले पनि बिहे गर्न उनी राजी भए। साक्षीहरूसित पहिलो पटक भेटेको पाँच वर्षपछि अगस्त १५, १९७० मा मैले कानुनी रूपमा विवाह गरें। डिसेम्बर १९७० मा बप्तिस्मा लिएर यहोवाप्रतिको आफ्नो समर्पण सबैलाई देखाएँ।

पहिलो पटक प्रचारमा निस्केको त्यो दिन म जीवनभर भुल्न सक्दिनँ। डरले पसिना-पसिना भएको थिएँ। कुरा कसरी थाल्ने, थाह थिएन। पहिलोचोटि प्रचार गरेको घरधनीले छिट्टै कुराकानी टुङ्‌ग्याउँदा, मैले सञ्चो महसुस गरें। तर पछि डर हट्यो। प्रचारबाट साँझ घर फर्कंदा मेरो खुसीको सीमा थिएन। छोटो कुराकानी नै भए पनि, मैले धेरैसित बाइबलबारे कुरा गर्न अनि बाइबल आधारित केही प्रकाशनहरू दिन सकें।

आध्यात्मिक तवरमा परिवारको पालनपोषण गर्दै

सन्‌ १९७७ सम्ममा मेरा आठ जना छोराछोरी भइसकेका थिए। पूरै घरानालाई यहोवाको सेवामा लगाउन म जे गर्न पनि तयार थिएँ। (यहोशू २४:१५) नियमित पारिवारिक बाइबल अध्ययन सञ्चालन गर्न मेहेनत गरें। कहिलेकाहीं त थकाइले चूर हुन्थें। बच्चाले अनुच्छेद पढ्‌दै गर्दा निद्राले म झुल्न थाल्थें। बच्चाहरूले नै मलाई जगाउँथे। तर जति थाके पनि पारिवारिक बाइबल अध्ययन मैले रोकिनँ।

म सधैंजसो छोराछोरीसित प्रार्थना पनि गर्थें। छोराछोरीको बोली फुट्‌नेबित्तिकै उनीहरूलाई आफ्नै शब्दमा प्रार्थना गर्न सिकाइहाल्थें। सुत्नेबेला सबैले प्रार्थना गरे कि गरेनन्‌ भनेर म ध्यान दिन्थें। स-सानाहरूसित चाहिं सँगै बसेर छुट्टाछुट्टै प्रार्थना गर्थें।

सुरुमा त छोराछोरीलाई मण्डलीका सभाहरूमा लैजाँदा श्रीमान्‌ले विरोध गर्नुहुन्थ्यो। तर म एक्लै सभा जाँदा घरमा बच्चाहरू हेर्नुपर्ने झन्झटले गर्दा उहाँले बच्चाहरूलाई सभामा लगेकै बेस जस्तो ठान्‍नुभयो। साँझतिर उहाँको डुल्ने अनि साथीहरूसित भेट्‌न जाने बानी थियो। तर आठ-आठ जना लालाबाला सँगै लिएर हिंड्‌न कहाँ सक्नु! पछि त राज्यभवन जान उहाँ आफैले बच्चाहरूलाई तयार गरिदिन थाल्नुभयो।

बच्चाहरूलाई मण्डलीका सबै सभाहरू धाउने र प्रचारमा जाने बानी नै पर्न थाल्यो। गर्मी महिनाको छुट्टीमा तिनीहरू अक्सर अग्रगामी अथवा मण्डलीका पूर्ण-समय सेवकहरूसित प्रचारमा जाने गर्थे। यसले गर्दा मेरा छोराछोरीले सानैदेखि सभा जान र प्रचार गर्न मन पराउन थाले।—मत्ती २४:१४.

परीक्षाको घडी

परिवारको आर्थिकस्तर अलि उकास्न श्रीमान्‌ परदेश लाग्नुभयो। उहाँ लामो समयसम्म परिवारबाट अलग बस्नुहुन्थ्यो। तर बेला-बेलामा आइरहनुहुन्थ्यो। तर सन्‌ १९८९ मा उहाँ जानुभयो अनि कहिल्यै फर्कनुभएन। माथि बताएझैं श्रीमान्‌ गुमाउनुपर्दा म विक्षिप्त भएँ। धेरै रात रोएरै कटाएँ। सान्त्वना र धीरजको लागि जोडतोडले प्रार्थना गर्थें। प्रार्थनाको जवाफ पाएको महसुस पनि गरें। यशैया ५४:४ र १ कोरिन्थी ७:१५ जस्ता बाइबल पदहरूले मेरो मन शीतल हुन्थ्यो। यसैबाट जीवन अघि बढाउन बल मिल्यो। मसीही मण्डलीमा भएका आफन्त र साथीहरूले भावनात्मक र भौतिक रूपमा मदत पनि दिनुभयो। मदत पाउँदा यहोवा र उहाँका जनहरूप्रति मेरो कृतज्ञता अझ बढ्यो।

अरू परीक्षाहरू पनि आए। बाइबल विपरित काम गर्दा एउटी छोरी बहिष्कार भइन्‌। मेरा छोराछोरी, मेरो मुटुको टुक्रा मलाई सबैको उत्तिकै माया लाग्छ। तर मेरो लागि यहोवासितको वफादारिताभन्दा ठूलो कुरा अरू छैन। त्यसैले मेरो परिवारले बहिष्कार भएकाहरूसित गर्नुपर्ने व्यवहारबारे बाइबलको निर्देशन कडाइकासाथ पालन गऱ्‍यो। (१ कोरिन्थी ५:११, १३) अडान नबुझ्नेहरूबाट धेरै आलोचना खप्नुपऱ्‍यो। तर पछि मेरी छोरी मण्डलीमा पुनर्स्थापित भइन्‌। बाइबल सिद्धान्तप्रतिको हाम्रो दृढ अडानले तिनको पतिलाई निकै प्रभाव पारेछ। यो कुरा पछि तिनकै पतिको मुखबाट मैले सुनें। हाल तिनीहरू स-परिवार यहोवाको सेवा गर्छन्‌।

पैसाको अभाव झेल्दै

पतिले त्यागे, गर्जो टार्ने कुनै गतिलो स्रोत थिएन। तर यस्तो अभावले सरल जीवनमै चित्त बुझाउने अनि भौतिक कुरा नभई आध्यात्मिक कुरालाई बढी महत्त्व दिन हामीलाई सिकायो। हुर्कंदै जाँदा बच्चाहरूले एक-अर्कामा सद्‌भाव राख्न र सहयोग गर्न सिके। ठूलोहरूले जागिर खान थालेपछि सानाहरूलाई सघाए। जेठी छोरी मार्सिरीले सानी बहिनी निकोलको हाइस्कूलसम्मको पढाइ खर्च जुटाइदिइन्‌। मैले एउटा सानो किराना पसल पनि खोलें। पसलको सानोतिनो कमाइले हाम्रो केही गर्जो टर्थ्यो।

यहोवाले कहिल्यै त्याग्नुभएन। एक पटक मैले एउटी मसीही बहिनीलाई भनें, फुटेको कौडी छैन, खै कसरी धाउनु जिल्ला अधिवेशन। हामी त धाउन सक्दैनौं होला। बहिनीले भनिन्‌: “बहिनी, अधिवेशनको कुरा हो भने नसुर्ताउनुहोस्‌, प्याकिङ्‌ग गर्न थाल्नुहोस्‌! यहोवाले अवश्‍य मदत गर्नुहुनेछ।” मैले तिनको सल्लाह मानें। यहोवाले मदत गर्नुभयो। अहिलेसम्म त्याग्नुभएको छैन। अहिलेसम्म मेरो परिवारले पैसा नभएर एउटै अधिवेशन छुटाएको छैन।

सन्‌ १९८८ मा गीलबर्ट आँधीबेहरीले जमैकालाई तहसनहस पाऱ्‍यो। हामी घरबार छोडेर भाग्यौं। आँधी केही शान्त भएपछि छोरासित क्षतिग्रस्त घर हेर्न गएँ। त्यसै बेला एउटा वस्तुमा मेरो आँखा अडियो। म त्यो जोगाउन चाहन्थें। अचानक फेरि आँधी चल्यो तर मैले त्यसलाई बेस्सरी समातें। छोरा चिच्यायो, “आमा, किन लोभ गर्नुभएको त्यो टिभीको! छोडिदिनुस्‌, के तपाईं लूतकी स्वास्नी बन्‍ने?” (लूका १७:३१, ३२) म झसङ्‌ग भएँ, मेरो होस खुल्यो। पानीले भिजेको टिभी छोडें। हतपत हामी सुरक्षित ठाउँतिर भाग्यौं।

एउटा टिभीको लोभ गरेर ज्यान खतरामा राखेको! त्यो घटना सम्झँदा अहिले पनि आङ सिरिङ्‌ग हुन्छ। छोराले भनेका ती सचेत आध्यात्मिक शब्दहरू सम्झँदा मेरो मन हर्षले फुल्छ। मण्डलीबाट सिकेका कुराहरूले नै हो, छोराले मलाई त्यस्तो गम्भीर शारीरिक र आध्यात्मिक हानिबाट बचाएको।

आँधीबेहरीले घर र सम्पत्ति स्वाहा पाऱ्‍यो। मन दुख्यो। मसीही भाइहरू आउनुभयो। यहोवामा भरोसा राख्दै क्षति सहन अनि सेवकाईमा लागिरहन प्रोत्साहन दिनुभयो। घर बनाउन मदत पनि गर्नुभयो। जमैका र अरू देशबाट आएका साक्षी स्वयम्‌सेवकहरूको दयालु अनि आत्मत्यागी कामले मेरो मन असाध्यै छोएको छ।

यहोवालाई पहिलो स्थान

पढाइ सकेपछि माइली छोरी मेलानले अग्रगामी सेवा गरिन्‌। तिनले अर्कै मण्डलीमा अग्रागमी सेवा गर्ने निम्तो स्वीकारिन्‌। तर जागिर छोड्‌नुपर्थ्यो। तिनको जागिरले परिवारलाई आर्थिक रूपमा धेरै टेवा दिन्थ्यो। तैपनि हामीलाई विश्‍वास थियो, परिवारमा सबैले परमेश्‍वरको राज्य गतिविधिलाई पहिलो स्थान दिंदा यहोवाले अवश्‍य हाम्रो ख्याल राख्नुहुन्छ। (मत्ती ६:३३) पछि छोरा युआनलाई पनि अग्रगामी गर्ने निम्तो आयो। तिनले पनि परिवारको गुजारा चलाउन सघाइरहेका थिए। तर हामीले निम्तो स्वीकार्ने सल्लाह दियौं। तिनको लागि यहोवासित प्रार्थना गऱ्‍यौं। मेरा छोराछोरीहरूको राज्य गतिविधिमा लाग्ने निर्णयलाई मैले कहिल्यै विरोध गरिनँ। हो, यसो गर्दा हामी घरमा भएकाहरू कहिल्यै भोको बस्नु परेन। बरु, हाम्रो आनन्द अझै बढ्यो। अझ खाँचोमा परेकाहरूलाई मदत पनि गर्न सक्यौं।

आज छोराछोरी “सत्यमा चलेका” देख्दा खुसीले आँखा रसाउँछ। (३ यूहन्‍ना ४) हाल मेरी माइली छोरी मेलान क्षेत्रीय निरीक्षक पतिलाई परिभ्रमण कार्यमा साथ दिंदैछिन्‌। मेरी अर्की छोरी एन्ड्रिया आफ्नो पतिसित विशेष अग्रगामी सेवा गर्छिन्‌। तिनकी पति निमित्त क्षेत्रीय निरीक्षक भएकोले पतिसितै मण्डलीहरूको भ्रमण गर्छिन्‌। मेरो छोरा युआन र उनकी पत्नी विशेष अग्रागमी सेवा गर्छन्‌। उनी मण्डलीका प्राचीन पनि हुन्‌। मेरी अर्की छोरी आभागे यहोवाका साक्षीहरूको जमैका शाखा कार्यालयमा काम गर्छिन्‌। जेनिफर, जेनिभ र निकोल मण्डलीमा आफ्ना पति र छोराछोरीसित सक्रिय सेवा गर्दैछन्‌। मार्सिरी मसित बस्छिन्‌। हामी दुई जना अहिले पोर्ट मोरान्ट मण्डली धाउँछौं। हो, मैले धेरै आशिष्‌हरू पाएकी छु। मेरा आठै जना छोराछोरी यहोवाको सेवामा तल्लीन छन्‌।

उमेर ढल्कँदै जाँदा रोग-बिमारले पनि पिरोल्न थाल्यो। मलाई बाथ रोग लागेको छ। तैपनि मैले अग्रगामी सेवा छोडेको छैन। मेरो इलाका उकालो-ओरालो छ। यहाँ प्रचार गर्न मलाई गाह्रो हुन्छ। हो, सेवकाईलाई निरन्तरता दिन मलाई सजिलो थिएन। मैले साइकल चलाउने कोसिस गरें। हिंड्‌नुभन्दा सजिलो लाग्यो। एउटा पुरानो साइकल किनें र चलाउन थालें। बाथको रोगी आमाले साइकल चलाएको देख्दा छोराछोरीले मन दुखाए। तर प्रचार गर्ने मेरो स्वस्फूर्त जोस देखेर तिनीहरू खुसी छन्‌।

आफूले अध्ययन गरेका व्यक्‍तिहरूले बाइबल सत्य अँगालेको देख्दा मलाई गहिरो सन्तुष्टि मिल्छ। मेरो यहोवालाई एउटै बिन्ती छ, अहिले र अनन्तसम्म यहोवाप्रति मेरो परिवार विश्‍वासी रहिरहन सकोस्‌। आठ-आठ जना लालाबालालाई उहाँको मार्गमा हिंडाउने चुनौतीहरूको सामना गर्न सक्षम बनाउनुभएकोमा “प्रार्थना सुन्‍नुहुने” यहोवाको म लाख-लाख प्रशंसा गर्छु र धन्यवाद दिन्छु।—भजन ६५:२. (w06 1/1)

[पृष्ठ १०-मा भएको चित्र]

छोराछोरी, जुवाइँ, बुहारी र नातिनातिनासित

[पृष्ठ १२-मा भएको चित्र]

प्रचार गर्न म अहिले साइकल चलाउँछु