सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शैतानलाई मौका नदेओ

शैतानलाई मौका नदेओ

शैतानलाई मौका नदेओ

“शैतानलाई मौका नदेओ।”—एफिसी ४:२७.

१. शैतान साँच्चै छ कि छैन भनेर धेरैले शङ्‌का गर्नुको कारण के हो?

 धेरैजसो मानिसहरू शैतान शब्द सुन्‍नेबित्तिकै सीङ भएको, हातमा शूली लिएको अनि नराम्रो मान्छेलाई नरकको आगोमा फ्याँक्ने प्रेतको दृश्‍य कल्पना गर्छन्‌। तर बाइबलले यस्तो सिकाउँदैन। यस्तो गलत धारणाले गर्दा लाखौं मानिसहरूले शैतान साँच्चै छ कि छैन भनी शङ्‌का गर्छन्‌ वा शैतान भनेको मानिसको दुष्ट इच्छा मात्र हो कि भन्ठान्छन्‌।

२. शैतानबारे बाइबलले बताउने केही कुराहरू के-के हुन्‌?

शैतान साँच्चै छ भन्‍ने विषयमा प्रत्यक्ष देख्ने व्यक्‍तिको प्रमाण र अरू सुस्पष्ट प्रमाण बाइबलले दिन्छ। येशू ख्रीष्टले शैतानलाई स्वर्गमा देख्नुभयो अनि उहाँ पृथ्वीमा छँदा पनि त्यससित कुरा गर्नुभयो। (अय्यूब १:६; मत्ती ४:४-११) बाइबलले यो आत्मिक प्राणीको नाउँ खासमा के हो भनेर बताएको छैन तर त्यसलाई दियाबल भनेको छ। दियाबल अर्थ बुझाउने मौलिक युनानी शब्दको अर्थ हो, “निन्दक” किनभने त्यसले परमेश्‍वरको निन्दा गर्छ। त्यसलाई शैतान (जसको अर्थ हो, “विरोधी”) पनि भनिन्छ किनभने त्यसले यहोवाको विरोध गर्छ। शैतान अर्थात्‌ दियाबलले सर्पलाई चलाएर हव्वालाई छक्याएको हुँदा त्यसलाई “वृद्ध साँप” भनिएको हुन सक्छ। (प्रकाश १२:९; १ तिमोथी २:१४) शैतानलाई “दुष्ट” पनि भनिन्छ।—मत्ती ६:१३. a

३. हामी कुन प्रश्‍न छलफल गर्नेछौं?

हामी यहोवाका सेवकहरू हौं। त्यसैले एक मात्र साँचो परमेश्‍वरको प्रमुख शत्रु अर्थात्‌ शैतानजस्तो हामी कुनै हालतमा हुन चाहँदैनौं। हामीले प्रेरित पावलको यो सल्लाह पालन गर्नुपर्छ: “शैतानलाई मौका नदेओ।” (एफिसी ४:२७) हामीले नक्कल गर्न नहुने शैतानका केही दुर्गुणहरू के-के हुन्‌?

त्यो खराब निन्दकजस्तो नहुनुहोस्‌

४. त्यस ‘दुष्टले’ कसरी परमेश्‍वरको निन्दा गऱ्‍यो?

त्यस ‘दुष्टलाई’ निन्दक भन्‍न सुहाउँछ। निन्दा गर्नु भनेको अरूको विषयमा झूटो, द्वेषपूर्ण र अपमानजनक टिकाटिप्पणी गर्नु हो। परमेश्‍वरले आदमलाई यस्तो आज्ञा दिनुभयो: “असल र खराबको ज्ञान दिने रूखको फलचाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।” (उत्पत्ति २:१७) यो कुरा हव्वालाई थाह थियो। तर एउटा सर्पमार्फत शैतानले उसलाई यसो भन्यो: “तिमीहरू कदापि मर्दैनौ। किनकि परमेश्‍वर जान्‍नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।” (उत्पत्ति ३:४, ५) यहोवा परमेश्‍वर विरुद्ध कस्तो द्वेषपूर्ण निन्दा!

५. निन्दा गरेकोमा डियोत्रिफसलाई जवाफदेही ठहराउनु किन उचित थियो?

इस्राएलीहरूलाई यस्तो आज्ञा दिइएको थियो: “मानिसहरूका बीचमा निन्दा नफैलाओ।” (लेवी १९:१६, NRV) प्रेरित यूहन्‍नाले आफ्नो पालाको एक जना निन्दकबारे यसो भने: “मैले मण्डलीलाई केही लेखेथें, तर तिमीहरूमा ठूलो हुनखोज्ने डियोत्रिफसले हामीलाई ग्रहण गर्दैनन्‌। यसकारण म आएँ भने, त्यसले कुवचनले हाम्रा विरुद्ध बोलेर गरेको औ त्यतिले पनि सन्तोष नभएर भाइहरूलाई पनि ग्रहण नगरी, ग्रहण गर्ने इच्छा गर्नेहरूलाई पनि रोकेर मण्डलीबाट निकालिदिएका कुराहरूको सम्झना म गराउनेछु।” (३ यूहन्‍ना ९, १०) डियोत्रिफसले यूहन्‍नाको निन्दा गरे अनि त्यसको लागि तिनी जवाफदेही थिए। डियोत्रिफसजस्तो हुनु भनेको खराब निन्दक शैतानको नक्कल गर्नु हो। के कुनै वफादार मसीही शैतानको नक्कल गर्न चाहन्छ र?

६, ७. किन हामीले अरूको निन्दा गर्नु हुँदैन?

यहोवाका सेवकहरूको निन्दा गर्दै अक्सर टिकाटिप्पणी गरिन्छ अनि तिनीहरूमाथि झूटा आरोपहरू वर्षाइन्छ। “मुख्य पूजाहारीहरू र शास्त्रीहरूचाहिं [येशूलाई] जोशसँग दोष लगाउँदै खडा भए।” (लूका २३:१०) प्रधान पूजाहारी हननिया र अरूहरूले पावललाई झूटो आरोप लगाए। (प्रेरित २४:१-८) बाइबलमा शैतानलाई “हाम्रा भक्‍तहरूलाई दोष लगाउने, . . . हाम्रा परमेश्‍वरका सामने दिनरात . . . दोष” लगाउने भनिएको छ। (प्रकाश १२:१०) यसरी गलत दोष लगाइएका मानिसहरू अहिले आखिरी दिनमा पृथ्वीमा रहेका अभिषिक्‍त मसीहीहरू हुन्‌।

मसीहीहरूले अरूको निन्दा गर्नु हुँदैन वा कसैलाई झूटा आरोप लगाउनु हुँदैन। तर आफूसित सबै जानकारी नभई अरूको विरुद्धमा बोल्यौं भने हामीले निन्दा गरिरहेका हुन्छौं। मोशाको व्यवस्थाअनुसार जानाजानी झूटो साक्षी दिने व्यक्‍ति मारिन सक्थ्यो। (प्रस्थान २०:१६; व्यवस्था १९:१५-१९) साथै, यहोवाले घृणा गर्नुहुने कुराहरूमध्ये “असत्य बोल्ने झूटा गवाही” पनि हो। (हितोपदेश ६:१६-१९) त्यसैकारण त्यो खराब निन्दक र झूटो गवाही दिने शैतानजस्तो हामी हुनु हुँदैन।

त्यो शुरूको हत्याराको तौरतरिका तिरस्कार गर्नुहोस्‌

८. कुन अर्थमा शैतान “शुरूदेखिनै हत्यारा” भयो?

शैतान हत्यारा हो। येशूले यसो भन्‍नुभयो: “त्यो ता शुरूदेखिनै हत्यारा थियो।” (यूहन्‍ना ८:४४) आदम र हव्वालाई परमेश्‍वरबाट तर्काउन पहिलो कदम चालेदेखि नै शैतान हत्यारा भएको छ। त्यसले पहिलो मानव जोडी र तिनीहरूका सन्तानमाथि मृत्यु ल्यायो। (रोमी ५:१२) तपाईंले याद गर्नुभयो होला, हत्या भनेको वास्तवमा गरिने काम नै हो, केवल मानिसमा हुने दुष्ट इच्छा होइन।

९. पहिलो यूहन्‍ना ३:१५ ले बताएअनुसार के गऱ्‍यौं भने हामी हत्यारा हुनेछौं?

इस्राएलीहरूलाई दिइएको दस आज्ञामध्ये एउटा यस्तो थियो: “तैंले हत्या नगर्नू।” (व्यवस्था ५:१७) प्रेरित पत्रुसले मसीहीहरूलाई लेखे: “तिमीहरूमध्ये कसैले पनि ज्यानमारा . . . झैं दुःख नभोग।” (१ पत्रुस ४:१५) त्यसकारण हामी यहोवाका सेवकहरू भएकोले कुनै मानिसको हत्या गर्दैनौं। तर सँगी मसीहीलाई घृणा गर्छौं र ऊ मरोस्‌ भन्‍ने चाहन्छौं भने हामी परमेश्‍वरको अगाडि दोषी हुनेछौं। प्रेरित यूहन्‍नाले यस्तो लेखे: “आफ्नो भाइसँग दुश्‍मनी गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारामा अनन्त जीवन रहँदैन भन्‍ने तिमीहरूलाई थाहै छ।” (१ यूहन्‍ना ३:१५) इस्राएलीहरूलाई यस्तो आज्ञा दिइएको थियो: “आफ्नो भाइ-बन्धुसित दुश्‍मनी नराख।” (लेवी १९:१७) हाम्रा मसीही भाइबहिनीबीच समस्या उत्पन्‍न हुँदा तुरुन्तै सुल्झाइहालौं। यसो गऱ्‍यौं भने त्यो हत्याराले हाम्रो मसीही एकता तोड्‌न पाउनेछैन।—लूका १७:३, ४.

त्यो झूटको पिता विरुद्ध खडा होओ

१०, ११. त्यो झूटको पिता शैतान विरुद्ध खडा हुन हामीले के गर्नुपर्छ?

१० शैतान झूट बोल्छ। येशूले यसो भन्‍नुभयो: “त्यसले झूट बोल्दछ भने त्यो आफ्नैतर्फबाट बोल्दछ, किनभने त्यो झूट र झूटको पिता हो।” (यूहन्‍ना ८:४४) शैतानले हव्वासँग झूट बोल्यो तर येशू भने सत्यको गवाही दिन पृथ्वीमा आउनुभयो। (यूहन्‍ना १८:३७) येशूका अनुयायीहरू भएर शैतानको विरुद्ध खडा हुन, हामीले झूट र जालझेलको आड लिनु हुँदैन। हामीले ‘साँचो बोल्नुपर्छ।’ (जकरिया ८:१६; एफिसी ४:२५) “सत्य परमेश्‍वर” यहोवाले साँचो बोल्ने आफ्ना साक्षीहरूलाई मात्र आशिष्‌ दिनुहुन्छ। दुष्टहरूलाई उहाँको नाउँ लिने कुनै अधिकार छैन।—भजन ३१:५; ५०:१६; यशैया ४३:१०.

११ बाइबलले सिकाउने सत्य कुराहरू थाह पाएको हुँदा शैतानले फैलाउने झूटबाट हामी स्वतन्त्र भएका छौं। यस्तो स्वतन्त्रतालाई मूल्यवान्‌ ठान्छौं भने साँचो मसीही जीवनशैली अर्थात्‌ “सत्यको मार्ग” कहिल्यै त्याग्नेछैनौं। (२ पत्रुस २:२; यूहन्‍ना ८:३२) बाइबलको सम्पूर्ण शिक्षा भनेको “सुसमाचारको सत्यता” हो। (गलाती २:५, १४) ‘सत्यमा चल्नु’ अर्थात्‌ त्यसैमा लागिरहनु अनि “झूटको पिता” विरुद्ध खडा रहनुमै हाम्रो उद्धार निर्भर छ।—३ यूहन्‍ना ३, ४, ८.

त्यो प्रमुख धर्मत्यागीको प्रतिरोध गर्नुहोस्‌

१२, १३. धर्मत्यागीहरूसित हामीले कस्तो व्यवहार गर्नुपर्छ?

१२ पछि शैतान बनेको यो आत्मिक प्राणी पहिला सत्यको मार्गमा नै थियो। तर ‘त्यो सत्यमा ठहरेन’ भनी येशूले भन्‍नुभयो “किनभने त्यसमा सत्य छँदैछैन।” (यूहन्‍ना ८:४४) त्यो प्रमुख धर्मत्यागीले “सत्य परमेश्‍वर[को]” प्रतिरोध गरिरहेको छ, त्यसले हार मानेको छैन। प्रथम शताब्दीका कोही-कोही मसीहीहरू बहकिएर सत्यबाट तर्किएका हुँदा “शैतानको पासो[मा]” परे अनि त्यसको सिकार भए। त्यसकारण तिनीहरूलाई नम्रतासाथ सिकाउन पावलले आफ्ना सहकर्मी तिमोथीलाई आग्रह गरे। यसो गर्दा तिनीहरू आध्यात्मिक तवरमा सचेत भई शैतानको पासोबाट उम्कन सक्ने थिए। (२ तिमोथी २:२३-२६) सत्यलाई बलियो गरी पक्री राख्नु अनि धर्मत्यागी धारणाहरूको पासोमा पर्दै नपर्नु कत्ति बेस!

१३ शैतानको कुरा सुनेको अनि त्यसको झूटलाई इन्कार नगरेको हुँदा पहिलो मानव दम्पती धर्मत्यागी भए। त्यसोभए हामीले पनि धर्मत्यागीहरूको कुरा सुन्‍नु, तिनीहरूको पुस्तक वा पत्र-पत्रिका पढ्‌नु अनि इन्टरनेटमा तिनीहरूको वेबसाइट हेर्नु ठीक होला र? परमेश्‍वर र सत्यलाई प्रेम गर्छौं भने हामी त्यसो गर्नेछैनौं। धर्मत्यागीहरूलाई आफ्नो घरमा आउन दिनु वा तिनीहरूलाई अभिवादन समेत गर्नु हुँदैन किनभने त्यसो गर्नु भनेको “दुष्ट कामहरूमा सहभागी” हुनुसरह हो। (२ यूहन्‍ना ९-११) झूटा शिक्षकहरूले “विनाशकारी झूटा शिक्षाहरू” ल्याउँछन्‌ अनि ‘झूटा कुरा बनाएर हामीहरूबाट फाइदा उठाउन’ खोज्छन्‌। हामी उनीहरूको पछि लागेर मसीही “सत्यको मार्ग” कहिल्यै नत्यागौं। यसरी “सत्यको मार्ग” त्यागेनौं भने शैतानको छलकपटको अगाडि हामी हार मान्‍नेछैनौं।—२ पत्रुस २:१-३, NRV.

१४, १५. एफिससका प्राचीनहरू र आफ्ना सहकर्मी तिमोथीलाई पावलले कस्तो चेतावनी दिए?

१४ एफिससका मसीही प्राचीनहरूलाई पावलले यसो भने: “तपाईंहरू आफै र पवित्र आत्माले परमेश्‍वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको र बगालसमेत, उहाँले आफ्नै रगतले किन्‍नुभएकोले होशियारी हुनुहोस्‌। किनभने मलाई थाह छ, कि म गएपछि बगाललाई स्वाहा पार्ने डरलाग्दा ब्वाँसाहरू पस्नेछन्‌। औ तपाईंहरू आफैमध्ये पनि कुनै कुनै, मानिसहरू बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछिपछि लैजानलाई खडा हुनुहुनेछ।” (प्रेरित २०:२८-३०) केही समयपछि त्यस्ता धर्मत्यागीहरू साँच्चै देखा परे अनि “बराल्ने कुरा बोले।”

१५ इस्वी संवत्‌ ६५ तिर प्रेरित पावलले तिमोथीलाई ‘सत्यको वचन ठीकसँग प्रयोग गर्न’ आग्रह गरे। पावलले यस्तो लेखे: “तर अशुद्ध बकबक त्याग, किनभने तिनीहरूले अभक्‍तितिर झन्‌-झन्‌ बढाउँदै लानेछन्‌, र तिनीहरूका कुराले चाहिं सइनको घाउले जस्तै सडाउनेछ। तिनीहरूमध्येका हाइमेनियस र फिलेतस हुन्‌। यी मानिसहरू पुनरुत्थान भइसकेको छ भनेर सत्यको विषयमा भ्रममा परेका छन्‌, र कुनै कुनैका विश्‍वासलाई उल्टाइदिएका छन्‌।” धर्मत्याग सुरु भइसकेको थियो। पावलले अझ यसो भने: “त्यसो भए तापनि परमेश्‍वरको दृढ जग खडै रहन्छ।”—२ तिमोथी २:१५-१९.

१६. प्रमुख धर्मत्यागीले अनेक छलकपट गरे तापनि परमेश्‍वर र उहाँको वचनप्रति हामी वफादार रहन सक्नुको कारण के हो?

१६ साँचो उपासनालाई भ्रष्ट पार्न शैतानले अक्सर धर्मत्यागीहरूलाई चलाएको छ तर सफल भएको छैन। सन्‌ १८६८ तिर चार्ल्स टेज रसलले चर्चमा लामो समयदेखि मानिंदै आएका धार्मिक शिक्षाहरू गहिरिएर केलाउन थाले अनि तिनले बाइबलको गलत अर्थ लगाइएको थाह पाए। सत्यको खोजी गर्ने रसल र अरू केही व्यक्‍तिहरूले अमेरिकाको पेन्सलभेनियास्थित पिट्‌सबर्गमा बाइबल अध्ययन समूह गठन गरे। त्यस समयदेखि यता झण्डै १४० वर्षमा यहोवाका सेवकहरूले धेरै कुरा बुझेका छन्‌ अनि परमेश्‍वर र उहाँको वचनप्रतिको प्रेममा पनि बढ्‌दै गएका छन्‌। त्यो प्रमुख धर्मत्यागी शैतानले हामीलाई बहकाउन अनेक छलकपट गर्छ। तैपनि विश्‍वासी र बुद्धिमान दास वर्ग आध्यात्मिक तवरमा चनाखो रहेको हुँदा यहोवा र उहाँको वचनप्रति वफादार रहन यी साँचो मसीहीहरूले मदत पाएका छन्‌।—मत्ती २४:४५.

यस संसारको शासकको नियन्त्रणमा कहिल्यै नपर्नुहोस्‌

१७-१९. शैतानको अधीनमा रहेको संसार के हो अनि यसलाई हामीले किन प्रेम गर्नु हुँदैन?

१७ शैतानले हामीलाई पासोमा पार्न खोज्ने अर्को तरिका भनेको परमेश्‍वरबाट तर्किएको मानव समाज अर्थात्‌ यस संसारलाई प्रेम गर्न लोभ्याएर हो। येशूले शैतानलाई “संसारको शासक” भन्‍नुभयो। उहाँले यसो पनि भन्‍नुभयो: “त्यसको ममाथि केही शक्‍ति छैन।” (यूहन्‍ना १४:३०, NRV) शैतानले हामीलाई त्यसको नियन्त्रणमा कहिल्यै नपारोस्‌! हामीले बुझेका छौं, “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) यसैकारण एकचोटि मात्र धर्मत्यागी काम गरेको खण्डमा शैतानले येशूलाई “जगत्‌का सबै राज्य” दिन्छु भन्‍न सक्यो। यो प्रस्तावलाई परमेश्‍वरको पुत्रले ठाडै इन्कार गर्नुभयो। (मत्ती ४:८-१०) शैतानको अधीनमा परेको संसारले येशूका अनुयायीहरूलाई घृणा गर्छ। (यूहन्‍ना १५:१८-२१) यसैकारण त यस संसारलाई प्रेम नगर भनेर प्रेरित यूहन्‍नाले सल्लाह दिए!

१८ यूहन्‍नाले यस्तो लेखे: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो। औ संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्‍ना २:१५-१७) यो संसारलाई हामीले प्रेम गर्नु हुँदैन किनभने यसको जीवनशैलीले पापी झुकावलाई खुसी पार्न खोज्छ र यसको तौरतरिका यहोवा परमेश्‍वरको स्तरभन्दा ठीक विपरीत छ।

१९ यस संसारप्रतिको प्रेम हाम्रो मनबाट हटेको छैन भने नि? यस्तो प्रेम अनि यसले उक्साउने पापी झुकावहरू हटाउन मदतको लागि परमेश्‍वरलाई प्रार्थना गरौं। (गलाती ५:१६-२१) परमेश्‍वरबाट तर्किएको मानव समाजका अदृश्‍य “सांसारिक शासकहरू” भनेको “दुष्ट्याइँका आत्मिक सेनाहरू” हुन्‌ भनेर नबिर्सौं। यो कुरा मनमा राख्दा “दुनियाँबाट निष्कलङ्‌क” रहन साँच्चै प्रयास गरिरहेका हुनेछौं।—याकूब १:२७; एफिसी ६:११, १२; २ कोरिन्थी ४:४.

२०. हामी ‘संसारका होइनौं’ भनेर किन भन्‍न सक्छौं?

२० आफ्ना चेलाहरूबारे येशूले यसो भन्‍नुभयो: “जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌!” (यूहन्‍ना १७:१६) अभिषिक्‍त मसीहीहरू र परमेश्‍वरप्रति समर्पित तिनीहरूका सहयोगीहरू नैतिक तथा आध्यात्मिक तवरमा स्वच्छ अनि यस संसारबाट अलग रहने प्रयत्न गर्छन्‌। (यूहन्‍ना १५:१९; १७:१४; याकूब ४:४) यो अधर्मी संसारले हामीलाई घृणा गर्छ किनभने हामी यसबाट अलग्गै रहन्छौं र “धार्मिकताका प्रचारक” हौं। (२ पत्रुस २:५, NRV) हुन त, हामी बाँचिरहेको समाजमा यौन अनैतिकतामा लागेका, लुटाहा, मूर्तिपूजक, चोर, झूटो बोल्नेहरू र मतवालाहरू पनि छन्‌। (१ कोरिन्थी ५:९-११; ६:९-११; प्रकाश २१:८) हामी “संसारको आत्मा” तिरस्कार गर्छौं किनभने हामी यस पापी संसारको तौरतरिकाअनुसार चल्दैनौं।—१ कोरिन्थी २:१२.

शैतानलाई मौका नदेओ

२१, २२. एफिसी ४:२६, २७ मा दिइएको पावलको सल्लाह तपाईं कसरी लागू गर्न सक्नुहुन्छ?

२१ “संसारको आत्मा” अनुसार चल्नुको सट्टा हामी परमेश्‍वरको आत्माअनुसार चल्छौं जसले प्रेम र आत्म-संयमजस्ता गुणहरू विकास गर्न मदत गर्छ। (गलाती ५:२२, २३) हाम्रो विश्‍वासमाथि शैतानले आक्रमण गर्दा यी गुणहरूले त्यसको प्रतिकार गर्न हामी मदत पाउँछौं। हामी ‘खराबी गर्नतिर मात्र ढल्केको’ त्यो चाहन्छ तर परमेश्‍वरको आत्माले हामीलाई ‘रिसाउन छोड्‌न र क्रोधलाई त्याग्न’ मदत गर्छ। (भजन ३७:८, NRV) हुन त, कहिलेकाहीं रिसाउनुको जायज कारण होला तैपनि पावल हामीलाई यस्तो सल्लाह दिन्छन्‌: “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस्‌। शैतानलाई मौका नदेओ।”—एफिसी ४:२६, २७.

२२ रीस मर्न दिएनौं भने त्यसले हामीलाई पापतिर धकेल्न सक्छ। हामी यसरी रिसाइरह्‍यौं भने मण्डलीमा फूट ल्याउन वा खराब काम गर्न उक्साउनको लागि शैतानलाई मौका दिइरहेका हुनेछौं। यसैले अरूसित मतभिन्‍नताहरू हुँदा परमेश्‍वरको तरिकामा तुरुन्तै सुल्झाइहाल्नुपर्छ। (लेवी १९:१७, १८; मत्ती ५:२३, २४; १८:१५, १६) यसकारण आत्म-संयम खेती गर्दै परमेश्‍वरको आत्माअनुसार चलौं अनि रीसाउने जायज कारण हुँदा समेत त्यसलाई वैरभाव, द्वेष र घृणासम्म नपुऱ्‍याऔं।

२३. यसपछिको लेखमा हामी कुन-कुन प्रश्‍न छलफल गर्नेछौं?

२३ हामीले नक्कल गर्न नहुने शैतानका केही दुर्गुणहरूबारे छलफल गऱ्‍यौं। तर कसै-कसैको मनमा यस्ता प्रश्‍नहरू उठ्‌लान्‌: के हामी शैतानसित डराउनुपर्छ? त्यसले किन मसीहीहरूलाई सताउन खोज्छ? शैतानले हामीलाई फसाउन नदिन हामीले के गर्नुपर्छ? (w06 1/15)

[फुटनोट]

a प्रहरीधरहरा नोभेम्बर १५, २००५ को “के त्यो शत्रु साँच्चै छ?” भन्‍ने आवरण लेख हेर्नुहोस्‌।

तपाईंको जवाफ?

• हामीले किन कहिल्यै अरूको निन्दा गर्नु हुँदैन?

पहिलो यूहन्‍ना ३:१५ अनुसार के गऱ्‍यौं भने हामी हत्यारा हुनेछौं?

• धर्मत्यागीहरूलाई हामीले कस्तो दृष्टिले हेर्नुपर्छ र किन?

• संसारलाई हामीले किन प्रेम गर्नु हुँदैन?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

हाम्रो मसीही एकता तोड्‌न शैतानलाई कहिल्यै मौका दिनेछैनौं

[पृष्ठ १६-मा भएका चित्रहरू]

संसारलाई प्रेम नगर भनी यूहन्‍नाले किन आग्रह गरे?