सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चम्कँदै गइरहेको ज्योतिमा हिंड्‌ने

चम्कँदै गइरहेको ज्योतिमा हिंड्‌ने

चम्कँदै गइरहेको ज्योतिमा हिंड्‌ने

“धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्यदिन नहोउञ्जेल झन्‌झन्‌ चहकिलो हुँदैजान्छ।”—हितोपदेश ४:१८.

१, २. यहोवाले चम्काइरहनुभएको आध्यात्मिक ज्योति पाएर परमेश्‍वरका जनहरूले कस्तो अनुभव गरेका छन्‌?

 रातको अन्धकारलाई बिहान उदाएको सूर्यले कसरी हटाउँछ, ज्योतिको स्रोत यहोवासित मात्र यसको जवाफ छ। (भजन ३६:९) परमेश्‍वर भन्‍नुहुन्छ, ‘जब प्रभातले पृथ्वीको छेउ समातेर तान्छ, हिलोमा छाप देखेझैं उषाले डाँडाहरू र बेंसीहरू छर्लङगै देखाउँछ, जबसम्म सबै कुरा लुगाका पत्रहरूझैं देखिंदैनन्‌।’ (अय्यूब ३८:१२-१४) गिलो माटोमा कुनै छाप बसेझैं चम्कँदै गइरहेको सूर्यको किरणले पृथ्वीका दृश्‍यहरू स्पष्ट र छर्लङ्‌ग बनाइदिन्छ।

यहोवा आध्यात्मिक ज्योतिको पनि स्रोत हुनुहुन्छ। (भजन ४३:३) एकातिर यो संसार निष्पट्ट अन्धकारमा छ। अर्कोतिर साँचो परमेश्‍वरले आफ्ना जनहरूमाझ निरन्तर ज्योति चम्काइरहनुभएको छ। परिणाम? बाइबल जवाफ दिन्छ: “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्यदिन नहोउञ्जेल झन्‌झन्‌ चहकिलो हुँदैजान्छ।” (हितोपदेश ४:१८) ज्योति चम्काएर यहोवा आफ्ना जनहरू हिंड्‌ने बाटोलाई झन्‌झनै उज्यालो बनाउँदै हुनुहुन्छ। यसले तिनीहरूलाई संगठनात्मक, सैद्धान्तिक र नैतिक तवरमा निरन्तर खार्दै जान्छ।

ज्योतिले गर्दा भएका संगठनात्मक सुधारहरू

३. यशैया ६०:१७ मा कस्तो प्रतिज्ञा गरिएको छ?

अगमवक्‍ता यशैयामार्फत यहोवाले यस्तो भविष्यवाणी गर्नुभयो: “काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्याउनेछु, र काठको सट्टा पीतल र ढुङ्‌गाको सट्टामा फलाम।” (यशैया ६०:१७) जसरी कमसल धातुको ठाउँमा गुणस्तरीय धातु राख्दा, यसले सुधारलाई सङ्‌केत गर्छ, त्यसरी नै “जगत्‌को अन्त” अथवा “आखिरी दिनमा” यहोवाका साक्षीहरूले संगठनात्मक प्रबन्धहरूमा सुधार महसुस गरेका छन्‌।—मत्ती २४:३; २ तिमोथी ३:१.

४. सन्‌ १९१९ मा कस्तो प्रबन्ध लागू भयो र यो कसरी फलदायी साबित भयो?

अन्तिम दिनहरू सुरु हुँदा बाइबल स्टुडेन्ट्‌स भनेर चिनिने यहोवाका साक्षीहरूमाझ प्रजातान्त्रिक ढङ्‌गमा निर्वाचन गरेर प्राचीन र डिकनहरूको नियुक्‍ति गरिन्थ्यो। निर्वाचित केही प्राचीनहरूमा प्रचारकार्यप्रति सही मनसाय थिएन। केही प्राचीनहरू प्रचार जान अनकनाउने मात्र होइन, प्रचार जान अरूलाई समेत हतोत्साहित गर्थे। त्यसैले १९१९ मा हरेक मण्डलीमा एक जना सेवा निर्देशकको व्यवस्था गरियो। सेवा निर्देशकको नियुक्‍ति मण्डलीको निर्वाचन प्रकियाबाट नभई परमेश्‍वरको जनहरूको शाखा कार्यालयबाटै ईश्‍वरतान्त्रिक ढङ्‌गमा हुने भयो। यसरी नियुक्‍त सेवा निर्देशकको जिम्मेवारी प्रचारकार्य व्यवस्थित गर्नु, प्रचार-इलाकाहरू खटाउनु र प्रचार गर्न अरूलाई उत्साहित गर्नु थियो। यसपछिका वर्षहरूमा प्रचारकार्य तीव्र गतिमा अघि बढ्‌न थाल्यो।

५. सन्‌ १९२० को दशकमा कस्तो सुधार आयो?

सन्‌ १९२२ मा अमेरिकाको सिडार प्वाइन्ट, ओहायोमा आयोजित बाइबल स्टुडेन्ट्‌सको अधिवेशनमा गरिएको यस आह्वानले मण्डलीका सबै उत्साहित भए, “राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌।” सन्‌ १९२७ सम्ममा प्रचारकार्य सुव्यवस्थित भइसकेकोले घर-घरको प्रचारको लागि सबैभन्दा उपयुक्‍त दिन आइतबारलाई तोकियो। किन? किनकि आइतबार धेरैजसोको छुट्टी हुन्थ्यो। आज पनि यहोवाका साक्षीहरू सकेसम्म मानिसहरू घरमा हुनेबेला, जस्तै—छुट्टीको समयमा र साँझतिर प्रचार गर्न कोसिस गर्दै यही सिद्धान्त पछ्याउँछन्‌।

६. सन्‌ १९३१ मा कस्तो प्रस्तावना पारित गरियो र यसले राज्य प्रचारको कामलाई कस्तो असर गऱ्‍यो?

जुलाई २६, १९३१ आइतबार दिउँसो प्रचारकार्यलाई गति दिने अर्को उल्लेखनीय कदम चालियो। अमेरिकाको कोलम्बस, ओहायोमा आयोजित अधिवेशनमा एउटा प्रस्तावना पारित गरियो। यो प्रस्तावना पछि सारा विश्‍वमै पारित गरियो। प्रस्तावनाको केही अंश यस्तो थियो: “यहोवाको नाउँको लागि खटिन, उहाँको आज्ञा मान्दै येशू ख्रीष्टले प्रचार गर्नुभएको सन्देश दिन र सारा मानिसलाई यहोवा साँचो र सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भनेर चिनाउनको लागि हामी यहोवाका सेवकहरू बन्छौं; अतः हाम्रा स्वामी र परमेश्‍वर यहोवाले तोक्नुभएको यो नाउँ हामी हर्षले ग्रहण गर्छौं र यहोवाका साक्षीहरू नाउँले चिनिन र बोलाइन चाहन्छौं।” (यशैया ४३:१०) त्यो नयाँ नाउँले कति स्पष्टसित उक्‍त नाउँ धारण गर्नेहरूको प्रमुख कामलाई जोड दियो। हो, यहोवाले आफ्ना जनहरूलाई प्रशस्तै काम दिनुभएको थियो। यस कदममा सबैले उत्साहजनक साथ दिए।

७. सन्‌ १९३२ मा कस्तो छाँटकाँट ल्याइयो र किन?

अधिकांश प्राचीनहरूले नम्र भई यो सल्लाह स्वीकारे र प्रचारकार्यमा उनीहरू तनमनले खटे। तर केही मण्डलीका निर्वाचित प्राचीनहरूले सबै सदस्य प्रचारमा लाग्ने कुराको चर्को विरोध गरिरहे। तर अझै थप सुधार आउने थियो। सन्‌ १९३२ मा द वाचटावर पत्रिकामार्फत प्राचीन र डिकनहरूको निर्वाचन प्रणाली खारेज गर्ने निर्देशन दिइयो। तर प्रचारमा भाग लिने आध्यात्मिक पुरुषहरूको एउटा समूह अर्थात्‌ सेवा समितिको चाहिं निर्वाचन नै गरिन्थ्यो। सक्रिय भई सेवकाईमा खटिनेहरूलाई मात्र निरीक्षण गर्ने जिम्मेवारी दिइयो। अनि प्रचारकार्य झनै जोडतोडले अघि बढ्यो।

थप ज्योतिको अर्थ अझै सुधार

८. सन्‌ १९३८ मा कस्तो सुधार आयो?

ज्योति “झन्‌ चहकिलो” हुँदै गयो। सन्‌ १९३८ मा निर्वाचन प्रणाली पूर्णतः खारेज गरियो। मण्डलीका सबै सेवकहरू “विश्‍वासी र बुद्धिमान दास[को]” निरीक्षणमा ईश्‍वरतान्त्रिक ढङ्‌गमा नियुक्‍त गरिनुपर्ने भयो। (मत्ती २४:४५-४७) यहोवाका साक्षीहरूको सबैजसो मण्डलीमा उक्‍त परिवर्तन सहजै स्वीकारियो र साक्षीकार्यले अझ गति लियो।

९. सन्‌ १९७२ मा कस्तो प्रबन्ध लागू भयो र कसरी उन्‍नति देखियो?

अक्टोबर १, १९७२ देखि मण्डलीको निरीक्षण गर्ने कार्यमा अर्को छाँटकाँट आयो। केवल एक जना मण्डली सेवक अथवा निरीक्षकको सट्टा प्राचीनहरूको निकायले नै मण्डलीको देखभाल गर्नुपर्ने प्रबन्ध यहोवाका साक्षीहरूको सबै मण्डलीमा लागू गरियो। यो नयाँ प्रबन्धले धेरै परिपक्व पुरुषहरूलाई मण्डलीमा नेतृत्व लिनको लागि अघि सर्न उत्साहित गरेको छ। (१ तिमोथी ३:१-७) फलस्वरूप थुप्रै भाइहरूले मण्डलीका जिम्मेवारीहरू वहन गर्ने अनुभव बटुलेका छन्‌। ईश्‍वरतान्त्रिक प्रबन्धद्वारा नियुक्‍त भएका यी गोठालाहरू बाइबल सत्य अँगालेका धेरै नयाँ व्यक्‍तिहरूको लागि कत्ति ठूलो मदत साबित भएका छन्‌!

१०. सन्‌ १९७६ मा कस्तो प्रबन्ध लागू गरियो?

१० परिचालक निकायका सदस्यहरूलाई छ समितिहरूमा बाँडफाँड गरियो र जनवरी १, १९७६ देखि संगठन र विश्‍वभरि रहेका मण्डलीका सारा कामहरू यिनै छ समितिहरूको निरीक्षणमा अघि बढ्यो। राज्यका सारा गतिविधिलाई डोऱ्‍याउन यति धेरै ‘परामर्शदाताहरू’ हुनु कत्ति ठूलो आशिष्‌!—हितोपदेश १५:२२; २४:६.

११. सन्‌ १९९२ मा कस्तो सुधार आयो र किन?

११ सन्‌ १९९२ मा अर्को सुधार आयो। यस सुधारलाई बेबिलोनको निर्वासनबाट फर्केका इस्राएली र अन्य व्यक्‍तिहरूको अवस्थासित तुलना गर्न सकिन्छ। त्यसबेला मन्दिरको सेवाको लागि लेवीहरूको संख्या पुग्दो थिएन। त्यसैले लेवीहरूलाई मदत गर्न गैर-इस्राएली नेथिनिम अर्थात्‌ मन्दिरका सेवकहरूलाई थप काम सुम्पियो। त्यसरी नै पृथ्वीमा उन्‍नति-पथमा लम्किरहेको ईश्‍वरतान्त्रिक गतिविधिलाई अघि बढाउने काममा विश्‍वासी र बुद्धिमान दासलाई मदत गर्न सन्‌ १९९२ मा ‘अरू भेडाका’ केही व्यक्‍तिहरूले सेवाका थप सुअवसरहरू पाए। तिनीहरू परिचालक निकायका समितिहरूको सहायकमा नियुक्‍त भए।

१२. यहोवाले कसरी शान्तिलाई हाम्रो राज्यपाल बनाउनुभएको छ?

१२ परिणाम कस्तो भएको छ? यहोवा भन्‍नुहुन्छ, “शान्तिलाई तेरा राज्यपाल र धार्मिकतालाई तेरा शासक तुल्याउनेछु।” (यशैया ६०:१७, NRV) आज तिनीहरूबीच “शान्ति” छ र तिनीहरूका “शासक” अर्थात्‌ तिनीहरूलाई डोऱ्‍याउने मुख्य कुरा “धार्मिकता[प्रतिको]” प्रेम हो। हो, परमेश्‍वरको सेवा गर्न तिनीहरूलाई यिनै कुराले उत्प्रेरणा दिन्छ। राज्य-प्रचार र चेला बनाउने काम सँभाल्न तिनीहरू साँच्चै सुव्यवस्थित छन्‌।—मत्ती २४:१४; २८:१९, २०.

यहोवाको ज्योतिले सैद्धान्तिक सुधार ल्याउँछ

१३. सन्‌ १९२० को दशकमा यहोवाको ज्योति पाएर उहाँका जनहरूले सैद्धान्तिक कुरामा कस्ता सुधारहरू गरे?

१३ यहोवाले आफ्ना जनहरूलाई सैद्धान्तिक सुधारको लागि एकपछि अर्को ज्योति दिंदै आउनुभएको छ। एउटा उदाहरण प्रकाश १२:१-९ हो। यहाँ तीन प्रतीकात्मक पात्रहरूको चर्चा छ, गर्भवती “स्त्री” जसले बालक जन्माउँछिन्‌, “अजीङ्‌गर,” र “छोरो” अथवा “बालक”। यिनीहरूले केलाई प्रतिनिधित्व गर्छन्‌? मार्च १, १९२५ मा प्रकाशित द वाचटावर-मा छापिएको “राष्ट्रको जन्म” शीर्षकको लेखमा उक्‍त कुरा खुलाइयो। उक्‍त लेखले परमेश्‍वरका जनहरूलाई राज्यको जन्मको भविष्यवाणीको अर्थ राम्ररी खुलायो। यसबाट दुई भिन्‍न संगठनहरू छन्‌ भनेर प्रस्ट भयो। एउटा यहोवाको संगठन र अर्को शैतानको संगठन। त्यसपछि सन्‌ १९२७/२८ तिर परमेश्‍वरका जनहरूले क्रिसमस र जन्मदिन मनाउनु बाइबल विपरीत हो भनेर बुझे। त्यसपछि यहोवाका सेवकहरूले यी उत्सवहरू मनाउन छाडे।

१४. सन्‌ १९३० को दशकमा कस्ता सैद्धान्तिक सत्यहरू स्पष्ट पारिए?

१४ सन्‌ १९३० को दशकमा थप तीन सैद्धान्तिक सत्यहरूबारे ज्योति दिइयो। बाइबल स्टुडेन्ट्‌सले प्रकाश ७:९-१७ को ठूलो जमात्‌ अर्थात्‌ “ठूलो भीड” येशूसित राजा र पूजाहारी भएर शासन गर्ने १,४४,००० भन्दा भिन्‍न हुन्‌ भनेर धेरै पहिले बुझिसकेका थिए। (प्रकाश ५:९, १०; १४:१-५) तर ठूलो जमात्‌को परिचय अझै स्पष्ट भइसकेको थिएन। बिहानको घाम छिप्पिंदै गएपछि पृथ्वीका वस्तुहरूको आकृति र रङहरू स्पष्ट भएझैं सन्‌ १९३५ मा ठूलो जमात्‌ अर्थात्‌ पृथ्वीमा सधैंभरि बाँच्ने आशा लिएकाहरू ‘महासङ्‌कष्टबाट’ बच्नेहरू हुन्‌ भनेर प्रस्ट पारियो। सोही वर्ष, विश्‍वभर रहेका यहोवाका साक्षीहरूका छोराछोरीहरू जो स्कूल जाने गर्छन्‌, तिनीहरूलाई असर गर्ने एउटा अर्को स्पष्टीकरण आयो। संसारभर राष्ट्रवादको लहर मौलाइरहेको बेला स्कूलमा झण्डा सलामी गर्नु औपचारिकता मात्र होइन भनेर तिनीहरूले राम्ररी बुझे। त्यसपछिको वर्ष, ख्रीष्ट क्रुसमा मर्नुभएको होइन तर उहाँलाई काठको सीधा खामोमा लट्‌काइएको हो भन्‍ने अर्को सैद्धान्तिक सत्य पनि प्रस्ट पारियो।—प्रेरित १०:३९.

१५. रगतको पवित्रतालाई कहिले र कसरी जोड दिइयो?

१५ दोस्रो विश्‍व-युद्धको बेला घाइते सेनाहरूको उपचार गर्नुपर्दा रगत अनिवार्य दिइन्थ्यो। त्यसपछि लगत्तै रगतको पवित्रताबारे थप ज्योति आयो। जुलाई १, १९४५ को द वाचटावर-ले “धार्मिकताको नयाँ संसारमा अनन्त जीवन खोज्ने यहोवाका उपासकहरू सबैले रगतको पवित्रताको आदर गर्नुपर्छ र यस महत्त्वपूर्ण विषयमा परमेश्‍वरको धार्मिकताको अधीनमा बस्नुपर्छ,” भनेर बुझायो।

१६. न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स कहिले विमोचन गरियो र यसका दुइटा उल्लेखनीय विशेषता के-के हुन्‌?

१६ सन्‌ १९४६ मा नयाँ बाइबल अनुवाद आवश्‍यक भएको प्रस्ट देखियो। विद्वानहरूका नयाँ खोजबाट भरपूर लाभ उठाउँदै र मसीहीजगत्‌का कुरीतिहरूको प्रभावबाट मुक्‍त गर्दै डिसेम्बर १९४७ मा एउटा नयाँ बाइबल अनुवादको थालनी भयो। सन्‌ १९५० मा न्यु वर्ल्ड ट्रान्सलेसन अफ द क्रिश्‍चियन ग्रीक स्क्रिप्चर्स अंग्रेजीमा विमोचन गरियो। हिब्रू धर्मशास्त्रचाहिं पाँच खण्डमा भाग-भाग गरेर विमोचन गरियो। पहिलो खण्डको विमोचन १९५३ मा भयो। अन्तिम खण्डचाहिं १९६० मा विमोचन गरियो। अनुवाद थालेको १२ वर्षभन्दा अलि बढी समयपछि सम्पूर्ण बाइबलको अनुवाद कार्य पूरा भयो। सन्‌ १९६१ मा न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स-को पूर्ण संस्करण विमोचन गरियो। अहिले यो बाइबल धेरै भाषाहरूमा उपलब्ध छ। अनि यसका धेरै उल्लेखनीय विशेषताहरू पनि छन्‌। यसले परमेश्‍वरको नाउँ यहोवा दुरुस्त राखेको छ। साथै, मूल लेखोटबाट जस्ताको तस्तै अनुवाद गरिएकोले यो बाइबल ईश्‍वरीय सत्य अझ राम्ररी बुझ्दै जाने एउटा आधार भएको छ।

१७. सन्‌ १९६२ मा कस्तो थप ज्योति आयो?

१७ सन्‌ १९६२ मा रोमी १३:१ को “उच्च अख्तियारवालाहरू” र मसीहीहरू कुन हदसम्म तिनीहरूको अधीनमा बस्नुपर्छ, त्यसबारे स्पष्टिकरण दिइयो। रोमी १३ अध्याय, तीतस ३:१ २ र १ पत्रुस २:१३, १७ को गहन अध्ययनपछि ती पदहरूमा उल्लिखित “उच्च अख्तियारवाला” भनेको यहोवा परमेश्‍वर र येशू ख्रीष्ट होइन तर मानवीय सरकारी अधिकारीहरू हुन्‌ भनेर स्पष्ट पारियो।

१८. सन्‌ १९८० को दशकमा स्पष्ट पारिएका केही सत्यहरू के-के हुन्‌?

१८ त्यसपछिका वर्षहरूमा धर्मीहरूको मार्ग झन्‌-झन्‌ चहकिलो हुँदै गयो। सन्‌ १९८५ मा “जीवनको निम्ति” धर्मी अनि परमेश्‍वरका मित्रको रूपमा धर्मी ठहराइनुको अर्थबारे ज्योति चम्काइयो। (रोमी ५:१८; याकूब २:२३) सन्‌ १९८७ मा विशेष मसीही उत्सवको अर्थ अझ विस्तृत तवरमा बुझाइयो।

१९. हालका वर्षहरूमा यहोवाले आफ्ना जनहरूलाई कसरी थप आध्यात्मिक ज्योति दिनुभएको छ?

१९ सन्‌ १९९५ मा “भेडालाई बाख्राबाट” छुट्ट्याउने विषय अझ राम्ररी प्रस्ट पारियो। पूरा हुन थालिसकेको इजकिएलको मन्दिरको दर्शनबारे सन्‌ १९९८ मा विस्तृत रूपमा अर्थ खुलाइयो। सन्‌ १९९९ मा ‘उजाड गर्ने घृणित कुरा पवित्र स्थानमा खडा’ हुने भविष्यवाणीको अर्थ बुझाइयो। यो कहिले र कसरी हुनेछ, स्पष्ट पारियो। (मत्ती २४:१५, १६; २५:३२) सन्‌ २००२ मा “आत्मा र सत्यतामा” पुज्नुको अर्थबारे थप समझ प्राप्त भयो।—यूहन्‍ना ४:२४.

२०. परमेश्‍वरका जनहरूले अर्को कुन क्षेत्रमा सुधार अनुभव गरेका छन्‌?

२० संगठनात्मक र सैद्धान्तिक सुधारका साथै मसीही आचरणसम्बन्धी पनि केही सुधारहरू आयो। उदाहरणको लागि, सन्‌ १९७३ मा सुर्ती सेवन ‘शरीरको लागि अशुद्ध’ हो भनेर स्पष्ट पारियो। यो गम्भीर पापमा गनियो। (२ कोरिन्थी ७:१) एक दशकपछि जुलाई १५, १९८३ को द वाचटावर-ले हातहतियारको प्रयोगबारे हाम्रो अडान स्पष्ट पाऱ्‍यो। यी हाम्रो समयमा चम्किरहेका ज्योतिका केही उदाहरण मात्र हुन्‌।

चम्किरहेको ज्योतिमा हिंडिरहनुहोस्‌

२१. कस्तो मनोवृत्तिले चम्किरहेको ज्योतिमा हिंडिरहन हामीलाई मदत गर्छ?

२१ लामो समयदेखि प्राचीन रहेका भाइ भन्छन्‌, “आएको परिवर्तन स्वीकार्नु र सोहीअनुसार छाँटकाँट गर्नु सजिलो नहुन सक्छ।” राज्य उद्‌घोषक भएको ४८ वर्षहरूमा आएका धेरै सुधारहरू स्वीकार्न उनलाई कुन कुराले मदत गऱ्‍यो? उनी भन्छन्‌: “मुख्य कुरा त सही मनोवृत्ति हो। छाँटकाँट नस्वीकार्नु भनेको संगठन अघि बढ्‌दा आफूलाई पछि पार्नु हो। परिवर्तनहरू लागू गर्न गाह्रो हुँदा म आफूलाई पत्रुसको ठाउँमा राख्छु, जसले येशूलाई यसो भने: “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा ता तपाईंसँग छन्‌।” त्यसपछि आफैलाई सोध्छु, ‘म कहाँ जाऊँ—के त्यो अँध्यारो संसारमा?’ दृढ भई परमेश्‍वरको संगठन सँगसँगै हिंड्‌न यसले मलाई मदत गर्छ।”—यूहन्‍ना ६:६८.

२२. ज्योतिमा हिंडेर हामी कस्तो लाभ उठाउँछौं?

२२ हामी वरपरको संसार साँच्चै घोर अन्धकारमा छ। एकातिर यहोवाले आफ्ना जनहरूमाझ ज्योति चम्काइरहनुभएको छ। अर्कोतिर अँध्यारो संसार झन्‌झनै आँध्यारो हुँदै छ। संसार र यहोवाका जनहरूबीचको दूरी साँच्चै बढ्‌दै छ। यस ज्योतिले हामीलाई कस्तो फाइदा गरेको छ? जसरी अँध्यारो रातमा हिंड्‌दा बाटोको कुनै खाल्डोलाई उज्यालो बत्तीले केवल देखाइदिन्छ तर पुर्दैन, त्यसरी नै परमेश्‍वरको वचनको ज्योतिले खाल्डोरूपी पासोहरूलाई हटाउँदैन। तर त्यसबाट जोगिन भने मदत गर्छ। फलस्वरूप, हामी चम्किरहेको ईश्‍वरीय ज्योतिमा सदा लम्किरहन सक्छौं। त्यसैले आउनुहोस्‌, “अन्धकारमा बलिरहेको दियोलाईझैं” यहोवाको भविष्यसूचक वचनमा ध्यान दिइरहौं।—२ पत्रुस १:१९.(w06 2/15)

के तपाईं सम्झन सक्नुहुन्छ?

• आफ्ना जनहरूको खातिर यहोवाले के-कस्ता संगठनात्मक सुधारहरू गर्नुभएको छ?

• चम्किरहेको ज्योतिले के-कस्ता सैद्धान्तिक सुधारहरू भएका छन्‌?

• तपाईं आफैले के-कस्ता छाँटकाँटहरू देख्नुभएको छ र सो स्वीकार्न तपाईंलाई कुन कुराले मदत गरेको छ?

• तपाईं किन चम्किरहेको ज्योतिमा हिंडिरहन चाहनुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएका चित्रहरू]

सन्‌ १९२२ मा सिडार प्वाइन्ट, ओहायोमा आयोजित अधिवेशनले परमेश्‍वरको सेवामा लम्कन बाइबल स्टुडेन्ट्‌सलाई जुर्मुरायो

[पृष्ठ २०-मा भएको चित्र]

सन्‌ १९५० मा “न्यु वर्ल्ड ट्रान्सलेसन अफ द क्रिश्‍चियन ग्रीक स्क्रिप्चर्स” विमोचन गर्दै भाइ नेथन एच. नोर

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

© 2003 BiblePlaces.com